कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुकुरको बायोग्राफी : ब्वाँसोको मेटामर्फोसिस 

के कुकुरको आदिम पुर्खा ब्वाँसो थियो ? रूप र गुणसमेत नमिल्ने ब्वाँसोलाई नै मान्छेले कुकुर बनाएको सत्य अपत्यारिलो लाग्न सक्छ । तर, यी दुई प्राणीबीच नजिकको हाडनाताको सम्बन्ध छ । ब्वाँसोलाई मान्छेले लामो समयक्रममा ‘सेलेक्टिभ ब्रिडिङ’ को घन–छिनो चलाएर कुकुर कुँदेको हो । ‘युरेसियन ग्रे वुल्फ’ नै आधुनिक कुकुरको जंगलबाट छुट्टिएको आदिम पुर्खा हो । 
विकास बस्नेत

काठमाडौँ — करिब २६ हजार वर्षअघि । फ्रान्सको दक्षिणी क्षेत्रमा नदीले कटान गरेको गल्छीमा बनेको एक गुफा (हाल सोभे गुफाको नामले चर्चित) । करिब आठ/दस वर्षको फुच्चे केटो खेल्दाखेल्दै वा योजना बनाएर ओढारको मुखैमा पुग्यो । उसको हातमा सल्लाको अगुल्टो थियो । भित्र चुक घोप्टेझैँ अँध्यारो थियो । ऊ एक छिन टक्क अडियो ।

कुकुरको बायोग्राफी : ब्वाँसोको मेटामर्फोसिस 

निष्पट्ट अँध्यारो छाएको आँखामा बल्ल मधुरो दृश्य देखिन थाल्यो । गुफाभित्र थुप्रै च्याम्बर थिए । ऊ सरासर भित्र पस्यो । भुइँभरि भालुलगायत अन्य प्राणीका हाडखोर छरिएका थिए । ऊ बिस्तारै अगाडि बढ्यो । अगुल्टो माथि उचाल्दै त्यसैको धिपधिपे उज्यालोमा ऊ गुफाको भित्तामा टोलाएर हेर्न थाल्यो । वरिपरि भित्ताभरि गुमनाम चित्रकारहरूको सामूहिक चित्रकला प्रदर्शनी चलेझैँ थियो ।

गुफाको भित्तामा ती चित्रहरूको गुमनाम प्रदर्शनी ऊ त्यहाँ पुग्नुभन्दा बाह्र हजार वर्षअघिदेखि चलिरहेको थियो । चित्रहरू रातो माटो र अँगारले कोरिएका थिए । चित्रमा खिपिएका थिए– गैंडा, हात्ती, भालुजस्ता ठूलठूला तेह्रभन्दा बढी जनावरका आकृति । अक्षरको आविष्कार अझै निकै सुदूर भविष्यमा थियो । सायद कलामा आफ्नो स्वामित्व देखाउन हो, भित्तामा कलाकारले आफ्ना पञ्जाको छाप छाडेका छन् । यथार्थको दुरुस्त प्रतिविम्बनको आधारमा यी चित्र अद्भुत छन् । ‘रिप्रेजेन्टेसनल आर्ट’ को यो सर्वप्राचीन अद्वितीय नमुना हो ।

आधुनिक मानवको आधुनिक चेतनाकै आरम्भको झिल्को मान्छन् अहिलेका विज्ञहरू त्यस कलालाई । तर, मानव सभ्यताको विकासमा त्यस कलाको महत्त्वबारे भने त्यो फुच्चे केटो बेखबर थियो । चित्र हेरेर सायद ऊ फर्कियो । ऊ फर्किएलगत्तै माथिबाट झरेको विशाल चट्टानले गुफाको मुख थुनिदियो । पछिल्लो २६ हजार वर्षसम्म त्यो फुच्चे केटो नै त्यस गुफामा प्रवेश गरेर चित्रकला अवलोकन गर्ने अन्तिम मान्छे बन्यो । सन् १९९४ मा आएर त्यस गुफा पुनः एकपटक दुनियाँको नजरमा पर्‍यो ।

चुनढुङ्गाले बनेको लेदोभुइँमा छापिएको उसको पैतालाको डोब र उसले बोकेको मसालले भित्तोमा छाडेको ध्वाँसोको दसी प्रमाणका आधारमा माथिको कथा हालिएको हो । विवरणमा मात्रै केही तलमाथि हुन सक्छ ।

