आइसल्यान्ड : मुन्तिर आगो, मास्तिर हिउँ- साहित्य/विविध - कान्तिपुर समाचार

आइसल्यान्ड : मुन्तिर आगो, मास्तिर हिउँ

आइसल्यान्ड घुमेपछि लाग्यो, पर्यटकहरु नयाँ र नौलो चीज हेर्नुबाहेक पर्यटकीय सेवा पाउन पनि आतुर हुन्छन् । सायद आइसल्यान्डले यो कुरा राम्ररी बुझेको छ । यस्तो लाग्छ, आइसल्यान्डमा पर्यटकलाई आकर्षित गर्न कुनै कसर बाँकी राखिएको छैन ।
जीवा लामिछाने

ओहो ! माइनस सात डिग्री सेल्सियस चिसो । डिसेम्बरको अन्तिम दिन । मध्यजाडोमा आइसल्यान्ड घुम्ने जेठो छोरा अनुरागको रहरले हामीलाई पगाल्दै थियो । आइसल्यान्डको चिसोबारे छोराबाटै थाहा पाएपछि मेरो मुखबाट अनायासै “ओहो !” शब्द निस्किएको थियो । 

सन् २०१८ को रहरलाग्दो बिहानी हिउँमा पाइला गाढेर सुरू गर्ने कि अन्त कतै घमाइलो यात्रा गर्ने ? म द्विविधामै थिएँ । यद्यपि यसअघि नपुगेको गन्तव्य भएकाले छोराको प्रस्तावमा मेरो असहमति भने थिएन । एकातिर मध्य जाडोको कहर, अर्कोतिर नयाँ गन्तव्य टेक्ने रहर । म दोमनमा थिएँ । त्यसैले अन्य यात्रामा जस्तै यस यात्राबारे मैले उतिसाह्रो चासो लिइरहेको छैन भन्ने सुइँको छोराहरुले पाइसकेका थिए । यात्राअघि सूचना सङ्कलन गर्ने त मेरो बानी नै हो । यसरी सङ्कलित सूचना र जानकारीले यात्राअघि नै मेरो मन गन्तव्यमा पुगेर घुम्न थालिसकेको हुन्थ्यो ।

कुरा जाडोको मात्रै थिएन । किनभने हिउँदमा मस्कोको चिसो माइनस ३५ डिग्रीसम्म भोगेको मलाई अनुभव छ । डिसेम्बरदेखि मार्चसम्म रूसका अधिकांश इलाकातिर यस्तो ठन्डी चलिरहन्छ । एक समय माइनस २०/३० डिग्री जाडोको पर्वाह नगरी हामी भूमिगत रेलबाट बाहिरिएलगत्तै पसल खोल्न हिउँ टेक्दै हतारहतार कुदिरहेका हुन्थ्यौं ।

अनुरागको कलेजका केही साथी एक महिनाअघि मात्रै आइसल्यान्ड घुमेर फर्किएका रहेछन् । कतै घुमेपछि त्यसको प्रस्तुतीकरण गर्ने र अरुलाई पनि आफूले पाएको ज्ञान बाँड्ने रीतअनुसार उनीहरुले कलेजमा प्रस्तुति दिएका रहेछन् । त्यहाँको तस्बिर, इतिहास र विषयवस्तुको सामान्य जानकारी पाएपछि नयाँ वर्षको मौका छोपेर घुम्न जाने स्थानको सूचीमा अनुरागले आइसल्यान्डलाई राखेका रहेछन् । त्यसैले उनी मलाई नयाँ वर्ष आउनुअघि नै फकाउने उपक्रममा लागिरहेका थिए । कहिले भन्थे, “पापा, आइसल्यान्ड यस्तो ठाउँ हो, जहाँ हिउँ त पर्छ ।

सँगै ज्वालामुखी विस्फोट पनि हुन्छ । यो ल्यान्ड अफ आइस एन्ड फायर अर्थात् बरफ र आगोको भूमि हो । हिउँ र आगो एकै स्थानमा कल्पना गर्नुस् त, बाबा ! यस्तो ठाउँ संसारमा अन्त देख्न पाइन्छ ?” उनको आइसल्याड पुग्ने इच्छा कति गम्भीर थियो भने कहिले भन्थे, “बाबा, यो ठाउँमा आणविक युद्ध भयो भने पनि त्यसको ठूलो असर हुँदैन रे । के थाहा युद्धको त्रासदीमा उतै बसाइँ सर्नुपर्छ कि ?” मलाई लोभ्याउन उनले धेरै सूचना सङ्कलन गरिसकेको रहेछन् । मलाई भने यो फयर एन्ड आइस भनेको ठमेलको मुखैमा रहेको पिज्जा रेस्टुरेन्टको नामबाहेक अरु त्यति जानकारी नभएकाले आइसले मात्र आकर्षित गरिरह्यो । अन्ततः छोराको न्यानो रहरका अघि म हिउँ जस्तै पग्लिएँ । आखिर सन्तानको रहरमा जतिसक्दो टेको लगाएर खुसीका पोयो फुकाउनु नै जीवनमा खुसी अड्याउनु हो भन्ने कुरा मैले अनुभूत गरिसकेको छु ।

यात्राको एक साताअघि अनुरागले हामी चारै जनाको टिकट काटे । होटल बुक गरे । यसरी सन् २०१७ डिसेम्बर ३१ को बिहानै उडानको तयारी सुरू भयो । नयाँ वर्षको पहिलो पाइला आइसल्यान्डमा टेक्न पाइने खुसीमा दुवै छोराको अनुहार धपक्क बलेका थिए । परिवारसँग घरबाट एकसाथ निस्कने साइत केही समययता जुरेको थिएन । त्यसैले म पनि उनीहरुको खुसीमा पुलकित थिएँ ।

भ्रमणको अघिल्लो दिन अर्थात् ३० तारिखको बिहान नसोचेको कुरा भइदियो । ब्रेकफास्ट टेबलमा बस्दै गर्दा एक्कासि मेरो नाभीमुनि दाहिनेपट्टिको भागमा असह्य पीडा भयो । हत्तपत्त एम्बुलेन्स बोलाएर अस्पताल पुगें । चिकित्सकहरुले पेनकिलर दिएर तत्काल पीडा कम गरे पनि तुरून्तै यात्रा नगर्न सुझाए । कम्तीमा शरीरमा के कारणले पीडा उत्पन्न भयो, पूरै डायग्नोसिस गरेपछि मात्रै अस्पतालबाट बिदा लिनुपर्ने उनीहरुको प्रेमपूर्ण सुझाव थियो । चिकित्सक र श्रीमती यस्ता सल्लाहकार हुन्, जसको सुझाव नटेरे दुःख मात्रै पाइन्छ भन्ने नबुझेको कहाँ हो र ?

भोलि बिहानको यात्रा छ । तर परिस्थितिले पुगें म अस्पतालमा ! हिजोसम्म छोराहरुमा आइसल्यान्ड जाने जुन आतुरता थियो, यो घटनाले उनीहरुको मनस्थिति नै परिवर्तन गरिदियो । उनीहरु मबिना यात्रा नगर्ने, म दुई छोराले आमासँग मात्रै भए पनि यात्रा गर्नुपर्छ भन्ने । त्यसपछि सुरू भयो, एकले अर्कालाई मनाउने खेल । कुनै चलचित्रको दृश्य जस्तो हामी एकअर्काका लागि त्याग गर्न खोजिरहेका थियौं । सायद पटकथा लेख्नेहरुले यस्तै दृश्य देखेर कथा कथेका हुँदा हुन् । अन्त्यमा एउटा जुक्ति निकालियो । छोराहरु अनुराग, अनुकृत आमासँग तोकिएकै बिहान आइसल्यान्ड उड्ने र म अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै त्यहाँ पुग्ने ।

चिकित्सकको सल्लाहबमोजिम उनीहरु उडेको भोलिपल्ट मात्रै म आइसल्यान्डतर्फ उड्ने भएँ । एकैछिनमा बदलिएको परिस्थितिले एउटै गन्तव्यमा पनि फरकफरक उडान रोज्नुपर्ने अवस्था निम्त्याएको थियो । त्यसैले त भनिएको होला, जीवनमा सधैं आफूले सोचे जस्तो, आफूले योजना बनाए जस्तो कहाँ हुन्छ र !

