कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘बजारका पछि दौडने लेखकले व्यापार गरे हुन्छ’

'म सिकारु लेखक हुँ । धेरै बुझ्दिनँ । म सूत्रविहीन छु । कतिपय लेखकहरू राजनीतिको सूत्र बोकेर लेख्न बस्छन् र साहित्यभन्दा धेरै राजनीति लेख्छन् । कोही बजारको सूत्रमा रमाउँछन् र लेखकभन्दा धेरै व्यापारी हुन्छन् ।'
कान्तिपुर संवाददाता

वैकल्पिक राजनीतिको वैचारिक पैरवी गर्दै सक्रिय राजनीतिमा समेत क्रियाशील केशव दाहालको यसअघि ‘नेपाली राजनीतिको पुनर्गठन’ (२०७३) गैरआख्यान पुस्तक प्रकाशित थियो । ‘मोक्षभूमि’ उनको पहिलो उपन्यास हो । यो उपन्यास सात–आठ सय वर्षअघिको परिवेशलाई कथानक बनाई लेखिएको छ । ‘मोक्षभूमि’ कै सन्दर्भ सेरोफेरोमा दाहालसँग गरिएको वार्ता :

‘बजारका पछि दौडने लेखकले व्यापार गरे हुन्छ’

गैरआख्यानमा कलम चलाइरहेको तपाईंको भाषा आख्यानमा पनि बलियो रहेछ । आख्यान–प्रवेश ढिला गरेकोमा पछुतो लाग्दैन ?

राम्रो काम जहिले सुरु गर्दा पनि हुन्छ । मानौं कि, जहिले सुरु गर्‍यो, त्यही दिन शुभसाइत । भन्नुहोस् त फूलले फक्रिनलाई समय, घडी–पला हेर्छ ? हावा समय हिसाब गरेर बहन्छ ? मनको उडान के समयको सूत्रमा चल्छ ? जीवनको समयरेखा कहाँ अन्त्य हुन्छ, कसलाई थाहा छ ? त्यसैले सुरु र अन्त्य नै थाहा नभएको समयको गणना गरेर म किन पछुताउँदै बसौं ?

अर्को कुरा मेरा लागि आख्यान र गैरआख्यानमा धेरै ठूलो सिमाना छैन । दुवैमा जीवन–जगत्लाई हेर्ने विषय र सन्दर्भ हुन्छन् । मात्र यिनीहरूको शैली फरक छ । आख्यानले कल्पनाको उडान भर्छ र चराचर जगत्मा स्वतन्त्र विचरण गर्छ । तर, गैरआख्यानलाई कल्पनामा रमाउने छुट छैन । जहाँसम्म ढिला गरेकोमा पछुतोको कुरा छ, म जीवनमा दर्जनौं उपन्यास र कथा लेख्न चाहन्नँ । थोरै काम गर्न चाहन्छु तर, आनन्दसँग, उत्सवजस्तै । अतः उत्सव मनाउन कहिल्यै ढिलो हुँदैन । त्यसैले ढुक्क छु, मेरा लागि उपन्यास लेख्ने ठीक समय यही हो ।

मोक्षभूमि’ जस्तो ऐतिहासिक उपन्यास लेख्न तपाईंलाई के कुराले उत्प्रेरित गर्‍यो ?

यो ऐतिहासिक उपन्यास होइन । यो आजभन्दा लगभग ८ सय वर्षअगाडिको समय, सपना र सत्ताको कल्पना गरेर लेखिएको कथा हो । समय पुरानो हुनासाथ, कथाहरू इतिहास हुँदैनन् । इतिहास र कथामा फरक छ । मलाई लाग्छ, कथा र इतिहासलाई मिसमास गर्नु हुँदैन । इतिहासलाई इतिहास नै रहन दिनुपर्छ र कथालाई कथा नै । अन्यथा न त शुद्ध इतिहास रहन्छ, न त शुद्ध कथा । अशुद्ध इतिहास र अशुद्ध कथा पढेर आउने पुस्ताले के सिक्ला ? जहाँसम्म मोक्षभूमि लेख्ने उत्प्रेरणाको कुरा छ, मलाई मेरा छोराछोरीले यो कथा लेख्न उत्प्रेरित गरेका हुन् ।

अचेल प्रेमाख्यानको बजार छ भनिन्छ । यस्तो आकर्षक बजारले तपाईंलाई तान्न सकेन ?

