दिल्लीमा दुःखीराम
काठमाडौँ — सन् २०१४ को अगस्तमा म नयाँ दिल्लीमा थिएँ । त्यहाँ मेरो बसाइ धेरैजसो पहाडगञ्जतिर हुन्छ । पहाडगञ्ज रेल वे स्टेशनदेखि नजिकै छ । हिँडेरै पुगिन्छ । होटेलहरू अलि सस्ता छन् । मेट्रो स्टेशन पनि नजिकै । मेट्रोबाट कम समय र लागतमा धेरै ठाउँ पुग्न सकिन्छ । त्यताका होटेलमा नेपालीहरू भेटिन्छन् । फुर्सतमा संक्षिप्त संवाद गरिहाल्छु ।
‘शिवा’मा बसेको थिएँ । डिटेक्टरवाला गेट भएर भित्र पस्नु पर्दथ्यो । पस्ने बित्तिकै बरण्डाजस्तो विशाल वेटिङ रुम थियो । ठाउँ ठाउँमा सिसाका चम्किला टेबुलसँगै सोफाहरू । गेटको नजिकै नानाथरिका माछाहरू खेलिरहेको एक्युरियम । कुनातिर रिसेप्सन जहाँ औपचारिक पोशाकवाला कर्मचारीहरू देखिन्थे । भित्तामा विभन्न देशको समय बताउने घडीहरू ।
पाहुनाको पहिलो भेट गेटमा उभिइबस्ने सुरक्षाकर्मीसँग हुन्थ्यो । ३०–३२ वर्षका गहुँगोरो वर्णका ती भाइ होटेलभित्र पस्ने र निस्कने पाहुनालाई आदरपूर्वक सलाम ठोक्थे । कतिले हातमा रुपैयाँ राखिदिन्थे । कतिले उपेक्षा गरिदिन्थे ।
रुपैयाँ पाउँदा अनुहार उज्यालिन्थ्यो । उपेक्षामा खिस्रिक्क पर्थ्यो ।
थाहा पाएँ–ती सुरक्षाकर्मी भाइ नेपाली रहेछन् । भोलिपल्ट निस्किँदा उनी गेटमा उभिएका थिए ।
उनको सलामको प्रत्युत्तरमा मैले भनेँ– ‘नमस्कार ! जय नेपाल भाइ !’
उनी एकैछिन अक्कमक्क परे । संकोच मानेजस्तो गरी भने–‘जय नेपाल, हउर !’
‘अनि भाइ ! नेपाली भएर पनि किन नबोलेको हिँजोअस्ति ?’ मैले भनेँ ।
‘क्यार्नु हउर ! तँपैं पनि नेपाली भनिर त चिन्यो हुँम । फोक्कैमा बोली हाल्नु भैन । अरास्से’ओ मनले नेपाली भनिर बोलो, उल्टै रिसाउँचन् ! हामीअस्तो दरबानी अर्नेसङ बोल्दा इजेत जानी खत्रा हुन्च हउर !’
एकै सासमा बोलेर भित्र छिरेका एक जोडी पाहुनालाई सलाम ठोके । अनि मतिर हेरे ।
‘ए त्यसो पो ! अनि, नाम के ? घर कता ?’मैले सोँधे ।
‘मेरो नाम दुःखीराम । बुकेरामको छोरा हउर । घर कितेनी, बागलुङ,’ उनले भने ।
‘ए, हामी त एकैतिरका पो परिएछ । खुसी लाग्यो । म नि उतैको हो नि । ल भाइ, कुरा गर्ने है फुर्सतमा, अहिले जान्छु,’ मैले भनेँ ।
उनको व्यस्तता बढ्ने वाला थियो । बाधा दिन चाहन्नथेँ ।
पैदलै आरक्षण रोडमा निस्केर दायाँ मोडिएँ । रिक्सा, अटोरिक्सा र ठेलागाडाहरू दौडिइरहेका थिए । सडक किनारका पुरी तरकारी, समोसा, खाजा बेच्ने ठेलाहरूमा भीडभाड थियो । अलिकति हिँडेपछि पहाडगञ्ज रोडको आकाशे पुलको दायाँबाट उठाइएको इँट्टाको सिँढी चढ्दै सडकमा निस्किएँ र अगाडि बढेँ । मेट्रो स्टेशन मेरो लक्ष्य थियो । त्यहाँबाट नोयडा ।
साँझ फर्किदा अबेला भइसकेको थियो । गेटमा दुःखीराम थिएनन् । अर्को एउटा केटो थियो । भोलिपल्ट बिहान पनि उनी थिएनन् । साँझ फर्किदा थिए । आफ्नै मुद्रामा ।
‘जय नेपाल दुःखीराम भाइ, हिजोअस्ति देखिनु भएन त ?’ उनको नमस्तेको जवाफमा सोधें।
‘छुट्टीमा थिएँ हउर ! ढाँड दुख्ने बेथाले जातिबित्ती हैरान खेलाउँच । हस्पताल गाको थिएँ । लइनमा उब्बिदै आरा दिन त फोक्कैमा ग’ओ ।’ उनले आफू हिजो नहुनुको बिस्तार लाए ।
निस्किदा र पस्दा यस्तै हल्काफुल्का कुरा हुन्थ्यो उनीसँग । एकदिन मैले नेपाल फर्किदैँछु भनेँ ।
उनले सोधे–‘कैले जाँदै हुनुन्च दाइ घरतिर ?’
