सिनेमाको बौद्धिक चिन्तन

सिनेमाले संस्कृतिको तरलतालाई दस्तावेजीकरण गर्दै भविष्यका लागि वर्तमानमा सिर्जना गरिएको स्थिर र गति दुवै चित्र जगेर्ना गर्छ ।
सचिन घिमिरे

कोरोनाको कालो बादलले नेपाली सिनेजगत् ढपक्कै भएको समय लेखक मनोज पण्डितले पुस्तक निकालेका छन्– ‘सिनेमा मन्थन’ । यो पुस्तक एक सिनेफिलिकले सिनेमासँगको प्रेममा रचेको बौद्धिक प्रेमपत्रजस्तै लाग्छ ।

सिनेमाको बौद्धिक चिन्तन

सिनेमामा प्रयोग हुने दर्शनको तत्त्वमीमांसाको व्याख्या गर्दै पुस्तकमा पण्डित लेख्छन्, ‘जीवन बुझ्न कथा बुझ्नुपर्दछ र कथा बुझ्न जीवन बुझ्नुपर्छ । जीवन र कथाको यही अन्तरसम्बन्धबाट नै सिनेमाको कथा जन्मिन्छ ।’ मलाई लाग्छ– मानिसको जीवनलाई सिनेमाको कथामा प्रभावकारी तरिकाले रूपान्तरण गर्न सिनेमाका दिग्दर्शक (दर्शनको ज्ञान भएका निर्देशक) हरूमा निहित सिनेमासम्बन्धी ज्ञान, सौन्दर्यशास्त्र र कलात्मक चेतको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ ।

सिनेमाका पात्रहरू कसरी जन्मिन्छन् ? सिनेमा निर्देशकसमेत रहेका पण्डितको मत छ, ‘असामान्य परिस्थितिले नै सामान्य मानिसलाई असामान्य पात्र बनाउँछ । कारण असामान्यता आधारभूत तहमा क्रियाशीलताको परिणाम हो र क्रियाशीलता सोचको परिणाम ।’ मेरो विचारमा निष्क्रियभन्दा सक्रिय क्रियाशीलता र उद्देश्यकेन्द्रित संघर्षशील उल्झनहरूले मात्र सामान्य मानिसलाई असामान्यतातिर धकेल्छ । यद्यपि, सिनेमाका कथाहरूमा उद्देश्यविहीन पात्रहरू पनि परिस्थितिको जटिलतामा फस्दै गएर अन्य अस्तित्वहरूसँगको उल्झनमा जीवनको लक्ष्य हासिल गरेको पनि देखाइन्छ । यस सन्दर्भमा लेखकले सुझाउन खोजेको क्रियाशीलता मूलतः दिग्दर्शक (निर्देशक) कै सोचको क्रियाशीलता हो भन्ने अर्थ लाग्छ । त्यसको अर्थपूर्ण रुझानहरूले असामान्य परिस्थितिको बाटो गरेर पात्रले गर्ने संघर्षशील यात्राको कारण सामान्य मानिस सिनेमाको कथाभित्र असामान्य पात्रको भूमिकामा प्रस्तुत हुन पुग्छ ।

लेखकको बुझाइमा जीवनको अवरोधले कुण्ठित मानिसका चाहना पूरा गर्न नै कथाको परिकल्पना गरिन्छ । यो अवधारणामा अर्को आयाम थपेर भन्नुपर्दा कुनै पनि पात्र आफैंमा सिनेमाको दिग्दर्शकको देखाइ र भोगाइको अभिव्यक्ति, उसमा निहित प्रगतिशील, यथास्थितिवादी वा पिछलग्गू सोच, गर्व र कुण्ठा, उच्चताभास र लघुताभासजस्ता अनुभूतिहरूको सम्मिश्रण मिलेर तयार भएको हुन्छ । तसर्थ, यस सन्दर्भमा लेखकले व्याख्या गरेको पात्रको चाहना र विश्वासजस्ता आयामलाई सर्जक बाँचेको समयको अनुभूति, विचार र उसमा निहित सौन्दर्यचेतले प्रभावित बनाउँछ ।

पण्डित लेख्छन्, ‘पात्रभित्र अन्तरनिहित सकारात्मक र नकारात्मक गुणहरूको कारण पात्र आफैंमा द्वन्द्वात्मक हुन्छ । फलस्वरूप कथामा अनिश्चितता र जटिलता सिर्जना हुन्छ । जटिलता त्यस्तो अवस्थाहरूको संयोजन हो, जहाँ जीवनका मूलतत्त्व एकआपसमा टकरावको उच्चतम विन्दुमा पुग्छ । द्वन्द्वले नै पात्रको अस्तित्व सम्भव तुल्याउँछ र कथालाई आवश्यक परिस्थितिजन्य जटिलताहरूको शृंखला निर्माण गर्छ ।’ लेखकले आफ्नो पुस्तकमा अर्थ्याएका पात्रको द्वन्द्वात्मक जटिलताको सामाजिक, आर्थिक, सांस्कृतिक, भावनात्मकजस्ता अनगिन्ती आयाम हुन्छन् । पात्रको जीवनमा आउने हरेक प्रकारको मनोवैज्ञानिक जटिलताको सामाजिक निर्धारकहरू हुन्छन् । मानिसको जीवनमा व्याप्त असन्तुष्टि, बेखुसी, गरिबी, अशिक्षा, भोकमरी, युद्ध, त्रासदी तथा महामारीजस्ता जटिलताले पात्रको मनोवैज्ञानिक पाटोमा गहिरो असर पार्ने हुनाले जटिलता अवश्य पनि एकांकी नभईकन बहुआयामिक र द्वन्द्वात्मक हुन्छ ।

