दुई हाते मानिसको खोजी

एउटा छिमेकीले मंगल ग्रहको यात्रा प्रारम्भ गरिसक्यो । अर्को छिमेकीले चन्द्रमामा पठाएको कपासको बिउमा टुसा पलाइरहेछ । यता चाहिँ ल्यामपोस्टमा कथित ‘समृद्धि र नयाँ युग’ को पोस्टर टाँसेर सहरलाई कुरुप बनाएपछि सबैभन्दा ठूला मान्छेका कोखामा दाह्रा पलाइरहेछ ।
गिरि श्रीस मगर

सभ्यताको दुई तिहाइ समय युद्धका घाउहरूले भरिएका छन् । इतिहासका दुई तिहाइ खण्ड रक्तले लेखिएका छन् । साम्राज्यका सीमाहरू, उपनिवेशका चौकिल्लाहरू र देशका मानचित्रहरू पनि मानिसका रगतले नै बनेका थिए । अपवादबाहेक, मान्छेले मान्छेको गर्दन छिनाएर नै शक्ति संचय गरेको छ । राज्य निर्माण गरेको छ । सत्ता प्राप्त गरेको छ । 

दुई हाते मानिसको खोजी

मानवीय इतिहासको ठूलो खण्ड श्रम र सिर्जना, पसिना र प्रेमले भन्दा युद्ध र विध्वंश, रगत र घृणाले लेखिएको छ । जङ्गली युगदेखि २१ औं शताब्दीको सभ्यतासम्म आइपुग्दा पनि मान्छेले मान्छे काट्न चाँहि छोडेको छैन । साधु, सन्त, ज्ञानी र महात्मा बुद्घहरूले अहिंसाको जति सन्देश दिए पनि शक्ति र सत्ताले मान्छेलाई अन्धो बनाउँदै आएको छ ।

हिंसा अवलम्बनलाई पनि राजनीतिक रूपमा औचित्यपूर्ण सावित गर्न सकिएला । हिंसालाई आत्मरक्षाका लागि पनि भन्न सकिएला । वर्गीय हित रक्षा र वर्गीय राज्य सत्ताको स्थापनाका लागि भन्न सकिएला । बहुजनका हितका लागि भन्न सकिएला ।

तर, आफैमाथिको हिंसालाई कसरी औचित्यपूर्ण सिद्ध गर्न सकिएला ?

उन्मत्त घोडा र सत्ता उस्तै कुरा हुन् । दुवै खतरनाक हुन्छन् । त्यसैले यिनमा आरूढ हुँदा सीप, संयम र शक्ति चाहिन्छ । विवेक, सन्तुलन र यत्न चाहिन्छ । अहङ्कारले पतन निश्चित हुन्छ । सामान्य कुरा हो–उन्मादी घोडाले त बुर्कुसी मारिहाल्छ नि !

आफ्नै इतिहास हेर्छु । आफ्नै वर्तमान हेर्छु । समाज र देश हेर्छु । दरबारका भव्य कोठाहरूमा व्यूह रचनाको मन्त्रणा चलिरहेछ । विलाशी हलहरूमा बैठक होइन, षडयन्त्र चलिरहेछ । सर्वत्र खोसाखोस चलिरहेछ । स्तुतिका स्तोत्र चलिरहेछ । स्वस्ति चलिरहेछ । तानातान चलिरहेछ । मानिसलाई देवत्वकरण वा दानवीकरण गरेर फाइदा लिने व्यापारको महायज्ञ चलिरहेछ ।

अन्त्याँटी, दाहिने हातले देब्रे हात काटिरहेछ । देब्रे हातले दाहिने हात काटिरहेछ । काँधमा झुण्डिरहेको कि दाहिने हात मात्र छ, कि त देब्रे हात मात्र छ ।

दाहिने हात दङ्ग छ–‘देब्रे हात काटेँ !’ ।

देब्रे हात मख्ख छ–‘दाहिने हात काटेँ !’

***

डार्बिन बाजेले भन्नु अघि देखि नै अस्तित्व–लडाइँ त सतत चलिरहेको छ । यो लडाइँमा कुनै पनि जित चिरस्थायी हुँदैन । कुनै पनि हार चिरस्थायी हुँदैन । मरे भनी चिहानमा गाडिएकाहरू पनि बौरेर उठेको इतिहास छँदैछ । उठेर लडेको इतिहास छ । लडेको मात्र होइन, जितेको इतिहास पनि छ ।

कहिले हार्दै र कहिले जित्दै परिवर्तनका अनेक आरोह अवरोह पार गरेर बल्लतल्ल यहाँसम्म आइपुगिएको हो । यहाँसम्म अनेक त्याग, बलिदान, शौर्य र सङ्घर्षको रोमहर्षक इतिहास निर्माण गरेर आइपुगिएको हो । बाउन्न ठक्कर त्रिपन्न हण्डर खाएर आइपुगिएको हो ।

