१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

साझा प्रकाशनका अध्यक्षमा सुब्बा निर्वाचित

रासस

काठमाडौँ — साझा प्रकाशनको २४औं साधारणसभाअन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिका अध्यक्षमा विजय सुब्बा निर्वाचित भएका छन् । साहित्यकार तथा निवर्तमान सांसद सुब्बा ४१२ मतसहित विजयी भएको र उनका प्रतिस्पर्धी जीवनचन्द्र कोइरालाले १८३ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य सचिव होमनाथ भट्टराईले जानकारी दिए ।

साझा प्रकाशनका अध्यक्षमा सुब्बा निर्वाचित

यही पुस २१ देखि २४ गते हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रकाशनको पुल्चोकस्थित कार्यालयमा निर्वाचन भएको थियो । डा सुब्बा र डा कोइराला प्रकाशनका पूर्वसञ्चालक सदस्य हुन् ।

भाषा–साहित्यका क्षेत्रमा ऐतिहासिक सो संस्थाको नयाँ व्यवस्थानुसार सञ्चालक समितिका अध्यक्षमा पहिलोपटक निर्वाचन भएको हो । विगतमा नेपाल सरकारबाट संस्थामा अध्यक्ष नियुक्त गरिन्थ्यो । निर्वाचित पदाधिकारीको कार्यकाल चार वर्षको हुनेछ ।

कूल एक हजार ४५७ मतदाता (अंशियार) रहेको सो प्रकाशनको निर्वाचनमा ६४३ मत खसेको र ४८ बदर भएको थियो । प्रकाशनका सञ्चालक सदस्यमा यसअघि हरिप्रसाद भण्डारी, डिपी अर्याल र सीता ओझा तथा लेखा सुपरीवेक्षण समितिका संयोजकमा प्रभादेवी बज्राचार्य निर्विरोध निर्वाचित भइसकेका थिए । सदस्यका उम्मेदवार वियोगी बुढाथोकी, ज्ञानु अधिकारी, महेश प्रसाईँ र यशोदा अधिकारीले उम्मेदवारी फिर्ता लिएपछि सहमति भएको थियो । निर्वाचनका लागि अधिवक्ता मनोहर लामिछानेका संयोजकत्वमा समिति गठन भएको थियो ।

साधारणसभाको गणपूरक सङ्ख्याका लागि भने अलग्गै उपस्थिति पुस्तिकामा उपस्थिति गराइएको जनाइएको छ । शनिबार भर्चुअलरुपमा हुने साधारणसभामा २३औँ साधारणसभापछिका विभिन्न आर्थिक वर्षका प्रगति प्रतिवेदन प्रस्तुत र छलफल हुनेछ । संस्थाको कूल नौ सदस्यीय सञ्चालक समितिमा अर्थ , भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विषयगत मन्त्रालयबाट एकएक सहसचिव रहनेछन् भने एक विज्ञ सदस्यमा नेपाल सरकारले नियुक्त गर्नेछ ।

प्रकाशित : पुस २४, २०७७ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?