अंकमालहरूको सम्झनामा 

म भीडको यादले आक्रान्त छु । म भीडलाई ‘मिस’ गरिरहेको छु । म भीडको हिस्सा हुन तड्पिरहेको छु । मलाई मान्छेका हूल, तिनका कोलाहल, संघर्ष, दुःख र सचेत प्रयत्नहरूको न्यास्रो लागेको छ । म तीबाट छुटेर अधुरो भएको छु । म सबै–सबैलाई एकफेर अंकमाल गर्न चाहन्छु ।
विनोदविक्रम केसी

र, एकाएक अंकमालहरू भूमिगत भए । र, एक–एक गरी कोमल, हार्दिक अनि मिठासपूर्ण अंकमालहरू गायब भए ।कठोर अँगालोहरूमा जकडिएको छु अचेल । भयको अँगालो, अनिश्चयको अँगालो, अविश्वासको अँगालो, बन्धनको अँगालो । अनि, बजारवादी क्रूरताको अँगालो ।  

अंकमालहरूको सम्झनामा 

चैत ११ पछि मेरो निजी संसार खलबलिएको छ । त्यसअघि नै खलबलिन सुरु भएको थियो संसार । संसारले नै तय गरिदिन्छ, निजी संसार ।

अंकमालद्वेषी पर्यावरणमा एक दिन मलाई अम्बर गुरुङको हठात् याद आयो । बहत्तर सालको भुइँचालोमा भत्केको दुनियाँलाई अखबारमा आरोहण गराउन (मूलतः त्यो मेरो जागिर थियो) केही साथीसँग रसुवा पुगेको थिएँ । ठूलो गाउँका अम्बरले चौबीस जना आफन्त गुमाएका थिए । त्यो गाउँका अठहत्तर जना कम्पन–पर्वको सिकार भएका थिए । गाउँका बारीहरू समाधिस्थल बनेका थिए । बारीको एउटै पाटोको एक छेउमा मान्छे र अर्को छेउमा चौपाया गाडिएका थिए । प्रौढावस्थाका अम्बर आलो शोकलाई ह्याकुलाले मिचेर गाउँलाई विपद्बाट तंग्रिन सघाइरहेका थिए । दिउँसो त यताउता भुल्दा रहेछन् तर रात परेपछि दिवंगतमध्ये जवान छोरी र सानी नातिनी स्मृतिमा प्रवेश गर्दा रहेछन् र त्यसपछि बलिष्ठ प्रतीत हुने अम्बर भोगटेको बोटमुनि घोप्टो परेर रुँदा रहेछन् । हामी उनको घर (अलकत्राका ड्रमका चारपाटे टिना–निर्मित टहरो) पुगेको साँझ उनी आफूलाई कमजोर नदेखाउन कोसिसरत थिए । कुन निर्दयी प्रश्न छुटेछ हामीबाट, उनी नजिकै उभिएकी एक बालिकालाई अंकमाल गरेर कुनै बालकजसरी रुन थाले । बालिका पनि उनलाई छातीमा लगाएर रुन थाली ।

म त्यो अंकमाल सम्झिरहेको छु । हरेक मान्छेले अर्को मान्छेलाई भाइरस भिरेको आतंककारी देख्ने समयमा त्यो बच्ची र अम्बरको अंकमाल ! कति दिव्य थियो !

