१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

विचारहरूको अजस्र धारा

सत्ताको होहल्लाभित्र सत्यको मसिनो स्वर हराउने गर्दछ । सायद त्यसैले होला– सत्ता, सत्य र बुद्धिजीवीबारे नोम चोम्स्कीका विचारको अभाव यस सङ्ग्रहमा खट्किन्छ तर केही काम त पाठककै जिम्मा लगाउनु पनि अनुचित लाग्दैन । इन्टरनेटका ‘खोजी इन्जिन’ सबै कुरा थाहा भएका ‘गुगल हजुरआमा’जस्ता भएका छन् ।
सीके लाल

भन्नलाई त भूमिका लेख्न भनिएको छ तर दर्शनका लेखहरूको सँगालोको भूमिका लेख्ने आँट आएन । त्यसैले अलिअलि पढेको, सुनेको र बुझ्न खोजेको कुरा गर्ने निधो गरेको छु । कामको जिम्मा लिएको झन्डै एक महिनाको उहापोहपछि टिप्पणी लेख्न बसेको छु ।

विचारहरूको अजस्र धारा

जटिल तर जीवनोपयोगी लेखहरू उल्था गर्ने हिम्मत गरेका स्वनामधन्य लेखक खगेन्द्र संग्रौला धन्यवादका पात्र छन् । अर्थ–राजनीतिका आधारभूत प्रश्नहरूलाई फगत नारा बनाइएको समसामयिक परिवेशमा यस सङ्ग्रहका लेखहरूले पाठकलाई धेरै मुद्दाका बारेमा पुनर्विचार गर्न बाध्य बनाउनेछन् । पाठ्य–सामग्री पर्गेल्न भने पर्याप्त संयम चाहिनेछ ।

अनुदित कृति भएकाले यस सङ्ग्रहमा खगेन्द्र दाइको विशिष्ट भाषा एवम् शैली खोजी राख्नु उत्तिसाह्रो उपयुक्त त होइन । त्यसो भए तापनि विद्वान् अनुवादक प्रायः सम्बन्धित विचारकसँग थोरबहुत सहमत देखिन्छन् । त्यसैले उनले मौलिक कृतिका सूक्ष्मभेदी (नूआन्स्ड) तर्कहरूलाई सकभर बोधगम्य भाषामा व्याख्या गर्न मनग्य मिहिनेत गरेका छन् । त्यो कुरा पढ्दा बुझिन्छ । पुस्तक भने दर्शनको हो । त्यसैले बीचबीचमा फेसबुक चलाउँदै वा टेलिभिजनतिर नजर दौडाउँदै पाना पल्टाउन गाह्रो लाग्न सक्छ । पुस्तकले पूरा ध्यान माग्छ । पाठकलाई यति पूर्वसूचना नदिई विषयवस्तुमा प्रवेश गर्न उचित हुनेछैन ।

भनिन्छ, मौलिक भनिएका सृजनाहरू पनि खासमा अनुभूति, अनुभव एवम् अन्तर्दृष्टिका शब्द, चित्र वा सङ्गीतमार्फत् व्यक्त गरिएका ‘अनुवाद’मात्र हुन् । सायद त्यसैले होला, केही धर्म–परम्परामा मौनतालाई मात्र पूर्ण अभिव्यक्तिको सही माध्यम मानिएको छ । मुखर हुनासाथ सत्य बिटुलो हुन्छ । जीवन भने त्यसरी चल्दैन । बोल्नुपर्ने हुन्छ । लेख्नुपर्ने हुन्छ । चित्र एवम् सङ्गीत सम्प्रेषणका उत्कृष्ट माध्यम हुन् । एउटा तस्वीरले हजारौं शब्दहरूको भाव बोक्न सक्छ भन्ने त भनाइ नै छ । मूल कुरो ‘विचार’ भन्ने अवधारणा हो । त्यो स्पष्ट भयो भने एउटा वाक्य त के, एउटै शब्दले हजारौं तस्वीरले भन्न नसकेको कुरा भन्न पनि सक्छ ।

कुनै पनि कला वा सृजना पूर्णतः विचारविहीन हुँदैन । हुन पनि सक्दैन । आग्रह नभएको दाबी गरिएका कृतिहरूमा यथास्थितिको निरन्तरताको आग्रह अन्तर्निहित हुन्छ । यो सङ्कलनले परिवर्तनको पक्ष लिएको छ । हिन्दी कवि गजानन माधव मुक्तिबोधको कविताका केही पंक्ति छन्–

“इसलिए कि जो है उससे बेहतर चाहिए

पूरी दुनियाँ साफ करने के लिए मेहतर चाहिए !”