आइसल्यान्डको राजधानी रिक्याभिकको मध्य भागमा रहेको होटल आल्डा पुग्दा उनीहरु कुन बेला मसँग भेट होला भनी व्यग्र प्रतीक्षामा होलान् भन्ने मलाई लागेको थियो । पुग्नेबित्तिकै होटलले उपलब्ध गराएको सिमकार्डसहितको फोन सेटमा उनीहरुसँग कुरा गरें । घुम्न निस्किएका उनीहरु घरिघरि होटलमा फोन गर्दै म आइपुगे, नपुगेकोबारे सोधपुछ गरिरहेका रहेछन् । उनीहरुको यही चासोका कारण होटलले मलाई सिमसहितको फोन दिएको होला भन्ने मैले सोचेको थिएँ । तर मेरो अनुमान गलत रहेछ । खासमा आफ्ना पाहुनालाई आइसल्यान्ड घुम्न सजिलो होस् भनेर होटलले सबैलाई यस्तो सेवा उपलब्ध गराउँदो रहेछ । यसअघिका कुनै पनि यात्रामा मैले होटलबाट यस किसिमको निःशुल्क सेवा पाएको थिइनँ । अनायासै पाहुनाको स्वागत गर्ने आइसल्यान्डको यो शैलीलाई नेपाली आतिथ्य सत्कारमा समावेश गर्दा कसो होला भन्ने सोच आइहाल्यो ।

एक दिनको विलम्बले होटलमा सँगै बसे पनि हाम्रो भ्रमण फरकफरक हुन पुग्यो । खासमा अघिल्लो दिन नै उनीहरु प्रमुख ठाउँहरु घुमिसकेकाले अनुरागले मेरा लागि छुट्टै टुर प्याकेजको व्यवस्था गरिदिए । भोलिपल्ट उनीहरुको यात्राको गन्तव्य राजधानी रिक्याभिकका प्रमुख ठाउँ बन्यो । मेरो भागमा अघिल्लो दिन उनीहरुले घुमेका केही स्थान परे । यस्तो लाग्यो, म अघिल्लो दिन परिवारका सदस्यले घुमेका ठाउँमा उनीहरुको पाइलाका डोब पछ्याउन गइरहेको छु ।

मेरो पहिलो गन्तव्य थियो, थिङभेलिर राष्ट्रिय निकुञ्ज । निकुञ्ज भन्नेबित्तिकै मेरो मन एकैचोटि चितवनको पदमपुर पुग्छ, जहाँ कुनै बेला मैले खेल्ने मैदान, घुम्ने गाउँ र गाउँलेको मिहिनेत सिँचिएको खेत थियो । सिङ्गो बस्तीलाई नै नयाँ पदमपुरमा स्थानान्तरण गरेपछि मेरा बाका पाइतालाको डोब भएको सिङ्गो गाउँ चितवन राष्ट्रिय निकुञ्जभित्र पर्‍यो । त्यति मात्र होइन, निकुञ्ज भन्नेबित्तिकै मैले घुमेका अफ्रिकी मुलुकहरुका ठूला राष्ट्रिय निकुञ्जको सम्झना पनि अनायासै आइहाल्छ । यही कारण थिङ्भेलिर राष्ट्रिय निकुञ्जका विषयमा म निकै उत्सुक थिएँ । तर गन्तव्यमा पुगेपछि थाहा भयो, राष्ट्रिय निकुञ्ज त यस्तो पनि हुँदो रहेछ । जङ्गलविहीन नाङ्गा डाँडा र उजाड ठाउँलाई किन राष्ट्रिय निकुञ्ज भनिएको होला ? मैले केही भेउ पाइनँ ।

यसअघि मैले चहारेका निकुञ्जमा जस्तो त्यहाँ न घना जङ्गल थियो, न जनावरहरुको क्रीडा, न चराहरुको चिरबिर नै । त्यहाँ न जङ्गली जनावरको भय थियो, न रहस्यको केही छाँटछन्द । तर पनि केही पर्यटक भने यस्तो ठाउँमा समेत तँछाडमछाड गर्दै फोटो खिच्नमा व्यस्त देखिन्थे । मलाई त्यो सब अनौठो लाग्यो । मैले उदेक मान्दै चारैतिर आँखा घुमाएँ । हामीलाई झैं अरु पर्यटकलाई पनि टुर कम्पनीहरुले मीठामीठा कुरा गरेर यहाँ ल्याएका रहेछन् । म जस्तै अन्य केही पर्यटक पनि उजाड हिउँका डाँडा देखेर उति खुसी थिएनन् । लाग्यो, आखिर पर्यटन उद्योग धेरथोर भ्रम बेच्ने व्यवसाय पनि त हो । कसैले भनेको याद आयो, “पर्यटन उद्योगमा के देखिन्छ, उति महङ्खवपूर्ण कुरा होइन, के देखाउन सकिन्छ, महङ्खवपूर्ण कुरा त्यो हो ।”

फाइल तस्बिर : रोयटर्स

राष्ट्रिय निकुञ्जबाट फर्किंदा म हिउँले पुरिएका नाङ्गा डाँडाका तस्बिर फेसबुकमा सेयर गर्दै थिएँ । टुर बसमा उपलब्ध इन्टरनेट सुविधा सदुपयोग गर्ने म मात्रै एक्लो यात्रु थिइनँ । सम्झिँदा पनि अचम्म लाग्छ, कुनै बेला यस्तो थियो, यात्राका क्रममा खिचिएका तस्बिर खिचेपछि धुलाउन महिनौं लाग्न सक्थ्यो । अधीरतायुक्त प्रतीक्षापछि बल्ल आफूले खिचेका तस्बिर हेर्न पाइन्थ्यो । तर अहिले के छ र, आफू घुमेको ठाउँ एकैछिनमा संसारलाई देखाउन सकिन्छ ।

मैले लिएको टुर प्याकेजमा दिउँसो दुई घण्टा प्राकृतिक हट स्पासमेत गर्न मिल्ने सुविधा थियो । त्यसैले गाइडले मसहित अन्य चारलाई “फन्ताना जिओथर्मल हट स्पा”मा छाडेर गए । रिसोर्टबाहिरको खुला मैदानमा जमिन मुनिबाट भकभकी उम्लेर आएको मनतातो पानीमा डुबुल्की मार्न मानिसहरुको घुइँचो लाग्दो रहेछ । त्यस्तो पानीमा आफ्नो जीउ भिजाउन पाए रोगहरु निको हुने विश्वास पर्यटकहरुको थियो । पहिलो पटक जापान जाँदा हाकोने सहरको एक रिसोर्टमा “ओनसेन” भनिने यस्तै खालको हट स्पाको अनुभव लिएको थिएँ । जापानको हट स्पामा जस्तो यहाँ पर्यटकहरु निर्वस्त्र नुहाइरहेका थिएनन् । जमिनमुनि तातेर बाहिर निस्केको प्राकृतिक पानीको भुल्कोमा नुहाउँदा हुने रमाइलो आफैंमा उत्साहपूर्ण थियो ।

देशको नाम नै आइसल्यान्ड भएकाले यो बरफको देश हो भन्नेमा धेरै दिमाग लगाउनुपर्दैन । तर त्यहाँका गाइड जुन बेला पनि हामी हिँडिरहेको र बसिरहेको जमिनमुनि दनदनी आगो बलेको छ भनेर तर्साइरहन्थे । पर्यटकलाई बेलाबेलामा “थ्रिल” दिनु सायद यो उनीहरुको शैली थियो । अनुरागले भने जस्तै यो आइसल्यान्ड मात्रै होइन, “ल्यान्ड अफ आइस एन्ड फायर” पनि रहेछ ।

