कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘चञ्‍चल मनको ओखती हो किताब’

जीवा लामिछानेको नयाँ पुस्तक हो– ‘देश देशावर’ । यसमा लामिछानेले देश–विदेश घुम्दा अनुभूत गरेका रहस्यमयी र जादुमयी कथा लेखेका छन् ।

‘चञ्‍चल मनको ओखती हो किताब’

देश–देशावरका नौला संसार र नयाँ सूचना उनको किताबमा वर्णन गरिएको छ । नयाँ किताब छापिएको अवसरमा उनीसँग गरिएको किताब–वार्ता :

संसारै घुमिसक्नुभयो । त्यही अनुभवका आधारमा दुईवटा किताब लेख्नुभयो । एउटै किताब काफी थिएन र ?

पहिलो किताब रहरमा लेखेको थिएँ । लेखकीय दायित्वबाट निरपेक्ष थिएँ । दोस्रोमा चाहिँ केही मिहिनेत पनि गरेको छु भन्ने लागेर आनन्दको अनुभूति भएको छ ।

घुम्नु र पढ्नुमा समानता र भिन्नता के रहेछन् ?

पुस्तक पढ्नु र यात्रा गर्नु दुवै ज्ञानबर्द्धक कुरा हुन् । पढ्दा मन–मस्तिष्क कल्पनाको एउटा दुनियाँमा पुग्छ । त्यो भर्च्युअल घुमाइ भयो । तर, यात्रा गर्दा भने तपाईं पुगेको संसारसँग प्रत्यक्ष साक्षात्कार हुन्छ । यात्राले तपाईंको सोच्ने क्षितिजलाई फराकिलो बनाइदिन्छ । मोरक्कोका यात्री इबन बत्तुताले भनेका पनि छन्— यात्राले तिमीलाई अवाक् बनाउँछ, तर यात्रापछि त्यसले तिमीलाई कथावाचकमा परिणत गरिदिन्छ ।

तपाईंको विचारमा मान्छेले घुम्नु–पढ्नु किन पर्छ ?

जसरी शारीरिक तन्दुरुस्तीका लागि व्यायाम चाहिन्छ, त्यसरी नै मस्तिष्कलाई तन्दुरुस्त राख्ने व्यायाम अध्ययन हो । चञ्चल मनको ओखती हो किताब । पढ्ने आदत भएका मानिसमा विस्मृतिजन्य रोग लाग्ने सम्भावना कम हुन्छ भन्ने तथ्य पनि सार्वजनिक छ ।

मानिस स्वभावैले फिरन्ते प्राणी हो । हाम्रा पुर्खा अफ्रिका हुँदै संसारभरि छरिए । हामी आफैं पनि अहिले नेपालबाट संसारभरि फिजिँदै छौँ । सायद मानिसले प्रगति गर्नुमा घुमफिरको स्वभाव पनि एउटा कारण हुन सक्छ । नयाँ ठाउँ घुम्दा दैनिकीको तनावबाट मुक्ति मिल्छ भनिन्छ । पश्चिमी मुलुकहरूमा सालभरि काम गरेपछि अधिकांशको अनिवार्यझैँ महिना दिन जति छुट्टी मिलाएर घुम्ने जीवनशैली नै छ ।

हालसालै पढेको कुनै किताब ?

सुजीव शाक्यको ‘अनलिसिङ द बज्र’ केही दिनअघि पढेँ । नेपालले हासिल गरेका आजसम्मका उपलब्धि, अवरोध र सम्भावनालाई राम्रोसँग विश्लेषण गरिएको छ यसमा ।

किताब असाध्यै मन पर्‍यो भने देखिने ठाउँमा सजाउनुहुन्छ या सिरानीछेउ राख्नुहुन्छ ?

मन परेको किताब दराजको देखिने ठाउँमा राख्छु ताकि मन लाग्दा कुनै पनि बेला त्यसलाई फेरि झिकेर पढ्न सकियोस् ।

नेपाली साहित्यमा प्रकाशित पछिल्ला आख्यान/गैरआख्यानमाथि तपाईंको खास टिप्पणी सुनाउनुस् न !

म साहित्यमा रुचि राख्ने सामान्य पाठक मात्रै भएकाले यसमा टिप्पणी गर्ने मेरो हैसियत छैन । तैपनि नेपाली साहित्यमा धेरैथरीका वादहरूको प्रयोग भएको देखेको छु । यो राम्रो सङ्केत हो ।

तपाईंले पढेका किताबमध्ये पाठकलाई कस्ता किताब रिफर गर्न चाहनुहुन्छ ?

यो आ–आफ्नो रुचिको विषय हो । मलाई मन परेका पुस्तक अरूलाई सामान्य लाग्न सक्छन् । त्यसैले आफूलाई रूचि लागेको किताबचाहिँ पढ्न नछुटाउनु भन्न चाहन्छु ।

नेपालीमा साहित्यको स्तर कस्तो लाग्छ ? कत्तिको प्रभावशाली छ नेपाली वाङ्मय ?

