१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गौरादहको बजारैमा...

सीताराम ताजपुरीया भन्छन् : गाउँको मायाले काठमाडौंमा बस्नै दिएन’, उनी भन्दै थिए,‘जस (गौरादह) ले चिनायो, त्यसलाई माया मार्न कहाँ मिल्छ ?’
‘स्कुल पढ्दाखेरी एउटी युवतीसँग प्रेम बस्यो । तर, झांगिन नपाउँदै मऱ्यो ।’ अन्तत: ती युवतीको सम्झनामा सीतारामले गीत लेखे । जुन गीत लोकप्रियताको चुली नाघ्यो । ‘रेडियोमा त्यो गीत बज्दै गर्दा अनायासै पुराना दिनहरुको सम्झना आइहाल्छ,’ सीताराम भन्छन् ।
पर्वत पाेर्तेल

एकताका नेपाली लोक भाकामा चर्चित थियो, ‘गौरादहको बजारैमा...’ । ०३४ सालमा रेडियो नेपालमा रेकर्डिङ भएको यो भाका अहिले पनि उस्तै गुन्जिन्छ । तर, नयाँ पुस्ता यो गीतबारे बेखबर छन् ।  न गीत सुनेका छन् । नत गायकको नाम नै थाहा छ ।

गौरादहको बजारैमा...

एकपटक एउटा सांगीतिक कार्यक्रममा यो गीतबारे उद्घोषकले दर्शकको प्रतिक्रिया लिएका थिए, ‘गौरादहको बजारै’मा कसले गाएको हो ? दर्शकदीर्घाबाट एकैचोटी गुन्जिएको थियो, खड्ग ओलीले । माहोल हाँसोले गुन्जियो । सीताराम भन्छन्,‘नयाँ पुस्ताले मलाई चिन्दो रैनछन् भन्ने लाग्यो ।’

हुन त नयाँ पुस्ताका गायक संगीतकारसँग उनको पनि जान पहिचान कमै छ । गीत सुन्छन् । तर, गायकको नाम खुट्याउन गाह्रो पर्छ । झापाका प्रमोद खरेल, हिमाल सागर आदि सेलेब्रिटी गायकलाई मज्जाले चिन्छन् सीताराम । थप्छन्,‘तर, मलाई उहाँहरुले चिन्नु हुन्छ, हुन्न थाहा छैन ।’

गायनमार्फत जिल्लाको पहिचान दिलाउन सीतारामको अग्रणी भूमिका छ । सम्भवत: चर्चामा आएका आदिवासी समुदायका पहिलो गायक हुन् सीताराम । भलै पछिल्लो समय बलराम राजवंशी पनि चर्चामै छन् । मेलिना राईसँग उनले गाएको ‘जेल पनि सहुँला’ बोलको गीत निक्कै चल्यो ।

खासमा स्कुले जीवनमा गाउँले युवतीसँगको प्रेम र त्यसपछिको वियोगले जन्माएको थियो, ‘गौरादहको बजारैमा’ । करिब ६० वसन्त छिचोल्दै गर्दा गायक सीताराम ताजपुरिया घरको सिकुवामा बसेर तन्नेरी समय सम्झिरहेका छन् । उनी नोस्टाल्जिक बन्छन्, ‘स्कुल पढ्दाखेरी एउटी युवतीसँग प्रेम बस्यो । तर, झांगिन नपाउँदै मऱ्यो ।’ अन्तत: ती युवतीको सम्झनामा सीतारामले गीत लेखे । जुन गीत लोकप्रियताको चुली नाघ्यो । ‘रेडियोमा त्यो गीत बज्दै गर्दा अनायासै पुराना दिनहरुको सम्झना आइहाल्छ,’ सीताराम भन्छन् ।

*****

सीतारामलाई गायक बन्ने सपनाले काठमाडौंसम्म डोऱ्यायो । त्यस बेला अहिलेको कोरोनाझैं औलो (मलेरिया) को महामारी व्याप्त थियो । चोरऔंला देखाएर ‘ऊ त्यहाँ पर्छ मधेस’ भन्न सम्म डराउने समय थियो । त्यो वबला कहावत नै थियो, ‘मधेसतिर औला सोझ्यायो भने पनि कुहिएर झर्छ ।’ त्यो महामारीको समय गौरादहमा औलोसँग पौँठेजारी गर्दै थियो, ताजपुरिया परिवार । त्यही कहरका बीच जन्मिएका थिए, सीताराम ।

कालान्तरमा औलोको महामारी मथ्थर बन्दै गयो । त्यसपछि जीवन शर्माको गीत जस्तै पहाडवाट मधेस बसाइँ हिड्नेको ताँती सुरु भयो । मधेसका घनाजंगलहरु धमाधम फँडानी भए । सीताराम जस्ता आदिवासी समुदाय जमिन खोसिँदै गयो ।