जमिनमुनिको म्याग्माको प्रचण्ड तापबाट पानी तातेर जमिनमाथि फोहरा निस्कँदो रहेछ ! जसलाई जिओथर्मल गिजर भनिँदो रहेछ । झट्ट हेर्दा यस्तो लाग्छ, कसैले जमिनमुनि बसेर तातो पानीको पिच्कारी फालिरहेको छ । खासमा जमिनमुनि पैदा भएको तीव्र गतिको चापले पानीलाई फोहराका रुपमा जमिनमाथि हुत्याउँछ । कृत्रिम पानीको फोहरा जस्तै देखिने यस्तो पानी जमिनमुनिको चाप कम हुँदै गएपछि एकैछिनमा हराउँदो रहेछ । अक्सर तीनदेखि पाँच मिनेटको अन्तरालमा फोहोरा छुट्ने र बिलाउने क्रम निरन्तर चल्दो रहेछ । आइसल्यान्डमा यस्ता गिजरहरु अनगन्ती रहेछन् । तर धेरैजसो गिजर भने सुषुप्त अवस्थामा हुँदा रहेछन् । हाम्रा गाइड निकै महङ्खव दिएर यी कुराको बखान गरिरहेका थिए ।

समय अड्कलेर गरिएको यात्रामा सधैं हतारो नै हुन्छ । तातो पानीमा केही बेर रमाएर “गुल्लफोस वाटर फल्स” पुग्दा साँझ ढल्किनै लागिसकेको थियो । ससाना झरनाबाट समेत सम्मोहित हुने म सिङ्गो नदी नै उचाइबाट झरिरहेझैं लाग्ने ठाउँमा पुग्दा मोहित नहुने कुरै थिएन । तर सा“झको चिसो सिरेटोका कारण ब्यागबाट क्यामेरा निकालेर फोटो खिच्न सक्ने अवस्थासमेत रहेन । यो ठिहीले रूसको चिसोसमेत बिर्साइदिन खोज्दै थियो ।

होचो कदका हाम्रा गाइड घरिघरि इतिहासका रोमाञ्चक कुरा सुनाएर मलाई खुसी तुल्याइरहेका थिए । यस्तो लाग्थ्यो, उनी गाइड नभएको भए कुनै विश्वविद्यालयमा इतिहासका प्रोफेसर हुन्थे होलान् । उनले भनेअनुसार झन्डै हजार वर्षअघि भाइकिङ जातिहरुले यो क्षेत्रलाई आफ्नो कर्मभूमि बनाएका थिए । त्यो बेला जो बलियो थियो, सारा जमिनको अधिपति पनि उही हुन्थ्यो । बाहुबलको शासन चल्ने त्यो समयमा अन्य व्यक्ति यो क्षेत्रमा आएर नबसून् भनेर उनीहरुले आइसल्यान्ड नामकरण गरिदिए र यो सन्देश चारैतिर पुर्‍याउने काम गरे । त्यति मात्र होइन, उनीहरुले नै बर्फिलो क्षेत्रभन्दा पारिपट्टिको विशाल टापुको नाम ग्रिनल्यान्ड राखिदिए । एक हजार वर्षअघि आफ्नो शासन कायम राख्न भाइकिङहरुले राखेको नामले यो मुलुक आजपर्यन्त चिनिएको छ ।

यात्रा अवधिभर गाइड मसँग निकै खुले । कारण, उनको दिव्यज्ञानलाई महङ्खव दिएर सुनिदिने त्यो भीडमा म एक्लो व्यक्ति थिएँ । उनले आफ्नो देशबारे बताइरहेको तथ्य मैले असल विद्यार्थीझैं खुरूखुरू टिपिरहेको देखेर उनले सोधे पनि, “के तपाईं लेखक पनि हो ?” मैले प्रत्युत्तरमा हाँसेर टारिदिएँ ।

गाइडले बताइरहेका ऐतिहासिक सन्दर्भका कुरा सुन्ने फुर्सद र धैर्य कसैमा थिएन । हातमा किताबको सट्टा घरि मोबाइलमा घोप्टो पर्ने त घरि क्यामेराका लेन्समा आँखा जोत्ने पर्यटक देखेपछि हाम्रा गाइडले अमिलो मुख बनाउँदै किताबकै प्रसङ्ग सुनाउँदै भने, “यहाँका १० प्रतिशत जनता आफ्नो जीवनमा कम्तीमा एउटा पुस्तक प्रकाशन गर्छन् । अब तपाईंहरु कल्पना गर्नुहोस्, यहाँका मानिस फुर्सदमा के गर्छन् ।” उनको इसारा पठन संस्कृति टुटाउनुहुँदैन भन्नेमा थियो । यहाँका मानिस सिनेमा भनेपछि उस्तै मरिहत्ते गर्दा रहेछन् भन्ने कुरा पनि उनैबाट थाहा भयो ।

आइसल्यान्डको जनसङ्ख्या तीन लाख ३७ हजार हाराहारी रहेछ । तर यो देशमा जति मान्छे छन्, त्योभन्दा बढी कार छन् रे । हुन पनि पर्यटक आइरहने स्थानमा जनसङ्ख्याभन्दा धेरै कार हुनु सामान्य नै होला । त्यसो त सधैंको जाडो र कार किन्ने आर्थिक हैसियत भएका जनताका कारण पनि एक परिवारमा कम्तीमा एकभन्दा बढी कार हुनु असामान्य भएन । यहाँसम्म त गाइडले बताएका कुरा मलाई सामान्य नै लागेको थियो । तर जब गाइडले यो कुनै पनि प्रकारको जल, स्थल र वायु सैनिक व्यवस्था नभएको देश हो भने त्यसपछि भने म निकै उत्सुक भएँ । सिङ्गो विश्वभर सैन्य शस्त्रको होडबाजी चलिरहेका बेला आइसल्यान्डलाई किन सैनिकको जरूरत नपरेको होला ?

आइसल्यान्डबारे केही तथ्यहरु खोजेपछि थाहा पाएँ, गाइडले बताएको तथ्य झन्डैझन्डै सत्य रहेछ । यहाँ केही हजार प्रहरी त रहेछन् । तर उनीहरुसँग हतियार रहेनछन् । तर एकतिहाइ जनतासँग भने निजी राइफल र सट गन जस्ता हतियार रहेको विश्वास गरिँदो रहेछ ।

कुनै बेला चिनियाँ चिन्तक लाओत्सेले प्रहरी र कारागारले अपराधी जन्माउँछ, त्यही कारण देशमा सैनिक हुनुहुँदैन भनेका थिए । यो देशले लाओत्सेलाई गुरू मानेको छैन । तर उनले कल्पना गरे जस्तो आइसल्यान्डमा आपराधिक गतिविधिचाहिँ शून्यप्रायः रहेछ ।

गाइडले अर्को रोचक कुरा पनि सुनाए— आइसल्यान्ड लामखुट्टेमुक्त देश हो । अझै पनि अक्सर गृहजिल्ला चितवन जाँदा सधैं लामखुट्टेको टोकाइबाट डराउने मलाई यो सूचनाले अचम्भित तुल्यायो ।

स्कुलमा हुने हाजिरीजवाफ प्रतियोगितामा अक्सर एउटा प्रश्न हुन्थ्यो— लामखुट्टेमुक्त देश कुन हो ?

