कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मल्ल के. सुन्दरको 'विमुक्ति' : कमलप्रकाशको दृष्टिमा 

कमलप्रकाश मल्ल

काठमाडौँ — हामीमध्ये धेरैले मल्ल के. सुन्दरलाई एक आन्दोलनकारी वा पत्रकार वा मानव अधिकारकर्मीका रूपमा बुझ्छौं होला, कुनै राजनीतिक वादको प्रचारका लागि नभई एक सिर्जनात्मक उपन्यासका लेखकको हैसियतमा कमैले मात्र उनलाई चिनेको हुनुपर्दछ ।

मल्ल के. सुन्दरको 'विमुक्ति' : कमलप्रकाशको दृष्टिमा 

‘नेपालभाषामा आधुनिक काव्य आयाम’ विषयक शोधग्रन्ध लेखेर स्नातकोत्तर अध्ययन पूरा गरेलगत्तै उनले धेरै वर्षसम्म कविता र कहानीसमेत समावेश गरीकन ‘इनाप’ साप्ताहिक पत्रिकाको सम्पादन गरे । उनको पहिलो उपन्यास ‘नसना’ हो । त्यसमा स्वाभाविक रूपमा आन्दोलनकारीको तीव्र आक्रोशको स्वर भेट्टिन्छ । यसमा कथ्य र प्रस्तुतीकरणको शैलीमा सिर्जनात्मक मिरमिरेको झल्कोसँगै सामाजिक अन्याय तथा आर्थिक शोषणप्रतिको कलिलो आलोचना समावेश छ ।

मल्लको नयाँ उपन्यास भने नेपालभाषा उपन्यासका रूप तथा विषयमा विद्यमान दुवै परम्परागत धारभन्दा पृथक् पाउँदछौं । हालसम्म नेपालभाषा आख्यान–साहित्यमा गहिरोसँग जरो गाडिसकेको घिसेपिटेको स्वरूपलाई हामीले स्वाभाविक हो भनेर स्वीकार गर्दै आएका छौं । धूस्वां सायमिद्वारा रचित ‘मिसा’ उपन्यास प्रकाशन भएको अर्धशताब्दीको अवसरमा सन् २००४ मा त्रिभुवन विश्वविद्यालय, नेपालभाषा केन्द्रीय विभागद्वारा एउटा गोष्ठीको आयोजना गरिएको थियो । त्यसमा समालोचक/प्राज्ञ वर्गले हालसम्म प्रकाशित १ सय १५ उपन्यासको सूची प्रस्तुत गरेको थियो तर कार्यपत्र प्रस्तोता कसैले पनि उपन्यासको स्तर तथा शैलीगत प्रयासलाई लिएर आलोचनात्मक दृष्टिले विश्लेषण गर्ने साहस गरेको देखिनँ । धूस्वां सायमिको ‘मिसा’ उपन्यासदेखि रामशेखर नकर्मीको ‘नसंफाःगु चा’, शशिकला मानन्धरको ‘जल्ल थीगु लँपु’, केदार सितुको ‘स्वम्हम्ह मनू’लाई पचास वर्षको प्रशंसनीय उपलब्धिका रूपमा उल्लेख गरियो ।

नेपालभाषाको यसखाले भाषिक तथा साहित्यिक पृष्ठभूमिबीच मल्लको यस कृतिले जुन प्रयत्न गर्न खोजेको छ, त्यो सानो उपलब्धि होइन । लामो समयदेखि निरन्तरता पाइरहेको एक्कैखाले कथावस्तुको धारमा यो उपन्यास एक फड्को हो । एक्कै कथावस्तुको उदाहरणको रूपमा निजात्मक असफलता वा प्रेमवियोग वा सामाजिक अन्याय यस धारको मूल प्रवृत्ति रहँदै आएको छ ।