ताजपुरिया नेपालको सुदूरपूर्व दक्षिण तराईको समतल भू–भागमा परापूर्वकालदेखि बसोबास गर्दै आएको समुदाय हो । मूलत: झापा र मोरङमा यो समुदायको बसोबास छ । २०६८ सालको जनगणना अनुसार यो समुदायको जनसंख्या करिब १९ हजार मात्रै छ । ‘हाम्रो आफ्नै संस्कार, संस्कृति, भाषा भेष र रितिरिवाज छ । मातृभाषा ताजपुरी हो’, सीताराम भन्छन्,‘राजवंशी समुदायसँग कतिपय कुरा मिल्छ तर हामी राजवंशीभन्दा भिन्न छौं ।’

आदिवासी समुदायमा दु:ख गर्दै हुर्किएका सीतारामलाई गायक बन्न मन लाग्यो । खासमा सीतारामको ‘जिन’ मै थियो, गाना बजाना । उनका हजुरबा मातृभाषा ताजपुरीमा मज्जाले गाउँथे । तानपुराको मिठो धुन सुनाउँथे । बुवाले पनि त्यही बाटो पछ्याए । सीतारामले पनि बुवाको पदचाप पछ््याए । तर, त्यो बेला उनीहरुको गायन सानो टोलमा मात्रै सीमित हुन्थ्यो । काठमाडौं त ‘सपनाको सहर’ न थियो । कालान्तरमा सीताराम काठमाडौं पुगे । तर, पहुँचले हैन क्षमताले । ‘खासमा सपनाले मलाई काठमान्डू पुऱ्यायो’, हसिँलो र मिजासिलो स्वाभावका सीतारामले सुनाए, ‘त्यो सपनाले गायक बनायो ।’

*****

बाजे, बुवाले गाएको सुन्थे सीताराम । घरायसी परिवेशले उनलाई गाउन प्रेरित गऱ्यो । गाउने मन भएर मात्रै हुनेवाला केही थिएन । गायक बन्न संघर्षका धेरै जंघार तर्नु त छँदै थियो । गायक बनाउने एउटै मात्रै विकल्प थियो, रेडियो नेपाल । अहिले जस्तो रियालिटी शोहरु हुन्थ्यो भने सीतारामलाई यति सकस पक्कै हुने थिएन ।

रेडियो नेपालबाट गीतहरु सुन्थे । रेडियो नेपालसम्म पुगेर कसरी गीत गाउने ? भन्ने कुनै उपाय भने थिएन । स्कुलमा हुने सानातिना कार्यक्रम, गाउँमा हुने धार्मिक, सांस्कृतिक कार्जेहरुमा गाउँदै हिँड्थे । उनलाई उचाल्ने धेरै थिए । सँगै थिए निरास पार्नेहरु पनि । २०३३ सालताका रेडियो नेपालमा लोक र आधुनिक गीतको स्वर परीक्षा खुलेको सूचना पाए । रेडियोमा गाउँने हुटहुटी भयो । नजिकका साथीहरुले उकासे । झन् उत्साहित बने ।

आदिवासी त्यसमाथि विपन्न सीतारामलाई काठमाडौं पुगेर रेडियोमा गाउनु कम चुनौती थिएन । पैसा थिएन । स्वर परीक्षामा सहभागी बन्न तत्कालीन पञ्चायतको सिफारिस अनिवार्य थियो । गौरादह गाउँ पञ्चायतबाट सिफारिस बनाए । सँगै पञ्चायतले १ सय २५ रुपैयाँ आर्थिक सहयोग पनि गऱ्यो । उनले अर्को जुक्ति लगाए । अञ्चलाधीश र प्रमुख जिल्ला अधिकारीसँग भेटेर बिन्ती गर्ने ।

पूर्व–पश्चिम राजमार्ग भर्खर बनेको थियो । गौरादहवाट थोत्रो गाडी चढेर सदरमुकाम चन्द्रगढी पुगे । तत्कालीन सीडीओ दानबहादुर शाहीलाई भेटे । सीडीओले अञ्चलाधीश लीलाराज विष्टसँग पनि भेट गराए । सीडीओले गाउन लगाए । कार्यालय कक्षभित्रै टेबल ठोक्दै गाइदिए । दुवैले गीत सुनेपछि भने,‘केटाको स्वर त गज्जब छ त ।’

त्यसपछि सिफारिससँगै १२५ रुपैयाँको चेक पनि काटिदिए । उता घरमा देवर गायक बन्न काठमाडौं जाने कुराले भाउजू उत्साहित थिइन् । उनले गाउँघरबाट ५२ रुपैयाँ जोहो गरेर ल्याइछिन् । तब उनको साथमा ३ सय २ रुपैयाँ भयो । त्यो बोकेर सीताराम काठमाडौं उक्लिए ।

