३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

युगान्त : के युद्धको कारण साँच्चिकै द्रौपदी थिइन् ?

इरावती कर्वे

काठमाडौँ — द्रौपदी र सीता दुईवटा भारतीय महाकाव्य महाभारत र रामायणका प्रमुख नारीपात्र हुन् । दुवै धर्तीपुत्री हुन् । सीता यज्ञका लागि हलो जोत्ने क्रममा फेला परेकी थिइन् । द्रौपदीचाहिं यज्ञाग्निबाट निस्किएकी थिइन् । दुवै जनाको हात स्वयंवरमा आफूलाई सर्वश्रेष्ठ धनुर्धर साबित गर्ने पुरुषको हातमा थमाइएको थियो । दुवै जना वनवास गएका थिए । सीता १४ वर्ष वनवासमा रहिन्, द्रौपदी १३ वर्ष ।

युगान्त : के युद्धको कारण साँच्चिकै द्रौपदी थिइन् ?

दुवैको जीवन विभिन्न कारणले विषादग्रस्त बनेको थियो । यी दुईबीच यस्ता अनेक समानता रहे पनि भिन्नता झन् बढ्ता छ किनकि रामायण र महाभारतको समग्र विषय र शैली ठ्याक्कै उल्टो छ ।

अङ्ग्रेजी भाषामा महाभारत र रामायण दुवैलाई महाकाव्य भनिन्छ । तर, भारतीय परम्पराले महाभारतलाई इतिहास र रामायणलाई काव्य भनेर छुट्ट्याएको छ । महाभारतको उद्देश्य घटनाहरुको विवरण राख्नु हो जुन रामायणको उद्देश्यभन्दा भिन्न छ । घटनाको विवरण राख्ने क्रममा महाभारतमा प्रसङ्गवश विभिन्न देशका राजधानी, वन, नदी आदिबारे उल्लेख हुन्छ । तर ती सहायक वर्णन हुन् । मूल कथाको सन्दर्भ उल्लेख गर्ने क्रममा मात्र त्यस्ता ठाउँबारे वर्णन गरिएको छ । रामायणको क्षेत्र अत्यन्तै साँघुरो छ । समय, परिवेश र पात्रहरुको सङ्ख्यालाई बिचार्ने हो भने महाभारतको क्षेत्र अत्यन्तै विस्तीर्ण छ । वीर र कायर, दुष्ट र सज्जन, आवेगी र धीर, सुन्दर र कुरुप सबै खालका पात्रहरुको वर्णन यसमा छ । कुनै पनि व्यक्तिलाई यसमा सोह्रै आना असल अथवा सोह्रै आना खराब भनी चित्रण गरिएको छ ।

मानवीय कमजोरीसहितका मानिसहरुको विवरण हो, महाभारत । अर्कातर्फ रामायण एक आदर्श पुरुषको विरुदावली हो । राममा यावत् गुणहरु आरोपित छन् । उनको आदर्शबारे संसारलाई बताउन वाल्मीकिले रामायण लेखेका हुन् । राम आदर्श पुरुष हुन् । त्यसै गरी सीता आदर्श नारी हुन् । वस्तुतः समग्र रामायण आदर्श पात्रहरुले भरिएको छ– आदर्श भाइ, आदर्श सेवक, आदर्श प्रजा, आदर्श वैरी आदि । महाभारतमा विलक्षण पात्रहरु नभएका होइनन् । तर त्यस्ता व्यक्तिको चित्रण गर्दा महाभारतकारले हामीलाई उनी सामान्य मानिस हुन् भन्ने बिर्सिन दिंदैनन् ।

रामायण मूलतः एक जना मानिसको कथा हो । अन्य पात्रहरुलाई रामको नायकत्व सिद्ध गर्ने गरी पार्श्व–भूमिका दिइएको छ । रामपछि रामायणकी महत्वपूर्ण पात्र सीता हुन् । उनको माइती र घर दुवै हुन्छन् । तर उनको माइती नाममात्रको छ । घरतिरका आफन्तसँगको उनको सम्बन्धबारे चर्चा बढ्ता छ तर त्यो पनि सुस्पष्ट छैन । सीता रामसँगै वनवास जान्छिन् । फर्किन्छिन् । गर्भवती भएको अवस्थामा पतिद्वारा परित्यक्त हुन्छिन् । अन्त्यमा पृथ्वीको गर्भमा विलीन हुन्छिन् । उनको जीवनमा त्यत्रो आँधीबेहरी आउँदा बाबुआमाले एकपटक पनि त्यसप्रति असन्तुष्टि व्यक्त गरेको कतै उल्लेख छैन । मानौं, उनी टुहुरी थिइन् । उनका बाबु जनकको महत्ताबारे रामायणमा चर्चा गरिएको छ । तर छोरी सङ्कटमा परेका बेला उनको महत्ताले केही लछारपाटो लगाउँदैन ।

