हाम्रो साहित्यले छुटाएका कथाहरू- साहित्य/विविध - कान्तिपुर समाचार

हाम्रो साहित्यले छुटाएका कथाहरू

लेखकहरू सम्पन्न र विद्वान् हुँदा साधारण ज्यामीहरूका कथा यथार्थवादी ढङ्गले लेखिएनन् । लेखकहरू सहरका हुने भएकाले गाउँका कथा यथार्थवादी रूपमा आएनन् ।
विश्व पौडेल

साहित्य एक व्यापक विधा हो, यसमा लेखकहरूलाई संरचनागतबाहेक अन्य बन्धनमा बाँध्न खोजिँदैन । यो जति पनि फैलिन सक्छ, जुनसुकै कुनामा गएर बस्न सक्छ । अर्कोतिर अर्थशास्त्र तथ्याङ्कहरूमा, स्थापित सिद्धान्तहरूमा वा गणित प्रयोग गरेर बनाइएका मोडेलहरूमा आधारित भएर सावधान भएर बोल्नुपर्ने क्षेत्र हो । साहित्य र अर्थशास्त्र नदीका दुई किनार भने होइनन् । एकातिर आर्थिक नीतिहरूले साहित्यको संवर्द्धनमा असर पार्छन् ।

यो वर्षको बजेटमा विदेशबाट ल्याइएका पुस्तकमाथिको १० प्रतिशत भन्सार कर लगाउँदा भएको व्यापक प्रतिक्रिया यसको एक उदाहरण हो । अर्कोतिर साहित्यले अर्थशास्त्रलाई टेको दिन्छ । रूद्रराज पाण्डेको रूपमती उपन्यासमा प्रमुख पात्र रविलालले लगाएको कपडाको वर्णनले विसं १९९० तिरको नेपालको मध्यमवर्गीय व्यक्तिले उपभोग गर्ने प्रवृत्तिबारे जान्न सकिन्छ भने बालकृष्ण समको मेरो कविताको आराधन पढ्दा राणाहरूले विदेशी आयातलाई कसरी हेर्थे भन्ने पनि जानकारी हुन्छ । सरदार भीमबहादुर पाँडेको त्यस बखतको नेपालले जुद्धशमशेरका पालाको नेपालको आर्थिक कथा भन्छ भने हर्क गुरूङको मैले देखेको नेपालले विसं २०३० को सेरोफेरोको नेपालको आर्थिक तथा सामाजिक चित्र देखाउँछ । देवकोटाको मुनामदन र सीमापारिबाट लेखिएका लीलबहादुर क्षत्रीका बसाइँ र ब्रह्मपुत्रको छेउछाउ जस्ता साहित्यिक कृतिमा संवेदनशील राज्यको संरक्षणको अभावमा पहाडका हन्डर खाएर विदेश गएका नेपालीका कथा भेटिन्छन् ।

साहित्यले अर्थशास्त्रलाई धेरै मद्दत गर्न सक्छ। पुरानो युगको खाद्यान्न उपभोगको कुरा गरौं । नेपालको अर्थशास्त्र मात्रै पढ्ने हो भने खाद्यान्न उपभोगको तथ्यांक धेरै अघिसम्म जाँदैन । गरूडनारायण गोङ्गलले विसं १८४६ मा लेखेको सम्झना पढेर हामीलाई भक्तपुरे मल्ल राजा रणजित मल्लको खानाका लागि मसिना चामल, छाँटाको दाल, मुगीको दाल, घिउ, तेल, अचार, रोटी चाहिन्थ्यो भन्ने जानकारी हुन्छ । पृथ्वीनारायण शाहका समकालीन कवि सुवानन्ददासले गोर्खाली महाराजको ज्युनारको यसरी वर्णन गरेका छन्–

नेपालको सिन्की लुटि मंरातको घिले भुटि

पालपाको ल्याउ हिङ जिरो रि सिङ को ल्याउ पिरो !

तनहुँको भातसित भिर्कोटको दालसित

कन्चन कटौरा भरी स्वर्णका थलिया भरि

अष्टदल चौकी बसी गंगाजल झारी भरि;

पुरुव मुहुडा गरी

महाराजको जिउनार बनाऊ है ।

अर्थशास्त्र प्राय: ‘औसत’ जनताले के गर्थे, के खान्थे, मल्लकालबाट शाहकाल आउँदा ‘औसत’ जनताको जीवनस्तरमा कस्ता परिवर्तन आए जस्ता प्रश्नको उत्तर खोजिरहेको हुन्छ । गोङ्गलले राजाको जीवनको लेखेको जस्तै अरु कसैले साधारण नेपालीको तत्कालीन भोजनबारे लेखिदिएको भए अन्य विस्तृत तथ्याङ्क नहुँदापनि अर्थशास्त्रीको ‘औसत’ नेपालीको जीवनस्तरसम्बन्धी जिज्ञासाको उत्तर मिल्थ्यो ।

अब अर्काे उदाहरण हेरौं । आर्थिक नाकाबन्दीहरू हामीले नचाहँदा नचाहँदै हाम्रो जीवनको अभिन्न अनुभव भएका छन् । हामीलाई अहिले पनि नाकाबन्दीले के गर्छ भन्ने विस्तृत विवरण थाहा छैन । जतिखेर गोर्खा र काठमाडौंको लडाइँ भइरहेको थियो, त्यतिखेर, विशेषत: १८२० सालपछि काठमाडौंमा चरम आर्थिक नाकाबन्दी गरियो । मुख्यगरी नुन र कपासको नाकाबन्दीले काठमाडौंलाई समस्यामा पार्‍यो । विसं १८१२ मा जन्मेका उदयानन्द अर्ज्यालको वर्णन (जुन पछि पृथ्वीन्द्रोदय महाकाव्य भनेर प्रकाशित गरिएको छ)मा एक ठाउँमा जयप्रकाश मल्लले ललितपुरका प्रधानहरूलाई रिसाएर ‘तिमीहरू चोलो सिएर राजकोष भर्ने मान्छेले के गोर्खासँग लड्ने विदेशी सेना पाल्न सक्छौ’ भनेका छन् । कपडा बुन्ने पेसा ललितपुरका लागि त्यो बेला महत्त्वपूर्ण भएर त्यसो भनेका हुन् भने यो नाकाबन्दीले ललितपुरलाई गम्भीर प्रभाव पारेको हुँदो हो भन्ने अड्कल गर्न सकिन्छ । ललितपुरे राजा तेजनरसिंह मल्ल त गोर्खासँग नलडी भक्तपुरतिर भागेका थिए । यस्तै नुन नभएर पनि मानिसहरूले धेरै दु:ख पाएका थिए । कवि अज्र्यालले नाकाबन्दीले पारेको मुद्रास्फीतिलगायत प्रभावबारेमा यस्तो लेखेका छन्—

चांगा च्यासिङ रुपैयाँ दश गनी त दिया थान दुवै मिल्छ जाँहा

तेल घ्यु बेगर जोगी झांञी त प्रजा नङ्गी अंगी छ ताँहाँ

सोहोरा ञिटमा छ मुख नुनकी सुख भोटिया बाज ताँहाँ

पंछी नक्कलका प्रजा घरअघरै रोदनै भार माहा

अर्थात् ‘१० रूपैयाँमा जम्मा दुई थान च्यासिङ कपडा मिल्छ । तेल, घिउ नभएर प्रजाहरू जोगी जस्तै धुस्रे भएका छन् । मान्छेहरू नुनको तलतल मेट्न इँटामा मुख लगाएर चाटिरहेका छन् । भोटिया बाज आउँदा चराहरू रोइकराइ गरे जस्तो घरघरै रोइकराइ छ ।’

अर्ज्यालका अनुसार २५० वर्षअघि आर्थिक नाकाबन्दी हुँदा काठमाडौं यस्तो थियो !

पुराना जमानाको म्याक्रोइकोनोमिक तथ्याङ्कहरूको अध्ययनमा प्राध्यापक एङ्गस म्याडिसनको निकै योगदान छ । उनका अनुसार संसारको अर्थतन्त्र समग्रमा सन् १००० देखि सन् २००० सम्म ३०० गुणा बढ्यो । मुख्यगरी यो वृद्धि सन् १८२० पछि भएको थियो । औसतमा एक विश्ववासीको कमाइ सन् १००० मा रू. १०० थियो भने सन् १८२० मा जम्मा १५० । हाम्रा पुर्खाहरूको कमाइ यो गतिमा पनि वृद्धि नभएको हुँदो हो । किनकि यो वृद्धि पनि धेरैजसो प्रमुख एसियाली र युरोपेली मुलुकमा भएको थियो । सन् १८२० तिरको अरु कुरा जान्न हाम्रो मुलुकमा अर्थशास्त्रका तथ्याङ्कहरू सङ्कलन गर्ने प्रचलन थिएन । नेपालमा त अझ राजाको सम्पत्ति गन्न हुँदैन भन्ने प्रचलन थियो ।

सन् १८२० सम्म आइपुग्दा युरोपमा प्रिन्टिङ प्रेसको निकै विकास भइसकेको थियो । जर्मनीको मेन्ज सहरमा गुटेन्बर्गले बनाएको प्रिन्टिङ प्रेसको प्रमुख उद्देश्य धार्मिक किताब छाप्ने थियो । अमेरिकी अर्थशास्त्री ब्राड डेलोङका अनुसार जर्मनीमा त्यो बेला एउटा किताबको मूल्य एउटा बिएमडब्लू कारको जस्तो पथ्र्यो (जर्मन श्रमको मूल्यको हिसाब गरेर अहिले हेर्दा) । नयाँ प्रेस सुरूमा भगवान्, त्यसपछि ऐतिहासिक कथाका नायक, त्यसपछि अलौकिक र तिलस्मी चरित्रहरू छाप्नमा केन्द्रित भयो । सामाजिक यथार्थवादी धाराका साहित्यिक पुस्तक पछि आए । डिकेन्सले लन्डनको श्रमबजार र शोषणको यथार्थवादी चित्रणका कथा लेख्नु, जेन अस्टेनले प्राइड एन्ड प्रेजुडिस र एमिली ब्रोन्टीले वुदरिङ हाइट्समार्फत बेलायती गाउँका विषमताका कथा लेख्नुअघि नै रबिन्सन क्रुसो र गुलिभर ट्रावल्सले प्रिन्टिङ प्रेसको उपभोग सुरू गरेका थिए ।

यसका पछाडि जनसाधारणका कथा छापाका अक्षरमा लेखिन योग्य छैनन् वा हुँदैनन् भन्ने विचार हुँदो हो । त्यसबाहेक लेखकहरू प्राय: पुरूष हुने भएकाले महिलाका कुराहरू लेखिएनन् । लेखे पनि महिलाको मनोविश्लेषण त्यसरी नै गरियो, जसरी पुरूषमनले महिलाले सोच्छन् भन्ने सोच्थ्यो । लेखकहरू सम्पन्न र विद्वान् हुँदा साधारण ज्यामीहरूका कथा यथार्थवादी ढङ्गले लेखिएनन् । लेखकहरू सहरका हुने भएकाले गाउँका कथा यथार्थवादी रूपमा आएनन् ।

