बडाकाजी मरीचिमान सिंह प्रधानको वर्चस्व
नेपालका प्रथम बडाकाजी र परराष्ट्र मामिला हेर्ने सर्वोच्च प्रशासनिक अधिकारी तथा काजी बलमान सिंह प्रधान र मानकुमारीका छोरा मरीचिमान सिंह प्रधानबारे विस्तृत चर्चा भइसकेको छ । १८७१ मा जन्मिई अक्टोबर २२, १९४५ मा निधन भएका मरीचिमान सिंह प्रधानले दरबार स्कुलमा अध्ययन गरी इन्ट्रान्स र एफए परीक्षा उत्तीर्ण गरेका हुन् ।
सन् १८९५ मा १२०० को खान्गीसहित खरिदार पदबाट मुन्सीखानामा प्रवेश गरेका उनी १८९७ मा १४०० खाने नायब सुब्बा, १८९९ मा १६०० को तलबसहित सुब्बा र १९०४ मा ३००० को खान्गीसहित मीरसुब्बा भए । लगत्तै १९०५ मा प्रधानलाई ३५०० को वतनसहित सरदारमा बढुवा गरियो ।
सन् १९०९ मा उनलाई काजी दर्जा दिइयो । र उनको तलब ६४०० तोकियो । १९१४ मा प्रधानले नेपालको इतिहासमा पहिला बडाकाजीको दर्जा पाए । त्यति बेला बडाकाजीको खान्गी ७६०० तोकिएको थियो । निजामती सेवाको सर्वोच्च पद पाएका परराष्ट्र मामिलाका हाकिम प्रधानलाई उक्त पदमा १९२२ मा ९००० र १९३२ मा १२००० खान्गीको सुविधा दिइएको थियो । ७५ वर्षको उमेरमा पशुपति आर्यतीर्थमा निधन भएका र विभिन्न मानसम्मान तथा बेलायती सरकारी तहमा सिआईबाट विभूषित उनको मृत्यु हुँदा एक छोरा, पाँच छोरी र ४० नातिनातिना थिए ।
जुद्धशमशेरको सिकार जस्ता आन्तरिक भ्रमणमा लगभग स्थायी रुपमा मरीचिमान सिंह सहभागी हुन्थे । साथै प्रधानमन्त्री चन्द्रशमशेरकै पालादेखि मुन्सीखानामा उनले आफ्ना बिएसम्म उत्तीर्ण गर्ने छोरा नगेन्द्रमान सिंह (उनलाई कोलकाताबाट एमए गर्न पठाइएकोमा काम परी बीचमै बोलाइएको थियो)लाई कार्यालयका काममा लगाइसकेका थिए । यसै प्रसङ्गमा जुद्धशमशेरको समयमा बडाकाजी सिंहका अतिरिक्त छोरा नगेन्द्रमान सिंह र आफ्नै परिवारका अर्का प्रभावशाली सदस्य मीरसुब्बा प्रभुमानका छोरा मीरसुब्बा (पछि सरदार) प्रकटमान सिंहको पनि खासगरी वैदेशिक मामिलामा निकै चल्तीफिर्ती थियो । प्रभुमान सिंह अमीर मुन्सीसम्मको दर्जा पाउन सफल भए ।
केही समयपछि बाबु मरीचिमानको देहान्तसँगै सुब्बा नगेन्द्रमान मुन्सीखानाका हाकिम (पछि मीरसुब्बा र सरदार) बने । र प्रकटमान लैनको मुन्सी कप्तानको कार्यालयका प्रमुख (१९५१ पछि नेपालको पहिलो शिष्टाचार महापाल) बनेको घटना यहाँ उल्लेखनीय छ । नगेन्द्रमान सिंह प्रधानको भनाइमा सुवर्णशमशेर (मार्च २४, १९१०–नोभेम्बर ९, १९७७; पछि अर्थमन्त्री, मन्त्रिपरिषद् अध्यक्ष र उपप्रधानमन्त्री)सँग कोलकाता विश्वविद्यालयमा एमए पढ्न बस्दाबस्दै प्रधानमन्त्री भीमशमशेरले मुन्सीखानामा काम गर्न आवश्यक परेको भनी उनलाई अध्ययनको बीचमै फिर्ता बोलाउने निर्णय गरेको हो । सायद राणाहरुको सिको गरी बहुपत्नी राख्ने मुन्सीहरुको चलनअनुसार बडाकाजी मरीचिमान सिंह प्रधानका तीन पत्नी (भोटेनानी राजभण्डारी, वेदमाया श्रेष्ठ र ललितादेवी) थिए । यीमध्ये एक पत्नीकी बहिनी प्रभुमानले बिहे गरेका थिए । तसर्थ पारिवारिक सदस्यका अतिरिक्त मरीचिमान र प्रभुमान साढु पनि थिए ।
राणाकालीन वैदेशिक अड्डा (मुन्सीखाना) र राणाकालीन प्रधानमन्त्रीको कार्यालय (खड्गनिशाना भनिने)बीच विदेशनीतिबारे केकस्तो तालमेल वा समन्वय हुने गथ्र्यो, त्यसबारे त्यति जानकारी छैन । विदेश कार्यालयका राजनीतिक प्रमुख प्रधानमन्त्रीकै छोरा वा निकट व्यक्ति रहने प्रसङ्गमा सायद खड्गनिशाना कार्यालयको प्रत्यक्ष कुनै भूमिका नहुन पनि सक्छ । तर राणा प्रशासनमा हरेक क्षेत्रमा नियन्त्रण र सन्तुलन अपनाउने प्रचलन थियो । १९५१ पछि कतिपय प्रधानमन्त्रीले विदेशमन्त्रीको पनि काम सम्हालेका बेला परराष्ट्र मन्त्रालयमा प्रधानमन्त्री कार्यालयको भूमिका, प्रभुत्व र वर्चस्व बढ्दै गयो । यो कुरा पनि विशेषत: वैदेशिक मामलामा बढी चासो लिने प्रधानमन्त्री पदमा बहाल रहँदा अझ बढी लागू हुन्थ्यो ।
