१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

विनय कसजूबारे तीन पुस्तक सार्वजनिक

क्रान्ति पाण्डे

काठमाडौँ — बालसाहित्य सर्जक तथा सूचना विज्ञ विनय कसजूको प्रथम वार्षिकीका अवसरमा बुधबार तीनवटा पुस्तक सार्वजनिक भएका छन् ।

विनय कसजूबारे तीन पुस्तक सार्वजनिक

सार्वजनिक पुस्तकहरुमा बालसाहित्य सर्जक प्रमोद प्रधानले सम्पादन गरेको ‘स्मृतिमा विनय कसजू’, बालसाहित्य सर्जक विजयराज आर्चायले लेखेको ‘विनयशील विनय’ र पुष्करराज भट्टले सम्पादन गरेको ‘विनय कसजूका लघुकथा सिर्जना र विवेचना’ रहेका छन् । ‘स्मृतिमा विनय कसजू’मा १७ बालसाहित्यकारले विनय कसजूबारे आ–आफ्ना सम्झना लेखेका छन् ‘विनयशील विनय’ कसजूबारेको संक्षिप्त जीवनी हो । ‘विनय कसजूका लघुकथा सिर्जना र विवेचना’ मा कसजूका लघुकथासहित विवेचना समावेश छन् ।

‘स्मृतिमा विनय कसजू’ र ‘विनय कसजूका लघुकथा सिर्जना र विवेचना’ बालबाङ्मय तथा अनुसन्धान प्रतिष्ठानले प्रकाशन गरेको हो भने ‘विनयशील विनय’लाई विवेक सिर्जनशिल प्रकाशनले बजारमा ल्याएको हो ।

सानेपास्थित कसजू निवासमा आयोजित कसजूको स्मृति सभा तथा पुस्तक विमोचन कार्यक्रममा सहभागीहरु भर्चुअल माध्यमबाट पनि जोडिएका थिए । कार्यक्रममा अतिथि तथा सहभागीहरुले बालसाहित्य र पत्रकारितामा कसजूको योगदानबारे धारणा राखेका थिए । कार्यक्रममा विनय कसजूको सम्झनामा बालसाहित्य पुरस्कारका लागि अक्षयकोषको स्थापना गरिने पनि श्रीमती गंगादेवी कसजूले जानकारी गराइन् ।

यसका साथै कसजूको सम्झनामा स्थापना भएको 'विनय कसजू ग्रामीण पत्रकारिता पुरस्कार' पाल्पाका सञ्चारकर्मी राजेशकुमार अर्याललाई दिइने विनय कसजू स्मृति प्रतिष्ठानले जनाएको छ । अर्याल सामुदायिक रेडियो मदनपोखरा पाल्पाका स्टेसन मेनेजर एवं नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष हुन् ।

प्रकाशित : मंसिर १०, २०७७ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?