भौंज्याहा

विज्ञानले पुरानो परम्परा भत्काइदिएको छ । आवश्यक नपर्ने परिस्थिति सिर्जना गरिदिएको छ । भौंज्याहा सन्तान जन्माउने कानुनी व्यवस्था अब पुनःस्थापित हुने छैन । तर फरक अर्थमै भए पनि त्यो परम्पराले जन्माएको शब्द ‘भौंज्याहा’ खस समाजमा जीवित छ ।
चन्द्रप्रकाश बानियाँ

वल्लापल्ला गाउँछिमेक सबैतिर हाम्रो घर 'बुढाघर' भनेर चिनिन्छ । हाम्रो घरलाई मिलेको बुढाघरको परिचय यति जब्बर थियो कि त्यो घरको मान्छे राणाकालमा डिट्ठा हुँदा पनि डिट्ठाघर भनिएन । अमाली हुँदा पनि अमालीघर भनिएन ।

भौंज्याहा

पञ्चायतकालमा जिल्ला सभापति, उपसभापति, गाउँको प्रधान, उपप्रधान हुँदा पनि घरको नामसँग ती नाम पद जोडिएनन् । बुढाघरे डिट्ठा, बुढाघरे अमाली, बुढाघरे जिम्माल, बुढाघरे मुखिया, बुढाघरे प्रधानपञ्च ! यसरी नै त्यो घरका मुखियाहरु सम्बोधित भए । यद्यपि मेरा हजुरबा, मेरा बाबा हुँदै साहिँलादाजुसम्म वंशानुगतरुपमा आएको हो जिम्मुवाली तैपनि त्यसले मलाई समेत छोडेन । स्वभावतः मलाई पनि मेरो गाउँले आफन्त, इष्टमित्रहरुले ‘बुढाघरे कान्छो जिम्माल’ भनेर चिन्यो । समाजले बुढा’रको कान्छो वा जिम्माल कान्छो भनेर चिन्यो, बोलायो । बोलाउँदै छ ।

एक जना अचाक्ली माया गर्ने काका हुनुन्थ्यो– गोरे कान्छाबा’ । गाउँलेहरुले काकालाई 'बुढाघरे गोरे' भनेर चिन्थे, बोलाउँथे । काकालाई बुढाघरे भनेर बोलाएको सुन्दा मलाई अचम्म लाग्थ्यो । काकाको घर फरक थियो । हाम्रो घरबाट अलिकता टाढै थियो । काकालाई किन बुढाघरे भनिन्छ भन्ने कुराको भेउ मैलै पाएको थिइन ।

कुरा मेरो उमेर नौ दस वर्ष वल्तिरपल्तिर हुँदाताकाको हो । त्यतिखेर म स्कूल जादैनथें । गाउँमा स्कूल भए पो जानु । स्कूल पाठशाला खुलेकै थिएनन् । जब स्कूल खुल्यो घरमै अङ्क अक्षर चिनेको हुनाले एकैचोटि तीन कक्षामा भर्ना भएको थिएँ । दस वर्षको उमेरतिर गाईभैसी हेरिन्थ्यो । कहिलेकाहीँ गाई र भैसीं एकैचोटि गोठमा गइदिँदैनथे । पालो पालो पुर्‍याउनुपर्थ्यो । एकदिन डाँडाघरको सानेलाई मेरा गाईहरुको पनि याद गरिदिनु है भनेर भैंसी गोठमा पुर्‍याएर फर्कंदै थिएँ । डाँडाघरका कमले कान्छाबा’ गनगनाउँदै बारीको बारबान्नो सजसाज गर्दै रहेछन् । कसै ‘के भो काका’ भनेर सोधेको प्रश्नको उनका मुखबाट झरेको उत्तरले मलाई थप आश्चर्यमा पारिदियो । ‘गोरे भौज्याको साँढेले कोदो सखापै पारेछ नि’ । गोरे कान्छाबालाई भौज्याहा पनि भनिँदो रहेछ भन्ने कुरा त बुझें, त्यसको कारण के होला भन्ने जिज्ञासा मनमा गढेर बस्यो ।

बेलुका गाई बाच्छाहरुलाई गोठमा बाँधेर टाट्नामा अलिकता घाँसपात छरिदिएँ । भोकले सताएको थियो । दलानमा बसेर खुदो मोलेको खट्टे र मही खाँदैगर्दा बाबा कतैबाट टुप्लुक्क आइपुग्नुभयो । मैले दनादन दुईवटा प्रश्नको झटारो हाने । पहिलो प्रश्न थियो 'गोरे कान्छाबालाई किन बुढाघरे भनिन्छ ?' दोश्रो थियो – 'भौज्या भनेको के हो ?'