यस सम्बन्धमा पनि कुनै खास नीतिनियम वा कानुनी प्रावधानभन्दा पनि तत्कालीन प्रशासनिक संरचना र विदेश मामिलाबारे प्रधानमन्त्रीको सुझाव र पछिका वर्षहरुमा राजदरबारको बलियो नियन्त्रण हुने समयमा राजदरबारसँग परराष्ट्र मामिला हेर्न समय समयमा तालुकवाला तोकिएको सम्बन्धित सचिवालयको पछिसम्म नियन्त्रण र सन्तुलनको सिद्धान्तअनुरुप महफ्वपूर्ण भूमिका रहन्थ्यो । खासगरी सर्वदलीय सरकारका बेला विदेश मामिलामा दखल भएका वा विशेष चाख लिने प्रधानमन्त्री र अन्य दलको प्रतिनिधित्व गर्ने परराष्ट्रमन्त्रीबीच उचित समन्वय र सम्पर्क गर्ने काम पेचिलो छ नै, सँगै संवेदनशील बन्ने गरेको प्रसङ्गमा परराष्ट्र सचिवलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीच समन्वय एवम् सेतुको काम गर्ने अझ बढी जिम्मेवारी पर्छ ।
दुई प्रबुद्ध व्यक्ति शिक्षा विभागका महानिर्देशक जनरल मृगेन्द्रशमशेर र नेपाली भाषा प्रकाशिनी समितिका अध्यक्ष बालकृष्णशमशेर (पछि बालकृष्ण सम)को अनुरोधमा नेपालमा एक साहित्यिक पत्रिका निकाल्नेबारे नेपालका लागि ब्रिटिस राजदूत लेफ्टिनेन्ट कर्णेल सर क्लेन्डन टी डक्स (१९२९–३४)को नकारात्मक राय प्राप्त भएको थियो । यो विषय प्रकटमान सिंह प्रधान ले जानकारी दिँदा ब्रिटिस पक्षको यो दृष्टिकोणलाई प्रधानमन्त्री जुद्धशमशेरले विशेष महफ्व दिई यस्तो पत्रिकाको प्रकाशन गर्न आवश्यक नभएको निर्णय दिएका थिए । तर यसैबीच मुन्सीखानाका पुराना एवम् पाका हाकिम र आफ्ना विश्वासी निजी सचिव बडाकाजी मरीचिमान सिंह प्रधानको राय प्रधानमन्त्रीले माग्दा ब्रिटिस राजदूत (त्यस बेला बडासाहेब भन्ने चलन), तत्कालीन अनुदार राणा परिवारको नकारात्मक राय र प्रधानमन्त्रीको यसैअनुरुपको स्पष्ट झुकावका बाबजुद चोखो साहित्यिक मासिक पत्रिका चलाउन दिन उपयुक्त भएको राय बडाकाजी सिंहले दिएका थिए ।
सम्भवत: प्रधानमन्त्रीलाई विदेश विभाग प्रमुख सिंहबाट पनि आफ्नो मनसाय र ब्रिटिस राजदूतको सल्लाहअनुसारकै नकारात्मक राय आउने विश्वास थियो । सायद आफ्ना निकट विश्वासी भारदारबाट शिष्टाचारका नाममा मागिएको सुझाव बेग्लै आए पनि प्रधानमन्त्रीले तुरुन्त सिंहको विचारअनुरुप सकारात्मक निर्णय दिए । र पत्रिका प्रकाशन गर्न दिए । यो घटनाले एकातर्फ मुन्सीखानाका हाकिमलाई प्रधानमन्त्रीले गरेको विश्वास झल्किन्छ भने अर्कोतर्फ बडाकाजीको त्यस समयका परराष्ट्र मामिलालगायत सम्पूर्ण कार्यकारिणी संरचना र प्रशासनमा रहेको बलियो पकड पनि प्रस्टिन्छ ।
यस्तो पृष्ठभूमिमा वि.सं १९९१ को सरस्वती पूजाका दिन निस्की फागुन १९९१ देखि सुरु भएको मासिक पत्रिका शारदा नेपालको साहित्यिक आकाशमा उज्ज्वल ताराका रुपमा अघि बढ्यो । यसले नेपाली समाजमा सानै रुपमा भए पनि जागरण ल्याउन सघायो । साहित्य समालोचक एवम् सङ्कलक एक व्यक्तिको भनाइमा प्रकाशन सुरु जहिले भए पनि दर्ताका हिसाबले शारदा पहिलो (दर्ता नम्बर ००१), तीन दशकअघि नै प्रकाशन सुरु गर्ने गोरखापत्र दोस्रो (दर्ता नं. ००२) र उद्योग मासिक तेस्रो (दर्ता नम्बर ००३) थियो ।
विश्व परिवर्तन र समयको प्रवाहसँगै यो पत्रिकामा रचना दिने महफ्वपूर्ण नामहरुमा प्रजातन्त्र स्थापनापछि कूटनीतिसँग यदाकदा जोडिने व्यक्तिहरु विश्वेश्वरप्रसाद कोइराला (साहित्यकार, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री) र सूर्यविक्रम ज्ञवाली (इतिहासकार र एकताका नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा सांस्कृतिक सहचारी रहिसकेका) पनि थिए । यो पत्रिका केही वर्षभित्रै नेपालसहित भारतमा रहने प्रवासी नेपाली साहित्यकारको सिर्जनात्मक प्रतिभा प्रस्फुटन गर्ने माध्यम बन्यो । विदेश अड्डाका प्रमुखको पदमा गर्नुपर्ने कार्यमा लगनशीलता मात्र होइन, बडाकाजीमा साहित्यप्रति पनि विशेष अनुराग थियो । उनी युवाकवि मोतीराम भट्ट र अर्का कवि लक्ष्मीदत्त पन्तको राष्ट्रियता एवम् नेपाली साहित्यप्रतिको आस्थाबाट विशेष प्रभावित देखिन्थे ।