उत्तरमा हामी फ्रान्स भन्थ्यौं ।

अनि निर्णायक मण्डलीले सही जवाफ भन्थे । त्यसपछि एकैछिन ताली बज्थ्यो ।

तर आज थाहा पाएँ, मैले उति बेला दिएको उत्तर त गलत पो रहेछ ।

तर आजभोलि हवाइजहाज चढेर फ्रान्समा पनि फाट्टफुट्ट लामखुट्टे पुगेका समाचार आउन थालेका छन् । आइसल्यान्डले भने अझैसम्म लामखुट्टेमुक्त देशको परिचय जोगाइराखेको रहेछ ।

आइसल्यान्डबारे अनेक रोचक तथ्यहरु रहेछन् । यहाँ प्रत्येक चार वर्षमा एक पटक ज्वालामुखी विस्फोट हुँदो रहेछ । सन् २०१० मा भएको ज्वालामुखी विस्फोटपछिको तुवाँलोका कारण छ दिनसम्म युरोपका विभिन्न सहरमा वायुसेवा उडान अवरूद्ध भएको थियो । पछिल्लो पटक सन् २०१४ को अन्त्यतिर यहाँ ज्वालामुखी विस्फोट भएको रहेछ । ज्वालामुखीको इतिहास सुनाउँदै गाइड भनिरहेका थिए, “तपाईंको भाग्यमा लेखेको भए त्यो विस्फोट देख्न पाउनुहुन्छ । किनकि आज सन् २०१८ को दोस्रो दिन हो ।”

इतिहासमा बेलायतलाई संसदीय व्यवस्थाको जननी देश भनिन्छ । तर यहाँका मानिस आफूलाई संसारको पहिलो प्रजातान्त्रिक मुलुक मान्दा रहेछन् । हाम्रा “इतिहासकार” गाइड ठोकुवा गरेर भन्दै थिए, “यहाँको संसद् सन् ९३० मा स्थापना भएको हो । तपाईं यति पुरानो संसद्को इतिहास अन्त भेट्टाउन सक्नुहुन्न ।”

गाइडले भने जस्तै आइसल्यान्डसँग जोडिएका अनेक रोचक तथ्य रहेछन् । जस्तो कि, सन् १९८९ सम्म यहाँ बियर किनबेच गर्न बन्द रहेछ । बियर बन्द भएकै कारण यहाँ कोकाकोलाको खपतमा वृद्धि भएछ, जसका कारण आइसल्यान्ड जस्तो चिसो देशमा आज पनि चिसो पेय मानिने कोकाकोला प्रतिव्यक्ति खपत संसारमा सबैभन्दा बढी छ । जनस्वास्थ्यको कारण देखाउँदै बियर रोकेको भए पनि त्यसको विकल्प खासै गतिलो छ जस्तो लागेन ।

कुनै कुरा रोक्न खोज्दा त्यसले कसरी अर्कोतिर प्रभाव पार्छ भन्ने तथ्य मलाई रमाइलो लागेको थियो । अर्को रोचक तथ्य भने आइसल्यान्डका नागरिकहरुको परम्परागत थर हुँदो रहेनछ । कसैले नामपछाडि केही झुन्ड्यायो भने बुझ्नुपर्छ, उसले आफ्नो बाबुको पहिलो नामलाई झुन्ड्याएको हो । कसैलाई परम्परागत नामअगाडि र बुबाको नामलाई पछाडि झुन्ड्याउन मन लागेन भने नयाँ नाम राख्न सरकारको स्वीकृति नै लिनुपर्ने रहेछ । अनौठा लाग्ने अनेक तर्क र कथ्यहरु सुन्दा यात्रा रमाइलो भइरहेको थियो ।

युरोपियन युनियनभित्र भए पनि यो देशले एकल मुद्रा प्रणाली युरो भने अवलम्बन गरेको छैन । स्थानीय मुद्रा क्रोना झन्डै नेपाली रूपैयाँ बराबर रहेछ । भ्रमणको समयमा नेपालमा एक डलर बराबर एक सय दुई रूपैयाँ राष्ट्र बैङ्कको दररेट देखाइरहँदा गुगलले एक डलरबराबर एक सय चार आइसल्यान्डिक क्रोना देखाइरहेको थियो ।

गाइडले आइसल्यान्डका विषयमा अनवरत रुपले अनेक किस्सा सुनाइरहेकै थिए । भ्रमणअघि छोराले सुनाएकै कुरा सुनाउँदै उनले भने, “आणविक युद्ध भएमा पृथ्वीमा बस्नका लागि सबैभन्दा सुरक्षित ठाउँ आइसल्यान्ड हुनेछ ।” यति भनेपछि उनले हाम्रो सुरक्षा खातिर प्रार्थना गरेझैं गरेर भने, “तर त्यो दिन कहिल्यै नआओस् ।”

“हटडग” यहाँको प्रसिद्ध खाने कुरा रहेछ । यति हुँदाहुँदै विश्वप्रसिद्ध फास्टफुड चेन “म्याकडोनाल्ड्स” भने आइसल्यान्डमा देख्न पाइँदो रहेनछ । कसैकसैले अमेरिकन फास्ट फुड चेन “म्याकडोनाल्ड्स”लाई आइसल्यान्डले प्रतिबन्ध लगाएको बताए पनि यहाँ १९९३ मै “म्याकडोनाल्ड्स”को पहिलो फ्रेन्चाइज खुलेको रहेछ । तर सन् २००९ तिरको आर्थिक मन्दीपछि फ्रेन्चाइज सञ्चालन गर्न आर्थिक रुपमा महँगो पर्ने र नाफा नहुने भएपछि बन्द भएका रहेछन् ।

त्यही भएर होला हाम्रा गाइड भन्दै थिए, “म्याकडोनाल्स नै किन खोज्ने ? सब वे र कुइज्नोस फास्टफुड चेनहरु यहाँ जति चाहे पनि छन् ।” यद्यपि युरोपका अरु सहरमा भन्दा खाने कुरालगायत अन्य दैनिक उपभोग्य सामग्री यहाँ महँगो लाग्यो । जर्मनीमा पाँचसात युरोमा छयापछ्याप्ती पाइने “डोनर कवाफ” यहाँ १८ युरोमा बेचेको देख्दा लाग्यो, उब्जनी नहुने भएकाले यहाँको खाद्यान्न लागत बढेको हुनुपर्छ ।

अर्को दिनदेखि भने हामी सबै सँगै यात्रा गर्न थाल्यौं । दोस्रो दिनदेखि हाम्रो गन्तव्य आइसल्यान्डको दक्षिणी भेगमा पर्ने पर्यटकीय स्थलहरु थिए, जसका लागि छुट्टै गाइडसहितको टुरको व्यवस्था गरियो ।

डिसेम्बर जस्ता जाडो महिना आइसल्यान्डका लागि अँध्यारो समय हुन् । यहाँ साढे ११ बजे सूर्योदय हुन्छ र चार नबज्दै सूर्यास्त भइसक्छ । अर्थात् दिनको उज्यालो जम्मा साढे चार घण्टा मात्र रहन्छ । बिहान उज्यालो भएपछि घुम्न निस्कौंला भन्ने हो भने त घुम्नका लागि त्यहाँ समय नै पुग्दैन । यही कारण हामी बिहान भएको लख काट्दै अँध्यारोमै घुम्न निस्कन्थ्यौं । तर गाडी चालकले अर्को रमाइलो कुरा सुनाए । उनी भन्दै थिए, “जुन महिनामा दुईतीन घण्टा मात्र रात पर्छ । बाँकी घण्टा उज्यालो नै उज्यालो हुन्छ । त्यसमध्ये पनि जुन २२ लाई सबैभन्दा लामो दिन मानिने रहेछ । आइसल्यान्ड मात्र होइन, नोर्डिक देश र रूसको सेन्ट पिटर्सबर्ग सहरमा त्यो समयलाई ह्वाइट नाइट भन्ने चलन छ ।

दोस्रो दिनको पहिलो पर्यटकीय गन्तव्य थियो, सोल्हेमायोकुल ग्लेसियर । यहाँ सन् १९८० ताका ४० मिटर माथिसम्म हिउँ थियो भनेर गाइडले सुनाइरहँदा छक्कै परियो । हामीसँगै बसमा आएका केही पर्यटक त्यहीँ ओर्लेर ग्लेसियर हाइकिङका लागि हिँडे । हामी भने गाइडबाट ग्लेसियरका विषयमा थप सूचना बटुलेरै रमाइरह्यौं ।

