कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मासग्रेभ

राजव

काठमाडौँ — हामी एकसाथ सत्र जना मरेका थियौं । सत्रै जना आइसियुमा थियौं । सबैको नाक, मुख, घाँटीमा भेन्टिलेटरबाट निस्किएको स्वास नली र पाइपहरू जोडिएको थियो । दस दिन हामी आइसियुमा संघर्षरत रहृयौं । र, हिजो एघारौं दिनमा हाम्रो संघर्ष सफल भयो । अन्ततः डाक्टरहरूले आफ्नो विफलता घोषणा गरे । हाम्रो सकस समाप्त भयो । हामीले मृत्युको गति प्राप्त गर्‍यौं । 

मासग्रेभ

हाम्रो नाक, मुखमा जोडिएका ती स्वासनली र पाइपहरू थुतियो । हामी 'डेड बडी' भयौं। यसपछि मेरो होस खुलेको थियो । अनि मलाई यो युनिटको गतिविधि थाहा हुन थाल्यो । हामी मृत घोषित भएपछि सिरदेखि पाउसम्म पूरै प्रोटेक्टिभ गिएर (सुरक्षात्मक वस्त्र) लगाएका डेड बढी ओसार्ने अस्पतालका कामदारहरू भित्र पसे । उनीहरू भित्र पसेपछि हाम्रो मृत्युको खबर बाहिर निस्क्यो । बाहिर स्टेचरमा आफ्नो पालो पर्खिरहेका कोरोना अशक्त बिरामीहरू खुसी भए । ती भयङ्कर खोक्दै घ्यार्र घ्यार्र गर्दै थिए । दस दिन अगाडिको हाम्रो हाल पनि यस्तै थियो । उनीहरूलाई झैँ हामीलाई पनि बाहिर पालोमा राखिएको थियो ।

भित्र डेड बढी ओसार्नेहरू पसेपछि त्यस बेला हामी पनि खुसी भएका थियौं । किनभने हामीभित्र भेन्टिलेटरमा सास फेर्न पाउने भएका थियौं । मरेका हामीहरुलाई बाहिर निकाल्दा बाहिर प्रतीक्षामा रहेका उनीहरूको स्टेचर भित्र ल्याइँदै थियो । हामी सत्र जना लगभग दूई चार मिनेटको अन्तरमा मरेका थियौं । आइसीयुबाट निकाल्दै क्रमशः हामीलाई डेड बढीको लागि बनाइएको वातानुकूलित चिस्यान गोदाममा लगियो । कोभिड १९ भाइरसबाट पराजित हुनेहरूलाई राख्ने यो अस्थायी रुपको विशाल गोदाम (हल) बनाइएको रहेछ । यसभित्र लगेपछि हामी सातै जनालाई गोदाम हलमा बाँकी रहेको खाली ठाउँ हेरेर लहरै लडाइयो । यस हलमा कोभिडले मरेका अरु पचासौं लासहरू पसारिएका थिए । गणनामा ती सैयौंको संख्यामा हुनसक्थे । तीमध्ये नजिकका केहीले हामीलाई एकसाथ भने,

‘वेलकम होम ।’

प्रतिक्रियामा हामी सत्रै जना करायौं,

‘थ्याक्यु अल ।’

मसँगैको लासले आफ्नो बन्धनलाई खुकुलो पार्दै मतिर औंलो ल्याएर मेरो कम्मर कोट्यायो । मलाई निकै झोंक चल्यो । मेरो मुखबाट चेतावनीको छोटो वाक्य निस्क्यो,

‘हे ।’

त्यस लासले विनम्रतासाथ भन्यो,

‘सरी ।’

‘इट्स ओके ।’ मैले भनें ।

त्यसले फेरि पूर्ववत् मेरो कम्मर कोट्यायो ।

फेरि झोक्किँदै मैले सोधें,

‘किन ?’

आतुरी परे झैं त्यसले सोध्यो,

‘हामी कहाँ छौं ?’

मैले भनें,

‘लास गोदाममा ।’

‘हो मलाई पनि यस्तै लागेको थियो, वास्तवमा म कन्फर्म्ड हुन चाहन्थें ।’

‘किन ?’