त्यो उमेरको मान्छेको पैतालाको डोब बन्नु र त्यसमाथि त्यति लामो समयसम्म दुरुस्त रहनु दुर्लभ कुरा हो । उसको पैतालाको डोबलाई थप अमरत्व प्रदान गर्न त्यहाँ अर्को एक जोर पैतालाको डोब पनि खिपिएको थियो । उसको पैतालाको डोबछेउ समानान्तर रूपमा बनेको, वयस्क मान्छेको पन्जाजत्रै आकारको तर अर्कै जनावरको पैतालाको डोब पनि थियो— लगभग ब्वाँसोको जस्तै तर दुरुस्त ब्वाँसोको गुण नभएको । कुकुरसँग केही मिल्दो, तर कुकुरकै पनि भन्न ठ्याक्कै नमिल्ने । दुवै जनावरको साझा विशेषता भएको जनावरको पैतालाको डोब थियो त्यो (दुवैको साझा चरित्र भएको यस प्राणीलाई अध्येताहरू ब्वाँसो–कुकर अर्थात् वुल्फ–डगसमेत भन्छन्) । साँघुरो ठाउँ भए पनि एक–आपसमा नखप्टिएको/नजुधेको यी दुई भिन्न प्राणीको पैतालका डोबहरू हेर्दा उनीहरूबीच कम्तीमा पनि मित्रवत् व्यवहार थियो भन्न सकिन्छ ।

के हाम्रो घर–आँगन, चोटा–कोठा, बैठकमा समेत रजाइँ गर्ने कुकुरको आदिम पुर्खा ब्वाँसो थियो ? रूप र गुणसमेत नमिल्ने ब्वाँसोलाई नै मान्छेले कुकुर बनाएको सत्य अपत्यारिलो लाग्न सक्छ । तर, पुरातात्त्विक र आनुवांशिक प्रमाणले पुष्टि गरेको तथ्य हो यो । ‘युरेसियन ग्रे वुल्फ’ नै आधुनिक कुकुरको जंगलबाट छुट्टिएको आदिम पुर्खा हो । अनि सोभे गुफा कुकुर र मान्छेको लामो सहयात्राको लालमोहोर खिपिएको स्थानमध्ये एक हो ।

०००

आफ्नोवरिपरि अवलोकन गरेर प्रजननका सम्बन्धमा हाम्रो पुर्खाले एउटा आधारभूत कुरा बुझ्यो— बाउआमाजस्ता हुन्छन्, तिनले त्यस्तै सन्तान जन्माउँछन् । अर्थात् भेडाले भेडा जन्माउँछ, अम्बाको फलको बियाँबाट अम्बाको बोट उम्रन्छ आदि । साथमा हाम्रो पुर्खाको मनमा अर्को कुरो पनि गढ्यो— बाउआमाका केही निश्चित शारीरिक गुण सन्तानमा पनि दुरुस्त सर्छन् । यो सामान्य अवलोकनले दिएको ज्ञानलाई भजाएर मान्छेले पहिलोपटक वनस्पति तथा प्राणीहरूमा विद्यमान गुणमध्ये तुलनात्मक रूपमा आफ्ना लागि उपयोगी गुण भएको बीउ/आमाबाउ छानेर प्राणी तथा वनस्पतिहरूको प्रजनन गराउन थाल्यो । जस्तै रूखमा लागेमध्येका पोटिला र स्वादिला फललाई बीउ भनी जोगाएर राख्यो होला, पाल्न वा कज्याउन सजिलो र सुभानी पशुको भालेपोथी छानेर प्रजनन गरायो होला । यसरी प्रजननभित्रका अन्तरनिहित संयन्त्र नबुझेरै भए पनि ‘सेलेक्टिभ ब्रिडिङ’ को सुरुआत भयो । डार्बिनले यसलाई कृत्रिम छनोट भनेका छन् । कृषि क्रान्तिको आरम्भ यसैसाथ भयो । र, ‘ट्रायल एन्ड एरर’ को हजारौं चरण र पुस्ता पार गराएर मान्छेले जंगली अवस्थामा रहेका वनस्पति अनि प्राणीहरूलाई आफूले प्रयोग गर्न सक्ने बनायो । यस क्रममा ती प्राणी तथा वनस्पतिले जंगली स्वरूपमा रहँदाका स्वरूप, चरित्र र व्यवहार नै गुमाए । मान्छेले आफ्ना लागि आवश्यक अन्नपात र पशुपक्षी पायो । र, घुमन्ते जीवन थामियो । मान्छेले आफूले प्रयोग गर्ने अन्नपातदेखि पशुपक्षीसमेत तयारी अवस्थामा देख्न थालेको सयौं पुस्ता भयो होला । रेडिमेड दुनियाँमा फुत्त आएका हामीलाई यो अपत्यारिलो लाग्नु अस्वाभाविक होइन ।