दुनियाँ सफा गर्ने ‘मेहतर’ हुन सजिलो भने छैन । हजारौं वर्षदेखि दार्शनिकहरू सही खालको ‘मेहतर’ बनाउने सूत्रको खोजीमा छन् ।

प्रायः सङ्गठित धर्महरूले संसारलाई सफा गर्नुको साटो ‘सहने’ सल्लाह दिन्छन् । स्वर्ग पुग्न देहत्याग गर्नुपर्ने हुन्छ । नर्कको डर पनि त्यस्तै हो । जीवन भने आशा र निराशाको चक्रमै बित्छ । त्यही अन्यौललाई व्यङ्ग्य गर्दै उर्दू शायर मौलाना गालिब उच्छ्वास लिन्छन्–

“यूँ तो मालुम है जन्नत कि हकीकत लेकिन,

दिल को बहलाने को ‘गालिब’ खयाल अच्छा हैं !”

जन्नत (स्वर्ग) त जे छ, छँदै छ । मुक्तिको दर्शन पनि कम्ती पीडादायी छैन । निर्वाण मनस्थिति हो, भौतिक अवस्था होइन । पूर्वीय होस् वा पाश्चात्य, आध्यात्मबेगरका दार्शनिक विचार धेरै छैनन् ।

आफ्ना अघिका विचारहरूको सङ्कलन, विश्लेषण एवम् घटनाहरूको आलोकमा जर्मन चिन्तक हिगेलले विचारलाई भौतिक विकासको स्रोत ठहर्‍याएका थिए । मार्क्सले टाउकोमा उभिएको त्यस प्रस्तावनालाई खुट्टामा खडा गर्ने तर्क तेस्र्याउँदै प्रचलित विचारलाई विद्यमान भौतिक विकासको उपज घोषणा गरिदिए । विचार एवम् भौतिकताबीचको अन्तरसम्बन्धका बारेमा भने मतभिन्नता छैन । अण्डा र चल्लामध्ये जुन पहिला र महत्‍त्‍वपूर्ण भए पनि भौतिकवादसम्बन्धी अवधारणाका लागि दुवैको अस्तित्व आवश्यक छ । धर्म अनि आध्यात्म तथा सौन्दर्य र आदर्शवाद हुँदै व्यवहारवादसम्मका विचारहरू मूलतः नियतिकेन्द्रित छन् । मार्क्सले नियतिलाई नियन्ताको हातमा पुर्‍याइदिएका छन् ।

निःसन्देह शब्दमा निश्चयात्मकताको आग्रह झल्किन्छ । मार्क्सका बारेमा भने निसङ्कोच त्यो विशेषण प्रयोग गर्न सकिन्छ । उनी निःसन्देह बीसौं शताब्दीका सबैभन्दा प्रभावशाली विचारक थिए । त्यतिमात्र नभएर उनले विचारसँगसँगै कार्यक्रम पनि दिए । र, समग्रतामा विचारधाराको केन्द्रीयतालाई स्थापित गरे । जीवनलाई व्याख्यामात्र गर्ने गरेको दर्शन विधालाई उनले जगत बदल्ने दिशामा डोर्‍याए । समयको गतिलाई निर्देशित गरे । सायद त्यसैले होला, बेलायती इतिहासविद् एरिक हब्सवामको मान्यताअनुसार बीसौं शताब्दी सन् १९१७ को बोल्सेविक क्रान्तिबाट सुरु भएर सन् १९९१ मा सोभियत सङ्घको विघटनसँगै समाप्त भयो । त्यस सँगसँगै विचाराधाराको अन्तको होहल्ला पनि व्यापक भयो । इतिहासको अन्तरूपी विचारधाराको आतङ्कबाट संसार अझैसम्म पनि मुक्त हुन सकिरहेको छैन ।

विचारधाराहरूको द्वन्द्वसँगै इतिहासकै अन्त भएको घोषणाको श्रेय सामान्यतः अमेरिकी व्यवहारवादी राजनीतिशास्त्री स्यामुएल हन्टिङ्टनका शिष्य फ्रान्सिस फुकुयामालाई दिइने गरिएको भए तापनि त्यस्तो सोचका कारण छन् । मिखाईल गोर्वाचेवको खुलापन (ग्लासनोस्त) र पुनर्संरचना (पेरेसत्रोएका) प्रस्तावना एवम् त्यसपछि सोभियत सङ्घको विघटनले गर्दा फुकुयामाले तत्कालिकताको बौद्धिक लाभ पाएका हुन् । बेलायतका प्रधानमन्त्री मार्गरेट थ्याचर एवम् अमेरिकी राष्ट्रपति रोनाल्ड रिगनले संयुक्तरूपमा र सत्ताको बलमा प्रबर्धन गरेको ‘खुला बजारको विकल्प छैन’ (देयर इज नो अल्टरनेटिभ–अंग्रेजी अद्याक्षर ‘टीना’) भन्ने मान्यतालाई ‘विचारधाराको अन्त’ भन्ने अवधारणाले सैद्धान्तिक पुष्टिमात्र प्रदान गरेको हो । विचारधाराको सान्दर्भिकताबारे घटित भइसकेका वृत्तान्तभन्दा पनि सैद्धान्तिक आधारमा प्रश्न उठाउने काम सन् १९६० को दशकताका नै सुरु भइसकेको थियो ।