श्री ५ पृथ्वीवीर विक्रम शाहका निकट सहयोगी समेत रहने तथा त्यो समयका प्रबुद्ध मानिने दिव्यदेव पन्त, हरिहर आचार्य, राजीवलोचन जोशी, कृष्णदेव पाण्डे, तीर्थराज पाण्डे, अजद हुशेन, विष्णुप्रसाद शाह, रामनाथ आचार्य आदिसँग मित्रता संगाल्ने बडाकाजी मरीचिमान सिंह प्रधान आफैं साहित्यका प्रखर अनुयायी थिए । वि.सं १९५९ मा प्रकाशित हरिश्चन्द्र वर्णनबाट उद्धृत गरी हरिश्चन्द्र विलाप शीर्षकमा उनले रचना गरेका कविता शारदामा छापिएको थियो । नेपालको साहित्यिक विकासमा महफ्वपूर्ण भूमिका खेल्ने शारदा पत्रिकामा रचना दिने व्यक्तिहरुमा नेपालका बौद्धिक जगत् तथा भारतका विभिन्न स्थानमा बसोवास गर्ने नेपाली र प्रवासी नेपाली समुदायका लगभग समग्र प्रतिनिधि थिए । साथै उनमा स्पष्ट बोली र प्रस्तुतिमा मिठास थियो ।
चाहे १९१८ सालमा त्रिभुवनचन्द्र कलेज (१९२४ पछि त्रिचन्द्र) उद्घाटनका अवसरमा चन्द्रशमशेरले दिएको भाषण होस् वा सेप्टेम्बर ९, १९२६ मा श्री ५ त्रिभुवनबाट त्रिभुवनचन्द्र मिलिट्री अस्पताल उद्घाटन गर्दाको चन्द्रशमशेरकै भाषण किन नहोस्, यी सबै काममा धेरै वर्षदेखि क्षयरोगबाट ग्रस्त प्रधानमन्त्रीले एकदुई वाक्य आफूले पढी बाँकी भाग पूरै भाषण आफ्ना निजी सचिवका रुपमा कार्यरत मुन्सीखानाका हाकिम मरीचिमान सिंहलाई पढाउन लगाउने एक नियमित प्रक्रिया नै थियो । तर नोभेम्बर २८, १९२४ शुक्रबार टुँडीखेल खरीको बोटबाट प्रधानमन्त्री चन्द्रशमशेरले करियामोचन (दासदासीहरु राख्ने प्रथाको उन्मूलन) घोषणा गर्दा उनले दिएको सम्बोधन अलिकति चन्द्रशमशेरले बोलेर बाँकी माइला गुरुज्यू (नायव बडागुरुज्यू) हेमराज पाण्डेलाई वाचन गर्न लगाइएको थियो ।
राणाकालीन समयमा काठमाडौं उपत्यकामा सामान्यतया राणा प्रधानमन्त्री र केही प्रभावशाली राणाहरुको सालिक राख्ने चलन थियो । यस्ता सालिक बेलायतमा अर्डर दिई बनाइन्थ्यो । भीमशमशेर प्रधानमन्त्री हुँदा स्व. राजा पृथ्वी वीरविक्रम शाहको पश्चिम मुहार भएको सालिक राजा त्रिभुवनबाट भोटाहिटी दोबाटोमा मार्च २, १९३० मा उद्घाटन गर्दा दरबार खुल्यो भनी विदेश विभागका प्रमुख बडाकाजी मरीचिमानले नै कार्यक्रमको शुभारम्भ गरेका थिए ।
उक्त अवसरमा प्रधानमन्त्री भीमशमशेर, उच्चपदस्थ कर्मचारीलगायत ब्रिटिस राजदूत सर क्लेन्डन टी डक्स र दूतावासका डाक्टर आदिको उपस्थिति थियो । यो सालिकलाई पछि सडक विस्तार गर्ने क्रममा अन्य राणापरिवारका सालिक स्थानान्तरण गरिएसरह भद्रकालीबाट पूर्वपट्टी सिंहदरबार जाने मुख्य बाटोमा सारियो । यही औपचारिक प्रक्रिया पाँच दिनपछि मार्च ७, १९३० का दिन चन्द्रशमशेरको सालिक अनावरण गर्दा पनि लगभग दोहोरियो ।
राणाकालमा शक्तिशाली श्री ३ महाराज प्रधानमन्त्री र अन्य राणा परिवारबाहेक कुनै राजाको सालिक राखिएको सायद यो पहिलो पटक थियो । पछि प्रधानमन्त्री जुद्धशमशेरको पालामा राजा त्रिभुवनको सालिक त्रिपुरेश्वरमा राखियो । सेप्टेम्बर ६, १९४५ मा त्रिपुरेश्वरस्थित सरकारी गेस्ट हाउस र धर्मशालाको चौमुहानी बीचमा यो प्रतिमाको उद्घाटन भएको थियो । उत्तरतर्फ फर्केको यो प्रतिमाको उद्घाटनमा युवराज महेन्द्र, राजपरिवारका सदस्य एवम् भाइभारदारसहित गन्यमान्य व्यक्तिको उपस्थितिमा प्रतिमा अनावरण गर्दै प्रधानमन्त्री जुद्धशमशेरले भाषण दिए ।
राजाको प्रतिमाको तल रहेको सिङ्गमरमरमा सो समयसम्मका राजा त्रिभुवनको कार्यकालको उपलब्धिपूर्ण विवरण र विशेषत: लन्डनमा खोलिएको नेपालको पहिलो राजदूतावास, द्वितीय विश्ययुद्धमा नेपालको सहभागिता र अन्य कूटनीतिक आयामलाई प्रमुखतासाथ वर्णन गरिएको छ । यसअघि नेपालमा राखिएका सालिक बेलायतमा बनाई ल्याउने गरिएको सन्दर्भमा यो प्रतिमाको निर्माण कोलकाताबाट झिकाइएका कालिगडले काठमाडौंमै गरेका हुन् । एक सूचनाअनुसार ती कालिगड सुनिल पाल थिए ।