माथि लेखिएजस्ता प्रशस्त उदाहरण दिँदै डार्बिनले सन् १८५९ मा ‘द ओरिजिन अफ स्पेसिस बाई मिन्स अफ नेचुरल सेलेक्सन’ मा प्रकृतिमा वनस्पति र प्राणीहरूको स्वरूप लामो कालखण्डमा परिवर्तनशील छ भन्ने तर्क गरे । यही पुस्तकले प्राणी र वनस्पतिको उद्भव र उद्विकासलाई हेर्ने हाम्रो सामूहिक चेतनाको निर्माण गर्‍यो । उनको सरल तर्क थियो— हाम्रा पुर्खाले आफूले चाहेका गुणहरूको छनोट गरेर वनस्पति र प्राणीहरूको स्वरूप–चरित्र केही हजार वर्षमा परिवर्तन गरेझैं सृष्टिमा यो प्रक्रिया जीवनको आरम्भदेखि चलिरहेको छ । फरक यत्ति हो— प्रकृतिको छनोट ‘अन्धो’ हुन्छ, कुनै पनि प्रकारको स्वार्थबाट नितान्त निरपेक्ष हुन्छ । पर्याप्त आहारा, बासस्थान, उपयुक्त पार्टनर आदि प्राप्तिका लागि कुनै पनि प्राणीको समूहमा प्रतिस्पर्धा हुन्छ/संघर्ष हुन्छ । यो प्रतिस्पर्धामा तुलनात्मक रूपमा थोरै भए पनि अब्बल गुण/स्वभाव भएको प्राणी/वनस्पतिको बाँच्ने र प्रजनन गर्ने सम्भावना बढी हुन्छ । यस्तै अब्बल गुण पछिल्लो पुस्तामा पुस्तान्तरण हुँदै जान्छ । यस्ता गुणहरू थपिँदै जाँदा कालान्तरमा प्राणीको उद्विकास र प्रजातीकरण हुन्छ । यो उद्विकासलाई अगाडि बढाउने छनोटको प्रक्रिया वा संयन्त्र नै डार्बिनको चर्चित ‘प्राकृतिक छनोट’ हो ।

ब्वाँसोदेखि कुकरसम्म

कृषि क्रान्तिभन्दा अघि मान्छेले पालेको एक मात्र जनावार थियो— कुकुर । आधुनिक मानवले अफ्रिका छाडेर बाहिर निस्कँदा उत्तरी गोलार्द्धभरि फैलिएको ठूलो स्तनधारी प्राणी ब्वाँसो नै थियो । एसियाको ध्रुव क्षेत्र र दक्षिण एसियाको उष्ण क्षेत्रहरूको विविधतामा एकसाथ फैलिन ब्वाँसोले पर्याप्त अनुकूलन क्षमता विकास गरिसकेको थियो । यसका लागि ऊसँग लाखौं वर्षको उद्विकासको इतिहास थियो । सयौं वर्षसम्म ब्वाँसो र मान्छेले एकै भूगोल साझेदारी गरी भोगचलन गरे । तर, मान्छे र ब्वाँसोबीच लामो समयसम्म अन्तरक्रिया वा कुनै पनि प्रकारको सहकार्य हुन सकेन । बरु मौका पर्दा उनीहरूले एकअर्काको सिकार गरे । नत्र सकेसम्म दुवैले एकअर्काको बाटो काटेनन्, तर्किए ।

तर, यो लामो समय टिकेन । सहयात्राको आरम्भ भएरै छाड्यो । प्रारम्झिक अन्तर्त्रियाको प्रकृति कुन किसिमको थियो भन्नेमा मतैक्यता छैन । एउटा मतको सम्भावित परिदृश्यअनुसार, मान्छेले नै यसको पहलकदमी लियो । किनभने एसियाको ध्रुवीय क्षेत्रको चिसोदेखि दक्षिण एसियाको उष्ण प्रदेशजस्तो विषम वातावरणमा अनुकूलन भएर सबैतिर विस्तार भएको ब्वाँसोका लागि नवआगन्तुक दुईखुट्टे ‘प्राइमेट्स’ सँग सहकार्य गर्नु खास रुचि वा आवश्यकताको विषय थिएन ।