बोलीचाली र श्रुति परम्परामा नेपाली भाषाको इतिहास पुरानो भए पनि नेपाली साहित्य लेखन त्यति पुरानो होइन । हाम्रोजस्तो पाठक कम भएको देशमा अग्रजहरूको साहित्यिक उचाइ हाम्रा लागि निकै गर्वको बिषय हो । अहिलेको विश्वग्राममा नेपाली लेखकहरू विश्व साहित्यबाट प्रभावित भएका देखिन्छन् र त्यही स्तरको मौलिक सिर्जना पनि गरिरहेका छन् । यो खुसीको कुरा हो ।

नेपाली साहित्य पनि विभिन्न प्रयोग र बिनिर्माण हुँदै उत्कृष्टताको मार्गमा यात्रारत छ । केही दिनअघि मैले मनु ब्राजाकीको ‘तिम्री स्वास्नी र म’ कथासंग्रह दोहोर्‍याएर पढें । उनका कथाहरू आन्तोन चेखभका कथासँग तुलना गर्नलायक छन् ।

नेपाली पुस्तकको अन्तर्राष्ट्रियकरण गर्न मुख्य के कुरामा ध्यान दिनु आवश्यक देख्नुहुन्छ ?

स्तरीय अनुवाद हुने हो भने हाम्रा कैयौं विषयवस्तु गैरनेपालीभाषीलाई रुचिकर हुने मेरो विश्वास छ । स्तरीय अनुवाद भन्नाले पाठको भाव यथावत् रहनुपर्छ र जुन भाषामा अनूदित हो ती भाषीहरूले मेरै भाषामा लेखिएको भन्ने अनुभूत गर्न सक्नुपर्छ ।

तपाईंलाई मन परेको ‘बेस्ट बुक’, बारम्बार पढेका र सर्वाधिक मन पर्ने लेखक को हुन् ?

मलाई मन पर्ने लेखक र कृति धेरै छन् । सबैको नाउँ यहाँ उल्लेख गर्न सम्भव नहोला । तैपनि भन्नैपर्दा विश्वेश्वरप्रसाद कोइरालाको ‘सुम्निमा’, धच गोतामेको ‘उत्तोरत्तर’, शंकर लामिछानेको ‘एब्स्ट्राक्ट चिन्तन प्याज’, पर्ल एस वकको ‘द गुड अर्थ’ र हर्मन हेस्सेको ‘सिद्धार्थ’ मैले दोहोर्‍याएर मात्रै होइन निकैपटक पढेको छु ।

अरू मन पर्ने लेखकहरूमा पारिजात, डा. ध्रुवचन्द्र गौतम, अमर न्यौपाने, कृष्ण धरावासी, इन्द्रबहादुर राई आदि हुन् । खगेन्द्र संग्रौलाको शब्दचयन र शैली निकै मन पर्छ । हिन्दीमा हरिवंश राय बच्चन मन पर्छन् । खुशवन्त सिंह अर्का प्रिय लेखक हुन् । युवल नोआ हरारीका कृति पढिसकेपछि उनीबाट पनि निकै प्रभावित भएको छु ।

किशोरावस्थामा घर वा स्कुलमा कुनै पुस्तकालय थियो ? थियो भने कस्ताखाले किताब पाइन्थे ?

त्यो बेला त्यस्तो सुविधा थिएन । सानो छँदा बाको संग्रहमा रहेका भागवत्गीता, महाभारत, रामायण, गुणरत्नमाला, उपदेशमञ्जरी आदि पढ्ने गर्थें । ४ कक्षामा छँदा गर्मीको छुट्टीमा महाभारत कथा पूरै पढेको थिएँ । कक्षा सातसम्म गाउँकै बिद्यालयमा पढें । त्योबेला त्यहाँ पुस्तकालय हुने कुरै भएन ।

हाइस्कुल पढ्न टाँडी आएपछि भने केही साहित्यिक पुस्तक पढ्ने अवसर मिल्यो । तर, त्यहाँ पनि पठनीय पुस्तक सीमित थिए । पुस्तक पढ्ने तृष्णा भने ममा सानैदेखि निकै थियो । त्यसैले पाएजत्ति जुनसुकै किताब पनि म उतिबेला पढ्ने गर्थें । कतिसम्म भने चना–चटपटे खाइसकेपछिको सानो टुक्रा कागज पनि नपढीकन फ्याँकेको मलाई सम्झना छैन ।

किताब छान्न पूर्वअध्ययनले कत्तिको काम गर्छ ?

निकै मद्दत गर्छ ।

कस्ता किताब जीवनमा उपयोगी भए ?

पुस्तक पढेकै आधारमा त्यसअनुरूप जीवन जिउने भन्ने कुरा त व्यावहारिक हुन्छजस्तो मलाई लाग्दैन । तर, त्यसले केही हदसम्म तपाईंको जीवनमा प्रभाव भने अवश्य पारेको हुन्छ ।

तपाईंसँग कति किताब छन् घरमा ? कुन विधाका पुस्तक संग्रहमा बढी छन् ?

मस्कोस्थित घरको एक तलालाई मैले सानो पुस्तकालय नै बनाएको छु । त्यहाँ रुसी, नेपाली र अंग्रेजी भाषामा लेखिएका पुस्तकहरूको राम्रै संग्रह छ । काठमाडौं र फ्रयांकफर्टको घरमा पनि केही पुस्तक संगृहीत छन् । मेरो सङ्ग्रहमा धेरैजसो गैरआख्यानका कृति छन् ।

पढ्नका लागि समय कसरी निकाल्नुहुन्छ ? तपाईंको दैनिकी त असाध्यै व्यस्त होला !

प्रायः म बेलुका सुत्नुअघि र सप्ताहान्तमा घरमा हुँदा पढ्ने गर्छु । यात्रामा पनि पुस्तक सधैं मेरो साथमा हुन्छ ।

प्रकाशित : मंसिर १३, २०७७ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?