‘भाउजूले पैसासँगै चिउरा, भूजा(मुरै) पनि झोलामा हालिदिनुभयो । एउटा थोत्रो खास्टो पनि थियो,’ सीतारामले सपना जस्ता ती दिन सम्झिए, ‘त्यसबेला काठमाडांैको भाडा ७५ रुपैयाँ थियो । भनसुन गर्दा ५० मा लगिदियो ।’

नाइट बसमा चढेका उनी बिहानै रत्नपार्क ओर्लिए । निक्कै दिन रत्नपार्क–सिंहदरबार चहारे । रत्नपार्कको खुला आकासमा कैयौं रात भोकै काटे ।

एक दिन रेडियो नेपालको कार्यालय छिर्न लागेका थिए । गायक राम थापासँग अचानक भेट भयो । थापाले सोधेछन्, ‘तिमी कहाँबाट आएको ?,’ सीतारामले झापाबाट भनेपछि उनले परीक्षाको बन्दोबस्त मिलाइदिएछन् ।

सीतारामले आधुनिक र लोक दुवै भाकामा परीक्षा दिए । रेडियो नेपालको कार्यालयमै पहिलो पटक देखेका थिए, त्यो समयका चर्चित गायक तारादेवी, नातीकाजी र शिवशंकरहरुलाई ।

परीक्षापछि नतिजा आउन करिब १५ दिन जति लाग्यो । त्यो समयमा उनले एउटा कर्मचारीको घरमा भाँडा माझेँ । जुठाभाँडा माझ्ँदा माझ्ँदै एक दिन नतिजा आयो । उनी लोक र आधुनिक दुवै विधामा सफल भए ।

स्वर परीक्षा पास भएपछि मातृभाषामा पहिलो गीत रेकर्ड गराए । करिब ६ महिनापछि मात्रै उनले नेपाली भाषामा गीत रेकर्ड गर्ने मौका पाए । जुन गीत अहिले पनि उत्तिकै लोकप्रिय छ ‘गौरादहको बजारमा ।’

गीत रेकर्डपछि सीताराम गाउँ फर्किए । सीताराम गायक बनेको हल्लाले गाउँ पिटिसकेको थियो । गाउँलेको मायाले उनलाई पुन: काठमाडौं फर्कायो । २०३९ साल जेठ २ मा रेडियो नेपालमा उनको पहिलो नियुक्ति भयो मुखिया पदमा । सुरुमा करार हुँदै स्थायी नियुक्ति पाएका ताजपुरीयाले विभिन्न पद सम्हाल्दै रेडियो नेपालबाट ‘प्रतिष्ठित गायन अधिकृत’ तहबाट करिव पाँच वर्षअघि अवकास पाए । अहिले उनी पुन: गाउँ फर्किएका छन् । ‘गाउँको मायाले काठमाडौंमा बस्नै दिएन’, उनी भन्दै थिए,‘जस (गौरादह) ले चिनायो, त्यसलाई माया मार्न कहाँ मिल्छ ?’

गौरादह चोकबाट करिब एक किलोमिटर दक्षिण लागेपछि सडक किनारमै सीतारामको एकतले पक्की घर छ । त्यो घर नभएर संग्राहलय जस्तो लाग्छ । घर छिर्ने वाटैमा एउटा होडिङ बोर्ड छ । जहाँ लेखिएको छ, ‘राष्ट्रिय लोक गायक सीताराम ताजपुरिया चोक ।’ घरको बार्दलीमा त उनले गीतै खोपेका छन्, ‘गौरादहको बजारैमा ।’

करिब साढे तीन दशकसम्म रेडियो नेपालमा बिताएका सीतारामले यो अवधिमा मातृभाषासहित २ सय बढी लोक र आधुनिक गीत गाए । अवकास जीवनमा पनि उनी चुप लागेर बसेका छैनन् । पूर्वका विभिन्न सांगीतिक कार्यक्रमहरुमा बाक्लै बोलावट हुन्छ । जान्छन्, गाउँछन् । कोरोना संक्रमणपछि चाहिँ उनी घरबाट हत्तपत्त बाहिर निस्किएका छैनन् । बेला–बेला नयाँ गीत लेख्छन् । नयाँ संगीत सिर्जना गर्छन् । नयाँ पुस्तालाई संगीत पनि सिकाउन भ्याउँछन् । ‘मेरो सानैदेखिको स्वाभाव नै चकचके खालको छ, चुप लागेर त बस्नै सक्दिनँ’, बिसौनीमा उनले आफ्नो अर्को चर्चित गीत गुनगुनाए :

चिटको सारी चौबन्दी चोलीमा

मोहनी त्यो लजालु बोलीमा

चुल्ठी कपालमा

झम्के फूली नाकैमा, यार्लिङ कानैमा ।

प्रकाशित : मंसिर ६, २०७७ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?