यस उपन्यासमा आफ्नो मुक्ति/निर्वाणका लागि भौंतारिएका दुई महिला छन्– एक बुद्ध उपदेशका उपासिका र अर्को बन्दुक बोकेर हिँडेकी छापामार । यसमा यी दुई महिलाबीचको वैयक्तिक अन्तरद्वन्द्वलाई खोतलिएको छ । यी दुई महिलाले अनुसरण गरिरहेका मार्गमा आधारभूत भिन्नता छन् । बुद्ध धर्मले कुनै पनि प्रकारले सामूहिक मुक्ति वा वर्गीय समाजको अन्त्यको वाचा गर्दैन । विनय पिटकको लक्ष्य शीलको पालना हो । गृहस्थका लागि चतुर्आर्य सत्य र आर्यअष्टाङ्ग मार्गको पालनाबाहेक अरू कुनै सामूहिक दायित्व छैन ।

मल्लको नयाँ उपन्यासभित्र वर्णनात्मक शैलीमा एक सर्वज्ञाताको रूपमा प्रस्तुत वर्णन, भइरहेका संवाद आदि कथावस्तु अन्त्य नभएसम्म आकर्षक ढङ्गले एउटा निरन्तर गतिमा अगाडि बढ्छन् । लेखकको आफ्नो आग्रहलाई पात्रको माध्यमबाट जबर्जस्ती बोल्न लगाउने कुनैखाले चेष्टा नगरीकनै यस्ता अनेकन पक्षका द्वन्द्वमा जसरी कुशलतापूर्वक खेलिएको छ, व्यवस्थित गरिएको छ, ती सब कुरा एकपछि अर्को परिच्छेदमा यथेष्ट भेट्टाउन सकिन्छ । हो, आख्यानको गति कतै–कतै कम भएको होला तर अनावश्यक संवादबाट गतिरोध सिर्जना गरिएको छैन ।

सङ्क्षिप्त र सानो ठेली भए पनि यो उपन्यास एक उल्लेखनीय कृति हो भन्ने कुराका थुप्रै आधार छन् । हामी के नबिर्सौं भने नेपालभाषामा उपन्यास विधा अलि पछिमात्रै प्रवेश गरेको हो । आजसम्म पनि यसखाले सिर्जनात्मक आख्यान कमैमात्र लेखिएको छ । धेरैजसो हाम्रो परम्परा भनेकै कि धार्मिक पाठलाई दोहोर्‍याउने वा उपदेशात्मक शिक्षालाई समेट्ने सामग्री लेखनमात्रै रहेको छ । मल्ल के. सुन्दरको यो उपन्यास यस परम्परामा एक समकालीन अवतार नै ठहरिएको छ । त्यसो त दुई महिलाबीचको ‘संवाद’ नैतिकतामाथि आधारित नाटक (मोरालिटी प्लेज) मा भन्दा भिन्न छैन । यी दुवैजनाले आ–आफ्ना दार्शनिक मान्यताअनुरूप निष्ठा वा पवित्रताको प्रतिनिधित्व गरिरहेका छन् ।

उपन्यासको पृष्ठभूमि एक दशकसम्म चलेको ‘जनयुद्ध’ हो । यसैले उपन्यासका लागि पुराना संस्मरण, घटनाक्रमका संरचना, विवरणात्मक तत्व तथा कथानक उपलब्ध गराएको छ । तर, यस प्रकारका विवरण, घटनाक्रम र कथावस्तु त केवल पात्रहरूले सँगालेका आस्थागत कुरा प्रस्तुत गर्ने झ्याल–ढोका मात्र हुन् । उपन्यासको अग्रपृष्ठमा उल्लेख गरिएको उप–शीर्षकबाटै धेरै कुरा स्पष्ट हुन्छ– यो मुक्तिका लागि बौद्ध विनय र सशस्त्र विद्रोहबीचको औपन्यासिक अन्तरसंवाद हो । त्यसो त मुक्ति प्राप्तिका यी दुई उपाय पूर्णतः र आधारभूतरूपले नै भिन्न छन् । यी दुई उपायबीच माध्यममा मात्रै भिन्नता भएको होइन, यिनीहरूको लक्ष्य पनि आधारभूतरूपमा समान छैन ।