पछिल्लो हिमयुग सकिएको थिएन । उत्तरी गोलर्द्धको निकै तलसम्म हिउँको बाक्लो तन्नाले लपेटिएको थियो । एक साँझ हाम्रा सिकारी फिरन्ते पुर्खाको अस्थायी मुकाममा एक किशोर अल्छे पारामा बसिरहेको थियो । उसलाई केही उटपट्याङ सुझ्यो । केही दिनअघि ठूलाहरूको पछि लागेर सिकार जाँदा उसले ब्वाँसोको बथान देखेको थियो । बथानमा केही धुतुमुने छाउरो देखेर ऊ लोभिएको थियो । त्यस साँझ ऊ मौका छोपेर त्यही बथानतिर गयो— भाला लिएर । र, छाउरा हुर्काइरहेकी आमालाई तर्साएर केही छाउरा उठाएर ल्यायो वा यस्तै अर्को परिदृश्य पनि हुन सक्छ ।

सिकारी युगका सिपालु समूहलाई आफ्नो परिवेशबारे राम्रो ज्ञान नहुने कुरै भएन । ब्वाँसोको ओढार थाहा पाउनु र एउटा छाउरो चोरेर ल्याउनु उति ठूलो कुरो भएन । एकपटक चोरेपछि दोस्रोपटक चोर्न झनै गाह्रो भएन । यसरी यो कार्य निरन्तर चलिरह्यो । छान्ने बेला कज्याउन सजिलो, सुभानी र शान्त स्वभावको छाउरो छानियो होला । यही स्वभावका छाउरालाई हुर्काएर प्रजनन गराइयो होला । र, लामो समयान्तरमा बिस्तारै थाहै नपाई घरेलु बनाउने प्रयोगको आरम्भ भयो होला ।

घरैमा पालेर छाउरो हुर्काउनुमा मान्छेले पक्कै पनि यसको व्यावहारिक उपादेयतालाई नै ख्याल गरेको हुनुपर्छ । जस्तो छाउरो छँदा केटाकेटीका साथी, बयस्क हुँदा चौकीदारको काम वा सम्हाल्नै मुस्किल हुने गरी जंगली व्यवहार देखाएमा मार्नु र मासु वा छालाका लागि उपयोगमा ल्याउनु । पाषाण युगका फिरन्ते सिकारीले जनावरको छाला पहिरिएको प्रमाण नभएको होइन । दक्षिणी साइबेरियामा फेलापरेको हात्तीको दाँतमा कुँदिएको सानो मानव आकृतिको ज्यानमा ब्वाँसोको भुत्लाले बनेको कपडा भिराइएको छ । साथै त्यही कालमा फेला परेको ब्वाँसोको अस्थिपन्जरहरूमा लागेको चोटको निसानले उक्त जनावरलाई मारेर छाला काढिएको हुन सक्ने प्रमाणहरू छन् ।

यो सहयात्राको आरम्भको पहलकदमी मान्छेले नै लिएको हुनुपर्छ भन्नु सायद मान्छे हुनुको उच्चताभास मात्रै पनि हुन सक्छ । यस सिद्धान्तका आलोचक यस्तै भन्छन् ।

त्यसो होइन, बरु यो सहयात्राको पहलकदमी ब्वाँसोले नै लिएको हो भन्ने अर्को वैकल्पिक मत छ । यसलाई ‘सेल्फ डोमेस्टिकेसन’ को सिद्धान्त पनि भन्छन् । यसको तर्कअनुसार, यो सम्बन्ध आरम्भका लागि मान्छेले सोझै हस्तक्षेप त गरेन तर अनुकूल स्थानीय परिवेश/पर्यावरण निर्माण गरिदियो । यसको सम्भावित परिदृश्यअनुसार फिरन्ते सिकारी समूहको अस्थायी क्याम्प छेउछाउ छाडिएको रहलपहल जुठोपुरो सिकारको आस गर्दै वा पल्किएर ब्वाँसोको एकाध वा सानो समूह नै मान्छेको पछि लाग्न थाल्यो । आफ्नो क्याम्पको बाहिरी घेरामा ब्वाँसोको समूह रहँदा मान्छेलाई पनि अन्य जनावरको आक्रमणको खतरा कम भयो । यसले सानै सही तर आपसी फाइदाका आधारमा साझेदारीको विकास गर्‍यो । समयक्रममा उक्त समूह वा तिनका सन्तान मान्छेको निकटतामा नै रत्तिन थाले । जीव वैज्ञानिकहरू यस्तो सम्बन्धलाई ‘कमेन्सल रिलेसन’ भन्छन्, जहाँ कुनै प्रतिकूल साइड इफेक्टबेगर एक जीवले अर्कोबाट फाइदा लिइरहेको हुन्छ ।

