कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

किम्फ : नयाँ दर्शक समूहको सम्भावना

रीना मोक्तान

काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १८ औं संस्करण यही मंसिर २५ देखि २९ गते (डिसेम्बर १० देखि १४) सम्म आयोजना हुँदै छ । कोरोना महामारीले निम्त्याएको संकटसित जुध्दै आशा र विश्वासका साथ अगाडि बढ्न ‘तमसोमा ज्योतिर्गमय’ को नारासहित महोत्सव भर्चुअल रुपमा आयोजना हुनेछ ।

किम्फ : नयाँ दर्शक समूहको सम्भावना

चर्चित भुटानी फिल्म निर्देशक खेन्चे नोर्बु रिम्पोचेको नयाँ फिल्म ‘लुकिङ फर अ लेडी विथ फ्याङ्स एन्ड अ मुस्ट्याच’ फेस्टिभलको आकर्षणको केन्द्रमा छ । फेस्टिभलका उद्देश्य, चुनौती र छनोट भएका फिल्मका विषयमा किम्फका अध्यक्ष वसन्त थापासँग रिना मोक्तानले गरेको कुराकानी :

भर्चुअल फेस्टिभलको तयारी के छन् ?

चार महिना अगाडि हामीले एउटा अभ्यास गर्‍यौं । त्यो झन्ड झन्डै हाम्रो फेस्टिभलको पूर्वअभ्यास भन्ने जस्तै भयो । १५/१६ वटा फिल्म हामीले अनलाइनमा प्रदर्शन गर्‍यौं । पुराना फिल्महरु थिए ती । कोभिडले फैलाएको नैराश्यको स्थितिमा केही उत्साह जगाओस् भनेर सानो अभ्यास गरेका थियौं ।

त्यसबाट पनि अनुभव त बटुलियो तर अहिले त्यो भन्दा बृहत् मात्रामा छ । फिल्महरु पनि धेरै छन् । यो प्रविधिमा आधारित विषय पर्‍यो । पहिला-पहिला हामीलाई हलमा कसरी दर्शक तान्ने हुन्थ्यो । अहिले पनि अनलाइनमा धेरैभन्दा धेरै दर्शक आकर्षण कसरी बढाउने भन्ने चुनौती छ ।

त्यो चुनौतीलाई सामना गर्ने कसरी ?

चुनौतीलाई स्वीकार नगरेर बसेर त हुँदै हुँदैन । फेस्टिभल नगर्दा पनि हुन्थ्यो । गर्नु भनेर हामीलाई कसैले आदेश दिएको होइन । उर्दी दिएको पनि होइन । यो हाम्रो आफ्नै विचारले रहरले सुरु गरेको । फेस्टिभल थालेको पनि २० वर्ष भयो । कार्यक्रमका हिसाबले यो १८ औं फेस्टिभल हो । यो फेस्टिभल हामीलाई आवश्यक छ भनेर सुरु गरियो । तर हामीलाई के लाग्यो भने कठिन परिस्थितिमा नै आफूले गर्ने हो नि । सजिलोमा त जसले जे पनि गर्छ । अप्ठ्यारोमा सबैले गर्छ भन्ने विचार आयो । यस्तो अप्ठ्यारो हामीलाई पाँच वर्ष अगाडि भूकम्पको बेला पनि आएको थियो ।

त्यो बेला पनि फेस्टिभल त आयोजना गर्नुभयो नि होइन ?