नेपालीमा सुरूमा लेखिएका पुस्तक महाभारत वा रामायण आदि मुलुकमा लोकप्रिय धार्मिक ग्रन्थका नेपाली अनुवाद थिए । मूल महाभारत वा रामायणको कथा लेखन उत्कृष्ट छ । महाभारतमा धेरै उपकथा छन् । शान्तिपर्वमा शासन कसरी गर्ने भन्नेबारे लामो चर्चा छ । धेरैजसो प्रश्न कथाहरूको उदाहरण दिएर अविस्मरणीय बनाई उत्तर दिइएका छन् । र पनि हरेक कथा या त राजाका छन्, या ऋषिका । हरेक कथामा राजा, ऋषि वा अन्य कुनै अलौकिक पात्र हुन्छन् । साधारण मान्छे मात्र भएका कथा छैनन् भन्दा पनि हुन्छ । महाभारत र रामायणको प्रभाव भएको हाम्रो मुलुकमा यही शैलीको प्रभाव लामो समय रहिरह्यो ।

अर्थशास्त्रीहरूका लागि औसत जनताका दु:खकष्टको वर्णन राजामहाराजाको जत्तिकै महत्त्वपूर्ण हो । तर पुरानो साहित्यमा यो सजिलैसँग पाइँदैन । यसको असर गोर्खा राज्य विस्तारकालको मुलुकको जनजीवन बुझ्न सक्ने हाम्रो क्षमतामा परेको छ । हामीलाई थाहा छ, धेरै कारणले लडाइँ सजिलो थिएन । दामोदर पाँडेको पालामा विसं १८५८ मा एक मुरी बिजनको खेतको कर रू. १ थियो भने अङ्ग्रेजसँग युद्ध गर्ने बेला त्यसको १३ वर्षपछि विसं १८७१ मा रू. ५ । लडाइँ बढ्दै जाँदा धेरै नेपालीहरू यस्तै बढ्दो करको मारमा परेका थिए । घरका छोराहरू लडाइँमा घिसारेर लगिए । कैयौं बुहारी सती पठाइए ।

पुराना नेपाली कवि वा लेखकले विसं १८७३ सम्मको राष्ट्र विस्तारका क्रममा बढ्दो पोत तिर्नुपरेका रैकर जग्गामा बसेका रैतीहरू, कुत बढाबढ गरेर जग्गाको उत्पादन बचत खेती गर्नेको हातबाट खेती नगर्नेको हातमा पुर्‍याउँदा दु:खी भएका किसानहरू, झारामा काम गर्नुपरेका व्यक्ति, धोक्रोमा पैसा बोकेर तिर्जा किन्न आउने धोक्रे र तिनीहरूबाट सताइएका किसानको कथा पनि लेखिदिएको भए हामीलाई वसन्तपुर दरबारमा कसले कसलाई काट्यो भन्ने इतिहास भनेर पढाइने कर्कश व्याख्यानबाट केही राहत मिल्थ्यो । एकीकरणका बेला र त्यसपछि पनि लड्न घरबाट उठाएर लगिएका जवानहरू, युद्धले उठीबास लगाएका व्यक्तिहरू, रणमा घाइते भएर उपचार नपाई बिस्तारै बितेका योद्धाहरू, धुकचुक भएर छोरा फर्कने दिन कुरेका आमाहरू, उत्ताउलो भएर लड्न आफैं सुरिएर हिँड्ने अल्लारे युवाहरू, वीर सेनापतिहरूले बूढो उमेरमा उठाएर लगेका कलिला महिलाहरू, वीरहरूको मृत्युपछि जबर्जस्ती सती पठाइएका महिलाहरू, युद्ध सकिएपछि पैसाको आशामा लाहोर जाने युवाहरू, पन्जाबको पतनपछि लाहोरको साटो मुग्लानमा गएर ब्रिटिस सेनामा भर्ना हुने नेपाली ठिटाहरूको धेरै कथा हाम्रो साहित्यको त्यसबेलाको अल्पविकासले छुटेको छ ।

लडाइँ शौर्यगाथा मात्र होइन, लडाइँपछि जनतालाई केही भएको थिएन, जे हुनु भइहाल्यो भन्ने जस्ता कुरा सही होइनन् । लडाइँ भनेको भयावह कुरा हो । यो कुरा अर्थशास्त्र र साहित्य दुवैमा आउन जरूरी छ । नेपालीहरूले धेरै लडाइँमा भाग लिएका थिए । कुनै हाम्रो आफ्नै मुलुकका लडाइँ थिए, कुनै अरुका लागि लडिएका । तर सबैको असर हाम्रा सर्वसाधारणलाई विभिन्न तरिकाले परेका थिए । लडाइँका आयामहरूलाई सबै आयामबाट हेरिनुपर्छ । गन विद द विन्डमा मार्गरेट मिचेलले लडाइँमा युवाहरू गएपछि घरमा बसेका महिलाहरूको दशाको कथा भने झैं हाम्रामा त्यसरी कथा भनिएनन् । केही अपवाद नभएका होइनन् । भाषावंशावलीमा पृथ्वीनारायण शाहले कब्जा गरेपछिको कान्तिपुरको वर्णन गर्दै भनिएको छ, ‘..येक नेवारका स्वास्नी अति राम्री थिइन्, गोर्षामहाराजबाट प्रवेश गर्‍या उप्रान्त डराई पैह्ले स्त्रीलाई मारी पछिबाट आफूले पनि ज्यान त्याग गर्‍यो ।’ लडाइँको विभीषिकाको वर्णन गर्दै सुन्दरानन्द बाँडाले आफ्नो त्रिरत्न सौन्दर्यगाथामा लेखेका छन–

‘तहाँ रणभूमिमा श्येन भया, उलुक भया, काग भया, मसानकाग भया, ग्रिध्र भया,.. , स्याल भया, .. पशुजात पन्छीजातहरू शूरवीर सिपाहीका आलो मासु आलो रगत बोसो गिदी आन्त्रा भुँडीसमेत यथेष्ठ षान पाउँदा र्‍हीष्टपुष्टांग भयाका छन् ।’

मोदीआइनमा महाभारत युद्ध नभइदेओस् भनेर प्रार्थना गरेर बसेका महिलाहरूको कथा छ, जो भगवान् कृष्णको युद्ध गराएरै छाड्ने प्रवृत्तिबाट रुष्ट छन् ।

पृथ्वीनारायण शाह मर्दा नौ जना श्रीमती सती गएका थिए । उनकी कान्छी श्रीमतीको उमेर निकै कम हुँदो हो । यी सतीहरू मर्दाको स्थिति कहिल्यै सजिलो हुँदैनथ्यो । भक्तपुरका युवराज अच्युत सिंह मर्दा विष्णुमतीमा उनकी रानी सती गएको हेरेपछि गरूडनारायण गोङ्गल बेहोस भएका थिए । त्यसपछि रणजित मल्लले माया गर्दै भनेका थिए, ‘हेर ग‘ड, तँ यति कमजोर रोगी रहेछस्, कसरी मसँग काशी जालास् ? घरै फर्की ।’ त्यो बेलाको नेपालमा बाँच्न यसैले मुटु बलियो भएको हुनुपर्थ्यो ।

++

पृथ्वीनारायण शाहको काठमाडौं विजयपछि गोर्खामा युद्धको महिमा चर्को भएको हुनुपर्छ । नामहरूले कतिपय बेला त्यो युगको कथा बोलेका हुन्छन् । नामहरू हेर्दा कहिलेकाहीँ मानिसको परिवारको शिक्षाको स्तर पनि अड्कल गर्न सकिन्छ । जस्तो कसैका हजुरबुबाको नाम तपाईंले सोध्दा उसले कञ्चन भन्यो भने, रूपक भन्यो भने ती त्यो बेलाका तुलनात्मक रूपमा शिक्षित व्यक्तिका सन्तान रहेछन् भनेर अड्कल गर्न सकिन्छ । जेठो जन्मे कृष्ण, माहिलो जन्मे राम, साइँलो छोरो जन्मे हरि राख्ने व्यक्तिहरूले या नाम खोज्न धेरै मिहिनेत गरेका नहोलान् या अद्वितीय या आधुनिक नाम राख्ने शिक्षा नभएकाले त्यस्तो भएको हुँदो हो । आफ्ना छोराछोरीको नाम अरु कसैले नराखेको सुन्दर नाम राख्ने हुटहुटी थोरै व्यक्तिमा हुन्छ । झन् थोरै व्यक्तिले त्यसो गर्न सक्छन् । अर्कोतिर गाउँमा सबैभन्दा पीडित मानिसका छोराछोरीको नाम गोल्छे, पुड्के, दले, सन्ते, डल्ली भएको हुन सक्छ । पण्डितले पनि थोरै दक्षिणा बोकेर मन नलागीनलागी राखिदिएका नामहरू कहिलेकाहीँ सुन्दैमा चिन्न सकिन्छ ।

नेपाल देश बनेपछि पनि लामो समयसम्म साहित्य फस्टाउन पाएको थिएन । राजाहरू प्रताप सिंह, रणबहादुर, गीर्वाणयुद्ध कोही पनि ४० वर्ष पनि बाँचेनन् । अर्कोतिर भक्तपुरका अन्तिम चार राजाहरू रणजित मल्ल (४८ वर्ष), भूपतीन्द्र मल्ल (२६ वर्ष), जितामित्र मल्ल (२३ वर्ष) र जगतप्रकाश मल्ल (२९ वर्ष)ले औसत ३१ वर्ष शासन गरेका थिए । ती कलामा पारङ्गत भएर निस्किए । कतिले आफ्नै नाममा किताब लेखे । आज पनि दरबार क्षेत्र हेर्ने हो भने नेपालका पहिलाका राजाहरू कसैको पनि दरबार क्षेत्र सुन्दरता र भव्यतामा भक्तपुरकोसँग तुलनायोग्य छैन । गोर्खाले भक्तपुर विसं १८२६ मा सर गर्दा रणजित मल्ल ७४ वर्षका थिए, त्यतिको पाको र धीर राजा शाहवंशले कहिल्यै दिन सकेन । धेरै कुरामा यसको असर देखियो । साहित्यलाई आडभरोसा दिनुपर्ने, विद्यालय खोल्नुपर्ने जस्ता विषयमा हाम्रा शासकको ध्यान जानै सकेन । ती न साहित्यका उत्पादक भए, न खरिदकर्ता ।

लाग्छ, लडाइँका बेला बरू साहित्यभन्दा युद्धप्रेम र उन्माद बढी थियो । त्यस बेलाको नाम हेरौं— रणबहादुर शाह त छँदै थिए, उनका छोरा रणोद्योत शाह र अर्को राजा भएका छोरा गीर्वाणयुद्धविक्रम शाहको नाम पनि युद्धसँग सम्बन्धित थियो । अमरसिंह थापाका छोराहरूको नाम रणवीरसिंह, रणसुर सिंह, रणध्वज सिंह, रणभीम सिंह, रणजोर सिंह आदि थियो । तुलाराम पाँडेका छोराहरूको नाम रणजित र जगजित पाँडे राखे । अनि नातिहरूका नाम पनि जङ्गवीर, वीरभञ्जन, सिंह वीर, शमशेरबहादुर थियो । दामोदर पाँडेका छोराहरूको नाम रणजङ्ग, रणदल, रणकेशर, रणबम आदि थियो । रामकृष्ण कुँवरका छोरा रणजित कुँवर थिए । जसवन्त भण्डारीका खलकमा पनि रणसुर भण्डारी, रणदेव भण्डारी थियो । शिवराम बस्न्यातका खलकमा झन् नहुने कुरै भएन । यिनका नातिहरूको नाम रणवीर सिंह, रणदीप सिंह, रणधीर सिंह थियो । भीमसेन थापाका भाइ नयनसिंह थापाका छोरा माथवरसिंह र नाति रणउज्वल थापा थियो । जङ्गबहादुरभन्दा अघिका प्रधानमन्त्री पनि राजखलकका चौतरिया फत्तेजङ्ग शाह थिए । यी नामले त्यो युगको जेटगेस्ट बुझ्न हामीलाई सहयोग गर्छ । साहित्य त्यस बेला सम्भवत: टाढाको कुरो थियो । नयाँ गोर्खाली विजेताहरू सामूहिक रूपमै नयाँ नाम खोज्ने र अद्वितीय नाम राख्ने हुटहुटी भएका शिक्षित व्यक्ति थिएनन् ।