‘मरेपछि पनि मानिसलाई आफ्नो जमिनको बारेमा थाहा हुन जरुरी छ ।’

मैले पनि उसलाई आफ्नो दर्शन दिएँ,

‘हो नि, मानिसले आफ्नो जमिन नबिर्सोस् भनेर उसको लासलाई जमिनमा गाडिन्छ ।’

‘यु आर राइट माइ फेलो डेड म्यान ।’

‘थ्यांक्यु ।’

धेरै धेरै स्वागत छ भन्दै ऊ सोध्छ,

‘अब हामीलाई कहिले गाडिन्छ होला?’

‘थाहा छैन, किन ?’

‘यो चिस्यानमा मलाई धेरै बस्न मन छैन ।’

‘मलाई पनि ।’

‘के नाम ?’

‘कसको ?’

‘तिम्रो ।’

मैले एकसाथ भनें र सोधें

‘टोनी मिलर, एण्ड यु ?’

उसले भन्यो,

‘म ज्याक स्मिथ ।’

‘नाइस टु टक यु ।’

ज्याकले पनि मलाई भन्यो,

‘नाइस टु टक यु ।’

रिस्पोन्समा मैले भनें,

‘थ्यांक्यु ।’

यसपछि हामी बोलेनौं । पूरै हलभरि मुर्दा मौन छाइरहृयो । यो हाल केही बेरलाई चलिरहृयो । म ज्याकलाई केही कुरा सोध्न खसखसाइरहेको थिएँ । तर, एकाएक लास बोक्ने केही स्टेचरका पांग्राहरूको घ्यार्र घ्यार्र आवाज आउन थाल्यो र रोक्किन पर्‍यो । ज्याकले मलाई भन्यो,

‘नयाँ लासहरू ल्याउँदै छन् जस्तो छ ।’

‘मलाई पनि त्यस्तै लाग्दै छ ।’ मैले भनें ।

नजिकैको हामीभन्दा पुरानो कुनै मुर्दाले भनेको सुनियो,

‘घण्टा घण्टामा ओसारिरहेका छन् ।’

सायद ऊ ज्याक र मेरो संवाद सुनिरहेको थियो । हाम्रो संवादमा ऊ पनि जोडिन चाहन्थ्यो । प्रोटेक्टिभ गिएरले पूरै शरीर र अनुहार छोपेका डेड बढी ओसार्ने अस्पतालका कामदारहरू आ–आफ्ना स्टेचरकासाथ एक–एक गरेर हलभित्र पसे । र, टक्क अडिएर लास बिसाउने खाली ठाउँ कता छ को खोजी मुद्रामा चारैतिर घुर्न थाले । लाग्थ्यो ती मृत्युका दुत होऊन् । यस्ता दुत हुन्छन् हुँदैनन् मलाई थाहा छैन । म त्यस्तो धार्मिक र बाइबल प्रेमी हैन । तथापि मेरो दिमागमा तीबारे त्यस्तो गलत चित्र किन उत्र्यो ? मैले तीसँग क्षमा माग्नुपर्छ । वास्तवमा ती लास ओसार्ने अस्पतालका साधारण कामदार हुन् । कोरोनाको यो महामारीमा तिनको भूमिका डाक्टरको भन्दा कम छैन । डाक्टरले बचाउन नसकेका सयौं मृतलाई यिनले तह लगाइरहेका छन् । ज्याकले पनि मलाई यस्तै सुनायो,

‘यी नभएको भए लास उठाउने काम पनि डाक्टर, नर्सहरूले गर्नुपर्थ्यो ।’

‘हो नि महामारीका यी सहासिक योद्धा हुन्, डाक्टरले झैं यिनले पनि आफ्नो ज्यान जोखिममा राखेका छन् ।’

‘यी पनि डाक्टरहरू जत्तिकै श्रध्देय र महान् छन् ।’

‘यिनको सम्बन्ध मरेकासँग हुन्छ, डाक्टरको जीवनसँग, फरक यत्ति हो, दुवैले भाइरसको सामना गर्नु पर्छ ।’

पल्लो मुर्दा सुकसुकाउन थाल्यो । ज्याकलाई झर्को लागेछ । त्यसलाई झपार्‍यो,

‘मर्ने मरिसकिस् अब केको सुकसुक ?’

