‘छकालै’ पढिसकेपछि

युवा लेखकले त अब भोलि, अर्को महिना, अर्को वर्ष अनि अर्को दशक या अर्को शताब्दीका लागि हामी आजैबाट कसरी तयार हुने ? भन्ने योजनाजडित सपना पो देखाउन सक्नुपर्छ । नत्र त हामी प्रौढहरू सुर्ताले झन् छिटो बूढो हुन्छौं है ।
प्रगति राई

छकालै अर्थात बिहानै । बीसजना युवाहरूको सीपले बनेको कथासंग्रह हो यो । बिहान अर्थात् युवा–अवस्थाको बिम्ब । यसैले पनि यो संग्रहको नाम ‘छकालै’ सान्दर्भिक लाग्यो ।

‘छकालै’ पढिसकेपछि

नवीन प्यासीले सम्पादन गरेको आफूलगायत उन्नाइस जनाका कथा विभिन्न रङ र स्वादमा पाइन्छ । यो कुनै यात्राका लागि राम्रो खुराक बन्न छक्छ । यहाँभित्र अलौकिक कथाहरूको आश नगरे पनि युवा पुस्ताले वर्तमान परिवेशको बुझाइ र भविष्यप्रति उनीहरूको संकेत÷लक्षण थोरै बुझ्न सकिन्छ । हुन त एकदिन भेटेको भरमा कुनै व्यक्तिलाई उसको पूरै मूल्याङ्कन गर्नु कति मूर्खता हुन्छ, जति एउटा कथा पढेर कथाकारको मूल्याङ्कन गर्न ।

तथापि, यो छकालैभित्र राखिएको कथाहरू हेर्दा दुःखहरूको चित्रण, दुःखको कारण र बितेका समयको स्मरणहरू प्राय भेटिन्छन् ।

अपवादमा अन्वेष थुलुङ ‘शैलजा’ कथामा लेख्छन्– ‘प्रेमलाई यदि यौन चाहनाभन्दा माथि राखिदिने हो भने के नारीले नारीलाई तिमीसँग जीवन बिताउन सक्छु भनेर प्रेम गर्न सक्दैन ?’ यो वाक्यले मलाई धेरै दिनसम्म पछ्याइरह्यो । यो एउटा नयाँ सोचको चिन्तन पनि हो । दिनदिनैको यौनिक हिंसा, कुटमारले आक्रान्त समाजले कहिल्यै पनि सोचेको थिएन कि, किन महिला–महिला मिलेर जिवन समापन नगर्ने ? चाहिने भनेको दुईजनाको साथ हो, बच्चाहरू अनाथ कति छन् कति, उनीहरूलाई अभिभवकत्व दिएर किन नबस्ने ? यो कथाले यही प्रश्न उब्जाइदिन्छ ।

कथाहरूमा निर्भीकजंग रायमाझीको ‘निःशब्द’, प्रज्ज्वल अधिकारीको ‘त्यो रात’ समर्पण श्रीको ‘राजीनामा’ संगीत मगरका ‘पाठशाला भत्केको साँझ’ले द्वन्द्वको कुरुपता चित्रण गरेको छ । निर्भीकजंग रायमाझीको कथामा युवा अवस्थाको अन्तरजातीय प्रेमले उब्जाएका जटिलताको चित्रण छ । संगीत मगरको कथामा स्कुलै नभएको गाउँमा स्कुल बन्न लाग्दा बसेको मिटिङमा सेनाले बम–बारुदको वर्षा गर्छ । कलिला नानीहरूको भविष्य निमोट्छ । यी कथाहरूमा राज्यका पक्षबाट होस् या विद्रोही पक्षबाट आखिर सोझासाझाले अनाहकमा ज्यान गुमाउनु परेको व्यथा छ । कथाहरूले देखाउँछ– अझ चहराउँदो पीडा त लाश भएर पनि दोष बोकेर पुरिनु छ ।

नदीशको ‘प्लुटो’ गज्जबको प्रतिकात्मक कथा छ । समाजमा किन दासत्वको आयु लम्बिरहन्छ, किन शासक र शासितको संख्या सधैं बराबर रहन्छ भन्ने कुराको उदारहण यस ‘प्लुटो’ कथामा एक कुकुरको सामान्य दिनचर्यालाई लिएर छर्लङ्ग पारिएको छ ।