छोराको अंकमाल पनि गायब छ अचेल । उसका चुम्बन र स्पर्श पनि गायब छन् । साँझ बाउ घर फर्किंदा उहिले उसले देखाउने उल्लास अहिले भूमिगत छ । व्यक्तिले आफ्नो दुनियाँलाई जम्माजम्मी चार भित्तामा सीमित गर्नुपर्ने सरकारी उर्दी उल्लंघन गरेर (कहिलेकाहीँ उल्लंघनभन्दा अर्को अत्यावश्यक काम हुँदैन) काँठबाट काठमाडौँ आइपुग्थेँ । आइपुग्छु । साँझपख दैलोभित्र छिर्नेबित्तिकै छोरा आदेश दिन्छ– स्यानिटाइजर दल्नू । दिउसभरि स्यानिटाइजर दल्दादल्दा मदहोस भएका हातमा फेरि त्यो ‘पुच–पुच प्रशाधन’ दल्छु । यो एकथरी विज्ञानलाई मानिरहेको छु । अर्कोथरी विज्ञान पनि छ, जसले भन्छ– स्यानिटाइजर धेरै दल्यो भने छालाको क्यान्सर हुन्छ । मेरो छोरो ‘साइन्स’ को हिज्जेमा सधैँ झुक्किन्छ । एस, सीपछि कहिले आई, ई लेख्दिन्छ, कहिले ई, आई ठोक्दिन्छ । म पनि विज्ञानबारे प्रस्ट छैन । कसको विज्ञान ठीक हो ? कसको विज्ञान बेठीक ? मालिकको विज्ञान र मजदुरको विज्ञान एउटै हुन्छ ? विज्ञान कसले चलाउँछ ? विज्ञान कसको हातमा छ ? विज्ञान भनेको प्रविधि र पाटपुर्जा मात्रै हो कि दर्शन पनि हो ? न्युटनको चालसम्बन्धी तेस्रो नियमले उत्पीडित र उत्पीडक दुवैलाई ‘हरेक क्रियाको बराबर तर विपरीत प्रतिक्रिया हुन्छ’ भन्छ, निःसन्देह भन्छ । तर, उत्पीडकले कुरा बंगाइदियो (उत्पीडितको बंगाउने सामर्थ्य हुँदैन भनेर मान्दा) भने विज्ञानको के जोर चल्छ ? दृष्टिकोणहरूको द्वन्द्व जहींतहीं लागू हुन्छ भने विज्ञानमा पनि त हुन्छ ।

छोरोको कलिलो दिमाग र सानो दुनियाँमा अचेल लकडाउनको शासन छ । उसका दैनिक गतिविधिमा स्कुल समावेश नभएसम्म उसका लागि लकडाउन छ । मेरो घरको आँगनसामुन्ने दाइको घरको पार्श्व हिस्सा छ । एउटा झ्यालमाथिको एक बित्ता चौडा र एक अँगालोजति लामो बुट्टामा एक जोडी परेवाको घरबार चलिरहेको थियो । एक वर्षदेखि म तिनको दाम्पत्य नियालिरहेको थिएँ । दुई महिनाअघि मात्र अनायास मैले हेक्का गरें– एउटा परेवा गायब थियो (वा परेवी गायब थिई ) ।

छोराले भन्यो, ‘त्यसलाई पनि लकडाउनले जंगलमै राख्यो होला ।’

‘परेवालाई नि लकडाउन हुन्छ त ?’

‘हुन्छ नि, मान्छेलाई पनि हुन्छ, परेवालाई पनि हुन्छ ।’

‘परेवा त उड्न सक्छ, भाग्न सक्छ ।’

‘अँ... लकडाउन तोड्यो भने त परेवालाई हन्टरले गन हान्छ ।’

हन्टरले गन हान्छ– उसले पूरापूर अभिधामा भनेको थियो ।

शासकले गोली ठोक्छ– मैले पूरापूर लक्षणामा बुझेँ ।

उसका योजनामा लकडाउन घुसेको छ । मामाघर जाने लकडाउन हटेपछि । स्कुल जाने लकडाउन हटेपछि । हुपिल्यान्ड जाने लकडाउन हटेपछि । फनपार्क जाने लकडाउन हटेपछि । पोखरा जाने लकडाउन हटेपछि । लकडाउन (मतलब गतिविहीनता, गतिविधिविहीनता) कहिले हट्छ ? यो अनिश्चयको उत्तर उसका आमाबाउसँग छैन । कसैसँग छैन ।

म भीडको यादले आक्रान्त छु । म भीडलाई ‘मिस’ गरिरहेको छु । म भीडको हिस्सा हुन तड्पिरहेको छु । मलाई मान्छेका हूल, तिनका कोलाहल, संघर्ष, दुःख र सचेत प्रयत्नहरूको न्यास्रो लागेको छ । म तीबाट छुटेर अधुरो भएको छु । म सबै–सबैलाई एकफेर अंकमाल गर्न चाहन्छु ।