सम्बन्धको आरम्भ पक्कै हार्दिक थिएन होला । सायद हाम्रा पुर्खाले ब्वाँसोको बथानमाथि ढुङ्गामुढा प्रहार गरे होलान्, भाला लिएर लखेटे होलान्, ठूलो आवाज निकालेर थर्काए होलान्, अगुल्टोले तर्साए होलान् । केही डरले भागे होलान् तर सायद केहीले ढिट बनेर पच्छ्याइरहे । यिनैले यो सहयात्राको जग खने । मान्छेको निकटता सहन सक्ने स्वभाव भएकाहरूले अरूको तुलनामा राम्रो खान पाए, लामो समय बाँच्न र बढी प्रजननमार्फत आफ्नो त्यो स्वभाव सन्तानमा विस्तार गर्न पाए । उसको यो स्वभावले प्राकृतिक छनोटको स्पर्धामा तुलनात्मक रूपमा ‘फेवर’ पायो । बिस्तारै पछिल्लो पुस्तामा संकोच र डरको मनोवैज्ञानिक पर्खाल भत्किँदै गयो । व्यवहार निर्धारित गर्ने निश्चित जिन छनोट हुँदा साथै लागेर छनोट भएको जिनले शारीरिक परिवर्तनसमेत ल्याउन थाल्यो ।

‘सेल्फ डोमेस्टिकेसन’ को यो तर्क पनि कमजोर छैन । ब्वाँसोको आधुनिक प्रजातिसमेत परिवेशअनुरूप आफूलाई अनुकूलन गर्न निकै माहिर हुन्छन् । अहिले पनि क्यानडामा ब्वाँसोको समूहमा दुई भिन्न जीवनशैली देख्न सकिन्छ । एउटा फिरन्ते जीवन बाँच्छ । अर्को स्थिर जीवन बाँच्न मन पराउँछ । हुन सक्छ, ३५ हजार वर्षअगाडि पनि यस्तै फिरन्ते ब्वाँसोको समूह हाम्रा पुर्खाहरूको पछि लागेको थियो ।

अन्तरघुलन, सहयात्रा वा सहकार्यको यो पहलकदमी कसले लियो ? यस सवालको ठ्याक्कै जवाफ नआउन सक्छ । तर, जब अन्तरसम्बन्ध र अन्तरक्रिया आरम्भ भयो, यो बिस्तारै मजबुत हुन थाल्यो । समयक्रममा फाइदाका थम आयाम खुल्न थाले । सिकार गर्ने क्रममा बिस्तारै ‘डोमेस्टिकेट’ हुँदै गरेको ब्वाँसोको सीपलाई मान्छेले प्रयोगमा ल्यायो । यो विन्दुबाट यस सम्बन्ध अझ निकट बन्न पुग्यो ।

उत्तरी गोलार्द्धको पर्यावरणमा आमूल परिवर्तन आउन थालेको समय थियो । ध्रुवीय क्षेत्रको हिउँ पग्लन थाल्यो, यो गोलार्द्धमा तापमान बढ्न थाल्यो र मान्छेको जीवनशैली त्यहीअनुकूल बदलिन थाल्यो । साथै सिकार गर्ने मान्छेका हतियारको स्वरूपमा र सिकारको शैलीमा पनि ठीक यही समयमा परिवर्तन आउन थाल्यो । यसअघि मान्छेले सिकार गर्न भाला, बन्चरोजस्ता हतियार प्रयोग गर्थ्यो । यसले सिकारी र सिकार लगभग जम्काभेटको स्थिति निम्त्याउँथ्यो । यस्तोमा सिकारी स्वयंको ज्यान हरपल खतरमा हुन्थ्यो ।

१२ हजार वर्षअघिदेखि हतियारको स्वरूप र सिकार शैलीमा समेत परिवर्तन आउन थाल्यो । पत्थरका साना, धारिला र तिखा चोइटा बनाएर भालामा जोडिन थालियो । मानव विकासको माइक्रोलिथिक युग सुरु भयो । यस्ता हतियारले टाढैबाट सिकारलाई निसाना ताकेर हुर्‍याउन सकिने भयो । यसले सिकारीलाई सिकारबाट हुन जाने खतरा कम भयो । सिकार शैली र प्रविधिमा आएको यो परिवर्तनले कुकुरको प्रयोग अझ विस्तार हुन पुग्यो । सिकार गर्न र हतियारको प्रहारले घाइते सिकार पहिल्याउन ब्वाँसो–कुकुर उपयोगी भयो । आफ्नो सहयोगबाट प्राप्त सिकारमा उसले पनि आफ्नो भाग पायो । यसपछिको कालखण्डमा विस्तृत भूगोलमा कुकुरको फैलावट देखिनु सायद सिकारका लागि उसको महत्त्वपूर्ण सहकार्य नै हुनुपर्छ ।

