१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जीवा लामिछानेको नियात्रासंग्रह ‘देश देशावर’ बजारमा

काठमाडौँ — उद्यमी जीवा लामिछानेको नियात्रासङ्ग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ । विश्वव्यापी रूपमा बढ्दो कोभिड–१९ को संक्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरी भिडियोमार्फत बिहीबार पुस्तक सार्वजनिक गरिएको हो ।

जीवा लामिछानेको नियात्रासंग्रह ‘देश देशावर’ बजारमा

लामिछानेले नितान्त नौलो क्षेत्रमा गएर नौलो विषय टिपेर मिहिनेतसाथ यो कृति लेखेको लेखक खगेन्द्र संग्रौलाले बताए । ‘यो कति अति सजिलो ढंगले लेखिएको छ । सामान्य मान्छेले यसलाई सजिलोसँग बुझ्छ, यो कृति पढ्दा उसले नयाँ भूगोल पढ्छ,’ उनले भने, ‘नयाँ संस्कृति पढ्छ, नयाँ मान्छे भेट्छ, नयाँ रमाइलो भेट्छ ।’

संसारमा नेपालीहरू कहाँकहाँ पुगेका छन्, उनीहरू कुन अवस्थामा कसरी बसेका छन्, त्यो चिज थाहा पाउनमा लामिछानेको ठूलो चाख रहेको संग्रौलाले बताए । ‘कुनै देशको कुनाकानीमा नेपालीले सानो उद्यम गरेको छ भने त्यो देखेर उहाँ अत्यन्त प्रसन्न हुनुहुन्छ, हरेक नेपालीको प्रगतिलाई उहाँले आफ्नो र देशको प्रगति ठान्नुहुन्छ,’ उनले भने, ‘समयसमयमा उहाँ कुनै नयाँ ठाउँमा जानुहुन्छ, त्यसबारेको जानकारी टपक्क टिपेर सजिलो किसिमले लेखिदिनुहुन्छ ।’

लामिछानेको यो कृति विषयको नवीनता, क्षेत्रको नवीनाता र पहुँचको नवीनताका दृष्टिबाट उदाहरणीय रहेको उनले बताए । ‘कोरोनाले तनावग्रस्त भएको मानिसलाई आनन्द प्रदान गर्न यो कृति सक्षम छ,’ संग्रौलाले भने ।

शब्दले संसार घुमाउने किताब ‘देश देशावर’ रहेको लेखक अमर न्यौपानेले बताए । यसले विशेषगरी अफ्रिकी चार देशको युद्ध र शान्ति, विनाश र विकासको कथा पनि भन्ने उनको भनाइ छ । ‘संसार घुम्न चाहनेहरूका लागि यो किताब पथप्रदर्शक हो,’ उनले भने, ‘विकासप्रेमी एवम् राजनीतिज्ञहरूका लागि यसले आफ्नो देश बनाउन मार्गप्रशस्त पनि गर्छ ।’

किताबमा विभिन्न किसिमका युद्ध र द्वन्द्वका कारण ध्वस्त भएर पनि त्यहाँबाट माथि उठेर विकसित भएका अफ्रिकी देशहरूको कथा छ । साथै अन्य विभिन्न देशका संस्कृति एवम् रहनसहन, भूगोल आदि विषयमा पनि सरल र सरस किसिमले प्रस्तुत गर्नु यो कृतिको विशेषता रहेको उनको भनाइ छ । यहाँका प्रत्येक नियात्रामा लेखकले आफ्नो देश सम्झेका छन् । ‘त्यसको लक्ष्य आफ्नो देशका नेताहरूलाई विकासको नमुना देखाउनु हो,’ न्यौपानेले भने ।

जसले एउटै पुस्तक पढेर संसारका धेरै ठाउँबारे जानकारी राख्न चाहन्छ, उसका लागि पु्स्तक उपयोगी हुन सक्ने लेखक लामिछानेले बताए । ‘यो पुस्तकमा तपाईंले ठूलो ‘लिटरेरी भ्यालु’ खोज्नुभयो भने त्यो पाउनुहुन्न,’ लामिछानेले भने, ‘तर एउटै पुस्तकबाट संसारका विभिन्न देश एवम् ठाउँबारे जान्न, त्यहाँको रहनसहन बुझ्न र भौगोलिक अवस्थाबारे जानकारी दिन भने पक्कै काम लाग्नेछ ।’ कतै कुनै दृश्यले लोभ्याएर पुगेका बेला र कतै छुट्टी मनाउने उद्देश्यले घुम्न गएका बेला प्रत्येक यात्राका पृथक् भोगाइ, अलग सिकाइलाई आफूले पुस्तकमा समेटेको लामिछानेले बताए ।

यात्रा गर्ने र त्यसलाई लिपिबद्ध गर्न रूचाउने लामिछानेले संसारका एक सय ३० भन्दा बढी देश घुमिसकेका छन् । पुस्तकलाई फाइनप्रिन्टले बजारमा ल्याएको हो ।

प्रकाशित : मंसिर ४, २०७७ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?