++

पोखराका धर्मराज थापाले लोकगीतहरू सङ्कलनका साथै मेरो गृहजिल्ला चितवन पुगेर त्यहाँको बारेमा चितवन दर्पण भन्ने पुस्तक नै लेख्नुभएको छ, जहाँ भर्खर बस्ती बसाइएको चितवनका निकै कथा छन् । त्यो गुन केही भए पनि तिर्न मैले कास्कीका केही कथा कास्केली वृद्धहरूसँग सुन्ने कोसिस गरेको थिएँ । तीमध्ये यहाँ एकदुई राख्न चाहन्छु । तिनले एक सय वर्षअघिको, डेढ सय वर्षअघिको कास्कीको परिवेश कस्तो हुँदो हो भन्ने कुराको उत्तरमा मलाई भनेका थिए–

धेरै दु:ख थियो । ... त्यसबेला मान्छेहरू ५५/६० वर्षमा मर्थे । ६० वर्षमा मर्दा त ओहो उमेर भएर गएछन् भन्ने हुन्थ्यो । लेकमा भन्दा तल बेसीमा बस्ने मान्छे चाँडै मर्थे । किरिया बस्नेहरू सानासाना बालख हुन्थे ।... रोग सबैतिर थियो । भुर्जुङ्खोलाका सुब्बाबाहेक सबै गाँडा थिए । घाचोक, काउँमान, लाचोकमा धेरै गाँडा र बोली बिग्रेका थिए; भिजुकीमा गाँडा थिएनन् । तोल्कामा थिए । सिसुवा, खुदीतिर विधवा बढी थिए । एक जना दिदीलाई सिसुवातिर बिहे गरेर नदिनू भन्दाभन्दै दिइयो, बिहे गरेको २७ दिनमा विधवा भइन् । पोखरामा नै औल लाग्छ भनेर मानिस बास बस्दैनथे । धिताल बाँस्कोटमा भने लाटा जम्मा दुई जना थिए ।

मलाई लाग्छ, कास्कीकी गीतकार तथा गायिका हरिदेवी कोइरालाका कलामा अन्याय, लाहुरेका पीडा र नारीका दु:ख प्रतिबिम्बित हुनु कुनै संयोग होइन । यो स्थिति कास्कीको मात्र होइन, यो त्यो युगको देशभरिको स्थिति थियो । चाँडैचाँडै मान्छे मर्ने त्यो जुगमा आफ्ना साना छोराछोरीको भविष्यको चिन्ताले मानिसलाई सताउँथ्यो ।

नेपाली साहित्यमा त्यसरी छटपटाएका आमाहरूको दु:ख शब्द बनेर पोखिएका विभिन्न उदाहरण पाइन्छन् । शङ्कर लामिछानेले देउताको काममा आमाबारे लेखेका छन्–

... (उनी) क्षयरोगबाट पीडित पतिपरित्यक्ता एक मास्टरनी थिइन्, एक मिडल स्कुलमा । पढाएर आउने पैसाबाट आफू र छोराको खाना, कपडा, पथ्य, उपचार र भवितव्यबाट जोगाइराखेको त्यो छल सम्पत्ति एकैपटक स्वाहा हुँदा.. आफ्नो मृत्युको निमन्त्रणा प्रत्येक खकारमा आइरहेका बेला पाँच वर्षको छोरो यो भवसागर कसरी पार गर्ला भन्ने विचारबाट उनको मुटु चिमोटीचिमोटी खाइरहेको हुँदो हो ।

धनुषचन्द्र गोतामेको घामका पाइलाहरूमा रोगले थलिएकी आमा साना सन्तानको मोहले छटपटिएकी हुन्छिन् र बिरामी हुँदा अस्पतालमा भन्छिन्– मेरो पवनको बिचल्ली गराएर म के मर्थें, सबै थान्को लाएर आफ्नो सप्कोमा बाँधेको साँचो बुहारीलाई जिम्मा लाएर, घरबार सुम्पेर मात्र म सन्तोषसित जानेछु ।

हरिवंश आचार्य पनि आफ्नो बालकाल सम्झिँदै चिना हराएको मान्छे (विसं २०६९)मा लेख्छन्–

मेरी (बाउन्न वर्षकी) आमालाई हामी ससाना छोराछोरीलाई छाडेर मर्न मन थिएन होला ।... के गरेर तागत आउँछ, के गरेर बाँच्न सक्छु, जे गरेर भए पनि मेरा छोराछोरी टुहुरा नबनून् भनेर छटपटाउनुहुन्थ्यो रे आमा ।

अर्थशास्त्रीका रूपमा हेर्दा एक परिवार टुक्रिनु, उमेरका महिलापुरूषहरू मर्नु, बच्चाहरू कुनै अभिभावकीय सुपरिवेक्षणबिना हुर्कनुको दीर्घकालीन असर हाम्रो मुलुकको अर्थतन्त्रलाई कसरी पर्‍यो होला भन्ने प्रश्न महत्त्वपूर्ण छ । हाम्रो समाजमा इतिहासका शिक्षा लिने वातावरण नै बनेन, घरघरभित्र हुनुपर्ने संस्थागत सम्झना (इन्स्टिच्युसनल मेमोरी)को मात्रा पनि कम भयो । यसले हरेक पुस्ताले महत्त्वपूर्ण सामाजिक ज्ञान आफैं सिक्नुपर्ने अवस्था आयो । युद्धको यो असर आज सत्य हो भने पहिला पनि सत्य थियो ।

++

भीमसेन थापाको पालाको इतिहासलाई आर्थिक इतिहासकार लुडविग स्टिलरले साइलेन्ट क्राइजमा उल्लेख गरेका छन् । शासन त्यो बेला पनि जहानियाँ नै थियो, जनता करको उच्चदरले पिल्सिएका थिए । तर नेपाल राज्यका रूपमा बिस्तारै आकार लिँदै थियो । शासक र शासितबीच संवादको स्थिति भने थियो । जनता कर धेरै भयो भने सरकारसम्म आवाज पुर्‍याउँथे । सरकार सकेसम्म मध्यम विन्दु खोज्थ्यो । सुगौली सन्धिपछि मुलुक र सेनाको स्पिरिट क्षतविक्षत पक्कै भएको थियो । एकातिर करको दर उच्च थियो, अर्कातिर विसं १८९२ मा रङ्गनाथ पौड्याल आयोगले दिएको सुझावअनुसार राज्यको अनावश्यक खर्च घटाएर मितव्ययी बन्नुपर्ने देखिएको थियो । सेनाहरूमा भने तलब कम भएको, लडाइँ नभएर काम नभएकोमा असन्तुष्टि थियो । महेशचन्द्र रेग्मीका अनुसार मान्छेहरू उच्चदरको मालपोतले धेरै पिल्सिएका थिए । कसलाई कति कर लगाउने केही निश्चित थिएन । तिरो तिरिरहेका चुनी किसानको अधिकार केही हदसम्म सुरक्षित थियो । तर बिर्ता वा जागिरमा बसेका किसानको अधिकार सुरक्षित थिएन ।

भीमसेन युगको महत्त्वपूर्ण घटनामध्ये एक बासट्ठीहरण थियो, जसमा धेरै मठन्दिर, गुम्बा, ब्राह्मणका बिर्ता हरण गरिएका थिए । रणबहादुर शाहले तिरहुते ब्राह्मणकी विधवा छोरी बिहे गरेर राज्यको उत्तराधिकारको समेत नियम फेरेको धेरै उच्च जातका जनतालाई चित्त बुझेको थिएन । उनलाई चाहिँ ब्राह्मणले आफ्ना कुरा मानेनन् भन्ने थियो । त्यसैको झोक उनले विसं १८६२ मा बासट्ठीहरणमार्फत फेरेका थिए । त्यसको असर दूरगामी भएको थियो । संयोग कस्तो भयो भने, पहिले वेगगतिमा पश्चिममा विजय हासिल गरिरहेका अमर सिंह थापा काश्मीरसम्म हान्ने सुरमा हिँडेका थिए । तर १८६३ सालदेखि भने उनी काँगडाको किल्लामा तीन वर्षसम्म त्यसै त्रिगर्त नरेश संसारचन्दलाई हराउन नसकी अड्किएर बसे । यिनले स्वाभाविक रूपले यसमा बासट्ठीहरणले गर्दा भएको पापको भूमिका देखे । लेखिका इन्दिरा जोशीले लेखेको अमरसिंह थापाको जीवनीमा प्रकाशित थापाले राजालाई लेखेको एक पत्रको व्यहोरा यस्तो छ—

हजुरले ब्राह्मणहरूका बिर्ता हरण गर्‍याका बेलादेखि हजारौं ब्राह्मणहरू साह्रै फजिती पाई कङ्गाल भयाका छन् । काँगडा फत्य भएपछि ती बिर्ता फर्काइनेछन् भन्न्या कबुल गरी हजुरले मेरा र नैनसिंह थापाका नाममा लालमोहर लाग्याको हुकुम पठाइबक्स्याको थियो । त्यो काम हामीले पुर्‍याउन नसक्दा अहिले चारैतर्फ गोलमाल उठ्याको छ ।

त्यस बेला खुम्बु क्षेत्रमा बासट्ठीहरणको विरोधमा विद्रोह भयो, मानिसहरू मारिए । ती विद्रोहका कथा भने साहित्यले उतारेन । त्यस बेला लेखिएका नेपाली पुस्तकहरूमा करले पिल्सिएका, दु:ख पाएकाहरूको कथा आउँदैन ।

रणबहादुरको अस्थिर शासनबाहेक अन्य बेला भने हाम्रो शासन महाभारतका नीति र उपदेशलाई मानेर चल्न खोज्थ्यो ।

महाभारतमा शान्तिपर्वमा भीष्मले युधिष्ठिरलाई भनेका थिए, ‘राज्यको ढुकुटी भरिराख्नुपर्छ । भरेपछि यसलाई नचाहिने खर्च रोकेर, मितव्ययी हुँदै, राम्रोसँग जतन गरेर बचाउनुपर्छ र सधैं बढाउने कोसिस गर्नुपर्छ । यो शासकले नित्य गर्नुपर्ने काम हो । राजस्व उठाउन नसक्ने राजालाई सबैले हेप्छन् (हीनकककशं हि राजानं अवजानन्ति मानवा:) । तर ‘न कोश: शुद्धशौचेन न नृशंसेन जायते, पदं मध्यम आस्थाय कोशसङ्ग्रहणं चरेत्’ अर्थात् धेरै उदार भएर पनि राजस्व सङ्कलन गर्न सकिँदैन, धेरै नृशंस भएर पनि हुँदैन, ठिक्क हुनुपर्छ ।’