‘भोलि साँझको टिकट छ,’ मैले भनेँ–‘अनि भाइ ज्ञ रातभरि पनि ड्युटीमा नै हो ?’
‘११–१२ बजिहाल्च । यसो सुते’स्तो अर्नी हो । ब्यानै ५ बजे उठिसक्नु पर्च,’ उनले भने ।
‘ल, ल ! भेटम्ला है भाइ !’ मैले भनें ।
रेष्टुरेण्टबाट झर्दा साढे दस बजिसकेको थियो । लिफ्टमा छिरेपछि सिधै ग्राउण्ड फ्लोरको बटन थिचेँ । केहीबेरपछि म दुःखीरामसँगै थिएँ । उनी गेटको भित्रपट्टि फलामे स्टूलमा बसेका थिए । म उनी नजिकैको सोफामा बसेँ ।
सोधें– 'खानापिना भयो भाइ ?'
'हाम्ले त चाँरै खान्चम् दाइ । फिरि भोक लाउने बेला भै’सको । तपैँले खानुभो ?' हल्का मुस्कुराए ।
'खाएँ भाइ । अनि, कहिले फर्किने हो घर ? दशैँमा नजाने ?'
उनको अनुहार अँध्यारो भयो । भने– 'तीन वर्ख भइसको यता आ’को नि । जान मन लाए नि के लिइर जाने हो ! फर्किदा बाटो खर्चका लागि फिरि रिनै काड्नु पर्च । हाम्लाई त नगएकै ठीक हुन्च दाइ !’
उदासी पोतिन थालेको देखें उनको अनुहारमा । घर जान नसक्ने कति होलान् दिल्लीमा ?
सोधें– 'कमाइ नै नहुने यस्तो काममा के झुण्डिराखेको त ?'
'विसेक त छ नि दाइ ! जसोतसो घर खर्च चल्यो’छ । केटाटीको फिस तिर्न पुग्यो’छ । के अर्नी ! उता देशाँ इत्ति काम नि काँ पाई ! नझुन्नी सुक्खै छैन दाइ हामी जस्तालाई,' उनले भने ।
सडकमा गाडी र रिक्सा पातलिइसकेका थिए । कोलाहल लगभग शान्त भइसकेको थियो । पल्लो कुनाको रिसेप्सनमा बसेको युवक उँघ्न थालेको थियो ।
'अनि भाइ दिल्लीमा कसरी त ?' सोधेँ ।
दुःखीरामले नाडीको घडी हेरे । मेरो अनुहार हेरे ।
भने– 'समय पानीओ धारो’अस्तो रैच दाइ । जिन्नकी पानीघट्ट ! घुम्नै पर्नी फन्फनी । रिङ्नै पर्नी भन्भनी । जति घुमे नि घट्ट त जाँको तइँ ।'
उनले बसेको बस्यै कम्मरमा हात राखेर चराको पखेटाजस्तो बनाए । पेट अगाडि बढाएर दुखेको ढाँड सीधा गरे । एक लामो सुस्केरा लिए र भने– 'रामकहानी लामो छ दाइ !'
...
