१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

घान्द्रुकमा साहित्य र सिनेमा जोड्ने बहस

– ‘साहित्यकारले सिनेमा हेर्नुपर्ने तर सिनेकर्मीले साहित्य पढ्नु नपर्ने ? हाम्रो संस्कृतिलाई कसरी सिनेमामा समेट्ने भन्ने अभ्यास नै भएन ।’
– ‘कृतिमाथि सिनेमा बनाउँदा न्याय गर्न नसकेको आरोपमा सर्जकको गाली खाने डर सधैं भइरह्यो ।’ 
दीपक परियार

पोखरा — लेखकलाई आफ्नो साहित्यिक कृतिमाथि बनेको सिनेमाप्रति चित्त नबुझ्ने । साहित्यिक कृतिमाथि सिनेमा बनाउन फिल्मकर्मी हिच्किचाउने । साहित्यकारदेखि फिल्मकर्मी डराउने, फिल्मकर्मीदेखि साहित्यकार डराउने ।

घान्द्रुकमा साहित्य र सिनेमा जोड्ने बहस

कास्कीको घान्द्रुकमा मंगलबार भएको सिनेमा संवादमा दिनेश डीसीले सोधे, ‘साहित्यकार र फिल्मकर्मीबीच साझेदारी किन हुन सकेन ?’ वक्ताले जवाफ दिए, ‘अन्तरक्रियाको कमी ।’

चलचित्र पत्रकार संघ, कास्कीले मंगलबार पर्यटकीय गाउँ घान्द्रुकमा गरेको सिनेमा संवादअन्तर्गत दोस्रो सेसनमा ‘सिनेमा साहित्य : सम्बन्ध र साझेदारी’ विषयक छलफल चलेको हो । छलफलमा साहित्यकार गनेस पौडेलले सिनेमालाई कलात्मक बनाउन साहित्यकार र सिनेकर्मीबीच अन्तरक्रिया नै नभएको बताए । ‘साहित्यकारले सिनेमा हेर्नुपर्ने तर सिनेकर्मीले साहित्य पढ्नु नपर्ने !,’ उनले भने, ‘हाम्रो संस्कृतिलाई कसरी सिनेमामा समेट्ने भन्ने अभ्यास नै भएन ।’

उनले पञ्चायती व्यवस्थाको ह्याङओभर अझै पनि नेपाली सिनेमाबाट उत्रिन नसकेको उल्लेख गरे । ‘पञ्चायतमा राजा महेन्द्रले नेपाली चलचित्रमा प्रयोग गरिने संवादलाई शुद्धीकरण गर्न र भाषिक एकीकरण गर्न भनेकाले पात्रले बोल्ने संवाद मौलिक लागेनन्,’ उनले भने, ‘त्यसको ह्याङओभर अझै बाँकी छ । सिनेमा कला हो भाषा होइन ।’

कवि भूषिता वशिष्ठले साहित्यको रसलाई नेपाली सिनेमाले प्राविधिक रूपमा उतार्न नसकेको बताइन् । सिनेकर्मी साहित्यकारसँग डराउने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको धारणा थियो । ‘साहित्यकारमा पनि आफ्नो कृति जस्ताको तस्तै सिनेमामा उतार्नुपर्छ भन्ने भावना हुन हुँदैन,’ उनले भनिन्, ‘निर्देशकको सिर्जनशीलतालाई पनि सम्मान गर्नुपर्छ ।’ उनले सिनेमाको संवादमा मौलिकता झल्किनुपर्ने बताइन् ।

कलाकार दीपकराज गिरीले कृतिमाथि सिनेमा बनाउँदा न्याय गर्न नसकेको आरोपमा सर्जकको गाली खाने डर सधैं भइरहने बताए । उनले नेपाली साहित्य पढ्नु आफ्ना लागि ‘हरर फिल्म’ हेरेजत्तिकै भएकाले पनि कृतिमाथि फिल्म बनाउने कोसिस नगरेको सुनाए । ‘सोचाइको दायरा फराकिलो बनाउन पनि किताब पढ्नैपर्ने भएको छ,’ उनले भने, ‘बजेटको सीमितताले गर्दा पनि फिल्ममा सबै देखाउन सकिँदैन ।’

