पेट

कविता
मनीषा गौचन

भान्सामा थुप्रै चीज पाक्छन्
भोका पेटहरू गोलबद्ध हुन्छन्, टन्न भरिन्छन्
तर, ती पेटहरू भान्सा चलाउने हातहरू चिन्दैनन्
पेट पेट न हो भरिन पाए पुग्यो

पेट

उसले कहिल्यै सोच्नुपरेन–

कहिलेदेखि भान्सा ती हातहरूका निम्ति कठघरा बन्यो

हातहरूले जति चुरा बजाए पनि

पेटले ती चुराहरूको आवाज बुझ्ने चेष्टा नै गरेन

ऊ ठान्छ– ती हातहरू नर्तकीका हुन्, जो नाच्नमै रमाउँछन्

तर, देख्दैन चोटैचोट भएको मुटुको डल्लो बोकेर

नर्तकीहरू कसरी नाच्न सक्छन्


भान्सामा आगो बल्छ, न्यानो त हुने नै भयो

चिसोले ढाडिएको पेट सेकाउँछन्

तर, ती पेटहरू आगो बाल्ने हातहरू चिन्दैनन्

पेट पेट न हो तात्तिन पाए पुग्यो

उसले कहिल्यै गन्नुपरेन–

आगोले ती हातहरू कतिपटक डामे भनेर

ऊ ठान्छ ती हातहरू रोटी पोल्नकै लागि हुन्, जो पोलिनमै सिपालु छन्

तर, जान्दैन आफ्ना साना–ठूला सपनाहरू पोल्दै

तिनले अरूको चिसो पेट कसरी न्यानो पारिदिएका छन्


समयले कोल्टो फेर्दै छ रे

भान्सामा चल्ने हातहरूले पनि कठघराको ताला त फोड्नैपर्ने हो

तर, पेटहरू थरीथरीका एसिडको पिच्कारी बोकेर संघारमा उभिएका छन्

ती छ्यापिन्छन् बेलाबेला

जब हातहरू कठघराबाट पुतली बनेर उड्न खोज्छन्

अचेल भान्सामा चल्ने हातहरू

एसिडले डढेको चरित्र छोप्न बाध्य छन्

र, पेटहरूमै पलाएका विषालु काँडाहरूबाट

आफ्ना योनीहरू जोगाउन बाध्य छन्...

पेट पेट नै हो, उसले कहिल्यै मुटु हुने कोसिस गर्दैन...।

प्रकाशित : कार्तिक २२, २०७७ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?