१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

शून्य समय

कुमार नगरकोटी

सभामुख :
माननीय सदस्यहरु ! प्रतिनिधि सभाको यो ग्यालरी बैठकमा आज हामीले सरकारद्वारा आयोजित विशेष कार्यक्रममा हङकङका फिल्म सर्जक वोङ कर-वाईको रोमान्टिक ड्रामा 'इन द मुड फर लभ' हेर्‍यौं । जसलाई तपाईंहरु सबैले रुचाउनु भयो भन्ने मेरो ठहर छ । अब हामीसँग शून्य समयको प्रहर छ । तसर्थ फिल्मबारे आफ्नो प्रतिक्रिया व्यक्त गर्नका निम्ति म सर्वप्रथम माननीय श्री गगन थापालाई डायसमा निम्तो गर्छु । 

शून्य समय

श्री गगन थापा : धन्यवाद सभामुख महोदय ! फिल्म हेर्दै गर्दा मलाई ठिमीतिर जाने एउटा ठिटोको जबर्जस्त याद हइव । हामी जनप्रतिनिनिधहरुलाई यसरी फिल्म देाउने सरकारको काम मलाई कस्तो लाग्यो भने, 'कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर' जाने अल्लारे ठिटोजस्तो लाग्यो । मलाई य फिल्ममा लागेको उत्कृष्ट पक्ष भनेको यसको -स्लो पेस- हो । अर्थात्, मन्द गति ! जो यो गतिछाडा सरकारको दुर्गति तथा अधोगतिसित हुबहु मिल्छ । यो सरकार कति मन्द गतिमा चलिरहेको छ भन्ने देखाउनकै निम्ति हामीलाई यो फिल्म देखाइएको हुनुपर्छ भन्ने मलगायत मेरो पार्टीको विचार छ ।

सभामुख : आफ्नो विचारका लागि यहाँलाई धन्यवाद ! अब अर्का वक्ता माननीय श्री पुष्पकमल दाहाललाई आमन्त्रण गर्दछु । ।

श्री पुष्पकमल दाहाल : फिल्ममा प्रयुक्त लाल रंगको प्रचुरताले के देखाउँछ भने यो हामी लाल क्रान्तिकारीले जीवनमा एकपल्ट हेर्नैपर्ने फिल्म हो, रहेछ । फिल्मको नामै कति दामी ! 'इन द मुड फर लभ' ! जंगलमा बाह्र वर्ष 'इन द मुड फर वार'को मनस्थितिमा बाँचियो । बाँच्नु पर्ने त 'इन द मुड फर लभ' मै पो रहेछ । आज मेरो पार्टीका सहअध्यक्षज्युले कस्तो गज्जबको अग्रगामी फिल्म देखाउनु भयो ! प्रेम पनि कति क्रान्तिकारी हुँदो रहेछ भन्ने तत्त्वज्ञान प्रदान गर्नु भयो । तत्त्वज्ञानी सरकार प्रमुखलाई मेरो धन्यवाद !

सभामुख : तपाईंलाई पनि धन्यवाद ! अब बोल्ने पालो भएको छ माननीय श्री गोकुल बाँस्कोटाको । माननीय ज्यू, हाजिर हुनुस् ! तपाईंलाई एक मिनेट समय दान दिएको छु, बोल्नुस् ।

श्री गोकुल बाँस्कोटा : एक मिनेट दान रे ! पूर्वमन्त्री भएँ भन्दैमा मलाई हेप्नी ? के काइदा हो यो ? तपाईंलाई पनि मानहानीको मुद्दा हाल्दिउँ ? जो होचो उसकैको मुखमा घोचो गर्नी ? हेप्नी ?

सभामुख : तपाईको स्टेटमेन्टलाई रेकर्डबाट हटाइनेछ, धन्यवाद । अब आफ्नो बहुमूल्य दुई शब्द व्यक्त गरिदिनका निम्ति म माननीय श्री शेरबहादुर देउवालाई आग्रह गर्दछु ।

श्री शेरबहादुर देउवा : थ्याङ्‍क यु !