सामान्य अवस्थामा साँच्चै नै विचारधारा बुद्धि–विलासजस्तो लाग्ने रहेछ तर जब सङ्कट आइपर्छ, व्याख्याका लागि विचारधाराको सम्बलको खोजी सुरु हुन्छ । कर्ममा लेखेको वा ईश्वरीय इच्छाजस्ता नैराश्यले भाग्यवादी विचारधारा देखाउँछन् । ‘सक्नेले गरिखान्छ’ पनि शक्तिको एउटा सिद्धान्त हो । यस प्रकारका पुरातनवादी विचारहरूलाई स्पष्टरूपमा चुनौती दिएको मार्क्सवादले हो । मार्क्सवादी अवधारणामा जीवनलाई व्याख्या गर्नु सँगसँगै जब कुनै विचारले परिस्थितिलाई इच्छित दिशामा डोर्‍याउने बाटो पनि सुझाउँछ, अनिमात्र त्यस्ता सिद्धान्त, रणनीति, कार्यदिशा एवम् योजनाहरूको एकीकृत रूप विचारधारा कहलिन योग्य ठहरिन्छ ।

मार्क्सभन्दा अघिका विचार आस्थाका भरमा वा सैद्धान्तिक तर्क–वितर्कका आधारमा चल्ने गर्दथे । त्यसपछि कुनै पनि विचारधाराको सान्दर्भिकता व्यावहारिक जीवनमा त्यस्ता सिद्धान्त एवम् कार्यक्रमहरूको उपयोगितामा निर्भर रहने भयो । मार्क्सले दर्शनलाई प्राज्ञिक मचानबाट जीवनको कठोर यथार्थको भुइँमा ओरालिदिए । धरातलीय यथार्थ भने निर्मम हुँदो रहेछ । फासीवाद केही व्यक्तिको अन्तरनिहित श्रेष्ठताको मान्यतामा विकसित भयो । नश्लीय उत्कृष्टताको दम्भले नाजीवाद जन्मियो । व्यवहारको परीक्षामा भने त्यस्ता कुनै पनि बृहत् व्याख्यान उपयोगी ठहरिएनन् । विचारधाराको अन्तको तर्क सन् १९५० को दशकमा यही मूल निष्कर्षमा आधारित थियो । त्यस अवधारणाको पुस्ताकाकार व्याख्या अमेरिकी समाजशास्त्री ड्यानिएल वेलले गरेका छन् । उनका तर्कहरू अहिले पनि समय सापेक्ष लाग्दछन् ।

उन्नाइसौं शताब्दीसम्म आइपुग्दा उदारवाद एवम् समाजवादसम्बन्धी विचारधाराले आधुनिकताको विस्तार भएका समाजहरूबाट धर्मान्धता, नियतिवाद, नग्न पुँजीवाद वा सामन्तवादजस्ता पुरातनपन्थी सिद्धान्तहरूलाई विस्थापित गरिसकेका थिए । उदारवाद एवम् समाजवादले आ–आफ्नै पारामा राम्रो समाजको वैकल्पिक परिकल्पना प्रस्तुत गरेका थिए । त्यस्ता सिद्धान्तहरूको कार्यान्वयनले राष्ट्रवादको उन्माद कम गर्न सकेन । युद्धहरू रोक्न असफल भयो । विकसित देशहरूलाई आर्थिक मन्दीबाट जोगाउन सकेन । समाजवादी देशहरूमा समेत शक्ति एवम् प्रभावको असमानता घटेन । राजनीतिक उत्पीडन अन्त गर्ने दिशातिर उल्लेख्य प्रगति भएको देखिएन । स्वाभाविक हो, द्वन्द्वात्मक होस् वा समन्वयात्मक, समग्र भौतिकवादबाट सामान्यजन निराश हुँदै गए । फासीवाद एवम् नाजीवाद मानवता–विरोधी सावित भइसकेका थिए ।

विचारधाराको अन्त्यका लागि समाजशास्त्री वेल तेश्रो विकल्प –यद्यपि त्यो पदावली पनि सन् १९९० पछिमात्र लोकप्रिय भएको हो– व्याख्यालाई रुचाउँछन् । उनको आकलनमा उदारवाद एवम् समाजवादबीचको द्वन्द्वको आवश्यकता र आकर्षण एसिया वा अफ्रिकाका उदीयमान देशहरूबाट छिट्टै हट्नेछैन । औद्योगीकरण भइसकेका देशहरूमा भने समाजवादी–प्रजातन्त्रमा आधारित लोकहितकारी राज्यका कल्याणकारी गतिविधिले सुस्तरी विचारधाराको आकर्षणलाई कम गर्दै क्रमिक–सुधारको अवधारणालाई संस्थागत गर्नेछन् । सायद त्यसपछि समस्या के उत्पन्न भयो भने थ्याचर–रिगन पुँजीवादी प्रतिक्रान्तिले गर्दा क्रमिक सुधारको सम्भावना रोकियो र विकसित देशहरूबीचको कहिले छाया, त कुनै बेला प्रत्यक्ष द्वन्द्व फेरि तीव्र एवम् घनिभूत हुँदै गयो । अन्ततः सन् १९९० तिरको विजयोन्माद सेप्टेम्बर ११, २००१ एवम् त्यसपछिका त्रासदीहरूमा पुग्न एक दशक पनि लागेन । सन् २००८ को आर्थिक मन्दी, एक प्रतिशत महाधनीहरूको ढलीमली एवम् पनामा पेपर्स खुलासाको करछलीले गर्दा स्थापित संस्था एवम् मान्यताहरूबाट सामान्यजनको विश्वास हराउँदै गइरहेको छ ।