जङ्गबहादुरलाई १८६२ को बासट्ठीहरणले धेरै परि पारेको थियो । उनले हरणजग्गा फिर्ता दिने नियम पनि ल्याएका थिए । जङ्गबहादुरले शासनमा आउनेबित्तिकै तराईका कैयौं जग्गालाई जथाभावी बिर्ताका रूपमा दिन नपाइने थिति बाँधेका थिए । त्यसअघि राज्य कमजोर थियो, ऊ कैयौं ठाउँमा त आफैं कर उठाउन नसकेर पाँच साल ठेकी (पाँच सालका लागि कुनै क्षेत्रमा कर उठाउने ठेक्का) लगाउँथ्यो । त्यस्ता ठेक्का खानीमा पनि थियो । जङ्गवबादुर सत्तामा आउँदा राज्यकोष खासै बलियो पनि थिएन । राज्यको पूर्ण सैनिकीकरण पनि भएको थियो । सन १८५२/५३ को एक रेकर्डअनुसार सरकारका नाममा भएको ३८ लाख ११ हजार ८३० मुरी खेतमध्ये ३१ लाख ७८ हजार ११० मुरी सेनालाई र बाँकी अधिकांश राजदरबार र राणा परिवारलाई जान्थ्यो । यो अवस्थामा कला, साहित्यको संरक्षण र प्रवर्द्धन कल्पनाबाहिरको विषय थियो ।

सरकारका तमसुक, सरकारले लेखेका चिठी र सरकारमा गरिएका हारगुहारका निवेदन पढेर अर्थशास्त्रीहरूले त्यस बेलाको उच्च कर र साधारण राज्यव्यवस्थाका असरबारे प्रकाश परेका छन् । महेशचन्द्र रेग्मीका अनुसार विसं १८९० मा भीमसेन थापाको शासनको अन्त्यतिर सल्यानमा कर उठाउने धोक्रेहरूले समय नदिई कडाइ गरी पैसा उठाउन खोज्दा धेरै किसान जमिन छाडेर भागेका थिए । योगी नरहरिनाथको एक खोजअनुसार त्यसको १३ वर्षपछि जुम्लामा विसं १९०३ वैशाखमा ज्युना चँदारालाई रू. २० मा कमारी बनाएर खरिद गरिएको थियो, जुन त्यस बेला साढे १० मुरी चामलको मूल्य थियो । बाउले लिएको छ रूपैयाँ २० वर्षसम्म नतिरेकाले जङ्गबहादुरको पालमा विसं १८२२ मा डोटीमा एक महिलालाई बलात् कमारी बनाइएको थियो । यी कथा हाम्रो त्यो बेलाको साहित्यले भने छुटाएको छ ।

विसं १९२० देखि १९२४ सम्म तराई र त्योसँग जोडिएका भारतका जिल्लामा गएको भोकमरीको असर त झन् भयावह थियो । धेरै बाबुआमाले आफ्नै छोराछोरी बेचेका थिए । यसरी बेचिएका केही दास पछि जङ्गबहादुरको पहलमा फिर्ता पनि गरिएको थियो । र स्वतन्त्र मानिसका सन्तानलाई कमाराकमारी बनाउन नपाइने नियम पनि सुरू गरिएको थियो । तर ती दिन भयावह थिए, मानिसको सम्पत्तिको संरक्षण र मानिसको भविष्यप्रतिको आशावादिताका दृष्टिले पनि । राजामहाराजालाई समेत आफ्ना सन्तानको भविष्य कस्तो हुन्छ भन्नेमा सुनिश्चितता थिएन । माथवरसिंह आफूलाई गोली लागेपछि आफ्नी आमा र सन्तानलाई केही नगरिओस् भनेर भिक्षा माग्दै राजाको अगाडि रोएका थिए, जङ्गबहादुरका सन्तान या मारिएका थिए या देशनिकालामा परेका थिए । राजाकै सन्तानको समेत भर थिएन । देशनिकालामा परेका चौतरिया र सानामै आँखा फुटाइएका राजकुमारहरू यत्रतत्र थिए । राजा पृथ्वीनारायण शाहकै आफ्नै छोरा बहादुर शाह तातो तेलमा डुबाएर मारिएका थिए, नाति रणबहादुरको हत्या भएको थियो, पनाति विदुर शाहीहरू सानैमा विष्णुमतीमा लगेर काटिएका थिए । हामीले बनाएको पद्धतिको सुरूवाती बेला कोही सुखी थिएन, कोही ढुक्क थिएन । यी कथा त्यो बेलाको हाम्रो साहित्यले छुटाएको छ ।

++

१८०१ को नुवाकोट विजयलाई एकीकरणको युद्धको आधारवर्ष मान्ने हो भने सुगौली सन्धिको वर्ष अर्थात् विसं १८७३ सम्म ७२ वर्षसम्म गोर्खाली सेनाले निरन्तर लडेको थियो । १८७३ देखि भने शान्ति छाएको थियो । तत्कालीन रेजिडेन्ट ब्रायन हडसनका अनुसार नेपालको बाह्य व्यापार युद्धपछि निकै राम्रो भएको थियो । १० वर्षमा तीन गुणा बढेको थियो । त्यो शान्तिकालको साहित्य भने अझै जनताको तहमा उत्रिको थिएन । नेपाली भाषामा लेखिएका किताब त्यो बेलासम्म रामायण, महाभारत, स्वस्थानी, ऐतिहासिक चरित्रमा आधारित तिलस्मी खालकै थिए । भानुदत्तको हितोपदेश मित्रलाभ (विसं १८३३), शक्तिबल्लभ अज्र्यालको हास्यकदम्ब (विसं १८५५), गौरेश्वर शर्माको बेताल पञ्चविंशती (विसं १८६६) विष्णुपद पाध्याको लालहीराको कथा (विसं १८८९) यसका केही उदाहरण हुन् । विसं १८७८ मा नेपालीमा अनूदित स्वस्थानी व्रतकथा भने अत्यन्त लोकप्रिय हुन पुग्यो । पृथ्वीनारायण शाहको उपदेश भनिएको दिव्योपदेशको रचना सम्भवत: भने १८३१ मा नभई निकै पछि भएको हुँदो हो । दिव्योपदेशमा अर्थशास्त्रसँग सम्बन्धी विभिन्न कुरा पनि छन् ।

नेपालमा विसं १९०८ मा गिद्धे प्रेस, त्यसको केही वर्षपछि मनोरन्जन छापाखाना सुरू भए । विसं १९५० मा मोतीराम भट्ट र पण्डित कृष्णदेवको सयुंक्त स्वामित्वको निजी क्षेत्रको पहिलो पाशुपत प्रेस ठहिटीमा खुल्यो । सुरूका सरकारी प्रेसले प्रकाशन क्षेत्रमा कुनै ठूला क्रान्ति ल्याउन सकेनन् । पाशुपत प्रेसको भने विभिन्न तरिकाले नेपालमा प्रभाव भयो । पहिलो पत्रिका सुधासागर पनि यही प्रेसबाट विसं १९५५ साउनमा निस्कियो । विसं १९६० तिर सरकारी गोरखापत्र प्रेसको स्वामित्व केही समयलाई पाएका जयपृथ्वीबहादुर सिंहले सम्भवत: हाम्रो साहित्यको स्तर माथि लैजाने प्रयास गरेका हुँदा हुन् । तर धेरै सफल भने भएनन् । नेपाली साहित्यमा विविधता ल्याउन नेपाली भाषा प्रकाशिनी समिति नै चाहियो, जसमा बस्दाका अनुभवहरू बालकृष्ण समले आफ्नो जीवनी मेरो कविताको आराधानमा उल्लेख गरेका छन् ।

बढ्दै गएको शिक्षा र लामो समयको शान्तिले विस्तारै भने पनि धनी हुँदै निस्कँदै गरेको एक मध्यमवर्गीय तप्काले साहित्यको सुरूको विकासलाई निर्देशित गर्‍यो । र राणाशासनमा आएर केही यथार्थवादी लेखाइका राम्रा नमुना निस्कन थाले । पहलमान सिंह स्वाँरको एकलाख रुपैयाँको चोरी (१९७४), पुष्करशमशेरको कथा परिबन्द आदी यसका उदाहरण हुन् (पुष्करशमशेरको अर्को कथा स्वार्थत्याग पनि न्याय निरूपण गर्ने राणाकालीन शैली र त्यससँग व्यक्तिगत यौन वुभुक्षाको सम्बन्धबारे केन्द्रित छ) । राणाकालीन न्याय निरूपणको अर्को राम्रो उदाहरण हेनरी ओलफिल्डको तत्कालीन राणाकालीन नेपालमा शिरच्छेदन गरेर मृत्युदण्ड दिदाँको वर्णन र प्रकाश वस्ती सम्पादित कानुनसम्बन्धी केही ऐतिहासिक अभिलेखहरूमा उल्लिखित १९३८ सालको पर्वपछिको मृत्युदण्ड पाएका व्यक्तिहरूको काटिन लैजाँदाको मनोदशा तथा संवादले पनि दिन्छन् । विसं १९७४ तिर योगमायाले लेखेका भनिएका भावनाहरू पछि प्रकाशित भए, जसमा योगमाया वर्गीय विभेद तथा शोषणविरूद्ध प्रखर वक्ताका रूपमा देखापर्छिन् । अरु विद्रोही आवाजहरू तत्कालीन युग सुहाउँदो रूपमा प्रकाशित भए । सुब्बा कृष्णलाल अधिकारीले विसं १९७७ मा विम्बहरू प्रयोग गरेर लेखेको भनिएको मकैको खेती यसको एक उदाहरण हो ।

अर्थशास्त्रीहरूको मतमा कानुनी व्यवस्था कमजोर हुँदा, गुणदोष छुट्टिन समय लाग्दा वा गलत रूपमा छुट्टिँदा अर्थतन्त्र स्वभावैले कमजोर हुन्छ । र लगानीमा व्यक्तिहरूको मन जाँदैन । जङ्गबहादुरले जग्गामा खेती गरेर तिरो तिरिरहेका व्यक्तिको जग्गा अरुलाई मोही लगाउन नपाउने व्यवस्था ल्याएसँगै नेपालमा जग्गामाथि सम्पत्तिको हक स्थापित हुन थाल्यो भने चन्द्रशमशेरले विसं १९७९ वैशाख २ बाट जग्गा दर्ता प्रक्रिया व्यवस्थित बनाएर मालपोत अफिसहरू खुलेसँगै यो झन बलियो हुन थाल्यो । उद्योगमा लगानीका धेरैजसो कुराहरू जुद्धशमशेरको पालामा व्यवस्थित गर्न सुरू गरिए । सरकारी पहलमा बजारहरू (अर्थात् गोलाहरू) खोल्ने काम अलि पुरानै भए पनि सीमावर्ती क्षेत्रका महत्त्वपूर्ण सहर विराटनगर, नेपालगन्ज, वीरगन्ज खोल्ने, भित्री पहाडका धरानलाई सहरको रूप दिने काम वीरशमशेर र चन्द्रशमशेरको पालामा सीमामा भारतीय रेलको आगमनसँगै भए । भर्खरै बसेको सहर वीरगन्जमा रेल आउँदाको कथा सजीव रूपमा साहित्यमा उतार्ने काम चाहिँ धनुषचन्द्र गोतामेको विसं २०३५ मा घामका पाइलाहरूमार्फत भयो । अरु सहरका सुरूवाती दिनका कथा नकोरिएकाले ती विस्मृतिको गर्भमा रहे ।