राणाकालीन समयमा गरिने औपचारिक समारोहमा राजपरिवारलगायत राणावृत्तका महिलालाई प्रत्यक्ष सहभागी गराउने चलन थिएन । तर यदाकदा सम्बद्ध परिवार सदस्यलाई आमन्त्रण गरिन्थ्यो र छुट्टै रहने व्यवस्था हुन्थ्यो । उदाहरणका लागि पृथ्वी वीरविक्रम शाहको सालिक र चन्द्रशमशेरको सालिक अनावरणमा क्रमश: पृथ्वी वीरविक्रम शाहकी रानी र चन्द्रशमशेरकी कान्छी पत्नीलाई बोलाइएको थियो । दुवै अवसरमा आमन्त्रित महिलालाई समारोहस्थलका नजिक दरबार हाईस्कुल र टाउन हलको कौसीमा समारोह हेर्ने मौका मिलाइएको थियो ।
चन्द्रशमशेर सत्तामा आएको सुरुका वर्षमा १९०२–०३ तिर मुन्सीखानामा वरिष्ठ दर्जा पाइसकेका मुन्सी मरीचिमान सिंहको आँखा ज्यादै बिग्रेकाले प्रधानमन्त्रीबाट उनलाई चस्मा लगाउन हुकुम प्रमाङ्गी भएको थियो । त्यसैले उनले दाम राखेको कुरा तथा १९२४ को दसैंका अवसरमा विदेश अड्डाका प्रमुख सिंहलाई मोटरकार चढ्ने अनुमति प्रदान भएको थियो । साथै पछि उनलाई सात तोपको सलामी दिने विषय अहिलेको अवस्थामा त्यति महफ्वको लाग्दैन । तर तत्कालीन नेपालको सामाजिक, राजनीतिक स्थिति एवम् हुकुमी शासनको परिवेशमा यस प्रकारका घटनाले पनि तत्कालीन विदेश विभागको मर्यादा र स्थानलाई अवश्य प्रतिबिम्बित गर्छन् । साथै मुन्सीखानाका हाकिमलाई समयसमयमा कुनै औपचारिक कार्यक्रममा दिइने ब्रिटिस राजदूतको भाषण नेपालीमा उल्था गर्ने काम पनि दिइने गरिन्थ्यो ।
सेप्टेम्बर १९०५ मा निजामती हाकिमहरुको पजनी हुँदा मीरसुब्बा मरीचिमानलाई मुन्सीखानातर्फ सर्दारी दिइएको थियो । उनलाई केवल एक वर्षअघि सेप्टेम्बर १९०४ को सूचनाअनुसार मुन्सीखानाका सुब्बाबाट मीरसुब्बा बनाइएको थियो । त्यसको केही वर्षभित्रै उनलाई काजी पदमा बढुवा गरियो । अप्रिल २०, १९२० का दिन श्री ३ चन्द्रशमशेरबाट प्रधानसेनापतिलगायत देशका माथिल्लो स्तरका जङ्गी निजामती कर्मचारीलाई विभूषित गर्दा सिंहलाई नेपाल तारा तेस्रो प्रदान गरिएको थियो । सोही अवसरमा विभूषित हुने अन्य पदाधिकारीमा उच्चस्तरीय रोलवाला परिवार सदस्य भीमशमशेर, जुद्धशमशेर, मोहनशमशेर र केशरशमशेर थिए ।
त्यति बेला तक्मा पाउने अन्य प्रमुख पदाधिकारीमा कमान्डिङ कर्णेलत्रय कुमार नरसिंह राणा, बहादुर गम्भीरसिंह रायमाझी र डिल्लीशमशेर थापा, प्रिन्सिपल तथा प्रधानमन्त्रीका वैदेशिक सल्लाहकार बटुकृष्ण मोइत्र र मुन्सी कप्तान कार्यालयका मीरसुब्बा अष्टमान सिंह परे ।१८ साथै डिसेम्बर २१, १९२३ मा नेपाल र ग्रेट ब्रिटेनबीच भएको मित्रताको नयाँ सन्धिपत्रको ‘लिनुदिनु’ अप्रिल ६, १९२५ मा काठमाडौंमा महाराज चन्द्रशमशेर र ब्रिटिस अन्भ्वाय कर्णेल ओकोनोरबीच भयो । यस अवसरमा नयाँ तक्मा पाउनेहरुमा बडाकाजी मरीचिमान सिंहलाई ‘मान्यवर’ र मीरसुब्बा अष्टमान सिंहलाई ‘मान्य’ दिइएको थियो । पछि मरीचिमान सिंहलाई ‘प्रदीप्त मान्यवर’ दिइएको थियो ।
नेपाल र ग्रेट ब्रिटेनबीचको मित्रताको सन्धि (नयाँ अहद) गराउन प्रशंसनीय योगदान गरेबापत ब्रिटिस सरकारले मोहनशमशेरलाई अनरेरी केसिआइई, जनरल तेजशमशेरलाई केबिई, जनरल केशरशमशेरलाई केसिआइई तथा राजगुरु हेमराज पण्डित, मान्यवर बडाकाजी मरीचिमान सिंह र मान्य मीरसुब्बा अष्टमान सिंहलाई विभूषण प्रदान गर्ने निर्णय गर्यो । नेपालका लागि ब्रिटिस राजदूत (अन्भ्वाय) लेक डब्ल्युएफटी ओकोनोरले उक्त विभूषण सिंहदरबारमा आयोजित एक समारोहमा उनीहरुलाई वितरण गरे ।