शारीरिक संरचना र आनीबानीको रूपमा कुकुर र ब्वाँसो कुन विन्दुबाट छुट्टिन थाले भन्ने प्रमाणको अकाट्य त्यस्तो मिति छैन । जीवाश्माको खोजी र अध्ययनले सामान्यतया डोमेस्टिकेट गरिएको प्राणीको शारीरिक संरचनालाई जंगली अवस्थामै रहेका तिनका पुर्खासँग तुलना गरेर प्रमाण जुटाउने काम गर्छ । कुकुरको हकमा भने जीवाश्माको अध्ययन गर्दा खप्परको आकार, थुतुनोको लम्बाइ र दाँतको तुलनात्मक अध्यन गरिन्छ । आनुवांशिक विज्ञानले पछिल्लो समय मारेको छलाङले जीवाश्माको अध्ययनबाट प्राप्त प्रमाणलाई नै थप पुष्टि गर्ने काम गरको छ । दुवै क्षेत्रको अध्ययनबाट प्राप्त निष्कर्षचाहिँ एउटै हो— सबै कुकुरको आदिम पुर्खा ब्वाँसोको एउटै प्रजाति खैरो ब्वाँसो हो ।

केही समयअघिसम्म पनि कुकुरको डोमेस्टिकेसनको आरम्भ १५ हजार वर्षअगाडि भएको विश्वास थियो । पछिल्लो हिमयुग अन्त्यसँगै युरोप र एसियाको उत्तरी गोलार्द्धमा ढाकिएको हिउँ पग्लन थाल्यो, जमिनमा हरियाली बिस्तारै बढ्न थाल्यो । यसले मानिस र जनावारको सीधा सम्पर्क/सम्बन्ध स्थापित हुन अनुकूल समय सिर्जना गर्‍यो । यही मान्यताको आधारमा कुकुरपालनको समयसीमाको अनुमान गरियो ।

तर, सन् १८६० मा दक्षिणी बेल्जियमको गोयट गुफामा फेलापरेको एक खप्परको जीबाष्माले यो मिति निकै पर धकेलिदियो । यो खप्पर ब्वाँसोको भन्दा निकै सानो थियो, आधुनिक कुकुरको जर्मन सेफर्डको जातजस्तै र त्यत्रै आकारको । ब्वाँसोको थुतुनो तुलनात्मक रूपमा लामो हुन्छ । तर, यो जीवाश्माको खप्पर केही चौडा र थुतुनो छोटो थियो । समग्र हेर्दा त्यस जीवाश्मामा कुकरको गुण बढी र ब्वाँसो कम थियो । अर्थात् यो आदिम कुकुर नै हो भन्नेमा विज्ञहरू विश्वस्त भए । रेडियो कार्बन डेटिङले यो जीवाश्मालाई करिब ३१ हजार ७ सय वर्ष पुरानो देखायो । बेल्जियमकै अर्को गुफामा भेटिएको जीवाश्मा २१ हजार ८ सय वर्ष पुरानो थियो । रुस, युक्रेन, फ्रान्स र जर्मनीमा भेटिएका विभिन्न कालखण्डका जीवाश्मा र आधुनिक कुकुरका थुप्रै जातका कुकुरहरूको खप्परको शारीरिक संरचनाको तुलनात्मक अध्ययन गरियो । अध्ययनको निष्कर्ष थियो— गोयट गुफामा भेटिएको ३१ हजार ७ सय वर्ष पुरानोलगायत पाषाण युगमा थुप्रै साइटका खप्परका जीवाश्माहरू आधुनिक कुकुर र ब्वाँसोभन्दा चारित्रिक रूपमै पृथक् पाइयो । यसले ब्वाँसो कुकुर बन्ने प्रक्रियामा रहेको तर आधुनिक कुकुरको पूरै चरित्र विकास नभइसकेको पुष्टि भयो ।

फ्रान्सेली पुरातत्त्वविद्को समूहले दोर्दाइनमा एकैसाथ भेटेको २९ वटा कुकुरको जीवाश्मा करिब १२ हजार वर्ष पुरानो मानिन्छ । यसबेलासम्ममा यिनको शारीरिक संरचनामा व्यापक परिवर्तन आइसकेको पाइन्छ ।

पुरातात्त्विक खोजबाट प्राप्त जीवाश्माको प्रमाणलाई आनुवांशिक विज्ञानले थप पुष्टि गर्ने क्रम सुरु भयो । सन् २०१३ मा गरिएको कोषको न्युक्लियसभित्रको सम्पूर्ण जिनोम अध्ययनको आधारमा चीनको याङ्जे नदीको दक्षिणी भूभागमा ३२ हजार वर्षअगाडि कुकुरलाई घरेलु बनाउने प्रक्रिया सुरु भएको देखायो । अर्को अध्ययनले भने मध्यपूर्व यो प्रक्रियाको प्रारम्भिक थलो हुनुपर्छ भन्ने देखाएको छ । सन् २०१३ मा ३० हजार वर्ष पुरानो जीवाश्मा जोगिएर रहेको माइटोकान्ड्रियल डीएनएको आधारमा यो प्रक्रिया ३० हजारदेखि १८ हजार वर्षपहिले युरोपमा सुरुआत भएको देखायो ।