बाबा धक फुकाएर हाँस्नु भो । हाँसो थामिएपछि बहिफाँट लगाउनुभो । कुरोको चुरो यस्तो रहेछ : मेरा पिताजीका हजुरबाले आफ्ना दाजुको देहावसानपछि भाउजू स्याहार्नु भएको रहेछ । तिनै भाउजुपट्टिका नाति रहेछन् गोरे कान्छा’बा । भाउजुपट्टिका सन्तानहरुलाई भौज्याहा भनिँदो रहेछ । काका हाम्रै खलकका रहेछन् र बुढाघर भनिएका रहेछन् । भाउजूपट्टिका सन्तान भएकोले भौज्या भनिएका रहेछन् ।

खसजाताः प्रगृह्णन्ति भ्रातृभार्यामभर्तृकाम् ।

अनेन कर्मणा नैते प्रायश्चित्तदमार्हकाः ।।१।१० बृहस्पतिस्मृति ।

२।१०।२७।३ आपस्तम्बधर्मसूत्र ।

खस जातिमा भाउजूविवाह गर्ने चलन छ । दाजु मरेपछि विधवा भाउजूसँग विवाह गर्ने सनातन परम्परा हो । त्यसैले त्यस कर्मबापत उनीहरूलाई प्रायश्चित्त गर्नु पनि पर्दैन र दण्डित हुनु पनि पर्दैन भनेर बृहस्पतिस्मृति र आपस्तम्बधर्मसूत्रमा स्पष्ट उल्लेख छ ।

आजको पर्वते खस समाजका लागि भौंज्याहा अपरिचित शब्द भने होइन । रिसाहा, फटाहा जस्तै यो पनि एउटा गुणबोधक विशेषणको रूपमा प्रयोग हुने शब्द हो । नेपाली बृहत् शब्दकोशले भौज्या र भौजेको फरक अर्थ गरेको छ । भौज्या भनेको भाउजूपट्टिका सन्तान र भौजे भन्नाले भाउजू विवाह गर्ने मानिस भनेर परिभाषित गरेको छ । कानूनतः भाउजु विवाह अवैधानिक मानियो । भाउजूपट्टिका सन्तान जन्मन छोडे । अर्थात भौज्या वा भौजे अप्रसांगिक हुन गए । शब्दकोशमा जीवित भए पनि व्यवहारमा त्यो शब्दको अवसान भैसक्यो तर समाजले भने त्यसको नयाँ न्वारान गर्‍यो । नयाँ अर्थ र परिभाषा दियो र शब्दलाई जीवन्त राख्यो । आजकाल खासगरेर, चौबीसे राज्य पर्वतको सेरोफेरोमा अराजक, उपद्र्याहा, नियम–कानुनविपरीत आचरण गर्ने, समाज भँडुवा, उद्दण्ड आदि अर्थ लाग्नेखालका व्यवहारमा लिप्त रहने व्यक्तिलाई भौंज्याहा भन्ने चलन छ ।

मानिसको असामाजिक व्यवहारलाई अभिव्यक्त गर्ने ‘भौंज्याहा’ विशुद्ध खसमूलको शब्द हो । यही अर्थ र परिभाषामा यसले नेपाली शब्दकोशहरूमा स्थान पाएको भने देखिँदैन । नेपाली भाषाका कोशकारहरू प्रायः पूर्वेली (कमसेकम पुरानो पर्वत राज्यभन्दा पूर्वका) रहेको हुनाले पर्वते खस समाजमा आजपर्यन्त प्रचलनमा रहेका वा नवनिर्माण भएका खस भाषा र पर्वते बोलीसम्बद्ध अनेकौँ शब्दहरू नेपाली भाषाका कोशहरूमा समावेश भएका छैनन् । तिनीहरूमध्येको एउटा ‘भौंज्याहा’ पनि हो । लोकव्यवहारमा भौंज्याहाको ‘भौ’ नाकेस्वरमा उच्चारित हुन्छ । अर्थात् बोल्दा ‘भौंज्याहा’ भनिए पनि यसको शुद्धरूप भौज्याहा नै हो । किनकि यतिबेलाको सामाजिक मान्यता र लोकपरिभाषाअनुसार जेजस्तो अर्थ लाग्ने भए पनि यसको उत्पत्ति ‘भाउजू’ बाट भएको हो । भेरीपश्चिममा बोलिने सिन्जाली र डोटेली दुवै खस बोलीमा ‘नाकेस्वर’ को प्रत्यक्ष अनुभूति हुन्छ । ट्युनिङ्का दृष्टिले जुम्ली र डोटेली भाषी लवजहरूले काठमाडौं उपत्यकाका नेवारी उच्चारणसँग समानता राख्दछन् । भौज्याहा भन्ने शब्द भाउजूबाटै बनेको हो, तापनि त्यसको उत्पत्तिस्थल सिन्जाको नाकस्वरे ट्युनिङ्का कारणले ‘भौंज्याहा’ हुन गएको पो होला कि भनेर अनुमान गर्न सकिन्छ ।

