१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

समाज परिवर्तनका लागि 'ऐना'

'समाजमा व्याप्त वर्गीय विभेद, लैङ्गिक विभेदका विषय मूलधारका मिडियामा आउनुपर्छ । त्यसले समाज रुपान्तरणको काम गर्नुपर्छ भनेर हामीले ऐनाको कन्सेप्ट तयार पारेका हौं ।'
रीना मोक्तान

काठमाडौँ — केही वर्षअगाडि भारत पुग्दा आमिर खान प्रस्तोता रहेको कार्यक्रम 'सत्यमेव जयते'को टिमसँग समय बिताउन पाए राधाकृष्ण धितालले । कार्यक्रमले आम जनतासँग सामाजिक विषयवस्तुबारे अन्तरक्रिया गर्ने र ती मुद्दालाई दर्शकसम्म पुर्‍याउने काम गर्थ्‍यो । भ्रुण हत्यासम्बन्धीको एक श्रृङ्खलाले त भारतमा संविधान संशोधन गर्नेसम्मको दबाब सिर्जना गर्‍यो । त्यसपछि नै राधाकृष्णको दिमागमा यस्तै विषयवस्तुमाथि नेपाली कार्यक्रम बनाउने कन्सेप्ट आयो ।

समाज परिवर्तनका लागि 'ऐना'

उक्त कन्सेप्टलाई परिमार्जन गर्दै पुन: रुपमा नेपालीकरण गरे । 'ऐना' त्यही परिमार्जित स्वरुप हो । डेढ वर्ष भयो राधाकृष्णको टिमले यो कार्यक्रमका लागि काम सुरु गरेको । 'समाज नै परिवर्तन गर्छु भन्ने त होइन तर समाज परिवर्तनका लागि मानिसलाई उद्दत गर्ने कार्यक्रम हो यो । मानिसको प्रवृति परिवर्तन भएपछि नै मानिसको स्थितिमा परिवर्तन हुन्छ । त्यसैले मानिसको प्रवृति, सोच, हेर्ने दृष्टिकोण फरक होस् भन्ने तरिकाले कार्यक्रम ल्याउने सोचेका हौं,' 'ऐना'बारे राधाकृष्णले भने।

हालै कार्यक्रमको शीर्ष गीत सार्वजनिक भयो । श्रवण मुकारुङको शब्द तथा मोहित मुनालको संगीतमा गायक सुगम पोखरेलको आवाज रहेको शीर्ष गीतले सकारात्मक प्रतिक्रिया बटुलेको बताउँछन् 'ऐना'का प्रोजेक्ट हेड धिताल । अप्रत्याशित रुपमा सेलेब्रिटीदेखि विभिन्न क्षेत्रका व्यक्तिले दिएको प्रतिक्रियाले हौसला मिलेको उनी बताउँछन् ।

पछिल्लो समय मूलधारका मिडियामा समाजका सुक्ष्म विषय प्राथमिकतामा नपरेको उनको भनाइ छ । मानिसले हेर्न खोजेका सामाजिक विषयवस्तु सामान्य समाचारमै सीमित भए । ती विषय मूलधारे मिडियाको प्राथमिकतामा नपरेको विश्लेषणपछि नै 'ऐना'को सुरुवात भएको उनको दाबी छ ।

समाजमा भएको एउटा यस्तो जमात, जसलाई देश जतिसुकै समृद्धिमा गए पनि, राजनैतिक व्यवस्था जतिसुकै परिवर्तन भए पनि फरक पर्दैन । ती मानिसका जीवनशैली उस्तै छन् । समाजमा वर्गीय विभेद उस्तै छन्, लैङ्गिक विभेद उस्तै छन् । 'समाजका यस्तै सुक्ष्म विषय मूलधारका मिडियामा आउनुपर्छ । त्यसले समाज रुपान्तरणको काम गर्नुपर्छ भनेर हामीले ऐनाको कन्सेप्ट तयार पारेका हौं,' धिताल सुनाउँछन्, 'यी विषयवस्तु नेपाली दर्शकले हेर्नुपर्छ । बाल बलात्कारका मुद्दा होस्, या त दाइजोका विषय हुन् । जातीय विभेदका विषय हुन् या मानसिक स्वास्थ्यका कुरा, मजदुरका सुरक्षाका कुराहरु ठूलो प्लेटफर्ममा देखायौं भने हेर्ने रहेछन् भन्ने भयो हामीलाई ।'