झरीका दिनसँगै दुःखका दिन सुरु हुन्छन् ।
असार लागेपछि घरभित्र पानी पस्न थाल्छ । आँगन भिज्छ । चुल्हो भिज्छ । नानीहरूका झोला र कापी किताब भिज्छ । आमाको मन भिज्छ ।
दुःखीराम वर्षाको झम्झम्सँगै सम्झिन्छ बालक कालका दिनहरू ।
वर्षे बिदामा कुनै वर्ष मामाघर जान्थ्यो । कुनै वर्ष गाउँकै हिलोमाटोमा समय काट्थ्यो । टिमुरे खोलाको किनारमा पौडी खेल्थ्यो । बल्छी थाप्थ्यो ।
पाँच कक्षामा पढ्थ्यो दुःखीराम । वर्षे बिदा नहुँदै उसको पुरानो चप्पल फाटिसकेको थियो । फिता मात्रै दर्जनौंचोटी आगोमा पगालेर जोडेको थियो । पगाल्दा पगाल्दै फिताहरू छोटा भएर चप्पलमा खुट्टै नपस्ने भएका थिए । चप्पल सुक्खा रोटीजस्तै पातलो भइसकेका थिए । उसले त्यो चप्पल मलखातमा फ्याँकिदियो ।
बालाई ‘चप्पल किन्दिनु, चप्पल किन्दिनु’ भनिरहेको थियो ऊ । बा भने ‘पख् पख्’ मात्रै भन्थे । बासँग पैसा थिएन । आमाको अनुहार भने उसका खाली खुट्टा हेरेर मलिन हुन्थ्यो । आमाको खुट्टामा पनि चप्पल त कहाँ थियो र ? अरुको खुट्टामा चप्पल देख्यो भने रोकिएर ऊ तिनका चप्पल हेर्थ्यो ।
स्कूल छुट्टी भयो । असारे रोपाइ सुरु भयो । मुखिया, जिम्मावाल र विष्टहरूका हिलाम्मे खेत । माटोले उठाइएका आली । धानका बिउ र रोपाहारहरू । छरछिमेकमा अर्मपर्म । धान र कोदोको बिउ । भुटेको भात र गहुँका रोटीहरू । मकै भट्ट र आलुको अचार ।
अनि, बा र हल गोरु । बाको शरीरबाट बाली उमार्न खस्ने पसिना र श्रम । ऊ यी सबैसँग जोडिएको थियो । बाको दुःख देखेको थियो । सकेसम्म बाँडेको थियो ।
असारको अन्तिमतिर बा रुम्टा बजार झरे । साँझमा घर फर्किदा उनीसँग एकजोर नयाँ हात्तीछाप चप्पल थियो । त्यो दुःखीरामका लागि थियो । खुसीले उफ्रियो ऊ । सपनामा पनि ऊ त नयाँ चप्पल लगाएर हिँड्यो ।
चप्पल देखाउनु थियो नि । भोलिपल्ट खाना खाएर माने, गोविन र यमेलाई खोज्यो । माने र यमे मानेको घरमा भेटिए । तिनीहरू बल्छी तयार गरिरहेका थिए । माछा मार्न जाने सल्लाह भएको रहेछ । एकैछिनमा गोविन पनि आइपुग्यो । सबैले दुःखीरामको नयाँ चप्पल देखे । माने र यमेको अनुहार उज्यालो भयो । गोविनको अनुहार अँध्यारो । बिचरा गोविनको पनि खुट्टा त खाली नै थियो नि !
दुःखीराम पनि माछा मार्न जाने भयो । माने र यमे निगालोमा रसी बाँध्न थाले । गोविन र दुःखीरामले आँगनको ढुङ्गा पल्टाउँदै कुटोले खन्दै गड्यौला खोजेर बिजुली खैनीको बट्टामा राख्न थाले ।
एकैछिनपछि आँगनमा तेजे देखियो । ‘माछा मार्न मुन्टिन थाल्यौ केटा हो ?’ भन्दै बान्डामाथि बस्यो । ऊ २० –२२ वर्षको लक्का जवान थियो । लाहुरबाट फर्केर अर्को साल ‘ब्या गर्नी हुँम्’ भन्थ्यो ।
उसले फिलिमको कथा सुनाउँथ्यो । तिनलाई फिलिमको बारेमा थाहा थिएन तर हिरो हिरोनीका नाम कण्ठै भइसकेको थियो । अमरिश पुरीलाई त ऊ धेरै ‘डरलाग्दो गुण्डा’ भन्थ्यो । तीन वर्ष अघि भागेर दिल्ली गएको थियो । दुई महिना अघि फर्केको थियो ।
तेजेले सूर्तिको पाकेट निकाल्यो । देब्रे हत्केलामा सूर्ति र चुना राख्यो । घरि दाहिने हातको बूढी औंलाले घरि चोर औंलाले धेरै बेर सूर्ति माडेपछि हाहिने हत्केलाले ‘प्याट प्याट’ ‘प्याट प्याट’ पार्यो । मुख ‘आँ’ गरेर देब्रे हत्केलामा माडिएको सूर्तिको फ्वाँक हाल्यो । जिब्रोले सूर्तिलाई धकेल्दै दाहिने ओँठको कुनामा पुर्याएर च्याप्यो । ऊ यसलाई ‘गब्बर’ स्टाइल भन्थ्यो । केटाहरूलाई उसले ‘गब्बर’को बारेमा बताइसकेको थियो–सप्पैभन्दा खत्रा गुण्डा ।
तेजेले भुँइमा पिच्च थुक्यो । यताउता हेर्यो ।