विनम्र हुँदै त्यसले भन्यो,

‘म आफ्नो मृत्युमा रोएको हैन, तिमीहरू झैं म पनि कष्टबाट छुट्कारा पाएकोमा खुसी छु ।’

‘अनि ?’

‘दाजु सम्झेर मलाई रुन आएको हो ।’

‘ओ !’

‘मेरो दाइ पनि न्युयोर्कको माउन्ट साइनाइ हस्पिटलमा लास उठाउने यस्तै काम गर्थ्यो ।’

‘गर्थ्यो को मतलब, अब गर्दैन ?’

‘कोभिड लागेर हामी जस्तै मरेकाहरूको लास उठाउँदा उठाउँदा ऊ पनि कोभिडको सिकार भयो ।’

‘ओहो !’

‘यस्तो बेला साहसपूर्वक यस्तो ज्यान जोखिमको काम गर्ने त्यरो दाजु वास्तवमा महान् हो ।’

‘थ्यांक्यु ।’

‘तँ के गर्थिस ब्रदर्स ?’

‘म सीटी बस चलाउँथे ।’

‘ओ !’

‘मलाई पेसेंजरहरूबाटै कोरोना सर्‍यो ।’

‘तैंले पनि अरु पेसेंजरलाई सारिस होला ।’

‘हुन सक्छ, पेसेन्जरहरू खोक्दै चढ्थे, खोक्दै ओर्लन्थे नसर्ने त कुरै भएन ।’

‘जेहोस् तँ पनि जनसेवा गर्दा गर्दै कोरोनाको शिकार भएको रहेछस् ।’

‘यु थिंक सो ?’

‘एब्सुलिट्ली ।’

ड्राइभरले भन्यो,

‘यु मेक मी प्राउड ।’

हामीबीचको यी संवाद सुनेर हाम्रो लाइनको छैटौं मुर्दा पनि जागरुक भयो । त्यसले ड्राइभरलाई सोध्यो,

‘कुन रुटमा बस चलाउँथ्यौ ब्रदर ?’

‘थ्रि टेन हार्डभर्ड–मेडफोर्ड ।’

‘म पनि त्यै रुटको बस चढ्छु । ’

ज्याकले उसलाई हप्कायो,

‘के भनेको त्यो चढ्छु? चढ्छु भन्ने जीवनाधिकार तैंले गुमाइसकिस्, अब चढ्थें भन । ’

‘हो म चढ्थें ।’

ड्राभरले सोध्यो,

‘के काम गर्थिस् ब्रदर्स?

‘सर्टिफाइड नर्सिङ असिस्ट्यान्ट ।’

‘सिएनए ?’ ड्राइभर सोध्छ ।

ऊ भन्छ,

‘यस ।’

‘ओ माइ गड, कहाँ ?’

‘फुलमुन नरसिङ होम, क्याम्ब्रिज ।’

‘तब त तैले त्यहाँका बूढाबूढीलाई पनि सारिस ।’

‘मैले के सार्नु ? तिनलाई तिनकै भिजिटरले सारे, बूढाबूढीबाट मलाई सर्‍यो ।’

ड्राइभर झोक्कियो,

‘अनि तँबाट बसका फेलो पेसेन्जरलाई सर्‍यो, मलाई सर्‍यो ।’

‘डन्ट ब्लेम मी ।’

‘आएम नट ब्लेमिङ यु ।’

‘देन ?’

‘भाइरस कसरी चेन तयार गरेर यात्रा गर्छ भन्न खोजेको हुँ ।’

‘ओके ।’

‘सरी ब्रदर आइ एम नट पिन्चिङ यु ।’

‘नो प्रोब्लेम ।’

‘कोभिड चाइनाको वुहानबाट आएको हो ।’

हाम्रो हारको पाँचौं मुर्दा बोल्यो,

‘यसलाई कम्युनिष्ट भाइरस भन्नु पर्छ ।’

ड्राइभर कड्क्यो,

‘भाइरस क्यापिटलिष्टमात्र हुन्छ, जसरी भाइरसले मानिसको फोक्सो चुस्छ, त्यसरी नै क्यापिटलिष्टले हामी मजदुर डस्छ ।’