यहाँ संग्रहित कथाहरूमा प्रायः पात्रको चित्रण (भिजिबल) छैनन् । तर दीपा मेवाहाङको कथा ‘सजना’मा भने यो पक्ष सबल देखिन्छ । पात्र आफैंले चिनेझैँ लाग्ने बनाउँछ । अञ्जना इछमफूलको कथा ‘नातिनी’ मा परिवेशको दृश्य एकदम स्पष्ट आएको छ । विकास नपुगेको गाउँमा सहर गएर आएकाहरूको जीवनशैलीले पार्ने प्रभावबारेको कथा ज्यादै मिठासलाग्दो छ ।

कुन्साङको ‘छेकीको पाक्लेन’ कथा हुम्लाबाट काठमाडौं आएको हो । सुदूरपश्चिमको त समाचारै भए पनि काठमाडौंलाई कथा नै हुन्छ । झन् कथै त अमूल्य यसै पनि हुने भयो । कथामा छेकीले पहिलो विवाह केटा मन नपरेर रद्द गर्छिन् भने दोस्रो विवाह बहुपति स्वीकार्नु पर्ने बाध्यतालाई नमान्दा विवाह रद्द गर्नुपर्ने हुन्छ । यसरी दास्रो विवाहमा भएको खर्च विवाह रद्द गर्दा केटापक्षलाई तिर्नुपर्ने हर्जाना एक लाख बीस हजार जुटाउन गरेको संघर्षको कथा छ । फिल्म निर्देशकलाई यो राम्रो कथा बन्न सक्छ । यो बहुपति प्रथालाई तिरस्कार गर्न सञ्चारमाध्यम र राज्यले पनि सघाएको छ, तर यो एक महिला र सोही समुदायका लागि भने हानिकारक छ । जसरी बहुपति प्रथामा सम्पत्ति र प्रेम सगोलमा हुन्छ भने दाइभाइको कलहले घर बिग्रँदैन । मौरीले नयाँ रानी बनाउनासाथ हुल फुटेर गएजस्तै आपसी प्रेममा बसेको परिवार पनि श्रीमतीहरू भित्रिएपछि छुटाभिन्न हुन्छन् । तर अन्य ठाउँमा यो संस्कारको अभ्यास नभएकाले हामीलाई अप्ठेरो अनुभूति हुन्छ ।

खेम बतासको ‘छोइडुम’ कथामा केही दलित व्यक्ति राजनीतिको शीर्ष स्थानमा पुगे पनि किन अझै दलित उत्पीडन कायमै छ ? भन्ने तथ्यपूर्ण कथा छ । कथित दलित, जो कुनै बेला राज्यबाट सामाजिक अधिकार वञ्चित गरेर सर्वहारा बनाइएका, अनेक कारणले सामाजिक तहको पिँधमा पारिएका वर्गको नेतृत्व गर्दै केही व्यक्ति माथिल्लो ओहदामा पुगे पनि आखिर दलित हुनुको कथा मात्र भनेर बस्ने अनि आचरण उही शासकको अनुशरण गर्ने प्रवृत्तिलाई उजागर गरेको छ । कथामा पात्रः किस्ने जनदलको नेता हुन्छ । गाउँमा ठूलो पर्व मनाउन आफ्नो समूहसहित गाउँ पुगेको किस्ने कुखुराको साँप्रा र रम खाँदै भन्छ,‘हिन्दू सामाजिक संस्कारमा सौन्दर्यशास्त्रको भाष्य छ आजसम्मको नेपाल । यसलाई भत्काउनुपर्छ ।’

अंशु खनालको ‘कठ पाइताला’ वर्तमान परिवेशलाई पढाउने पर्ने कथा छ । अंशु लेख्छिन्, ‘एउटा किरो पात खान रुख चढ्न सक्छ । मान्छेको परिचय पाइतालाले हिँडेको हिँडाइ हो ।’ किराको मेहनत र साहस हेरेर पनि मान्छेले धेरै काम गर्न सकिन्छ । तर के चाहिँमा अड्केर हो भनेजस्तो गर्न भने सकिन्न । कथाकी पात्रमाथि थोपरिएको दोष खेप्दाखेप्दै एकदिन उनीमाथि ज्यादती गर्न देवर आइलाग्छन् । अँध्यारोमै हँसियाले छप्काउँछिन् ।

