१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

शीत आँगनमै छ

नारायण रेग्मी

लौकिक दुनियाँको घना जंगलमा
उम्रिनेहरूलाई
हुर्कन र बढ्न कहॉ सजिलो छ र?

शीत आँगनमै छ

ठूलाले माथिबाट

सानाले तलबाट

अनि आफू जस्तैले दायाँ बायॉबाट

घोच्छन्, पेल्छन् र हल्लाउँछन्

जरै दुख्ने गरी।


तर,

दुख्दैमा हराउने र भाग्ने छुट पनि त छैन

जरा झन् फैलाउनु छ

राप र तापसँग खेल्दै

शीतका थोपा झेल्दै

यही लोकमा

उसले उहिले सुनाएका

रंगीन कथाहरू

देखाएका

संगीन सपनाहरू

व्याख्या गरेका

वाद र सिद्धान्तहरु

सही र गलत पर्गेल्नु छ।


नदेखिने घरमा बसेर

नदेखेका मान्छेको भविष्य कोर्ने ज्योतिषको

ग्रहदशा बदल्नु छ।


दिनभर माटोमै खेलेर

बेलुकी मुखमा गॉस हाल्न नसक्नेको

भान्सा बदल्नु छ।


हरेक दिन ठालुको आँगन कुरेर

चुक्लीकै भरमा पुरस्कार थाप्नेको

तक्मा खोस्नु छ।


झुटको खेती गरेर

छतमा विस्कुन सुकाउनेको

भकारी फोर्नु छ ।


शीत आँगनमै छ

फेरि यही शीत मैले ल्याएको भन्लान्

फेरि शीतकै कथा भजेर

वास्तविक, अवास्तविक कहानी भनेर

नोट, भोट, खोट, र चोटको श्रृंखलामा बाध्लान्

आउ !

आजैदेखि भनौं

शीत हाम्रै आँगनको

हामी आफैं कथा भन्छौं

लौकिक दुनियाँको घना जंगलमा

बुनिएका झुटा कथाहरू

आफै पर्गेल्छौं।

प्रकाशित : मंसिर ६, २०७७ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?