एउटा गीतको संकटकालीन कथा- साहित्य/विविध - कान्तिपुर समाचार

एउटा गीतको संकटकालीन कथा

नेपालको पहिचानवादी कसरत सांस्कृतिक मात्रै हो कि राजनीतिक पनि हो ? यदि सांस्कृतिक मात्रै हो भने वर्षमा एकचोटि वेशभूषासहित टुँडिखेलमा साकेला नाच्दा पुगिहाल्छ । होइन राजनीतिक पनि हो भने मुक्तिको वैचारिक दिग्भ्रमता किन ? पहिचानको लडाइँ खास कसका लागि हो ? सबैका लागि हो भने त्यो खिया परेको भाष्यको हतियार उध्याइरहनु किन ?
भूपाल राई

काठमाडौँ — त्यसो त यो कथा नलेखे पनि हुने हो । जस्तो दुनियाँमा नलेखे पनि हुने धेरै कथा छन् । तिनीहरू जो लेखिएका छन्, त्यसैले मात्र ती कथा बनेका छन् । नलेखिएका कति कथा होलान्, जो सायद व्यथाका रूपमा लुकेर बसेका होलान् । तर, यो कथा जुन यहाँ लेखिएको छ, व्यथा विरेचनको अकिञ्चन प्रयास वा आत्मतुष्टिको नितान्त निजी विज्ञापन मात्र होइन ।

बरु यसका खास कारण छन् । आउनुस्, ती कारण बताउनुअघि त्यो एक थान गीत, जसको कथा यतिखेर उत्खनन गर्न खोजिँदै छ, त्यसलाई एकचोटि हेरौं–

यो तिम्रै माटो हो तिमीले टेकेको

यो तिम्रै आकाश हो तिमीले ओढेको

आमा यसरी कथा सुनाउँछिन्–

अघि बढ्नेलाई खुला बाटो छ

पछि अड्नेलाई मुरी माटो छ


यी चिहान चौतारी निसानीका चित्र

इतिहास नमाग्ने तिमी भूमिपुत्र

तिमी आवादी हौ भष्मे खोरिया हौ

सिस्नोको जरामा फुल्ने सारंगी हौ

उठी हिँड्नेलाई यात्रा दायाँ छ

थाकी बस्नेलाई छायैं छायाँ छ


पुर्खाले रोपेको तिमी फुल्दो हाँगा

तिमी आफ्नै घरमा आफैँ बास नमाग

तिमी मूलढोका हौ सर्वस्वका धनी

सृष्टिमै तिमी जो थियौ हिमालमुनि

माथि चढ्नेलाई चुली बाँकी छ

तल झर्नेलाई फेदी काफी छ ।

०००

२०४८ सालको संसदीय निर्वाचनमा विजयी किराती सांसदहरूको सम्मानमा काठमाडौंमा एक कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम विशेष किन थियो भने त्यो पहिलो जनआन्दोलनपछिको पहिलो संसदीय निर्वाचनको परिणाम थियो । किरात राई यायोख्खाद्वारा आयोजित सो कार्यक्रममा पहिलोचोटि एउटा गीत गुन्जिन पुग्यो । काठमाडौंको बार एसोसिएसनको हलमा पहिलोचोटि गुन्जिएको त्यो गीत त्यतिखेरका केही सीमित किराती कलाकारहरूले प्रस्तुत गरेका थिए । र, त्यो त्यही गीत थियो, जसलाई बडो आत्मविज्ञापित शैलीमा यस आलेखको थाप्लैमा राख्नुपर्ने भयो ।

अब भने जाऊँ कारणतर्फ । किनभने प्रश्न उठ्न सक्छ, जाबो एउटा सानो गीतको यत्रो कथाकारिता किन ? कतिले साँच्चि नै आत्ममुग्धताको आक्षेप पनि लगाउन सक्छन् । तर, म यस कुरामा दृढ छु कि त्यस्ता केही कारण अवश्य छन्, जसले त्यो गीतको कथालाई पुष्टि गर्नेछन् । ती कारणहरू यस्ता छन्–

पहिलो, केही महिनाअगाडि एक अनलाइन पोर्टलमा लेखक राजकुमार दिक्पालको एक आलेख छापिएको थियो । शीर्षक थियो, ‘भूपाल राईको त्यो प्रतिबन्धित गीत’ । लेखमा एक सुदूर अतीतको गर्तमा हराइसकेको त्यो गीतलाई राजकुमारले जुन तात्पर्यताका साथ स्मरण गर्न पुगेका छन्, त्यसले मलाई आजभन्दा झन्डै तीन दशकअगाडि लगेर पछारिदिएको छ । लाग्यो, म आफैँले पनि अब त्यो गर्तलाई एकचोटि कोट्याउनैपर्ने हुन्छ । उनको त्यो सदाशयताले मलाई उमेरमा कतै छुटेको पहिलो प्रेम झल्याँस्स सम्झाएझैँ गरायो । तब किन आफ्नो त्यो वर्णातीत क्षणलाई आफैँले पनि एकचोटि सम्झेर ‘नोस्टाल्जिक’ हुने सुविधा नलिने त ? किनभने त्यो गर्तको सक्कली दुःख त आखिर मेरो आफ्नै थियो ।