द्रौपदीको कथा नितान्त भिन्न छ । उनका बाबुले पुत्रप्राप्तिका लागि यज्ञ गरेका हुन्छन् । यज्ञकुण्डबाट दुई देदीप्यमान् सन्तान निस्किन्छन्– एक छोरा, अर्कीचाहिँ छोरी । तिनै छोरी द्रौपदी हुन्छिन् । बाबुको घरमा उनी कति धेरै प्रिय थिइन् भन्ने कुरा उनलाई दिइएका केही नामबाट पनि स्पष्ट हुन्छ । त्यति बेला एकै व्यक्तिलाई विभिन्न नाम दिने प्रचलन हुन्थ्यो । यस सवालमा पनि द्रौपदी सीताभन्दा भिन्न छिन् । सीताको नामको अर्थ हुन्छ, हलरेखा । जनक राजवंशकी छोरी भएकाले उनलाई जानकी पनि भनिन्छ । विदेह देशकी राजकुमारी भएकाले वैदेही पनि भनिन्छ । अर्कातर्फ द्रौपदीले आफ्नो यो नाम द्रुपद राजवंशकी छोरी भएका कारण पाएकी हुन्छिन् । कालो वर्णकी भएकाले उनलाई कृष्णा पनि भनिन्छ । पाञ्चाल देशकी राजकुमारी भएकाले पाञ्चाली पनि भनिन्छ । यसका अतिरिक्त द्रौपदीका दुईवटा थप नाम थिए ।

जमिन जोत्दा हलोको डोबमा फेला परेकी सीताका पिता बनेका जनकको वास्तविक नाम हामीलाई थाहा छैन । तर यज्ञकुण्डबाट निस्किएकी द्रौपदीका पिता बनेका राजाको नामचाहिँ यज्ञसेन हुन्छ । उनकी छोरी भएकाले यज्ञसेनी भनेर महाभारतमा बारम्बार भनिएको छ । रामायणमा सीताकी आमा अर्थात् जनकपत्नीबारे उल्लेख छैन । परन्तु द्रौपदीकी आमा अर्थात् यज्ञसेनकी पत्नी पृषतीबारे चाहिँ उल्लेख छ । द्रौपदी र उनका दाजु धृष्टद्युम्न यज्ञबाट एकसाथ निस्किएका हुन्छन् । मातापिताले उनीहरुको प्राप्तिका लागि अनुष्ठान गरेका हुन्छन् । जन्मपछि पनि उनीहरुलाई असीम प्रेम गरेका हुन्छन् । सीताचाहिँ अनायासै प्राप्त भएकी हुन्छिन् । द्रौपदी र धृष्टद्युम्नले आफूलाई साँच्चिकै आमाझैं नठान्लान् भनेर द्रुपदपत्नीले अग्निदेवसँग प्रार्थना गरेकी हुन्छिन्, ‘हे अग्निदेव, मेरा सन्तानहरुले उनीहरु तपाईंको गर्भबाट उत्पत्ति भएका हुन् भन्ने बिर्सिऊन् र आफूलाई मेरा साक्खै सन्तान ठानून् ।’ उनको मनकामना पूरा हुन्छ । आमाको नामबाट धृष्टद्युम्नको नाम पार्षत र द्रौपदीको नाम पार्षती पनि रहन्छ । द्रुपद अर्थात् यज्ञसेनका बाबुको नाम पृषत हुन्छ । अतः पार्षत र पार्षती नाम उनीहरुका हजुरबुबाको नामबाट पनि ग्रहण भएको देखिन्छ ।

द्रौपदीसँग विवाह गर्नुअघि पाण्डवहरु गुप्त भेषमा नगर–नगर चहार्दै हिँड्न बाध्य थिए । आफूहरुलाई जलाएर भष्म गर्ने कौरवहरुको षड्यन्त्रबाट उनीहरु बचेका थिए । त्यसैले आफूहरु जिउँदै रहेको कुरा कौरवहरुले चाल पाउलान् भन्ने भय उनीहरुलाई थियो । द्रुपदको राजसभामा उनीहरु ब्राहृमण भेषमा बसेका थिए । प्रतिस्पर्धामा अर्जुन विजयी भएसँगै पाण्डवहरुले सुन्दर पत्नी मात्र पाएनन्, शक्तिशाली साझेदार पनि पाए । त्यसमाथि यादवहरुको समेत साथ पाएपछि उनीहरु हस्तिनापुरसँग आफ्नो हिस्सा माग्न सक्ने गरी सबल भए । द्रौपदीसँग बिहेपछि पाण्डवहरुले पत्नी, मानसम्मान र राज्य सबै पाए ।

०००

द्रौपदीलाई के गर्ने भन्ने विषयमा छलफल हुँदै गर्दा पाँचै दाजुभाइले कामुक नजरले उनलाई हेरेका थिए । कुन्तीले त्यो कुरा महसुस गरिन् । अन्ततः उनको बुद्धिमत्ता र व्यासको युक्तिबाट द्रौपदीलाई पाँचै दाजुभाइकी पत्नी बनाउन मिल्ने/नमिल्ने अन्योलको अन्त्य भयो । द्रौपदी पाँचै दाजुभाइकी साझा पत्नी बनिन् । यससँगै पाण्डवहरुबीच फुट सिर्जना हुन सक्ने सम्भावनाको पनि अन्त्य भयो ।

यसबारे कर्णले पनि दुर्योधनलाई बताएका थिए । द्रौपदीसँग बिहे गरेपश्चात् पाण्डवहरु सार्वजनिक भए । उनीहरुको संहार गर्ने योजना बुन्न दुर्योधन अग्रसर भए । कर्णसँग उनले भने, ‘कुन्ती र माद्रीका छोराहरुबीच फुट ल्याउन सकिन्छ । अथवा द्रुपदलाई प्रशस्तै धन दिएर पाण्डवहरुलाई हाम्रो हवाला गर्ने गरी मनाउन सकिन्छ । अरु केही नसके कम्तीमा काँडा बनेर मलाई बिझाउँदै आएको भीमको संहारचाहिं जसरी पनि गरौं ।’

