दाउरा

अमृता स्मृति

म दाउरा
इज्जत ढाक्ने तिम्रो आँगनको बार बनूँ
तिम्रा बूढा बा–आमाको टेक्ने लौरो बनूँ
धुरीखाँबो बनूँ र थामूँ कुल !
खरिपाटी बनूँ
जहाँ तिमी लेख्नू जीवनका सुमधुर गीतहरु
आँखीझ्याल बनूँ
जहाँ तिमी आड लिनू र हेर्नू दुनियाँ ।

दाउरा

म दाउरा

फ्रेम बनू

र, सजाउँदै तिमीलाई आफूभित्र

तिम्रै मझेरीमा अपलोड गरुँ

जहाँ प्रेमका वर्षातहरुले लभ रियाक्ट गर्न सकून् ।

एक बलवान् थाँक्रो बनूँ

जहाँ तिमी झाँगिनू

फलाउनू कुनै हाँगामा अहिलेसम्म फल्न नसकेको फल ।


म दाउरा

झुक्किएर पनि बनाउन नखोज्नू बिँड

जहाँ मैले नाङ्गो तरबार नाच्नुपरोस्

र, तास्नुपरोस् तिम्रो सभ्यता ।

बनाउन नखोज्नू दराज

जहाँ लुकाउनुपरोस् रहरहरु

र, ढुसी लाग्नुपरोस्

नघचेट्नू आगोमा

बनाउन नखोज्नू समिधा

जुन दिन लम्बाइ मेटिँदै खरानी हुनेछु

धमिलिनेछ तिम्रै आकाश ।

प्रकाशित : मंसिर २०, २०७७ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?