सोही दिन सन्धिपत्रका दुवैतर्फबाट ‘लिनुदिनु’ भएको थियो । श्री ५ त्रिभुवनसहित देशका सबै गन्यमान्य व्यक्ति उपस्थित भएको सो समारोहमा प्रधानमन्त्री चन्द्रशमशेर र ब्रिटिस अन्भ्वाय ओकोनोरले आआफ्ना सरकारका तर्फबाट लामो वक्तृता (भाषण) गरेका थिए ।२४ स्मरणीय छ, ब्रिटिस राजदूत (त्यति बेला अवकाशप्राप्त) सर फ्रेडेरिक ओकोनोरलाई पछि जुद्धशमशेरले सम्भवत: यो सन्धि गराउन गरेको योगदानस्वरुप डिसेम्बर ३, १९३३ मा ‘प्रोज्ज्वल नेपाल तारा’ प्रदान गरे ।
तीनपुस्ता बाजे, बाबु र छोरा (काजी बलवान, बडाकाजी मरीचिमान र सरदार नगेन्द्रमान) लगातार मुन्सीखानाका प्रमुखका रुपमा सत्तामा रहे । उनीहरु तीनै जना आआफ्नै दृष्टिकोणले विशेषताप्राप्त व्यक्ति बने । बलवान सिंह नेपालको पहिलो इन्ट्रान्स पास भएका नाताले उनी शिक्षा पूरा गरी थानकोट आइपुग्दा दोसल्लासहित भव्य स्वागत पाउने व्यक्ति बने । त्यस्तै सर्वोच्च नागरिक सम्मान पाउने बडाकाजी मरीचिमान एफए उत्तीर्ण व्यक्ति थिए । यसैबीच भारतीय शिक्षा प्रणालीमा गरिएको परिवर्तनअनुसार म्याट्रिकुलेसन परीक्षा पूरा गरेपछि कलेजमा पढाइ हुने इन्ट्रान्स र एफए परीक्षा खारेज गरी आइए, आइएससी र आइकम जस्ता परीक्षा सुरु गरियो ।
मरीचिमानका दाजु देवमान सिंह प्रधान पनि अङ्ग्रेजी पढेका र होनहार व्यक्ति थिए । तर उनको छिट्टै मृत्यु भएकाले उनको नाम खास प्रकाशमा आएन । केटाकेटीदेखि राम्ररी परिचित फिल्ड मार्सल केशरशमशेरको भनाइमा प्रबुद्ध स्वभावका दाजु देवमान (बोलाइने नाम अमरेश) बाँचेको भए सायद मरीचिमान सिंहले नेपालको तत्कालीन प्रशासन यन्त्रमा त्यति ठूलो हुने र प्रसिद्धि पाउने सम्भावना कमै थियो । त्यस्तै कोलकाताबाट बिए पास गरी पछि उपप्रधानमन्त्री हुने सुवर्णशमशेरसँग एमए पढ्न लाग्दा काठमाडौं बोलाइएका नगेन्द्रमान सिंह विदेश अड्डाका प्रमुख हुने मुन्सी परिवारमा पहिलो स्नातक बने । यही परम्पराअनुसार पछि एमए गरी फर्किंदा सुवर्णशमशेरलाई पनि ठूलै इज्जत गरिएको थियो ।
यसअघि अक्टोबर २०, १९५५ मा केही प्रमुख पदाधिकारीहरुको नियुक्ति र सरुवा गर्ने क्रममा साविकको कानुन आयोग (ल कमिसन)का अध्यक्ष बडाकाजी माणिकलाल राजभण्डारीलाई पब्लिक सर्भिस कमिसनको अध्यक्षमा सरुवा गरी उनको मासिक तलब नौ सय रुपैयाँ तोकिएको थियो । सोही समितिको निर्णयअनुसार हालसम्म कार्यरत पब्लिक सर्भिस कमिसनका अध्यक्ष सरदार नगेन्द्रमान सिंहलाई ल कमिसनको अध्यक्ष बनाइएको थियो । समितिका अन्य निर्णयमा पसकको सदस्यमा नरेन्द्रमणि आचार्य दीक्षित र निर्वाचन कमिसनरमा सुवर्णशमशेरको नियुक्ति पनि थियो ।
१८५०–५१ तिर भएको जङ्गबहादुरको यूरोप यात्रामा मुन्सी परिवारका विदेश मामिला हेर्ने हाकिमलाई सहभागी गराइएन । यो एउटा आश्चर्यकै घटना थियो । यसअघि भीमसेन थापाकै पालामा बेलायत जान भनी कोलकाता पुगेको ’छोटा जनरल‘ माथवरसिंह थापा नेतृत्वको टोलीमा काजी जङ्गबहादुर कुँवर, मुन्सी लक्ष्मीदास सिंह प्रधान र कोलकातास्थित वकिल लोकरमण उपाध्यायलाई समावेश गरिएको थियो । माथवर सिंह थापाका दुई छोरा रणोज्ज्वल सिंह थापा, रणजोर थापा, पछि चीनका बादशाहलाई सौगात लैजाने टोलीको नेतृत्व गर्ने सुरथ सिंह पन्थ, गम्भीर सिंह अधिकारी र डिल्ली सिंह बस्न्यात पनि सो टोलीमा थिए । बेलायती पक्षको असहयोगका कारण यो भ्रमण रद्द भयो । चन्द्रशमशेरले युरोप भ्रमण गर्दा सरदार (पछि बडाकाजी) मरीचिमान सिंहलाई संलग्न गरिएको थियो ।
चन्द्रशमशेरका उत्तराधिकारी राणा प्रधानमन्त्रीहरु भारतबाहेक अन्य विदेशी मुलुकको भ्रमणमा जाने कार्यक्रम भएन । भारत भ्रमणका अवसरमा विदेश विभागका प्रमुखलाई सामान्यतया संलग्न गराइन्थ्यो । अन्तिम मुन्सी हाकिम सरदार नगेन्द्रमान सिंह प्रधानलाई १९३४ मा बेलायतका नरेशलाई नेपालका तर्फबाट दिइएको ओजस्वी राजन्य नामको तक्मा पहिर्याउन पठाइएको उच्चस्तरीय टोलीमा समावेश गरिएको थियो । यही टोलीले लन्डनस्थित देशको पहिलो राजदूतावास खोल्ने गृहकार्य गरेको थियो ।