खस समाजमा विधवा भाउजूपट्टिबाट जन्मेका देवरका सन्तानहरूलाई भौंज्याहा भनिन्छ । दाजुको जीवनकालमै भाउजूविवाह गर्नु दण्डनीय अपराध मानिए पनि दाजुको शेषपछि भाउजू स्याहार्ने चलन मुलुकको ऐन–कानुनले बन्देज नलगाउँदासम्म खस समाजमा सनातन थियो । ‘भौंज्याहा खलक’ का रूपमा खस समाजका विभिन्न थर–गोत्रमा आजसम्म पनि भाउजूपट्टिका सन्तानहरूको अस्तित्व भेटिन्छ । खास गरेर मुलुकी ऐन २०२० ले हाडनाता सम्बन्धको अपराधको रूपमा देवर–भाउजूको विवाहलाई परिभाषित नगर्दासम्म त्यस्तो विवाहलाई समाजले सहजरूपमा स्वीकार गर्थ्यो ।

ऐन–कानुनले जेसुकै भने पनि कुनै-कुनै दलित समुदायमा आजसम्म पनि विधवा भाउजूविवाह गर्ने चलन बाँकी छ । कानुनले बन्देज गरे पनि सामाजिक व्यवहारमा निःशेष भएको छैन । वैदिक समाजमा मात्रै होइन, थकाली, गुरुङ, राई, लिम्बु आदि मङ्गोल समुदायमा समेत ‘भाउजू’ लाई देवर–नन्दहरूका निमित्त ‘आमासमान’ पूजनीय मानिन्छ र नन्द–देवरहरूले भाउजूको गोडा छुने चलन छ । तर खस समाजमा भने भाउजूको गोडा ढोगिँदैन । उल्टै बरू देवर–नन्दहरूलाई भाउजूले गोडामा ढोग्नुपर्ने चलन छ । यो परम्परा उही खस समाजमा पुरातनकालदेखि प्रचलित भाउजू–देवरबीचको विवाहले प्राप्त गरेको सामाजिक मान्यताको अवशेष हो ।

जुन बेलासम्म देवर–भाउजूबीचको विवाह सनातन थियो त्यस्तो विवाहले सामाजिक मान्यता पाए पनि त्यसलाई प्राकृतिक मानिँदैनथ्यो । कानुनले छुट दिएको समयमा पनि समाजमा त्यसलाई उति साह्रो रुचाइँदैनथ्यो । भाउजूविवाहलाई अप्राकृतिक र असामाजिक मानिने हुनाले मानिसको अराजक प्रवृत्तिले भौंज्याहाको उपमा पाएको हो । भौंज्याहा स्वभावलाई देवर–भाउजूको अनैतिक सम्बन्धबाट सन्तान जन्माउने जस्तो ‘उद्दण्ड’ कार्य भन्ने अर्थमा व्यवहारमा प्रयोग गरिन थालेको हो । अर्थात् भौंज्याहा सन्तानको अवशेष नामेट हुँदै गए पनि भौंज्याहा भन्ने शब्दको प्रयोगले अराजक प्रवृत्तिलाई इङ्गित गर्ने अर्थमा सामाजिक मान्यता पाएको हो । भाउजूतिरबाट जन्मेका सन्तानलाई समान अंशभाग दिने चलन थिएन । जीविकाका निमित्त सम्पत्तिको सानो अंश दिइन्थ्यो र त्यस्तो अंशलाई 'छैटीअंश' भन्ने चलन थियो ।