यस परिस्थितिमा समाजमा बेथितिहरूलाई सिनेमाको कथामा उतार्नका लागि सिनेमाका दिग्दर्शकहरूमा निहित सामाजिक संवेदनशीलताको पाटोले अहम् भूमिका खेल्छ । यही सन्दर्भलाई थप प्रस्ट्याउँदै पण्डित लेख्छन्, ‘चुनौती स्वीकार गर्दै अनिश्चतताको मार्गमा पात्रलाई हिँडाउँदा आउने अनिश्चित अवरोधहरूको कारणले कथालाई जटिलता उपलब्ध गराउँछ ।’ लेखकले भन्न खोजेको त्यस किसिमका जटिलता एकरेखीय मात्र नभई बहुरेखीय र तहगत हुन्छन् । कथामा उपलब्ध हुने बहुरेखीय तहगत जटिलता नै सिनेमाका मेरुदण्ड हुन्, जसले सिनेमालाई एकपछि अर्को घटनाको बहावमा लगेर सिनेमारूपी श्रव्यदृश्य रूपको परिकल्पना सम्भव गराउँछ । सिनेमामा पात्रहरूबीच मात्र द्वन्द्व हुँदैन, संवेदनशील सिनेमा निर्माणको क्रममा कथाले बोकेको विषयवस्तु दबाउन चाहने र देखाउन चाहने दुई फरक ध्रुवहरूको बीचमा पनि द्वन्द्व हुन्छ । यसका लागि दिग्दर्शकमा चुनौती मोल्न सक्ने साहस हुनुपर्छ । एक सर्जक पनि सिनेमा निर्माणको क्रममा आफूले सिर्जना गरेको पात्रमार्फत आफ्नो अस्तित्व प्रमाणित गर्न संघर्ष गरिरहेको हुन्छ ।

सर्जकले आत्मगत र वस्तुगत दुवै रूपका द्वन्द्वहरूसँग संघर्ष गरेर नै एक सजीव पात्र जन्म दिन्छ । पुस्तकमा पण्डितले गरेको दृश्यहरूको ज्ञान–मीमांसाका अनुसार, सिनेमाका दृश्यहरूको संयोजन केवल दृश्यहरू जोड्ने नभई अर्थहरूको उत्पादन प्रक्रिया हो । दृश्य सृजनाको दौरान कस्तो अर्थसँग सम्बन्धित गरिन्छ, पात्रको संघर्ष कस्तो अर्थ प्राप्तिका लागि भइरहेछजस्ता पाटाहरूको अर्थ खोजेर नै सिनेमाका दृश्यहरूको सिर्जना हुन्छ । दृश्यमा पृष्ठभूमि, भूगोल तथा समय हुन्छ अनि यी दुईले बनाएको परिस्थितिको नियति हुन्छ । निर्देशकले नै कथालाई दृश्यमा रूपान्तरण गर्ने मात्र नभई दृश्यलाई कथामा पनि रूपान्तरण गर्न सक्नुपर्छ । यस क्रममा छायाकार र सम्पादकको भूमिका पनि अहम् हुन्छ । मलाई लाग्छ– चलचित्रमा दृश्य निर्माणको क्रममा सिनेमाको दिग्दर्शकले ध्वनिसँगको सम्बन्धमा पनि आफ्नो जीवनको परावर्तित अर्थ खोजिरहेको हुन्छ ।

सिनेमामा दृश्य कथाको पात्र, पृष्ठभूमि, द्वन्द्व, संघर्षको उतारचढाव, संवेदना आदिले निर्माण गर्छ । कथाको मनोविज्ञानले निर्माण गर्छ, अझ गहिरिएर भन्दा कथाको संस्कृतिले निर्माण गर्छ । लेखकले पुस्तकमा व्याख्या गर्न खोजेको असामान्यता आफैंमा तरल अवस्था हो जसले समय र परिस्थितिसापेक्ष अर्थ ग्रहण गरिरहेका हुन्छन् । साथै, कथाको संस्कृति निर्माणमा पनि अवधारणात्मक तरलता निहित हुन्छ कारण संस्कृति एकै ठाउँमा स्थीर भएर बस्दैन । यद्यपि, सिनेमाले संस्कृतिको तरलतालाई दस्तावेजीकरण गर्दै भविष्यका लागि वर्तमानमा सिर्जना गरिएको स्थिर र गति दुवै चित्र जगेर्ना गर्छ ।

