२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

हिउँ न हिमनदी

कार्बनडाइअक्साइड सयौं वर्ष वायुमण्डलमा जम्मा भएर बस्छ र पृथ्वीका लागि खप्टिएको सिरक जस्तो बन्छ । त्यसले तापक्रम बढाउँदै लगेको छ ।
‘हरेक जनप्रतिनिधि वा उनीहरुको आफन्तसँग डोजर छ । डोजरलाई वर्षभर काम दिन पनि भीर खनेर सडक बनाउने काम तीव्र छ ।’
दीपक परियार

पोखरा — पोखरा घुम्न आउने जोकोही पर्यटक माछापुच्छ्रेतिर फर्किएर भन्छन्, ‘हिउँ सकिएछ ।’ टुप्पोमा बाघको आकृति देखिने ठाउँमा बाहेक यतिखेर माछापुच्छ्रेमा हिउँ होइन, कालो पत्थर मात्रै देखिन्छ । हिमालका लस्करलाई पृष्ठभूमिमा पारेर आईएमई नेपाल लिटरेचर फेस्टिभलको मञ्च दुई दिनसम्म सराङकोटमा बस्यो । फेस्टिभलमा चर्चा भयो हिउँबिनाको हिमालकै ।

हिउँ न हिमनदी

‘जलवायु परिवर्तन र भविष्य’ शीर्षकको शत्रमा वायुमण्डलीय विज्ञानका अध्येता अरनिको पाण्डे, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण सचिव डा.महेश्वर ढकाल र वातावरण संरक्षण अभियन्ता शिलशिला आचार्यसँग वातावरण पत्रकार रमेश भुसालले हिउँ हराउनुको रहस्य खोतले । हिउँविहीन बनेको हिमालमा कार्बन डाइअक्साइड र ब्ल्याक कार्बनले असर पारेको अरनिको पाण्डेले बताए । ‘कार्बनडाइअक्साइडले हिउँ पगाल्छ । साथै दक्षिण एसियामा धेरै उत्पादन हुने ब्ल्याक कार्बनको पनि यसमा भूमिका छ,’ उनले भने, ‘विशेषगरी दाउरा बाल्दा, इँटाभट्टा सञ्चालन गर्दा र सवारीसाधनबाट निस्कने कालो धूवाँ हुन्, जसले जलवायुमा असर पार्छ ।’

उनका अनुसार ब्ल्याक कार्बनले हावा तताउने र हिउँ पगाल्ने काम गर्छ । ती कार्बन २/४ दिनदेखि २/४ सातासम्म मात्र रहन्छ । उत्पादित कार्बनडाइअक्साइड सयौं वर्ष वायुमण्डलमा जम्मा भएर बस्छ । र, पृथ्वीका लागि खप्टिएको सिरक जस्तो बन्छ । त्यसले पृथ्वीको तापक्रम बढाउँदै लगेको छ । उनले भने, ‘जलवायु परिवर्तन एक दिनको तापक्रमसँग सम्बन्धित विषय नभई दशकौंदेखिको प्रक्रिया हो ।’

४०/४५ वर्षअघि माछापुच्छ्रेबाट हिमनदी बग्ने गरेको र हाल ती नदी बाँकी नरहेको उनले सुनाए । ‘नेपालका अन्य हिमाली भेगतिर पनि कति खेर हिउँ पग्लन्छ । नदी र ताल बढ्छन् । बाढी आउँछ निश्चित छैन,’ उनले भने, ‘यहाँ हिउँ मात्र पग्लने हुँदैन, त्यसले खेतीकिसानीमा, खाने पानीमा, वर्षामा असर पुग्छ ।’ जलवायु परिवर्तनले एन्टार्कटिका र आर्टिक महाद्वीपतिर पनि बरफ पगालेर समुद्रको सतह बढाएको उनले सुनाए । त्यस्तै हिउँ पग्लिएर ताल र नदी बढाउने, बाढी निम्त्याउने, वर्षा गराउने, खेतीमा असर पार्नेलगायत असरहरूबारे कुरा भयो । तापक्रममा एक डिग्री मात्रको फरकले जाडो दिन घटाउने वा बढाउनेदेखि लामखुट्टे बढ्नेसम्म फरक पार्ने उनको तर्क रह्यो ।