ज्याक फेरि कड्क्यो,

‘नो पोलिटिक्स हेर, वि अल आर डेड, वेटिङ फर ग्रेभ ।’

ड्राइभर झन् चर्कियो,

‘तर थाहा छ यो क्यापिटलिष्ट पोलिटिक्सले गर्दा कोरोना भाइरसले मर्नेहरूमा बढी मजदुर छन् ।’

सिएनए ड्राइभरको पक्षमा बोल्यो,

‘हो मर्नेहरू बढी मजदुर नै छन् । मिलिनाएर, बिलिनायरहरू त आ–आफ्ना फार्म हाउस, म्यान्सनमा सुरक्षित बसेका छन् ।’

‘यु आर राइट ब्रदर्स, मर्नेहरू मजस्ता ड्राइभर, कुल्ली, गार्वेज म्यान, ग्रोसरी स्टोरमा काम गर्ने क्लर्कजस्ता मजदुर हजारौं छन् ।’

‘वर्गीय कुरा नगर, भाइरसले कसैलाई छोड्दैन ।’

‘हो, तर बाहिर हामीजस्ता मजदुर, कामदारहरूलाई दलाएर ऐस, आराम र आनन्दमा आ–आफ्ना महल, पेन्टहाउसमा बसेर मृत्युको जात्रा हेरिरहेका बिलिनायर, मिलिनायरहरूको झ्यालको सिसासम्म पनि पुग्न सकेका छैनन् यी चुतिया भाइरस ।’

अघिन छिरेका लास ओसार्ने कामदारहरू आ–आफ्नो खाली स्टेचर खडखड गुडाउँदै हलबाहिर निस्के । गोदाम हलमा लासहरू राख्ने खाली ठाउँ एकदम कम हुँदैछ । डिबेटमा चर्किरहेको ड्राइभरले भन्यो,

‘यसरी लास ओसार्दा ओसार्दा उ त्यसको दाइलाई झैं एक दिन यिनलाई पनि कोरोना लाग्नेछ ।’

‘मैले भनि नै हालें मर्ने त यस्तै निम्न मजदुरीका कामदार नै हुन्, हस्पिटलको सिइओ थोडै मर्छ ।’

ज्याक खसखसाउँदै बोल्यो,

‘हामीले ती मजदुरहरू, कामदारहरूको लागि प्रे गर्नु पर्छ ।’

ड्राइभर कड्क्यो,

‘अब मलाई प्रार्थनासँग विश्वास छैन ।’

‘मेरो मतलब तथाकथित ईश्वरसँग हैन, आफ्नै मनसँग,’ म पनि नास्तिक हुँ भन्न खोज्दै ज्याक बोल्यो ।

ड्राइभरले भन्यो,

‘मरेपछि मानिसलाई ईश्वर छैन भन्ने ज्ञान हुन्छ ।’

‘एक्ज्याट्ली, भएको भए त यहाँ हुन्थ्यो ईश्वर ? हामी मुर्दा, हामी मुर्दालाई नै देखिरहेका छौं, सत्य यै,’ सिएनए बोल्यो ।

‘हृयुम्यानिज्म ग्रेट, गडइजम फेक ।’

ड्राइभरको यो भनाइमा ताली बज्नु पर्ने थियो । तर, मुर्दाहरूका हात उचालिएनन् । मुर्दाहरू बोले मात्र ।

केहीले भने, ‘यस ब्रो, हृयुम्यानिज्म इज ग्रेट, गडइजम फेक ।’

मलाई पनि खसखस लाग्यो । र, भनें,

‘यस ब्रो, गडइजम फेक, कम्युनिज्म ग्रेट ।’

‘नो, नो हि मिन हृयुम्यानिज्म ग्रेट, गडइजम फेक ।’

‘आइ नो,’ मैले भनें ।

फेरि बाहिरबाट स्टेचरको खडखडको कर्कश आवाज आउन थाल्यो ।

ज्याक बोल्यो,

‘अरु लासहरू आउँदै छन् जस्तो छ ।’

‘आउँदै हैन, ल्याउँदै छन् ।’

‘सेम थिंग्स ।’

ड्राइभर जोडले हाँस्यो । किन हाँस्यो थाहा भएन । हाम्रो कुरा सुनेर पनि हुनसक्छ । वा कुनै अर्को मुर्दाको चुटकुला सुनेर हाँसेको पनि हुनसक्छ । ज्याकले फेरि मलाई भन्यो,

‘यु नो टोनी ?’

