पुनर्जीवन

सास भइन्जेल आश त सबैलाई लाग्छ नै । बाँचिन्छ कि भन्ने झिनो आशा थियो मनमा । मान्छेलाई अन्तिम परेपछि नजानिँदो साहस एकाएक पैदा हुँदोरहेछ । जुन साहसले डर र त्रासलाई बिर्साइ कुनै उपायको बाटो देखाउने रहेछ ।
बीएन जोशी

जीवन जिउने गोरेटो लामो भएजस्तै अनेकन बाधा–अड्चनहरु पार गर्दै आज यस अवस्थामा प्रकृतिसँग लड्न बाध्य भयौँ । हूलमूलमा अर्तिले काम नगरेजस्तै आपत्मा भाग्यले पनि ठग्दोरहेछ । हुन त भाग्यलाई के दोष दिनु ? लगभग समाप्त भइसकेको थियो बाँच्ने आधार ।

पुनर्जीवन

सास भइन्जेल आश त सबैलाई लाग्छ नै । बाँचिन्छ कि भन्ने झिनो आशा थियो मनमा । मान्छेलाई अन्तिम परेपछि नजानिँदो साहस एकाएक पैदा हुँदोरहेछ । जुन साहसले डर र त्रासलाई बिर्साइ कुनै उपायको बाटो देखाउने रहेछ ।

“तिमीलाई पौडन आउँछ ?” मैले दीपकलाई सोधेँ ।

“आउँदैन त,” उनको जवाफमा जाँगर थिएन ।

“कत्ति पनि आउँदैन ?” अझै कराएँ ।

“अहँ कहिल्यै पौडेको छैन,” निख्रिए उनी ।

त्यत्तिकैमा मध्यसागरबाट एउटा नाउ पार गर्दै गरेको देख्यौँ । के–के न भएजस्तो दुवै जना चिच्यायौँ, धेरै चिच्यायौँ । करायौँ, गला फुट्ने गरी फलाक्यौँ । देखेर पनि नदेखेजस्तो गरी गए । अनि सुनेर पनि नसुनेझैँ गरी आफ्नै रफ्तारमा एकतार लागिरह्यो, लगिरह्यो । एकपछि अर्को सङ्कट थपिँदै थियो । बिस्तारै निराशा छाउँदै गयो । यस्तो लाग्थ्यो, जीवनका अन्तिम मोडहरुले थप पीडा पस्कँदै छ । सोच्ने शक्ति पनि अब त बिस्तारै शिथिल बनिरहेको भान हुन्थ्यो ।

दीपकले जे गर्छ, गर्छ । उसका लागि मेरो जीउ नै खतरामा पारिरहन सक्दिनथेँ । कुनै एउटा निर्णय त गर्नुपर्‍यो नि, त्यत्तिकै नाउमाथि झुन्डिएर बसेर हुनेवाला केही थिएन । हाम्रा लागि भनेर लिन आउने मानिस पनि कोही थिएन । त्यसैले मैले उसलाई यस पहाडको कुनाकुना ढुङ्गाहरुमा समात्दै पानीमा शरीर हल्का खियाउँदै अगाडि बढ्ने प्रस्ताव राखेँ । पानीदेखि डराउने उसले मेरो प्रस्तावलाई आफ्नो कमजोर मनस्थितिले स्वीकार्न सकेन ।

कताकता अब मलाई रिस उठ्न थाल्यो । यसो गरौँ हुँदैन, उसो गरौँ हुँदैन ।

“अब के गर्ने ? यहीँ बसेर मर्ने त ?” म निकै झर्किएँ ।

हेर्दाहेर्दै उसको अनुहार बिग्रन थाल्यो र आँसु बरबर्ती झार्‍यो । मैले सहन सकिनँ । उसले गर्दा मेरो साहस र उपायहरु निरीह बन्न थाल्यो । बिस्तारै बढ्दै गरेको उनको डाँको छोडाइले मलाई पनि रुवाइ छाड्यो । दुवै जना एकअर्काको अनुहार हेर्दै खूब रोयौँ । रुवाइको कुनै सीमा रहेन । रुँदारुँदै दीपक भन्दै थियो, “मैले अघि नै फर्किऊँ भन्दा मानेनौ, अब तिम्ले गर्दा मर्ने भएँ ।”

उसको चिन्ता र मप्रतिको आक्रोश स्वाभाविक थियो । ऊ मात्र मर्दै थिएन, म पनि त मर्दै थिएँ नि ! आखिर यहाँ यस घडीमा बाँच्नुको पनि कुनै अर्थ थिएन ।