दोस्रो, एउटा खास ध्येयका साथ रचिएको त्यो गीति–कविताले अनेक कालखण्डमा अनेक संकटको ढाट पार गरेर यहाँसम्म आइपुगेको खुसियालीमा कुनै घरपालुवा जनावरले आफ्नै पेटको सञ्चित घाँस चपाएझैँ एक छिन उग्राउँदै यो सहजकाल बिताउनुमा अन्यथा के नै होला र ! त्यसै पनि सुविधाजनक समयमा लेख्ने सुविधा पाएका सुविधाभोगी लेखकहरूको चर्को हल्ला–हंगामाको बीच त्यसको पनि सानो सुस्केरा त अवश्य छ नै । र, त्यो सुस्केराको झिनो कम्पन एकपल्ट हल्का सुनिदिँदा के नै बिग्रिएला र !

तेस्रो, कुनै समय विश्वज्योति हलमा हाउसफुलका साथ चलेको ‘रंगिला’ चलचित्रझैँ यतिखेर चलिरहेको पहिचान लेखनको फेसनबीच त्यो अकिञ्चन वस्तु आज काहाँ होला ? अथवा संकटको घडीमा त्यो एक्लै लडिरहेको बेला यतिखेरका पहिचानका स्वघोषित मसिहाहरू कहाँ थिए होलान् ? सामान्य चासो त अवश्य लाग्छ नै । र, लागेर कि यी दुवैका आ–आफ्ना ठाउँ–ठेगानाको बारेमा केही बहस त अब हुनैपर्छ ।

र चौथो, चालीसको उत्तरार्द्धतिर मैले जसरी गीति कर्मको वैकल्पिक बाटो हठाथ पक्रिनुपर्‍यो, त्यो त्यत्तिकै गरिएको थिएन । नेपालमा विद्यमान अनेक खाले विभेदसँगै जातीय विभेद र उत्पीडन पनि एक चर्को र प्रमुख समस्या थियो, जुन अद्यावधि छँदै छ । एकल जातीय र एकल सांस्कृतिक वर्चस्वको खिलाफमा जे जति कविता लेखिरहेको थिएँ, मलाई लाग्थ्यो त्यसले सोचेजस्तो काम गरिरहेको थिएन । अथवा त्यसले पार्ने प्रभाव एकदमै कमजोर थियो । किनभने जसको लागि भनेर कविता लेखिन्थ्यो, त्यो त्यहाँसम्म पुग्दैनथ्यो । पुगे पनि त्यो भनेजस्तो सम्प्रेष्य हुँदैनथ्यो । यही समस्याका कारण मैले कविताको समानान्तर अर्को बाटो पक्रिन पुगेको हुँ । यसर्थ कि सम्प्रेषणको हिसाबले ‘गीत’ कविताभन्दा निकै नै सहज र शक्तिशाली हतियार थियो । त्यसैले मैले धेरै ठाउँ, धेरैपटक भनेको पनि छु ‘गीतकारिता’ मेरो बाध्यताको उपज हो ।

र, त्यो गीत मेरो त्यही समानान्तर हतियारको एक कडी थियो ।

०००

लगभग तीन दशकअगाडि । अर्थात् ०४८ सालको एक अपराह्न । बार एसोसिएसनको त्यो सानो हल । बस् यहीँबाट सुरु हुन्छ अब त्यो गीतको कथा ।

मलाई थाहा छ, कथाको नाममा कुनै अतिरञ्जना बाँड्नु हुँदैन । तर, यसको अर्थ यो पनि होइन कि भएका कुराहरू छुट्न पुगोस् । म ढाँट्दिनँ, आरम्भमा जुन हलबाट त्यो सुरु भएको थियो, निःसन्देह त्यो एक सामान्य गीत मात्र थियो, जसलाई दुई–चार जना कलाकारले गाएका थिए । तर, जब गीत हलबाहिर निस्कियो त्यो एउटा सामान्य गीत मात्र भएर निस्किएको थिएन । एकाएक निकै ठूलो आयाम लिएर त्यो त्यहाँबाट निस्कियो । गीतले प्रक्षेप गरेका शब्दहरूभन्दा माथि अर्थको निकै अग्लो उचाइका साथ । अझ हलभन्दा पर पुगेर त झन् त्यो बिस्तारै गीतभन्दा बढी विचारको वाहक भएर गुन्जिन थाल्यो । पछि यस्तो हुँदै आयो किरातीहरूका प्रत्येक सामाजिक, राजनीतिक कार्यक्रम र आन्दोलनहरूका सबभन्दा पहिलो मोर्चा त त्यसैको बलमा उठ्न थाल्यो । आत्मप्रशंसा नठानियोस्, कतिपय बहस, शोध र कार्यपत्रहरूमा समेत त्यसले वैचारिक ठाउँ पाउन थाल्यो । यसरी दुई–चार जना किराती सांसदहरूको श्रवणसुखबाट सुरु भएको त्यो गीत पूरै किराती समुदायमा समाहित हुन पुग्यो । एउटा ठूलो समुदायको बैचारिक खुराक बन्यो । कालान्तरमा त्यो अधिकांश किराती कलाकारको साझा गीत बन्यो । आज केही अपवादलाई छाडेर त्यस्ता कोही नयाँ–पुराना किराती कलाकार छैनन्, जसले त्यो गीत नगाएका होऊन् । गीतको तुलनात्मक शक्ति र सामर्थ्यको जुन संकेत मैले माथि गरेको थिएँ, त्यो साँच्चि नै त्यसमा पुष्टि हुन पुगेको थियो ।

