रंग, साहित्य र बजारमा नगरकोटी- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रंग, साहित्य र बजारमा नगरकोटी

‘के पुस्तक कागज मात्रै हो र ? लेखकको सोच र सिर्जनाको कुनै मूल्य हुँदैन ?’
‘ब्ल्याकले इनडेफिनिट (अनिश्चित) चिजहरुको प्रतिनिधित्व गर्छजस्तो लाग्छ । अज्ञात, अज्ञेय, रहस्य, अँध्यारा गल्लीहरुप्रतिको मेरो रुचिका कारण पनि म कालो मन पराउँछु ।’
१७ पाठकलाई नगरकोटीको ‘बर्थडे सरप्राइज’
उपेन्द्रराज पाण्डेय

लेखक कुमार नगरकोटीलाई कालो रंग मन पर्छ । त्यसैले उनी कालै कुर्ता (नगरकोटीले प्राय: लगाउने वस्त्र), कालै मास्क लगाउँछन् । उनलाई कालो यति मन पर्छ कि मोबाइलदेखि कानमा लगाउने टपसम्म पनि कालै हुन्छ । 

मनोवैज्ञानिक कार्ल गुस्ताभ युङ्ग रंगलाई ‘अवचेतनको मूल भाषा’ मान्छन् । त्यसैले व्यक्तिपिच्छे रंगप्रतिको रुचि र बुझाइ फरक हुनसक्छ । कसैलाई रातो रंग मन पर्न सक्छ, कसैलाई कालो । पेन्टिङमा मात्र होइन, कथा, कविता उपन्यासजस्ता साहित्यका अन्य विधामा पनि रंगको प्रयोग विशेष रुपमा गरिएको हुन्छ । कुमार नगरकोटी पुस्तकको कभरदेखि कन्टेन्टसम्मै रंगको प्रयोग गरिरहेका हुन्छन् । उनका कृतिको विषयबस्तुसँग सम्बिन्धत रंग पुस्तककै कभरमा पनि भेटिन्छन् । कभरभन्दा बढी अझ विषयबस्तुमा उनले रंगको प्रयोग गरेका हुन्छन् ।

नगरकोटी आफ्नो रंगमोह र प्रयोगबारे भन्छन्, ‘हरेक सिर्जनामा रंग आउँछ । म पात्रहरुको कपडाको कलरमा खासै ध्यान दिँदिनँ । म कपडाका बारेमा निरक्षरजस्तै छु । महिलाका कपडाबारे लेख्नु परे त मलाई समस्या नै पर्छ । म नीलो रंग खासै प्रयोग गर्दिनँ । हरेक लेखकमा ‘सेन्स अफ् कलर’ हुन सक्छ । जस्तो कि नयनराज पाण्डेको ‘उलार’ को रंग ‘ग्रे’ हुनसक्छ । नेपालगन्जको फुङ्ग उडेको मौसम र तुवाँलो लागेको नेपालगन्जलाई देखाउनुपर्दा त्यसमा ग्रे कलर प्रयोग भएको हुन सक्छ ।’

आफूले उपन्यास र कथामा कालो र संस्मरणमा भने पहेँलो रंगको प्रयोग गर्ने बताउँछन् नगरकोटी । त्यसो त उनी सहरलाई पनि रंगको चश्माले हेर्छन् । उनी भन्छन्, ‘काठमाडौंको रंग ग्रे (खरानी रंग), पोखराको ‘नीलो’ र भक्तपुरको ‘मट्यौली’ हो ।’ सहरले बोक्ने यी रंगले त्यस सहरको परिचयमात्रै बताउँदैन, त्यहाँको जीवनशैली र रहनसहन पनि झल्काउँछ ।

खरानी कालो र सेतोबीचको रंग हो । मानिसको स्वभाव छ कि हरेक चिज कि कालो वा सेतोमा खोज्ने । तर, केही पनि कुरा कालो र सेतोमा खोज्न कठिन हुन्छ भन्छन् नगरकोटी । खरानी कालो र सेतोबीच सन्तुलन ल्याउने रंग भएकाले काठमाडौंसँग मेल खाने उनको तर्क छ । रंगसँग आत्मीयता भएकै कारण उनका कृतिमा रंग हावी भएर आउने गर्छ ।

कालै रंग किन ?

