कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पद्मश्री पुरस्कार उप्रेतीको 'हंस'लाई, प्रश्रितलाई पद्मश्री साधना सम्मान

कान्तिपुर संवाददाता

काठमाडौँ — खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा वि.सं.२०७६ सालको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई अर्पण गर्ने निर्णय गरिएको छ ।

पद्मश्री पुरस्कार उप्रेतीको 'हंस'लाई, प्रश्रितलाई पद्मश्री साधना सम्मान

‘हंस’ उपन्यासमा लेखकले मानिसद्वारा निर्मित देश, कानुन तथा संस्कारले प्रेम र सम्बन्धमा बनाएको जटिलता अनि त्यसले मानिसलाई नै कसरी थिचिरहेछ र बोझ बनाइरहेछ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर स्वैरकाल्पनिक शैलीका माध्यमबाट प्रस्तुत गरेका छन् ।

त्यस्तै यस वर्षको पद्मश्री साधना सम्मान विगत ६ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै साहित्यकार मोदनाथ प्रश्रितलाई अर्पण गर्ने निर्णय गरिएको छ । उनी पूर्वीय दर्शन तथा मार्क्सवादी विचारलाई वैज्ञानिक र वस्तुवादी ढङ्गले विश्लेषण गरी विश्व मानवता र बन्धुत्व जगाउने लेखकका रुपमा परिचित रहेको पनि प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशि तीन लाख रुपैयाँ रहेको छ ।

वि.सं. २०६३ सालदेखि खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । त्यस्तै वि.सं.२०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिँदै आएकोमा यस पटक अनुकूल समय हेरेर पुरस्कार वितरण गरिने पनि प्रतिष्ठानले जनाएको छ ।


प्रकाशित : आश्विन ११, २०७७ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?