जलवायु परिवर्तन र यसले पारेको असरबारे राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा छलफल हुँदै आएको बताउँछन् डा.महेश्वर ढकाल । उनका अनुसार सिर्जित समस्या न्यूनीकरणका लागि पहल भइरहेको छ । सन् १९९० को दशकमा भएको रियो सम्मेलनलगत्तै जलवायु परिवर्तन अन्तर्राष्ट्रिय मुद्दाका रूपमा चर्चा भइरहेको छ । मूलतः कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूका कारण विकासउन्मुख देशहरूलाई कसरी प्रभाव परेको छ र, विकसित देशहरूले कसरी विकास भइरहेका देशलाई जलवायु परिवर्तनसँग जोडिएका समस्या समाधानका लागि सहयोग पुर्‍याउन सक्छन् भन्ने विषयमा बहस हुने गरेका छन् ।

‘नेपालजस्तो देश मारमा छ । भर्खर विकासतर्फ उन्मुख हामीले केही हदमा कार्बन उत्पादन गर्छौं । यस्तोमा हामीलाई विकसित देशहरूले जलवायु परिवर्तन न्यूनीकरणका लागि सहयोग पुर्‍याउनुपर्छ । त्यसका लागि आवश्यक फोरम बनेका छन्,’ ढकालले भने । उनका अनुसार नेपाल जलवायु परिवर्तन र त्यसको प्रभाव न्यूनीकरणका लागि सन् २०१० देखि सक्रिय छ । नीतिगत र संरचनागत हिसाबमा पनि केही काम भएका छन् । तर देश संघीयतामा गएपछि नीति कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा चाहिँ प्रस्ट नभएको बताए ।

वातावरण संरक्षण अभियन्ता शिलशिला आचार्यले जलवायु परिवर्तनलाई अन्तर्राष्ट्रिय मुद्दाका रूपमा मात्र हेरिनुलाई समस्याका रूपमा व्याख्या गरिन् । समस्या समाधानका लागि सरकार र आम मानिस सँगसँगै रहनुपर्ने उनको बुझाइ छ । ‘समयमा पानी नपर्दा, प्राकृतिक प्रकोपका कारण आम मानिस पीडित छन् । जहाका मानिसले प्रत्यक्ष दुःख भोगिरहेका छन्, त्यहाँबाट परिवर्तन र पहल सुरु गरिनुपर्छ । त्यसमा राज्यको एवम् शक्तिमा भएकाहरूको सहयोग चाहिन्छ,’ उनले भनिन् ।

आफूहरूले नेपालमा ‘पोलिथिन ब्याग’ प्रतिबन्ध गर्ने अभियानका समय भोग्नुपरेको अप्ठ्याराहरूबारे उनले बताइन् । उनीहरूले झोलामा प्रतिबन्ध लगाउन खोज्दा बजारले झोला उत्पादकको दोष देखाउने, उत्पादक नीतिगत स्पष्टता खोज्ने र सरकारले आम मानिसको चेतनामा प्रश्न गरेको उनले बताइन् । ती अप्ठ्याराहरूले शक्तिमा रहेका र आम मानिसबीचको मतभेद प्रस्ट पारेको उनको भनाइ छ ।

त्यस्तै हाल नेपालका स्थानीय तहमा हुने गरेका योजनाबिनाका विकास कार्यले पनि जलवायु परिवर्तनमा भूमिका खेलेको उनको तर्क छ । ‘हरेक जनप्रतिनिधि वा उनीहरूको आफन्तसँग डोजर छ । डोजरलाई वर्षभर काम दिन पनि भीर खनेर सडक बनाउने काम तीव्र छ,’ उनले भनिन्, ‘जंगल नासिएका छन् । एउटै ठाउँमा पुग्न दुई–तीनवटा बाटो बनाइएका छन्, जुन दीर्घकालीन हुँदैनन् । एउटै वर्षापछि भत्किन्छ ।’ विकासका नाममा भएका यस्ता कार्यले पनि नकारात्मक असर पुर्‍याएको उनको कथन हो ।

मानिसको दैनिकीलाई प्रकृति सन्तुलित बनाउनेतर्फ उन्मुख गराउनुपर्नेमा उनले जोड दिइन् । ढकालले भने छिमेकी राष्ट्रहरू भारत र चीनको जनसंख्या, विकास र उत्पादक कार्यले पनि नेपाललाई असर पारिरहेको तर्क अघि सारे । ‘ती कार्यले हिमाल पग्लनेदेखि जैविक विविधतामा त असर पारेको छ, वैदेशिक सम्बन्ध आर्थिक र सामाजिकसँगै वातावरणसँग पनि जोडिएको विषय हो,’ उनले भने । अरनिकोले जलवायु परिवर्तनका विषयलाई शिक्षा र साहित्यसँग जोड्न पर्ने कुरा राखे । आँखाले नदेख्ने विषयहरूलाई साहित्य बनाउन गाह्रो भए पनि चेतनामूलक गैरआख्यान बनाउन सकिने उनको भनाइ छ ।