लेखकलाई बजारले होइन, विषयवस्तुले तान्नुपर्छ । ठीक छ, तपाईं प्रेमको काव्य लेख्नुहोस्, क्रान्तिको कविता लेख्नुहोस्, युद्धको कथा लेख्नुहोस्, धर्म पुराण लेख्नुहोस् कोई बात छैन । तर, तपाईंलाई लेख्न प्रेरित गर्ने कुरा के हो ? विषयवस्तु हो कि बजार ? बजार हो भने तपाईं विषयवस्तुमाथि न्याय गर्न सक्नुहुन्न । त्यो अर्थमा बजारका पछि दौडने लेखकलाई मेरो सल्लाह छ, लेख्न छोड्नुहोस्, व्यापार गर्नुहोस् । किनभने, लेखकले बजारको स्वादमा दौडिने होइन, बजारको भाषा र स्वादलाई फेरिदिने हो । त्यसपछि बजार स्वयं लेखकको पछि लाग्छ ।

सिंजा उपत्यकाबारे इतिहासका पानाहरूमा परिचर्चा भएकै देखिन्छ । तर, तिनमा तपाईंले के अपुग देख्नुभयो र मोक्षभूमि लेख्नुभो ?

निश्चय नै, सिंजाको इतिहास लेखिएको छ । तर, कथा लेखिएको छैन । त्यसैले मैले इतिहास लेख्न सिंजा रोजेको हैन । कथा लेख्न रोजेको हो ।

सिंजा सम्राट् क्राचल्लदेव र दासहरूको कथा लेख्दा तपाईं आफैँलाई कुन पात्रले बढी संवेदित गर्‍यो ?

मोक्षभूमि निकै ठूलो क्यानभासमा लेखिएको कथा हो । यसभित्र धेरै पात्र छन् । तर, पनि मलाई रानी अप्सरा निकै मन पर्छ । उनी साधारण तर शक्तिशाली पात्र हुन् । यदि सम्राट् क्राचल्लदेवसँग सिंजाको कुनै सरोवरमा नांगै नुहाउँदै गरेकी सुनकेस्री युवती अप्सराको भेट हुँदैनथ्यो भने उपन्यासको बनोट, रङ र स्वाद नै अर्को हुनेथियो । तर, यहीँनेर स्पष्ट पारौं, मैले कथाको एउटा पात्र गरुडदेवमाथि निकै ठूलो अन्याय गरेको छु । त्यो अन्यायका लागि भने म पाठकहरूसँग क्षमा चाहन्छु ।

तपाईं राजनीतिकर्मी पनि हुनुहुन्छ ? तपाईंको अध्ययन अनुभवमा आख्यान र गैरआख्यानमा कुनचाहिँ बढी प्रभावी लाग्छ ?

एकपटक मैले ठ्याक्कै यही प्रश्न डा. बाबुराम भट्टराईलाई सोधको थिएँ । कहिल्यै नहाँस्ने आरोप लागेका डा. भट्टराई मेरो प्रश्न सुनेर हाँस्नुभयो । आख्यान शब्द नै यति धेरै लालित्यपूर्ण छ कि शब्द सुन्दा नै मान्छे मुस्कुराउँछ । मलाई लाग्छ, गैरआख्यानले दिमागलाई आकार दिन्छ, आख्यानले मनलाई । मान्छेको दिमाग मात्र भयो, तर मन भएन भने के हुन्छ ? मन मात्र भयो तर दिमाग भएन भने ?

जहाँसम्म राजनीतिको कुरा छ, त्यहाँ दिमाग र मनको सन्तुलन चाहिन्छ । अन्यथा राजनीतिमा बुद्धि र विवेक हराउँछ । त्यो रूखो र भद्दा हुन्छ । कृष्णप्रसाद भट्टराई र बीपी कोइरालामा तपाईं जे पाउनुहुन्छ, त्यो गिरिजाप्रसाद र केपी ओलीमा किन पाउनुहुन्न ? सायद उहाँहरूले पढ्ने किताबले धेरै कुरा फरक परेको हुनुपर्छ । मलाई लाग्छ, कविता, कथा र उपन्यास नपढ्ने नेताले जनताको मन पढ्न सक्दैन ।

एउटा आख्यान लेखकले के कुरामा ध्यान दिनुपर्छ ? लेखकको शक्ति के हो ?

म सिकारु लेखक हुँ । धेरै बुझ्दिनँ । म सूत्रविहीन छु । कतिपय लेखकहरू राजनीतिको सूत्र बोकेर लेख्न बस्छन् र साहित्यभन्दा धेरै राजनीति लेख्छन् । कोही बजारको सूत्रमा रमाउँछन् र लेखकभन्दा धेरै व्यापारी हुन्छन् । कोही धर्मको सूत्र समाउँछन् र लेखक कम, पण्डित धेरै भएर निस्किन्छन् । मलाई लाग्छ, यो सही तरिका होइन । किनभने लेखक बन्धनरहित हुनुपर्छ । आकाशझैं खुला । स्वतन्त्र हुनसक्नु नै लेखकको शक्ति हो ।

प्रकाशित : आश्विन २४, २०७७ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?