हो । खासमा भूकम्पको ६ महिनापछि नै फेस्टिभल थियो । भूकम्पले सारा देश तहसनहस भएको थियो । त्यस्तो बेलामा फिल्म फेस्टिभल कसरी गर्ने त ? एक मनले त नगरौंला होला भन्ने लाग्यो । यस्तो कठिन परिस्थितिमा हेर्न को आउने ? सबैको आ-आफ्नै दु:ख छ, पीर छ भन्ने लाग्यो । तर अहिले जुन विचारले अभिप्रेरित भएर गरिरहेका छौं त्यही विचार त्यो बेला पनि आयो । यस्तै दु:ख छ, पीर छ, अनेक छ । त्यसमा अलिकति मल्हम त लगाउनु पर्‍यो नि फिल्मले । सँधै रुएर कराएर त कत्ति हुन्छ । पुनर्निर्माण गर्नुपर्‍यो, अगाडि बढ्नु पर्‍यो । त्यो दु:खलाई पछाडि मिल्काएर पुनर्जीवन सुरु गर्नुपर्‍यो । यही बेला त हो गर्ने भन्ने लाग्यो । हामीले गर्‍यौं । त्यो बेलाको प्रतिक्रिया यत्ति राम्रो भो, दर्शकहरु यति मज्जाले आए । त्यो सबैभन्दा उत्कृष्ट फेस्टिभल थियो ।

भर्चुअल रुपमा फेस्टिभल गर्दाका अन्य चुनौती के छन् ?

मुख्य चुनौती प्राविधिक नै हो। अनलाइन त जाने, जाने कसरी ? अनलाइनमा पहुँच कसरी गर्ने भन्ने त प्राविधिक कुरा हो नि । हामीले सबै फिल्म त्यतिकै छोडिदिनाले त्यसको दुरुपयोग हुने सम्भावना पनि छ । अर्थात कपिइङ गर्ने, डाउनलोड गर्ने, रेकर्ड गर्ने हुनसक्छ । त्यसलाई हामीले ध्यान दिनु पर्‍यो । दोस्रो त एउटा फिल्म हेर्न कति झन्झट गर्ने ? सजिलै एउटा टचमा पहुँच पुग्न सक्नु पर्‍यो । एकातिर कपिराइट कसरी सुरक्षित गर्ने पीरलो छ । अर्कोतिर धेरै झन्झट नभइकन दर्शकले फिल्म हेर्न पाउन् भन्ने पनि छ । त्यसकारण हामीले भिमिओको साहरा लिएका छौं । दर्शकले हाम्रो वेबसाइटमा फिल्मको लिंक रोजेर क्लिक गर्नुपर्छ । १/२ वटा कार्यक्रम जुमबाट पनि हुन्छ । ती सबैलाई कार्यक्रम एकै ठाउँमा गर्न हामीलाई चुतौती लागिरहेको छ ।

फिल्म हेरेको शुल्क तिर्नुपर्छ ?

शुल्क पर्दैन । अनलाइन पैसा लिन सजिलो छैन । अर्को कुरा यस पटक एउटा फिल्म प्रदर्शन भएको पाँच दिनसम्म हेर्न पाउनेछन् दर्शकले ।

फेस्टिभल नगरौं भन्ने लागेन ?

गरौं/नगरौं भन्ने भयो मनमा । फेरि अर्को विचार आयो । गर्ने नै यस्तै बेलामा हो । हेरौं न त भनेर गर्न थालेका छौं । परिस्थितिअनुरुप आफूलाई तयार गरेका हौं यो ।

भौतिक उपस्थितिमा कार्यक्रम नै नहुने हो यस पटक ?

फिल्म मात्र अनलाइन हो । मुख्य कार्यक्रमहरु उद्घाटन, समापन र प्यानल डिस्कसन थोरै व्यक्तिबीच उपस्थित भएर गर्छौं । त्यसलाई लाइभ स्ट्रिमिङ गर्ने योजना छ ।

भर्चुअल फेस्टिभल आयोजना गर्दाका फाइदा पनि होलान् ?

