१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘जाता वार्ता’ र ‘कोरोना कैरन’ बजारमा

काठमाडौँ — साहित्यकारद्वय खगेन्द्र संग्रौला र आहुतिका बेग्लाबेग्लै दुई पुस्तक प्रकाशित भएका छन् । संग्रौलाको ‘कोरोना कैरन’ र आहुतिको ‘जात वार्ता’ दुई गैरआख्यान पुस्तकबाट नयाँ प्रकाशन संस्था बेला पब्लिकेसन्सले आफ्नो प्रकाशन यात्रा थालेको छ ।

‘जाता वार्ता’ र ‘कोरोना कैरन’ बजारमा

कोरोना भाइरसका कारण उत्पन्न महामारी र त्यसले सिर्जना गरेको सामाजिक–आर्थिक संकट एवम् त्यसैका वहानामा राजनीतिमा देखिएको भ्रष्टाचार, विकृति र बेथितिलाई विषय बनाएर लेखिएको गैरआख्यान पुस्तक ‘कोरोना कैरन’मा संग्रौलाका २७ वटा नवीन निबन्धहरु सङ्गृहित छन् ।

‘कोरोना कैरन संग्रौलाका अनुभव र अनुभूतिको निजी शृंखला मात्र होइन, सामान्य जनले भन्न खोजेका र भन्न चाहेका कुराहरुको सिलसिलाबद्ध प्रकटीकरण पनि हो,’ बेला पब्लिकेसन्सका सम्पादक विनोदविक्रम केसीले भने, ‘भोकले मर्ने सप्तरीका मलर सदादेखि आफूलाई कोरोना भाइरस सल्केपछि अरुका ज्यान बचाउने पवित्र ध्येयले आफ्नो ज्यान लिने इटालीकी नर्स ड्यानिएला ट्रेज्जीसम्मलाई यो कैरनमालाले समेटेको छ । खासमा यो पुस्तक दुखियाहरुको खबरमाला हो ।’

लामो समयदेखि नेपाली समाजको वर्गचरित्रबारे चिन्तन गर्दै आएका लेखक तथा राजनीतिज्ञ आहुतिको नयाँ पुस्तक ‘जात वार्ता’ दक्षिण एसियामा विद्यमान जात व्यवस्था, त्यसले उत्पादन गरेका समस्या र त्यसको उन्मुलनको परियोजनाका विषयमा केन्द्रित छ । ‘जात वार्ता’ पुस्तक पनि प्रस्तावनासहित २७ अध्यायमा विभाजित छ । पुस्तकले जात व्यवस्थाको उत्पत्ति, विकास, धर्मपरिवर्तन, अन्तरजातीय प्रेम र विवाह, दलित आन्दोलनमा गैरसरकारी संस्थाको भूमिका, अन्तरदलित भेदभावलगायतका सामाजिक जीवनमा बारम्बार उठिरहने प्रश्नको जवाफ खोज्ने काम गरेको छ । लेखक आहुतिले यसलाई ‘निरन्तर संघर्षका निम्ति हाते पुस्तक’ भनेका छन् ।

कोरोना महामारी र जात व्यवस्था आजको नेपाली समाजलाई प्रभाव पारिरहेका सबैभन्दा ज्वलन्त विषय भएकाले यिनै विषयमा आधारित गैरआख्यान पुस्तकबाट आफूहरुले प्रकाशन प्रारम्भ गरेको बेला पब्लिकेसन्सका चिफ प्रोडक्सन अफिसर वन्दना ढकालले बताइन् ।

‘हामीले हाम्रो नियमित प्रकाशन योजना र वार्षिक प्रकाशन क्यालेन्डर अंग्रेजी नयाँ वर्षसँगै सार्वजनिक गर्नेछौं र पाठकबीच नियमित प्रकाशनहरुमार्फत् संवाद सुरु गर्नेछौं’, ढकालले भनिन्, ‘जात वार्ता र कोरोना कैरनलाई बेला पब्लिकेसन्सका परीक्षण प्रकाशनका रुपमा लिइदिन हामी पाठकलाई आग्रह गर्दछौं । यी पुस्तकलाई पाठकले माया गरिदिनुहुनेछ भन्ने विश्वास लिएका छौं ।’

प्रकाशित : मंसिर १७, २०७७ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?