जवाफमा कर्णले यी सबै योजनाले प्रतिफल दिन नसक्ने राय राख्छन् । भन्छन्, ‘हामीले पाण्डवहरु एक्लो हुँदा त उनीहरुको संहार गर्न सकेनौं, अहिले झन् के सक्थ्यौं ? अहिले उनीहरुसँग मित्रहरु छन्, त्योभन्दा महत्वपूर्ण कुरा उनीहरु अर्कै देशमा छन् । यसका अतिरिक्त द्रुपद सिद्धान्तनिष्ठ छन् । लोभी छैनन् । फेरि द्रुपदपुत्र पनि अर्जुनप्रति समर्पित छन् । द्रौपदी पाँचै दाजुभाइकी साझा पत्नी बनेकाले अब उनीहरुमाझ फुट ल्याउन कदापि सम्भव छैन ।’

अन्ततः त्यस्तै भयो । पाण्डवहरु कहिल्यै छुट्टिएनन् ।

द्रौपदीको आगमनपछि छोराहरुको भविष्यलाई लिएर चिन्तित हुने कुन्तीका दिन समाप्त भए । त्यो दायित्व त्यसउप्रान्त द्रौपदीले लिइन् ।

पाण्डवहरु वीर थिए तर राज्याभिभारा लिन त्यति योग्य थिएनन् । युधिष्ठिर जुवाका अम्मली थिए । भीम पहलवान र उत्तेजक थिए । अर्जुन पराक्रमी थिए । तर उनमा राजकौशल थिएन । नकुल र सहदेवले दाजुहरुकै स्वभाव सिकेका थिए । त्यसैले उनीहरुले स्वतन्त्र भएर आफ्नै तजबिजमा राजकीय मामिला कहिल्यै सञ्चालन गरेनन् । उनीहरुका लागि त्यो काम कुन्तीका भदा कृष्णले गरिदिए ।

बिहे गर्नासाथ द्रौपदीले पतनको दलदलबाट आफ्ना पतिहरुको उद्धार गरिन् । तर फेरि पाण्डवहरुको पतन भयो । द्यूतक्रीडामा युधिष्ठिरले समग्र राज्य मात्र गुमाएनन्, आफ्नी पत्नीलाई पनि दाउमा लगाएर हारे । द्रौपदीलाई सभामा घिसारेर ल्याइयो । बेइज्जत गरियो । अभद्रताले हद पार गरेको महसुस गरेपछि र यसले गम्भीर परिणाम निम्त्याउन सक्ने डर भएपछि धृतराष्ट्रले हस्तक्षेप गरे । उनले द्रौपदीलाई आफूसँग तीनवटा कुरा माग्न भने ।

द्रौपदीले पहिलोपटक राजा भएकाले युधिष्ठिरलाई मुक्त गराउन भनिन् । दोस्रोपटक बाँकी चार पतिको स्वतन्त्रता मागिन् । ‘मेरा पतिहरु शस्त्रास्त्रसहित स्वतन्त्र मात्रै भए भने पनि मलाई पुग्छ ।’ यसो भनेर उनले तेस्रो कुरा मागिनन् । आफ्ना लागि केही नमागीकन उनले पाण्डवहरुलाई पतनबाट जोगाउने कुशलता देखाइन् ।

कर्णले भने, ‘हामीले असङ्ख्य सुन्दर स्त्रीहरुबारे सुनेका थियौं, तीमध्ये कसैले पनि आज द्रौपदीले जस्तो कुशलता देखाउन सकेका थिएनन् । पाण्डव र कौरवहरु यहाँ क्रोधाग्निले चुर थिए, त्यसले क–कसलाई जलाएर भष्म पार्ने हो भन्ने भेउ कसैलाई थिएन । तर द्रौपदीले परिस्थिति सम्हालिन् । डुङ्गा बनेर उनले अपमानको सागरमा डुब्नै लागेका पाण्डवहरुको उद्धार गरिन् ।’

एक स्त्रीले पाण्डवहरुलाई बचाइन् भनी गरिएको उपहासले भीमलाई क्रुद्ध बनायो । कर्णले दुर्भावनावश त्यसो भनेका थिए । तर उनको भनाइ सर्वथा साँचो थियो ।

०००

द्रौपदीका कारण महाभारत युद्ध भएको हो भन्ने एकथरीको विश्लेषण छ । यस्तो विश्लेषण निराधार छ । खास गरी जैन–पुराणहरुले यस्तो खालको विश्लेषण गरेपछि यसले ख्याति पाएको हो । एउटा जैन–पुराणमा निम्न श्लोक छ–

