एबीभीपीको विरोधपछि अरुन्धती रोयको पुस्तक विश्‍वविद्यालयको पाठ्यक्रमबाट हटाइयो

इकान्तिपुर डेस्क

काठमाडौँ — आरएसएससँग निकट विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्‍ (एबीभीपी) को विरोधपछि तमिलनाडु राज्यको तिरुनेलवलीस्थित मनोनमनियम सुन्दरनर विश्वविद्यालयको पाठ्यक्रमबाट अरुन्धती रोयको पुस्तक हटाइएको छ ।

एबीभीपीको विरोधपछि अरुन्धती रोयको पुस्तक विश्‍वविद्यालयको पाठ्यक्रमबाट हटाइयो

सन् २०१७ देखि उक्त विश्वविद्यालयको एम. ए. अंग्रेजीको पाठ्यक्रममा रोयको 'वाकिङ विथ द कमरेड्स' समावेश थियो । यो पुस्तक भारतीय माओवादी कार्यकर्तासँग उनीहरुकै क्षेत्रमा गएर गरिएको कुराकानीमा आधारित छ ।

गत हप्ता एबीभीपीका कार्यकर्ताले विश्वविद्यालयका कुलपति डाक्टर के पिचुमणिलाई भेटेर उक्त पुस्तक पाठ्यक्रमबाट हटाउन माग गरेका थिए ।

'राष्ट्रविरोधी' किताबको संज्ञा

एबीभीपीले कुलपतिलाई दिएको पत्रमा अरुन्धती रोयको उक्त पुस्तक राष्ट्रविरोधी भएको आरोप लगाइएको छ । पत्रमा भनिएको छ, 'तीन वर्षदेखि यो पुस्तक पाठ्यक्रममा हुनु निकै दुर्भाग्यपूर्ण कुरा हो । यसको परिणामस्वरुप नक्सल र माओवादी विचारधार विद्यार्थीमाथि सीधै थोपरिएको छ । एबीभीपी पाठ्यक्रममा यो राष्ट्रविरोधी पुस्थक समावेश गरिएकोमा कडा निन्दा गर्छ । विश्वविद्यालय प्रशासनले माफी मागोस् र तुरुन्त यसलाई पाठ्यक्रमबाट हटाओस् । ' अहिले यो पुस्तकको ठाउँमा एम कृष्णनको 'माई नेटिभ ल्यान्ड : एस्सेज अन नेचर' राखिएको छ ।

दक्षिण तमिलनाडुका संयुक्त सचिव सी विग्नेशले बीबीसी तमिलसँग कुरा गर्दै भनेका छन्, 'हामीलाई थाहा थिएन कि यो किताब तीन वर्षदेखि पाठ्यक्रममा छ । हाम्रो संगठनका एक विद्यार्थी जो अहिले एमए पढिरहेका छन् उनले जानकारी गराएपछि मात्रै हामीले यसबारेमा थाहा पाएका हौं । त्यसपछि हामीले यसलाई पाठ्यक्रमबाट हटाउन माग गरेका थियौं ।'

पाठ्यक्रमबाट पुस्तक हटाइएकोमा भारतीय जनता पार्टीले स्वागत गरेको छ भने डीमएके र सीपीएमले यसको विरोध गरेका छन् । विश्वविद्यालयका कुलपतिले भने विद्यार्थीको हितलाई मध्यनजर गर्दै यो फैसला लिएको दाबी गरेका छन्।

'वाकिङ विथ द कमरेड्स' कस्तो पुस्तक हो ?

अरुन्धती रोय बुकर पुरस्कार प्राप्त चर्चित लेखक हुन् । उनले सन् २०१० मा माओवादी प्रभावित मध्य भारतको भ्रमण गरेकी थिइन् । त्यसपछि उनले 'वाकिङ विथ द कमरेड्स' पुस्तक लेखेकी थिइन् । सन् २०११ मा पहिलो पटक प्रकाशित यस पुस्तकमा माओवादी नेता कार्यकर्ताको अनुभव प्रस्तुत गरेकी छिन् । साथै उनले माओवादीहरुले हतियार किन उठाउनुपर्‍यो भन्ने कारणको पनि खोजी गर्ने प्रयास गरेकी छिन् ।

माओवादी सेनासँग अरुन्धती रोय

अरुन्धती रोयले आफूलाई विद्रोही संगठनले नै बोलाएको बताएकी छिन् । पेरिस रिभ्यूमा प्रकाशित एउटा अन्तर्वार्तामा रोयले माओवादी सेनामा झन्डै आधा संख्यामा महिला भएको बताएकी छिन् ।

माओवादीहरुले सबैभन्दा पहिला आदिवासी महिलाहरुलाई आफ्नो आन्दोलनमा सहभागी गराएको पनि उनले बताएकी छिन् । त्यस्तै सरकारी संगठनको ज्यादती र पितृसत्तात्मक समाजबाट छुटकारा पाउनका लागि माओवादी आन्दोलनमा सहभागी भएको अधिकांश महिलाले आफूलाई बताएको रोयले उक्त अन्तर्वार्तामा जानकारी दिएकी छिन् ।

-बीबीसी हिन्दीको सहयोगमा

प्रकाशित : मंसिर १, २०७७ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?