यति नै खेर मलाई राजकुमार दिक्पालको माथि वर्णित आलेखको एउटा अंश याद भइरहेछ । त्यही गीतले स्थापित गरेको वैचारिक आकर्षणलाई आकलन गरेर हुन सक्छ, उनले मेरो गीत (कारिता) र किराती कलाकारबीचको सम्बन्धलाई जान अञ्जानमा ‘माहुरी र रानो’ को उपमा प्रयोग गर्न पुगेछन् । लगत्तै, एक अर्को लेखकको खण्डनले त्यसलाई देवत्वकरणसँग दाँज्न पनि भ्याइहालेछ । देवत्वकरणको बारेमा यहाँ बहस नगरूँ । तर, माहुरी र रानोको सम्बन्धबारे भने केही भन्नैपर्छ । एकैठाउँ वा एउटै चरनमा माहुरीहरूको सयौँ घार राखौँ । प्रत्येक घारका बीस–पच्चीस हजार माहुरीहरू सरासर आ–आफ्नै घार पहिल्याएर फर्किन्छन् । एउटै माहुरी पनि झुक्किएर वा अलमलिएर छिमेकी वा अर्काको घारमा पस्दैनन् । यस्तो कसरी सम्भव हुन्छ ? यस्तो किन हुन्छ भने प्रत्येक घारको प्रत्येक रानीले आ–आफ्ना माहुरीहरूलाई आकर्षित गर्नका लागि छुट्टाछुट्टै रसायन उत्पादन गर्छन् । छुट्टाछुट्टै बासना फ्याँक्छन् । त्यही रसायन पहिल्याएर हजारौँ माहुरी नअलमलिईकन आ–आफ्नो घार फर्किन्छन् । यसरी रानोको त्यो रसायन प्रक्रियासँग देवत्वकरणको अन्धता दाँज्नु सही हुँदैन । यी दुई अलग–अलग विषय हुन् । बरु रानोको त्यो रसायन प्रक्रिया र मान्छेको वैचारिक आकर्षणबीच भने केही न केही साम्यता अवश्य छ । केवल आफ्नो प्रशंसा मात्रै सुन्ने बानी परेको, तर अर्काको बारेमा कसैले एक शब्द खर्चेको सुन्दा पनि ‘तनाव’ हुने मानिसका निम्ति यो विषय अपच हुन सक्छ ।

त्यही आकर्षण र सद्भावले बिस्तारै त्यो गीतको कथाले अर्कै मोड लिन थालेको थियो । धेरैको सुझाव थियो, ‘रेडियो नेपालमा रेकर्ड गरेर त्यसलाई अझ सर्बव्यापी बनाऊँ । झन् सर्वग्राही बनाऊँ ।’ सुझाव र सकारात्मक दबाबका कारण सोच पनि त्यस्तै बन्यो । रेकर्डका लागि रेडियो नेपालमा डेट माग्नुपर्थ्यो, मागियो । रेडियो नेपाल त्यतिखेरको एक मात्र निर्विकल्प सञ्चार शक्ति वा राज्यको एकमना सांस्कृतिक संयन्त्र थियो । रेकर्ड गर्नुअगाडि नै पास गरिसक्नुपर्ने नियम हुनाले गीत अग्रिम बुझाउनुपर्ने हुन्थ्यो । त्यसका लागि त्यहाँ एउटा अनौपचारिक सेन्सर बोर्डजस्तो हुन्थ्यो । अथवा बोर्डको नाममा एउटा खास संस्थापकीय धारणा र तजबिजले ग्रस्त एक दुई सदस्य हुन्थे ।

रेकर्डिङको मिति नजिक आइसकेको थियो । तर, अचानक गीत अस्वीकृत भएको संकेत आयो । कुरा बुझ्न सेन्सर बोर्ड खोज्दै गएँ । कुर्सीमा एक जना त्यतिखेरका ख्यातिप्राप्त गजलकार बोर्डको गुरुत्तम भारी थामेर बसिरहेका भेटिए ।

सोधेँ, ‘मेरो गीत के भो ?’

ख्यातिप्राप्त बोर्डले भन्यो, ‘तपाईंको गीत अस्वीकृत भयो ।’

फेरि सोधेँ, ‘किन ?’