कृतयुगकी कृत्या हुन् रेणुका

सत्ययुगकी कृत्या हुन् सीता

द्वापरयुगकी कृत्या हुन् द्रौपदी

कलियुगमा त घरघरमा कृत्या छन् ।

रक्तपिपासु आसुरी स्त्रीलाई कृत्या भनिन्छ । कुनै स्त्रीद्वेषीले लेखेका यी हरफमा तथ्यहरुलाई बेवास्ता गरिएको छ । उक्त लेखकका अनुसार स्त्रीले झैझगडाको बीउ रोपे र पुरुषहरुबीच लडाइँ भयो । त्यसैले ठूलो रक्तपात निम्त्याउने गरी भएका यावत् युद्धका कारक स्त्री हुन् । रेणुकाको सन्दर्भलाई लिने हो भने राजा हैहयले आमा र गाई हरण गरेकाले रेणुकापुत्र फरशुरामले हैहयविरद्ध युद्ध गरेका थिए । तर त्यहाँ रेणुकाको कारणले होइन, परशुरामका पिताको स्वामित्वमा रहेका चिजहरु चोरिएकाले युद्ध भएको थियो । राम र रावणबीचको युद्धकी एकमात्र कारण सीता भएको कुरा साँचो हो । तर महाभारत युद्धकी मुख्य कारक द्रौपदी हुन् भन्ने कुरा पूर्णतः गलत छ । जुन दिन अन्धो भएकैले धृतराष्ट्रको सट्टा पाण्डुलाई राजा बनाइएको थियो, त्यसै दिन युद्धको बीउ रोपिएको थियो । धृतराष्ट्र र पाण्डुका छोराहरुबीच सानैदेखि वैर थियो । यो त्यो बेलाको कुरा हो, जति बेला पाण्डवहरुले द्रौपदीसँग बिहे गरेकै थिएनन् । पाण्डवहरुको प्राथमिकता द्रौपदीमाथि गरिएका अन्यायको बदला लिने होइन, आफ्नो भागको राज्य पुनः हासिल गर्ने अथवा शान्ति कायम गर्ने थियो ।

पाण्डवहरुले कौरवहरुलाई अझ चिढ्याएर आफूहरुले पाउनुपर्ने हिस्साभन्दा बढ्तै मागेका भए द्रौपदीमाथि गरिएको अपमानको बदला लिन उनीहरु लालायित छन् र यसका लागि जुनसुकै अवस्थामा युद्ध गर्न चाहन्छन् भन्ने निष्कर्ष निकाल्न सकिन्थ्यो । तर युधिष्ठिरलगायतले भनेका कुरा पढ्ने हो भने उनीहरु सानो टुक्रो राज्य मात्रै पाए पनि युद्ध नगर्ने पक्षमा थिए । यतिसम्म कि द्रौपदीको अपमान हुँदा सबैभन्दा बढी आक्रोशित हुने भीमले पनि कृष्णसँग भनेका थिए, ‘दाजु युधिष्ठिरले थोरै माग्नुभएको छ, त्यो दिएर आफ्नो सर्वस्व विनाशबाट हुनबाट रोक्नू भनी उनीहरु (कौरव) लाई सुनाइदिनू ।’

यस्तो सुनेर कृष्णले हाँस्दै भनेका थिए, ‘के भन्नुभयो रे ? यसो भन्ने तपाईं–हामीले चिन्दै आएको भीम नै हो ?’

आफूमाथि गरिएको अपमानको स्मरण द्रौपदीले मात्र गरिन् । कृष्णसँग उनले भनिन्, ‘कृष्ण, त्यसले कपाल समातेर मलाई घिसारेको थियो । मेरो कपालमा आफ्नो पापी हात हाल्ने त्यसप्रति दया नदेखाउनुहोला ।’

कृष्णलाई दूत बनाएर पाण्डवहरुले युद्ध टार्ने प्रयास गरेका थिए । मगन्तेझैं निर्धो भएर उनीहरुले दुर्योधनसँग सिर्फ पाँच गाउँ मागेका थिए । तर यसप्रति पनि असहमत भएर दुर्योधनले आफ्नो निर्णय सुनाए, ‘सियोको टुप्पोजति जमिन दिन पनि हामी तयार छैनौं ।’ त्यसपछि मात्रै पाण्डवहरुले युद्ध रोजेका थिए ।

युद्ध भएपछिचाहिँ आफूहरुमाथि गरिएका अपमानको बदला लिने काम भयो । तर द्रौपदीमाथि भएको अपमानको बदला सिर्फ भीमले लिए । बाँकी पाण्डवहरुको ध्यान व्यक्तिगत दुस्मनीमै केन्द्रित थियो । अर्जुन र कर्णबीचको दुस्मनी युद्धमा मुखरित भएको थियो तर यसभन्दा मुख्य ध्येयचाहिँ राज्यको उत्तराधिकारको प्रश्न थियो । द्रौपदीका कारण युद्ध किमार्थ भएको थिएन । उनले युद्ध नचाहेकी होइनन् तर पुरुषप्रधान समाजका प्रतिनिधि पाण्डवहरु पनि पत्नीको चाहनालाई सर्वोपरि मान्नेखालका थिएनन् ।

द्रौपदीको हैसियत केही थिएन भन्ने कुरा पाण्डवहरुसँग मिल्न आए कर्णलाई द्रौपदीसहित पाण्डवहरुको राज्यमा हिस्सेदारी मिल्ने भनी कृष्णले राखेको प्रस्तावबाट पनि स्पष्ट हुन्छ । सौभाग्यवश द्रौपदी त्यसखालको तुच्छ मोलमोलाइबारे जानकार हुनुपरेन ।

केही मानिसले चाहिँ द्रौपदीले कर्णलाई मन पराउने भएकाले उनकै चाहनाका कारण त्यस्तो प्रस्ताव गरिएको पनि भनेका छन् । यस्तो विश्लेषण ठ्याम्मै मिल्दैन । महाभारतले कुनै पनि पात्रलाई आदर्शवान् देखाउने प्रयत्न गरेको छैन । यसले हरेक पात्रमा रहेका गुणदोषको समुचित वर्णन गरेको छ । पाण्डवहरुका अतिरिक्त कसैप्रति द्रौपदीको मनमा अनुराग हुँदो हो त महाभारतमा यसबारे उल्लेख हुने थियो । उनले कर्णलाई कहिल्यै राम्रोसँग हेरेकी पनि थिइनन् । महाभारतको ‘क्रिटिकल एडिसन’का अनुसार कर्णले द्रौपदी स्वयंवरमा भाग पनि लिएका हुँदैनन् । समग्र महाभारतमा द्रौपदी र कर्णबीच कुनै सरोकार हुँदैन । द्रौपदीले कर्णलाई प्रेम गर्थिन् भन्ने वर्णन पछि रचिएका जैन–पुराणमा छ, महाभारतमा होइन । महाभारतकी द्रौपदी आक्रोशित छिन् तर अन्तिमसम्मै उनी बफादार पत्नी भएर रहन्छिन् । उनीमाथि संशय गर्नुपर्ने एउटै पनि घटना कतै उल्लेख छैन ।

...

