गोविन्द टण्डनको 'इतिहासका थप पृष्ठहरू’ प्रकाशित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली इतिहास, संस्कृति एवं पुरातत्त्वका अध्येता डा. गोविन्द टण्डनको 'इतिहासका थप पृष्ठहरू' शीर्षकको पुस्तक बजारमा आएको छ ।

गोविन्द टण्डनको 'इतिहासका थप पृष्ठहरू’ प्रकाशित

साङ्‍ग्रिला बुक्सले प्रकाशन गरेको उक्त पुस्तकमा ऐतिहासिक एवं पुरातात्त्विक स्थल, लिच्छविकालिक समाज एवं इतिहासका विविध पक्ष, मठ-मन्दिर, सम्पदा, गुठी व्यवस्था, धर्म,संस्कृति, इतिहास,साँस्कृतिक सम्पदा संरक्षण-सम्वर्द्धनलगायत केही इतिहासपुरुषबारे चर्चा गरिएको छ।

पहिले प्रकाशित एवं अप्रकाशित गरी झण्डै ६७ वटा विभिन्न शीर्षकका लेखहरूको सङ्ग्रह भएको यस पुस्तकमा मालीगाउँमा वि.सं. २०४९ मा पाइएको संवत् १०७ को जयवर्माको मूर्तिको विषयमा स्वदेशी/विदेशी विभिन्न विद्वान्हरूको आ-आफ्ना धारणा रहेको सन्दर्भमा प्रचलित धारणाभन्दा फरक दृष्टिकोणले अध्ययन गरिएको छ। जयवर्माको मूर्ति अरू विद्वान्हरूले भने जस्तो पहिलो-दोस्रो शताब्दीको नभई यो मानदेव संवत् १०७ को हो, जुन वि.सं. ७४० को हुन्छ भनी नयाँ धारणा प्रस्तुत गरिएको छ। यसले नेपालको इतिहास,संस्कृति एवं पुरातत्त्वको क्षेत्रमा अध्ययन गर्नेहरूलाई नयाँ दिशाबोध दिन सक्ने टण्डन दाबी गर्छन् ।

शिलालेख एवं वंशावलीहरूमा कतै उल्लेख नपाइने लिच्छवि राजा अमरदेवको बारेमा पनि प्रस्तुत पुस्तकमा चर्चा गरेको पाइन्छ।इतिहासको कुनै कालखण्डको लागि एउटा इँटामा पाइएको नामै पनि कति काम लाग्ने रहेछ भन्ने कुरा 'राज्ञोमरदेवस्य' अङ्कीत इँटाले देखाएकोबारे जान्न सकिन्छ । रानीपोखरीलाई आहिले मात्र होइन आजभन्दा झण्डै चार दशक अघिदेखि नै कसरी अतिक्रमण गरेर व्यापारिक ठाउँ बनाउन सकिन्छ त्यस बेला मानिसहरू लागेका थिए। रानीपोखरीको महत्त्वलाई उजागर गरी अठतीस वर्षअघि लेखिएको 'रानीपोखरी: यसको ऐतिहासिकता र संरक्षण' लेख अहिले पनि उत्तिकै सान्दर्भिक लाग्छ।

पुस्तकमा रानीपोखरीको पानीको स्रोतको रूपमा रहेको संवत् ४५ (वि.सं. ६७९) को विभु वर्माले निर्माण गरिदिएको ढुङ्गेधारा पुरेर रत्नपार्कमा भूमिगत मार्ग बनेको कुरादेखि लिएर दरबार स्कुलको उत्तरपट्टिको झङ्गथकुहिटी कसरी पुरियो, भोटाहिटी नामको ढुङ्गेधारा कसरी विलुप्त बन्यो आदि विषय पनि उल्लेख गरिएको छ ।

इतिहासकार एवं प्राज्ञ दिनेशराज पन्तले मन्तव्यमार्फत पुस्तकका बारेमा भनेका छन्, 'प्रामाणिक सामाग्रको आधारमा विश्लेषणात्मक ढङ्गले प्रकाश पार्ने शैली डा. गोविन्द टण्डनका लेख एवं पुस्तकहरूमा पाइने एक किसिमको विशेषता नै हो भने हुन्छ। यही शैलीको प्रयोग यस पुस्तकमा पनि भलिभाँति भएको छ ।'

टन्डनको 'नेपालमा गुठी व्यवस्था' पुस्तक पनि यसअघि प्रकाशित भएको छ ।'इतिहासका थप पृष्ठहरु' पुस्तकमा ५७२ पृष्ठ रहेको छ र यसको मूल्य ९७५ रुपैयाँ राखिएको छ ।

प्रकाशित : आश्विन २३, २०७७ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?