पछिल्लो समय दर्शकमा रियालिटी सो निकै चर्चित बन्दै गएको छ । धितालले रियालिटी सोकै शैलीमा कार्यक्रम तयार पारेका छन् । उनका अनुसार सोमा प्रभावित व्यक्तिलाई पनि सहभागी गराइनेछ र सरोकारवालालाई पनि । 'विभिन्न मुद्दामा वकालत गर्ने वातावरण बनाउनेछ कार्यक्रमले,' धिताले भने,'ऐना भनेको टेलिभिजन कार्यक्रममा पीडितलाई ल्याउने अन्तरवार्ता लिने र रुवाउने मात्र होइन । यो एउटा सामाजिक अभियानकै रुपमा हामीले विकास गर्न खोजेका छौं ।' उनले भने,'जब हाम्रो कार्यक्रम सकिन्छ त्यो नै अन्त्य भने होइन । त्यहाँबाट अभियानको सुरु हुन्छ भन्ने तरिकाले हामी आउँदैछौं ।'

विभिन्न घटना, दुर्घटनाबाट प्रभावित मानिसका लागि राष्ट्रबाट केही हुन सकोस् भनेर अभियानको रुपमा कार्यक्रमलाई वर्षौंसम्म लैजाने उनको टिमको योजना छ । डेढ वर्षको अवधिमा प्रकाश लामिछानेको नेतृत्वले विषयवस्तुको अनुसन्धान सक्यो । टिमले ७० जिल्लामा गएर विविध विषयवस्तु खोज्ने काम गर्‍यो । धितालका अनुसार अनुसन्धान टिमले ल्याएको विषयवस्तुमध्येबाट २६ विषयमाथि कार्यक्रम तयार गरिनेछ । अहिले ८ श्रृङ्खलाको पोस्ट प्रोडक्सनको काम भइरहेको उनी बताउँछन् । '१३ गतेबाट हामी स्टुडियो सुटमा जान्छौं अनि माघ ७ बाट प्रसारण गर्छौं । ती कार्यक्रम सँगसँगै अन्य ८ श्रृङ्खलाको सुटमा गइहाल्छौं,' उनले भने ।

नजरअन्दाज गरिदिएका विषयवस्तुदेखि मानिसले भोग्दै आएका र जीवनशैली बनाउँदै आएका विषय कार्यक्रममा समेटिनेछन् । मानवीय सम्वेदनाका विषयलाई संवेदनशील र सूक्ष्म अध्ययन, अनुसन्धान र विश्लेषण गरेर यो कार्यक्रममा प्रस्तुत गर्ने धितालले बताए ।

खासमा उनको टिमले गत जेठदेखि नै कार्यक्रम प्रसारण गर्ने सोचेका थिए । तर, कोभिडका कारण कार्यक्रमको मिति पनि पछाडि धकेलियो । कार्यक्रमलाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चालन गर्नेछन् । आमिर खानजस्तै पात्र भेटिएन, राजनीतिज्ञ नै किन प्रस्तोतामा छानियो ? प्रश्न गर्दा उनले भने,'हामीले धेरै प्रकारका मानिससँग कुरा गर्‍यौं । चलचित्र, गायन क्षेत्रका मानिसहरुसँग कुरा गर्‍यौं । आमिर खानले जुन खालको स्टारडम बोक्नु हुन्थ्यो सायद नेपालमा त्यो तहको स्टारडम नभएको हो कि हामीले कोही भेटेनौं ।'