म कपडामात्रै होइन, मास्क पनि कालै लगाउँछु । मलाई डिफाइन गर्ने कलर ब्ल्याक र येल्लो नै हो । ब्ल्याकले मोर डिफाइन हुन्छुजस्तो लाग्छ मलाई । ब्ल्याकले इनडेफिनिट (अनिश्चित) चिजहरुको प्रतिनिधित्व गर्छजस्तो लाग्छ । अज्ञात, अज्ञेय, रहस्य, अँध्यारा गल्लीहरुप्रतिको मेरो रुचिका कारण पनि म कालो मन पराउँछु । त्यस्तै रंग पनि म साहित्यमा प्रयोग गरिरहेको हुन्छु । क्यारेक्टर बिल्डअपमा डायलगदेखि रंगको प्रयोगसम्म मानव जीवनको अस्तित्व रहस्यमयी छ । मिस्ट्रीप्रतिकै रुचि र जिज्ञासा भएका कारण म आफ्ना सिर्जनामा जोखिम मोलिरहेको हुन्छु । जीवन अनप्रेडिक्टेबल भएका कारण मलाई कालो मन पर्छ ।

‘आई लभ जोगीपना’

‘पहेँलोचाहिँ जोगीको रंग हो । आई लभ जोगिज । जोगी भनेर परम्परागत जोगीकै भेष धारण गरेर हिँड्नेहरुभन्दा पनि मुक्त आत्माप्रतिको मेरो प्रेम हो । मुक्त मान्छेहरुप्रतिको मेरो प्रेम हो । कर्पोरेट जोगी र साधुको कुरा गरेको होइन मैले । जोगीपना भनेको मनको कुरा हो । चाहे त्यो बैंकर नै किन नहोस् त्यसमा जोगीपना हुन सक्छ । वादबाट मुक्त, देशबाट मुक्त, राजनीतिबाट मुक्त, धर्मबाट मुक्त मानिसमा जोगीपना पाउन सकिन्छ । हरेक चिजलाई समभावबाट हेर्न सक्नु पर्छ । स्प्रिचुअली अवेकन (अध्यात्मिक रुपमा जागृत) मानिसमा जोगीपना पाइन्छ, त्यो रिक्सा चलाउने मानिस पनि हुन सक्छ, घाटमा मुर्दा जलाउने मानिस पनि हुन सक्छ ।’

उनका संस्मरण र कवितामा प्राय: जोगीपना देखिन्छ । उनी भन्छन्,

‘कवितामा जतिसक्दो आत्मीय, श्रद्धायुक्त र मुक्त मानिसका रुपमा प्रस्तुत हुन चाहन्छु । मोर मुलायम, मोर हार्दिक, त्यसैकारणले ‘अक्षरगन्ज’ धेरैले मन पराए । वाक्यहरु पनि सरल त्यसै कारणले । ‘विरुपाक्ष’ कविता सुन्ने मान्छेले ‘मिस्टिका’ पढ्दा गाली गर्न सक्छ । कथामा एकदमै क्रुर भएर अनेक प्रयोग गरिबस्छु । सामाजिक यथार्थवादले साहित्य ध्वस्त पारियो भन्ने गरिन्छ । मेरो लेखनमा नगरकोटीपना त हुन्छ नै । तर, फिक्सनमा म सोसल रियालिज्म भन्नेमा छैन । ननफिक्सनमा त सबै चिज मैले खुल्लमखुल्ला भनेको छु त ।

‘फिक्सन डिजाइनर’

नगरकोटीले आफूले पुस्तक लेखेकोभन्दा पनि डिजाइन गरेको भन्न रुचाउँछन् । त्यसैले आफूलाई ‘फिक्सन डिजाइनर’ नै मान्छन् । उनी भन्छन्, ‘आई डु नट राइट बुक्स, आई कम्पोज देम ।’ उनका लागि पुस्तक लेखन संगीत कम्पोज गरेझैं नै हो । उनी भन्छन्, ‘म त सधैं डिजाइन गर्छु । ‘कल्पग्रन्थ’मा मेरै डिजाइन छ ।’