हामी रोएको आवाज विशाल सागरले सुन्ने होइन । न त ती माथिका पहाड अनि जङ्गलले नै । व्यर्थ खेर गइरहेको समयमा न भाग्यले काम दिन्थ्यो, न त बुद्धिले ! कस्तो विडम्बना ! कस्तो उपायविहीन जिन्दगी ! अब त बरु सागरमा रेल्लिएर होमिनु पो आनन्द होलाजस्तो लाग्यो । बरु अघि नै बगाएको भए बगाएको बगायै हुने थियो । घरपरिवार अनि आफन्तहरुबारे धेरै बेर सोचेँ । यो नै जीवनको अन्तिम क्षण हो भन्ने लागेर ।

यहाँबाट बाँचेर जाने कुनै आधार देखिनँ मैले । सोचेँ, यसै मर्ने उसै मर्ने, खुट्टाले खियाएर हातले पहाडमा झुन्डिँदै जाऊँ, जहाँसम्म पुगिन्छ, पुगिन्छ । फेरि पनि मेरो यस सल्लाहले दीपकलाई कुनै साहस मिलेन । नुन त टन्न खाएकै थियो नि आँपसँग तर पनि नुन नखाएको कुखुराजस्तै झोक्राएर बसिरह्यो । उसको त्यो मुढावाला शरीरले मलाई त झन् अनिर्णयको बन्दीजस्तो पो बनायो । एक प्रकारको बोझ भयो, के गरौँ, कसो गरौँ ? यहाँबाट निस्कने एउटै उपाय भनेको त्यही थियो । उसले साथ दिन नसक्ने बताएपछि म थप तनावमा परेँ ।

कस्तो बेलामा दीपकलाई साथ लिएर आएछु हे भगवान् ! मरे पनि बाँचे पनि म एक्लै भएको भए त एउटा निष्कर्षका साथ अघि बढ्न सक्थेँ नि ! मेरो सोच्ने शक्ति पनि बिस्तारै हराउँदै गयो । विशाल सागर र डरलाग्दो पहाडको खोँचमा हामी निरीह बनेका छौँ । मैले अल्बर्ट आइन्सटाइनको भनाइ पनि सम्झिएँ, ज्ञानभन्दा कल्पनाको शक्ति बढी महफ्वको हुन्छ । तर, त्यसले पनि कुनै चमत्कार ल्याउन सकेन । ती सबै शब्द र विचारमा सीमित रहे । व्यवहारमा रत्तिभर लागू भएन ।

हुन पनि समय अनुकूल भए पो ती सब लागू हुन्थे र, अन्यथा विचार कुनै जादुको छडी पनि त बन्न सक्दैन । मेरो निराशामा परिणत भइरहेको सोचाइलाई भङ्ग गर्दै कताकता जेनेरेटरको जस्तो आवाजले केही उत्सुकता जगाउँछ । कतै नाउ त आउँदै छैन भनी आँखा तन्काउन थालेँ । आँसुले भिजेका आँखाहरु टाढा सागरको अन्तिम किनारसम्म बिछ्याइदिए ।

कताकता नाउकै आकृति मानसपटलमा घुमेको हो कि भनी आँखाको परेली पिलपिल गर्दै हेर्दै रहेँ । नजिकिँदै जाँदा चलेको नाउको स्वरुप राम्रै देखापर्‍यो । तर, अघिका जस्तै मध्य भागदेखि पुलुक्क हेरी मात्र आफ्नो यात्रा बढाइहाल्थ्यो । जुन जोगी आए पनि कानै चिरेको भनेजस्तै । नाउभरि दाउराहरु बोकी कुनै सोधखोजबिना आउँछन्, जान्छन् । कतिवटा आए, गए । अब त बोलाउन पनि झिँजो लाग्न थालिसकेको थियो । धैर्यको बाँध फुटिसकेकाले अब ठोस निर्णयका साथ केही गर्ने जमर्को कस्छु । तर, उही दीपक मेरो सामुन्ने देखा पर्छ । म स्वयम्लाई कसले दया गर्छ र म उसका लागि दया गरुँ ? अन्धाले अन्धालाई डोर्‍याउँदा के हालत होला ?