बडाकाजी मरीचिमान सिंहको मुन्सीखानाका प्रमुखका रुपमा पछिल्लो कार्यकालका समयमा राणाशासनविरोधी गतिविधिहरु भारतमा क्रमश: बढ्दै गए ।खासगरी प्रजा परिषद्का कार्यकर्ताहरुको भारतमा विशेषत: पटना क्षेत्रमा चहलपहल निकै बढ्यो । भारतका अखबारहरुमा समयसमयमा राणाविरोधी लेख र समाचार छापिन थाले । यसैताका वीरशमशेर परिवारका निजी शिक्षकका रुपमा काम गर्ने भेटनारायणबहादुर श्रेष्ठले जनरल प्रतापशमशेरकी छोरीलाई भगाई कोलकाता पुर्याएकोमा राणाहरुले दुई देशबीच विद्यमान द्विपक्षीय सुपुर्दगी सन्धिअन्तर्गत श्रेष्ठलाई नेपाल फर्काउने प्रयास गरे । तर यस सम्बन्धमा कोलकाता अदालतको फैसला नेपालले चाहेअनुरुप भएन ।
राणाशासनविरुद्ध भएको व्यापक प्रचार युद्धलाई नियन्त्रण गर्ने उद्देश्यले उत्तरतर्फका कमान्डिङ जनरल बहादुरशमशेरलाई (विदेश विभागका महानिर्देशक र लन्डनमा पहिलो राजदूत भइसकेका) अङ्ग्रेज राजदूतसँग कुराकानी गर्न जुलाई ७, १९३९ मा ब्रिटिस लिगेसन लैनचौर पठाउँदा बडाकाजी मरीचिमानलाई पनि सहयोगीका रुपमा पठाइयो । उक्त भेटमा नेपाली पक्षले भारतमा सक्रिय रहने नेपाल सरकारविरोधी व्यक्तिहरुलाई अवाञ्छित विदेशीका हैसियतमा नेपाल फिर्ता पठाउन ब्रिटिस पक्षलाई अनुरोध गरेको थियो ।
सामान्यत: वैदेशिक मामिलामा मात्र सीमित हुने र प्रधानमन्त्रीका निजी सचिव भए पनि सार्वजनिक रुपमा गार्हस्थ्य राजनीतिमा खासै चासो राखेको नदेखाउने बडाकाजी मरीचिमानको प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको राजनीतिक उत्थानमा पनि अप्रत्यक्ष हात रहेको मान्न सकिन्छ । टङ्कप्रसादका पिता सुब्बा टीकाप्रसाद आचार्य पहिले परासी र कलैया मालमा कार्यरत रहे । उनी पछि विराटनगरमा बडाहाकिम भए । यसै समयमा विराटनगर मालमा आर्थिक हिनामिना भएको उजुरी परेकाले बडाहाकिम आचार्यले छानबिन गरे । यो अनुसन्धानमा मालका एक सुब्बा कारबाहीमा परे ।
सुब्बा मरीचिमान सिंहका निकट मान्छे भएका कारण यो मुद्दा उल्टियो । र मरीचिमानको जाहेरीमा प्रधानमन्त्री चन्द्रशमशेरले टीकाप्रसाद आचार्यलाई सेवाबाट अवकाश र मालमा हिनामिना भएको रकम पनि उनीबाट असुलउपर गर्ने निर्णय सुनाए । आफ्नो जमिन बेचेर जरिवाना तिरे पनि बडाकाजीको माथिल्लो स्तरको पहुँचको सम्भावित कारणले चन्द्रशमशेरको पालाभरि टीकाप्रसादलाई तारेखमा राखिएको थियो । पछि जुद्धशमशेर प्रधानमन्त्री भएपछि मात्र उनी स्वतन्त्र भए । त्यसपछि टीकाप्रसाद कामको खोजीमा छोरा टङ्कप्रसादका साथ पुरानो चिनारी भएका साहेबज्यू पुरेन्द्रविक्रम शाह (पछि परराष्ट्रमन्त्री)को सम्पर्कमा आए । सम्भवत: यही सम्बन्ध र यसपछिका विभिन्न राजनीतिक अन्तक्र्रिया एवम् गतिविधिबाट टङ्कप्रसाद आचार्यको सक्रिय राजनीति सुरु भयो ।
दुम्जाली कोइराला भनिने नेपालको राजनीतिसँग गहिरो सम्बन्ध राख्ने कोइराला परिवारको आरोहअवरोहसँग पनि मरीचिमान सिंह प्रधान परोक्ष रुपमा गाँसिए । आन्तरिक राजनीतिमा समेत विशेष भूमिका निर्वाह गर्ने प्रधान खरिदार कृष्णप्रसाद कोइरालाको भारतमा प्रवासमा रहँदा फिर्ता बोलाउने कार्यमा पनि सक्रिय देखिन्थे । चन्द्रशमशेरको निधनपछि फेरिएको राजनीतिक माहोल, आफ्ना दाजुसँग निकट भारदारहरुको तेजोवध र उनीबाट पीडित परिवारलाई पुन:स्थापना गर्ने नीति नयाँ प्रधानमन्त्री भीमशमशेरले अवलम्बन गरे । यसै प्रसङ्गमा भारतको जयनगरमा रहेका कोइरालालाई ससम्मान नेपाल फर्कन नयाँ प्रधानमन्त्रीका प्रमुख निजी सचिवसमेतको काम गर्ने बडाकाजी मरीचिमान सिंह प्रधानले टेलिग्राम पठाए ।