आजको परिवेशमा पनि जसले आफ्नी छोरी मानेका छैनन्, साना बालक मानेका छैनन्, जसले स्त्री जातिलाई यौनको भाँडो मात्र देख्छ भने त्यो पुरुष सायद समाजको लागि पनि केही कामको नहोला । समाजमा दिनदिनै बढ्दो बलात्कारको घटनाले अखबारको पूरै पाना भरिँदा पनि सरकारबाट निवारण/न्यूनीकरणको कुनै पाइला नचालिनु खेदजनक छ । विरोधमा उत्रेका महिलाहरूको समूहलाई झन् चुनौती दिन बलात्कारी समूह फेसबुकमा बनाइनुले केही मानसिक रोगी पुरुषहरूको उपस्थिति बढ्दो देखाउँछ । केही महिना अगाडि धनकुटामा एक महिलाले आफूमाथिको ज्यादती गर्न आउने पुरुषको हत्या गरिदिएको समाचारले एकचोटि ‘हत्या’ ले पनि खुसी तुल्याएको थियो । अंशुको कथाले पनि यही सन्देश दिन्छ ।

अब, अलिक फरक कुरा गरौं । त्यो के भने, भरखर पाइला चाल्दै गरेका बालकले बाङ्गोटिङ्गो हिँडे पनि राम्रै देखिन्छ । तर हिँड्न जान्ने भएको मान्छेले बाङ्गो हिँडे के होला ? सायद हाँसो उठ्छ । यस्तै यो संग्रहभित्रका केही कथाकारहरूको शिल्प, चलाखी अथवा अनभिज्ञताको पनि कुरा गर्छु ।

यस्तै व्यक्ति हुन्, अनिल बान्तवा । उनको कथा ‘देउताको छेऊ’ बिम्बहरूले भरिपूर्ण छ । तर केही विचारहरू भने अझ स्पष्ट हुन बाँकी छन् । जस्तो कि, मुखिया चन्द्रसिंह राई । राई आफैमा शासकद्वारा प्रदत्त पगरी हो । राईमाथि मुखिया पगरी अडिन्न । कथा किरात जातिको छ, आमाको मृत्यु हुन्छ । किरात संस्कारअनुसार मृतात्मा चुलामा बास गर्छन् । तर कथामा त जङ्गल पठाइन्छ । ढुङ्गाको सिरकको कुरा हुन्छ । जङ्गलमा एक्लै डर लाग्ला भन्ने कुरा हुन्छ । जे होस् उनको शैली अत्यन्तै मिठो छ । सटिक छ । तर यो शैलीले अनिललाई चाहिँ धेरै सहयोग नगर्ला । किन कि अरुले नै चलाइसकेको सेकेण्ड ह्याण्ड शैलीले लेखक स्वयंलाई घाटा गर्छ ।

बाबुसाहेब रसायन शास्त्रका विद्यार्थी हुन् । ‘समयसँगको यात्रा’ कथा बडो महत्वकांक्षी लाग्छ । यसमा वाक्यहरू छन्– ‘एकान्तमा पुर्‍याओस् । रगत जम्लाजस्तो जाडो, हड्डी पग्लेलाजस्तो गर्मी । जहाँ ईश्वरको अस्तित्वै नहोस्’ कथाको सुरुवातितिर बडो रहस्यमयी तरिकाले भरेको उडान ओछ्यानमा सुतिरहेको सपनमा अवतरित हुन्छ । सपनामा सुन्दर युवक देखेर स्वप्नदोष भएजस्तो । कथाको उठानसँगै बैठान पनि भए अत्ति राम्रो हुनेछ । फरक विचारको जन्म हुने नै छ ।