नगरकोटी कविता, संस्मरणमा आत्मीय, मानवीय, प्रेमील देखिए पनि उपन्यास र कथाहरुमा ‘क्रुर’ देखिन्छन् । उनी उपन्यास र कथामा बढी एक्सपेरिमेन्ट अर्थात् डिजाइन गर्न मन पराउँछन् । उनले भुईंचालोले भत्काउनुपूर्व नै धरहराको बेसमेन्ट बनाएर (मिस्टिकामा) बिराला उडाए । साहित्यमा नौलो प्रयोगलाई नै उनी डिजाइन भन्न रुचाउँछन् ।

पात्रका नाम ‘विचित्र’

कुमार नगरकोटीका पात्रहरु पाठकको मन मस्तिष्कमा पछिसम्म केही पात्रका नाम नै त्यस्तै हुन्छन् भने केही पात्रका अजिबोगरिब जीवनशैली र क्रियाकलाप हुन्छन् । उपन्यास र कथामा सामाजिक यथार्थवादबाट बाहिर निस्किएर कलम चलाउने नगरकोटीका पात्रका नाम विचित्र मात्रै हुँदैनन्, उनीहरुका क्रियाकलाप पनि उस्तै अनौठो खालका हुन्छन् । साहित्यकारका नामदेखि विभिन्न साहित्यकारका कृतिका पात्रलाई जोडेर उनले पात्र बनाएका छन् ।

‘घाटमाण्डु’ मा रहेका पात्रहरु मेयर खालिद शान्तनु मुराकामी, पाउलो घटोत्कच, सिमोन द पाञ्चाली प्लाथ, वकासुर गिन्सबर्ग, हुन वा ‘ज्ञ’ का लिप्स्टिका वा सम्भोगसमसेर राणा वा तथागत स्वप्नदर्शी, नगरकोटीले नाममा प्रयोग गरेका छन् । पात्रका नामबारे नगरकोटी भन्छन्, ‘म पात्रहरुको अनौठो अनौठो नाम राख्न रुचाउँछु । म प्राय: मेरा पात्रलाई हाम्रो समाजमा प्रचलनमा नरहेका नाम राखिदिन्छु । पाठकले ती पात्रको क्यारेक्टरस्टिक्स त भेट्लान् तर त्यही नाम गरेका क्यारेक्टरचाहिँ भेट्न मुस्किल नै होला ।’ आफूलाई प्रत्येक नयाँ कथा र उपन्यासका लागि पात्रहरुको ‘न्वारन’ गर्न निकै कठिन हुने उनी बताउँछन् ।

उपन्यासिका ‘ज्ञ’ की एक पात्रको नामको लिप्स्टिका कसरी राखियो ? पात्रकै जवाफ यस्तो छ :

‘खासमा ड्याडीको लिप्स्टिकको व्यवसाय थियो । उहाँ लिप्स्टिकको सप्लायर हुनुहुन्थ्यो । लिप्स्टिकसित ड्याडीको डीप लभ थियो । लिप्स्टिकको डिजाइन उहाँ आफै गर्नुहुन्थ्यो । ममीले छाडेर गएपछि ड्याडी लिप्स्टिक प्रेमी बन्नुभयो । संसारका हरेक प्रेमीले प्रेमिकालाई दिने उपहार लिप्स्टिक हुनुपर्छ भनी ड्याडी ठान्नुहुन्थ्यो । वास्तवमा ड्याडी प्रेमीहरुका लागि लिपस्टिक बनाउनुहुन्थ्यो । आफ्नो नाम प्रेमीहरुमाझ अमर रहोस् भनी ड्याडीले मेरो नाम लिप्स्टिका राखिदिनुभएको हो ।(‘ज्ञ’, पृष्ठ ११६)

‘कल्पग्रन्थ’मा के छ त खास ?