र, बल्छीका ताङ्ला बोकेर खोलातिर हिँड्न तयार टोलीतिर हेर्दै भन्यो–'केटा हो, म भोलि ब्यानै हिन्चु । तिमीहरूमा, अगर कोइ दिल्ली जान चाहन्चौ भनेसि मसँग हिँड्ओ । दिल्लीमा याँ’स्तो हैन । मस्ती छ । काम अर । पैसा कमाऊ । फिलिम हेर ।'
केटाहरू अक्कमक्क परे । यस्तो कुरा ऊ पहिले पनि गर्थ्यो । फिलिम कस्तो हुँदो हो भन्ने खुल्दुली तिनी सबैमा थियो । तर ती दिल्ली जाने कल्पना गर्न सक्तैनथे ।
'दाइ, जान त हुन्तो । के अरी जाने हो दिल्ली ? बाटो खर्च नि चाइएला । बहुत टाढा छ दिल्ली भन्नोन्च । त्याँमाथि बाआमाले जान दिन्नन् । थाहा पाए भनेसि त मार्चन् !' मानेले भन्यो । ऊ केटाहरूमा सबैभन्दा ठूलो थियो । सातमा पढ्थ्यो । टोलीको नेता थियो ।
'अगर जान चाहन्चौ भने खर्चको पीर नअर । म हाल्दिम्ला । कमाएर मलाई लौटाइदिनु । बाआमालाई किन भन्न परो ? भागेरै जाने त हो दिल्ली ! म पनि त भागेरै गएको थिएँ आमाको ढुङ्ग्री चोरेर । जाने भए साँझसम्म मेराँ आउनु । भोलि त ब्यानै हिन्ने हो,' तेजेले भन्यो ।
र, ऊ उकालो लाग्यो ।
केटाहरू ओरालो । तिनलाई खोलामा बल्छी हाल्ने हतार थियो ।
तिनले बिजुली खैनीको बट्टा खोलेर ‘चारा’ निकालेर बल्छीमा उने । किनारमा बसेर बल्छीलाई पानीमा हालेर तरन्जा हेर्न थाले । ‘गड्यौला’ भन्नु हुँदैन रे । माछाले सुन्यो भने खाँदैन रे । त्यसैले बल्छीमा उन्ने ‘गड्यौला’लाई तिनीहरू ‘चारा’ भन्थे ।
धेरै समयसम्म माछा परेन । बाठो माछाले थाहै नहुने गरी ‘चारा’ खाइदिन्थ्यो । बल्छी निकाल्दा ‘चारा’ गायब ! फेरि ‘चारा’ उनेर बल्छी थाप्थे । ठाउँ फर्दै फेर्दै तल तल झर्दै जान्थे । तर पनि कसैको बल्छीमा माछा परेको थिएन ।
मानेको बल्छीलाई माछाले खाएछ । तान्यो । असला माछा बत्तिदै बाहिर आयो । माने खुसी भयो । अरु निरास ! एकैछिनपछि गोविनले पनि असला थुत्यो । मानेले बुदुना । फेरि मानेले नै फकेटा । गोविनले फेरि असला । यमेले पनि पानीभोटी थुतेर खाता खोल्यो । यमेले फेरि बुदुना । त्यसपछि मानेले । यमेले । फेरि मानेले । अनि गोविनले ।
दुःखीरामको भने खातै खुलेन । धेरैचोटि बल्छीको ‘चारा’ गायब भयो । माछा परेन । अरुले आठदस वटा माछा थुतिसक्दा पनि उसको बल्छीमा एउटै परेन । उसलाई रिस उठ्यो । अचानक तरन्जा हल्लियो । फिर्रफिर्र गर्यो । र, सुतुतु गर्दै पानीमा डुब्न थाल्यो । खायो, माछाले खायो ।
दुःखीरामले बल्छी थुत्यो । ठूलै असला माछा बत्तिदै बाहिर आयो । सबैले थुतेको भन्दा ठूलो थियो त्यो । ऊ जोशमा आयो । फेरि ‘चारा’ राखेर बल्छी थाप्यो । एकै छिनमा फेरि तरन्जा हल्लियो । फिर्रफिर्र गर्यो । र, सुतुतु गर्दै पानीमा डुब्न थाल्यो । खायो, माछाले खायो ।
बल्छी थुत्यो । तर आएन बल्छी ! बल्छी कतै कापमा अल्झियो भन्ने लाग्यो । बिस्तारै तान्यो । आएन । अलिअलि झट्का दिँदैँ तान्यो । आएन । हैरान भएर ऊ खोलाको किनारमा झर्यो । घुँडाघुँडासम्मको पानीमा टेक्यो । बल्छीको धागोलाई दुबै हातले पछ्याउँदै पानीभित्र बल्छी खोज्न थाल्यो ।
सायद बल्छी भेटिनै लागेको थियो, ऊ चिप्लियो । दाहिने खुट्टा लेउ लागेको ढुङ्गामाथि टेकिँदा चिप्लिएको थियो ऊ । चिप्लिएको मात्र थिएन ऊ त च्याङ्ग्रयाङै लोटेर लगभग पूरै डुबेको थियो । सबै लुगा भिज्यो । बल्लतल्ल उठ्यो । केटाहरू गलल्ल हाँसे । दाहिने खुट्टामा केही अप्ठ्यारो महशुस गर्यो । ऐंठनबाट ब्युँझे झैं झल्यास्स भएर तलतिर हेर्यो ।
देख्यो – दाहिने चप्पल त बग्दै बग्दै टाढा गइरहेको छ । त्यसलाई समात्नु बल्छीबाट खोलामै फुत्केको माछा समात्नुभन्दा धौ थियो । तैपनि दुईचार पाइला ‘छप्ल्याङ छप्ल्याङ’ गर्दै दौडिने कोसिस गर्यो । देब्रे चप्पल पनि फुस्कियो खुट्टाबाट । हेर्दाहेर्दै दुबै चप्पल टाढा हुँदै गए । गायब भएको ‘चारा’लाई फर्काउन नसकिएजस्तै अब चप्पल फर्काउन सकिँदैनथ्यो । उसको आङ सिरिङ भयो । अनुहार कालोनिलो । आँखा पिलपिल भयो । आँसु चुहियो ।