केही दिनअघिसम्म चिने–नचिनेको गर्ने नेपाली र व्यापारीहरु विभिन्न कोसेली बोकी कोइराला निवास धाउन थाले । आफू नेपाल नफर्की टोपी नलगाउने प्रण गरेका कोइरालाले छिट्टै जयनगरको आफ्नो बसाइ छाडी वीरगन्जतर्फ जाने योजना बनाए । नेपाली राष्ट्रिय पोसाक र टोपी अर्डर गरी कोइराला काठमाडौंतर्फ लागे । उनको परिवार विराटनगरतर्फ प्रस्थान गर्यो । त्यति बेला जेठा छोरा मातृकाप्रसाद कोइराला पटनामा अध्ययनरत थिए । त्यसैले उनी उतै फर्किए । विराटनगरमा रहेको कृष्णप्रसाद कोइरालाको सम्पत्ति यसअघि नै जफत भइसकेको थियो । त्यसैले दाजु सुब्बा नारायणप्रसाद कोइराला (त्यति बेला निधन भइसकेका)को निर्माणाधीन घरमा कृष्णप्रसाद कोइरालाको परिवार बस्न थाल्यो । यही स्थान पछि कोइराला निवासले प्रसिद्ध भयो ।
त्यसो त देशको आन्तरिक प्रशासनमा समेत मुन्सीखानाका हाकिमको प्रभाव निकै रहन्थ्यो । मुन्सीखानाका अतिरिक्त उनलाई सदर अमिनी गोश्वाराका तालुकवाला पद परम्परागत रुपमा दिने गरिन्थ्यो । बडाकाजी मरीचिमान सिंह र उनका छोरा सरदार नगेन्द्रमान सिंहसँग तराईका अमिनीहरुका हाकिम घनश्याम उपाध्यायको निकै घनिष्ट सम्बन्ध थियो । कामका हिसाबले अमिनी प्रशासनमा छोराको तुलनामा बाबु मरीचिमानको जबर्जस्त पकड रहेको उपाध्यायका छोरा तथा वरिष्ठ प्रशासक कृष्णप्रसाद घिमिरेले बताएका छन् । घिमिरे झन्डै ७० वर्ष सरकारी सेवा, वकालत र अन्य संवैधानिक सेवामा रहे ।
बडाकाजी मरीचिमान सिंह प्रधानसँग सङ्गत गरेका मुन्सी परिवारका एक सदस्यको शब्दमा उनी राणा प्रधानमन्त्रीहरुका अत्यन्त विश्वासपात्र तथा प्रभावशाली सचिव रहे । समयमै कार्यालय पुग्ने, कामको मात्राअनुसार कार्यालयमा रही उनले सबै विषयवस्तु टुङ्ग्याउने र नेपालस्थित विदेशी प्रतिनिधिसँग पूर्ण विश्वासका साथ लेखापढी गर्ने कार्य गर्थे । प्रधानमन्त्री चन्द्रशमशेरका निजी सचिव रहेका प्रधान प्रधानमन्त्रीसँग युरोप यात्रामा गए । र ब्रिटिस अधिकारीसँग निकट सम्पर्क राख्न सफल भए । चन्द्रशमशेरका उत्तराधिकारीहरुले उनीप्रति उत्तिकै विश्वास राखेको देखिन्छ । अब्बल राष्ट्रसेवाको कदरका रुपमा उनले सात तोपको सलामी पाए । तर यसअघि भनिएअनुसार उनको मृत्युपछि बडाकाजीको परिपक्वता र क्षमता सायद उनका उत्तराधिकारी छोरा सरदार नगेन्द्रमान सिंह प्रधानमा दृष्टिगोचर हुँदैन । जुलाई २१, १९४८ मा उनको राजीनामापछि १६८ वर्षदेखि वैदेशिक मामिला सञ्चालन गर्न अख्तियारी पाएको मुन्सी परिवार अधिकार र कर्तव्यबाट बहिष्कृत भयो भन्दा हुन्छ ।
सात तोपको सलामी स्वाभाविक रुपले चर्चाको विषय रह्यो । यो पद बडाकाजी दर्जाका हिसाबले नभई मरीचिमान सिंह प्रधानलाई व्यक्तिगत सम्मानका हिसाबले दिइएको थियो । निजामती सेवाको सर्वोच्च पद चन्द्रशमशेरका पालासम्म हासिल गरिसकेका र अनेकौं मानपदवी (विदेशी र स्वदेशी दुवै) पाउन सफल प्रधानलाई नयाँ प्रधानमन्त्री भीमशमशेरले ‘भित्तैसम्म पुग्ने गरी बडाकाजी पाइसक्यौ, अरु केको दर्जा दिऊँ, सत्र भाइ सरह सात तोपको सलामी पायौ’ भनेको प्रसङ्ग उल्लेखनीय छ । तर राणा परिवार वृत्तमा आउन सक्ने नकारात्मक प्रतिक्रियालाई सायद दृष्टिगत गरी बडाकाजीले यो तोपको प्रयोग गर्ने अभ्यासमा अपनाएका सतर्कताबारे एक जानकार लेखक र अन्वेषकले विस्तारमा चर्चा गरेका छन् ।
अनुदारवादी कट्टर प्रकृतिका राणाहरु ‘सत्र भाइ सरह’ एक निजामती कर्मचारीले पाएको सात तोपप्रति परोक्ष मात्रामा रोष प्रकट गर्दै प्रधानलाई ‘साततोपे’ को संज्ञा दिई हेयभाव प्रकट गरेका कारण बडाकाजीले पाएको सम्मान ‘अस्वीकार पनि नगर्ने, प्रयोग पनि नगर्ने’ मध्यमार्गी नीति अपनाएका थिए । साथै बडाकाजी प्रधानको निधनबारे गोरखापत्रले दुई पटक समाचार छापेपनि सात तोपबारे कुनै प्रसङ्ग नउठाएकोमा उक्त लेखकले आश्चर्य पनि प्रकट गरेका छन् । तर पटकपटक मसँग भएको अन्तक्र्रियामा बडाकाजीका छोरा तथा अन्तिम मुन्सी हाकिम सरदार नगेन्द्रमान सिंह प्रधानले आफ्ना बाबुले पाएका तीन विशेष सहुलियत (मोटर राख्न पाउने, चस्मा लाउन पाउने र सात तोपको प्रयोग गर्न पाउने)मध्ये पछिल्लो सम्मान ‘सात तोप’ श्री ३ महाराजसमक्ष विशेष बिन्ती गरी फर्काएको कुरा बताएका थिए । सायद यही सम्मान फिर्ताका कारण गोरखापत्रमा केही उल्लेख नभएको हुन सक्छ ।
