किंवदन्तीको कथा
इतिहासको कालरात्रिमा
कामोत्तेजनाको फन्दा सर्सराउने
यिनै भित्ताहरूबाट बोलिरहेछौँ
शूलमा शरीरको झन्डा फर्फराउने
यिनै बुर्जाहरूबाट बोलिरहेछौँ ।
सक्छौ भने
तिम्रो घाँटीमा झुन्डिएको शक्तिशाली दूरविन
लगाएर आफ्ना जिज्ञासु आँखाहरूमा
हेर क्षतविक्षत हाम्रो शरीरलाई,
तिम्रो घाँटीमा झुन्डिएको दामी क्यामेराले
खिच हाम्रो रक्ताम्मे शरीर
र देखाऊ दुनियाँलाई,
कम्तीमा
बन्द गर मोबाइलको प्रेमगीत
हटाऊ कानमा ठेसिएको इयरफोन
र,
सुन हाम्रो कुरा ।
कि–
ऊ
रक्तशालामा जन्मेको
एक शक्तिशाली जर्नेल थियो ।
रक्तशालाबाट
यता धपाइएपछि ऊ
अझै शक्तिशाली र क्रुद्ध भयो
अझै कामलम्पट र विलासी भयो
अझै क्रूर र सिकारी भयो ।
त्यसपछि कोर्राको गतिमा
चल्न थालेका थिए बँधुवा श्रमिकहरू
जसले बनाए बाँदर लड्ने भीरहरूमा बाटो
कालीगण्डकीमा काठे पुल
जसले बोके कैयौं किलो–टन मास, चुना र पोलेका इँटा
सयौं किलो–टन ढुंगामाटो र दार
आयातित सिंगमरमर र जस्ताको भार ।
श्रमिकहरूको
असीमित अलिखित बलिदानपछि
तिनका हत्केलाको ठेलाजस्तै सुन्दर
तिनका पसिनाको थोपाजस्तै चम्किलो
तयार भयो एउटा महल
कालीगण्डकीको अनकन्टार तीरमा ।
र, त्यही महलका रनिवासहरूमा
कैद गर्यो उसले हामीलाई
त्यसैका भित्ताहरूमा सजायो उसले हामीलाई
त्यसैका शय्याहरूमा सुतायो उसले हामीलाई ।
ऊ कोर्रा बर्साउँथ्यो हामीमाथि
चिर्थ्यो हाम्रो छाती
जोडेर मुख धमनीमा हाम्रो रगत चुस्थ्यो
र, सुमसुम्याउँदै हाम्रा अंगप्रत्यंग
कामोत्तेजित भएर ‘माया गर्छु’ भन्थ्यो ।
कालीगण्डकीको किनारमा
नुहाइरहेको हुन्थ्यो ऊ
उभिनुपर्थ्यो हामी भने लामबद्ध भएर
उसको सवारी हुने सिँढीहरूमा दायाँबायाँ ।
ऊ आउँथ्यो नग्न
बिल्कुल नग्न !
मदोन्मत्त कामोत्तेजनाको नशाले मातेर
र, प्रत्येक एक सिँढी चढ्थ्यो
हाम्रो छातीको मांसपिण्ड समातेर ।
कुनै दिन कालीगण्डकी किनारबाट
मदिराको नशामा रक्तिम कामुक आँखाहरूले
हेर्दै गर्दा गहिरिएर
उसलाई त्यो महल–
‘ताजमहल’भन्दा कम्ता लागेन
उसले आफूलाई
‘शाहजहाँ’भन्दा कम्ता ठानेन ।
बस् !
त्यो महल अनि महल रहेन
दुनियाँले त्यसलाई ‘रानीमहल’ भन्यो
हे बरै !
‘प्रेम’ एक किंवदन्ती बन्यो ।
प्रकाशित : मंसिर २०, २०७७ १३:१८