कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अश्‍लील सत्ता

घिमिरे युवराज

आम नागरिकहरुलाई नियालेर हेर
तिनीहरुका खुट्टा हेर
र शासकका खुट्टा हेर

आम नागरिकका पेट हेर
र शासकका पेट हेर

अश्‍लील सत्ता

आम नागरिकका अनुहार हेर

र शासकका अनुहार हेर

आम नागरिकका लुगा हेर

र शासकका लुगा हेर


आम नागरिकका भान्सा हेर

र शासकका भान्सा हेर


आम नागरिकका घर हेर

र शासकका घर हेर


आम नागरिक पुग्ने ती सरकारी विद्यालय हेर

सरकारी अस्पताल हेर

र शासक र तिनीहरुका परिवार जाने अस्पताल हेर

शासकका सन्तान जाने विद्यालय हेर


हरेक क्षण विभेद, हिंसा, बलात्कार र हत्याको योजनाबद्ध षड्यन्त्र चलिरहेको छ

यो सबै भयावहका चेपमा बसेर

शासकहरु विलासी जीवन बाँचिरहेछन्

यस्तो लाग्छ हरेक दिन बलात्‍कृत भएकी र हत्या गरिएकी बालिकाको नाममा

शासकहरू क्याबिनेटको मिटिङसँगै उत्सवको आयोजना गर्दैछन्

उपचार नपाएर मरिरहेका सुत्केरीहरू

जन्मन नसकेर मरेका ती कलिला शरीरहरुको नाममा

हेलिकप्टरबाट पुष्पवृष्टि गर्दै भोजको आयोजना गर्दैछन्

यो घिनलाग्दो समयमा मलाई केही रुच्दैन अचेल

हप्तौँ भयो मैले केही नखाएको

म जस्तै हाडमासुले बनेका सारा मानिसहरु

-जो खान पाएका छैनन्

-जो उपचार पाएका छैनन्

-जो शिक्षा पाएका छैनन्

-आङ ढाक्ने कपडा पाएका छैनन्


हेर त !

मजदुरीका लागि हिँडेका कमिलाका ताँती जस्ता मानिसहरूका लाम

हातमा खाली पेट बोकेर भोक मेटाउन उभिएका ती मेहनती शरीरहरू

र म शासकहरु जस्तै अश्लील भएर कसरी एक्लै अघाउन सक्छु ?

कसरी एक्लै रमाउन सक्छु ?

यो बेचैनीमा म कसरी मस्तले निदाउन सक्छु ?

हेर्नु छ अझै रमिता

यी जीर्ण शरीरहरूमाथि शासन गर्न

सत्ता लाज मान्छ कि मान्दैन ?

एउटा प्रश्न सोध्नु छ महँगा र सुकिला सुटबुटधारी शासकहरूको अगाडि निर्वस्त्र उभिएर

अश्लील तिमीहरू कि म ?

-डा. गोविन्द केसीको सत्याग्रहको पक्षमा गत मंगलबार पाटन दरबारस्क्वायरमा मञ्‍चित नाटक 'अश्‍लील सत्ता'मा प्रयोग भएको कविता

प्रकाशित : आश्विन १७, २०७७ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?