जवाफ आयो, ‘केही शब्दहरू आपत्तिजनक छन् ।’

बिनाकुनै बहस मैले अन्तिम प्रश्न गरेँ, ‘खोइ मेरो गीत फिर्ता दिनोस् । म बुझ्न चाहन्छु, त्यहाँ कुन–कुन शब्दहरू आपत्तिजनक छन् ?’

एक सदस्यीय बोर्डले गीतको हस्तलिखित पाना फिर्ता दियो । सर्सर्ती हेरेँ । त्यसमा प्रयुक्त भूमिपुत्र, भष्मे खोरिया आदि शब्दहरूमा रातो रेजा लागेको थियो ।

यसरी त्यो गीतको कथाले अर्कै मोड त लिँदै थियो । तर, साथसाथै त्योसँग जोडिएर आउने संकटको घडी पनि त्यहीँबाट सुरु हुन पुगेको थियो । पहिलो जनआन्दोलनको ऐतिहासिक धक्काले निरंकुश पञ्चायत ब्यवस्था ढलिसकेको थियो । प्रजातन्त्र पुनर्बहाली भइसकेको थियो । अनेक बागी विचार र प्रतिबन्धित सृजनाहरूले फुकुवा पाइसकेका थिए । तर, त्यही खुला र प्रजातान्त्रिक देशले मेरो गीतमाथि संकटकाल लगाएको थियो । यसरी प्रजातान्त्रिक भनिने तथाकथित ब्यवस्थामा पनि मेराजस्ता केही मुक्तिकामी विचार अस्वीकृत हुन्थे ।

तर, मैले हार खाइनँ । अस्वीकृत गीत बोकेर म सरासर रेडियो डाइरेक्टरको कक्षमा गएँ । मलाई जहाँसम्म लाग्छ, त्यतिखेर डाइरेक्टर शैलेन्द्रराज शर्मा थिए । रातो रेजा लागेको गीतको पाना जस्ताको तस्तै उनको हातमा थमाउँदै मैले भनेँ, ‘ल भन्नुस् यी शब्दहरू के कारणले आपत्तिजनक भए ? के यिनीहरू गैरनेपाली शब्द हुन् ?’

मैले अझै थपेँ, ‘यदि यो गीत कुनै कुत्सित पूर्वाग्रहवश अस्वीकृत ठहराइन्छ भने म सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन बाध्य हुनेछु ।’

मेरो कुराले के प्रभाव पार्‍यो कुन्नि, सेन्सरको कुनै दुहाई नदिई भोलिपल्ट सहजताका साथ रेकर्डिङको अवसर प्राप्त भयो । यो सम्भवतः ५०–५१ सालतिरको कुरा हो ।

त्यसपछि रेडियो नेपालबाट केही समय त्यो गीत निर्बाध रूपले बज्यो, बजिरह्यो । कति महिना वा वर्षपछि हो मलाई हेक्का छैन, एक दिन अचानक नेपथ्य ब्यान्डका गायक तथा अभियन्ता भाइ अमृत गुरुङको फोन आयो, ‘दाइ, एउटा नयाँ खालको राष्ट्रिय गीत रेडियो नेपालले प्रसारण गरिरहेको सुनेँ । त्यो तपाईंको गीत रहेछ । नेपाल टेलिभिजनको लागि छायांकन गर्दा कसो होला !’

अमृत गुरुङको शब्द ठ्याक्कै यही थियो कि थिएन मलाई त्यो पनि हेक्का छैन । तर, उनको आशय भने ठ्याक्कै यही थियो । उनी त्यतिखेर केही समयका लागि नेपाल टेलिभिजनमा आबद्ध हुन पुगेका थिए र केही राम्रा र अर्थपूर्ण राष्ट्रिय गीतहरूको निर्माणमा जुटेका थिए । पछि उनकै सक्रियता र परिकल्पनामा त्यो गीत नेपाल टेलिभिजनको स्टुडियोमा छायांकन हुन पुगेको थियो । र, धेरैचोटि मेरा आफ्नै आँखालाई समेत उनको त्यो सत्प्रयास हेर्ने अवसर प्राप्त भएको थियो ।

यो घटना त्यो संकटग्रस्त गीतको कथामा जोडिन आइपुगेको एक सुखद मोड थियो ।

०००

२०५४ सालमा पूर्वमा खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा (खरामुमो) सशस्त्र विद्रोहका लागि भूमिगत भयो । तत्कालीन राज्य र विरोधी तप्काको भाषामा जंगल पस्यो । भोजपुर जिल्लाको दिङ्ला र गोगनेस्थित दुइटा संस्कृत विद्यालयमाथि भौतिक कारबाही गरेर सुरु भएको त्यो विद्रोहको मूल उद्देश्य विद्यमान जातीय विभेद र उत्पीडनकै निर्मूलीकरण थियो । दुई, सवा दुई सय वर्ष पुरानो एकल नस्लीय र केन्द्रीकृत राज्य प्रणालीको चरित्रमाथिको सशस्त्र जेहाद थियो त्यो । उता त्योभन्दा अगाडि पश्चिम नेपालबाट सुरु भएको माओवादी ‘जनयुद्ध’ ले देशव्यापी प्रभाव जमाइरहेको थियो । राज्यसत्ताको आँखामा यी दुवै घोर आतंककारी थिए । देश गृहयुद्धको विकराल चपेटामा फसिरहेको थियो ।