सभामुख : उहाँले लिट्रल्ली दुई शब्द बोलेर सरकारको कामलाई प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको छ । यसै क्रममा अब म मन्तव्यका निम्ति माननीय श्री कमल थापालाई अनुरोध गर्दछु ।

श्री कमल थापा : के निवेदन गरूँ भने, एक साँझ हिज म्याजेष्टीसँग बसी 'ब्रेकफास्ट' लिइरहेको थिएँ । ह्विस्कीसितै । मौसुफबाट अकस्मात मर्जी भयो, 'माई डियर कमल ! मलाई 'इन द मुड फर लभ' नामक फिल्म हेर्ने इच्छा भयो । त्यो फिल्म कहाँ देखाइन्छ ?' आज यहाँ यो गरिमामय सदनमा मौसुफले इच्छाबक्सेको फिल्म देखाइयो । के निवेदन गरुँ भने, फिल्म हेरुन्जेल मैले हिज म्याजेस्टीलाई मिस गरें । बडा खल्लो लाग्या'छ । तर केही छैन । हामी सबै स्वघोषित म्याजेस्टी नै हौं । मौसुफ हौं, राजा हौं । श्रीपेच मात्रै त नलगाएका हौं । हामी जनप्रतिनिधिलाई श्री ५ भन्न मात्रै त बाँकी हो । सभामुख महोयद ! हामीलाई श्रीपेच बाँडियोस् र श्री ५ भनी सम्बोधन गरियोस् भन्ने जोडदार माग राख्दै म के निवेदन गर्न चाहन्छु भने...

सभामुख : चुप लाग्नुस् । समय सकियो । जानुस्, बस्नुस् । अब माननीय श्री प्रदीप गिरीलाई बोल्न दिनुस् ।

श्री प्रदीप गिरी : 'इन द मुड फर लभ'जस्तो एक्स्ट्रा मरिटल अफेयर्समा आधारित फिल्म देखाएर सरकारले आफ्नो गुप्त यथार्थ हामीमाझ आज छर्लंग पारेको छ । यो सरकार पनि पूर्व माओवादी र पूर्व एमालेको एक्स्ट्रा मरिटल अफेयर्सबाट जन्मेको अवैध सन्तान हो । घोटाला र अनेक भ्रष्टाचारमा मुछिएको यो सरकार वास्तवमा काण्डै काण्डहरुको अनैतिक सम्भोगबाट पैदा भएको नाजायज औलाद नै हो ।

श्री बाबुराम भट्टराई : यसो भनेर तपाईंले मेरो पनि खिल्ली उडाउनु भएको छ । म समाजवादी पार्टीसित मिलेको प्रसंगलाई पनि तपाईंले घुमाउरो पाराले अवैध करार गर्दिनु भएको छ ।

श्री उपेन्द्र यादव : यसमा मेरो पार्टीको घोर विपत्ति छ । माफ गर्नुस्, आपत्ति छ । बाबुरामजी र म हाम्रो पार्टीका नाजायज औलाद होइनौं । यसमा हाम्रो आपत्ति छ, आपत्ति !

श्री महन्थ ठाकुर : यसमा हाम्रो पनि आपत्ति छ, आपत्ति !

श्री योगेश भट्टराई : नियमापत्ति, नियमापत्ति !!

श्री रामबहादुर थापा 'बादल' : सरकारलाई 'अवैध सन्तान' भन्न पाइँदैन ।

मानीय सदस्यहरु : पाइँदैन, पाइँदैन । नियमापत्ति, नियमापत्ति !

सभामुख : माननीय सदस्यहरु ! कृपया शान्त रहनुस् । मलाई पनि प्लिज बोल्ने मौका दिनुस् ।

मर्यादा पालकहरु : तपाईंहरु यसरी एउटा फिल्मको निहुँमा एकापसमा मारमुङ्ग्री, बाझाबाझ नगर्नुस् । सदनमा गरिमा राख्नुस् । माइक, कुर्सी तोडफोड नगर्नुस् । हामी मर्यादापालकहरु तपाईंहरुसित दुई हात जोडी बिन्ती गर्छौं, कृपया मर्यादा कायम गर्नुस् !

प्रकाशित : आश्विन २०, २०७७ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?