युवा लेखकहरू निक्कै प्रयोगमा पनि रम्दा रहेछन् । ‘दुई सूर्यको उदय’ नाम दिएर मनोज विश्वकर्माले निक्कै आलंकारिक प्रयोगहरू देखाएका छन् । कथामा रिपोर्टर र कविको संवाद छ । नाटकमा झैँ कथामा पनि छुट्टा–छुट्टै दृश्य हालिएको छ । रिपोर्टर र कविको यौन सम्बन्ध पनि भइहाल्छ । उनी मन परेका जति सबैलाई सेक्सी भन्न रुचाउँछन् । हुन पनि मनले खाएपछि नै सेक्स हुने भएकाले मन परेकालाई सेक्सी भन्न अत्यक्ति त नहोला । यसैलाई आधार बनाएर उनले लेखक सरिता तिवारीदेखि युवल नोहा हरारीसम्मलाई सेक्सी मानेका छन् ।

‘त्यसपछि वैजयन्ति’ देव व्रत, ‘गणितीय परिवर्तन’ सागर चन्द, ‘यात्रा : अन्त्य एक आदर्शको’ कृष्णप्रसाद अर्यालका कथाहरू एकदमै शिद्धहस्त छन् । यीनले गम्भीर विषयमाथि समय लगाएर लेखे भने अवश्य नै आफ्नो ठाउँ बनाउने नै छन् । यिनका शिल्पी, प्रस्तुतिमा खोट लगाउने ठाउँ छैन । कथा पढ्दा एकदमै मज्जा लाग्छ । तर विषय फितला छन् । समय निकालेर लेखून् भन्ने मेरो चाहना बढेको छ ।

प्रेम, झगडा, इष्र्या आदि मानिसमा मात्र सीमित मानिइरहेको बेला विकासको कथा ‘नीरा’मा कुकुरले प्रेममा मानिसलाई विस्थापित गरेको कहानी छ । आफ्नाको अनुपस्थितिमा एक युवतीले उसको श्रीमानको प्रेम कुकुरबाट तृप्ति गरेको कुरा अनौठो र रोचक छ । यो अस्वभाविक प्रेमलाई लेखकले अति सरल र स्वाभाविक रुपले प्रस्तुत गरेका छन् ।

अन्त्यमा, सम्पादक नवीन सानै छ मेरो दाँजोमा । योभन्दा अगाडि ‘अनुहारको भीड’ कविता संग्रह, यसबाजी ‘छकालै’ कथा संग्रहजस्ता कृति पाठकलाई दिएर साहित्य भकारी बढाएको छ उसले ।

तर नवीनले कथा लेख्नचाहिँ अलिक सिक्नै परो । दन्त्यकथा र स्रस्टाले लेखेको कथामा फरकपन त हुनैपर्यो नि । अझ मेरो विचारमा यो शीर्षक ‘छकालै’ बारे पनि एउटा कथा हुनुपथ्र्यो । झ्वाट्ट हेर्दा शब्दको भ्रष्टाचारजस्तो देखियो । तर मैले त मिलाएर बुझेँ । युवा सपनालाई ‘बिहान’ भनिएको हो, ‘बिहान’लाई सुदूरपश्चिमतिर ‘छकाल’ भनिन्छ, ईः यसरी बुझेँ ।

समग्रमा यी कथाहरू पढिसक्दा मलाई एउटा त्रासले थिच्न थाल्यो, कि युवाहरूमा भविष्यको स्पष्ट सपना रहेनछ कि के हो ? सबै कथाहरूमा भूत र वर्तमानका चित्रण मात्र आए । युवाले त अब भोलि, अर्को महिना, अर्को वर्ष अनि अर्को दशक या अर्को शताब्दीको लागि हामी आजैबाट कसरी तयार हुने ? भन्ने योजनाजडित सपना पो देखाउन सक्नुपर्छ । नत्र त हामी प्रौढहरू सुर्ताले झन् छिटो बूढो हुन्छौं है ।

युवाहरूलाई मेरो शुभाषिस छ– भविष्यका खाकाजडित अझ धेरै कथाहरू आऊन् । धन्यवाद योङ बोइज ।

कथासंग्रह : छकालै

प्रकाशक : इन्डिगो इन्क

मूल्य : ३९९ रुपैयाँ ।

पेज : २५२

प्रकाशित : माघ ३, २०७७ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?