गल्ती उसकै थियो । जोशमा चप्पल नखोलिकनै खोलामा पस्ने गल्ती गरेको थियो उसले । चप्पल ‘खोलाले बगायो’ भन्दा बाले के अर्लान् ? आमाले के भन्लिन् ? ऊ धेरै दुःखी भयो ।
अघि हाँसे पनि उसको ‘नयाँ चप्पल’ बगेपछि केटाहरू पनि दुःखी भए ।
साँझतिर टोली उकालो चढ्यो । बल्छी नै हराएकोले दुःखीरामले त्यसपछि माछा पार्ने कुरै थिएन । पारेको एक मात्र माछा पनि यमेलाई दियो । गह्रुङ्गो भारीले थिचिए झैँ सबैभन्दा पछाडि हिँडिरहेको थियो ऊ । बिहानसम्म हिँजो मात्रै बाले किन्देको नयाँ चप्पल थियो । फर्किदा रित्तो खुट्टा ! मन कटक्क खायो ।
हिँड्दा हिँड्दै आफैसँग कुरा गरिरहेको थियो ऊ । चप्पल नलिई खाली खुट्टा फर्किनु हुँदैन ! बा रिसाउलान् । आमा दुःखी होलिन् । तर चप्पल किन्न त पैसा चाहियो ! पैसा कहाँ छ ? उसको आँखामा केही झिलिक्क भयो । मन ढक्क भयो ।
पैसा त दिल्लीमा छ !
मनले उत्नीखेरै ‘निर्लय’ गर्यो । तेजे दाइसँग दिल्ली जानी । पैसा कमाउनी । फिलिम हेर्नी । अनि, नयाँ चप्पल लाएर घर फर्किनी ।
डाँडाको चौतारीमा पुग्दा झमक्क साँझ परिसकेको थियो । चौतारीबाट घर पुग्न अझै १५ मिनेट जतिको उकालो थियो । तेजेको घर पुग्न त्यहाँबाट तेर्सै तेर्सो आधा घण्टा जति हिँड्नु पर्थ्यो । चौतारीमा पुगेपछि दुःखीरामले केटाहरूलाई आफू नजिकै बोलायो ।
'बाआमाले सोधेचन् भने, आज केही थाहा भैन भन्नु । भोलि त तेजे दाइसँग दिल्ली गयो भन्दिए हुन्च । बाआमाले पीर अर्चन् । नयाँ चप्पल लिएर चाँडै आउँचु भनेछ भन्दिनू है,' उसले केटाहरूको नजिकै गएर सानो स्वरमा आफ्नो ‘निर्लय’ सुनायो ।
'छटाइस् कि के हो ? फोक्कैमा दिल्ली जान्चु भन्चै यो त !' मानेले अचम्म मान्दै भन्यो । यमे र गोविन उसका कुरा सुनेर मस्याङमुसुङ भए ।
'साँच्चै जान्चस् त ?' गोविनले सोध्यो ।
'जानै परो । चप्पल खोलाले बगायो । अर्को किन्न पैसा चाइयो । पैसा दिल्लीमा छ,' उसले भन्यो, 'म दिल्ली पुगिर चाँडै नयाँ चप्पल लिएर आउँचु, तँहोरलाई पनि ल्याइदिन्चु ।'
केहीबेरको कुराकानी पछि टोलीको बाटो छुट्टियो ।
साथीहरूसँग छुट्टिएको त्यही बाटोले दुःखीरामलाई दिल्ली पुर्यायो ।
तर दिल्ली ! कल्पनाको जस्तो थिएन । भोक र थकानले लखतरान उसलाई ‘राम्रोसङ काम गरेस्, भेट्न आइहाल्चु’ भनेर तेजेले उसलाई एउटा मिठाइ दोकानमा छोडेर हिँड्यो । दोकानेले उसलाई एउटा समोसा र चिया खान दियो । अनि, ‘वर्तन साफ करो’ भनेर जुठेल्नातिर धकेल्यो ।
जुठेल्नामा भाँडाहरूको थुप्रो थियो । हेर्दै चिङ्ङसी लाग्ने जुठा भाँडाहरूको बीचमा छोडेर तेजे गायब भइसकेको थियो । दुःखीराम जुठा भाँडाहरूको संसारमा हरायो ।
बिहानैदेखि दोकानमा बढार कुडार गर्नु । टेबुलकुर्ची सफा गर्नु । आलु प्याज छिल्नु । कलबाट पानी थापेर प्लास्टिकका जगहरूमा भर्नु र टेबुल टेबुलमा लगेर राख्नु । जुठेल्नाको ठूलो ड्रमभरि पानी भर्नु । ग्राहकको टेबलमा नास्ता पुर्याउनु । टेबुलबाट खाली भाँडा उठाएर जुठेल्नामा राख्नु । ग्राहकको सेवा गर्दागर्दै भाँडा माझेर राख्नु । ‘कान्छा’को बोलावटसँगै दोकाने साहुको अगाडि खडा हुनु र उसको ‘यह करो, वह करो !’, ‘यह नही हुआ, यह होना चाहिए !’ जस्ता भाषण सुन्नु । भोकले आन्द्रा बटारिएपछि अडकलेर दिएको खानु । मध्य राततिर मच्छेरसँग लड्दै बेन्चीमाथि सुत्नु ।
त्यसरी बित्थ्यो दिल्लीमा उसको दिन । दिन के भन्नु, दिन र रात !