सहजकर्ता दिनेश डीसीले नेपाली साहित्यिक कृति सेतो बाघ, वसन्ती, झोलादेखि लिएर पछिल्लो पुस्ताले अत्यधिक रुचाएको उपन्यास समर लभमाथि बनेका सिनेमाले न्याय गर्न सके–नसकेको भनी सोधेको प्रश्नमा वक्ताले स्पष्ट जवाफ दिएनन् । उनीहरूको उत्तरको सार थियो, ‘हालसम्म कृतिमाथि बनेका सिनेमाले न्याय गर्न सकेनन् ।’

पहिलो सेसनमा ‘सिनेमा टुरिज्म : सम्बन्ध र सम्भावना’ बारे छलफल चलेको थियो । निर्देशक सुदर्शन थापा र पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईसँग र पत्रकार वासु मिश्रले छलफल चलाए । छलफलको सुरुआतमै सहजकर्ता मिश्रले नेपाली भूगोललाई नेपालीले नै चिन्न नसकेको र पर्यटन प्रवद्र्धनमा ठूलो आयतनमा सहयोग नपुगेको बताए । ‘कोभिडपछि अत्यन्तै प्रभावित क्षेत्रमध्ये सिनेमा र पर्यटन दुवै पर्छन् । अहिलेको पर्यटन क्षेत्रको अवस्था कस्तो छ ?,’ उनले प्रश्न तेर्स्याए ।

‘कोरोनाले हरेक क्षेत्रलाई अस्तव्यस्त बनाएको छ । कोरोना साम्य बन्दै गएपछि भने विस्तारै लयमा फर्किंदै छ,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले भने, ‘आन्तरिक पर्यटनलाई कसरी पुन:स्थापना गर्न सकिन्छ भनेर नेपाल सरकारसँग समन्वय गरिरहेको अवस्था छ ।’ उनले सिनेमाको माध्यमबाट विश्वका धेरै ठाउँ पर्यटकीय हब बनेको बताए । सिनेमाबाट पोखरा र आसपासका स्थानलाई चिनाउन फिल्मकर्मीसँग समन्वय जरुरी रहेको उनको भनाइ थियो ।

चलचित्र निर्देशक सुदर्शन थापाले कोभिडले सम्पूर्ण क्षेत्रलाई असर गरेको बताउँदै सिनेमा र पर्यटन दुवै क्षेत्र पनि अति प्रभावित भएको सुनाए । ‘पर्यटन र सिनेमा एकदमै जोडिएको विषय हो । सिनेमा छायांकनका लागि विभिन्न ठाउँमा पुगिन्छ । म पनि १२ वर्षअघि घान्द्रुक आएको थिएँ,’ मेरो एउटा साथी छ नामक फिल्म सुटिङका लागि नयाँपुलदेखि खच्चरमा सामान बोकाएर घान्द्रुक आएको स्मरण गर्दै उनले भने, ‘म त्यस बेला र अहिले आउँदा धेरै परिवर्तन भइसकेको छ । केही हदसम्म फिल्मले निकै चिनायो घान्द्रुकलाई ।’

सिनेमा र गीतसंगीतले पर्यटकीय क्षेत्रका रूपमा कुनै पनि स्थानलाई चिनाउन सहयोग गरे पनि त्यहाँको विकास–निर्माणमा सहयोग नै भने नहुने उनको मत छ । उनले भने, ‘मुस्ताङमा ‘के यो माया हो ?’ फिल्म खिच्यौं तर त्यसमा भूगोलको चर्चा भएन । पछि त्यहीँ प्रेमगीत खिच्यौं ।

घाँसादेखि मुस्ताङसम्मको क्षेत्रलाई कथामा बाँधेर देखाउँदा स्थानीयको प्रतिक्रिया राम्रो पायौं । त्यो ठाउँसँगै स्थानीय भेषभूषा, कल्चरलाई देखाउन सक्यौं भने रुचिका साथ दर्शकले हेर्न पाउँछन् ।’ चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले सिनेमालाई पर्यटन र साहित्यसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए ।

प्रकाशित : माघ १४, २०७७ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?