१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

दलित आन्दोलनमा गैरसरकारी संस्था

एनजीओ तप्काको बौद्धिकता नेपाली समाजको मौलिक आवश्यकतामा आधारित नभई प्रायोजक अन्तर्राष्ट्रिय संस्थाहरूको आवश्यकताअनुसार बनेको बौद्धिकता हो । नेपालमा निर्माण हुन पुगेको मध्यम वर्गको यो हिस्सा निकै नै घातक चरित्रको छ ।
आहुति

गैरसरकारी संस्था, जसलाई बोलीचालीमा एनजीओ भनिन्छ, तिनका विभिन्न रूप हुन्छन् । सरकारको अङ्गका रूपमा नरहेका सबै संस्था गैरसरकारी संस्था नै हुन् । तर, यहाँ सन्दर्भित विषय चाहिं प्रायोजित गैरसरकारी संस्थाबारे हो ।

दलित आन्दोलनमा गैरसरकारी संस्था

दोस्रो विश्वयुद्धपछि कथित पहिलो विश्वमा रहेका पुँजीवादी देशले उत्पीडित राष्ट्रमा न्यायपूर्ण विद्रोहहरू सङ्गठित हुन नपाऊन् भन्ने मूल उद्देश्यले आफ्नो देशको बजेटको निश्चित प्रतिशत त्यस्ता गरिब देशका राज्यलाई सहयोग दिने नीति बनाए ।

त्यस नीतिमा विकृतिहरू देखापरे । किनभने, गरिब देशका शासकले त्यस्तो सहायता रकमको मुख्य हिस्सा भ्रष्टाचार इत्यादि गरेर दुरुपयोग गरी समाजको तल्लो तहमा पुग्नै दिएनन् । समाजको तल्लो तहका जनताका न्यूनतम आवश्यकता पूरा हुने स्थिति बनेन भने नै विद्रोह सङ्गठित हुने मुख्य सम्भावनालाई विश्लेषण गरी कथित पहिलो विश्वका मानिने साम्राज्यवादी देशहरूले सीधै तल्लो तहका जनतामा राहत सहायता पुग्न सकोस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका नाममा सीधै गरिब देशका जनतामा आफैं पुग्ने वा त्यस्ता गरिब देशमा आफ्नो उद्देश्य लागू गर्न चाहने गैरसरकारी संस्थामार्फत सहायता प्रवाह गर्ने नीति विकास गरे । यसै नीतिअन्तर्गत नै गैरसरकारी संस्था विदेशी संस्थाका प्रायोजनमा जन्मिन र क्रियाशील हुन थाले । त्यसैले विकास–निर्माण वा अन्य बहानामा क्रियाशील रहेका हजारौं गैरसरकारी संस्था मूलतः प्रायोजित गैरसरकारी संस्था हुन् । यस्ता गैरसरकारी संस्थाले त्यस्ता एजेन्डामा काम गरे मात्रै सहायता रकम प्राप्त गर्छन्, जसप्रति दाता आईएनजीओको सहमति हुन्छ । यस अर्थमा वैचारिक रूपमा समेत एक हदसम्म यस्ता संस्था निर्देशित हुन पुगेका हुन्छन् ।

एक, २००७ सालको आसपासदेखि जेभिएर शिक्षाका नाममा नेपालमा गैरसरकारी संस्था प्रवेश गर्न थालेका हुन् । पञ्चायतकालमा त्यो झाँगिन सुरु गर्‍यो र २०४६ सालको परिवर्तनपछि त्यो प्रवृत्ति नेपाली समाजको संस्कृति र वर्ग निर्माणको प्रक्रियालाई समेत प्रभावित गर्ने स्तरमा व्यापक भयो । आज एनजीओ अभियानले नेपालमा मध्यम वर्गको एउटा तप्का नै निर्माण गरेको छ, जसले दलाल पुँजीपतिको भन्दा खराब तरिकाले आम्दानी गर्छ । परम्परागत रूपमा निर्माण हुने मध्यम वर्ग भनेको सानो–ठूलो उत्पादन कार्य गरेर बन्थ्यो । त्यसकारण त्यो सापेक्षतामा प्रगतिशील नै हुन्थ्यो । दलाल पुँजीवादले चाहिं सामान उत्पादन केही नगर्ने तर विदेशमा उत्पादित सामानलाई देशमा वितरण गरेर मात्र आम्दानी गर्ने मध्यम वर्ग जन्मायो । उत्पादन केही नगर्ने, केवल बीचमा दलाली गरेर आम्दानी गर्ने हुनाले यो मध्यम वर्ग एक प्रकारको परजीवी मध्यम वर्ग बन्न पुग्यो । नेपालको मध्यम वर्गको मुख्य हिस्सा यस्तै हो ।