तीनकुने र कोटेश्वरतिर ठेलामा ढुंग्री, आलुचप र चनाचटपटे बेच्ने बर्सौटे तीन बच्चाकी आमा ती दिदी कहाँ गइन् होला ? मकै बेच्ने बूढीआमाको हालखबर के होला ? पुरानो लुगा लिन पनि पाइने, दिन पनि पाइने स्टलनिर जुत्ता पालिस र मर्मत गर्ने भारततिरका दाइ उतै त लागे होलान् ! पुराना म्यागजिन अँगालोभरि बोकेर हिँड्ने मोटो चस्मा लगाएका ती भाइलाई अब भेटिने पो हो कि होइन ? यी सबै–सबैको सम्झनामा कहिलेकाहीं एकोहोरिन्छु म ।

तीनकुनेस्थित भोजपुरे खाजाघरका पासाङ दाइको सदावहार मुस्कान र डोल्मा भाउजूको सर्वकालीन उदासी छुटेको छ, मेरो दिनचर्याबाट । त्यहाँको विशेष परिकार– भटमास, भुजा, चिउरा, दालमोठ, अम्लेटका चोक्टा, चना, प्याज र हरियो खुर्सानीका मनग्य टुक्राको मिसमासमा साथीहरू संगीता, सृजना, राजन र सामीप्यसँग हुने चम्चा–बजान पनि छुटेको छ । मलाई अचेल त्यो खानेकुराको तिर्सना लाग्छ । संसारमा सबैभन्दा मिठो चीज तिर्सना हो भन्छन् ।

तिर्सना ! यो शब्दैमा मोहनी छ ।

मलाई जमघटहरूको तिर्सना लागेको छ । गर्भवतीलाई लाग्ने तिर्सनाझैं !

जमघट अर्थात् उज्ज्वल, किरण, विभूति, राजु, संगीत, अकृन, वन्दना, एनडीएस, सुशान्त, एन खगेन्द्र र अरू–अरू सम्मिलित चिया–कफी (कहिलेकसो मदिरा) सहितको हाम्रो मौलिक र भव्य लोकतन्त्र, जहाँ बकवास पनि गर्न पाइन्छ, सानदार बहस पनि गर्न पाइन्छ ।

अनि, ती हाम्रा उटपट्याङ अनुवादहरू ‘मिस’ गरिरहेछु आजकल ! जस्तो कि, ‘साल्ट स्ट्रेट डुइङ’ (नुनको सोझो गर्नु), ‘टक कटिङ’ (कुरा काट्नु), ‘क्रिमिनल स्टोम्याक’ (पापी पेट), ‘फोर्थ अर्ग्यान’ (चौथो अंग) आदि हाम्रा ‘चर्चित’ हास्यास्पद अनूदित आविष्कार हुन् ।

जमघटले उडाइदिएपछि कोक्रोकाल पारै नगरी चिहान बन्ने कविताका ‘थिम’ हरूको पनि मलाई अचाक्ली माया लाग्न थालेको छ । म ‘थिम’ पस्कन्थेँ यसरी– ‘बाँच्नैपर्ने एउटा जिन्दगीबाहेक/ गर्नैपर्ने संसारमा/ त्यस्तो कुनै अनिवार्यता हुँदैन/पढ्नैपर्ने त्यस्तो कुनै किताब हुँदैन/हेर्नैपर्ने त्यस्तो कुनै सिनेमा हुँदैन/सुन्नैपर्ने त्यस्तो कुनै गीत हुँदैन/बोक्नैपर्ने त्यस्तो कुनै विचार हुँदैन... साथी हो, यस्तो थिममा लेख्दा कसो होला ?’