विकल्पविहीन संसार स्वतः असन्तुलित हुने रहेछ तर स्तालिनको सोभियत सङ्घ वा माओकालीन चीनको सांस्कृतिक क्रान्ति बाँकी विश्वका लागि आदर्श हुनसक्ने सम्भावना छैन । वासिङ्टन सहमतिको विकल्पमा बेइजिङ सहमतिको जतिसुकै चर्चा भए पनि त्यो कालो र सेतो बिरालोबीचको तुलनामात्रै हो र बिरालो पाल्ने व्यसन धनीमानीले मात्र थेग्न सक्छन् । त्यो सामान्यजनको हित सुरक्षित गर्ने बहस होइन । विचारधाराको शून्यताले गर्दा धर्मान्धता, धनान्धता, देशाहङ्कार, कट्टरता, असहिष्णुता, अन्धराष्ट्रवाद एवम् प्रियतावादी हाँकहरूको आकर्षण फैलिंदै गइरहेको छ । यस निष्पट अँध्यारोमा उज्यालोको खोजी चानचुने चुनौती होइन । भन्नलाई त कुनै बाटो देखा परेन भने ‘पढ्न’तिर फर्किनुपर्छ भन्छन् । व्यवहारमा भने पढ्न पनि सजिलो छैन । त्यस काममा भने यो अनुदित सङ्कलन केही सहयोगी ठहरिन सक्छ ।

आदर्शको खोज

पाङ्ग्राको पुनर्आविष्कार ऊर्जाको अपव्यय मात्रै हो । मार्क्सवादी दर्शनको परिधिभित्र एवम् बाहिर दुवैतिरबाट उन्नत समाज निर्माणका सम्भावनाबारे प्रशस्त चिन्तन–मनन भएका छन् । यस सङ्कलनमा भने प्रगतिशीलताको आग्रह छ । त्यसैले यहाँ पाङ्ग्राको सौन्दर्यभन्दा पनि भुइँसँगको पकड (ग्रिप) बढाउने कुरामा ध्यान दिइएको छ । छनोट भने कुनै पूर्वनियोजित प्राथमिकताका आधारमा छैन । त्यसैले जुनसुकै लेख स्वतन्त्ररूपमा पढे फरक पर्दैन । त्यसो हुँदाहुँदै पनि विलियम मोरिसको काल–चिन्तन उपयुक्त प्रस्थान–विन्दु बन्न पुगेको छ । साँच्चै, मानव जीवनको सबैभन्दा अहम् प्रश्न “हामी कसरी बाँचेका छौं र हामी कसरी बाँच्न सक्दा हौं ?” नै त हो नि ! र, मर्यादित जीवन जिउन खासै धेरै कुरा पनि त नचाहिने रहेछः “पहिलो, स्वस्थ शरीर; दोश्रो, विगत, वर्तमान, र भविष्यप्रति सहानुभूतिशील र क्रियाशील मस्तिष्क; तेश्रो, स्वस्थ शरीर र क्रियाशील मस्तिष्कलाई सुहाउने पेशा; र चौथो, बस्नका लागि एउटा सुन्दर विश्व ।” सुन्दर विश्वको परिकल्पनाभित्र स्वभाविकरूपमा सम्मान एवम् स्वतन्त्रताका कुरा पर्दछन्, जसरी कि स्वस्थ शरीरको चाहनाले भौतिक आवश्यकतालाई समेटेको छ ।