पण्डित आफ्नो पुस्तकमा मूल्य–मीमांसा अर्थात् एक्जियोलोजिकल पाटोको चर्चा गर्छन्– ‘पात्रले कस्तो समस्या समाधान गर्न संघर्ष गरिरहेछ भन्ने आधारमा सिनेमाको कथाले समाजमा कस्तो राजनीति गरिरहेछ, त्यसको मूल्यांकन गरिन्छ । पात्रमार्फत निर्देशकले उठाउने प्रश्न उसका नियतपूर्वक राजनीतिक अभिव्यक्ति हुन् । दर्शकहरूको मनोविज्ञानमा कुनै अवधारणा प्रवेश गराउनु नै गहकिलो राजनीति हो । हरेक पात्र इतिहास संस्कृति, राजनीति, धर्म र बजारले निर्माण गरेको नियतिमा जन्मन्छ र आफ्नो अनुभवको आधारमा नियत निर्माण गर्दै हुर्कन्छ ।’ पात्रको जीवनमा आउने नियतिहरूलाई व्यक्तिगत, सामाजिक र अर्थराजनीतिगत आयामले प्रभाव बनाउँछ ।

जीवन संघर्षको क्रममा प्रत्येक दिन भोग्नुपर्ने बाध्यतारूपी नियतिहरूसँग जुधेर पनि एउटा सर्जकले आफूलाई पात्रको रूपमा अभिव्यक्त गर्छ । कारण सिनेमाबाहिर सर्जक आफैंमा एउटा त्यस्तो पात्र हो, जसले जीवनका यावत् नियति भोगेको हुन्छ । यही सन्दर्भलाई थप अर्थ्याउँदै पुस्तकले भन्छ, ‘सिनेमा जीवनको प्रोटोटाइप सिर्जना गरेर कथामार्फत जीवनलाई बुझ्ने एक प्रयत्न हो । जीवन आखिर कथा नै त हो सिनेमाले देखाउने पनि कथा नै हो । तसर्थ हरेक सिनेमाको जन्म एउटा जीवनको जन्म हो ।’ पुस्तक भन्छ– ‘सिनेमाको हरेक दृश्यको उद्देश्य प्रभाव सिर्जना गर्नु हो, जुन प्रभावको आयतनमा सर्जक र दर्शकबीचको सम्बन्ध स्थापित हुन्छ ।

सिनेमाको अस्तित्वको एउटा महत्त्वपूर्ण पक्ष दर्शकको ज्ञान हो । दर्शक हरेक समय प्रश्न बोकेर उत्तर खोजिरहेको हुन्छ । तसर्थ, दर्शक निरपेक्ष र निष्क्रिय हुँदैन ।’ मलाई लाग्छ, दर्शक पनि सक्रिय र निष्क्रिय वा अर्ध सक्रिय वा अर्ध निष्क्रिय धेरै रूपमा विभाजित अस्तित्व हो । वास्तवमा दर्शक एक हेटोरोजनस अस्तित्व हो, जसको कुनै खास रूप हुँदैन र एकै किसिमको चाहना पनि हुँदैन । दर्शकको खास स्वरूपको निश्चितता वा ठोस आकारको आकलन गरेर सिनेमा बनाइँदैन । सर्जकले आफूलाई अभिव्यक्त गर्न सिनेमा निर्माण गर्छ र दर्शकले आफ्नो समय, आवश्यकता र परिस्थितिअनुसार सक्रिय वा निष्क्रिय रूपमा सिनेमाले पस्किएको भाव र सौन्दर्य ग्रहण गर्छन् ।

लिबरेटरी सिनेमा मानिसलाई आफ्नो यथास्थितिबाट रूपान्तरण गर्न सक्ने गुण बोकेर जन्मिएको हुन्छ । समयचेत र युगचेतको प्रतिनिधित्व गर्ने त्यस्ता सिनेमाले आफूभित्र निहित अन्तरवस्तु र शिल्पको गुणतत्त्वमा अमरत्व प्राप्त गर्छन् । कालजयी सिनेमा निर्माण आफैंमा ज्ञान, दर्शन, कला र प्रविधिको कठोर साधनाबाट तयार हुने कलात्मक सम्मिश्रण हो । विश्व सिनेमाले आफ्नो दार्शनिक अस्तित्व प्रमाणित गरेर थुप्रै नजिर प्रस्तुत गरिसकेको अवस्थामा सिनेमाको दार्शनिक चिन्तनबिना नेपाली सिनेमाको बौद्धिक रूपान्तरणको बहस अपुरो हुन्छ । अहिले नेपाली सिनेजगत्को दार्शनिक खडेरीमा जलसिञ्चन गर्ने मनोज पण्डितको प्राज्ञिक सक्रियता नेपाली सन्दर्भमा आफैंमा नवीनतम् र बहसयोग्य छ ।

प्रकाशित : पुस ११, २०७७ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?