यो पनि हेर्नुहोेस् :

युधिष्ठिर जुवामा हारेपछि द्रौपदीलाई सभामा ल्याउन भनेर दुर्योधनले एक जना सेवकलाई पठाए । ती सेवकलाई द्रौपदीले ‘सभामा गएर मलाई दाउमा लगाउनुअघि युधिष्ठिर दास बनिसकेका थिए/थिएनन्, सोधेर आऊ’ भनी फिर्ता पठाइन् ।

दुर्योधनले जवाफ पठाए, ‘सभामा आएपछि उनले जवाफ पाउनेछिन् ।’

तर द्रौपदी सभामा आउन मानिनन् । दुश्शासनले घिसार्दै उनलाई सभामा ल्याए । सभाबीचमा रुँदै उनले आक्रोशित लवजमा अघिकै प्रश्न दोहोर्‍याइन् । यस्ता गन्थनको कुनै काम छैन भनेर कौरवहरुले द्रौपदीको वस्त्र तान्न थाले । जसै एउटा वस्त्र तानियो, उनको शरीरमा अर्को वस्त्र प्रकट भइहाल्ने भयो । यसैबीच द्रौपदीले उठाएको प्रश्नबारे पुनः परिचर्चा सुरु भयो ।

त्यसपछि द्रौपदीले जटिल किसिमको कानुनी प्रश्न तेर्स्याइन् । कौरव–पाण्डव विवादमा अक्सर पाण्डवहरुको पक्ष लिएका भीष्मले पनि द्रौपदीले तेर्स्याएको प्रश्नको जवाफ दिन सकेनन् । द्रौपदीको प्रश्न थियो, ‘युधिष्ठिर दास बनिसकेका थिए भने कुनै वस्तुमाथि स्वामित्व दाबी गर्ने उनको अधिकार समाप्त भइसकेको थियो । किनकि दाससँग दाउमा लगाउनलाई केही बाँकी हुँदैन । यस्तोमा युधिष्ठिरले मलाई दाउमा राख्न कसरी मिल्छ ?’

एक हिसाबले उनको प्रश्न जायज प्रतीत हुन्छ । परन्तु दास भएपछि पनि पत्नीमाथि उसको अधिकार समाप्त भएको हुँदैन । फेरि प्राचीन कालदेखि नै दासहरु आफ्नो स्वामित्वमा भएका वस्तु सङ्ग्रह गर्न स्वतन्त्र थिए । तसर्थ दासमाथि स्वामीको र स्त्रीमाथि पतिको अधिकारबारे सभामा उठेको सवाल पेचिलो थियो ।

द्रौपदीको प्रश्न बेतुकको मात्र होइन, भयावह खालको पनि थियो । प्रश्नको जस्तोसुकै जवाफ दिइए पनि उनको अवस्था नाजुक नै रहने थियो । भीष्मले दास भएपछि पनि उनीमाथि पतिको अधिकार कायम रहन्छ भनिदिएको भए उनलाई दाउमा लगाउने अधिकार युधिष्ठिरसँग रहन्थ्यो । त्यस अवस्थामा उनले दासत्व स्विकार्नुपर्थ्यो । भीष्मले दास भइसकेकाले उनीमाथि पतिको स्वामित्व बाँकी छैन भनिदिएको भए उनको अवस्था अझ नाजुक हुने थियो । त्यस्तोमा यसै त ‘नाथवती अनाथवत्’ कहलिएकी द्रौपदी वास्तवमै विधवासरह हुने थिइन् । ऋग्वैदिक समयदेखि नै परित्यक्ता स्त्री पुर्पुरोमा हात राख्दै माइतमा बस्ने गरेका विवरण प्रशस्तै पाइन्छन् । तर पतिलाई नै परित्याग गर्ने स्त्रीबारे कतै उल्लेख भएको पाइँदैन । त्यस्ती स्त्रीले दीनहीन अवस्थामै भए पनि माइतीमा आश्रय पाउनु असम्भव थियो ।

द्रौपदीको प्रश्नले सभामा अन्योल छायो । भीष्मले टाउको निहुर्‍याए । युधिष्ठिरलाई लाज मर्नु भयो । द्रौपदीचाहिं कानुनी तर्कवितर्क गरिरहेकी थिइन्, विदुषीझैं भएर । उनले बरु रुँदै दयाको भीख मागेको भए अवस्था सायद त्यो हदसम्म पुग्ने थिएन । आफ्नै बुहारीलाई सभामा घिसार्दै ल्याउँदा, पुरुषहरुको सभामा आफ्नै कुलवधूको अपमान हुँदा पनि मूकदर्शक बन्ने कुरा अमानवीय र सर्वस्वीकृत प्रचलनको बर्खिलाप थियो । त्यस्तो अवस्थामा कानुनी विषयमा गलफती गर्नु बुद्धिमत्ता थिएन ।