बुद्धिजीवीबारे आन्टोनियो ग्राम्स्कीको कालजयी लेख जुनसुकै बेला र जतिपटक ‘पढे’ पनि केही न केही नयाँ अन्तर्दृष्टि हासिल हुन्छ । आखिर ग्राम्स्कीको सबभन्दा महत्‍त्‍वपूर्ण उद्घोष नै के हो भने “सबै मानिस बुद्धिजीवी हुन् तर सबै मानिसले समाजमा बुद्धिजीवीको काम गर्दैनन् ।” समाजका स्थापित मूल्य, मान्यता एवम् मापकहरूमा प्रभुत्वशाली समूहको कब्जा हुन्छ । परच्छन्द बौद्धिकले त्यस्ता मर्यादाका मापदण्डका आधारमा बर्चस्व निर्माण गर्दछन् । परच्छन्द बौद्धिकको काम त्यस्ता सबै सार्वजनिक आस्थालाई निरन्तर प्रश्नको घेरामा राख्नु हो । त्यो काम सधैं सम्भव हुँदैन । अनि ग्राम्स्की अनुयोगी बौद्धिक (अर्गानिक इन्टेलेक्चुअल) को अवधारणा ल्याउँछन् । अनुयोगी बौद्धिक अराजकताको हदसम्म प्रश्न गर्दैन । बरु देश, दिशा र काल–चिन्तनको आधारमा सामान्यजनको सत्य एवम् सत्ताको तथ्यलाई जोड्ने प्रयत्न गर्दछ । ऊ संवादको पुल बनाउँछ । त्यस्तो काम उपयोगी भए पनि प्रायशः इज्जतदार मानिंदैन । बडो विरक्तभावमा हिन्दी साहित्यकार सच्चिदानंद हीरानंद वात्स्यायन अज्ञेय घोषणा गर्दछन्, “जो पुल बनाएंगे/वे अनिवार्यतः पीछे रह जाएंगे/सेनाएं होजाएंगी पार/मारे जाएंगे रावण/जयी होंगे राम/जो निर्माता रहे इतिहास में/बंदर कहलाएंगे ।” ग्राम्स्कीले त्यस्ता विडम्बना बुझ्ने र बदल्ने आँट जुटाउन सघाउँछन् ।

समाजवादको अपरिहार्यताबारे अल्बर्ट आइन्सटाइनको कालचिन्तन धेरैले पढ्छन्, केहीले मनन गर्छन्, थोरैले बुझ्छन् र प्रायशः सबैले बेवास्ता गर्ने गर्दछन् । त्यस्तो हुनुका पछाडि व्यावहारिक कारण छन् । उनलाई स्वयमसिद्ध एवम् सुस्पष्ट लागेका समाजिक तथ्य– जस्तो कि असीमित प्रतिस्पर्धाबाट श्रमको अजङ्ग ठूलो बर्बादी हुन्छ र व्यक्तिहरूको समाजिक चेतना पंगु बन्छ, अधिकांशले पचाउनै सक्दैनन् । उनको लेखले छलफललाई ओजिलो भने बनाउँछ ।

शीर्षक ‘सत्य कुरा लेख्दा आइलाग्ने पाँच कठिनाइ’ भए तापनि बर्तोल्ट ब्रेख्तले साहस, सजगता, बुद्धिमत्ता एवम् चतुर्‍याइँभन्दा पनि सीपको बढी व्याख्या गरेका छन् । शब्दचित्रले सुसोभित हाते पुस्तिका जस्तो यो लेखलाई स्थानीय उदाहरणका साथ अझ बढी उपयोगी बनाउन सकिने सम्भावना छ । आखिर गुणीहरू गुणी भएकाले नभएर ‘कमजोर भएकाले पराजित’ हुने गर्दछन् र आफ्ना ‘भूलहरू देख्ने क्षमता’ एवम् साहस बेगर सच्चिन सम्भव छैन ।

विलियम हिन्टनका चिनियाँ प्रयोगमा आधारित ‘पुनःसंस्कारित बौद्धिक’ एवम् ‘शिक्षाको क्रान्तिकरण’का प्रारूपहरू विवादरहित छैनन् । चीनमै पनि त्यस्ता प्रयोगले अपेक्षित सफलताभन्दा अनपेक्षित असर बढी जन्माएको तर्क गर्न सकिन्छ । उनका दुई अन्तर्दृष्टि भने सर्वकालिक महत्वका छन् । पहिलो, श्रम र ज्ञानको समन्वयबेगर फगत बौद्धिकताले सामान्यजनको हित सुनिश्चित गर्न सकिँदैन । दोश्रो कुरा, शिक्षाले सृजनात्मकता दिन सकेन भने दासताको संस्कृतिले व्यापकता पाउँछ ।

सन् १९७० को दशकको मध्यतिर पत्रकार तथा लेखक इडुआर्दो ग्यालियानोले शब्दहरूले आफ्ना अन्तर्निहित अर्थ गुमाउँदै लग्दा उत्पन्न हुन सक्ने सङ्कट औंल्याउदै ‘सबै चीजका सच्चा नाउँहरू’ जोगाउने प्रेरणा दिएका थिए । हुन पनि जब ‘प्रेम’ भन्ने शब्दले गाडीसँगको नाता जनाउँछ र ‘क्रान्ति’ शब्दले चाहिं भान्छामा चमक ल्याउने साबुनलाई इंगित गर्छ भने ल्याटिन अमेरिकाका धेरै देशहरूमा ‘शान्तिपूर्ण देश’को अर्थ ‘राम्ररी हेरचाह गरिएको चिहानघारी’ अनि ‘स्वस्थ मानिस’ भन्नाले कहिलेकाहीं ‘पंगु मानिस’ भनेर बुझ्नुपर्ने अवस्था आउँछ । अनियन्त्रित उपभोक्तावादले पीडित अधिकांश समाजको अवस्था लगभग त्यस्तै हो, जहाँ व्यक्ति आफैंले बनाएका चाहनाहरूको कारागारभित्र स्वयम्लाई कैद गर्दछ र उम्किनै नसक्ने गरी छटपटिरहन अभिशप्त हुन्छ । शब्दको ब्रह्मत्वको खोजी भने निरन्तर चलिरहने प्रकृया हो । त्यो सुस्त हुनासाथ सङ्क्रमण सुरू हुन्छ ।