‘हृवाट ?’

‘आज मेरो जन्मदिन हो ।’

‘हिजो मरिस, आज जन्मिस ।’

‘नट किडिङ ।’

‘आइ नो ।’

हल्का उदासी पोख्दै ज्याकले भन्यो,

‘सतचालिस वर्ष पहिले आजकै दिन जन्मेको थिएँ म ।’

‘मरेको भोलिपल्ट तेरो जन्म दिन पर्‍यो दुःखद कुरा हो मुर्दालाई हृयापी वर्थ डे कसैले भन्दैन ।’

‘मलाई हृयापी वर्थ डे भन्ने घरमा छन् ।’

‘घरकाले पनि भन्दैनन्, सम्झेलान मात्र ।’

बाहिर फेरि स्टेचरहरूको खडखड आवाज चल्दै थियो । एकछिनमा ती सबै स्टेचरहरू भित्र पसे । स्टेचरहरू ठेल्दै आएका ती छ जनै कामदारहरू भित्र पस्नासाथ एकछिन चारैतिर घुर्न थाले । र, एउटा निर्क्यौल पाएर ती सबै स्टेचर धकेल्दै परको कुनातिर बढे । सायद तिनले त्यतै खाली ठाउँ देखे । त्यता पुगेर तिनले स्टेचरका लास फटाफट झारे । त्यसपछि तिनका दृष्टि चारैतिर विस्फारित हुन थाले । तीमध्ये पछिल्लोले भन्यो,

‘नाउ फुल, नो मोर प्लेस ।’

‘अबका लास फ्रिजर ट्याक्टर ट्रेलरमा राख्नु पर्छ ।’ यसो भन्दै उनीहरू बाहिर निस्के ।

तिनको कुरो बुझेर ज्याकले मलाई सुनायो,

‘यसको मतलब हल भरियो ।’

‘आइ थिंक सो ।’ मैले भने ।

चिन्तित हुँदै ज्याकले भन्यो,

‘घरकाले हामीलाई कहिले क्लेम गर्न आउने हुन् ?’

‘ती बाँचेका भए आउलान, नत्र हामी अन्क्लेम्ड हुन्छौं ।’

ज्याकले रुन्चे स्वरमा भन्यो,

‘ओ माइ गड ।’

मैले हप्काएँ,

‘अरे मुर्दार, गड इज फेक, यु आर डेड ।’

यहाँ भएका लासहरू सब पारिवारिक क्लेम पर्खिरहेका छन् । जसको जत्ति छिटो क्लेम हुन्छ त्यो त्यत्ति नै छिटो सिमेट्री जान पाउँछ । ज्याक बोल्यो,

‘होपफुल्ली भोलि मेरो क्लेम हुनेछ ।’

‘तँलाई क्लेम गर्न आउने घरमा त छन् ?’

‘किन ?’

‘ती पनि कोभिडले तँ झैं इन्तु न चिन्तु भएर आइसियुमा धकेलिएका हुन् सक्छन् अथवा घरभित्रै मरिसकेका हुनसक्छन् ।’

यो मैले आफ्नै परिवारको सम्भावित हालतको कल्पना गर्दै उसलाई भनेको हुँ । म जिउँदै हुँदा आफ्नो स्ट्रिटका कतिपय घरहरूको यो दारुण हालत थियो । अखबारहरूमा यस्ता खबर अहिले झन् बढिरहेका होलान् । ती खबरमा मेरो, ज्याकको घरको खबरको पनि रिपोर्टिङ हुनसक्छ । मैले भनेको यो कुरा भइरहेको र हुन सक्ने यथार्थ हो । तर, ज्याकलाई मेरो भनाइ दुर्वाक्य लागेछ कि के हो ऊ बिलकुल रन्थनिए झैं मौन भयो ।

‘ज्याक ?’

