मोहिन्दुको ‘एक रुपान्तरित यात्रा’ 

काठमाडौँ — मोहिन्दु चेम्जोङ कार्की रेडक्रसमा काम गर्दा होस् वा राष्ट्रसंघीय नियोगमा काम गर्दा होस्, नेपालका विभिन्न ठाउँहरुमा पुगिराख्थिन् । उनले नेपालको सुदूरपश्चिम डडलेधुरादेखि सुदूरपूर्वसम्मको यात्रा गरेकी छिन् ।

मोहिन्दुको ‘एक रुपान्तरित यात्रा’ 

जागिरकै सिलसिलामा विभिन्न ठाउँहरु घुम्ने क्रममा उनले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक पाटोलाई नजिकबाट नियाल्नै मौका पाइन् । तितामिठा अनुभव सँगालिन् ।

हाल श्रीमान्‌सँग अमेरिकामा बस्दै आएकी उनले नेपालछँदाका र घुम्दाका साथै आफ्ना बाल्यकालका अनुभवलाई समेटेर संस्मरण प्रकाशित गरेकी छिन् । बाल्यकालदेखि अहिलेसम्म आफूमा भएका रुपान्तरणलाई पुस्तकको मुख्य विषय बनाएकी छिन् उनले । त्यसैले उनले पुस्तकको नाम दिएकी छिन् ‘अ मेटामोर्फिक ओडिसी’ अर्थात ‘एक रुपान्तरित यात्रा’ ।

कार्कीले आफ्नो जीवनका विभिन्न कालखण्डअनुसार पुस्तकलाई २१ च्याप्टरमा विभाजन गरेकी छिन् । पहिलो च्याप्टरमा उनले आफूलाई चिनाउँदै आफूले बाँचेका जीवन, आफ्ना थातथलोका बारेमा उल्लेख गर्दै आफ्नो जीवन कसरी अन्त्य हुन्छ भन्नेसम्मका कल्पना गरेकी छिन् । त्यस्तै दोस्रो च्याप्टरमा उनले आफ्नो बाल्यकालका बारेमा विभिन्न कुरा समेटेकी छिन् । जसमा आफ्नो बाल्यकाल निकै सुखद रहेको उनी बताउँछिन् ।

संगीत, पुस्तक, पेन्टिङका बीचमा आफू हुर्किएकाले पनि आफ्नो बाल्यकाल निकै रमाइलो भएको कार्कीले पुस्तकमा उल्लेख गरेकी छिन् । मोहिन्दु किरात इतिहासकार तथा साहित्यकार इमानसिंह चेम्जोङकी छोरी हुन् । उनले पुस्तकको चौथो च्याप्टरमा आफ्ना बुवाआमासँगको सम्बन्ध तथा उनीहरुबाट आफूले सिकेका कुराको चर्चा गरेकी छिन् ।

त्यस्तै उनले च्याप्टर २० मा उनले दूरदराजमा रहेको गाउँले जीवन र काठमाडौंमा रहेको सिंहदरबार तथा कर्मचारीतन्त्रका बारेमा तुलना गरेकी छिन् । अझै पनि सिंहदरबारको उपस्थिति गाउँमा नपुगेको र त्यहाँको आर्थिक, सामाजिक अवस्था अझै माथि उठ्न नसकेका बारेमा उनले चर्चा गरेकी छिन् ।

त्यसो त कार्कीले पुस्तकको भूमिकामै सुदूरगाउँमा एम्बुलेन्स नभएका कारण बिरामीका कष्टकर भोगाइसँग आफ्नो साक्षात्कारको प्रसंग प्रस्तुत गरेकी छिन् । डडेलधुराको फिल्ड मिसनबाट फर्किने बेलामा कार्कीले रुखबाट लडेर घाइते भएका एक जनालाई अस्पतालसम्म पुऱ्याएकी थिइन् । पुस्तकको च्याप्टर १९ मा उनले आफूले भेटेका सयौं व्यक्तिको यस्तै दु:खसुखलाई समेटेकी छिन् ।

पुस्तक अमेरिकास्थित आउटस्कर्ट प्रेसले प्रकाशन गरेको हो ।

प्रकाशित : माघ ३, २०७७ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?