सामाजिक सञ्जालमा ‘कल्पग्रन्थ’को मूल्य र संस्करणलाई लिएर भइरहेका टिकाटिप्पणीहरु अझै सेलाएका छैनन् । निकै लामो समय खर्चिएर मिहेनतपूर्वक लेखेको पुस्तक भएकाले मूल्य मात्रै हेर्न नहुने उनी बताउँछन् । उनी कागजको पेज गनेर मूल्य हेर्नुभन्दा पनि सर्जकको सिर्जनाको मोललाई हेर्न सुझाउँछन् ।

‘कल्पग्रन्थ’मा विभिन्न विधागत ६३ कथा छन् । एउटा कन्सेप्चुअल स्टोरी छ । याे कन्सेप्टमा आधारित कथा हो । कथा सुरु हुनुभन्दा पनि प्रकाशकले सम्पादकलाई पत्र लेखेको छ । अरु कथा इनहाउस इडिटरले सम्पादन गरे पनि यो कथालाई चाहिँ तपाईंले हेरिदिनुपर्‍यो भनेर एक जना सम्पादकलाई अनुरोध गरिएको छ ।

कथालाई सम्पादकको काँटछाँटसहित नै प्रस्तुत नै गरिएको छ । सम्पादकले सम्पादन गरेकै भर्सनको ५० पेजको कथा छ । अल्जाइमर रोगले ग्रसित एक पात्रले ननस्टप बोलिराको छ । उसले एउटै कुरा दोहोर्‍याइरहेको हुन्छ । केही कुरा उसले आपत्तिजनक मानिएका शब्द पनि प्रयोग गरेको हुन्छ । सम्पादकले त्यसमा ‘घोर आपत्तिजनक शब्द, नगरकोटी भन्दैमा जे पनि लेख्न पाइन्छ ?’ भनेर टिप्पणी गरेको कुरा पनि त्यहीँ जस्ताको त्यस्तै राखिएको छ । ५० पेजको यो कथा तयार पार्न झन्डै तीन महिना लागेको नगरकोटी बताउँछन् । यो कथा पढ्दा पाठक रोमाञ्चित हुने नगरकोटीको विश्वास छ ।

त्यस्तै कल्पग्रन्थमा १५ वटा ग्रे–स्टोरी छन् । यी सबै प्रयोगात्मक र रहस्यमयी कथाहरु हुन् । जसमा लामा छोटा दुवै प्रकृतिका कथा रहेका छन् । त्यस्तै पोस्टकार्ड स्टोरी ३०–३२ वटा छन् । यी कथा पोस्टकार्डकै रुपमा हुन्छन् । हुलाक टिकट र छापसमेत राखेर प्रेषक र प्रापकको ठेगानासहित रोचक शैलीमा कथा प्रस्तुत गरिएको नगरकोटी बताउँछन् । पोस्टकार्ड स्टोरीमा आ–आफ्ना क्षेत्रमा सफल कहलिएका ३२ जना महिलाको कथा समेटिएको उनी बताउँछन् । यी कथामा नगरकोटीकै शब्दमा ‘जोगीपना’ पाउन सकिन्छ ।

त्यस्तै ‘कल्पग्रन्थ’मा ६ वटा स्क्रिनप्लेकै रुपमा कथा छन् । यसरी पनि कथा भन्न सकिने रहेछ भनेर आफूले फरक शैलीमा कथा प्रस्तुत गरेको नगरोकोटी बताउँछन् । त्यस्तै ट्रान्सलेसन र आफ्नै अनुभवलाई समेटेर केही कथा ‘ट्रान्सक्रिएटेड स्टोरी’ का रुपमा प्रस्तुत गरिएको छ ।

इन्स्टलेसन स्टोरीअन्तर्गत १० वटा कथाहरु छन् । यसमा चाहिँ परम्परागत कथावाचन शैलीभन्दा फरक शैलीमा प्रस्तुत गरिएको छ । ओम्नीसाइन्स (सर्वज्ञाता) न्यारेटरको प्रयोग छैन यसमा । यसमा न्यारेटरले जे देख्छ त्यही कुरा मात्र प्रस्तुत गरिएको छ । जसमा पात्रले के सोच्छ भन्दा पनि के गर्छ भन्ने कुरा देखाइएको छ ।