बडाकाजी मरीचिमान सिंहको समग्र प्रशासनमा रहेको वर्चस्व र कार्यक्षेत्र केवल परराष्ट्र मामिलामा र यदाकदा राजनीतिक विकासमा मात्र सीमित नरही नेपालीभाषी रहने भारतका केही क्षेत्रमा गरिने सामाजिक रीतिस्थिति र जातपात विषयमा निगरानी राख्नुसमेत भएको देखिन्छ । अमेरिका भ्रमणमा जाने पहिलो नेपाली पद्मसुन्दर मल्ल विद्युत् इन्जिनियर बनी फर्केपछि उनी काठमाडौं फर्कनुको साटो दार्जीलिङतर्फ लागे । यसबारे रोचक लेख लेख्ने एक विद्वान्को भनाइमा मल्ललाई गङ्गास्नान गराई दार्जीलिङ लगिए पनि उनले नेपालका तर्फबाट पतिया पाएका थिएनन् । विदेशमा गई फालेको जात नफर्कंदै साथमा खानपान गर्नेहरुको समेत जात जाने सो समयमा हरिदास प्रधान परिवारमा ठूलो सङ्कट निम्तियो । प्रधान कटेजका मोतीचाँद प्रधानका भाइ खड्गबहादुर प्रधानको विवाहमा भोजभतेर खाने सबैलाई प्रधान परिवारकै अग्रज बालकृष्ण कसजूबाट ‘जातपात खुलमखुला हटक’ भयो । सिङ्गो प्रधान परिवारको जात काटिँदा पछि नेपालमा प्रधानन्यायाधीश बन्ने हरिप्रसाद प्रधान तथा प्रसिद्ध साहित्यकार पारसमणि प्रधान पनि परे ।
कालिम्पोङ निवासी पारसमणि प्रधानको जात गएको कुरा बालकृष्ण कसजूले नेपालमा बडाकाजी मरीचिमान सिंह प्रधानलाई रिपोर्ट गर्नसमेत पछि परेनन् । यो प्रसङ्गले पारसमणि प्रधानको नियमित रुपमा हुने नेपाली भाषासम्बन्धी पत्र व्यवहार बदलिई जातभातसम्बन्धी लेखापढीको चलन चल्न थाल्यो । पतिया नलिएका कारण गइसकेको जात फर्काउन प्रधानले ठूलै कसरत गर्नुपर्यो । अन्य सम्भावित विकल्पबाट पार नलागेपछि उनी सुक्खिम (सिक्किम)का तत्कालीन राजनीतिक अधिकारी विलियम्सन साहेब र दार्जीलिङका डेपुटी कमिसनर वाडेल साहेवको सहयोग माग्न जान बाध्य भए । यी दुई अङ्ग्रेज अधिकारीको सहयोग एवम् समर्थनबाट पारसमणि प्रधान अन्तत: यो जात जाने काण्डबाट मुक्त भए । यसको २५ वर्षपछि उनी पुन: अर्को जात जाने काण्डमा परे । यस पटक ‘छिताहारीसँग खाना खाएको’ आरोपमा गइसकेको जात फर्काउन पुरोहितलाई दक्षिणा दिई पतिया लिन प्रधान बाध्य भए ।
राणाशासनमा मरीचिमान सिंह प्रधानको प्रभावको आकलन अर्को घटनाबाट पनि गर्न सकिन्छ । चन्द्रशमशेरले आफ्ना विवाहित दुई गुणका आठ छोरा र मठ्याहापट्टिका नवौं छोरा बद्रीशमशेरलगायतलाई सम्पत्तिको बाँडफाँट गर्ने क्रममा बडाकाजी मरीचिमान सिंह प्रधानलाई छुट्याएको बकस रकममा तीन लाख पछि जुद्धशमशेरका पालामा नेपाल बैङ्क स्थापना हुँदा त्यहाँ जम्मा गरिएको थियो । यस्तै सर्लाहीमा ३५ सय बिघा कचहरी खडा गरी ३५ सय सरकारलाई तिरो तिरी परिवारलाई तीन सय बिघा निजी बकसका रुपमा रहने गरी प्रधानमन्त्रीबाट प्रदान भएको थियो । तीन सय बिघामध्ये मुन्सी परिवारले आयस्ता खाने गरी बाँडचुँड गरेका थिए । यो सम्पत्ति धेरै वर्षसम्म सोही परिवारका सदस्य अलखनन्दन सिंहले आफ्ना साला मोहनमानसमेतको सहयोगले हेरविचार गरे । मोहनमान बडाकाजी मरीचिमान सिंह प्रधानका जेठा ज्वाइँ पनि हुन् ।
अन्त्यमा बडाकाजी प्रधानको अपूर्व क्षमता, उनले आर्जन गरेको शासकवर्गको विश्वास र बिर्तासमेतको विषयमा एक राष्ट्रसेवकको मूल्याङ्कन उल्लेखनीय देखिन्छ—
‘भद्रपुरुष, कर्तव्यपरायण, मृदुभाषी अनेकौं गुणहरु (भएका उनले) मस्यौदा गरेको चिठी लेखी जाँदा (ब्रिटिस सम्राट्) पञ्चम जर्ज बहुत प्रभावित भई केही दिने इच्छा प्रकट गरी चन्द्रशमशेरलाई लेखी आएछ र मैले दिसकेको छु भन्ने जवाफ गएछ र सर्लाही जिल्लामा ७०० बिघा जग्गा बिर्ता पाएछन् सात हरफको चिठीमा सम्पूर्ण कुराहरु प्रस्ट रुपमा दर्सिएका (कारणले) ...।”
-माघ ९ गते सार्वजनिक हुने मदनकुमार भट्टराईको पुस्तक 'परराष्टका प्रशासक' बाट । पुस्तक सांग्रिला बुक्सबाट प्रकाशित हुँदैछ ।
प्रकाशित : माघ ३, २०७७ १७:४२