जतिसुकै प्रचार गरे पनि हलमा त सीमित दर्शक आएर फिल्म हेर्नुहुन्छ । राष्ट्रिय सभागृहमा ६ सय दर्शक क्षमता छ । हल भराभर भए पनि ६ सय दर्शक हुने हो । अब त संसारभरका मानिसले हेर्न पाउने माध्यम छ । अनलाइनमा एउटै फिल्म ३ हजारले हेर्न सक्छन् ।

संसारका सबै कुनाबाट फिल्म हेर्न पाउनेछन् । बाहिर बस्ने नेपाली हाम्रो सम्भावित दर्शक हुन् । त्यसपछि नेपालप्रति रुचि राख्ने विदेशीहरुले पनि चाहे भने घरबाटै हेर्न पाउने भए फिल्म । एउटा नयाँ दर्शक समूहको सम्भावना छ । उनीहरुसम्म सूचना कसरी पुर्‍याउने एउटा कुरा हो । तर उनीहर कहाँ सूचना पुर्‍याउन सक्यो भने त ठूलो दर्शक समूह यसले तान्न सक्छ । यो त ठूलो उपलब्धि हो नि ।

२०औं वर्षमा आइपुग्दा फेस्टिभल सुरु गर्दाका उद्धेश्य पूरा भए त ?

श्रव्यदृश्यलाई जनचेतना जगाउन, सामाजिक रुपान्तरणमा यसलाई उपयोग गर्न, सकारात्मक विचार फैलाउन माध्यम बनाउनुपर्छ भन्ने हिसाबले सुरु गरेका थियौं । एउटा तस्बिरले हजार शब्द बोल्छ भनिन्छ । एउटा तस्बिरले त्यति शब्द बोल्छ भने चल्ने चित्रले पार्ने प्रभाव धेरै गुणा छ । त्यसको प्रभाव चिरस्थायी रहन्छ । हाम्रो जस्ता पहाडी मुलुक अरु ठाउँमा पनि छन् । हाम्रोमा उच्च शिखर होलान् ।

पर्वतीय समाज र जनजीवनमा एउटा समानता छ । हाम्रो यहाँ हिमालय भन्छौं, युरोपमा आल्पस् भन्छन् । दक्षिण अमेरिकामा एन्डिज र यता अमेरिकामा रकिज भन्छन् । हरेक ठाउँमा पर्वत विद्यमान छन् । पर्वतले एउटा अर्थ बोकेको हुन्छ । पर्वतहरुको त्यस ठाउँको, देश र समाजको संस्कृतिमा भूमिका रहेको हुन्छ । यसका अलावा अन्य पर्वतीय समाजको जानकारी थाहा पाउनुपर्‍यो । जसरी हुन्छ हाम्रो चेतनाको स्तर वृद्धिमा उपयोग गर्नुपर्‍यो भनेर सुरु गर्‍यौं । यति लामो आउला भनेर सोचेका थिएनौं ।

सामाजिक रुपान्तरणको उदेश्य पूरा भयो त ?

हामीले आफ्नै ढोल पिट्नु भन्दा त्यसको मूल्यांकन अरुबाट हुने कुरा हो । फेरि यो भौतिक कुरा पनि होइन । गन्ती गरेर, टाउको गनेर गर्ने कुरा होइन । यो त अदृश्य कुरा हो । हामीले यो चाहिँ देखेका छौं कि हामी कहाँ भोलेन्टियर भएर आएर, दर्शक बनेर आएर कालान्तरमा फिल्ममेकर बनेका छन् । पहिलो फिल्म बनाएपछि कहाँ देखाउने भन्ने हुन्छ । त्यो प्लेटफर्म हामीले दियौं । सन् २००७ बाट सुरु गरेको पानोरामाबाट धेरैलाई ब्रेक दियौं । अरुका पर्वतीय समाजबाट हामीले सिक्ने हो । त्यसमा हाम्रो जोड छ । २० वर्षमा धेरै फिल्ममेकर निस्किए ।