कल्पग्रन्थमा सबैभन्दा नयाँ प्रयोग ‘टाइपोग्राफिक’ कथा भएको नगरकोटी दावी गर्छन् । नेपाली साहित्यमा टाइपोग्राफिक कथा सम्भवत: पहिलो प्रयोग भएको ठान्छन् उनी । २५० पेजको एउटै कथा लेख्न आफूलाई ५ महिना लागेको उनी बताउँछन् ।

‘सर्जकको सोच र सिर्जनाको मूल्य हो’

सुरुमा नगरकोटीले बुकहिल पब्लिकेसन्सका भुपेन्द्र खड्कालाई आफ्नो नयाँ कृति चाहिँ विशेष तरिकाले प्रकाशन होस् भन्ने चाहेको सुनाए । नगरकोटीको ‘विशेष तरिका’ विशेष नै होला भन्ने लागेर भुपेन्द्रले ‘दाइको सपना साकार हुन्छ’ भने ।

पछिल्लो पुस्तक सीमित संस्करण छाप्ने योजना नगरकोटीकै हो । सुरुमा ५ सय ५५ प्रति मात्रै छाप्ने उनको योजना थियो– दोस्रो संस्करण ननिकाल्ने, किताबको साइज पनि रोयल साइजमा बक्ससहितको हार्डकभर पुस्तक । ‘यस्तो पुस्तक किन्ने मानिसले स्पेसल अनुभव गरोस् भन्ने नै हौ । म पाठकले आफूलाई विशेष महसुस गराओस् भन्ने चाहन्थेँ,’ नगरकोटी भन्छन् ।

सन् २०२० सम्म आइपुग्छ भन्ने ठानेर पहिले पुस्तकको मूल्य २०२० राख्ने भनिए पनि २०२१ मा प्रकाशित हुने भएपछि मूल्य २०२१ राख्ने निर्णय भयो । केहीले अहिले सामाजिक सञ्जालमा मजाक पनि गरिरहेका छन्, ‘विक्रम संवत्अनुसार २०७१ राखेको भए त अलि फाइदा हुन्थ्यो नि !’ तर नगरकोटी भने यसमा फाइदा बेफाइदा भन्दा पनि पाठकले के पढ्न पाउँदैछ भन्ने कुरा हेर्नुपर्ने बताउँछन् । प्रकाशकले ५५५ प्रति त निकै थोरै हुने र त्यो पुस्तक त्यत्तिकै बिकीहाल्ने भन्दै प्रि–बुकिङको कन्सेप्ट अगाडि सारे । नेपाली बजारमा पहिलो पटक प्रि–बुकिङमार्फत पुस्तक प्रकाशन गर्ने आइडिया नगरकोटीलाई मन पर्‍यो । अर्डर जति हुन्छ त्यति नै पुस्तक प्रकाशन गर्ने र दोस्रो संस्करण ननिकाल्ने भएपछि नगरकोटी राजी भए ।

‘कल्पग्रन्थले पुस्तक पसलमा ठाउँ ओगटेर बस्दैन । ब्युटिफुल ह्यापनिङ होस्, उत्सव होस्, सेलिब्रेसन होस् । यसमा प्रकाशनदेखि पुस्तक हात पार्ने बेलासम्म पाठक आफै संलग्न हुनेछन्,’ नगरकोटी भन्छन् ।

यसलाई पाठक, लेखक र प्रकाशक तीनै पक्षबाट हेर्नुपर्ने नगरकोटी बताउँछन् । लेखक र प्रकाशकको बीचमा सधैँजसो एउटा अविश्वासको वातावरण सिर्जना हुने कारणले पनि प्रि–बुकिङ कन्सेप्ट राम्रो भएको उनको मत छ । ‘कुनै लेखकलाई तपाईंको पुस्तक कति बिक्री भयो त नि भनेर सोध्नुस् न, जवाफ आउँछ : खै प्रकाशकले २ हजार बिक्यो भन्थ्यो, होला त नि । लेखकले सधैँ आफू प्रकाशकबाट ठगिएछु कि भन्ने महसुस गरेको अवस्था छ,’ नगरकोटी भन्छन् । तर, कति प्रति बुकिङ भयो भन्ने छर्लङ्ग हुने भएपछि लेखक र प्रकाशकबीचको द्वन्द्व घट्ने उनी विश्वास गर्छन् ।