यही बेला, मैलेसमेत थाहै नपाई रेडियोमा बजिरहेको त्यो गीतलाई टपक्क टिपेर खरामुमोले आफ्नो अघोषित राष्ट्रिय गीत बनाएछ । उसका कार्यकर्ताहरूले पूर्वी पहाडका विद्यालयहरूमा त्यतिखेरको ‘श्रीमान् गम्भीर’ भन्ने राष्ट्रिय गीतलाई हटाएर त्यो गीत गाउन लगाउन थालेछन् । यहाँसम्म कि उनीहरूले आफ्ना हरेक कार्यक्रम र कारबाहीमा समेत त्यही गीत प्रयोग गर्न थालेछन् ।

नेपालमा खास–खास विचारसँग आवद्ध, पार्टी निकट र आन्दोलनसँग जोडिएका त्यस्ता धेरै सामयिक गीत–संगीतहरू अवश्य छन् । तिनीहरूले समयसमयमा जनमानसलाई जागृत गर्ने, जनलहर परिचालन गर्ने कामहरू पनि गरेका छन् । म आफैँले पनि त्यस्ता कैयौँ गीत गाएर आफ्नो युवाकाललाई ऊर्जावान बनाएकै हुँ । ‘आमा दिदी बहिनी हो’, ‘बसाइँ हिँड्नेको ताँतीले’, ‘एक युगमा एक दिन एकचोटि आउँछ’, ‘गाउँगाउँबाट उठ’ जस्ता अनेक गीत मेरा युवाकालका उत्प्रेरक गीत अवश्य थिए । तर, मिहिन ढंगले नेपालको सामाजिक संरचना र त्यसको विशिष्टता बुझेर त्यसभित्र विद्यमान जातीय उत्पीडनलाई उजागर गर्ने गीत त्यतिबेलासम्म सायद थिएन । यसर्थ कि नेपालको वर्गभेद र यहाँको वर्गीय संरचना आफैँमा विशिष्ट छ, यो प्रत्क्षतः वर्णाश्रम ब्यवस्था र जातीय संरचनाको जगमा उभिएको छ भन्ने कुरा उनीहरू स्वीकार गर्दैनथे । मैले त्यही अदेखा आयाम र सृजनात्मक अभावलाई पूरा गर्ने सानो कोसिस गरेको थिएँ त्यो गीतमा । नेपालको आन्तरिक राष्ट्रियता सबल नबनी देश नबन्ने वैचारिक सचेतताका साथ नै मैले त्यसमा जातीय मुक्तिको संकेत गरेको थिएँ ।

माथि पहिचानको विषयमा पनि थोरै प्रसंग उठिसकेको छ । मुक्ति र स्वाधीनताका राष्ट्रिय–अन्तर्राष्ट्रिय आन्दोलनको इतिहासलाई एक छिन थाती राखेर केवल शब्दको बजारीकरणलाई मात्र ध्यान दिने हो भने यो (पहिचान) नेपालका लागि नयाँ भाष्य हो । यो खासगरी दसवर्षे ‘जनयुद्ध’ ले उत्खनन गरेको सबैखाले मुक्तिको आलोकमा दोस्रो जनआन्दोलनपछि झुल्किएको नयाँ शब्दावली हो । तर, मैले तीन दशकअगाडि जुन गीत तयार पारेको थिएँ, त्यो अहिले प्रचलित पहिचानजनित हल्लाका लागि थिएन । त्यो एउटा खास वैचारिक आधार र खास दर्शनको जगमा लेखिएको एक खास मुक्तिको संखघोष थियो । मलाई यसो भन्दा खुसी लाग्छ कि म अहिले पनि कुनै स्वघोषित पहिचानवादी सर्जक नभएर एक सचेत जातीय र राष्ट्रिय मुक्तिवादी लेखक हुँ । प्रकारान्तरले म अवश्य पहिचानवादी लेखक पनि हुँला तर समूल जातीय मुक्तिको सैद्धान्तिक धुरी भत्काएर होइन । किनभने मलाई लाग्दैन कि नेपालमा प्रचलित पहिचानको दिग्भ्रमित कसरतबाट मेरो जातिलाई मुक्ति प्राप्त हुनेछ । मैले त चाहेको समुल मुक्ति हो, जो खास बैचारिक बलबाट अनुप्राणित छ । नेपालको पहिचानवादी कसरत ठीक यहीँनेर चुकेको छ । त्यो मुक्तिको सैद्धान्तिक लिकबाट उछिट्टिएर फेसन र हल्लाको बजारमा छरिन पुगेको छ ।