म आफैँ पलपल मरेर कसरी सहिरहूँ ? म कुनै दैवी शक्तिप्राप्त मानिस पनि होइन, जसले कुनै चमत्कार गरेर समस्याको हल गरोस् । म त एउटा आम मानिस, के नै गर्न सक्छु र आफ्नै भविष्यको कुनै टुङ्गो नभएको बेलामा । असाधारण र नाजुक अवस्थामा आदर्श र महान् बन्न पनि त सकिँदैन ।

टररर ! टररर ! नजिकै पल्लो कुनाको दरारबाट एक्कासि आएको आवाजले मेरो मृत आशालाई जीवित बनाइदियो ।

“ऊ अर्को नाउ आयो ।”

दीपक पछाडिबाट औँला ठड्याउँदै पल्लो दरारबाट निस्केको नाउ देखाउँदै उत्साहित बन्यो । नजिकै पछाडिको कुनापट्टि दरारबाट नाउ हुइँकिँदै आयो । त्यस नाउ भर्खरै दरारदेखि निस्किएकाले त्यति मध्य भागमा पुग्न भ्याएको थिएन । हामी बसेको नजिकै भएर जानुपर्ने हुनाले प्रस्टै देख्न सकिन्थ्यो र बोलाउँदा आवाज पनि सुन्न सक्थ्यो । दुवै जना चिच्याएर हात हल्याउँदै बोलाउन थाल्यौँ । त्यो अलिक वृद्धजस्तो देखिने व्यक्ति हाम्रो सीधा आइसकेपछि टक्क रोकियो ।

हामी चढेको नाउभन्दा उसको नाउ निकै ठूलो थियो । टन्न भरिएको लामालामा दाउरामाथि एउटा छ–सात वर्षजतिको बालक बसिरहेको हामीले प्रस्टै देख्यौँ । जेनेरेटर चलिरहेको थियो भररर, भररर आवाजका साथ । उसले नाउ रोकेर हामीलाई हेरिरह्यो । न अगाडि बढ्छ, न पछाडि, न हामीतिर नै ल्याउँछ । उसको र हाम्रो दूरी लगभग पचास मिटरजति मात्र रहेको थियो । हाम्रा इसाराहरुलाई बुझेर पनि हामीतिर आउने कुनै सङ्केत नदेखाएपछि थप विचलित बन्न पुग्यौँ ।

यति नजिक यसरी नाउ फेरि आउला भनेर पर्खंदा अब रात पर्ने निश्चित थियो । जति आए, सबै मध्य भागबाट देखे पनि नदेखेजस्तो गरी गए । त्यस वृद्ध व्यक्तिलाई अनेक अनुनयविनय गरिसक्यौँ । अझै पनि उसले कुनै प्रतिक्रिया नदेखाएपछि मैले लगभग धैर्य गुमाइसकेको थिएँ । अब म अडिरहन नसक्ने स्पष्ट पारेँ दीपकलाई ।

“म अब हामफालेँ हेर दीपक । जे पर्छ, पर्छ ।”

उसले किन पो जान दिन्थ्यो र ! उल्टै रोक्ने कोसिस गर्दै थियो । उसलाई बढी त आफ्नै चिन्ता थियो ।

“नजाऊ यार सक्दैनौ । यस्तो छाल उर्लेको छ । अनि म एक्लै ...?”

ऊ फेरि रुन थाल्यो । मेरो मृत्युभन्दा पनि उसलाई आफू एक्लिन्छु भन्ने ठूलो चिन्ता थियो । अब उसको रुवाइले मलाई कुनै प्रभाव पार्नेवाला थिएन । किनभने त्योभन्दा उपयुक्त मौका फेरि आउला भन्ने मैले ठानिनँ । त्यसैले मैले जसरी पनि हामफाल्ने निर्णय गरिसकेको थिएँ ।

“यसै मर्ने उसै मर्ने, म त अब लागेँ । तिमी पनि हाम्फाल्ने भए हिँड् ।”

मेरो यस्तो निर्णयले उसको मनमा झनै एक्लिने चोट परेछ क्यारे । मलाई खुट्टामा समात्न आइपुग्यो, नजाऊ यार भन्दै ! दीपकको भक्कानिएको कारुणिक अवस्थाले मलाई क्षणभर रोक्ने प्रयास गरे पनि मैले मुटु दह्रो गरी कस्दै थिएँ । मान्छेले अन्तिम परेपछि जे पनि गर्छ भन्थे, हो रहेछ भन्ने लाग्यो । मैले यतिबेला संसार नै बिर्सन पुगेँ ।