पुस्तकको बजार अनुमान गर्न नसकिने भएकाले प्रकाशकलाई पनि फाइदा पुग्ने नगरकोटी बताउँछन्, ‘यो लेखक त चलेकै हो । यसको त ५ हजार प्रति किताब छाप्यो भने बिक्री हुन्छ भनेर प्रकाशकले पुस्तक छाप्छन् तर २ हजार पनि बिक्दैन । त्यस्तो अवस्थामा जति अर्डर आयो त्यति छाप्ने गर्‍यो भने प्रकाशकले घाटा बेहोर्नुपर्दैन ।’

कुनै पनि पुस्तकको पेजलाई लिएर मूल्यको विवाद गर्नुनपर्ने नगरकोटी बताउँछन् । ‘जेजस्तो अवस्थामा पनि दोस्रो संस्करण नआउने भएकाले पाठकले आफूलाई विशेष नै महसुस गर्छन् भन्ने हो । एउटा पुस्तकको पेज कति छ ? मूल्य कति छ ? भन्ने कुरा मेरा लागि गौण विषय हो । के पुस्तक कागज मात्रै हो र ? लेखकको सोच र सिर्जनाको कुनै मूल्य हुँदैन ? राइटरको क्रियटिभिटीको मूल्यलाई कागजको मूल्यले नजरअन्दाज गर्न मिल्दैन,’ नगरकोटी प्रश्न गर्छन् ।

नरगकोटीको ‘कल्पग्रन्थ’ नपढे पाठकले के गुमाउँछन् त ? नगरकोटीको जवाफ सिधा छ, ‘आई हेट नगरकोटी भन्ने थुप्रै छन् । त्यो त राम्रो कुरा हो नि । त्यो त उसको इन्टेलेक्चुअल स्टेटमेन्ट हो । आई हेट नगरकोटी भन्नु उसको बौद्धिक पाटो हो । कम्तीमा त्यो भन्नका लागि पनि उसले धेरै पढेको छ नि त । हामीले फरक विचारको सम्मान गर्नैपर्छ ।’

१७ पाठकलाई नगरकोटीको ‘बर्थडे सरप्राइज’

बुधबार, मंसिर १७ गते । नगरकोटीको जन्मदिन हो । उनले यसपटकको जन्मदिनमा १७ जना पाठकलाई ‘कल्पग्रन्थ’ उपहार दिने घोषणा गरेका छन् । प्रिमियम संस्करण मात्रै आउने भएकाले पुस्तक पाउने ती १७ जना पाठकले आफूलाई विशेष महसुस गर्छन् भन्ने विश्वास नगरकोटीको छ ।

‘१७ जना प्यासनेट बुक लभरलाई झोलासहित उपहारका रुपमा ढोकैमा किताब पठाउन मैले प्रकाशकलाई अनुरोध गरेको छु । ताकि मेरो बर्थडे गिफ्टका रुपमा कल्पग्रन्थ पाएर उनीहरु खुसी होऊन्,’ नगरकोटी भन्छन् ।

प्रकाशित : मंसिर १७, २०७७ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्

लिपुलेक-मानसरोवर सडकबारे नेपालमा असमझदारी सिर्जना भयो : भारतीय रक्षामन्त्री

'नेपाल र भारतबीचको सम्बन्ध चाहेर पनि कसैले तोड्न सक्दैन'
उपेन्द्रराज पाण्डेय

काठमाडौँ — भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने लिंक रोडबारे नेपालमा असमझदारी पैदा भएको बताएका छन् । सोमबार उत्तराखण्ड जनसंवादलाई सम्बोधन गर्दै सिंहले धार्चुला–लिपुलेक–मानसरोवर सडकबारे नेपालमा असमझदारी सिर्जना भएको बताएका हुन् ।