दक्षिण एसियाली ज्ञान–पद्धतिमा मानव अस्तित्वको उद्देश्य ‘पुरुषार्थ’ प्राप्ति हो भन्ने ठानिएको छ । यसभित्र धर्म (कर्त्तव्य), अर्थ (धन), काम (सुख) र मोक्ष (मुक्ति) समावेश छन् । सिद्धार्थ गौतम बुद्धद्वारा मोक्षलाई निर्वाण (जीवन–मृत्युको भवचक्रबाट मुक्ति) को अर्थमा व्याख्या गरिएको छ । निर्वाणको एउटा आधारभूत कुरा भनेको यसलाई प्रत्येक मानिसले आफूभित्रका राग तथा अज्ञानताविरुद्ध सङ्घर्ष गरेर मात्र प्राप्त गर्न सक्छ । बुद्धले स्पष्ट गरेका छन्, ‘पारि डोरीमा बाँधिएको डुङ्गा चढेर जान पाऊँ’ भन्दै प्रार्थना गर्दैमा नदी तर्न सकिन्न (धम्मपद) । अर्को शब्दमा भन्दा, मोक्ष भनेको खासमा आकाङ्क्षीको एकल यात्रा हो । बौद्ध विहार भनेको कुनै पनि अत्याचारीलाई निर्मूल गर्न स्थापना गरिएको राजनीतिक केन्द्र होइन ! सारमा, वर्ग–सङ्घर्षको सम्बन्धमा वा सङ्गठित विद्रोहद्वारा वर्ग–दुश्मनलाई भौतिकरूपमा सफाया गर्ने सम्बन्धमा बुद्धले विशेष केही पनि भनेका छैनन् !

मल्ल कथ्य साहित्य सिर्जनाको क्षेत्रमा नवोदित लेखक होइनन् । इतिवृत्तात्मक गद्य साहित्यमा निपुणता उनको नियात्रा पुस्तक ‘लुमन्ति किचः’मा भेट्टाउन सकिन्छ । उनले पत्रकारिता पेसा गर्ने क्रममा धेरै क्षेत्र भ्रमण गरिसकेका छन् । उनले भूमिगत शक्तिहरूद्वारा आयोजित कार्यक्रमसँगै अन्य थुप्रै सङ्गठित राजनीतिक गतिविधिबारे समाचार र विचार सम्प्रेषण गर्दै आइरहेका छन् । त्यसो भए पनि जनयुद्धमाथि केन्द्रित कथ्यलाई अगाडि बढाउँदा केवल एक नायक वा खलनायकलाई मात्र प्रस्तुत गर्नु पर्याप्त हुन्न । यस्तो सशस्त्र विद्रोहको सम्बन्धमा उपन्यास रचना गर्नुपूर्व अवश्य पनि द्वन्द्वको क्रममा भएका घटनाक्रम र त्यसमा भूमिका खेल्ने व्यक्तिहरूसँग, त्यसका साथै विषयवस्तुसँग उनको सहज सम्पर्क र ज्ञान भएको हुनुपर्दछ । यो उपन्यासको अनौठो कुरा के भने माथि भनिएजस्तो केही घटित हुँदैन । एक दशकको जनयुद्ध भर्खर टुङ्गिएको छ । उपन्यासमा त्यही जनयुद्धको क्रममा जनसेनाकी एक योद्धा शाही सेनाको पिछाबाट बच्दै भाग्न सफल हुन्छे । भाग्न बरण्डाबाट हाम्फाल्दा भुइँमा छरपस्ट सिसाका टुक्राबाट उसलाई घाउचोट लाग्छ । द्वन्द्व प्रभावित एक गाउँको बौद्ध विहारमा ऊ शरण लिन पुग्छे । सरकारी सुरक्षाकर्मी गाउँमा खोजतलास गर्न आउँछन् । त्यसै बेला उसलाई औलो रोगबाट ग्रस्त अनागरिकाको रूपमा मुख्य भिक्षुणीबाट परिचय गराउने काम हुन्छ ।