त्यस बखत द्रौपदीले मनुष्य अथवा ईश्वर कसैलाई पनि पुकारिनन् । जब दुश्शासनले उनको वस्त्र ताने तब नयाँ वस्त्र उनको शरीरमा थपिंदै गयो । ब्रहृमाण्डले नै उनको रक्षा गर्ने अभिभारा लिएजस्तो देखियो । त्यति बेला पनि उनी युधिष्ठिरले आफूलाई दाउमा लगाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्नमै अल्झिएकी थिइन् ।

अन्त्यमा दुर्योधनले उनलाई भने, ‘यो प्रश्न आफ्नै पतिलाई सोध । हामीलाई युधिष्ठिरको बुद्धिमत्ता र न्यायभावमा पूर्णतः विश्वास छ । उनले गरेको फैसला हामीलाई स्वीकार्य हुनेछ ।’

द्रौपदीको प्रश्न र दुर्योधनले दिएको बठ्याइँपूर्ण जवाफले युधिष्ठिरलाई आहत बनायो । त्यस प्रश्नको जवाफ दिनु असम्भव थियो । धन्न, उनले जवाफ दिनैपर्ने अवस्था उत्पन्न भएन ।

सभामा अनिष्टसूचक स्वर सुनियो । धम्की र चेतावनीका स्वरहरु गुन्जिन थाले । त्यतिन्जेल अधर्म चरमोत्कर्षमा पुगिसकेको थियो । थकित र लज्जित अवस्थामा पुगेका दुश्शासन त्यहाँबाट पन्छिए । असाध्यै अप्ठेरो महसुस गरिरहेका विदुरले उठेर धृतराष्ट्रलाई भने, ‘आजका यी हर्कतले भयावह परिणाम निम्त्याउनेछ । कृपया अहिल्यै हस्तक्षेप गरेर कुलको रक्षा गर्नुहोस् ।’

सभामा भर्खरै भएका यावत् घटना सम्झिएर धृतराष्ट्र डराए । उनले द्रौपदीलाई स्वतन्त्र गरिदिए । साथै तीनवटा माग पूरा गर्ने वचन दिए । त्यही वचनमार्फत द्रौपदीले आफ्ना पतिहरुलाई पनि स्वतन्त्र गराइन् ।

सभामा उपस्थित कसैले पनि धर्मसम्बन्धी उनको व्याख्यानलाई रुचाएन । युधिष्ठिरले त झन् जीवनभर त्यसलाई भुल्न सकेनन् । वनमा पनि कहिलेकाहीं द्रौपदी युधिष्ठिरसामु आफ्नो विद्वत्ता छाँट्न खोज्थिन् । तर युधिष्ठिरलाई विद्वत्तामा पछार्न असम्भव थियो । हरेकपटक युधिष्ठिरले क्षणभरमै उनलाई चुप गराइदिन्थे । आफ्नो जीवनमा द्रौपदीले गरेका गल्तीहरु क्षम्य थिए । परन्तु सभामा विद्वत्ता छाँटेर उनले युधिष्ठिरलाई अप्ठेरो अवस्थामा पुर्‍याएकी थिइन् । यसबाट उनले अन्जानमै युधिष्ठिरको अपमान गरेकी थिइन् । उनी कुलवधू थिइन् । आफूले फुरषहरुको सभामा बोल्न हुँदैन भन्ने हेक्का उनले राख्न सक्नुपर्थ्यो । त्यसमाथि मान्यजनहरुलाई समेत अप्ठेरोमा पारिदिएको प्रश्नबारे आफू जानकार छु भन्ने छनक दिनु उनको उद्दण्डता थियो । यी दुई कुरा युधिष्ठिरको मनमा बिझेको थियो । फेरि यसले द्रौपदीको यश बढाउनमा कुनै योगदान पनि त गरेन !

वनपर्वमा युधिष्ठिरले उनलाई ‘नारी–पण्डित’ भनेका छन् । महाभारतकालीन क्षत्रिय स्त्रीहरुको नजरमा त्यस्तो विशेषण त्यति प्रीतिकर थिएन । गान्धारी र कुन्तीले आफ्ना छोराहरुलाई सुझाव दिन पाउँथे किनकि उनीहरु उमेरमा ठूला र अनुभवी थिए । तर जवान कुलवधू भएर ठूलाबडामाझ विद्वत्ता छाँट्नु त्यति बेला गम्भीर गल्ती थियो । द्रौपदीलाई आफ्नो त्यस गल्तीको हेक्का कहिल्यै भएन । युधिष्ठिरले पनि उनलाई यसबारे सम्झाएनन् । द्रौपदीको त्यस्तो व्यवहार उनी सामान्य, सरल र निर्दोष स्त्री हुनुको परिणाम थियो ।

०००

द्रौपदीको अर्को एउटा गल्तीबारेचाहिँ युधिष्ठिरले मुख खोले । त्यस गल्तीबारे पनि द्रौपदी अनभिज्ञ थिइन् । कृष्णसहित यादवहरुको संहार भएपछि पाण्डवहरुलाई पृथ्वीमा बस्न मन लागेन । घरगृहस्थी र राज्यको व्यवहार सल्टाएर उनीहरु अन्तिम महायात्रामा निस्किए । त्यति बेला पनि द्रौपदी उनीहरुसँगै थिइन् । उनीहरुले गङ्गा नदी र त्यसपछि हिमालय पार गरे । ऊनीहरु रुखबिरवा केही नभएको पठारमा पुगे । त्यहाँ ठाउँठाउँमा केही ढुङ्गा पल्टिएका थिए । त्यसबाहेक अरु केही थिएन ।

उनीहरु लामबद्ध भएर महिनौं हिंडे । एक दिन द्रौपदी बाटोमा ढलिन् ।

भीम रोकिए । उनले सोधे, ‘यी किन लडिन् ?’ यत्रो लामो समय निरन्तर हिंड्नुपरेपछि उनी किन नढलून् त !