सिंहले मानसरोवर यात्रामा जाने तीर्थयात्रीले पहिले सिक्किमको नथुला पास हुँदै यात्रा गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अब सीमा सडक संगठन(बीआरओ) ले निर्माण गरेको लिंक रोडमार्फत सहज यात्रा हुने बताए । उनले नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै भने, ‘हाम्रो छिमेकी देशमा यस सडकलाई लिएर केही असमझदारी सिर्जना भएको छ । भारत र नेपालबीचको सम्बन्ध सामान्य होइन । नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्ध रहेको छ ।’

सिंहले नेपाल र भारतबीच सामाजिक, भौगोलिक र सांस्कृतिक सम्बन्धका साथै आध्यात्मिक सम्बन्ध पनि रहेको बताए । ‘भारत–नेपाल सीमाका बारेमा एक खालको भ्रम सिर्जना भएको छ । त्यसलाई वार्ताकै माध्यमबाट समाधान गरिनेछ । नेपाली नागरिकप्रति भारतमा कहिल्यै कटुता देखिएको छैन,’ सिंहले भने ।

नेपाल र भारतबीच धार्मिक र ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै उनले भने, ‘बाबा पशुपतिनाथलाई हामीले कसरी बिर्सन सक्छौं । बाबा पशुपतिनाथ होस् वा हाम्रो काशी विश्वनाथ, सोमनाथ यी सबैलाई अमरनाथसँग कसरी अलग गर्न सकिन्छ ? यो सम्बन्ध यो लोकको होइन, म यो सम्बन्ध अर्कै लोकको हो भन्नेमा विश्वास राख्छु । यो सम्बन्धलाई कसैले चाहेर पनि परिवर्तन गर्न सक्दैन ।’

त्यस्तै महाकाली नदीको उपस्थिति कोलकाताको कामख्या मन्दिरदेखि भारतीय सेनाको गोर्खा रेजिमेन्टसम्म रहेको उल्लेख गर्दै रक्षामन्त्री सिंहले भने, ‘कोलकाताको कामख्यादेखि विन्ध्याचलसम्म सबैतिर महाकाली रहेकी छिन् । उत्तराखण्डको गाउँगाउँमा महाकालीका भक्त छन् । यस्तो अवस्थामा नेपाल भारतको सम्बन्ध कसरी टुट्न सक्छन् । धार्चुलाको अगाडि जति तारबार लगाए पनि यो सम्बन्धलाई तोड्न सकिँदैन ।’

त्यस्तै अहिले आफूले रक्षामन्त्रीको पनि जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै सिंहले भने, ‘भारतीय सेनामा गोरखा रेजिमेन्ट छ, जसले पटक–पटक शौऱ्य र पराक्रमको परिचय दिएको छ । त्यो गोरखा रेजिमेन्टको पनि यस्तै उद्घोष छ, ‘जय महाकाली, आयो गोरखाली ।’

यसअघि पनि भारतीय रक्षामन्त्री राजनाथ सिंहले विभिन्न सञ्चारमाध्यमसँगको साक्षात्कारमा लिपुलेकमा नेपालसँग उत्पन्न भएको सीमा विवाद वार्ताद्वारा नै हल गर्ने बताएका थिए ।

रक्षामन्त्री सिंहले नै गत वैशाख २६ गते नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेका थिए ।

त्यसलगत्तै नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत नेपाली भूमिमा आफ्ना सबै गतिविधि रोक्न भारतलाई आग्रह गरेको थियो । साथै नेपालका लागि भारतीय राजदूतलाई विनयमोहन क्वात्रालाई बोलाएर कूटनीतिक नोट दिएको थियो । नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा पनि सार्वजनिक गरेको छ । नयाँ नक्सामा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको करिब ३३५ वर्ग किलोमिटर जमिन समेटिएको छ ।

साथै लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्साअनुसारको निसान छाप परिवर्तनका लागि प्रतिनिधिसभाबाट सर्वसम्मतिले संविधान संशोधन गरिसकेको छ ।

प्रकाशित : असार १, २०७७ १४:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×