ग्यालियानोकै साहित्यका वास्तविकता एवम् भ्रमबारे खुलासा र अभिव्यक्ति एवम् राजनीतिक स्वतन्त्रताको पक्षपोषणसम्बन्धी कालजयी लेखहरूले गहिरो अध्ययनको माग गर्दछन् । उनका जटिल तर्कहरूको सङ्क्षेपीकरण सम्भव छैन । उनको आग्रह “यो विश्वलाई विशाल ब्यारेकहरूमा परिणत गर्ने शक्तिशालीहरूको अहङ्कारलाई इन्कार गर्दै हामी त्यस्तो ऐक्यबद्धतालाई स्वीकार गरिरहेका छौं, जसले हामीलाई विश्वव्यापी भावना प्रदान गर्छ...” भने निःशर्त स्वीकारयोग्य लाग्न सक्दछ ।

कुनै बेला सृजनात्मक लेखनको औपचारिक अध्ययन गरेकाले पनि होला, हवार्ड जीन आफ्ना कुरा अत्यन्त प्रभाशालीतवरले राख्न सक्ने चिन्तक हुन् । उनको ‘विद्वताका प्रयोगहरू’ बारेको व्याख्याले कम्तीमा चारवटा कुरा प्रष्ट्याउँछ । पहिलो कुरा, निष्पक्षताको आग्रहमा सामान्यतया यथास्थितिप्रतिको पक्षधरता अन्तरनिहित हुन्छ । दोश्रो, वस्तुनिष्ठ हुनुको अर्थ मूल्य र मान्यताप्रति निरपेक्ष रहनु होइन । तेश्रो, नागरिक–चेतना सबै शास्त्रभन्दा माथि हुन्छ । अन्तिम तर सम्भवतः सबभन्दा महत्‍त्‍वपूर्ण प्रस्तावनाले वैज्ञानिकताको तथाकथित पवित्रतालाई प्रश्नको घेराभित्र तान्दछ । स्वप्नदृष्टि, परिकल्पना एवम् भावनाबेगर जीवनका आदर्शहरू फगत वैज्ञानिकताले बनाउन सकिंदैन ।

सङ्ग्रहको अन्तिम सामग्री प्राध्यापक एडवर्ड डब्लु. सईदको बहुचर्चित व्याख्यान ‘सत्तासँग सत्य बोल्ने विषयमा’ रहेको छ । पक्का, सच्चा र कच्चा बुद्धिजीवीबारे उनी प्रष्टसँग बोलेका छन् । पक्का बुद्धिजीवीका लागि विशेषज्ञता सर्वोपरी हुन्छ । सच्चा बौद्धिक पनि धेरैजसो किन्तु र परन्तु जोडेर बोल्न रूचाउँछन् । गलत ठहरिने डरले त्यस्ताहरूलाई अन्तरआत्माको आवाज मुखरित गर्नबाट रोक्छ । कच्चा बुद्धिजीवीसँग पनि विशेषज्ञता त हुन्छ तर ऊ आफ्नो आस्था प्रस्फुटित गर्ने आँट पनि राख्दछ । सत्ता र सत्य विरलै एकै ठाँउमा हुन्छन् । अयोध्याको रामराज्यबाट झूठा आरोपमा गर्भवती महारानीलाई देशनिकाला गरियो । मर्यादा पुरूषोत्तमका लागि समेत सत्यभन्दा आफ्नो सार्वजनिक छवि महत्‍त्‍वपूर्ण भयो । सत्ताले मिथ्याको खेती गरिरहँदा सत्य बोल्ने जिम्मेवारी कस्को हुने ? कुनै बेला दैहिक सुख–सुविधाको मोह परित्याग गरेका सन्त र महात्माले त्यस्तो जिम्मेवारी निर्वाह गर्ने अपेक्षा राखिन्थ्यो । अब त त्यस्तो छनौट उपलब्ध छैन ।