++

नेपालमा चाहे जस्ता उपभोगका, आयका, बसाइँसराइका तथ्याङ्कहरू २००७ सालको क्रान्तिपछि पनि उत्पन्न भएनन् । २००८ सालमा हामीले मोहीको लागत लिने भनेर सर्भे सुरू गरेका थियौं, सेन्सस पनि २०११ देखि गरेका छौं । तर यी विस्तृत नभएको र हाम्रो तथ्याङ्कशास्त्रसम्बन्धी ज्ञान पनि सीमित भएकाले हाम्रा रेकर्डहरू २००७ सालपछि पनि ठीकै मात्र रहे । तर हाम्रो साहित्य भने सुरूवाती दिनमा ह्वात्तै बढ्यो । कलेज पढ्ने विद्यार्थीको पढ्ने सामग्रीको भोक बढेर पनि होला, स्वतन्त्रता भर्खर उपभोग गर्न थालेर पनि होला, नेपालीहरू हातिमताइका कथा, गुलबकावलीका कथा, मधुमालतीका कथा, पिनासका कथा, लालहीराका कथाबाट आफ्ना कथा लेख्ने स्थितिमा पुगे । सामाजिक यथार्थमा आधारित ती कथाले हामीलाई काठमाडौं र मुलुकका ती कुराहरूबारे बताउँछन्, जुन हाम्रो सीमित तथ्याङ्कमा आधारित अर्थशास्त्रले बताउन सक्दैन । उदाहरणका लागि २०११ सालमा हृदयचन्द्रसिंह प्रधानले नारीवादी स्वास्नीमान्छे लेखे; शङ्कर कोइरालाले आञ्चलिक उपन्यास खैरेनीघाट २०१८ सालमा लेखे । भीमनिधि तिवारीले २०२७ सालमा प्रगतिशील उपन्यास इन्साफ लेखे । र रमेश विकलले प्रगतिशील आञ्चलिक अविरल बग्दछ इन्द्रावती“ २०४० सालमा लेखे । यी सबै उपन्यासले नयाँ गोरेटो कोरे र समाजको नयाँ तस्बिर देखाए ।

तर पनि साहित्यले धेरै क्षेत्र छुन सकेको थिएन । संसारसँग जोडिँदै गरेको नेपालको सुरूवाती दिनका कथा पनि साहित्यमा राम्रोसँग लेखिएका छैनन् । राणाकालसम्म विदेशीका लागि नेपाल बन्द थियो । तर नेपालीहरूलाई विदेश जान खुला थियो । र नेपालीहरू विश्वविजेता जस्ता ब्रिटिसको पछि लागेर संसारका चारै कुना पुगेका थिए । घर सम्झी रोएको होला, डाँडा काटी गएको नेपाली भन्ने गीत गाउने धर्मराज थापाले टिपेको कथा यस्तै व्यक्तिको थियो । तर ती रोएर मात्र बसेका थिए कि हाम्रो देश किन अघि बढेन भन्ने सोचेर पनि बसेका थिए होलान् ? तिनले आफ्नो मुलुकको शोषणदमनलाई नबुझेका थिए होलान् भन्न पनि गाह्रो छ । आजका एनआरएन जस्तै त्यस बेलाका एनआरएन पनि नेपाल फर्केर देशलाई सुधार्छु भन्ने सोचाइ त राख्थे होलान् । वास्तवमा धेरै ठाउँमा भर्खर स्कुलहरू खुल्दा शिक्षक लाहुरेहरू नै थिए ।

हामीले थाहा नपाएको प्रश्न अहिले के हो भने, कसरी नेपालीहरूको विदेश जाने क्रमले नेपाली समाजमा परिवर्तन ल्यायो ? बाहिरबाट आएको धनले, रिटायर्डहरू र विधवाहरूले पाएको पेन्सनले, देखेर आएका नयाँ प्रविधिले कसरी गाउँहरूलाई फरक पारे ? रेडियो घन्काउँदै, घडी लगाउँदै, रूमाल भिर्दै, चुरोट पिउँदै, तास खेल्दै आउने लाहुरेले नेपालको परम्परागत आर्थिक जीवनलाई कसरी फरक पारे ? के गरिब जनताको वित्तीय पहुँचको स्थिति राम्रो हुँदै गयो ? के लाहुर जाने वर्गले धनमा लाहुर नजाने वर्गलाई जित्यो ? राईलिम्बूहरू विसं १९५० तिर मात्र ब्रिटिस आर्मीमा जान सुरू गरेको परिप्रेक्ष्यमा के चौबिसे राज्यहरू पूर्वी राज्यहरूभन्दा आर्थिक रूपले, सामाजिक रूपले केही अघि हुनु लाहुरको उपज थियो ? यी प्रश्नको उत्तर न अर्थशास्त्र, न साहित्यमा भेटिन्छ ।

++

विसं १९८६ मा अमेरिका र पश्चिमी विश्वमा ठूलो आर्थिक मन्दी भयो । त्यहाँका उत्पादित सामानलाई नेपाल आउन सजिलो बनाइदिएर भीमशमशेरले मुलुकलाई बाँकी विश्वसँग जोडिदिएका थिए । जुद्धशमशेरले पनि घरमा लगाउने कर्कटपाता ल्याउन फुकुवा गरिदिए । त्यसपछि नेपाली घरमा छाना पहिले जस्ता रहेनन् । नेपालीको त्यो बेलाको आयातित सामानको उपभोग गर्ने संस्कृतिको समाजमा असर कस्तो पर्‍यो ? साहित्यमा यसका केही वर्णन पाइन्छन् । विसं १९९२ मा प्रकाशित रूपमतीमा पात्र रविलालको पहिरन वर्णन गर्दै रूद्रराज पाण्डे लेख्छन्– रविलाललाई कार्चोपी टोपी, चेन र कस्मिराको कोट, चुनिचुनाउ परेको खुट्टामा टम्म टाँसिने नैनसुतको सुरूवाल र रेसमी कमिज, नयाँनयाँ फेसनका जुत्ता, जापानी रेसमी मोजा, जेबमा बुट्टे रेसमी रूमाल, नारीमा स्विस वेस्टएन्ड वाच घडी इत्यादिले सजिसजाउ भएर हिँड्नुपर्थ्यो ।

२००७ सालपछि नेपालको राजनीतिक परिवर्तन त भयो भयो, भौतिक परिवर्तन पनि भयो । नेपालीहरू रेडियो सुनेर देशविदेशका कुरा सुन्न पाउने भए । दल खोल्न पाउने भए । २०१३ सालमा त्रिभुवन राजपथ बन्यो । काठमाडौंका मानिस गाडी चढेर भारत पुग्न सक्ने भए । राणाशासनमै लाहुरेका रूपमा देशविदेश चहारिसकेका नेपालीका बस्ती भारत, भुटान, बङ्गालादेश, बर्मा, थाइल्यान्ड, मलेसिया हुँदै सिङ्गापुरसम्म भेटिने स्थिति भएको थियो । ती नयाँ विकासले ल्याएको परिवर्तनको आर्थिक रूपमा अझै राम्ररी र विस्तृत अध्ययन हुन सकेको छैन । तर साहित्यमा भने प्रतिबिम्बित भएको छ । सम्भवत: हास्यव्यङ्ग्यकार भैरव अर्यालले जय भुँडीमा प्रकाशित व्यङ्ग्यहरूमार्फत यी विकासलाई सबैभन्दा राम्रोसँग अमर बनाएका छन् । मान्छेहरू कुरै नबुझी लाहुर गएका छन् भन्ने तर्क उनको लाहुरेको यात्रासंस्मरणमा छ, जहाँ प्रमुख पात्र वीरबल अतिथि इन्जिनियरहरूले बनाइदिएको बाटोघाटोको नक्सा झैं १० तिर टेढिएर लम्किन गएकोमा माफ माग्छ र ‘असारसाउनको माटो, बाइरोडको बाटो; ड्राइभर रमले रन्न, ट्रक यात्रुले टन्न’ भएको यात्रा गर्दै रक्सौल पुग्छ । भैरव अर्यालको चन्द्रलोक कसको निबन्धमा त्यस बेलाको काठमाडौंका युवाहरूको विदेशमा भएका अन्तरिक्षमा को पहिला हुने प्रतिस्पर्धासम्बन्धी अवधारणा कस्तो थियो भन्ने झलक पनि मिल्छ ।

विसं २००८ नेपालका लागि नयाँ थियो । त्यो वर्ष नेपाल सरकारले बजेट ल्यायो । मुलुकमा समृद्धि र गरिबी हटाउने दुई लक्ष्य सँगसँगै लगिनेछ भन्यो । २०१६ सालमा सरकारले केन्द्रीय तथ्याङ्क विभाग स्थापना गर्‍यो । यसले बिस्तारै अर्थशास्त्रीहरूलाई मुलुकको कथा भन्न सक्ने ठाउँमा ल्यायो । तर तथ्याङ्कहरू सधैं कम हुन्छन्, खोजेका सबै कथा पनि यिनले भन्दैनन् । विसं २०२० तिरको काठमाडौंको स्थिति तथ्याङ्कबाट आउने एक हुन्छ, निबन्धकार शङ्कर लामिछनेको कलमबाट आउने अर्को हुन्छ । लामिछाने विसं २०२५ मा लेखिएको गौथलीको गुँडमा काठमाडौं सहरमा चर्पी नभएको कुरालाई यसरी लेख्छन्—

विष्णुमती नदीको काई लागेको बालुवामा मानिस दिसा गरिरहेछन् । नजिकनजिक भए पनि उनलाई लाज छैन ।... बिचरा जाऊन् पनि कहाँ? सरकारी दिसाखानाको हालत त्यही हो, १००० जनापिच्छे एउटा होला ।

लामिछाने उनको एक पत्र सम्पादकलाई पढ्ने लेखकलाई २०१९ भदौको काठमाडौंको हालत यसरी बताउँछन्–

पानी परिरहेछ, झमझम । भर्खरै राजदूतहरू र मम्त्रीहरूको मोटरको ताँती फर्क्यो– नरप्रताप थापाको शोकसभा थियो रे रञ्जनामा ।... सडकपारिपट्टि एउटा माग्ने जस्तो मानिस गणेशथानको देवलको चौतारामा बसेर लगौंटीमा अलमलिएको जुम्रा मारिरहेछ ।

नेपाली साहित्यमा काठमाडौंका र दार्जीलिङका कथा धेरै लेखिए । दार्जीलिङको योगदान चर्चा गर्नु मेरो यो लेखको लक्ष्य होइन । तर त्यो सानो ठाउँले एक जमानामा पूरै नेपालीभाषीहरूको सांस्कृतिक शक्ति निर्धारण गथ्र्यो । नेपालगन्जका कथा सनत रेग्मी र पछि नयनराज पाण्डेले लेखे । कर्णालीका कथा बुद्धिसागरले लेखे । गौतमहरूले वीरगन्जका कथा लेखे । र पनि नेपाली साहित्यमा भन्न छुटेका आञ्चलिक कथाहरू भने धेरै छन् । २०११ सालको बाढीपछि धेरै पहाडियाहरूलाई बसाइएको चितवनको सुरूका दिनहरूबारे कथा लेखिएन । ती दिनबारे बुझ्न अहिले पनि बजेट वा पञ्चवर्षीय योजनाका पुराना रेकर्ड नै खोल्नुपर्छ । त्यस्तै मुलुकलाई सामन्ती युगबाट अर्धसामन्ती युगमा ल्याउने २०१६ सालको बिर्ता उन्मूलन कार्यक्रम, २०२१ सालको भूमिसुधार कार्यक्रमका गाउँगाउँमा परेका असर पनि साहित्यमा राम्ररी आएका छैनन् । सयौं वर्ष चलेको ल्हासा व्यापार र ल्हासा जाने नेपालीका कथाहरू पनि केही संस्मरणमा बाहेक राम्रोसँग लेखिएका छैनन् । २०३० सालतिर बिस्तारै जुर्मुराउन थालेको नेपालको पर्यटनले काठमाडौंका अलावा पोखरा, चितवन, सोलुखुम्बु क्षेत्र, मुस्ताङ क्षेत्र र हालै लुम्बिनीलाई असर पारेको छ । ४० को दशकमा केही चलचित्रले र्‍याफ्टिङ व्यवसायका कथा लेखे, गाइड भएर काम गर्नेका कथाबाहेक अविस्मरणीय कृतिका रूपमा त्यहाँका आर्थिक परिवर्तन झल्किने गरी साहित्यिक अभिलेख अझै आएका छैनन् । अर्थशास्त्रीहरूको पनि ध्यान त्यतातिर सीमित रूपमा मात्र पुगेको छ ।

