१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कोभिड ककटेल

एक भूगोलबाट अर्को परिवेशका कथा सिनेमाका मोन्ताजझैं चलायमान र रङदार लाग्छन् । दुई दर्जनभन्दा बढी लेखकका स्वअनुभूति र निश्चित परिवेशका कथा एउटै थिम वरिपरि बुनिएका बहुविधा हुन् ।
शेखर खरेल

कोभिड–१९ कुनै स्थान, भूगोल वा जाति विशेषमा सीमित नभएर यो विश्वभर फैलिँदो महाव्याधि हो । वैश्विक रोग भएकाले यसको प्रभाव बहुक्षेत्रीय र बहुआयामिक छ । अर्थ–राजनीतिदेखि सामाजिक सम्बन्ध र व्यवहार कोभिड–१९ का कारण खलबलिएको छ ।

कोभिड ककटेल

शरीर मात्र नभएर मानिसको मथिंगलसमेत यसले नराम्ररी हल्लाइदिएको छ । परिणामतः सबै पेसा र विधाका मानिस कोभिड–१९ लाई लिएर आफ्नो सरोकार प्रकट गरिरहेका छन् । लेखकहरू पनि यसै भाइरसको विम्बमा लेख, आलेख, कविता, आख्यान र समीक्षा लेखिरहेका छन् । साहित्यजीवीहरू प्लेग, ब्ल्याक फिभर, क्षयरोगजस्तै कोभिड–१९ लाई पनि वैश्विक साहित्यको बहीखातामा दर्ज गर्न उद्यत छन् ।

जब चीनको वुहान हुँदै मध्यपूर्व, युरोप, अमेरिका, ल्याटिन अमेरिकासम्म कोभिड–१९ रक्तबीजझैँ दिन दुगुना र रात चौगुना फैलिन थाल्यो, यस अदृश्य भाइरससामु मानव जाति निरीह बन्यो । भाइरसको सम्पर्कमा पुगेर ज्यानको जोखिम मोल्नुभन्दा घरमै स्वबन्दी बन्दै संक्रमणबाट बच्नु उनीहरूले श्रेयस्कर सम्झे । अस्थिर र अटेर नागरिकलाई कानुनमार्फत नै गृहबन्द गर्न संसारका धेरै राष्ट्र र शासकले लकडाउन (बन्दाबन्दी) लागू गरे । जिजीविषा तथा महत्त्वाकांक्षाको मुसा दौडमा बेफुर्सद मानिस हठात् ब्याट्री सकिएको घडीझैं टक्क रोकिए । मानौं लकडाउनसँगै समय पनि रोकियो । मुसादौडबाट अकस्मात् फुर्सदिला बनेका मानिसलाई फुर्सदले आरामभन्दा पनि बेचैनी दिन थाल्यो ।

फुर्सदिलो समयले लेखकहरूलाई कलम चलाउने अपूर्व अवसर दिलाइदियो । कोभिड–१९ र बन्दाबन्दीको आफू, परिवार र समाजमाथिको असरलाई उनीहरूले आफ्ना रचनामा उतार्दै आएका छन् । तीमध्ये धेरैजसो समाचार र सामाजिक सञ्जालमा सम्प्रेषित भइसकेका छन् भने थोरैले मात्र पुस्तककार लिएका छन् । सामाजिक दूरी बनाउँदै निस्संक्रमित हुनुपर्ने बाध्यताका कारण भर्चुअल माध्यम जति सहज देखिन्छ, त्यसविपरीत भौतिक स्वरूप उत्ति नै दुरूह ।

यसै मेसोमा ‘बिजौला’, ‘युवक’, ‘एकालाप’ लगायत आधा दर्जनभन्दा बढी किताब प्रकाशित गरिसकेका निर्मलकुमार थापाले ‘कोभिड–१९ कथाहरू’ प्रकाशनमा ल्याएका छन् । नेपाल, भारत, युरोप, अमेरिका, अस्ट्रेलिया सबैतिर छरिएर बसोबास गर्दै र नेपाली भाषामा साहित्य लेखिरहेका २६ लेखकका रचना समावेश ‘कोभिड–१९ कथाहरू’ आख्यानभन्दा पनि कथ्य (न्यारेटिभ) को सँगालो हो । कोभिड–१९ आफैँमा माहव्याधि रहेका कारण स्थानविशेषका रचनाभन्दा पनि यस वैश्विक रोगप्रति वैश्विक दृष्टिको अपरिहार्यता महसुस गर्दै एसिया, युरोप, अमेरिका र अस्ट्रेलियासम्मका कथ्य समेट्नु पुस्तकका संयोजक एवं सम्पादक थापाको दूरदर्शिता र सबलता हो । एक भूगोलबाट अर्को परिवेशका कथा सिनेमाका मोन्ताजझैं चलायमान र रङदार लाग्छन् । दुई दर्जनभन्दा बढी लेखकका स्वअनुभूति र निश्चित परिवेशका कथा एउटै थिम वरिपरि बुनिएका बहुविधा हुन् । जसरी एउटै तत्त्व अल्कोहलवाट विभिन्न ककटेल बनाइन्छन्, त्यसैगरी कोभिड–१९ को थिमबाटै साहित्यको ककटेल कलेवर तयार पारिएको छ ।