सामान्यजनका कुरा सत्तादीर्घासम्म पुग्न पाउँदैन । ती सजिलै सुनिंदैनन् पनि । धर्माधिकारीहरूको काम सत्तालाई वैधानिकता प्रदान गर्नमा समेटिएको छ । त्यसैले कच्चा बुद्धिजीवीहरूको सत्यवादिता महत्‍त्‍वपूर्ण बन्न पुगेको हो । हुन त यो प्रस्तावना पनि सुनिएजति सजिलो छैन । सईदलाई कोलम्बिया विश्वविद्यालयको प्राज्ञिक मचानले सुरक्षा र सम्मान दिएको थियो । कतिपय कच्चा बुद्धिजीवीको जीवन सङ्घर्ष गर्दागर्दै सकिन्छ । हिन्दीमा ‘नक्कारखाने में तुती कि आवाज’ भन्ने आहान छ । सत्ताको होहल्लाभित्र सत्यको मसिनो स्वर हराउने गर्दछ । सायद त्यसैले होला– सत्ता, सत्य र बुद्धिजीवीबारे नोम चोम्स्कीका विचारको अभाव यस सङ्ग्रहमा खट्किन्छ तर केही काम त पाठककै जिम्मा लगाउनु पनि अनुचित लाग्दैन । इन्टरनेटका ‘खोजी इन्जिन’ सबै कुरा थाहा भएका ‘गुगल हजुरआमा’जस्ता भएका छन् । निरन्तर अध्ययनको चाहनालाई जगाउनु यस्ता सङ्ग्रहहरूको मुख्य काम हो । त्यति जिम्मेवारी यो पुस्तकले पूरा गर्ने विश्वास गर्न सकिन्छ ।

अस्पष्ट गोरेटो

सन् २०१६, अगस्त–सेप्टेम्बरको कुरा हो । केही पढैया नेपाली युवाहरूलाई सोधियो, “क्यापिटल भन्ने पुस्तक पढेका छौ ?” सबै जसोले कार्ल मार्क्सको नाम सुनेका रहेछन् । दुई युवालाई पुस्तकको उपशीर्षक (क्रिटिक अफ पोलिटिकल इकानमी) पनि थाहा रहेछ । पढेको दाबी गर्ने भने कोही निस्किएन । अर्को एउटा अमेरिकी विद्यार्थीहरूको समूहमा सोही प्रश्न दोहोर्‍याउँदा अर्थशास्त्री थोमस पिकेट्टीको नाम आयो । उनको पुस्तकको शीर्षक ‘क्यापिटल इन द ट्वेन्टी फस्र्ट सेन्चुरी’ हो । झन्डै आठ सयभन्दा बढी पृष्ठको त्यो ग्रन्थलाई चार जनाले पर्गेल्न भ्याइसकेका रहेछन् । पढ्ने रुचि, आवश्यकता र क्षमता पनि परिवेशले निर्धारण गर्ने रहेछ ।

मार्क्सका विचार एवम् उनको विश्लेषणको सान्दर्भिकता विपन्न समाजमा अद्यापि कायम छ तर उनका कार्य योजनाले आफ्ना आकर्षण गुमाउँदै गएका छन् । संसार बदल्न क्रान्ति गर्ने रहर अब युवाहरूबाट पनि हराउँदै गएको छ । क्रान्तिदूतबाट महात्मा भइसके मार्क्स । उनको तस्वीरमा धूपबत्ती हुन्छ । माला चढाइन्छ तर अवलम्बन परको कुरा भयो । उनलाई पढ्नेहरूको जमातसमेत सानो हुँदै गएको यथार्थलाई लुकाउन सकिंदैन । उनले कोरेको गोरेटोलाई कहिले फराकिलो त कहिले साँगुरो पारेका लेनिन वा माओको जादू पनि अब बाँकी छैन । दर्शन सर्वकालिक हुन्छ; त्यसैले मार्क्सवाद ‘पढिने’ छ । व्यापक एवम् सृजनात्मक संसोधनबेगर त्यस विचारधाराको कार्यान्वनले स्वीकार्यता पाउने सम्भावना अहिलेको भूराजनीतिक परिस्थितिमा सम्भव देखिंदैन ।

अर्थशास्त्री पिकेट्टीले “पैसाले पैसा कमाउँछ” भन्ने पुरातन मान्यतालाई प्राज्ञिक वैधता दिएका मात्रै हुन् । बढ्दो विषमता घटाउने उनको नुस्खा रामवाण ओखती नभएर झुक्याउने गोली (प्लसिवो) जस्तो लाग्दछ । विश्व सरकारको परिकल्पना अल्बर्ट आइन्सटाइनले पनि गरेका थिए । पिकेट्टीको करको दरमा समानता भन्ने अवधारणा वैश्विक प्राधिकार बेगर लागु गर्न सकिंदैन । संसार उल्टो दिशातिर गइरहेको छ । शक्ति राष्ट्रहरूका सामु संयुक्त राष्ट्र सङ्घ निरीह देखिन्छ । सैन्यसत्ताले असमनताको प्रत्याभूति गरिरहेसम्म शान्तिपूर्ण क्रान्तिको अवधारणा पुस्तकहरूमा सीमित रहनेछ र युद्ध मानव जातिको नियति भइरहने सम्भावना प्रवल छ ।