ज्याक बोलेन । म एक्लै बरबराउने कुरो भएन । म पनि मौन भएँ । यो मौनमा परको कुनै कुनाको मुर्दा केही बोलिरहे झैं लाग्यो । के भन्दै छ यो ? म सुन्ने कोसिसमा लागें । निकैबेरपछि उसको भनाइ मेरो कानको पकडमा आयो !

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

ऊ एकोहोरो भन्याभन्यै थियो,

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

यो भनाइमा पछुतो छ, ग्लानी छ, व्यंग्य छ र यो सबैको मेलको दर्शन छ । ऊ यो कसलाई सुनाइरहेछ ? आफैंलाई ? सँगैको मुर्दालाई ? हावालाई ? संसारका शासकलाई ? कि लिच्चड डोनाल्ड ट्रम्पलाई ? कि कुनै वैज्ञानिकलाई ? कि बतासलाई ? वा कसलाई ? ऊ थामिएको छैन । भनिनैरहेछ,

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

ऊ नजिकैको कसैलाई झर्को लागेछ । करायो,

‘स्टप ।’

‘स्टप ।’

तर ऊ बेपर्वाह भनिरहेछ,

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

ऊ आफ्नो तालमै भट्याइरहेको थियो । कुन बेला रोक्कियो थाहा भएन ।

म घर सोच्न थालेको थिएँ । स्याम्सन स्ट्रिट स्टकटनमा छ मेरो घर । हाम्रो सन्तानको खातामा दुईटी छोरी छन् । अक्सर शनिबारको दिन हामी बुढाबूढी छोरीहरू लिएर बाहिर कतै घुम्न निस्कन्छौं । साँझ हामी कुनै रेष्टुरेन्टमा डिनर गरेर घर फर्कंछौं । म एक महिना अगाडिको कुरो सम्झदै छु । त्यस साँझ पनि अक्सर हामी जाने गरेको रेष्टुरेन्ट मड आइमा डिनरको लागि पसेका थियौं । यो रेष्टुरेन्ट डाउनटाउनको रिभर स्ट्रिटमा छ। निकै मीठो खाना पस्कनेमा चर्चित र प्रख्यात छ मड आइ । लन्च र डिनरको समयमा यसका टेबुलहरू खचाखच भरिएका हुन्छन् । त्यस साँझ पनि खाली हुने टेबुल भेट्न हामीले पच्चीस मिनेट कुर्नु परेको थियो । हामी दूई घण्टा बिताएर रेष्टुरेन्टबाट निस्केका थियौं । त्यसपछि मेरो लागि त्यस्तो अर्को साँझ आएन । त्यस साँझ मैले दूई मग ड्राट बियर पिएको थिएँ । मेरी श्रीमतीले मार्गरिटा मगाएकी थिई । छोरीहरूले उनीहरूको फेभरेट फ्रेन्च भ्यानिला आइसक्रिमको मजा लिएका थिए । त्यो साँझ नै मेरो अन्तिम सुखद साँझ थियो । त्यस विकिन्पछिको मंगलबारसम्म म आफ्नो काममा गएको थिएँ । बुधबार बिहान मेरो जिउ भयानक काम्न थाल्यो । मलाई ओढ्नेमाथि ओढ्ने खाप्न पर्ने भयो । मेरी बूढीले मेरो ज्वरोको नाप लिई । र, भनी,

‘हनी एक सय तीन डिग्री छ ।’

आत्तिँदै मैले भनें,

‘जिउ पनि भयंकर दुखिरहेछ ।’

तुरुन्तै मेरी श्रीमतीले मेरो प्राइमरी किएर डक्टरलाई फोन लगाई । र, आफ्नो फोन मलाई दिई । फोनमा मेरो कुरा सुन्नासाथ डक्टर रोबर्ट फिल्डम्यानले मलाई भनिहाल्यो,

‘नआत्तिकन अहिले तुरुन्तै आइसोलेसनमा अलग बस, माइट बि कोभिड ।’

डक्टरले बाँकी कुरो मेरी श्रीमतीलाई भन्यो । त्यसपछि श्रीमतीले छोरीहरू आफ्नो भाइको घरमा पुर्‍याई । आफू मेरो कोठाबाट अलग भई । र, तल बेस्मेन्टको कोठामा बसेर डिस्ट्यानसिङमा मेरो मनिटरिङ गर्न थाली । खाने पिउने कुरा ऊ मेरो ढोकामा ल्याएर छोडिदिन्थी । त्यसपछिका हाम्रा कुरा फोनमा हुन्थे । म उसलाई बारबार सोद्धथें,