दिल्लीमा न उसले पैसाको रुख देख्यो । न नयाँ चप्पलको मुख देख्यो !
तीन महिना बिते । तीनैपालि आयो तेजे । दुःखीरामले उसँग ‘घर फर्किन्चु’ भन्थ्यो । ‘मलाई यहाँ बस्न मन छैन, लैजाऊ’ भन्थ्यो । तर तेजेले सुनेन । भन्यो– 'खुरुखुरु काम अर केटा । पैसा कमाएसि पो घर जानी, नआत्तिकन बस् । दुइचार मैनापछि विचार अरम्ला ।'
दशैं आयो । तिहार आयो । आमाबा, भाइबैनी, सङ्गी साथी र आफ्नो गाउँठाउँ सम्झी सम्झी दुःखीरामले कति आँसु बगायो, हरहिसाबै भएन । भत्भती गर्मीमा घमौराग्रस्त भएको शरीरले बिस्तारै चिसो थाहा पायो । चिसो बढ्दै गएर पानी पनि छुन नसकिने गरी जाडो बढ्यो । तर, जुठा भाँडाहरूसँगको संगत छुटेन । ‘फिलिम हेर्न पाइन्च’ भन्थ्यो तेजे । दिल्लीमा दुःखीरामको दुःख नै फिलिम भएको थियो ।
कहिलेकाहीं दोकानमा चिया खान आउने एकजना दारीवाला थिए । उनी आफ्नो घर पर्वततिर हो भन्थे । विश्वविद्यालयमा पढ्छु भन्थे । आफूसँग आएका साथीहरूसँग राजनीति र के-के का कुरा गर्थे । दुःखीरामसँग पनि कुरा गर्न खोज्थे । यति सानो उमेरमा बालश्रम गर्न बाध्य छ हाम्रो भविष्य भन्दै चुकचुक गर्थे । उनले सुरुदेखि दुःखीरामको जिन्नकीको फिलिम हेरेका थिए ।
धेरैपछि फागुनको पहिलो सातातिर उनी आए । मायालु आवाजमा दुःखीरामलाई सोधे, 'घर फर्किन मन लागेको छ तिमीलाई ?'
उसले उत्खेरै भन्यो, 'लाछ दाइ, बेस्सरी लाछ । तर जानी कसरी ? कोसँग जानी ?'
'म जाँदैछु । फलेवाससम्म मसँगै जाने । त्यसपछि कुनै व्यवस्था गरेर घरसम्म पठाइदिम्ला,' उनको स्वर असाध्यै मयालु थियो । सुनेर ऊ दङ्ग पर्यो ।
'पक्का लानुन्च त दाइ ?' उसको अनुहारमा खुसी छचल्किएको थियो ।
'अर्को मंगलबार बिहान तयार भएर बस्नु । रेलमा टिकट नै पाइन्न । सुनौलीसम्मै बसमा जाने हो । म तिमीलाई लिन आउँछु,' उनले भने ।
दुःखीरामलाई आफूसँग ‘भौमान बोलेअस्तो लाओ ।'
साउसँग घर जाने कुरा गर्यो । साउले फेरि आउने शर्तमा छुट्टी दिने भयो । तर पैसा त दिन्न भन्च ! तेजेले मङ्सिरसम्मको तलब लगिसक्यो रे । पुस र माघ महिनाको तलबमा एक महिनाको तलब मात्रै दिने । एक महिनाको तलब फर्केपछि दिम्ला रे !
सोमबार उसले पाँच सय रुपैयाँ पायो । रातभरि खल्तीमा राखेको त्यो रुपैयाँलाई च्यापेरै सुतिरहृयो ऊ । निद्रा आएन उसको आँखामा । आँखामा त आमाबा, भाइबैनी, सङ्गी साथी आएको आइ गरिरहे ।
मङ्गलबार बिहान पर्वते दाइसँग दुःखीरामले दिल्ली छोड्यो ।
...