उपन्यास मूलतः भिन्न–भिन्न आस्था र विश्वासमा हिँडेकाहरू कमसेकम केही समयका लागि भए पनि एकै छानामुनिमा जीवन यापन गर्न सक्छन् भन्ने मान्यतामा केन्द्रित छ । हुन सक्छ, यो एउटा फिक्का हिप्पी विचार वा निकिता ख्रुश्चोभ–निकोलाइ बुल्गानिन (वर्ग–सङ्घर्षको सिद्धान्त त्याग्ने सोभियत राष्ट्रपति र प्रधानमन्त्री) को युगको ‘प्रतिगामी’ प्रतिध्वनिजस्तो लाग्न सक्छ । तर, अक्टोबर १९१७ मा भएको बोल्सेभिक क्रान्तिको समयदेखि नै यसखाले विचारबारे चर्चा हुँदै आएको छ । के दुई विपरीत ध्रुवका सिद्धान्तबीच शान्तिपूर्ण सह–अस्तित्व धेरै समयसम्म दिगो हुन सक्ला र ? कार्यनीतिकरूपमा यस्तो सम्भावना होला तर यो स्थायी समाधानको रूपमा अस्तित्वमा रहन कठिन होला । सायद, लेखकको पनि यही आशय होला । यो जनसेनाका योद्धालाई सरकारी सुरक्षाकर्मीबाट बचाउन भिक्षुणीद्वारा खेलिएको भूमिकाको तात्कालिक एक सद्भावपूर्ण प्रतिक्रियामात्रै हुनसक्छ । त्यसो त समकालीन पाश्चात्य समाजमा एक उदेकलाग्दो सामाजिक रूपान्तरण देखिएको थियो, विशेषतः श्रमिक वर्गहरूबीच पहिलेका आमूल परिवर्तनकारीहरू वातावरणवादी र ‘चिल्ड्रेन अफ फ्लावर पावर’ (हिप्पी आन्दोलनकारी) का रूपमा निस्केको घटना !

जनमुक्ति सेनाको विदाइ समारोहको समयमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दिएको भाषण यहाँ स्मरणीय होला । उनले समायोजनमा नपरेका जनसेनाका जवानहरू आ–आफ्ना गाउँ फर्किन लाग्दा भनेका थिए– ‘व्यक्तिपिच्छे हातमा परेको कम्तीमा एक लाख रकम ग्रामीण विकासका लागि सानो होइन तर यसैबाट परिवर्तन ल्याउँला वा नल्याउँला कसले भन्न सक्छ ?’ के तिनीहरू स्थायीरूपमै घरबास बनाएर बस्लान् वा फेरि वर्ग–युद्धमा फिर्ता होलान् ?

मल्लले संवाद संरचनालाई एक मूल आधारका रूप प्रयोग गरेर खुला रङ्गमञ्चमा सबैलाई उभ्याएका छन् । यहाँ नायकहरूका आस्था र अनुकूलतामा संवाद समावेश भएका छन् । दुई महिला चरित्रहरू जुन बेला आ–आफ्ना एजेण्डासँग सम्बन्धित गम्भीर मुद्दामा छिनोफानो गर्नेगरी छलफलमा संलग्न हुन्छन्, तब तिनीहरूमा धेरैजसो दृढ र औपचारिक स्वरूप हाबी भएको पाइन्छ । यद्यपि, नेपालको कुनै पनि बौद्ध विहारभित्र यसखाले छलफल भएको घटना हामी कम मात्रै भेट्टाउन सक्छौं होला ।

संवाद शैली पूर्वीय तथा पाश्चात्य समाजमा एक स्थापित परम्परा हो । प्लेटोका धेरैजसो शिक्षा संवादकै शैलीमा सुरक्षित रहेका छन् । प्राचीन ऋषिमुनिहरूद्वारा उपनिषद्मा आफ्ना शिष्यलाई प्रशिक्षित गर्नुपर्दा आत्माको रूपान्तरणजस्ता गम्भीर दार्शनिक विचार संवादकै रूपमा प्रस्तुत गरिएका हुन् । तर उपन्यासमा संवाद त्यतिखेर मात्र सही तरिकाले समावेश गराउन सकिन्छ, जब लेखकले त्यसलाई कहाँ टुङ्ग्याउने भन्ने कुरा पहिल्यै निधो गर्न सक्छ । अन्यथा, संवाद सिङ न पुच्छरको हुनेछ । यस्तोमा मल्लको विशेषता नै हो, संवादलाई सही ठाउँमा टुङ्ग्याइदिनु ।