यही सन्दर्भमा भनिहालूँ । केही–केही पहिचानको ठेक्कापट्टा चलाउने लेखकहरू, जो पहिचान लेखनको सुरुआत आफैँबाट भएको चर्चा गर्छन्, तिनीहरूलाई लाग्छ कि म एक भूतपूर्व पहिचानवादी लेखक हुँ । तर, तिनलाई हेक्का छैन, जो पहिचानको दिग्भ्रमित हौवा फैलाएर सम्मानित हुने सर्तमा कहिल्यै पहिचानवादी भएन ऊ कसरी भूतपूर्व पहिचानवादी हुन्छ ? पहिचानवादीहरूले आफैँलाई प्रश्न गर्नुपर्छ, नेपालको पहिचानवादी कसरत सांस्कृतिक कसरत मात्रै हो कि राजनीतिक पनि हो ? यदि सांस्कृतिक मात्रै हो भने वर्षमा एकचोटि वेशभूषासहित टुँडिखेलमा साकेला नाच्दा पुगी नै हाल्छ । होइन राजनीतिक पनि हो भने फेरि मुक्तिको वैचारिक दिग्भ्रमता किन ? र, अर्को कुरा पहिचानको लडाइँ खास कसको लागि हो ? त्यो उत्पीडित वर्गका लागि मात्रै हो कि उत्पीडकका लागि पनि हो ? यदि सबैका लागि हो भने त्यो खिया परेको भाष्यको हतियार उध्याइरहनु किन ? संविधानमै ‘खस आर्य’ जातिको पहिचान सूचीकृत भइसकेपछि पहिचानको लक्षित मुद्दा र नारा नै प्रदूषित भैसकेको अनुभूति हुँदैन र ?

एक सशस्त्र विद्रोही शक्तिले त्यो गीतलाई आफ्नो राष्ट्रिय गीत बनाएको खबर सुनेपछि मलाई लाग्यो, बल्ल त्यसले आफूले परिकल्पना गरेको दुनियाँ भेटेछ । रेडियोमा बज्दा त्यसले व्यापक बजार त पाएको थियो । तर, त्यसले उचालेको वैचारिक धर्मिताको खोज बजार थिएन, कुनै लक्षित विचारको केन्द्र थियो । कतै हराएको बालकले अचानक आमाको काख पाएजस्तै त्यसले आफूले खोजिरहेको काख पाएको थियो । किराती समुदायबाट सुरु भएको त्यो सामान्य गीतले अब बल्ल स्कुलका विद्यार्थीहरूको ओठ पाएको थियो । विद्रोही लडाकुहरूका लागि विचार निर्माणको काम गरिरहेको थियो । शान्तिप्रक्रिया पछाडि मलाई कत्ति लडाकुहरूले भेटेर भनेका थिए, ‘हामी त्यही गीत सुनेर क्रान्तिमा होमिन प्रेरित भएका हौँ ।’ यसरी कुनै सशस्त्र मोर्चाको कार्यक्रमसँग आबद्ध हुने, तिनीहरूको कार्यसूचीकै एक अंग भएर रहने र प्रत्यक्ष जीवनको रूपान्तरणसँगै जोडिने सौभाग्य दुनियाँका कमै रचनाले पाएका होलान्, जुन सौभाग्य त्यो गीतले प्राप्त गरेको थियो ।

त्यो घटनाको सूचना बिस्तारै सहरसम्म पनि आइपुग्यो । त्यसपछि बिस्तारै रेडियो नेपालबाट त्यो गीत बजेको सुन्न छाडियो । नेपाल टेलिभिजन वा अरू कुनै पनि सञ्चारगृह, जहाँजहाँबाट त्यो गीत प्रसारण हुने गर्थ्यो, सबैबाट क्रमशः त्यसको नाम निसाना हट्दै जान थाल्यो । मैले कतै त्यसको विषयमा खोजीनिती गरिनँ पनि । एकैचोटि ५६–५७ सालतिर उनै राजकुमार दिक्पालले मलाई खुसुक्क सूचना दिए, ‘त्यो गीत खरामुमोले राष्ट्रिय गीत बनाएपछि प्रतिबन्धित भएको छ ।’ राजकुमारलाई त्यो गुह्य कुरा यसकारणले थाहा थियो कि उनी केही समय धनकुटा क्षेत्रीय रेडियो स्टेसनको सूचना संकायमा कार्यरत थिए ।

यसरी फेरि अर्कोचोटि त्यो गीतमाथि संकटकाल लागेको थियो । एक प्रजातन्त्रिक देशमा एउटा मुक्तिकामी विचार प्रतिबन्धमा परेको थियो ।

यो, त्यो गीतको कथामा आइलागेको अर्को अलग मोड थियो ।


०००

कथा हो । सानातिना घटना जोड्नैपर्छ । तब न बुनिन्छ कथा !