'पराइ भएन भने दुःख पाइने रैच केटा !' बुकेरामले दुःखीरालाई भने ।
‘पराइ नभाकालाई सप्पैले हेप्चन् ’ उनले सिकेको पाठ थियो त्यो । त्यसैले दिल्लीबाट फर्केको दुःखीरामलाई उनले फेरि स्कूलमा भर्ना गरिदिए ।
तीन वर्ष भइसकेको थियो । तीन वर्ष अघिको बालक दुःखीराम १५ वर्षको किशोर भइसकेको थियो ।
आठमा पढ्थ्यो । स्कूल पुग्न ओराली झरेर हिँड्नुपर्थ्यो टिमुरे खोलाको किनारै किनार । दुई घण्टाको उकाली ओराली । गाउँमा दुःख थियो । अभाव थियो । धामी झाँक्रीले जित्न नसकेको रोग थियो । सन्तान दरसन्तानदेखिको भोक थियो । पीरको पहरामा झुण्डिए जस्तो गाउँ दुःखी थियो ।
किन थियो ? उसको मगजमा प्रश्न उठथ्यो । तर उसँग उत्तर थिएन ।
स्कुल हिँड्दा टिमुरे खोलाको किनारै किनार कहिलेकाँही कम्ब्याट ड्रेसमा, काँधमा राइफल बोकेर लम्किरहेका छापामारहरू भेटिन्थे । सुरुमा तिनीहरूसँग डर लागे पनि कुरा गर्दै जाँदा त्यो डर हरायो । पछि तिनै छापामारहरूले दुःखीरामको मगजमा उठिरहने प्रश्नको जवाफ दिए ।
तिनले दुःख कहाँबाट आइरहेछ भन्ने बताए । दुःख मुक्तिको बाटो के हो भन्ने बताए ।
आमाबाले ‘त्यसो नअर’ भनेर सम्झाए । तर उसले ‘बुर्जुवा शिक्षा’ले बोकाएको झोला टिमुरे खोलामै फ्याँक्यो । कमरेडहरूले भनेझैं उसको किशोर मनमा दुःखलाई जरैदेखि उखेलेर फ्याँक्ने विचार आयो । ‘वर्ग दुश्मन’लाई युद्धको मैदानमा ङ्याँक्ने विचार आयो । र, एकदिन बाआमालाई रुवाएर उसले घर छोड्यो ।
खोलाले चप्पल बगाएपछि नयाँ चप्पल किन्ने ध्याउन्नामा ख्यालख्यालमै दिल्ली पुगेको दुःखीरामले किशोर अवस्थामै खुट्टामा ‘गोल्डस्टार’ जुत्ता लगायो ।
कमरेडहरूसँग कसिलो गरी हात मिलायो । भाषण सुन्यो । प्रशीक्षण लियो । आँखाभरि दुःखमुक्तिको सपना लिएर चिठी र सुचना बोकी गाउँ-गाउँ पुग्यो । रासन बोक्यो । प्रहरीद्वारा समातियो । ढाडमा बर्सिएका बेतका लौरा र बुटका प्रहार चपायो । त्यही चोटले ऊपछि ढाडको रोगी भयो । प्रहरीले मर्यो भनी फ्याँकिदिए । तर ऊ वौरियो । सायद, ‘वर्ग दुश्मन’लाई पराजित नगरी नमर्ने जिद्दीले उसलाई बचायो ।
त्यसपछि ऊ लाल सेनामा भर्ती भयो । एम्बुस थाप्ने, बन्दुक बनाउने र चलाउने, युद्ध रणनीति तय गर्ने, लडाईका घाइतेको व्यवस्थापन गर्ने आदि तालिम लियो । एम्बुस थाप्यो । बन्दुक बोक्यो । युद्धको अग्रमोर्चामा खटिदा ऊ परिपक्व युवा भइसकेको थियो ।
‘जीत’को अन्तिम संघार टेक्दै गर्दा हेडक्वाटरले युद्धविराम गर्यो । सन्धि गर्यो । दुःखीराम शिविर पस्यो । समायोजनको प्रक्रिया सुरु भयो । तर, समायोजनमा परेन दुःखीराम । दुःखीराम त ‘बुर्जुवा शिक्षा’ बहिस्कार गरेको ‘योद्धा' थियो । डिग्री थिएन । कथित उच्च जातीय पहिचान थिएन ! भएको एउटा शरीर पनि सग्लो र सर्लक्क खोटरहित थिएन ।
दुःखीराम युद्धमोर्चा हुँदै शिविरमा पुग्यो । र, दूधको गिलासबाट झिङ्गा फालिएझैं फालियो ।
गणतन्त्र आयो । कहाँ कहाँ कता कता सम्पन्नता छायो । तर दुःखीरामको गाउँ दुःखी नै रहृयो । दुःखको भूमरीले रिङाउँदै आएको गाउँ गणतन्त्रपछि पनि टिमुरे खोलाको भूमरी जस्तै दुःखको भुमरीमै रिङिरहृयो ।
न प्रधानमन्त्री कृषि परियोजनाले भरथेग गर्यो न त स्वरोजगार कार्यक्रमले नै उसलाई रोजगारी दियो । आमाबालाई अकालमै गुमाएको दुःखीराम लालाबालाहरूलाई पनि असमयमै गुमाइने हो कि भनेर भयग्रस्त भयो । अनि बालककालमा ‘नयाँ चप्पल’ लिन पुगेको दिल्लीमा झर्न ऊ फेरि बाध्य भयो ।
दुःखीराम दोस्रोपालि दिल्ली पुग्यो । पहाडगञ्जतिर आफूजस्तै ‘पहाडिया’ देख्यो ।
दुःखीरामले दिल्लीमा अरु के देख्यो ?