महिला साहित्यकारहरूले सुरूमा बढी ध्यान दिएका बुहार्तन, प्रेमका मुद्दा र पछि केन्द्रित भएका इब्सेनको कठपुतलीको घरको नेपाली संस्करणका कथाहरूका अलावा बढ्दै गएको महिलाका आर्थिक भूमिकाबारे लेखेका छन् । विपन्न परिवारका दु:ख पाएका महिलाहरूका कथा धेरै पाइन्छन्, त्यसका अतिरिक्त प्रेमा शाहको पहेंलो गुलाफ, मञ्जु काँचुलीको वाकवाकीमा सम्पन्न परिवारका महिला पात्रहरूको झलक छ । स्व. अङ्गुरबाबा जोशीको अक्षर साधना र गोधुलीले एक महिला सफल पात्रको काठमाडौंमा आधारित कथा भन्छ । तर आजका महिलाहरूको अझै धेरै कथा नयाँ फ्रेमवर्कबाट लेखिन बाँकी छ ।

जति धेरै आञ्चलिक कथा लेखिन्छन, जति धेरै विविध जातजातिका कथा लेखिन्छन्, जति धेरै हुर्कंदै गरेका व्यवसायीहरूका कथा लेखिन्छन्, जति कथा, उपन्यास, कविताका पात्रहरूमा विविधता आउँछन् र जति उनीहरूको आर्थिक अवस्थाको, सङ्घर्ष र सफलताबारे लेखिन्छन्, त्यति नै भविष्यका अर्थशास्त्रीहरूलाई समाज बुझ्न सहयोग हुनेछ ।

त्यसो त सोची ल्याउँदा कहिलेकाहीँ अर्थशास्त्री र साहित्यकारको भेटघाट सधैं सोचे जस्तो राम्रो हुँदैन । विश्वेश्वरप्रसाद कोइरालाको राजनीति मुलुकको अर्थनीतिको वरिपरि घुमेको पनि थियो । उनी बिर्ता उन्मूलनका लागि लडे र आफ्नो सरकार आउनेबित्तिकै त्यही गरे । उनको सामना भने पोएट (कवि) राजासँग भयो, जसले पछि उनलाई ‘पोएटिक जस्टिस’ दिए; सत्ताच्युत गरेर र अदालतको मुखै हेर्न नदिई आठ वर्षसम्म बन्दी बनाएर ।

++

राजनीतिक परिवर्तन देखिने खालका हुन्छन् । तिनका विभिन्न कोणबाट चर्चापरिचर्चा पनि हुन्छन् । तर मुलुकमा राजनीतिकसँगै धेरै आर्थिक र सामाजिक परिवर्तन भएका हुन्छन् । तिनको सम्झना रहिरहोस् भनेर पनि केही यथार्थवादी साहित्यको जरूरत हुन्छ । एउटा फ्रेमवर्क र सिद्धान्तमा बाँधिएर उपलब्ध तथ्याङ्कहरूमा सीमित रहेर हेर्ने अर्थशास्त्रीका आँखाले यावत् मुलुकको विहङ्गम दृश्य देख्न सक्दैन, साहित्यले सक्छ । फ्रेन्च राज्यक्रान्तिबारे कार्लाइलले लेखे तर डिकेन्सको अ टेल अफ टु सिटिजले त्यसलाई राम्रोसँग बुझ्न सहायता गरेको छ ।

नेपालमा आज पनि धेरै नयाँ आर्थिक घटना भइरहेका छन् । २०५० को निजीकरण र आर्थिक उदारीकरणले देशको जीवन फेरेको छ । धेरै मध्यमवर्गीय व्यक्तिहरू निस्केका छन् । तथ्याङ्कहरूले के पनि देखाएका छन् भने गाउँगाउँबाट मानिस सहरमा ओइरिएका छन् । हालैको श्रम शक्ति सर्वेक्षणमा प्रकाशित एक तथ्याङ्कअनुसार गाउँबाट सहरमा ६८ लाख ४२ हजार मानिस आएका थिए भने सहरबाट गाउँमा जम्मा ८४ हजार । गाउँका गाउँ रित्तिएका छन् । यसरी थातथलो छाडेका नेपालीको कथा अझै विभिन्न कोणबाट भनिनु छ ।

एउटा कोणबाट मात्र कथा भन्दा त्यसको असर अर्कै पर्छ । तथ्याङ्कहरू, कथाहरू विभिन्न तरिकाले हेरिनुपर्छ । उदाहरणका लागि नेपाली रिपोर्ट मात्र हेर्‍यौं भने हामी दिनका दिन यत्रा मानिस मरेर बाकसमा आइरहेका छन्; तैपनि किन नेपालीहरू विदेश गएका छन् भन्छौं । अर्थशास्त्री महेश्वर श्रेष्ठको एक अध्ययनअनुसार उनको अध्ययन समूहमा भएका विदेश गएका नेपाली दुई वर्षमा प्रतिएक हजार जनामा १.३ जना मरेका थिए भने यता देशभित्र सोही उमेरसमूहका नेपालीको मृत्युदर दुई वर्षमा प्रतिएक हजारमा ४.६ छ । अर्थात् विदेशमा काम गर्न जाने नेपालीको मृत्युदर नेपालमा बस्ने सोही उमेरसमूहका नेपालीको मृत्युदरभन्दा कम छ । यस तथ्याङ्कभित्र अरु उपकथा पनि छन् । अर्थशास्त्रभन्दा भित्र छिरेर, मिहीन तरिकाले समाजलाई केलाएका बसाइँ जस्ता विभिन्न समुदायका, विभिन्न भेगका कथा हामीले पढ्नै बाँकी छ ।

यस्ता कथाको बजार होला/नहोला भन्ने प्रश्न पनि आउँछ । हालैका दिनमा उत्कृष्ट रूपले लेखे सबै खालका कथाको बजार छ भन्ने देखिएको छ । सरकार पनि यस्ता कलासाहित्य प्रवद्र्धन गर्न हिचकिचाउन हुँदैन । भर्तृहरिले भनेका छन्–

साहित्यसंगीतकलाविहीन: साक्षात्पशु: पुच्छविषाणहीन:, त्रिणं न खादन्नपि जीवमानस्तद्भागधेयं परमं पशुनाम् ।

सरकार चलाउनेहरूमा पनि कहिलेकाहीँ सरकारको प्रमुख दायित्व यस्ता ‘अनुत्पादनशील’ क्षेत्रको प्रवर्धन गर्नु होइन भन्ने मत हुन्छ । यदि सम्झने हो भने केही दशकअघि मात्र सरकारहरूले यस्ता साहित्य तथा अन्य कलाका कुरामा सब्सिडी दिनुहुँदैन भन्ने बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरको मत थियो । र उनले सुरूमा त्यसैले धेरै बजेट फ्रिज गरिदिएकी थिइन् । अर्थशास्त्री जान मेयस्र्कफले सन् १९८८ मा लेखेको इकोनोमिक इम्प्याक्ट अफ आर्ट्स इन ब्रिटेन त्यसैको प्रतिक्रियामा थियो, जसले सांस्कृतिक धरोहरहरूमा लगानी गर्न सरकारलाई त्यसपछि प्रेरित गर्‍यो । हामी थ्याचर जस्तै मुढे हुनुहुँदैन ।

++

देश के हो ? आखिर देश भन्नु, मुलुक भन्नु हाम्रो पुर्खाले देखेको एक सपना हो । नेपाल भन्ने कुरा छामेर छाम्न सकिँदैन । जसले राज्य विस्तार गर्दा जिते, तिनले सायद आफ्ना सन्तान यो मुलुकमा फलून् फुलून् भन्ने सोचेका थिए । जसले त्यो बेला हारे र पराजय स्विकारेर यो मुलुकमा बस्ने निर्णय गरे, तिनले पनि लडिराख्नुभन्दा पराजय स्विकार्नुमै आफ्ना सन्तानको भविष्य देखेका हुँदा हुन् । देश विजेताले मात्र बनाएका होइनन्, कर तिरेर, आँसु पुछेर पराजितले पनि बनाएका हुन् । हामीले कोर्नुपर्ने, भन्नुपर्ने पनि सबैको कथा हो ।

-अर्थशास्त्री पौडेलले कास्कीको सराङकोटमा मंगलबार सुरु भएको नवौं नेपाल लिटरेचर फेस्टिभलमा प्रस्तुत गरेको विद्वत् प्रवचन

प्रकाशित : पुस १४, २०७७ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्

किसानका आँसु

उद्यमीहरू मुलुकलाई सामन्तवादबाट पुँजीवादतिर लैजाने औजार हुन्, तिनलाई नयाँ सामन्त बनेर किसानको पसिना खाने छुट छैन ।
विश्व पौडेल

चिसो मौसममा काठमाडौंमा धर्ना बसेका किसानका दुःख हामीले सहरको आँखाबाट अहिले देखेका छौं तर तिनका दुःख सधैं अनगिन्ती थिए । तिनले उब्जानीको सत्तरी प्रतिशतसम्म कर तिरेको इतिहास छ । सयौं वर्षअघि मुलुक एकीकरणको बोझ पनि गह्रुँगो करमार्फत तिनैले उठाएका हुन् ।

धेरै देशमा किसान यसरी नै पीडामा छन् । तर, तिनलाई समृद्ध बनाउने मुख्य बाटो भने लगभग एउटै छ । प्रविधि (उन्नत बीउ, मल र सिँचाइ) को प्रयोग गरेर कृषि उत्पादन बढाउने, ती उत्पादनलाई दिगो समय टिक्ने बनाउन कृषिमा आधारित उद्योग बनाउने, किसानहरूका बस्तीका छेउछाउ उनीहरूका उत्पादनका लागि दिगो बजार सिर्जना गर्ने । त्यसबाहेक सकेसम्म थोरै मान्छे गाउँमा किसान भएर बसून् भन्ने लक्ष्य राख्ने ताकि कृषिबाट हुने प्रतिव्यक्ति आय बढोस् र यो लक्ष्य हासिल गर्न सहरमा धेरै रोजगारी सिर्जना गरेर गाउँका व्यक्तिलाई सहरमा तान्ने । बेलायत, अमेरिका, पश्चिम युरोप, चीन लगायतकाो विकासको कथा यही हो । अर्थात्, आज काठमाडौंमा रोइरहेका किसानलाई तिनको पैसा तिरेर घर पठाए पनि तिनको दुःखको दीर्घकालीन समाधानका लागि उनीहरूलाई जरुरत पर्दा सहुलियतपूर्ण ऋण र उत्पादनको बजारको व्यवस्था, प्रविधिको व्यापक प्रयोग र अन्ततोगत्वा उद्योगको विकास नगरी हुँदैन ।