५७ साल । पूरै देशमा राजनीतिक संकट चर्किरहेको थियो । माओवादी र तत्कालीन सरकारबीच वार्ता हुँदै–टुट्दै गइरहेको थियो । यता माओवादी र खरामुमोबीच पनि एकताको प्रयास भइरहेको थियो । ५८ जेठ १९ को दरबार हत्याकाण्डपछि त झन् सत्ताको बागडोर ज्ञानेन्द्रको हातमा पुग्यो । सबैखाले राजनीतिक गतिविधि र विचारमाथि अंकुश लाग्न थाल्यो । भेला, सम्मेलनमाथि निगरानी बढ्यो । वाक् स्वतन्त्रता धरापमा पर्‍यो । जताततै सुरक्षाकर्मीहरूको खानतलासी बढ्यो ।

यस्तै बेला पूर्वबाट निर्देशन आयो । काठमाडौंबाट मेरो सम्पादकत्वमा खरामुमोको मुखपत्र छाप्नुपर्ने भयो । म उतिबेला काठमाडौंमै रहेर पनि खरामुमोको अघोषित सहयोगी–शुभचिन्तक थिएँ । युद्धका अनेक प्रकाशन सामग्रीहरू र जनकारबाहीका सचित्र क्रियाकलाप उतैबाट आउँथे । इन्टरनेटको जमाना थिएन । सामग्रीहरू बडो जोखिमका साथ कार्यकर्ताले नै जोगाएर ओसारपसार गर्नुपर्थ्यो । मोर्चालाई सघाउ पुर्‍याउने बाँकी लेखरचनाहरू धरानका सहयोगी कुलचन्द्र राईका साथ काठमाडौंमै जुटाउनुपर्थ्यो ।

प्रकाशित हुने मुखपत्रको नाम रहने भो– ‘नव–चोमोलुङ्मा’ । तर, त्यतिखेर त्यस्ता सामग्रीहरू छाप्ने आँट भएका छापाखाना पाउनै मुस्किल थियो । छाप्नासाथ उठाइहाल्ने सर्तमा बल्लतल्ल पुतलीसडक न्यु प्लाजामा एउटा प्रेस फेला पर्‍यो । यसरी त्यो ‘नव–चोमोलुङ्मा’ को पहिलो अंकको पहिलो आमुखमा फेरि त्यही प्रतिबन्धित गीत छापियो । फेरि लाग्यो, त्यो तीन पाउको सानो रचना मात्र एउटा गीत थिएन । युद्ध–मोर्चामा डटिरहेको एउटा जिउँदो लडाकु थियो ।

म्याग्जिन आकारको मुखपत्र । पाँच पाँच हजार प्रति । हातमा बोकेको सानो पर्चाले समेत ज्यानै जोखिममा पार्न सक्ने संकटकालमा त्यत्रो सामग्री व्यवस्थापन गर्नु फलामको च्युरा चपाउनु बराबर थियो । प्रेसबाट अनेक जोखिम मोलेर सीधा धरानस्थित सेल्टर पुर्‍याउनुपर्थ्यो । त्यहाँबाट बल्ल त्यस्तै जोखिमका साथ त्यो उँभो पहाड उक्लिन्थ्यो ।

यसरी पहिलो अंक त जसोतसो व्यवस्थापन गरियो तर दोस्रो अंक पठाउने उचित माध्यम नभेटेर आधीभन्दा बेसी पत्रिका प्रेसमै थन्किने अवस्था आयो । प्रेसले राख्न नमान्ने निश्चित थियो । त्यसैले बाँकी सबै सामग्री मैले डेरामै ल्याउनुपर्‍यो । त्यतिखेर मेरो डेरा डिल्लीबजार चारखाल अड्डाअगाडि थियो । भनिरहनु पर्दैन, कुनै सुइँको पाउनासाथ जतिबेला पनि सेनाले घर छापा मार्न सक्थ्यो । यसबाट बँच्नका लागि जसुले कहिले तिनीहरूलाई टाट्मुनि लहरै राखेर बिछ्याउँथिन्, कहिले पुरानो घरको अँध्यारो ट्वाइलेटको तख्तामा थाक लगाएर लुकाउँथिन । कैयौं दिनसम्म तिनको त्यो व्यस्त दैनिकी नै बनेको थियो ।

पञ्चायतकालमै पनि गोपालप्रसाद रिमालको ‘आमाको सपना’ पाठ्यक्रममै पढेको मान्छे म । भूपिको ‘हामी’, काइँलाको ‘मातेको मान्छेको भाषण...’ पढेर उहिले नै कलेजको परीक्षा दिएको मान्छे । तर, आफ्नै एउटा गीतमाथि लागेको पटकपटकको संकटकाल आफ्नै आँखाले भोग्दा आफैँ बाँचेको त्यो समय र व्यवस्थाप्रति म यतिखेर सशंकित हुन्छु । त्योभन्दा अझ बढी सहज र सहकालमा पाउलिएका बेर्नाहरूले सम्पूर्ण आकाश थामेको चमत्कार देखेर अवाक बन्छु । आज पनि जसै म त्यो गीत सम्झिन्छु, सुविधाकालका सारा हल्ला र भुइँफुट्टा दाबीभन्दा संकटकालको त्यो एक पलबाट म बढी रोमाञ्चित हुन्छु ।