मेरो लक्ष्य भनेको उही वृद्ध व्यक्तिको नाउ थियो । उसले नाउलाई उस्तै रुपमा खडा राखिरहेको थियो । उसले हामी नजिक आउने प्रयत्न नै गरेन । त्यसैले मैले सहनै सकिनँ र दीपकको हात छुटाउँदै नाउदेखि समुद्रमा हामफालेर रेल्लिन पुगेँ । छाल माथिबाट हेर्दा जति कडा देखिन्थ्यो, त्योभन्दा चौगुना बढी पाएँ मैले । सोचेजस्तो केही भएन । संसारलाई बिर्सन पुगेँ, कसैको याद आएन । किनभने म छालसँग सकीनसकी पौँठेजोरी खेल्दै थिएँ ।

ताल, तलाउ र गाउँघरतिरको खोलाहरुमा पौडेको व्यक्ति म यत्रो सागरमा रेल्लिँदा के पो उत्रन सक्थेँ र ? तै कोसिस अन्तिम समयसम्म पनि जारी राखेँ, जो राख्नु नै थियो । घरिघरि मलाई पानीभित्रै विलीन बनाउँथ्यो । आँखा चिम्लेर, मुख थुनेर बाकटी कति मारेँ कति ? मैले कसैलाई देखिनँ । डुबेर पुन: पानीमाथि उत्रिन्थेँ । नाउलाई भेट्नु नै पुनर्जीवन प्राप्त हुनु ठानेको थिएँ । त्यो नै मेरो अन्तिम लक्ष्य र बाँच्ने आधार थियो । त्यसैले एक थोपा सास भइन्जेल त्यस नाउलाई भेट्न प्रयत्न गर्दै थिएँ ।

जतिबेला पानीको छालबाट उछिट्टिएँ, त्यतिबेला त्यस नाउलाई माथि देखेँ र म तलतल गर्दै गइरहेको आफैँलाई पाएँ । सफलताको साटो विफलतातर्फ उन्मुख भइरहेको महसुस भयो । मेरा दुइटै हात लत्र्याकलुत्रुक भए । शरीर पूरै गलिसकेकाले त्यस नाउदेखि म झन् बिस्तारै टाढिँदै थिएँ । अब मेरो जस्तोसुकै खियाइले पनि नाउलाई भेट्न गाह्रो थियो । पहिले तेर्सो सीधा रहेको नाउ र हामीबीचको दूरी अब एक सय चालीस डिग्रीको कोणजत्तिकै ढल्किसकेकाले मेरो बाँच्ने आशामा तुषारापात हुँदै थियो । मेरो दिन सकिएकै रहेछ भन्ने लाग्यो । हात चल्ने क्रम पनि घरिघरि बन्द हुन थाल्यो । यस्तो बेलामा म झनै तलतिर बग्न पुगेँ ।

अचानक त्यो खडा नाउ बिस्तारै सररर बगेर तल मेरो सामुन्ने देखा पर्‍यो, थाकेका मेरा हातहरु फेरि जबर्जस्ती चल्न थाले । तिर्मिराइसकेका मेरा आँखा पुन: चलायमान बने । सङ्घर्ष फेरि जारी रह्यो । त्यस नाउभरि काठ भएकाले त्यसैको छेउमा समात्न पुगेँ। उक्लिन गाह्रो भयो मलाई, किनभने मेरा हातहरु अति नै थाकेकाले तीन–चारपटक प्रयास गर्दा समेत उक्लन सकिनँ । मेरो यस्तो हालत देखेपछि वृद्ध व्यक्तिले आफ्नो सहयोगी हात मतिर बढायो । मेरो इहलीला सकिन लागेको देखेर बल्ल उसलाई दया लागेछ क्यारे ! उसमा मैले मान्छे होइन, भगवान् देखेँ । सकीनसकी पानीमा झाँगिएको म, बल्लतल्ल उक्लेर तैरिएँ ।

काठको चाङमाथि चढेर थचक्क बसेँ । खै कसलाई हो, नीलो आकाशतिर हेरेर मनमनै धन्यवाद दिएँ । कसलाई हो कसलाई, म स्वयंलाई थाहा भएन । भयंकर ठूलो युद्ध जितेसरि भयो मलाई । एउटा संसार त्यागेर अर्कै लोकमा पुनर्जन्म लिन पुगेजस्तै भयो ।

-शुक्रबार सार्वजनिक भएको बीएन जोशीको पुस्तक 'श्रमाटन'बाट । पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।

प्रकाशित : मंसिर १३, २०७७ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?