दीपक रौनियारको पहिलो फिल्मलाई हामीले ब्रेक दियौं । पछि पनि उसका १/२ वटा फिल्म देखायौं । तर त्यहीबाट दीपकले उडान भरेको हो । केसाङ छेतेनलाई यति प्रचारित गर्नुमा किम्फको भूमिका छ । हो, उनी प्रतिभाशाली थिए । तर पनि प्लेटफर्म त चाहियो नि । हामी बम्बैया स्टाइलको फिल्म हेर्छौं । फरक स्वाद हेरून् न भनेर हामीले काठमाडौंमा मात्र होइन ५१ वटा जिल्लामा 'घुम्ती किम्फ' पुर्‍याइसकेका छौं । अहिले जति पनि मानिसहरु डकुमेन्ट्री फिल्ममेकर भनेर चिनिएका छन् नि उहाँहरु सबैले किम्फबाट मञ्च पाउनु भएको छ । हामीले त्यो भूमिका निभाउन पाएका छौं । त्यसले हामीलाई लाग्छ, हामीले केही त गर्‍यौं नि ।

यसपटक कस्ता फिल्म हेर्न पाइन्छ त ?

अन्तर्राष्ट्रिय खण्डमा १८ फिल्म छान्यौं । 'नेपाल पानोरामा' अन्तर्गत १३ कथानक र डकुमेन्ट्री छन् । पानोरामा अन्तर्गत 'अ पेपर प्लेन', 'सङ अफ क्लाउड्स', 'द विन्टर ट्याप', संकुल(द कन्फ्यूजन), द स्नो लियोपार्ड कलिङ, मिसन एभरेस्ट द लेजेन्ड, सिभिल सोल्डर्सलगायतका फिल्म छन् ।

अन्तर्राष्ट्रिय खण्डमा पहिलो, दोस्रो र तेस्रो हुने फिल्मले क्रमश: नगद २ लाख, १ लाख ५० हजार र १ लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट नेपाली कथानक र डकुमेन्ट्रीले नगद १ लाख र ७५ हजार प्राप्त गर्नेछन् ।

चर्चित भुटानी फिल्म निर्देशक खेन्चे नोर्बु रिम्पोचे यस पटकको आकर्षण होइन ?

हो । उहाँको नयाँ फिल्म 'लुकिङ फर अ लेडी विथ ल्याङ्गस एन्ड अ मुस्ट्याच'को फिल्मबाट फेस्टिभलको उद्घाटन गर्छौं । यसभन्दा अगाडि पनि उहाँको फिल्म देखाइसकेका छौं । यो फिल्मको सुटिङ सबै नेपालमै गरिएको थियो । उहाँले प्रवचन पनि दिनुहुनेछ । उहाँ नै हाम्रो प्रमुख अतिथि हुनुहन्छ । उहाँलाई भौतिक रुपमै ल्याउन धेरै चेष्टा गर्‍यौं । कोरोना नभएको भए आउनु हुन्थ्यो पक्कै ।

पछिल्लो समय किम्फले धेरै फन्ड लियो तर प्रभावकारी बन्न सकेन भन्ने आरोप लाग्छ छ नि ?

खोई । यसको प्रभाव कस्तो भइरहेको छ भन्ने अरुले मूल्यांकन गर्नुपर्ने हो । हामीले सकेसम्म कोसिस गरेका छौं । खर्च यता देखाएर घर जग्गा खरिद गर्न लगेका छैनौं । त्यो भनाई मात्र हो । फेस्टिभलको काम खर्चिलो हुन्छ । तर सरकारी निकाय जसले यसलाई बढावा दिनुपर्ने हो उनीहरुको चिसो व्यवहार छ ।

उनीहरुले यसको महत्व नबुझेका हुन् कि बुझ्न नचाहेको हो । अरुको ठूलो फेस्टिभल भन्छौं, हाम्रो पनि त्यस्तो हुन सक्छ नि । तर हामीलाई सहयोग गर्ने छैन । यो हाम्रो समाजमा चाहिन्छ भन्ने बुझिदिने छैन । सरकारको विभिन्न नामबाट अलिअलि सहयोग पाए पनि हुन्थ्यो ।

प्रकाशित : मंसिर २०, २०७७ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?