समाज परिवर्तन कसरी हुन्छ ? कसरी सयौं–हजारौं वर्षदेखि पछि परेको समुदाय अघि बढ्न सक्छ ? यसका राजनीतिक र सामाजिक पक्षबारे नेपालमा धेरै छलफल हुन्छ । राणा, पञ्चायत वा बहुदलजस्ता शासकीय व्यवस्था नै यसका कारक हुन् कि, हाम्रो जातभातमा आधारित समाज व्यवस्था यसको कारक हो कि जस्ता प्रश्नहरूमा हामीले अधिकांश छलफल केन्द्रित गरेका हुन्छौं । बाहिर हामीले सुन्ने, पत्रिकाहरूमा आउने बहसहरू पनि राजनीतिकेन्द्रित हुन्छन् । राजनीति केन्द्रमा भएकाले यस्तो हुनु अस्वाभाविक पनि हैन, तर भित्रभित्र नेपालमा प्रशासक, अर्थशास्त्री तथा नेताहरूको एक समूहले आर्थिक मुद्दालाई समाज परिवर्तनको कारकका रूपमा लिएको पनि लामो समय भएको छ र उसले गरेका विभिन्न नीतिगत प्रयोगहरूको आयु पनि लामो भएको छ । ती प्रयोगले किसान, साना ऋणीहरूको हकहितमा राम्रो अनुगमन भएमा ग्रामीण सहकारी तथा लघुवित्त कम्पनीहरूले राम्रो योगदान गर्न सक्ने देखाएका छन् ।

वित्तमा किसानको पहुँच बढाउनुपर्छ भन्नुको अर्थ गाउँगाउँमा शाखा खोल्नु र त्यहाँबाट बचत संकलन गर्नु मात्र हैन कि, विपन्न, धितो राख्न नसक्ने, पहिला कसैले ऋण नदिने समूहले ऋण पाउन सकून् भन्ने हो । गएको कात्तिक महिनासम्मको तथ्यांकअनुसार, लगभग अर्थतन्त्रकै जत्तिको आकारको कुल बचत भएका वाणिज्य बैंकहरूमा जम्मा १२ लाख व्यक्तिले ऋण खाता खोलेका छन् । जबकि तिनीहरूको कुल पोर्टफोलिओको पाँच भागको एक भाग पोर्टफोलिओ भएका लघुवित्तहरूमा २८ लाख व्यक्तिका ऋण खाता छन् ।

यसैले गरिबी निवारणमा वाणिज्य बैंकहरूको भन्दा यी साना वित्तीय संस्थाहरूको ठूलो योगदान छ । यसको अर्थ वाणिज्य बैंकहरूको आलोचना गर्नुपर्छ भन्ने हैन । विसं २०३४ मा मात्र पचहत्तरै जिल्लामा पुगेका वाणिज्य बैंकहरूको ऐतिहासिक रूपमै सीमितता छ भन्ने बुझिएको थियो । तिनको मूल्यांकन मुलुकभित्रको वाणिज्य वृद्धि वा उद्योग प्रवर्द्धनमा योगदानलाई प्रमुख मानेर गर्नुपर्छ । सम्भवतः तिनको ध्यान मुलुकका वाणिज्य तथा ठूला उद्योगको प्रवर्द्धनमा हुनु नराम्रो पनि हैन । यसैले एकातिर उनीहरू आफ्नो लक्ष्यमा स्वतन्त्र भएर लागून् तर विपन्नप्रति पनि जिम्मेवारी निर्वाह गरून् भनेर केही निश्चित रकम सरकारले तोकेको क्षेत्रमा लगानी गर्न लगाउन विसं २०३१ मा साना क्षेत्रमा पाँच प्रतिशत ऋण दिनैपर्ने नियम ल्याइयो । एक वा अर्को रूपमा त्यही नीतिको निरन्तरता अहिले पनि देखिन्छ ।

000

विसं २०१० को दशकमा पहाडबाट चितवन झर्नुभएका मेरा बाको सम्झनामा त्यस बेलाको चितवनको उब्जाउ अहिलेको भन्दा लगभग चार गुणा कम थियो । अहिले पनि नेपाली जमिनको उब्जाउ संसारको कमजोरमध्येको एक होला । हामीले प्रविधिको प्रयोग गरेका छैनौं, सिँचाइको अवस्था कमजोर छ, उच्चस्तरका बीउहरू प्रयोग गरिँदैनन् । त्यो बेला त झनै गरिँदैनथ्यो । चितवनको त्यो बेलाको उपलब्धिमध्ये एक सहकारीहरूको स्थापना हुनु थियो । विसं २०१५ मा चितवनबाट सांसद निर्वाचित बखानसिंह गुरुङले त्यसअघि २०१३ चैत २० गते चितवनको शारदानगरमा मुलुकको पहिलो कृषि सहकारी खोलेका थिए, जसको उद्देश्य किसानहरूलाई सजिलोसँग ऋण लिन पाउने अवस्था सिर्जना गर्नु थियो । यिनै सहकारीहरू बिस्तारै सहकारी बैंकमा परिणत भए र विसं २०२४ मा उक्त बैंकलाई कृषि विकास बैंक बनाइयो ।

कृषि नै मुलुकको प्रमुख आयस्रोत भएको र देशभरि किसानैकिसान भएको त्यो बेला मुलुकले लिनुपर्ने उत्तम बाटो के थियो होला ? त्यस बेलाको संसारको सबैभन्दा सफल मोडलमध्ये एक अमेरिकाको टेनेसी भ्याली अथोरिटीले अमेरिकाका पिछडिएका दक्षिणी राज्यहरूमा बनाएका बाँध, सडक र तिनले आकर्षण गरेका उद्योगको कथा थियो । भारतले त्यसैबाट प्रभावित भएर दामोदर भ्याली कर्पोरेसन सुरु गरेको थियो । अमेरिकामा उक्त कार्यक्रमको असर निकै राम्रो परेको थियो । उदाहरणका लागि, कार्यक्रम सुरु हुनुअघि लगभग पचासी प्रतिशत जनता कृषिमा आश्रित रहेका उक्त ठाउँमा कार्यक्रमपछि बीस प्रतिशतभन्दा कम जनता कृषिमा आश्रित भए ।

टेनेसी भ्याली अथोरिटीले सिकाएको मुख्य शिक्षा के थियो ? किसानलाई सिँचाइ, बीउ र उद्योगलाई सस्तो बिजुली दिएमा उत्पादन बढी गर्छन्; उद्योगले ती उत्पादन किनिदिन्छन् र यसरी सिर्जित सिनर्जीले उद्योगको नाफा बढ्दै जान्छ; मान्छेहरूलाई ती उद्योगमा रोजगारी सिर्जना हुन्छ र कृषिमा लाग्ने मान्छे कम हुँदै जान्छन् तर उन्नत प्रविधिको प्रयोगले कृषिको कुल उत्पादन भने बढ्दै जान्छ । विसं १९९४ देखि विसं २०३० सम्मै आफू नीति–निर्माता भएर सोच्ने हो भने तपाईंले पाउने सबैभन्दा महत्त्वपूर्ण विकासको गाइडलाइन त्यही हुन्थ्यो ।

चितवनको राप्ती दून आयोजनाको अझै धेरै अध्ययन र विश्लेषण भएको पाइँदैन तर त्यसको एकीकृत विकास योजना अहिले पनि सिक्नलायक छ । पहिलो, किसानलाई जग्गा हुनुपर्छ, पानी नजम्ने तर खेतीपाती हुने कुलोकुलेसो हुनुपर्छ, कल्भर्टहरू हुनुपर्छ भन्ने सोचाइ थियो । दोस्रो, बीउबिजनका लागि किसानलाई ऋण चाहिन सक्छ, त्यो उपलब्ध हुनुपर्छ भन्ने थियो । तेस्रो, अमलेखगन्जसम्म आइपुगेको रेललाई अलिकति यता तान्यो भने पूर्वी चितवनसम्म जोड्न सकिन्छ । त्यसमा भरतपुरदेखि हेटौंडा जोड्ने ७८ किलोमिटरको सडक बनाएर खेतीयोग्य गाउँलाई हेटौंडा, काठमाडौं, वीरगन्ज र भारतसँग जोड्न सकिन्छ भन्ने थियो । चौथो, कृषिमा आधारित उद्योग खोल्न सकियोस् भनेर एकातिर त्रिशूली देवीघाटबाट बिजुली बनाएर चितवन ल्याउने योजना थियो भने, अर्कातिर चितवनमा ठूलठूला जग्गाको प्लटचाहिँ उद्योग गर्छु भन्नेलाई मात्र दिने योजना थियो । सबै कुरा योजनाअनुसार भएनन्, कहिल्यै कुनै उद्योग चलाउने योजना नभएकाहरूले त्यहाँ ठूलठूला जग्गाका प्लट ओगटे र सम्भवतः उहिल्यै सरकार लाग्नुपर्ने ती जग्गा अहिलेसम्म तिनका सन्तानले बेचेर खाँदै छन् । र पनि अन्य कतिपय कुरा अघि बढे । रामपुरमा कृषि क्याम्पस खुल्यो, जसले कृषकहरूलाई प्राविधिक सहयोग गर्ने र प्रविधिप्रति जागरुक हुने वातावरण बनायो । अहिले पनि चितवन विभिन्न कृषि तथा कृषिमा आधारित उद्योग र पर्यटनको भरमा चलिरहेको छ ।

000

सात सालपछिका विकास योजनाहरूमा किसानलाई मतलब नगरेको भए के हुन्थ्यो ? लामो समयसम्म किसान जति दबाए पनि चुपचाप सहने वर्ग नै थियो । मुलुकभित्र नेपाली कांग्रेसको भूमिका मुद्दामा आधारित आन्दोलनलगायत भीमदत्त पन्त र केआई सिंहहरूको विद्रोह र मुलुकबाहिरका विभिन्न परिस्थितिले किसानलाई उपेक्षित राख्दा त्यसको मूल्य तिर्नुपर्दैन भन्ने भावना विसं २०१० तिर आउँदा फेरियो । उदाहरणका लागि, छिमेकी चीनमा पहिले मंगोलहरूको शासन किसानहरूले विद्रोह गरेपछि मिङ वंशको उदयसँगै फेरिएको थियो र माओले पनि किसानको नेतृत्वमा शासन परिवर्तन गराएका थिए । किसानहरू क्रान्तिका माध्यम हुन सक्छन् भन्ने उदाहरण उत्तरमा आइसकेको थियो ।

तर कर उठाउने क्षमता नभएको त्यस बेलाको कमजोर सरकारले के गर्न सक्थ्यो ? एक अर्थमा सामन्ती युगको नेपाल भन्नु नै माथि ठूला जमिनदार र तल साना जमिनदार भएर चलाइएको कमजोर व्यवस्था न थियो ! त्यो बेलासम्म किसानलाई कर लगाएर सरकारी जागिरे र जमिनदार पोस्ने चलन थियो भने, अब त्यसको ठ्याक्क उल्टो किसानलाई समृद्ध बनाएर अघि बढ्न गैरकिसानलाई कर लगाएर किसानका आयोजनामा लगानी गर्नुपर्ने हुन्थ्यो । त्यो क्षमता सरकारमा थिएन । ढल्ने बेला राणा सरकार नै कमजोर भैसकेको थियो । सुवर्णशमशेरका त्यस बेलाका केही वक्तव्यमा राणा शासनको जर्जर चरित्रलाई लिएर १०५ वर्षको राणा शासनलाई १०५ दिनको आन्दोलनले ढाल्यौं भनेर व्यंग्य गरिएको पनि पाइन्छ ।

