कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो

एजेन्सी

काठमाडौँ — अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ सार्वजनिक भएको पहिलो दिनमै अमेरिका र क्यानडामा मात्रै करिब ८ लाख ९० हजार प्रति बिक्री भएको छ । ओबामाको पुस्तक अमेरिकाका अन्य राष्ट्रपतिका संस्मणरणभन्दा धेरै बिक्री हुने अनुमान गरिएको छ । 

ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो

प्रकाशन गृह पेन्गुइन ऱ्यान्डम हाउसका अनुसार पहिलो दिनको बिक्रीमा अग्रिम अर्डर, इ–बुक र अडियो बुकको संख्यासमेत जोडिएको छ । पहिलो दिनको बिक्रीले आफूहरुले निकै उत्साहित भएको पेन्गुइन ऱ्यान्डम हाउसको सहप्रकाशन समूह क्राउनका डेभिड ड्रेकले बताए । ओबामाको पुस्तक नोभेम्बर १७ मा सार्वजनिक भएको हो ।

यसअघि ओबामा पत्नी मिसेलको संस्मरण ‘बिकमिङ’ पहिलो दिनमा उत्तर अमेरिकामा ७ लाख २५ हजार प्रति बिक्री भएको थियो । सन् २०१८ मा प्रकाशित उक्त पुस्तक अहिलेसम्म विश्वभर गरेर एक करोड प्रतिभन्दा बढी बिक्री भइसकेको छ ।

पूर्वराष्ट्रपति बिल क्लिन्टनको संस्मरण ‘माई लाइफ’ पहिलो दिनमा उत्तर अमेरिकामा मात्रै करिब ४ लाख प्रति बिक्री भएको थियो भने जर्ज डब्लू बुसको ‘डिसिजन प्वाइन्ट्स’ झन्डै २ लाख २० हजार प्रति बिक्री भएको थियो । अहिलेसम्म क्लिन्टनको उक्त पुस्तक ३५ लाख र बुसको संस्मरण करिब ४० लाख बिक्री भएको छ ।

सार्वजनिक भएको पहिलो दिनमै सबैभन्दा बढी बिक्री हुने पुस्तकचाहिँ जे के रोलिङको ‘ह्यारी पोर्टर एन्ड द डेथ्ली हलोज’ हो । सन् २००७ मा प्रकाशित उक्त पुस्तक पहिलो २४ घण्टामै ८० लाखभन्दा बढी बिक्री भएको थियो ।

ओबामाको पुस्तक प्रकाशन नहुँदै चर्चामा आएको थियो । बाराक ओबामा र मिसेल ओबामाको पुस्तक प्रकाशनका लागि क्राउन पब्लिकेसनले करिब ६ करोड डलर तिरेको बताइएको छ ।

ओबामाको नयाँ पुस्तकमा सन् २०१० मा आफ्नो भारत भ्रमणका बारेमा पनि चर्चा गरेका छन् । साथै उनले आफ्नो भारत भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह, कांग्रेस नेतृ सोनिया गान्धी र कांग्रेस नेता राहुल गान्धीसँगको भेटका बारेमा पनि चर्चा गरेका छन् । राहुल गान्धीमाथि गरेको टिप्पणीले भारतीय सञ्चारमाध्यममा निकै बहस पनि भएको थियो । ओबामाले राहुललाई ‘अपरिपक्व’ व्यक्तिको रुपमा टिप्पणी गरेको बताइएको छ ।

त्यस्तै पुस्तकमा ओबामाले आफ्नो दुई कार्यकालका अनुभव, ओसामा बिन लादेनमाथिको आक्रमण र ट्रम्पको उदयमाथि पनि चर्चा गरेको बताइएको छ ।

ओबामाले यसअघि नै लेखेका पुस्तक ‘ड्रिम्स फ्रम माई फादर’ र ‘द अडासिटी अफ् होप’ लाखौं प्रति बिक्री भइसकेका छन् ।

प्रकाशित : मंसिर ४, २०७७ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?