‘कोभिड–१९ कथाहरू’ मा स्थापित, उदीयमान र नवोदित (वा यसअघि नाम नसुनिएका कारण) तिनै प्रकारका सर्जकका रचना समावेश छन् । भाषाको माध्यम नेपाली भएको कारण संग्रह एक हदसम्म नेपाली डायस्पोरा साहित्य पनि हो । संग्रहका धेरै रचना विधागत दृष्टिले आख्यानात्मक हुन् भने बाँकीचाहिँ बन्दाबन्दीका विशुद्ध भोगाइ । उदाहरणका लागि, बलिउड अभिनेत्री मनीषा कोइरालाको ‘म निषाः मनभित्रको अन्धकार’ रजतपटमा परेको कोरोना भाइरसको छाया हो । शैलीका दृष्टिले संग्रहका सबै कथा अनुभूतिप्रधान यथार्थवादी धारका हुन् । अपवादका रूपमा कुमार नगरकोटी र राजवका कथा स्वैरकाल्पनिक प्रयोगधर्मी छन् ।

संग्रहको अर्को सुन्दर पक्षचाहिँ प्रत्येक रचनापूर्व प्रस्तावना स्वरूपमा पढ्न पाइने रचनाकारको लघु परिचय हो । वाचाल शब्दहरूले बुनिएका ती परिचयमा नगरकोटीय सिग्नेचर प्रस्ट बुझ्न सकिन्छ । अभिव्यक्तिको साझा भाषा नेपाली भएजस्तै दुई दर्जनभन्दा बढी रचनाको मूलभाव (मोटिफ) भने सम्बन्ध नै हो । कोरोना भाइरसको प्रभाव सम्बन्धमाथि परेका धेरै कथ्य संग्रहमा छन् । मानोमालिन्यपूर्ण पति–पत्नीको सम्बन्धदेखि प्रेमी–प्रेमिकाबीचका अनुरागलाई कोरोना भाइरसले पुनर्भाषित गरिदिएको वा नयाँ जंघारसम्म ल्याइपुर्‍याइदिएका धेरै कथानक संग्रहमा छन् । त्यसैगरी आप्रवासी नेपाली कामदार र स्वदेशी श्रमिक वर्गमाथि कोरोना भाइरस निर्मम बज्रिएका प्रसंग बग्रेल्ती छन् संग्रहमा । कोरोनाका कारण अनिश्चयतर्फको मानव जातिको यात्रा र जिजीविषाका अन्योल सर्वाधिक चर्चा वा महसुस गरिएका विषय हुन् ।

संग्रह शब्दको अंग्रेजी समतुल्य ‘कलेक्सन’ भएझैं ‘कोभिड–१९ कथाहरू’ यथार्थमा ‘कलेक्सन’ नै बनेको छ । यदि ‘कलेक्सन’ लाई पुस्तकका संयोजक एवं सम्पादक थापाले ‘सेलेक्सन’ बनाउन सकेको भए, पुस्तकको गुणवत्ता स्वतः बढ्ने थियो । छब्बीस लेखकको सट्टा कोभिड–१९ सँगको संयोग जनाउने उन्नाइस कथाकार नै समेटिएका भए पुस्तकले बोसो छटाएर गठिलो ज्यान बनाउन सक्ने थियो । बेजोडा संख्या मन पराउने र बेजोड साहित्य डिजाइन गर्ने कुमार नगरकोटीले मित्रवर थापालाई सायद मुनासिब राय दिन चुके कि ?

हिज्जेको त्रुटि संग्रहको अर्को बिझाउने पक्ष हो । शब्द मात्र नभएर कतैकतै त परिच्छेदसम्म दोहरिएका छन् । पीसीआरलाई रक्त परीक्षणसम्म लेखिएकोमा सम्पादक तथ्य अन्वेषणमा चुकेका देखिन्छन् । यी त्रुटि आगामी आउने संस्करणमा सच्याइनु अपरिहार्य छ । तर, यी प्राविधिक पक्षबाहेक संग्रह पढ्दा पश्चत्ताप पटक्कै हुने छैन ।

प्रकाशित : मंसिर ६, २०७७ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?