समाजमा भाउजूविवाहले कसरी र कहिलेदेखि मान्यता पायो होला भनेर खोजीनीति गर्दा खस सभ्यता मात्र खोतलेर पुग्दैन । त्यसभन्दा पर वैदिक कालसम्म पनि पुग्नुपर्ने हुन्छ । वैदिक परम्परामा ‘निर्पुत्रो गतिर्नास्ती’ भनेर पुत्रोत्पादन अनिवार्य मानिने र १२ प्रकारका पुत्रहरूले सामाजिक मान्यता पाएको देखिन्छ । त्यसमध्येको एउटा ‘क्षत्रज’ हो । क्षत्रजपुत्र नियोग पद्धतिबाट जन्माइन्थ्यो । कुनै मान्छेको सन्तान नहुँदै मृत्यु भएको खण्डमा अर्को कुनै योग्य पुरुषबाट 'वीर्यदान' लिएर विधवाबाट सन्तान जन्माइने पद्धतिलाई नियोग भनिन्थ्यो र त्यसरी जन्मने सन्तानलाई क्षत्रज भनिन्थ्यो । रामायण, महाभारतजस्ता कथाहरू काल्पनिक भए पनि अनेक प्रसङ्गमा तिनको उदाहरण लिने परम्परा छ । राजा विचित्रविर्यको निःसन्तान मृत्यु भएपछि उनकी आमा सत्यवतीका पराशर ऋषितर्फका पुत्र श्रीकृष्ण द्वैपायन (व्यास) ले विचित्रविर्यका विधवा रानीहरूबाट धृतराष्ट्र, पाण्डु र विदुर नामका तीन पुत्रहरू जन्माए । माहिला पाण्डुका पाँच भाइ छोराहरू (पाण्डव) पनि नियोग पद्धतिबाटै जन्माइएका थिए भन्ने कुरा महाभारत ग्रन्थमा सगौरव उल्लेख भएको छ । बृहस्पतिले आफ्नै भाउजू ममताबाट छोरो जन्माएका थिए । पछि छोरा आफूले राखेर भाउजू दाजुलाई नै सुम्पेका थिए । लोग्नेको मृत्युपछि जन्माइएका सन्तानलाई 'गोलक' र लोग्नेको जीवनकालमै अन्य पुरुषबाट जन्माइएका सन्तानलाई 'मुण्डक' भनिन्थ्यो ।

क्षत्रज पुत्रलाई वैदिक समाजले मान्यता दिएजस्तै खस समाजमा चलेको विधवा भाउजू स्याहार्ने चलन नियोग विधिबाट दाजुको सन्तान जोगाउने परम्पराकै विकृत रूप होला भन्न सकिन्छ । खस समाजमा रहेको त्यही पुरानो परम्परालाई जङ्गबहादुर राणाले जारी गरेको मुलुकी ऐन–१९१० ले कानुनी मान्यता प्रदान गरेको हो । त्यसरी कानुनी मान्यता प्राप्त गरेको सामाजिक प्रचलनलाई मुलुकी ऐन–२०२० ले खारेज मात्रै गरेन, दण्डनीय अपराधसमेत घोषित गरेको छ । शासकको मुख (वाणी र विवेक) नै कानुन मानिने पुरानो परम्परा तोडेर लिखितरूपमा नयाँ मुलुकी ऐन जारी गर्दा जङ्गबहादुरले वैदिक वर्णव्यवस्थालाई मुख्य आधार बनाएका थिए र समान अपराधबापत लाग्ने दण्ड–सजाय जातअनुसार फरक–फरक गरेर मनुस्मृति परम्पराको अनुशरण गरिएको थियो । अर्थात् अपराधअनुसार दण्ड–सजाय नभएर जातका आधारमा दण्डभागी बन्नुपर्ने व्यवस्था भएको थियो । त्यसले समाजमा जातीय आधारमा गरिने भेदभावलाई कानूनी मान्यता प्रदान गरेको मात्रै होइन सामाजिक सन्तुलन खल्बल्याउने कामसमेत गरेको थियो । त्यो ऐनले जातिगत आधारमा न्याय व्यवस्था गरेर जातिभेदको वैदिक परम्पराको सामाजिक (कु) संस्कारलाई संस्थागत गरेको थियो ।

जङ्गबहादुरको ऐनले कुनचाहिँ वैदिक व्यवस्थालाई आधार बनाएर भाउजूविवाहको प्रचलनलाई मान्यता दिएको थियो भन्ने सन्दर्भमा खोजीपाँसुली गर्दा ऋग्वेदको एउटा व्यवस्था फेलापर्दो रहेछ । ऋग्वेदकोे यास्ककृत निरुक्तमा 'विधवेव देवरं देवरः कस्माद्वितीयो वर उच्यते' (१।३।१५) । अर्थात् दोस्रो विवाहका लागि तयार दोस्रो वरलाई देवर भनिन्छ भनेर ‘देवर’ शब्दको स्पष्ट परिभाषा दिइएको भए पनि खस समाजमा 'पतिको भाइ'लाई देवर भनिने हुनाले देवर–भाउजूको विवाहलाई शास्त्रसम्मत ठहर्‍याइएर कानुनी छुट दिइएको हुनसक्छ ।