उक्त पर्यटकीय स्थलबाट निकै पर रहेको ग्लेसियरको सानो भाग मात्रै देख्न सकिँदो रहेछ । गाइड भन्दै थिए, “केही वर्षपछि त सायद बाँकी त्यो भाग पनि नरहला !” गाइडले यसो भनिरहँदा मलाई अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले ग्लोबल वार्मिङ बकवास मात्रै भएको र चीनले यसलाई अमेरिकी उत्पादन कमजोर बनाउन चलाएको हल्ला मात्रै हो भनेको कुरा सम्झनामा आयो । ट्रम्पले भने जस्तै ग्लोबल वार्मिङ बकवास हो भने यस्ता ग्लेसियरहरु पग्लिने कारण के हो त ? यो प्रश्नको उत्तर गाइडसँग हुने कुरै थिएन ।

सोल्हेमायोकुल ग्लेसियरपछिको हाम्रो गन्तव्य थियो, “रेनिसड्र्यानगर” समुद्री तट । तटमा पाइने निक्खर कालो बालुवाका कारण यो विश्वप्रसिद्ध समुद्री तटमध्येको एक मानिँदो रहेछ । ज्वालामुखीको विस्फोटबाट निस्कने लाभा र खरानीका मिहीन टुक्राहरुबाट यी काला बालुवाका कण बनेका रहेछन् ।

आइसल्यान्ड भ्रमणमा परिवारसँग लेखक जीवा लामिछाने

समुद्री छालको वेग निकै तीव्र देखिन्थ्यो । यसअघि त्यति ठुल्ठूला छाल अरु कुनै समुद्री तटमा मैले देखेको थिइनँ । त्यही भएर होला, घुमिरहँदा गाइड हामीलाई छालले बगाएर लैजाला है भनेर सचेत गराइरहेका थिए । त्यसैले उनी परैबाट फोटो खिच्न निर्देशन दिइरहेका थिए ।

साँझ पर्नै लाग्दा “स्कोगाफोस झरना” नजिक पुग्यौं । आइसल्यान्डभरि यस्ता अनगन्ती झरना छन् भनेर गाइडले आकर्षित गरिरहँदा मलाई स्कोगा नदीको झरनाले निकै लोभ्यायो । विशाल झरनाको माथिसम्म जान मिल्ने गरी सिँढीहरु बनाइएको रहेछ । अनुराग र अनुकृत दौडेर माथि टुप्पामा पुगे पनि निकै ठाडो जस्तो लागेकाले मैले भने त्यहाँ जाने आँट गरिनँ । बिन्दिताचाहिँ उनीहरुलाई पछ्याउदै माथिसम्मै पुगिन् ।

साँझमा चिसो हावाको सिरेटोले कक्रक्कै पारेकाले हामी त्यहाँ धेरै बेर टिक्न सकेनौं । बिन्दिता भन्दै थिइन्, “लामो समय रूसमा बसियो । तर ठन्डी र हिउँको खास आनन्द भने आइसल्यान्ड आएपछि मात्रै मिल्यो ।”

विश्वमै एक मात्र पुरूष जननेन्द्रियको अनौठो सङ्ग्रहालय रिक्याभिकमा छ, समय मिलाएर हेर्न जानू भनेर गाइडले सुझाएका थिए । यसका अतिरिक्त हेर्नैपर्ने र घुम्नैपर्ने ठाउँको सूची लामो थियो । तर हामीसँग पर्याप्त समय थिएन ।

सानो छोरा अनुकृत यात्रा तन्काएर हिउँमा खेलिने स्कीलगायत केही स्नो एड्भेन्चर लिने रहर गर्दै थिए । बिस्तारै मलाई पनि आइसल्यान्डले मुहुनी लगाउँदै गयो । मनले भनिरहेको थियो, थप केही दिन बस्न पाए नि हुने । तर पर्खिबसेका काम र जिम्मेवारीहरुले गर्दा छोराको इच्छा र मनको चाह पूरा गर्न सकिएन ।

हरेक देशमा पर्यटकहरुले आफ्नो यात्राको सम्झनास्वरुप लिएर जाने विशेष केही कोसेली हुन्छन् । जस्तो नेपाल पुगेका पर्यटकले टोपी र खुकुरी किन्छन् । त्यसैगरी यहाँ विशेष प्रकारको चट्टानका टुक्राहरु आकर्षक रुपमा प्याकिङ गरेर कोसेलीका रुपमा बेचिँदो रहेछ, जसलाई उनीहरु “रक विथआउट मेल्टिङ भन्दा रहेछन् । चट्टानका ती क्युबहरु केही घण्टा फ्रिजमा चिस्याएर ह्विस्कीको ग्लासमा दुईतीन गोटा राख्ने हो भने त्यसले ह्विस्कीलाई लामो समय चिसो बनाइराख्दो रहेछ । कहिलेकाहीँ काम लाग्ने र चिनो पनि हुने ठानेर मैले कोसेलीस्वरूप रकका तीन सेट किनें ।

हरियाली, पाटा परेका तरेली बान्की हेरेर हुर्केको देशको मान्छेलाई आइसल्यान्डको भूआकृति अनौठो लाग्नु नौलो कुरा थिएन । समग्रमा आइसल्यान्ड मरूभूमि जस्तो लाग्ने उजाड ठाउँ रहेछ ।

केही भूभाग समथर देखिए पनि त्यहाँ लाभा र ढुङ्गाहरु मात्रै भएकाले त्यहाँ अन्न उब्जने कुरा भएन । कतिसम्म भने खाडीका मरूभूमिमा यदाकता देखिने बुट्यान पनि त्यहाँ बिरलै देखियो । यो देशसँग पहाड पनि छन् । तर हाम्रा जस्ता, हरिया र रसिला होइन्, नाङ्गा र उजाड पहाड । यहाँ हिमतालहरु पग्लिने क्रम बढ्दो छ ।

तर पनि आफूसँग भएकै प्रकृति र भूआकृतिलाई सिँगारेर आइसल्यान्डवासीले उच्चकोटीको पर्यटन प्रवद्र्धन गरेका रहेछन् । त्यसैबाट यो देशले आर्थिक विकासमा फड्को पनि मारेको रहेछ ।

डाउनटाउन रिक्याभिक घुम्दै गर्दा एउटा नेपाली रेस्टुरेन्टको साइनबोर्ड देखेका थियौं । बिरानो देशमा अनायासै देखिएको नेपाली नामले मनमा कुतूहल जगाइहाल्यो । नौलो ठाउँमा नेपाली नाउँको रेस्टुराँ पक्कै पनि कुनै नेपालीले नै खोलेको होला भनी अनुमान गर्नु स्वाभाविक थियो । उक्त होटलमा पुगेर नेपाली स्वादको परिकार खाने र गैरआवासीय नेपाली सङ्गठन (एनआरएनए) स्थापना गर्नेबारे पनि छलफल गर्न सकिने आशा मेरो मनमा पलाइहाल्यो । हामी बसेको होटलबाट नजिकै भएकाले हामी हरेक साँझ त्यो रेस्टुराँ पुग्थ्यौं । तर त्यहाँ रहँदाका चार दिनसम्म त्यो रेस्टुरेन्ट कहिल्यै खुलेको देखिएन ! सायद नयाँ वर्षको छुट्टीका कारण बन्द पो थियो कि ?

साढे तीन लाख हाराहारी जनसङ्ख्या भएको आइसल्यान्डमा वार्षिक लाखौं पर्यटक भ्रमण गर्छन् । जनसङ्ख्याभन्दा कैयौं गुना बढी पर्यटक पुग्ने १० मुलुकभित्र आइसल्यान्ड पनि पर्छ । तर यतिका धेरै पर्यटकलाई स्वागत गर्ने यहाँ त्यति धेरै अपूर्व भौतिक संरचना छैनन् । न त वनजङ्गल र वन्यजन्तु नै छन् । तैपनि यहाँका होटल भरिभराउ छन्, यात्रुवाहक जहाज झकिझकाउ छन् । आखिर कारण के हुन सक्छ ?

