बाटो बिराएकाहरु
बाटो देखाइरहेछन् बाटो बिराएकाहरु
हिँडाउँदै मानिसहरुलाई
फोहोरले चुलिँदै गरेका पहाडहरुमाथि ।
जो गन्तव्य थियो
अब त्यो गन्तव्यको मानचित्र हराएको छ
जो उचाइ थियो
त्यो उचाइको सिउर निहुरिएको छ
जो आवाज थियो
त्यो आवाजको गर्जन ओइलिएको छ
जो कविता गाइन्थ्यो एउटै लयमा
त्यो कविताको सार हराएको छ
आगोको जो ज्वाला थियो
जसले तातो र उज्यालो दिन्थ्यो
त्यो अब निभिसकेको छ
अक्कल गुमाएर बीच बाटोमै
दिग्भ्रमित भए जस्तै
एउटा दिशाहीन यात्रामा
हिँडाइरहेछन् मानिसहरुलाई
बाटो बिराएकाहरु ।
इतिहासको एउटा अर्को भूल दोहोर्याउँदै
बाटो हिँडाइरहेछन् बाटो बिराएकाहरु
आफैले गरेका गर्भाधानहरुमाथि
स्वयं बलात्कार गर्दै
आफैले स्थापना गरेका स्तम्भहर माथि प्रहार गर्दै
बाटो देखाइरहेछन् बाटो बिराएकाहरु
र, म जे देखिरहेछु त्यो देख्न चाहन्नँ
म जेसुनिरहेछु त्यो सुन्न चाहन्नँ
एउटा अश्लील रटानको सारंगी गुञ्जिरहेछ मेरो कानभरि
त्यहाँ अब कुनै मिसन रहेन
कुनै आदर्श रहेन
बित्थामा
यो अर्थहीन यात्राबाट अघाएको छु
अब बरालिन पुग्यो
अब अल्मलिन पुग्यो ।
यो अब एउटा अधुरो कथाझैँ भयो
अपुरो यात्राझैँ भयो
तुहिएको गर्भ जस्तो
आमाको पीडा भयो
सपनाको शब्दजाल बुनेर के हुन्छ
जब देखिँदैन त्यो आकारको आकार
त्यो उचाइको के भर हुन्छ
जब त्यसको आधार हुन्छ कम्जोर
इतिहासको पाठ पढेर के हुन्छ
जब त्यसले गन्तव्य बनाउँदैन साकार ।
प्रकाशित : मंसिर १३, २०७७ १३:४७