त्यसपछि एक जना थप्थ्यो– ‘पिउनैपर्ने त्यस्तो कुनै रक्सी हुँदैन ।’ अर्की थप्थी, ‘लाउनैपर्ने त्यस्तो कुनै जिन्स हुँदैन ।’ तेस्रो थप्थ्यो, ‘चढ्नैपर्ने त्यस्तो कुनै हवाइजहाज हुँदैन ।’ अनि अर्को थप्थ्यो, ‘आउनैपर्ने त्यस्तो कुनै रेल हुँदैन ।’ उस्तै परे, हप्ता–दुई हप्ता ‘त्यस्तो कुनै’ शृंखला चल्थ्यो (यद्यपि, चल्नैपर्ने त्यस्तो कुनै शृंखला हुँदैन) ।

शृंखलामाथि शृंखला चलिरहेको छ, दुःखको । अर्बौं मान्छेका दुःखको शृंखला ।

अर्बौं मान्छेझैं म पनि बेरोजगार भएको छु । नयाँ जागिरको खोजीमा छु । मेरा एक ‘सेट’ साथीहरू अवकाश जीवनबारे सोचिरहेका छन् (ती ऋषिकेश र हरिद्वार पनि सोचिरहेका छन्) । कतिले पेन्सन पकाइसकेका छन् । म भने ‘न्यु रिक्य्रुट’ हुन लालायित छु । मलाई थाहा छ– जीवनको विध्वस्तीकरणमा जागिर कति जिम्मेवार हुन्छ ? अनि, एक दिन अनायास तपाईंको जागिर जान्छ । तपाईं पुनः सडकमा आइपुग्नुहुन्छ

(जागिरअघि सडकमै हुनुहुन्थ्यो) । तपाईं चुरोटको अम्मली हो भने यो दुःखद कुरा हो । जागिर गएको दिन सडकमा हिंडिरहनुभएको छ, तलतलले नृशंस हमला गरिरहेको छ, तर तपाईंसँग चुरोट खाने पैसा छैन भने त्यो दोब्बर दुःखद कुरा हो । किनभने, यस पलको निरीहताबोधले जन्माउने पृथ्वी नै भत्काइदिन मन लाग्ने तपाईंको क्रोध व्यर्थ खेर जान्छ । तपाईंको क्रोधले क्रान्ति हुन सक्थ्यो भन्ने कुरा होइन । तर, यसले केही न केही सिर्जनामा तपाईंलाई डोर्‍याउन सक्थ्यो ।

अफसोस, यस क्रोधले डोर्‍याएर केही युवालाई रत्नपार्कस्थित बसपार्कको भोजनाकांक्षीको लाममा पुर्‍याइदिएको थियो । युवा, भर्भराउँदा युवालाई, जीवनको अभीष्ट नै भोजन होजसरी पलेटी कसाएर बसालिन्थ्यो । ती सबै निकृष्टतम सत्ताबाट शासित श्रीहीन नागरिक हुन बाध्य थिए ।

जब अस्ट्रेलिया र अमेरिकामा ट्वाइलेट पेपरका लागि लामा–लामा मानवपंक्ति सुपरमार्केटको ढोकाबाहिर उभिँदै थिए, जब यस शौचकागजका लागि सामान्यजन लडाइँ गरिरहेका थिए, अनि ठीक त्यतिखेर विश्वका ‘अश्लील धनाढ्य’ (फिल्थी रिच) हरू सुविधासम्पन्न बंकरमा लुक्न गइरहेका थिए । धेरै कुरा त्यतिबेलै प्रकट भइसकेका थिए, प्रस्ट भइसकेका थिए ।

टेलिभिजनमा सत्ताका ताबेदारहरू उपस्थित हुन्छन् र मान्छेले मान्छेप्रति गर्ने र गर्नुपर्ने भरोसा प्रतिपल भत्काइदिन्छन् ।

म कमजोर भएको छु । दुःखी छु । भयग्रस्त छु । अवसादमा छु । मलाई एउटा कसिलो अंकमाल चाहिएको छ । एलोप्याथीले दिए पनि हुन्छ, होमियोप्याथीले दिए पनि हुन्छ । दुश्मनले दिए पनि हुन्छ, मित्रले दिए पनि हुन्छ । एक अंकमाल, बस् एक अंकमाल !

के म अंकमालको लायक छैन ?

प्रकाशित : आश्विन १६, २०७७ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?