पत्रकार सापकोटाकोे ‘वनको वैभव’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — पत्रकार ददि सापकोटाको नयाँ कृति ‘वनको वैभव’ मंगलबार सार्वजनिक भएको छ । कोरोना संक्रमणका बीच औपचारिक कार्यक्रमबिनै पुस्तक बजारमा ल्याइएको हो । यसअघि ‘पन्छी जगत्’, ‘त्यो नेपाल’ र ‘दुःखेको युरोप’ लेखेका सापकोटाको यो चौथो पुस्तक हो ।

पत्रकार सापकोटाकोे ‘वनको वैभव’ सार्वजनिक

चराचुरुंगी र वन्यजन्तुको उमेरको मनोविज्ञान बुझ्न, उनीहरूका यौनका रहस्यमय विषयबारे जान्न चाहनेहरूका लागि पुस्तक उपयोगी रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष एवं उद्यमी जीवा लामिछानेले बताए । ‘पुस्तक रमाइलो पाराले लेखिएको छ, सबै पाठ रोचक छन्,’ उनले भने, ‘यसरी गम्भीर अध्ययन–अनुसन्धान गरेर नेपालीमा कमै पुस्तक लेखिएका छन् ।’ पुस्तकमा रहेका सन्दर्भ सामग्रीले लेखनको गाम्भीर्यलाई बुझाउने उनको भनाइ छ ।

पुस्तकमा तराईको चितवन, बर्दिया, पर्सा, कोसीटप्पु वन्यजन्तु आरक्षदेखि पहाडी भेगका संरक्षित क्षेत्र, आरक्षण केन्द्रदेखि सामुदायिक वनसम्म चहारेर लेखकले चराचुरुंगीहरूको स्वभाव एवं आनिबानीबारे चर्चा गरेका छन् । ‘भारतका केओदायो राष्ट्रिय निकुञ्ज, चितवनको भरतपुर चरा आरक्षण केन्द्रदेखि फ्रान्सका विभिन्न वन, पहाड, प्राकृतिक संरक्षण केन्द्र, नदीनाला चहार्दा देखेभोगेका तथ्यहरूको समग्र अनुभवलाई समेटेको छु,’ लेखक सापकोटाले भने, ‘यो पुस्तक लेख्नुअघि मैले धेरै क्षेत्र घुमेर बनाएका नोटहरूको सहयोग लिएको छु । जीवजन्तुबारे प्रकाशित धेरै पुस्तक अध्ययन र टिभीका कार्यक्रम हेरेको छु । त्यसैले यो पुस्तक मेरो समग्र साधनाको उब्जनी पनि हो ।’

जनावरहरूका रमाइला र गुह्य विषय सर्वसाधारणसमक्ष पुग्नुपर्ने र उनीहरूलाई ती विषयबारे जानकारी मिल्नुपर्ने फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले बताए ।

पर्यटकीय क्षेत्रबाट पेसा सुरू गरेका सापकोटा वातावरण, प्रकृति र जीवजन्तुका विषयमा चासो राख्छन् । हाल उनी नेपाललाई कर्मथलो बनाएका युरोपेली, युरोपको नेपाली समुदाय र प्रकृतिका विविध पक्षको खोजीमा छन् ।

प्रकाशित : आश्विन २७, २०७७ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?