आइसल्यान्ड घुमेपछि लाग्यो, पर्यटकहरु नयाँ र नौलो चीज हेर्नुबाहेक पर्यटकीय सेवा पाउन पनि आतुर हुन्छन् । सायद आइसल्यान्डले यो कुरा राम्ररी बुझेको छ । यस्तो लाग्छ, आइसल्यान्डमा पर्यटकलाई आकर्षित गर्न कुनै कसर बाँकी राखिएको छैन । संसारका पर्यटकहरु जीवजन्तुयुक्त निकुञ्जबारे जानकार छन् । तर आइसल्यान्डमा जीवजन्तुरहित निकुञ्जमा पर्यटकलाई घुमाइन्छ । कुनै बेला ज्वालामुखी फुटेर बनेको खाल्डोलाई पनि उनीहरुले पर्यटकीय गन्तव्य बनाएका छन् । जमिनमुनिबाट आइरहेको बाफबाट उनीहरुले ऊर्जा निकालेका छन् र यो पनि पर्यटकीय केन्द्र बनेको छ । केही क्षेत्रमा धेरै वर्षअघि उत्पन्न भएको ज्वालामुखी क्षेत्रमा अझै पनि ताता लाभा छन्, यी ताता ढुङ्गाहरु पनि पर्यटकका लागि दर्शनीय बनेका छन् । एक हजार वर्षअघि मानिसले बनाएका परम्परागत छाप्राहरुलाई सरकारले संरक्षण गरेर राखेको छ ।

यी छाप्रा पनि पर्यटकीय केन्द्र भएका छन् । अर्थात् जे छ, त्यो पनि पर्यटकीय स्थल, जे छैन, त्यो पनि पर्यटकीय स्थल । फर्कंदै गर्दा लाग्यो, पर्यटन प्रवद्र्धनका लागि देश ठूलो हुनु र नहुनुमा खासै भिन्नता रहेनछ । सोच र त्यसअनुसारको व्यवस्थापकीय कौशल भए सामान्य स्थान पनि पर्यटकीय स्थल बन्दो रहेछ । सोच छैन भने विश्वका सुन्दरतम प्राकृतिक दृश्यहरुले पनि पर्यटक तान्न सकस पर्दो रहेछ । पाँच दिनको आइसल्यान्ड भ्रमण सकेर जर्मनी फर्कंदै गर्दा यसको जवाफ मैले पाए जस्तो लाग्यो ।

-बिहीबार प्रकाशित भएको जीवा लामिछानेको नियात्रा संग्रह 'देश देशावर' को अंश, पुस्तक फाइनप्रिन्ट बुक्सले बजारमा ल्याएको हो ।

प्रकाशित : मंसिर ६, २०७७ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्

बार्ले : एक सहरमा दुई देश

हामी यस्तो रेस्टुराँनजिक पुग्यौं, जसको बाहिर टेबलमा खाना खाइरहेका मानिस बेल्जियमतिर थिए भने किचेनको भाग नेदरल्यान्ड्समा थियो । खानेमान्छे एउटा देशमा बस्छ र बिल तिर्न अर्को देशमा पुग्छ । एक देशमा उभिइरहेको वेटर बोलाउने बित्तिकै अर्को देशमा आइपुग्छ ।
जीवा लामिछाने

बूढापाकाहरू भन्थे– दुइटा नाउमा खुट्टा नराख्नु । यो अर्ति–उपदेश सुन्दै हुर्किएको मैले यसपालि एकैचोटि दुई देशमा खुट्टा राख्ने अवसर प्राप्त गरें । यो मैले कहिल्यै कल्पना नगरेको दृश्य थियो । प्रिय पाठकहरू समक्ष त्यही नौलो अनुभव साट्न यो आलेख लेखियो ।

***

कोरोना–कहरले कतै निस्कनै दिएन । आफू बसेको सहरबाट बाहिर ननिस्केकै ६ महिनै पुग्न लागेको थियो । कोरोनाले ल्याएको कठिनता र अड्चनले सबै उल्लासलाई बिर्साइदिएको थियो । तर, तनाव, दुःख त आउँछन्–जान्छन् । यो एक ऋतुझैं चक्र हो ।

बितेका तीन दशकमा एउटै सहरमा यति लामो समय बसेको मेरो पहिलो अनुभव रहेछ । सामान्य अवस्था भएको भए महिनामा दुई–तीन नयाँ ठाउँमा यात्रा गर्नैपर्थ्यो । यात्रा मेरो स्वभाव बनिसकेको थियो । ६ महिनाको बन्दाबन्दीमा परेपछि छटपटी हुनु स्वाभाविक थियो ।

लकडाउन खुकुलो हुन थालेपछि परिवारसंग यात्रामा कतै जाने योजना बन्न थाल्यो । तर, जाने कहाँ ? युरोपेली संघका देशहरूले एक–आपसमा यात्रा खुकुलो पारे पनि मानिसहरूले पूर्ववत् अवस्थामा झैं अझै निस्फिक्री हिँड्न–डुल्न सुरु गरिहालेका छैनन् । हजारौं मानिसको ज्यान लिनेगरि फैलिएको महामारीको त्रास कायमै छ ।

महामारी बिस्तारै कम हुनु अनि युरोपको मौसमले लोभ्याउनु–एकैसाथ भयो । यो मौका सदुपयोग गर्दै हामीले जर्मनीसँगै सीमा जोडिएको देश बेल्जियमको समुद्री तट ‘उस्टेन्ड’ र अरू केही पर्यटीकीय गन्तव्य घुम्ने योजना बनायौं । र, २८ जुलाई २०२० का दिन फ्र्यांकफर्टबाट सपरिवारै निस्कने भयौं । हनाउ सहर निवासी मित्र ज्योतिन्द्र जोशी र उनको परिवार पनि यात्रामा साथ दिन तयार भए ।

हाम्रो पहिलो लक्ष्य एउटा सानो यस्तो सहर थियो, जहाँको अन्तरदेशीय सिमाना बडो विचित्रको छ । गति नियन्त्रणबिना गाडी सवार गर्न मिल्ने जर्मन अटोबाहन (राजमार्ग) पार गर्न हामीलाई धेरै समय लागेन । तीन घण्टामै जर्मन सीमा नाघेर बेल्जियम प्रवेश गर्‍यौं । बेल्जियमको पोर्टसिटी आन्त्वेरप पार गर्दै बार्ले सहर पुगियो । बार्ले पुग्न साँघुरो सडक पार गर्नुपर्छ । साँघुरो सडकका दुवैतिर रोपिएका रुखहरूले त्यहाँको सौन्दर्य आकासिएको लाग्थ्यो । सडक पार गर्दा दायाँ–बायाँ देखिने आकर्षक महलहरूले भन्थे— त्यस क्षेत्रमा सम्पन्न मानिसहरू बसोबास गर्छन् ।

युरोपमा यस्ता धेरै गाउँ छन् । तर, कोरोनाको त्रासमा पनि यही गाउँ सम्झेर हिँड्नुको कारण विशेष थियो । यो त्यही गाउँ हो, जसले दुई देशको सीमालाई आफूभित्र अटाएको छ । संसारमा सिमानाका कारण हुने अनेक विवाद सुनिरहँदा यहाँचाहिँ सिमानाका रमाइला थुप्रै किस्सा सुन्न–देख्न पाइन्छ । त्यही हेर्न, अनुभूत गर्न हामी बार्ले पुगेका थियौं ।

सानो–सुन्दर सहरबीच दुई देशका सिमाना कोरिएका थिए— कतै सडक र फुटपाथको बीचबाट कोरिएका छन्, कतै देशको राष्ट्रिय–पहिचानसहितका झन्डा राखिएका छन्, कतैचाहिँ दुई देश छुट्याउने सांकेतिक अक्षर ‘बी’ र ‘एनएल’ मात्रै लेखिएका छन् । सडकमा सीमा निर्धारण गरी लेखिएका संकेत चिह्न ‘बी’ र ‘एनएल’ छ्याप्छ्याप्ती देख्न पाइन्छ ।