महात्मा गान्धीको निर्वाहमुखी प्रारूपमा आधारित स्वराजको अर्थराजनीतिक अवधारणा जलवायु परिवर्तन, वैश्विक उष्णता तथा आसन्न ऊर्जा दुर्लभता एवम् पर्यावरण सङ्कटले गर्दा पुनः आकर्षक लाग्न थालेको हुन सक्दछ । साँच्चै नै पृथ्वीको क्षमता मानवीय आवश्यकता परिपूर्ति गर्नु मात्रै हो । चाहना र लोभले विपत्तिमात्र निम्ताउँछ तर गान्धी पनि महात्मा हुन् । उनलाई फूलमाला चढाइन्छ । बाँकी त अरू के रह्यो र ! गान्धी भारतीय मुद्राको शोभा बढाउने विनिमयका अस्त्र बनिसकेका छन् । उनको जीवनकालमै गान्धी विचार विवादित भइसकेको थियो । जवाहरलाल नेहरू निर्वाहमुखी अर्थतन्त्रको साटो महाशक्तिको सपना देख्न थालिसकेका थिए । सम्यक जीवनका लागि गान्धी प्रारूप उपयुक्त भए पनि त्यसको स्वीकार्यता पिकेट्टी पथजत्तिकै कमजोर छ ।

बजारवादले त निरन्तर युद्धबाहेक केही दिनै सक्दैन भन्ने स्वतःसिद्ध छ । असमानतासँगै असन्तोष बढ्छ । विस्फोट हुन्छ । दमन आकासिन्छ । र, यही दुष्चक्रलाई नाफा क्षेत्रले आफ्नो अनुकूल प्रयोग गर्छ । सबैखाले पुँजीवाद अन्ततः चाकर पुँजीवाद नै हो । परोपकारी पुँजीवादको प्रस्तावना जनहितका लागि नभएर सम्भावित प्रतिरोधलाई भुत्ते बनाउन ल्याइएको हो । पुनः थ्याचर–रीगनको ‘टीना’ मन्त्रको जप ठूलठूलो स्वरमा शुरु भएको छ तर के साँच्चै कुनै व्यावहारिक विकल्प छैन ? के मानव सभ्यता अवश्यम्भावी विनासतिर नै उन्मुख भएको हो ? त्यस्ता प्रश्नले उत्तरको साटो आत्मसमर्पण खोज्दछन् । विकल्प उपलब्ध छैन भने निर्माण गरिनुपर्दछ र सकिन्छ पनि । त्यस दिशामा स्वतन्त्र चिन्तन गर्न यस्ता पुस्तकहरूले सघाउन सक्दछन् ।

प्रायशः स्कैन्डिनेवीआली मुलुकहरूले अवलम्बन गर्ने गरेको बढ्दो आयअनुसारको बढ्दो करको दर, सशक्त र सुस्पष्ट सामाजिक सुरक्षा व्यवस्था एवम् पारदर्शी तथा जवाफदेही सरकारको आवश्यकतालाई प्रजातान्त्रिक समाजवादको प्रारूप ठान्नेहरूमा चिन्तकभन्दा राजनीतिकर्मी बढी हुने गर्दछन् । त्यस्तो प्रारूप सामान्यतः समरूप समाज, सानो राज्य एवम् एकल संस्कृतिमा मात्र प्रभावकारी देखिएको छ । उसै पनि स्कैन्डिनेवीआली मुलुकहरू बहुल समुदाय भएका देशका लागि सहिष्णुता, समावेशिता एवम् स्वशासनका लागि उदाहरण मान्न सकिंदैनन् । सानो एवम् समरूप राज्य एकाइको सफलतालाई हेर्दा सम्मान–आधारित सङ्घीयताको पक्षमा भने स्कैन्डिनेवीआली अनुभव अनुकरणीय ठहरिन सक्छ । अक्कल बेगरको नक्कल त्यो पनि काम लाग्दैन ।

सबैखाले दर्शनको एकमात्र शाश्वत निष्कर्ष के हो भने, कुनै पनि विचार अन्तिम सत्य होइन । निरन्तर परिष्करणमा मानव सभ्यता अडेको छ । गल्तीहरू हुन्छन् । तिनलाई अध्ययन एवम् अनुभवको आलोकमा सच्याउँदै लग्नु पर्दछ । र, त्यो कसरी गर्ने भन्ने प्रश्नको सन्तोषप्रद उत्तर खोज्न कालजयी कृतिहरूको अध्ययन, स्वतन्त्र चिन्तन एवम् अभ्यासबाट आउने अनुभवको समायोजनबाट मात्र सम्भव छ । आखिर नयाँ भन्नु त पुरानोलाई नयाँ किसिमले हेर्न सक्ने क्षमताको अभिवृद्धिभन्दा बढी केही रहेनछ ।

महत्‍त्‍वपूर्ण प्रकाशनको टिप्पणी लेख्ने अवसर पाएकोमा अगुवा अनुवादक एवम् सहयात्री प्रकाशक टोलीप्रति कृतज्ञ छु । पाठकलाई भने यस सङ्ग्रहका विचारहरूसँग भिडिरहने (एन्गेज) शुभकामना !

(खगेन्द्र संग्रौलाले अनुवाद गरेको प्रकाशोन्मुख पुस्तक सत्ता र सत्यमा समाविष्ट सीके लालको टिप्पणी ।)

प्रकाशित : आश्विन १०, २०७७ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?