उनीहरु कहाँ गइरहेका थिए ? के भीमले विगतमा झैं आफूहरु सबै जना सँगै गन्तव्यमा पुग्छौं भन्ने सोचेका थिए ? त्यति बेला मर्त्यलोकको नाता टुटिसकेको थियो ।

भीमले युधिष्ठिरसँग भने, ‘हेर्नुस् न दाजु, द्रौपदी त ढलिन् ! यिनी आखिरमा किन ढलिन् ?’

‘भीम, अगाडि बढ । उनी अर्जुनलाई सबैभन्दा बढ्ता प्रेम गर्थिन्, त्यसैले ढलिन् ।’ पछाडि नफर्कीकन युधिष्ठिरले भने ।

त्यसपछि नकुल, सहदेव र अर्जुन ढले । अन्त्यमा भीम पनि ढले । एउटा कुकुरको साथ लागेर युधिष्ठिर एक्लै अघि बढे ।

द्रौपदी ढलेकी थिइन् तर उनको श्वास चलिरहेकै थियो । उनी थाकेर लोत भएकी थिइन् । थप एक पाइला चाल्न नसकेर लडेकी थिइन् । लडेकै अवस्थामा उनले भीमको प्रश्न र युधिष्ठिरको जवाफ सुनिन् ।

त्यो यात्रा महाप्रयाण थियो जहाँ कसैले कसैलाई पर्खिंदैनथ्यो । टाउकामा हात राखेर उनी मृत्युलाई पर्खिंदै बसिन् । तर उनको चेतना मरेको थिएन । युधिष्ठिरका शब्दले उनको स्मृतिलाई ब्युँताइदिए । अन्तिम क्षणमा विगतका दृश्यहरु उनको आँखामा एकपछि अर्को गर्दै आए ।

युधिष्ठिरको वचनमा उनले चोटसँगै तिरस्कार पनि भेटिन् । जीवनमा पहिलोपटक युधिष्ठिरप्रति उनलाई भित्रैदेखि दया जाग्यो । वनमा छँदा उनले युधिष्ठिरको अवस्थाप्रति अक्सर सहानुभूति दर्साएकी थिइन् । तर हरेकपटक युधिष्ठिरको मनमा बदलाको भावना जगाउन उनको दीनहीन अवस्थाको प्रसङ्ग आउने गरी कुरा मोड्ने गर्थिन् । उनको सहानुभूति पनि पीडादायक थियो । युधिष्ठिर कहिल्यै द्रौपदीको कुरामा सहमत भएनन् । सकेसम्म उनी सौम्य पारामा नकारिदिने गर्थे । उनले कहिल्यै आफूले कस्तो महसुस गरिरहेको छु भनी बताएनन् । आज सिर्फ एक वाक्यमा द्रौपदीको एउटा गल्ती औंल्याएर युधिष्ठिरले जीवनभर लुकाएको पीडा उदाङ्ग पारिदिए ।

द्रौपदीले युधिष्ठिरको कुण्ठा बुझिन् र केही क्षण ग्लानि महसुस पनि गरिन् । युधिष्ठिरको वचनले उनलाई केही बेर हतप्रभ पनि बनायो । तर एक छिनपछि मन्द हाँस्दै स्वयंवरको दिन सम्झिइन् ।

अर्जुनले आफूलाई जितेपछि उनले पाँच दाजुभाइसँग पालैपालो बिहे गरेकी थिइन् । के युधिष्ठिरले त्यति बेला द्रौपदीलाई कति पीडा भयो होला भनी अलिकति पनि ख्याल गरेका थिए ? उनले आˆनो मन मारेर पाँचै दाजुभाइसँग समान व्यवहार गर्नुपर्‍यो । तर मनलाई पूरै मार्न कहाँ सकिन्छ र ? सबैसँग समान व्यवहार गर्न सकिएला तर के सबैलाई तौलिएर बराबर प्रेम दिन सकिन्छ ? यस्तोमा अर्जुनलाई उनले बढ्ता प्रेम गरिन् भने यसमा चकित हुनुपर्ने त्यस्तो के नै छ र ?

उनको मन एक छिन रोकियो । साँच्चि, प्रेम गर्नु भनेको के हो ? अर्जुनले विभिन्न स्त्रीसँग प्रेम गरेका थिए– उलूपी, चित्राङ्गदा, सुभद्रा । तर के उनले तिनीहरुसँग गरेको कुरा प्रेम नै थियो त ? के अर्जुनले कुनै स्त्रीलाई मनदेखि नै चाहेका थिए त ? ती स्त्रीहरु उनीसँग प्रेम गर्थे । तर अर्जुनले आफ्नो मन कृष्णलाई सुम्पिएका थिए । इन्द्रप्रस्थ स्थापना गर्दाका दिनदेखि नै अर्जुन र कृष्ण घण्टौंसम्म गफिने गरेको उनले देखेकी थिइन् । उनीहरुबीच नयाँ–नयाँ विषयमा कुराकानी हुने गर्थ्यो । जस्तो कि नयाँ सहर बसाउने कुरा । उनीहरु एकअर्कासँग मित्रवत् कुराकानी गर्थे । दुवै जना मनैदेखि बोल्थे र एकअर्कालाई मनैदेखि सुन्ने गर्थे । कुनै पनि स्त्री अर्जुनको मनमा बस्न सकिनन् । के प्रेम त्यस्तै हुन्छ ? के यो सधैं एकतर्फी नै हुन्छ ? म जसका लागि व्याकुल हुन्छु, मप्रतिको उसको भाव त्यस्तो हुँदैन । मलाई चाहिँ अरु नै कसैले चाहिरहेको हुन्छ ।