‘बी’ लेखिएको छ भने बुझ्नुस्, त्यो क्षेत्र बेल्जियम अधीनस्त हो । अनि ‘एनएल’ अक्षरले भन्छ— त्यो नेदरल्यान्ड्स हो । सम्झनामा रहिरहने कुरा के भने सडकमा एक छिन हिँड्दा ‘बी’ तिर पुगिन्छ, एकै छिनमा ‘एनएल’ तिर । सडकमा जेब्राक्रसजस्तै सेतो क्रस चिह्नले सीमा छुट्याइएको छ, जसलाई नाघ्दै गर्दा मैले यो यात्रा–निबन्धको सुरुमै उल्लेख गरेको ‘दुई डुंगामा खुट्टा’ भन्ने बूढापाकाका आहान सम्झिएको थिएँ ।

***

यो सानो सहर वरपर ३० वटा यस्ता साना भू–भाग (आनक्लेभ) रहेछन् । केही भाग बेल्जियमको अधीनमा छन् भने केही भाग नेदरल्यान्ड्सको । ३० भाग जमिनमध्ये २२ टुक्रा जमिन बेल्जियम आनक्लेभ, एक डच आनक्लेभ र ७ बेल्जियम सबआन्क्लेभ रहेछन् । नजिकैको रेस्टुराँमा एक खुट्टा बेल्जियम र जीउ नेदरल्याण्डमा राखेर मैले गुगल सर्च गरें । गुगलमा बेल्जियमको अधीनमा रहेका यी भागहरू बेल्जियमको सिमानाबाट केही पर डच क्षेत्रभित्र रहेका ससाना थुम्काजस्ता देखिए ।

आखिर यस्तो अद्भुत सिमाना कसरी बन्यो ? सन् १८३१ मा बेल्जियम र नेदरल्यान्ड्स दुवै फरक–फरक राष्ट्र भए । दुवै राष्ट्रका सिमाना छुट्याउन गाह्रो थिएन । केवल यही ठाउँलाई कसरी मिलाउने भन्ने समस्या थियो । सिमाना छुट्याउनुअघि गाउँलेलाई सोधियो । गाउँलेले दुवै सरकारले गरेको निर्णय मान्ने राय व्यक्त गरे । त्यसपछि जहाँ जहाँ सिमाना गाडियो, गाउँको नाम देशको राष्ट्रभाषाअनुसार थोरै फरक पर्न गयो । नेदरल्यान्ड्सतिर यो गाउँको नाम बार्ले नस्सो भनियो भने बेल्जियमतिर बार्ले हेर्टोग । तर, कुन ठाउँ नेदरल्यान्ड्स, कुन ठाउँ बेल्जियम पर्छ, यो याद नगर्ने हो भने मेसो पाउनै सकिँदैन । सन् १८३१ मै गाउँलेको सहमतिमा सिमाना छुट्याउन सेतो धर्का कोर्ने निर्णय भयो, जुन आजपर्यन्त कायम छ । त्यही बेला छुट्याइएको सिमानाको रोचक पक्ष के छ भने हिँड्दा–हिँड्दै सिमाना कुनै घरलाई चिरा पारेर अघि बढ्छ । सिंगो घरको आधा भाग एउटा देशमा र आधा भाग अर्को देशमा पर्छ । कतिपय रेस्टुराँ, क्याफे, बार, सिटी हल आदि पनि यसरी दुई देशको सिमानामा निर्माण भएका छन् ।

‘त्यसो भए दुई देशका बीचमा भएका त्यस्ता संरचना कुन देशको अधीनमा होलान ?’ मेरो प्रश्नमा यस्तो जवाफ प्राप्त भयो, ‘जुन देशमा त्यो घरको मूलढोका पर्छ, त्यो घरका मानिस त्यही देशका नागरिक हुन् ।’ कतिसम्म भएको रहेछ भने कुनै घरको मूलढोका एउटा देशमा र बाँकी पूरै घर अर्को देशमा पर्छ भने पनि मूलढोकाले ऊ कुन देशको नागरिक हो भन्ने निर्णय गर्ने रहेछ ।

सडक पार गर्दा एउटा यस्तो घरनजिक पुगियो, जहाँ सीमा निर्धारण गर्ने सेतो धर्का ठीक मूलढोका हुँदै घरलाई चिर्दै अघि बढेको रहेछ । घरको एकातिर नेदरल्यान्ड्सको झन्डा छ भने अर्कोतिर बेल्जियमको ।

कहिलेकाहीं देशको नियम परिवर्तन हुँदा यहाँका नागरिकले पनि आफ्नो मूलढोका परिवर्तन गरेका कथा सुन्न पाइयो । दुईमध्ये एक देशमा करको दररेट बढ्यो भने सिमानाका घरबेटीले मूलढोका परिवर्तन गरेर आफू अर्को देशको नागरिक भएको घोषणा गर्न पाउने रहेछन् । मूलढोका नै परिवर्तन गरेका केही घरका किस्सा सुन्यौं हामीले ।

मानवीय स्वभावअनुरूप, एक देशमा आर्थिक मन्दी भयो भने त्यसबाट बच्न अर्को देशको नागरिकता लिन त्यहाँका नागरिक स्वतन्त्र छन् । करको दर परिवर्तन हुँदा मात्रै होइन, कुनै दण्ड सजायमा परिवर्तन हुँदा पनि कतिपय मानिसले अर्को देशको नागरिकता लिएको उदाहरण रहेछ ।

हामी यस्तो रेस्टुराँनजिक पुग्यौं, जसको बाहिर टेबलमा खाना खाइरहेका मानिस बेल्जियमतिर थिए भने किचेनको भाग नेदरल्यान्ड्समा थियो । खाने मान्छे एउटा देशमा बस्छ र बिल तिर्न अर्को देशमा पुग्छ । एक देशमा उभिइरहेको वेटर बोलाउनेबित्तिकै अर्को देशमा आइपुग्छ ।

सिमानामा घर हुनेहरूले हरेक विषयमा फाइदा उठाउने रहेछन् । बार्ले नसाउ नगरपालिकाबाट कुनै कार्य सञ्चालनको अनुमति नपाएमा त्यही विषय अर्कोपट्टिबाट अनुमति लिएर सञ्चालन गर्दा रहेछन् । कुनै क्याफे, बारमा एकातिरको समय सकिएर बन्द गर्नुपर्ने बेला भयो भने टेबल–कुर्सी अर्कोपट्टि फर्काएर अबेरसम्म व्यापार गर्दा रहेछन् ।

कतिसम्म भने एउटै पलङमा सुतेका श्रीमान्–श्रीमती पनि फरक देशमा सुतिरहेका हुन सक्छन् भन्ने कथन यहाँ रमाइलोसँग सुनाइँदो रहेछ । एउटै घर चिरिएर देशको सिमाना बनेपछि यसो हुनु अस्वाभाविक भएन ।

सानो सहर भए पनि यहाँ प्रसस्त रेस्टुराँ, बार, पव देखिन्थे । कोरोनाको समयमा पनि टेबलहरू भरिभराउ थिए । अन्ततिर व्यापार खस्किरहँदा यहाँचाहिँ चहलपहल चलिरहेकै थियो ।

कोरोना लकडाउनमा भने यहाँ केही असहजता थपिएको रहेछ । त्यतिबेला सेन्जेन देशहरूले आ–आफ्नो खुला सीमा–नीतिमा केही परिवर्तन गरेका थिए । मानिसको खुला आवागमनमा नियन्त्रण लगाइएको थियो । नेदरल्यान्ड्सले बेल्जियमभन्दा केही दिनअघि नै लकडाउन खुकुलो पारेपनि बेल्जियमतिर बस्ने मानिसहरू खानपिन र किनमेललाई नेदरल्यान्ड्सको अधीनमा पर्ने रेस्टुराँ, पसलतिर त्यतिबेला जान नपाउने रहेछन् । कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या डच क्षेत्रमा भन्दा बेल्जियममा बढी थियो ।