'ऐना'ले समेट्ने समाजका सुक्ष्म विषयवस्तुलाई बुझ्ने र अनुभव गर्ने व्यक्तिको खोजिकै क्रममा विश्व प्रकाश आफूहरुको नजरमा परेको धितालको भनाइ छ । विश्वप्रकाश प्रस्ट वक्ता हुन् । उनको प्रस्तुतिमा मिठास छ । २०५१/५२ तिर घटना र विचार भन्ने कार्यक्रमका सम्पादकसमेत थिए उनी । उनले मिडिया पनि बुझेका कारण प्रस्तोतामा फाइनल गरिएको धिताल बताउँछन् । 'मिडिया बुझेको र हामीले खोजेजस्तो फ्यान फलोइङ भएका कारण पनि उहाँलाई छान्यौं । फरक विधाबाट मानिस रोजेर जोखिम मोल्यौं हामीले,' उनी सुनाउँछन्,'कार्यक्रममा उहाँलाई शुद्ध प्रस्तोताका रुपमा हामीले चिनाउन खोजेका छौं । उहाँ राजनीतिज्ञ मात्र होइनन् लेखक पनि हुन् । कवि पनि हुन् । गीतकार पनि हुनुहुन्छ ।'

विषयवस्तुको प्रभाव धेरै भयो भने व्यक्तिको प्रभाव कम हुन्छ । नयाँ पुस्ताले विश्व प्रकाश भन्नेबित्तिकै राजनीतिज्ञ हो भनेर फ्याट्ट भन्न सक्दैनन् । 'ऐना' उनका लागि अर्को एउटा परिचय बन्न सक्ने बताएपछि प्रस्तोताका रुपमा विश्वप्रकाश कन्भिन्स भए ।
राजनीतिज्ञलाई राजनीति गर्न नदिएर किन कार्यक्रम प्रस्तोता बनाइयो ?' धेरैले धिताललाई सोधेको प्रश्न हो यो । उनी भन्छन्,'उहाँले राजनीति गर्न नपाउने होइन भरपुर गर्न पाउनुहुन्छ ।

स्टुडियोमा प्रस्तोताको भूमिका निभाइदिने हो उहाँले । सुटलगायतको दिनमा त आफ्नो कार्यक्रम गर्न पाउनुहुन्छ ।'
कार्यक्रममा सम्बन्धित विषयसँग सरोकार राख्नेहरु, विज्ञ, अधिकारकर्मीलगायत १ सय दर्शक सहभागिता गराउने तयारी छ । सुरुवातका श्रृङ्खलामा कोभिड-१९ को मापदण्ड अपनाएरै सीमित दर्शक राखेर कार्यक्रम प्रशारण गरिने बताउँछन् धिताल । उनी कार्यक्रम प्रभावकारी बन्नेमा आशावादी छन् । 'प्रभावकारी नहोला भन्ने सोचेकै छैनौं । हामीले धेरै मिहनेत गरेर विषयवस्तु बनाएका छौं । अब दर्शकले मन पराउने नपराउने उहाँहरुकै हातमा छ ।'

कान्तिपुर टेलिभिजनबाट प्रसारणमा आउने कार्यक्रमको नारा हो, 'ऐना' समयको यथार्थ तस्बिर । ऐनाले सत्य बोल्छ । समाजको यथार्थ तस्बिर देखाउने भएकाले कार्यक्रमको नाम ऐना राखिएको हो ।

'धुलो फोहोर अनुहारमा लागेको छ भने ऐना पुछेर हुँदैन भन्ने भनाइ छ । हामी अहिले ऐना पुछिरहेका छौं,' धिताल बताउँछन्,'ऐनामा एक चोटी अनुहार हेरौं । अनुहारमा धुलो छ भने पहिले अनुहार सफा गरौं अनि मात्र अनुहार हेरौं भन्ने सन्देश हो कार्यक्रमको । वास्तवमा हामीले गरेको कुरा आफैले आफैलाई ऐनामा हेर्‍यौं भने हामीले आफ्नो विश्लेषण, आत्मालोचना गर्ने ठाउँ दुरुस्त देखिन्छ ।'

प्रकाशित : पुस १३, २०७७ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?