पछिल्लो समयमा जीवाश्मा रहेका तर संयोगवश नष्ट हुनबाट जोगिएका डीएनए मोलिक्युल थुप्रै ल्याबहरूले निकाले । यस्तै प्राचीन डीएनएहरूको बृहत् अध्ययनबाट सन् २०१३ मा निकालिएको निर्क्योलअनुसार, ३२ हजारदेखि १९ हजार वर्षअगाडि, यहीबीचको समयमा ब्वाँसो कुकुरमा रूपान्तरण भएको काल हो भन्ने स्थापित नै भइसक्यो । यो अध्ययनले भूगोलचाहिँ युरोपलाई मानेको छ ।

समयको आधारमा लगभग सहमत भए पनि स्थानको आधारमा निर्क्योल भएको छैन । तर, समान परिवेश र परिस्थितिमा यो प्रक्रिया एकैसाथ मानव समूह डुलेका धेरै स्थानमा आरम्भ भएको पनि हुन सक्छ ।

उपयोगिताबाट आत्मीयतातर्फ

१५ हजारदेखि १२ हजार वर्षअगाडिदेखि केही मानव समूह तुलनात्मक रूपमा स्थिर जीवनशैली जिउन थाले । कृषि क्रान्तिको आरम्भ भयो । ‘डोमेस्टिकेसन’ को प्रक्रिया अझ घनीभूत रूपमा विस्तार यही कालमा भयो । ब्वाँसो–कुकुरबाट पर््णू कुकुर बन्ने अन्तिम चरण यहीँबाट सुरु भयो । मान्छे र कुकुरबीचको सम्बन्धको नयाँ आयाम पनि यही कालमा सुरु भयो ।

यही समयदेखि मान्छे र कुकुरबीच प्रगाढ सम्बन्ध स्थापित भएको पुरातात्त्विक प्रमाण युरोपका विभिन्न स्थानमा कुकुरका लागि बनाइएको चिहानबाट प्रस्ट हुन्छ । जर्मनीमा १४ हजार वर्ष पुरानो एक चिहानमा मान्छेसँगै एक कुकुरलाई पनि गाडिएको छ । मान्छे र कुकुरको आत्मीय सम्बन्धको यो एक अकाट्य प्रमाण हो । पश्चिम रुस र बेल्जियममा पनि यही कालखण्डका यस्तै चिहानहरू भेटिएका छन् ।

१२ हजार वर्षअगाडिको नटुफियन कल्चरमा यो सम्बन्धको अझ प्रगाढ स्वरूप देख्न सकिन्छ । मध्यपाषाण युगको यो संस्कृतिको भूगोल इजरायल वरपरको हो । यो संस्कृति मान्छेको स्थिर जीवनशैलीको आरम्भ थियो । यो नै कृषि कर्मको प्रारम्भिक चरण पनि हो । घरमा कसैको मृत्यु भए उसलाई त्यही घरमा गाडेर त्यस घर छाड्ने प्रचलन थियो । यही संस्कृतिको एउटा चिहान गज्जबको छ । चिहानमा एक जना बूढीमान्छेको मृत शरीरको टाउको कुकुरको छाउरोको जीउमा बोकाइएको छ । यसले सम्बन्धको आत्मीय आयाम प्रस्ट पार्छ ।

८ हजार वर्षयता ब्वाँसो पाइने युरेसिया र उत्तरी अमेरिका हरक्षेत्रमा कुकुरको व्यापक प्रयोग भएको पाइएको छ । मेक्सिकोमा ५२ सय वर्षअगाडि, सब सहारा क्षेत्रमा ५६ सय वर्षअगाडि, दक्षिण पूर्वी एसियामा ४२ सय वर्षअगाडि र दक्षिण अमेरिकामा भने हजार वर्षअगाडि मात्रै कुकुर पुगेको हो ।