जताजता सिमाना देखिन्छ, त्यतैत्यतै केहीबेर हिँड्यौँ । एउटा बियर पसल देखियो । पसलबाहिर साइनबोर्डमा ‘यहाँ ६ सयथरीका बियर पाइन्छ’ लेखेको देखेपछि मलाई उत्सुकता जाग्यो । हामी पसलमा प्रवेश गर्यौं । त्यहाँको दृश्य झनै चकित पार्ने खालको थियो । समान्य देखिने यो पसलको बीच भागबाटै दुई देशको सिमाना निर्धारण गरिएको रहेछ । बेल्जियमपट्टि रहेको सेल्भ्सबाट एक बोत्तल बियर निकालेर नेदरल्यान्ड्सतर्फ रहेको काउन्टरमा गएर मैले त्यसको बिल भुक्तानी गरें ।

दुई देश भएपछि दुईथरी कानुन भइहाल्छ । दुवै देशमा मदिरा सेवन गर्ने उमेर फरक छ । करको मूल्य फरक छ । सोच र शैली फरक छ । तर, जतिसुकै फरक भए पनि दुई देशका यी नागरिकले आफूलाई सहजै ती विषयमा ढालिसकेका छन् । यही भद्रगोल सीमा अवलोकनका लागि यहाँ वार्षिक हजारौं पर्यटक पुग्दारहेछन् । नगरको आम्दानीको मुख्य स्रोत पर्यटन भएको छ । अनौठो सीमा–कथा सुनाएर व्यापार चलेको छ । शताब्दीऔंदेखि यो परम्परा कायम छ ।

***

एक दशकपछि अर्थात सन् २०३१ मा यो नगरले आफ्ना पुर्खाले मान्दै आएको स्वतन्त्र गाउँको परिकल्पनाको २ सय वर्ष पूरा हुँदै छ । तर, स्थानीयहरू यो गाउँ आठ सय वर्षदेखि यसैगरी मिलेर बसेको बताउँछन् । मध्ययुगीनकालमा त्यस क्षेत्रलाई दुई ड्युकहरूको सम्पत्तिका रूपमा छुट्याइएको रहेछ । त्योबेला ब्रावन्तका ड्युक हेर्टोगको अधीनमा रहेको ठाउँलाई बार्ले हेर्टोग भनियो । त्यसैगरी अहिलेको डच अधीनस्थ बार्ले नसाउ क्षेत्र ‘हाउस अफ नसाउ’ को अधीनमा परेको रहेछ । उनीहरूले असल छिमेकीको उदाहरण पेस गरेझैँ ती दुई पुर्खाले छुट्याएको सम्पत्तिलाई अहिले पनि मिलेमतोमा बाँडफाँड गरेका रहेछन् । यो परम्परा कैयौं वर्षसम्म उनीहरूका वंशजहरूले पनि कायम राख्दै आए । सन् १९९५ को एउटा सानो विवादित गाउँ बेल्जियमलाई हस्तान्तरण गरेपछि यो विवाद पनि सदाका लागि अन्त्य भएको बताउँछन् स्थानीय बासिन्दा ।

विकासका योजना पनि दुवैतर्फका स्थानीय निकाय मिलेर तय गर्दा रहेछन् । दुई मेयरहरूले एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्ता हेरें । दुवैले दुवैतर्फको विकासमा ध्यान दिएको र हरेक काम गर्दा सल्लाह गरेर निर्णय गरेको बताइरहेका थिए । उनीहरूको अन्तर्वार्ता हेर्दा लाग्थ्यो— उनीहरू दुई देशका फरक नगरपालिकाको विकासको कुरा गर्दै छैनन्, ओल्लो घर र पल्लोघरको नाली कसरी मिलेर सफा गर्ने भन्ने योजना बनाइरहेका छन् ।

***

दुई भागमा बाँडिएका अरू केही सहरको यात्रा गर्ने मौका मैले यसअघि पाएको थिएँ । सोभियत संघमा अध्ययन गर्दाताका सन् १९८७ मा म पहिलोपटक बर्लिन पुगेको थिएँ । शीतयुद्धकालमा जर्मनी पूर्वी र पश्चिम भागमा विभाजन भएको थियो । सहरको बीच भागबाटै बर्लिनको ठूलो पर्खाल उभिएको थियो । यो पर्खालले झन्डै तीन दशकसम्म एकै सहरका जनतालाई एकअर्काबाट टाढा पुर्‍याएको थियो । जर्मनीको एकीकरणसँग भत्किएको उक्त पर्खाल कथाजस्तै लाग्नेगरि अहिले पूरै सहर एक भएको छ । पर्खाल उभिँदाका पीडादायी अवस्था र पर्खाल भत्किएपछिका खुसीका फोहोराहरू देख्नुलाई मैले जीवनका सुखद संयोगमध्ये एक मानेको छु ।

अर्को विभजित राजधानी निकोसिया सहर हो । यो सहर सिप्रियोट निकोसिया र टर्किस निकोसियामा विभजित छ । क्यारेबियन क्षेत्रको सेन्ट मार्टिन द्वीप पनि फ्रेन्च र डच क्षेत्रमा विभाजित छ । उक्त स्थानमा सन् २०१७ मा पारिवारिक यात्रामा पुगेका थियौं ।

तर, सबै सिमानामा यस्तै सुखद दृश्य देख्न कहाँ पाइन्छ र ? म केही कडा नियन्त्रण भएका सीमा क्षेत्रहरूमा पनि पुगेको छु र परैबाट हेरेर फर्केको छु । मोजाम्बिकसँग सीमा जोडिएका दुई देश, दक्षिण अफ्रिका र स्वाजिल्यान्डको सीमानजिक केही समयअघि पुग्दा प्रवेशाज्ञाका कारण सिमानाबाटै ती देशहरूलाई हेर्दै निरीह भएर म फर्केको थिएँ, जहाँ चराचुरुंगी र जंगली जनावर निर्बाध रूपमा दुवैतर्फ घुमफिर गरिरहेका थिए । त्यतिबेला मलाई लाग्यो, प्राणीहरूमा आफूलाई सर्बश्रेष्ठ ठान्ने मानवजाति आफैंले कोरेको सीमाका कारण बन्धनमा बाँधिएको छ । यस्तै सीमाका रूपमा चित्रित भएको दुई कोरियाबीच रहेको ‘डीएमजेड’ पुग्ने उत्कट चाहना हुँदाहुँदै पनि त्यहाँ भने अझै पुग्न सकेको छैन । विश्वका छक्क पार्ने अनेक सिमानाबारे जोरन निकोलिकले आफ्नो किताब ‘द एट्लास अफ अनयुजल बोर्डर्स’ मा लेखेका छन् ।

मार्क्सले वर्गविहीन र सीमाविहीन राज्यको कल्पना गरेका थिए । जुन बेला मार्क्सले यस्तो सीमाविहीन राज्यको कल्पना गरेका थिए, त्योबेला यो स्वप्नझैँ लाग्थ्यो । तर, मार्क्सको विचारलाई नमान्ने युरोपका २६ देशले सीमाविहीन राज्यको थालनी गरेका छन् । कुनै एक सदस्य देशको प्रवेशाज्ञा लिएको मानिस अरू कुनै पनि सदस्य राष्ट्रमा निर्बाध रूपमा यात्रा गर्न पाउँछ । सेन्जेन भिसा जोन नाम दिइएको यो प्रयोग सीमाविहीन देशको राम्रो प्रयोग मानिन्छ । तर, यो गाउँ त सेन्जेन जोनको भिसाभन्दा अझ एक पाइला अघि भएझैँ लाग्यो ।

आखिर उत्तर कोरिया र दक्षिण कोरियाको पनि सिमाना नै हो । उनीहरू त झन् एकै जाति, भाषा र संस्कृतिका मानिस हुन् । र, नेदरल्यान्ड्स र बेल्जियमको यो सानो सहर बार्ले पनि सीमा सहर नै हो । एकातिर निर्बाध हिँड्न र नागरिकतासमेत परिवर्तन गर्न पाइन्छ । अर्कातिर सीमा छेउछाउ हिँड्दा पनि गोली खाने डर हुन्छ । सीमाविहीन भूगोलको कल्पना गरेर निर्बाध रूपमा संसार घुम्न चाहने यात्री म, अहिले सिमानाका यी दुई फरक दृष्टिकोण सम्झिइरहेको छु ।

प्रकाशित : भाद्र १३, २०७७ ११:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×