संजोगको कुरा, म १० अक्टोबर २०१३ मा पङ्कज मिश्रको लेख पढ्दै थिएँ । उनी ‘द न्यूयोर्क टाइम्स बुक रिभ्यू’का एक चर्चित समीक्षक हुन् । लेखमा उनले समकालीन अमेरिकी कथ्य–साहित्यद्वारा ‘आमूल परिवर्तनवादी राजनीति’को विषयमा सही तरिकाले समाधान गर्न नखोजिएकोमा आफ्नो असन्तोष प्रकट गर्दै थिए । उदाहरणका लागि, लेखक फिलिप रोथले आफ्नो उपन्यास ‘अमेरिकन पास्टोरल’मा राजनीतिक आमूल परिवर्तनवादलाई पागलपनाको रूपमा प्रस्तुत गर्दै जुझारु विद्रोहीलाई अनुसन्धान क्षेत्रका जासूसका रूपमा देखाएका छन् । जोन अपडाइक वा मार्टिन एमिसहरूले भने जुझारु राजनीतिलाई यौन कुण्ठा र निराशाको प्रतिफलका रूपमा लिएका छन् ! यस्तो दृष्टिकोण माओवादी विद्रोहीहरूका लागि कत्तिको मिल्दोजुल्दो होला, जो दश वर्षसम्मको युद्धमा संलग्न रहे, छ वर्षसम्म क्यान्टोनमेन्टमा बसेर केही नगद रकम बोकेर आ–आफ्ना थातथलोमा फर्के, जहाँबाट उनीहरू आएका थिए ? के तिनीहरू आफ्नो गाउँघरमा, समाजमा समाहित हुन सक्ने हुन् वा राजनीतिक मार्गचित्रअनुसार रूपान्तरण भइदिने हुन् ?

हुन त एक भिक्षुणी र एक जनमुक्ति सेनाकी छापामारलाई एक्कै थलोमा उभ्याउने मल्लको उपन्यासको अवधारणागत आधारलाई लिएर तार्किक रूपमा आलोचना पनि गर्न सकिएला । पुग्ने लक्ष्यका आधारमा जाने बाटोको औचित्य पुष्टि हुन्छ वा क्रान्तिको आधार बल नै हो भनेर स्वीकार गर्ने पहिलो सिद्धान्तकार मार्क्स नै हुन् । त्यसो त भ्लादिमीर इभानोविच लेनिन तिनै व्यक्ति हुन्, जसले ठाडै भनेका थिए, ‘सेनाबिना कसरी क्रान्ति अगाडि बढ्न सक्छ ?’ माओ त्से–तुङ्ग त योभन्दा स्पष्ट वक्ता हुन्, जसले मुखै फोरेर बोलेका थिए, ‘राजनीतिक सत्ताको जन्म बन्दुकको नालबाट हुन्छ ।’ निजी सम्पत्तिको उत्पत्ति नै मानव समाजका समस्याको मूल श्रोत हो भनेर मार्क्सले नै सङ्केत गरेका थिए ।

झट्ट एकसरो आँखा लगाउँदा मल्लको उपन्यासका दुइटी वार्ताकारहरू दुई महिला हुनुमा बाहेक उनीहरूबीच नैतिक र सैद्धान्तिक आधारका कुनै साझा धरातल देखिन्न । उनीहरूका भाषामा समानता देखिए पनि उनीहरूका भनाइमा अत्यन्त फरक अर्थ भेटिन्छन् । ‘मुक्ति’जस्तो शब्दको प्रयोगको अर्थमा समेत समानता पाइँदैन । एकातिर बौद्ध भिक्षुणीका लागि शत्रु आफैंभित्रको मार हो, लौकिक क्षणभङ्गुर मोहमाथि विजय प्राप्त गर्नु लक्ष्य हो । अर्कोतिर, जनमुक्ति सेनाका छापामारका लागि दुश्मन भन्नु नै वर्गीय संरचना, शोषण, पितृसत्ता, अल्पसङ्ख्यकको शासन अनि दमनकारी सामाजिक पद्धति हुन् ।

यसरी दुईतिर सोझिएका दुई विपरीत विचारबीच संवादको सम्भावना छ र ? अवश्य पनि छ । आख्यान साहित्यको प्रयोगमा वा हानिरहित सचेतना जागरण अभियानका लागि गैरसरकारी संस्थाबाट हामीकहाँ यस्तो प्रयत्न भइरहेका छन् ।