यसैले किसानका ऋणका स्रोत, किसानका सुखदुःखका साथी अर्का किसान र गाउँले साहुकार नै हुन् तथा गाउँमा आधारित सहकारीहरूले नै गाउँलेलाई औपचारिक रूपमा वित्तमा पहुँच दिन सक्छन् भन्ने सोचाइ विकास भएको थियो । विसं २०२१ को भूमिसुधार कार्यक्रम सुरु गर्दाताका नीति–निर्माताहरूलाई कृषकको बचत परिचालित गर्नु र उनीहरूलाई जोखिममा साझेदारी गराउन लगाउनुको उपादेयता थाहा थियो । यसैले त्यस बेला अनिवार्य बचत सुरु गरिएको थियो, जसलाई विसं २०३३ मा साझा सहकारी संस्थाको बीउपुँजीका रूपमा प्रयोग गरियो । साझा अन्ततोगत्वा असफल प्रयोग सिद्ध भयो । तर यसको असफलताका पछाडि व्यवस्थापनको कमजोरी थियो, अन्तर्निहित आर्थिक सिद्धान्त थिएन । किसानलाई ऋण लिने ठाउँ चाहिन्छ र यसका लागि बचत र ऋण परिचालन गर्ने छुट्टै विशिष्ट संस्था चाहिन्छ भन्ने सोचाइ भने रहिरह्यो ।

धनुषा र नुवाकोटमा विसं २०३२ मा सुरु गरिएको साना किसान विकास आयोजना, विसं २०३९ मा सरकारले धितोमा भन्दा आयोजनामा आधारित भएर ऋण दिन सुरु गरेको सघन बैंकिङ कार्यक्रम तथा अगुवा बैंकहरूको अनुभवले विसं २०४६ मा आइपुग्दा हामीलाई ग्रामीण किसानहरूलाई लक्षित छुट्टै बैंक चाहिन्छन् भन्ने महसुस भैसकेको थियो । ग्रामीण स्वावलम्बन कोषको प्रयोग गरेर ग्रामीण विकास बैंकहरू सबै विकास क्षेत्रमा खोल्ने काम बहुदलपछि सुरु गरियो । आज लघुवित्त संस्थाका शाखाहरू द्रुत गतिमा खुलेका छन् अनि वाणिज्य बैंक र लघुवित्त कम्पनीका शाखाहरू बराबरजस्तो छन् भने, माथि भनेझैं लघुवित्त कम्पनीहरूले वाणिज्य बैंकले भन्दा दुई गुणा बढी ऋणीलाई ऋण दिएका छन् । गएको महिना वाणिज्य बैंकका प्रमुख कार्यकारीहरूको एक सानो रिट्रिटमा त्यसैले एक प्रमुख कार्यकारी अधिकृतले यस लेखकलाई भनेका थिए, ‘अब राजनीति गर्न गाउँमा धेरै भिजेकाले लघुवित्तका सीईओहरूलाई अरूलाई भन्दा सजिलो हुन्छ ।’

000

किसान ऋण लिन इच्छुक हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न पनि छ । सम्भवतः ऋणको कहर बुझेका किसानहरू जग्गा धितोमा राखेर ऋण लिन त्यति इच्छुक हुँदैनथे र जग्गाबाहेक उनीहरूसँग अर्को सम्पत्ति पनि हुन्नथ्यो । चर्का सुदखोरले गर्दा नै किसान गह्रुँगो ऋणको भारी बोक्दै विदेश पसेका हुन्थे । भीमबहादुर पाँडे र महेशचन्द्र रेग्मीको ग्रामीण साहुकारहरूप्रतिको लेखाइ हेरौं । पाँडेको ‘त्यस बखतको नेपाल’ मा ग्रामीण साहुकार र सुदखोरहरूप्रति रोष छ । रेग्मी भने सबैभन्दा गल्ती केन्द्रीय सरकार र त्यहाँ बसेर तिर्जा तथा पोत तोक्ने व्यक्तिको देख्छन् । जति नै चर्को ब्याज तिर्नुपरे पनि गाउँको साहुकार गाउँलेको सुखदुःखमा सँगै हुन्थ्यो, पर्दा बैंकको भूमिका निर्वाह गर्थ्यो । काठमाडौंका काजी वा अन्य जागिरे त किसानका निम्ति ऋण माग्न जाने ठाउँ पनि थिएनन् ।

आज पनि ग्रामीण जनतालाई पासोमा पार्ने सुदखोरहरूको चर्चा पत्रिकाहरूमा हुन्छ तर स्थिति सम्भवतः पहिलेजस्तो छैन । यदि वित्तीय संस्थाहरूलाई ऋण दिने जिम्मेवार निकायका रूपमा प्रयोग गरियो भने किसानलाई सुदखोरहरूको पन्जामा पर्नबाट जोगाउन सकिन्छ भने, ग्रामीण सुदखोरहरूलाई पनि औपचारिक माध्यममा बचत गरेर जिम्मेवार लगानीकर्ता बन्न प्रोत्साहन गर्न सकिन्छ । तर सरकारको ध्येय कसरी किसानलाई साधारण लिने व्यक्तिबाट उद्यमी बनाउने भन्नेमा पनि जानुपर्छ । यो भनेको किसानलाई प्रविधिमैत्री बनाउने अनि बजारसँग र कृषिमा आधारित उद्योगहरूसँग जोड्ने कार्य नै हो । उद्यमीहरूसँग उखु किसानहरूको सम्बन्ध बिग्रनु त्यसैले खराब खबर हो । कृषिमा आधारित उद्योगका उद्यमीका समस्या बुझ्ने र तिनलाई जिम्मेवार बन्न प्रेरित गर्ने जिम्मेवारी सरकारको पनि हो । यहाँ उद्यमीहरूलाई खलनायकका रूपमा हेर्नुपर्ने बातावरण बन्न सकेसम्म दिनु हुन्नथ्यो ।

उद्यमीहरूसँगको उखु किसानहरूको विवादलाई दुई कारणले गम्भीर रूपमा हेर्नुपर्छ । एक त, यदि उद्योगहरूले चिनी बेचेर आएको पैसा जानीजानी अर्कातिर लगेका छन् भने किसानको उत्थानका लागि कृषिमा आधारित उद्योगको उत्थान हुनुपर्छ भन्ने सोचाइलाई यसले कमजोर बनाउँछ । उद्यमीहरू मुलुकलाई सामन्तवादबाट पुँजीवादतिर लैजाने औजार हुन्, तिनलाई नयाँ सामन्त बनेर किसानको पसिना खाने छुट छैन । अर्को, किसानको प्रगतिका लागि हामी अरू धेरै व्यक्तिले कृषिमा आधारित उद्योग खोलून् भन्ने चाहन्छौं । यो निरन्तरको विवादले कृषिमा आधारित उद्योगको भविष्य छैन भन्ने देखाउँछ जुन राम्रो कुरा हैन ।

उद्योग सञ्चालकका रूपमा सरकारकै पनि राम्रो रेकर्ड छैन । सरकारले सुरु गरेको वीरगन्ज चिनी कारखाना बन्द छ र लुम्बिनी चिनी कारखाना घाटामा गएकाले दुई वर्षदेखि उखु क्रसिङ नगरेको भन्ने सरकारी रेकर्डले जनाउँछ । सरकारी सुविधासहित चलेका उद्योग त बन्द छन् भने, निजी उद्योग चल्न सक्छन् ? के निजी उद्योगहरूका साँच्चै समस्या छन् जसलाई सरकारले समाधान गर्नुपर्ने भए पनि गरेको छैन ? यसमा सरकारको गम्भीर ध्यान जानुपर्छ ।

000

अबको नेपालले किसानहरूका लागि लिने नीति सर्वांगीण हुनुपर्छ । वित्त, बजार र उद्यमसँग किसानलाई जोड्ने कुरा माथि उल्लेख गरिसकियो । त्यसबाहेक किसानका घरहरू पनि अब आधुनिकीकरण गरिनुपर्छ । सम्भवतः यसका लागि भारत र चीनको गएको केही दशकको अनुभव अति उपयोगी हुन्छ । गतिलो चर्पी भयो भने रोगव्याधि कम हुन्छ, गतिलो भान्साघरले महिलाहरूलाई घरभित्रको धूवाँले ल्याउने रोगबाट बचाउँछ र तिनले छोराछोरीका स्याहारसुसारमा समय बिताउन पाउँछन् । यसरी भविष्यका नेपाली बलिया पाखुरा र दिमाग भएका निस्कनेछन् ।

विसं २०४० को दशकमा गरिएको एउटा नीतिगत परीक्षण सम्झनायोग्य छ । ग्रामीण ऊर्जाको समस्या समाधान गर्न र कतिपय स्वास्थ्य समस्यालाई सम्बोधन गर्न चीन लगायतमा सफल भएको गोबर ग्यास नेपाली गाउँलेले प्रयोग गर्न सकून् भनेर त्यसमा अनुदान दिइएको थियो । यसले नेपाली किसानहरूका भान्साको प्रकृति नै फेरिएको थियो । बिजुली तथा धूवाँरहित चुलोहरू धेरै किसानकहाँ पुगेका थिए ।

आज पनि किसानहरूका घरघरमा कपडा धुने मेसिन र फ्रिज होऊन्, कृषिमा प्रयोग गरिने बीउ र मलका लागि पैसाको कमी नहोस्, सकेसम्म मेसिनमा आधारित कृषिको विकास होस् भनी चाहने हो भने ‘गोबर ग्यास’ मोडलको उपयोगिता देखिन्छ । कृषि विकास बैंकबाट दिइएको गोबर ग्यास ऋणले किसानका घरहरूको संरचना परिवर्तन गरेको थियो । अब किसानलाई घरघरमै गएर वा सामुदायिक तहमा गएर पशु बिमा, खेती बिमा गर्न सिकाउने र प्रोत्साहित गर्ने, कपडा धुने मेसिन र फ्रिजहरू किन्न सहयोग गर्ने डेडिकेटेड बैंक तथा वित्तीय संस्थाहरू चाहिएका छन् ।

कृषि विकास बैंक स्थापना भएको केही वर्षमै संसारमा पेट्रोलियम संकट भएको थियो र अन्नको भाउ बढेको थियो । नेपालले त्यस बेला अन्न बेचेर पनि विदेशी मुद्रा कमाउन सकिन्छ र यस्ता संकट थाम्न केही सजिलो हुन्छ भन्ने थाहा पायो । किसानमा ऋण लैजाऔं भन्ने जोसले सुरुमा कृषि विकास बैंकले राम्रै नतिजा देखायो । उदाहरणका लागि, कृषि विकास बैंकले प्रवाह गरेको ऋण विसं २०३१ मा ७ करोड ६५ लाख थियो भने २०३२ सालमा १८ करोड रुपैयाँ । आज कृषि विकास बैंक गैरकृषि ऋणमा गएको कुराको आलोचना भएको छ, जुन सही हो । हामीलाई कृषिमा डेडिकेटेड भएर नै लाग्ने थुप्रै निकाय चाहिएका छन्, जसले सानातिना ऋणहरू हाम्रा जनतालाई दिऊन् र साथसाथै तिनलाई उत्पादनशील पनि बनाऊन् । यो नै भविष्यको बाटो हो ।

प्रकाशित : पुस ६, २०७७ ०९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×