‘हनी आर यु अल राइट ।’

ऊ भनिरहन्थी,

‘डन्ट वरी अबाउट मी ।’

मेरो कानमा उसको आतंकित स्वर परिरहन्थ्यो । म उसलाई भन्थे,

‘हनी टेक किएर योरसेल्फ ।’

यथार्थ भन्ने हो भने हामी अलग-अलग कोठामा बसेर रुन्थ्यौं । फोनमा स्वर बदल्थ्यौं । मेरो हालत असहृय हुँदो थियो । आइतबारको बिहानसम्ममा म बाथरुम जान नसक्ने भएँ । छातीको दुःखाई निकै बढिरहेको थियो । सास फेर्न निकै गाह्रो भइरहृयो । यो कठिनाइ बढ्दै थियो । सायद म आधामात्र सास फेरिरहेको थिएँ । मेरी श्रीमतीले अत्यासको स्वरमा डाक्टरलाई फोन गरी । एम्बुलेन्स डाकी । ९११ को आस्वासन आयो । तर, एम्बुलेन्स आएन । एम्बुलेन्स कुर्दाकुर्दा दिन बित्यो । रात बित्यो । मेरी श्रीमतीले पटक–पटक एम्बुलेन्सलाई फोन गरी रही । मेरो अनुमानमा ऊ फोनमै झुण्डिरहेकी हुन्थी । ऊ रिस्पोन्समा आस्वासन पाउँथी । तर, मेन रोडमा जोडतोडको साइरन बजाएर कुदिरहेका एम्बुलेन्सहरू हाम्रो घरतिर मोडिदैनथे । वरिपरि एम्बुलेन्सहरू लगातार भ्याइनभ्याइ कुदिरहेका हुन्थे । तिनको आतंकित साइरन हामी सुनिरहेका हुन्थ्यौं । त्यसरी कतै कुदिरहेको एम्बुलेन्सको साइरन सुनीसुनी मेरी श्रीमती मलाई सुनाउँथी, ‘हनी दे आर कमिङ नाउ ।’

उसले यसो भनेपछि कोरोनाले चिथोरिरहेको मेरो छातीमा अलिकता सास भरिन्थ्यो । तर, वास्तविकता उल्टो हुन्थ्यो । त्यसरी साइरन घन्काएर कुदिरहेका एम्बुलेन्समध्ये कुनै पनि मलाई लिन आउँदैनथ्यो । दिनभर, रातभर यस्तै चलिरहृयो । एम्बुलेन्सले हामीलाई पर्खाइरहृयो । मेरी श्रीमतीले लगातार ९११ मा फोन गरि नै रही । एम्बुलेन्सको लागि मेरो पालो आउँदा सोमबारको मध्यान्ह भैसकेको थियो । मलाई घरमै मर्ने भएँ भन्ने भइसकेको थियो । जब त्यो मध्यान्ह मेरो घर अगाडि एम्बुलेन्सको साइरन बज्यो मलाई जीवनको आशा हुन हुन थाल्यो । अझ जब प्यारामेडिकले मलाई एबुलेन्सभित्र हुले अब म बाँच्ने भएँ भन्ने मलाई लागेको थियो । तर, केको बाँच्नु ? दस दिनपछि लासको यो गोदाम घरमा थुप्रिन आउनु पर्‍यो ।