त्यस्तै ढकालले नेपाली भाषामा जलवायु परिवर्तनबारे विषय पाठ्यक्रममा समेट्नुपर्ने साथै अनौपचरिक पाठ्यसामग्रीसमेत प्रकाशन गर्नुपर्ने बताए । भने, ‘मिडियाले पनि सायद यी विषय समेट्नुपर्छ । राजनीतिक विषय मात्र प्रकाश पार्दा वातावरण र जलवायु परिवर्तनका कुरा छायामा परेका छन् ।’

राजनीति र युवाका सवालमा बहस

आईएमई नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिन अर्थात् अन्तिम दिन पोखराको सराङकोटमा गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि वातावरणविद्, साहित्यकार, व्यवसायी, पत्रकारसम्मले अन्तर्संवाद गरे । ‘प्रदेशबाट देखिने देश’ मा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग पत्रकार बसन्त बस्नेतले अन्तर्संवाद गरे । यो सत्रमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम एवम् परिदृश्यबारे गरमागरम बहस भयो ।

अर्को सत्र ‘कोरोनाकालीन उद्योग वाणिज्य’ मा पत्रकार कुवेर चालिसेले आईएमई ग्रुपका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालसँग छलफल चलाए । यो सत्रमा विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाले नेपालको आर्थिक क्षेत्रमा पारेको प्रभाव र सरकारले चाल्नुपर्ने कदमका विषयमा चर्चापरिचर्चा भयो । साथै निजीक्षेत्रले कोभिड–१९ कै बीचमा गरिरहेका सकारात्मक प्रभावबारे पनि उनीहरूले संवाद गरे ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र जिल्ला समन्वय समिति महासंघकी अध्यक्ष सीता सुन्दास ‘संघीयताका अवसरहरू’ सत्रमा सहभागी भए । यसका वक्ताले देशमा संघीयता आए पनि त्यो प्रदेशहरूमा प्रभावकारी कार्यान्वयन नभएको बताए । फेस्टिभलको अर्को सत्र रह्यो, ‘क्वेर हुनुको अर्थ’ । यो सत्रमा अनुवादक तथा लेखक निरञ्जन कुँवर र ब्लु डायमन्ड सोसाइटीका संस्थापक भिक्षु कश्यप (सुनिलबाबु पन्त) बीच संवाद भयो । यो सत्रमा उनीहरूले समाजमा क्वेर भएर जीवनयापन गर्नुका दुःख एवम् संघर्षबारे छलफल गरे ।

‘युवाको नजरमा नेपाल’ सत्रमा अभियन्ता प्रकृति भट्टराई बस्नेत, चिकित्सक डा.भावना तामाङ र दृष्टिविहीन युवा अभियन्ता सौगात वाग्लेसँग लेखक तथा सामाजिक अभियन्ता जगन्नाथ लामिछानेले संवाद गरे । उनीहरूले अहिलेका युवाहरूले चाहेको नेपाल र भइरहेको अवस्थाबारे चर्चा गरे । साथै देशमा विकासका लागि गर्नुपर्ने र अपनाउनुपर्ने विषयमा पनि छलफल भयो ।

महोत्सवको अन्तिम सत्र थियो, ‘तीन आख्यान’ । यो सत्रमा लेखक केशव दाहाल, दुर्गा कार्की र बिना थिङसँग शिवानीसिंह थारू प्रस्तुत भए । उनीहरूले नेपाली साहित्यमा आख्यानको अवस्था आदिबारे छलफल गरे । साथै पात्र, तिनको चरित्र, आख्यान लेखन आदिका विषयमा पनि उनीहरूबीच संवाद चल्यो । बुकवर्म फाउन्डेसनले गरेको फेस्टिभलको नवौं संस्करणमा १५ भन्दा बढी सेसन र करिब ५० जना वक्ता थिए । भर्चुअल रूपमा भएकाले यसपल्ट दर्शकको उपस्थिति भएन ।

फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण भएका थिए । नवौं संस्करणको फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा थिए ।

प्रकाशित : पुस १६, २०७७ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?