अकस्मात् विस्मित भएझैं गरी द्रौपदीको कल्पना रोकियो । फेरि बिजुली चम्किएझैं एउटा कुरा बोध भयो । उनलाई अन्तर्हृदयदेखि जीवनभर प्रेम गर्ने एक जना थिए । द्रौपदीले गहिरो श्वास लिइन् । फेरि उनका आँखामा पुराना दृश्यहरु चलमलाउन थाले ।

स्वयंवर–मण्डपबाहिर शत्रुहरुविरुद्ध अर्जुनको साथमा भिडिरहेका भीमलाई उनले सम्झिइन् । द्रौपदीलाई घिसारेर सभामा ल्याइँदा उनलाई दाउमा थाप्ने युधिष्ठिरका हात जलाउन उनी तत्पर भएको सम्झिइन् । रिसले उम्लिरहेका भीमलाई त्यति बेला अर्जुनले शान्त तुल्याउनुपरेको थियो । द्रौपदीलाई थकित देख्नासाथ भीम उनलाई सजिलो पार्न तम्सिहाल्थे । भीमले नै अनेक अप्ठेरा सहेर द्रौपदीका लागि सुगन्धमय कमलको फूल ल्याएका थिए । भीमले नै दुश्शासनको रगत पिएका थिए । दुश्शासनको रगतले रातो बनेको आफ्नो हातले द्रौपदीको चुल्ठो बाटिदिएका थिए । अर्जुनले पनि कीचकको वध गर्न सक्थे तर त्यसका लागि पनि भीम नै अघि सरे । उनले थुप्रै कुरा सम्झिइन् । खान भनेफछि हुरक्क हुने भीम, उद्दण्ड भीम, सन्तापी भीम, धृतराष्ट्र र भीष्मलाई निरन्तर वचन लगाउने भीम । द्रौपदीजस्तै भीम पनि सांसारिक थिए । द्रौपदी पृथ्वीमाताकी पुत्री थिइन् भने भीम पुत्र थिए ।

त्यतिकैमा आफूलाई कसैले तानेको महसुस द्रौपदीलाई भयो । उनले गहिरो श्वास फेरिन् । उनको शरीर डरले लगलगी काम्यो । उनी शान्तपूर्वक मृत्युलाई पर्खिरहेकी थिइन् । यस्तोमा आफूलाई तान्न कुनै हिंस्रक जन्तु आएछ भन्ने सोचिन् ।

त्यतिका दिन पठारमा हिँड्दा उनीहरुले कतै पनि जनावर देखेका थिएनन् । जथाभाबी टोकेर पीडा दिनुको सट्टा त्यस जीवले एकैपटक घाँटी क्याप्पै पारे जाती हुने थियो भन्ने सोचिन् । दह्रोसँग आँखा चिम्लिएर उनी त्यसको झम्टा बेहोर्न तयार भइन् । त्यतिकैमा उनको आँखामा एउटा छाया पर्‍यो । उनको आँखा र घामबीच एउटा पर्दा खस्यो ।

सानो र गहिरो स्वरमा कसैले उनलाई बोलायो– द्रौपदी ।

त्यो भीमको स्वर थियो । सकी–नसकी केही पाइला घिसारेर भीम द्रौपदी भएको ठाउँमा आइपुगे । बाटोमा उनले अर्जुन, नकुल र सहदेव मृत अवस्थामा पल्टिएको देखेका थिए । द्रौपदी पनि पक्कै मरेकी होलिन् भन्ने उनले ठानेका थिए । द्रौपदी कामेको देखेपछि उनी जिउँदै रहेको चाल पाएर भीम खुसी भए ।

‘तिम्रा लागि के गरौं द्रौपदी ?’ भीमले निक्कै अप्ठेरो गरी बोले । यही प्रश्न उनले द्रौपदीसँग जीवनभर गरेका थिए । तर त्यस क्षणमा त्यो प्रश्न पूर्णतः अर्थहीन, असङ्गत थियो । द्रौपदी मुस्कुराइन् । भीमलाई नजिकै तानेर अन्तिम श्वाससँगै उनले भनिन्, ‘भीम, अर्को जन्ममा तपाईं जेठो भएर जन्मिनू, तपाईंको छत्रछायामा हामी सबै जना सुरक्षित र सुखी भएर बाँच्न सक्छौं ।’

(प्रसिद्ध भारतीय मावनशास्त्री इरावती कर्वेको पुस्तक 'युगान्त'को एक सम्पादित अंश । सन् १९६८ मा भारतको प्रसिद्ध साहित्य एकेडेमी पुरस्कार पाएको यो पुस्तकले 'महाभारत'को आलोचनात्मक विश्लेषण गर्छ । मराठीमा लेखिएको यो पुस्तकको डब्ल्यु. नोरमन ब्राउनले अंग्रेजीमा अनुवाद गरेका थिए । बुकहिलले बजारमा ल्याएको यो पुस्तकको नेपाली अनुवाद सुजित मैनालीले गरेका हुन् ।)

प्रकाशित : आश्विन २३, २०७७ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?