दुर्भाग्य ! यहाँसम्म आइपुग्दा गरिबी, असमानता, शोषण र भ्रष्टाचार पत्याउनै धौ हुने गरी सर्वत्र व्याप्त भइसकेको छ । ती सबमा सवार भएर चुनौतीहरूले ‘गब्बर अट्टहास’ गरिरहेछन् । कठै बरा ! बलिदानको बगैंचामा फक्रिएका राता गुलाफहरू भने मुर्झाएर झरिरहेछन् । रहलपहल गुलाफ पनि आगामी ‘भ्यालेन्टाइन डे’का लागि ‘सोल्ड आउट’ भइसकेका छन् ।

सिंहासनमा बसिरहेको मानिससँग एउटा मात्र हात देखिन्छ । एउटा हत्थामा अडिएर षड्यन्त्रको अंक गणितीय लयमा एउटा मात्र हातको औंलाहरूले ताल दिइरहेका छन् । सिंहासनको दोस्रो हत्थामा खोई दोस्रो हात ?

यस्तो बेला शासक सवार घोडा उन्मत्त भएको छ । भन्ने हो भने उन्मत्त घोडा र सत्ता उस्तै कुरा हुन् । दुवै खतरनाक हुन्छन् । त्यसैले यिनमा आरूढ हुँदा सीप, संयम र शक्ति चाहिन्छ । विवेक, सन्तुलन र यत्न चाहिन्छ । अहङ्कारले पतन निश्चित हुन्छ । सामान्य कुरा हो–उन्मादी घोडाले त बुर्कुसी मारिहाल्छ नि !

सत्ताको उन्मत्त घोडाले झन्झन् बुर्कुसी मारिरहेछ ।

तर हात त एउटा मात्र छ ! कि दाहिने । कि देब्रे । एउटा हातले अब कुन काम आँट्ने ? चाबुक समात्ने कि लगाम समात्ने ?

***

एउटा छिमेकीले मंगल ग्रहको यात्रा प्रारम्भ गरिसक्यो । अर्को छिमेकीले चन्द्रमामा पठाएको कपासको बिउमा टुसा पलाइरहेछ । यता चाहिँ ल्यामपोस्टमा कथित ‘समृद्धि र नयाँ युग’ को पोस्टर टाँसेर सहरलाई कुरुप बनाएपछि सबैभन्दा ठूला मान्छेका कोखामा दाह्रा पलाइरहेछ ।

यही बेला भित्रबाहिर सबैतिर आक्रामक मुद्रामा अनेक रंगका बाघहरू गर्जिरहेछन् । स्यालहरू हुँइया गरिरहेछन् । ब्वाँसाहरू ढुकिरहेछन् । चिल चनाखो भएको छ । तिनका श्वासप्रश्वासबाट स्वार्थका कुहिगन्धे सास फैलिरहेछ ।

सामन्ती सत्ताको प्रत्यागमनको सास । धर्मलाई काखी च्यापेको राजनीतिको सास । समाजवादको खोल ओढेको नवउदारवादको सास । खुल्लमखुल्ला वैदेशिक हस्तक्षेपको सास ।

उपयुक्त समयमा सही निशानामा लाग्ने गरी दुश्मनविरुद्ध बन्दुक पड्किएला त ?

बन्दुक त छ नि ! बडो भरपर्दो बन्दुक छ । त्यो बन्दुक ब्यालेट बक्सबाट निस्केको बन्दुक हो । त्यो बन्दुक जनमतले दिएको बन्दुक हो । त्यो बन्दुक आफूमाथि आइलाग्नेहरूमाथि जाइलाग्न दिइएको बन्दुक हो ।

बन्दुक त्यो पड्किएला त ? आक्रमणकारीलाई ताकेर पड्किएला त ?

तर हात त एउटा मात्र छ ! कि दाहिने । कि देब्रे । एउटा हातले त आखिर एउटा मात्रै विकल्प न टिप्न सक्छ ! एउटा हातले के के भ्याउने ? बन्दुक समात्ने कि ट्रिगर दबाउने ?

आफ्नै हात किन काटेको ? एकदिन जरुर पश्चात्ताप हुनेछ ।

सिंहासनमा बसिरहेको मानिससँग एउटा मात्र हात देखिन्छ । एउटा हत्थामा अडिएर षड्यन्त्रको अंक गणितीय लयमा एउटा मात्र हातको औंलाहरूले ताल दिइरहेका छन् । सिंहासनको दोस्रो हत्थामा खोई दोस्रो हात ?

एक हाते मानिस जति नै शक्तिशाली भए पनि सत्ताको घोडालाई दौडाइरहन सक्तैन । एक हाते मानिसको हातमा जतिसुकै शक्तिशाली बन्दुक भए पनि परिआउँदा ‘फायर खोल्न’ सक्दैन ।

त्यसैले मानिस, सधैँ ‘दुई हाते मानिस’ को खोजीमा हुन्छ ।

के देशको सिंहासनमा दुई हाते मानिस बसेको देख्न सकिएला ?

***

प्रकाशित : पुस १८, २०७७ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?