यदि कुनै पाठकले यहाँ तर्कवितर्क गरिएका पक्ष/विपक्षलाई खारेज गर्न चाहे भने उपन्यासभित्र अरू केही बाँकी रहनेछैन । पाश्चात्य साहित्यमा महान् विचारबारे वादविवाद चलाइएका उत्कृष्ट दृष्टान्त पाइन्छन् । लियो टल्सटायका ‘वार एन्ड पिस’भित्र ऐतिहासिक सङ्क्रमणकालीन मोडमा व्यक्तिको भूमिकाका सम्बन्धमा विषद् अन्तरसंवाद भेट्टाउन सकिन्छ । ग्राहम ग्रीनका राजनीतिक उपन्यास ‘द पावर एन्ड द ग्लोरी’ (सन् १९४०) वा जोसेफ कोनराडको ‘हर्ट अफ डार्कनेस’ आदि ‘सिद्धान्त उल्लेख गरिएका आख्यानभन्दा विशुद्ध आख्यान साहित्य’ हुन् । नोबेल पुरस्कार विजेता फ्रेन्च–चेकोस्लोभियन लेखक मिलान कुन्देराको ‘द कर्टेन ः एन एस्सेज इन सेभेन पार्टस्’ (सन् २००७) पुस्तकमा उपन्यासको प्रारब्धलाई लिएर आकर्षक तरिकाले ‘रूप र विषयको द्वन्द्व’का रूपमा प्रस्तुत गरिएको छ ।

त्यसो त मल्लको उपन्यासलाई लिएर पाठकहरूले विषयवस्तुभन्दा निरपेक्ष भएर यसमा प्रयोग गरिएका भाषा र शैलीबारे खोतल्न चाहेमा कुनै उपलब्धि फेला नपर्न सक्छ । धूस्वां सायमिका एघारवटा उपन्यासमध्ये पछिल्लो अनि उनले पुनर्लेखनको प्रयास गरेको उपन्यास ‘सर्गतं कुतुंवःम्ह न्या’ हो, जसमा काव्यात्मक गद्य र आख्यानको सुवास छ । तुलनात्मकरूपमा मल्लको गद्य ठोस, गठिलो, सङ्क्षिप्त र अर्थपूर्ण छ । एक चतुर कलाकारले जस्तै उनले नियन्त्रणमा रहेर चित्रण गर्ने, विश्लेषण गर्ने अनि सहज तरिकाले दृश्य संयोजन गर्दै पात्रहरूलाई जीवन्त बनाएका छन् । नेपालभाषा आख्यान साहित्यमा मथुरा सायमि छोटो तरिका र शृङ्गारिक शैलीमा कुरा भन्नमा विलक्षण छन् भने निःसन्देह लक्ष्मण राजवंशी बोलीचालीका भाषामा लेख्ने अग्रज हुन् । राजा शाक्य स्तरीय र सजाइएका लाक्षणिक भाषा प्रयोग गर्ने गर्छन् । आफ्नो आख्यान साहित्यमा भूषणप्रसाद श्रेष्ठ लामो संरचना प्रस्तुत गर्नमा अतुलनीय छन् । शशिकला मानन्धरको नवीन लेखाइमा साह्रै छोटो विवरणात्मक गुण पाइन्छ । आफ्ना समकालीन लेखकहरूको तुलनामा मल्ल वाक्य संरचना, शैली र वाक्यांश प्रयोगमा कमै मात्र आलङ्कारिक छन्, बरु अति नै सुव्यवस्थित, संयमित र किफायती प्रवृत्तिका छन् ।

साँच्चै भन्नुपर्दा, आफ्नो श्रेष्ठता प्रकट गर्ने क्रममा स्थितिमा नाटकीय परिवर्तन ल्याउने र पात्रहरूको चरित्र छिटो चित्रण गर्ने मामिलामा मल्लको खुबी उपन्यासका हरेक मोडमा भेट्टिन्छ । विश्वास गरौं, आफूमा भएको यो प्रतिभा प्रस्तुत गर्नमा उनले आउँदो दिनमा अझ बढी मिहेनत गर्नेछन् ।

एटलन्टा, जर्जिया

संयुक्त राज्य अमेरिका

(बुक–हिलद्वारा प्रकाशित मल्ल के. सुन्दरको उपन्यास ‘विमुक्ति’मा मल्लले लेखेको भूमिका ।)

प्रकाशित : आश्विन २२, २०७७ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?