ब्वाँसो पूर्णरूपमा कुकुरको स्वरूपमा हामीसँग रहन थाल्दासमेत यसप्रति हाम्रो व्यवहार पूर्णतः उपयोगिता र अवसरवादमा आधारित थियो । आफ्नो उद्विकासको लामो समयसम्म मासुको रूपमा समेत ऊ मान्छेका लागि उपयोगी भयो । तर, जब ९ हजार वर्षयता आएर मान्छेको जीवन तुलनात्मक रूपमा स्थिर हुन थाल्यो र कृषि मान्छेको जीविकोपार्जनको मूल उद्यम बन्यो, त्यसपछि कुकुरप्रतिको हाम्रो व्यवहारमा उपयोगिता/अवसरवाद कम हुन थाल्यो । हाम्रा लोककथा, मिथक, कलाकर्म र संस्कृतिमा यिनले ठाउँ पाउन थाले ।

पुरानो सुमेरियन सहर उरुकमा फेला परेको पाँच हजार वर्ष पुरानो पेनडान्टमा कुकुरको आकृति खोपिएको छ । इरानको प्राचीन सुसा बस्तीमा फेला परेको ६ हजार वर्ष पुरानो हजारभन्दा बढी भाँडाकुँडामध्ये केहीमा कुकुरकै आकृति कुँदिएको छ ।

मिथकमा कुकुरको पहिलो चित्रण ‘द एपिक अफ गिल्गामेस’ मा छ, जहाँ देबी इन्नाना एक्लै सातवटा सिकारी कुकुर डोहोर्‍याएर हिँड्छिन् ।

इजिप्टको ४१ सय वर्ष पुरानो चिहानमा मान्छेसँगै कुकुरको पनि आकृति कुँदिएको पाइएको छ, साथै तिनको नामकरण पनि गरिएको छ । अर्को जीवनमा पनि साथ नछुटोस् भन्ने आध्यात्मिक मान्यता हो यो । यही कालका कतिपय चिहानमा राजासँगै तिनको प्रिय कुकुरको पनि ममी बनाएर पिरामिडमा सुरक्षित राखिएको छ ।

१४औं शताब्दी आधुनिक कुकुर ‘ब्रिडिङ’ को स्वर्ण युग थियो । सिकार गर्नु मानिसको सोख, प्रतिष्ठा र संस्कृतिको रूपमा विकास भयो । स–साना काखे कुकुरहरू सोखिनहरूको रवाफ देखाउने बस्तु बन्यो । ब्वाँसोजस्तै प्रजातिको अध्ययन गर्ने वर्ल्ड क्यानिन अर्गनाइजेसनले कुकुरको ३४० भन्दा ज्यादा जातको पहिचान गरेको छ । अहिलेको संसारले मान्छेको रुचि, आवश्यकता र उपादेयताको आधारमा ‘सेलेक्टिभ ब्रिडिङ’ को घन–छिनो चलाएर ब्वाँसोको एकै प्रजातिलाई आकार, रङ, स्वभाव र क्षमताको आधारमा विविध स्वरूपमा विस्तार गरेको छ । आधुनिक आनुवंशिक अध्ययनले त यी गुणका लागि जिम्मेवार जिन र तिनमा आएको उत्परिवर्तनसमेत खुट्याइसकेका छन् । तर, जतिसुकै विविधता भए पनि यी सबै आनुवंशिक रूपमा ब्वाँसोसँगै निकट छन् । एउटै प्रजातिभित्र हुने आधारभूत गुण अर्थात् ब्वाँसो र कुकुरका भाले–पोथी सहजै एकअर्कासँग समागम गर्न सक्छन् र स्वस्थ/उर्वर सन्तानसमेत जन्माउन सक्छन् ।

कुकुरसँग गहिरो सम्बन्धको लामो यात्रा तय गरेका छौं हामीले । यसबीच हामी दुवैले एकअर्कालाई भित्रैदेखि रूपान्तरण गरिदिएका छौँ । एकअर्काप्रतिको हाम्रो व्यवहार, विचार, सूचना विश्लेषणदेखि शारीरिक संरचनाको रूपान्तरणमा समेत यो प्राचीन संगतको फल झल्किन्छ ।

केही दिनअगाडि भियतनाममा भीषण बाढी आयो । बाढीले मान्छे चिलबिल भए । चिनियाँ समाचार सीजीटीएनले एउटा मार्मिक फोटो छाप्यो । फोटोमा करिब आठ–दसवर्षे ठिटोले कुकुरको छाउरो च्यापेको छ । र, भेलमा तैरिएको मुढोमा टुक्रुक्क बसेर उनीहरू दुवै उद्धारको प्रतीक्षा गरिरहेका छन् ।

सोभे गुफादेखि भियतनामको बाढीसम्म, यो आत्मीय साथका लागि हामी यो प्रिय प्राणी कुकुरप्रति कृतज्ञ छौं ।

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : कार्तिक २८, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?