अस्पताल प्रशासनले क्लेम कुरिरहेको अठारौं दिनको मध्यान्ह हामीलाई लडाइएको यो लास गोदामको विशाल सटर अहिले भर्खर खुल्यो । त्यही आकारको एउटा भयानक उज्यालो पनि हृवात्त भित्र पस्यो । त्यससँगै एउटा अजंगको क्याटपिलर स्काभेटर दैंत्य आवाज ओकल्दै भित्र आयो । त्यसको ड्राइभरको सिरदेखि पैतालासम्म प्रोटेक्टिभ वश्त्रले ढाकिएको छ । ड्राइभरले स्काभेटरमा जडान गरेको लाम्चो चौडाइको बकेट भूइँमा ओराल्यो र नजिकका लासहरू हृवात्तै सोरेर उचाल्दै स्काभेटर बाहिर लग्यो । बाहिर कुरिरहेको ट्याक्टर ट्रेलर ट्रकको खुला ट्रेलरमा गएर बकेटका लासहरू हृवार्र खन्यायो । ड्राइभर फेरि स्काभेटर हाँक्दै गोदामभित्र आयो । त्यसको बकेटले दसआठ लास सोरेर फेरि उचाल्यो । त्यसैगरी ट्रेलरमा खन्याउन स्काभेटर बाहिर निकाल्यो । स्काभेटरको यो क्रम चलिरहेछ ।

ज्याक सोध्छ,

‘के हुँदैछ ।’

‘अनक्लेम्ड लासहरु निकालिँदै छन् ।’

‘हो र ?’

‘हेर आफैं ।’

‘ओ, अब ?’

‘हेर्दै जा ।’

‘अनि हामी ?’

‘हाम्रो पनि क्लेम्ड अवधि सकिएको हुनुपर्छ ।’

‘यसको मतलब ?’

‘त्यो मेसिन हामीतिर पनि आउन सक्छ ।’

‘यसको मतलब हामी पनि सोरिने छौं ?’

यसको जवाफमा म ‘यस’ जस्तै केही भन्न खोज्दै थिएँ बाहिर लास खन्याएर भित्र फर्किएको स्काभेटर हामीतिर सोझिन थाल्यो । अनि मैले भनें,

‘त्यो हामीतिर आउँदै छ सोर्न ।’

मैले यत्ति भन्दानभन्दै ड्राइभरले स्काभेटरको बकेट हाम्रो नजिक ओरालिसकेको थियो । बकेटले हामी अगाडिका केही लास सोर्दै बाँकी म, ज्याक, सिएनए, ड्राइभर र अरु केहीलाई उचालेर स्काभेटर बाहिर निस्क्यो । बाहिर ट्रकको ट्रेलरमा पुगेर बकेटमा सोरिएका हामी सब मुर्दाहरूलाई बेपर्वाहसँग हृवार्र खनायो । हामी खनिएपछि ट्रेलर चुलियो । हामी लासहरूको चाङको सबभन्दा माथि पर्‍यौं ।

हाम्रो लासको रासलाई लिएर ट्रक स्काइस्क्यापरका सहरको सुनसान सडकमा कुद्न थाल्यो । उसै पनि मरेको सहर झन् मर्दै थियो । लास बोकेका अरु ट्रक पनि देखिए । ट्रक हामीलाई लिएर मासग्रेभतिर कुँदिरहेको थियो । ज्याकले सोध्यो,

‘अब ?’

‘अब हाम्रो सामूहिक संस्कार हुनेछ ।’

‘लास्ट डेस्टिनेसन ?’

‘हो ।’

हाम्रो मुनिबाट फेरि त्यै श्लोकेको स्वर आयो । यसको मतलब यो मुर्दा हामीमुनि थिचिएको रहेछ । ऊ फेरि त्यै कुरो भट्याइरहेछ !

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

ट्रक कुनै निर्जन स्थानमा खनेर राखेको विशाल खाल्डोमा गएर रोकियो । ट्रकको ड्राइभरले ट्रेलर घोप्ट्याएर हामी सब मुर्दाहरूलाई त्यस खाल्डोमा निर्ममतापूर्वक खन्यायो । खनिँदै गर्दा पनि त्यो भनिनैरहेको थियो,

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

ट्रकको टेलरबाट झर्दै गर्दा केही मुर्दा जिसस् क्राइस्ट, अल्ला हु अकबर, राम राम भनिरहेका थिए । तर, तीभन्दा ऊ चर्को स्वरमा भनिरहेको थियो,

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

म, ज्याक, सिएनए, ड्राइभर र अरु केही खाल्डोको पिंधमा माटो सुँघ्दै छौं ।

(२६ जना लेखकको हालै बजारमा आएको कोभिडकालका अनुभूति, संस्मरण र कथाहरुको संगालो 'कोभिड १९' बाट ।)

प्रकाशित : आश्विन १३, २०७७ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?