'भाउजूविवाह गर्न हुन्छ भने विधवा भाइ–बुहारीसँग वैवाहिक सम्बन्ध बनाउन किन हुँदैन,' भन्ने प्रश्न पनि स्वाभाविक रूपमा उठ्ने नै भयो । जङ्गबहादुरको मुलुकी ऐनले त्यस्तो विवाहलाई वर्जित गरेको थियो । तर वैदिक परम्परामा भने त्यस्तो विवाहले पनि कतै कतै मान्यता पाएको उदाहरण फेलापर्छ । बालीले सहोदर भाइ सुग्रिबपत्नी तारासँग विवाह गरेका थिए । मरुत देवता सबैकी साझा पत्नी रोदशी थिइन् । सप्तर्षिकी पनि साझा पत्नी थिइन् भनिएको छ । पाँच भाइ पाण्डवले सगोलमा द्रौपदीसँग विवाह गरेका थिए । हाम्रै हिमाली भेगको गैरखस समुदायमा जतिजना दाजुभाइ भए पनि जेठा दाजुकी श्रीमती (भाउजू) सँग श्रीमतीको साइनो जोडिने बहुपतिप्रथाको परम्परा आजसम्म पनि व्यवहारमा जीवित रहेको छ । प्रकारान्तरले बहुपतिप्रथाले भाइ–बुहारी विवाह गर्ने चलन व्यवहारमा प्रचलित रहेको कुरा पुष्टि गर्दछ ।

ऐन, कानुन, संविधान र सामाजिक रीति–परम्पराहरू समयको माग र समाजको आवश्यकतानुसार बन्ने/भत्कने हुन् ।

समय सन्दर्भले कैयौं पुराना परम्पराहरूको अन्त गर्छ र नयाँ परम्पराहरू जन्माउँछ । ‘टेष्टट्युब बेबी’ को आधुनिक प्रविधिले पुरानो नियोग पद्धतिलाई नयाँ रूप दिएको छ भन्दा फरक पर्दैन । कानुनी व्यवस्था नभइसकेको भए पनि व्यवहारमा त्यसरी जन्मने सन्तानलाई पारिवारिक मान्यता मिलेकै छ, समाजले स्वीकारेकै छ । अर्थात् नियोग पद्धतिले समयअनुरूप रूप परिवर्तन गरेको छ । फरक कति मात्रै हो भने महाभारतका पाण्डुले आफू जीवित छँदै आफ्ना रानीहरू कुन्ती र माद्रीबाट क्षत्रज पुत्रहरू जन्माए जस्तै आजकाल निःसन्तान दम्पतीले टेष्टट्युब बेबी जन्माउँछन्, तर बाबुको मृत्युपछि जन्माउने चलन भने छैन । हिजोको जस्तो नियोग पद्धति जस्ताको त्यस्तै दोहोरिने सम्भावना अबको जमानामा छैन ।

विज्ञानले पुरानो परम्परा भत्काइदिएको छ । आवश्यक नपर्ने परिस्थिति सिर्जना गरिदिएको छ । भौंज्याहा सन्तान जन्माउने कानुनी व्यवस्था अब पुनःस्थापित हुने छैन । तर फरक अर्थमै भए पनि त्यो परम्पराले जन्माएको शब्द ‘भौंज्याहा’ खस समाजमा जीवित छ । र टेष्टट्युब बेबीको रूपमा क्षत्रज सन्तानको अस्तित्व बाँकी रहे जस्तै प्रतीकात्मक अर्थ दिने गरी यो शब्द पनि युगौंयुग जीवित रहनेछ । एक अर्थमा जन्मेको शब्द फरक अर्थ बोकेर कालान्तरसम्म जीवित रहनेछ ।

-'महारानी' उपन्यासका लागि २०७६ को मदन पुरस्कार विजेता लेखक चन्द्रप्रकाश बानियाँको प्रकाशोन्मुख निबन्ध संग्रह 'भौंज्याहा' को शीर्ष निबन्ध ।

प्रकाशित : आश्विन १२, २०७७ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?