चेम्जोङको ‘उदयपुरको इतिहास’ सार्वजनिक

काठमाडौँ — पत्रकार कौशल चेम्जोङ लिखित ‘उदयपुरको इतिहास’ (प्रागऐतिहासिक कालदेखि वि.सं.१९०० सम्म) कृति सार्वजनिक भएको छ । संस्कृतिविद् सत्यमोहन जोशीले बिहीबार राजधानीमा उक्त कृति सार्वजनिक गरेका हुन् ।

चेम्जोङको ‘उदयपुरको इतिहास’ सार्वजनिक

उदयपुरगढीमा ५२ वर्षअघि जन्मिएका पत्रकार चेम्जोङको यो चौथो कृति हो । धनकुटाको राजारानी पुख्र्यौली रहेका चेम्जोङ उदयपुरमा रहेर पत्रकारिता गर्दै आएका छन् ।

उदयपुर अनुसन्धान केन्द्रद्वारा प्रकाशित पुस्तकमा नेपालको इतिहास तथा उदयपुर जिल्लाको ऐतिहासिक पक्षमा अनुसन्धानात्मक सामग्री समेटिएका छन् । सात अध्यायमा समेटिएका सामग्री स्थलगत अध्ययन अनुसन्धान गरी प्रकाशनमा ल्याइएको हो । यसमा उदयपुरको प्राचीन काल, नामाकरण, प्रागैतिहासिक काल, तिरुवा सभ्यता, सिन्धुघाँटी र तिरुवा सभ्यताबिच केही पुरातात्विक संकेत, तिरुवा लिपि, तिरुवा सभ्यताको पतनबारे उल्लेख गरिएको छ । त्यसैगरी महाभारत, मुन्धुम र अन्य ग्रन्थमा उदयपुर, पौराणिक काल, रामायणकाल, महाभारतकाल, किरातकाल, कुशानकाल, गुप्तकाल, लिच्छविकालमा उदयपुरको अवस्था चर्चा गरिएको छ ।

तेस्रो अध्यायमा मध्यकालीन उदयपुर, मध्यकालीन राजवंश र उदयपुराधिपति, तिरहुतकालीन उदयपुर, सिमरौनगढ, मुसलमानी आक्रमणबाट ध्वस्त उदयपुरका पुरातात्विकस्थल, तिरहुत राज्य पतनपछि उदयपुरको खोजी गरिएको छ । चौथो अध्यायमा सेनवंशी र उदपुरबारे चर्चा रहेको छ । पाँचौं अध्यायमा चौदन्डी राज्य, उक्त राज्यको प्रशासनिक न्याय, भूव्यवस्था र सैन्य व्यवस्था, सैनिक अभियान, माझकिरात (चौदन्डी) अभियान, लडाइँका चर्चित पात्रबारे उल्लेख गरिएको छ । यस्तै पाँचौं शताब्दीदेखि दसौं शताब्दीबिच उदयपुरका शासकहरू, किरात देशका राजा, नेपाली मुलका भारतीय शासक, मगध र किरातबीच सम्बन्ध, राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रबन्धबारे चर्चा गरिएको छ ।

यसैगरी छैटौं अध्यायमा आधुनिककाल तथा नेपाल एकीकरणपछिका गतिविधि उल्लेख छ भने साताैं अध्यायमा उदयपुरका प्रमुख गढी र गढीका किसिम समेटिएको छ । तीन सय ९२ पृष्ठमा विस्तार गरिएको पुस्तकको अन्तिम अध्यायमा नौ शीर्षकको अनुसूची रहेका छन् । जसमा ऐतिकरणको वृत्तान्त कहने अभिलेख, मल्ल तथा सेनकालीन र एकीकरण सम्बन्धी अभिलेख, पूर्वका सेनवंशावली, शिलालेख, भग्नावशेष, मूर्ति, मुद्रा तथा ऐतिहासिक स्थलहरूका तस्बिर, सन्दर्भ सामाग्री र स्रोत व्यक्ति समेटिएका छन् ।

प्रकाशित : पुस २४, २०७७ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?