सतर्क भै सलाम ठोकिरहेको ‘पहाडिया’ देख्यो । साहेबहरूको लगेज बोकिरहेको ‘बहादुर’ देख्यो । लाठीको ‘ठक ठक’ आवाजमा ‘जागते रहो !’ ‘जागते रहो !’ को आफ्नै आवाज मिलाउँदै रातभरि मोहल्लाको एक छेउदेखि अर्को छेउ आँखा झिमिक्क नगरी चौकिदारी गर्दै गरेको ‘गोर्खा’ देख्यो । बिहानमा चोटाकोठा र चर्पी चम्काइरहेको ‘कान्छी’ देख्यो । खटेर दिनरात भट्टीजस्तो भान्सामा परिकार पकाइरहेको वा वर्तन माँझिरहेको ‘कान्छा’ देख्यो ।
र, बितेका तीन वर्षदेखि दुःखीराम, दुःखीराम मात्रै रहेन । ऊ त पहाडिया भयो । बहादुर भयो । गोर्खा भयो । कान्छा भयो ।
दिल्ली आएर ऊ अरु दुःखी भयो ।
...
रेल कुदिरहेको थियो । म झ्यालबाट बाहिरको दृश्य हेरिरहेको थिएँ । आँखामा रेलसँगसँगै दगुरिरहेका घर, बस्ती, खेत खलिहान, रुख विरुवाका दृश्यहरूमात्र थिएनन् । दिल्लीमै छोडिआएको दुःखीरामको दुःख पनि ती दृश्यहरूसँग दगुरिरहेका थिए । दुःखले मलाई पछ्याइरहेको थियो ।
आँखा चिम्म गरेर सोँचिबसें ।
दुःखीरामले छोटो समयमै दिल्लीमा देखेको कुरा युगौंदेखि दिल्ली धाइरहेको नेपाल राज्यको सत्ताले किन देखेन ? दिल्लीमा नेपाली सत्ताले किन ‘साउथ ब्लक’ र ‘हैदरावाद हाउस’मात्र देख्छ ? किन देख्दैन दुःखीरामहरूलाई ? किन देख्दैन तिनका दुःखलाई ?
दिल्ली र दुःखीराम त केवल विम्ब हुन् । प्रतीक वा संकेत !
दिल्लीतिर होटेलका चर्पीहरूमा फ्लस हुने साना साना सपनाहरू कस्का हुन् ? होटेलका भान्सामा परिकारसँगै पाक्ने भविष्य कसका हुन् ? कसका हुन् बेसिनमा वर्तनसँगै उफ्रिरहने आक्रोश ? जीविका खोज्दा छातीभित्र थुप्रिएका दुःखका खातहरू कसका हुन् ? सलाम ठोक्दाऽऽ ठोक्दाऽऽ थाकेर आफ्नै पुर्पुरो ठोकिरहेका हातहरू कसका हुन् ?
ती सपना, भविष्य, आक्रोश र हातहरू दुःखीरामहरूका मात्रै होइनन् । ती सप्पै नेपालीका हुन् ! दुःखीरामहरूले भोगेका पीडा र अपमान सप्पै नेपालीका हुन् !
दिल्लीबाट पिछा गरिरहेको दुःखले दुखाइरहन्छ ।
सोच्छु– दुःखको घानमा पिँसिदा पिँसिदा एकदिन दुःखीरामहरूले अवश्य थाहा पाउनेछन् कि रोज्नका लागि अब एउटामात्र विकल्प छ ।
पहाडजस्तो दुःखले थिचिएर ‘जागते रहो !’, ‘जागते रहो !’ को आफ्नै ‘लोरी’मा घोर निद्रामा सुतिरहनु ! वा ब्युँझेर निद्राबाट जीवन खोज्न देश फर्किनु !
उछिट्टिएर पहाडको शिखरबाट दुःखको दलदलसम्म पुगेका दुःखीरामहरूले के गर्लान् ?
प्रकाशित : आश्विन १७, २०७७ १४:३५