एनजीओ अभियानले चाहिं योभन्दा पनि खराब चरित्रको मध्यम वर्ग बनाउँदै आएको छ । त्यसरी बनेको मध्यम वर्गले न त सामानको उत्पादन गर्छ, न त विदेशबाट ल्याएर उपभोक्तामा वितरण गर्ने काम नै गर्छ । पुँजी निर्माणमा कुनै प्रकारको जोखिम पनि उठाउँदैन । त्यसले केवल विदेशी संस्थालाई नेपाली समाजमा उनीहरूका एजेन्डा र रकम प्रवाह गर्न मिल्ने क्षेत्र सुझाउने काम गर्छ । त्यसबापत रकम हासिल गरेर मध्यम वर्गको जीवन व्यतीत गर्छ । यो तप्काको अर्को डरलाग्दो पक्ष के छ भने यसले आफूलाई समाजमा सबैभन्दा आधुनिक बौद्धिक तप्काको भ्रम दिने गर्छ । यथार्थमा यो तप्काको बौद्धिकता नेपाली समाजको मौलिक आवश्यकतामा आधारित नभई प्रायोजक अन्तर्राष्ट्रिय संस्थाहरूको आवश्यकताअनुसार बनेको बौद्धिकता हो । नेपालमा निर्माण हुन पुगेको मध्यम वर्गको यो हिस्सा निकै नै घातक चरित्रको छ । यसबारे व्यापक बहस जरुरी छ ।

दुई, एनजीओ संस्कृतिले परम्परागत सामुदायिक स्वयम्सेवी संस्कृतिलाई ध्वस्त पार्छ । त्यसको ठाउँमा समाजको पिँधदेखि नै कसैले लगानी नगरे कुनै पनि सामाजिक काम नगर्ने व्यक्तिहरूको उत्पादन गर्छ । यथार्थमा एनजीओ संस्कृति निकृष्ट अर्थमानवहरू उत्पादन गर्ने कारखाना हो । त्यस्ता अर्थमानवहरू समाजको पिँधका उत्पीडितलाई बनाउने भएकाले राजनीतिक क्रान्तिका कोणबाट यो निकै नै घातक छ । एनजीओको वैचारिकीले सधैंभरि र सबै विषयमा सुधार गर्ने कुराबाहेक केही पनि गर्दैन । सिङ्गो राज्य व्यवस्था र प्रणाली फेर्ने अभियानप्रति वितृष्णा फैलाउँछ र मूलतः युवा पङ्क्तिलाई क्रान्तिकारी ढङ्गले सोच्ने र सङ्गठित हुने दिशामा जान रोक्छ । समग्रमा भन्दा, एनजीओ वैचारिकी र संस्कृतिले यस्तो मानव समूह निर्माण गर्छ, जुन विचार, अर्थतन्त्र र संस्कृतिका क्षेत्रमा परजीवी हुन्छ । के कुरा बेग्लै हो भने एनजीओ अभियानभित्रका कतिपय संस्था र व्यक्तिले समाजमा सुधारका निम्ति कतिपय समयमा सकारात्मक योगदान पनि गरेका छन् । तर, त्यो अपवादको विषय मात्र हो ।

एनजीओ अभियानको मूल वैचारिक र सांस्कृतिक पक्षबारे प्रस्ट भइसकेपछि यसले दलित आन्दोलनमा कस्तो भूमिका खेल्छ भन्ने कुरा बुझ्न कठिनाइ पर्दैन । दलित समुदायभित्र एनजीओ अभियानले अन्य क्षेत्रमा जस्तै एकाध व्यक्तिलाई विकृत मध्यम वर्गमा उचाल्ने काम गरेको छ । पिँधका दलित युवालाई पैसा नदिई आफ्नै हकहितको बैठकमा समेत नजाने अर्थमानव बनाइरहेछ । क्रान्तिकारी परिवर्तनविना आफ्नो पिँधको उत्पीडित जीवनमा आधारभूत परिवर्तन हुँदैन भन्ने यथार्थलाई स्विकार्नुको सट्टा सानातिना चेतनामूलक वा सुधारका कार्यक्रममै रम्ने, अझ क्रान्तिकारी आन्दोलन र क्रान्तिकारीहरूलाई पराया ठान्ने प्रवृत्तिको विकास गरिरहेछ । त्यसैगरी, संस्था सञ्चालनका सन्दर्भमा अतिरिक्त आम्दानी गर्न भ्रष्ट संस्कृति व्यापक बनाइरहेछ ।

एनजीओ अभियानभित्रको भ्रष्ट संस्कृतिबारे आम समाजको ध्यान गइरहेको छैन । तर, त्यस संस्कृतिले एनजीओ अभियानमा सहभागी लाखौं युवाको संस्कृतिमा विकृति ल्याइरहेको छ । तसर्थ एनजीओ अभियानले दलित आन्दोलनको मुख्य ध्येयलाई सहयोग गर्दैन । बरु, त्यसले आन्दोलनमा विकृतिको सङ्क्रमण मात्र गर्छ ।

त्यसैले क्रान्तिकारीहरू एनजीओको भूमिकाबारे सबैभन्दा पहिले त प्रस्ट हुनु जरुरी छ र आम समाजमा त्यसबारेमा व्यापक सचेतता निर्माण गर्न भूमिका खेल्नुपर्छ । व्यावहारिक रूपमा नेपालमा दलित गैरसरकारी संस्थासँग आबद्ध दलितहरू कतिपय बेला छुवाछुत–भेदभाव, आवश्यक कानुनी व्यवस्थालगायत विषयमा दलित सङ्गठनहरूको अभियानमा सामेल भएर काम गर्न तयार हुने पनि गरेका छन् । उनीहरूमा कतिपय बेला विभिन्न कारणले देखा पर्ने यस प्रकारको सकारात्मक प्रवृत्तिलाई भने सन्तुलित व्यवहार गर्नु आवश्यक हुन्छ ।

–बेला पब्लिकेसन्सद्वारा हालै प्रकाशित ‘जात वार्ता’ पुस्तकको सम्पादित अंश

प्रकाशित : कार्तिक २५, २०७७ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?