०००

आउनुस्, अब भने कथाको अन्तिम परिच्छेदतिर जाऊँ ।

एकता प्रक्रियापछि खरामुमो माओवादी बनिसकेको थियो । यसपछाडि शान्तिप्रक्रियामार्फत माओवादी सार्वजनिक भयो । एउटा महत्त्वपूर्ण कुरा के भने खरामुमोसँगको एकतापछि माओवादीले ६० सालतिरै विभिन्न जातीय मुक्ति मोर्चाहरूलाई निसर्त रूपले अंगीकार गरेको थियो । त्यसैमध्येको एउटा थियो– किराती राष्ट्रिय मुक्ति मोर्चा (किरामुमो) । म त्यसको एक अनुमोदित संस्थापक सल्लाहकार थिएँ ।

६३ सालमा त्यही किराती राष्ट्रिय मुक्ति मोर्चाको पहिलो एकता सम्मेलन धरानमा भव्य रूपले हुन गयो । धरान पब्लिक हाई स्कुलको प्रांगणमा दसौं हजार मान्छेको उपस्थितिमा फेरि अर्कोपटक किरामुमोले त्यो गीतलाई आफ्नो राष्ट्रिय गीत घोषणा गर्‍यो । त्यो किरामुमोको पहिलो र आधिकारिक घोषणा थियो । त्यो गीत त्यति नै हजार मान्छेको अगाडि फेरि त्यहाँ एकपटक गुञ्जायमान भयो । यसरी बार एसोसिएसनको सानो हलबाट, थोरै किरातीहरूको साक्षबाट सुरु भएको त्यो गीत अब सबै उत्पीडित जाति, वर्ग, लिंग, क्षेत्र र समुदायको हुन पुगेको थियो ।

त्यहाँ माओवादी नेताहरूसँगै स्टेजमा मलाई देखेर भोलिपल्ट धरानका पत्रकारहरूले सोधे, ‘तपाईं कहिलेदेखि माओवादी बन्नुभयो ?’ जवाफमा मैले भनें, ‘म माओवादी बनेको होइन, माओवादी मजस्तो बनेको हो ।’

‘कसरी ?’ उनीहरूले फेरि सोधे ।

भनेँ, ‘किनभने २०४८ सालदेखि मैले मेरा सृजनाहरूमा उठाएको एजेन्डा बल्ल माओवादीले आफ्नो बनाएको छ ।’ सञ्चारजगत्, विरोधी कित्ता वा संस्थापन विचार सबको नजरमा माओवादी बन्नु पनि एउटा ठूलै अपराध गर्नुजस्तो ठानिने त्यतिखेरको समयमा मलाई त्यस्तो प्रश्न गरिएको थियो । मलाई लाग्छ, म माओवादी बन्नु/नबन्नुभन्दा पनि मेरो उत्तरले त्यतिबेला जे भन्न खोजेको थियो त्यो सायद विशेष अर्थपुर्ण थियो ।

अब, यतिखेर त्यो खरामुमो छैन । त्यही रूपको माओवादी छैन । त्यहीअनुसारको किरामुमो पनि छैन । तर, कहीं न कहीं त्यो गीत अझै छ । र, त्यो गीत छिट्टै मर्नेवाला पनि छैन । किनभने त्यसले देखेको सपना अझै पूरा भएको छैन । सायद लेख्नुपर्ने त्यसको कथा अझै बाँकी छ ।

र, नलेखे पनि हुने यत्ति कथाचैँ अब लेखिसकिएको छ ।

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : आश्विन ९, २०७७ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्

त्यसपछि आमा माकुरा हुनुभो

माकुराको बच्चाले आफ्नै माउ खाएजस्तै हामीले नै हाम्रो आमाको पाठेघर रोगी बनाएका हौँ। हामीले नै आमालाई चिथोरीचिथोरी खाएका हौँ । हाम्रै कारणले आमा यतिखेर माकुरा हुनुभएको छ ।
भूपाल राई

आमालाई कोरोना के हो थाहा भएन । त्यसको कैफियत हात उहाँसम्म पुगेन पनि । तर, त्यसलाई सम्बोधन नगरी आजका कुनै पनि घटना पूरा हुँदैन भन्ने यथार्थबाट म पूरापूर जानकार छु । त्यसैले कोरोनाकालकै छायामुनि म यतिखेर आमाको दुःखान्त यादमा छु ।

म देखिरहेको थिएँ- ठीक यही संकटका बेला मेरो घरमा एक अर्को संकट थपिन गैरहेको थियो । र, स्पष्ट चाल पाइरहेको थिएँ, त्यो संकट झन्झन् नजिक आउनेवाला थियो । बिस्तारै–बिस्तारै मेरो आँखैअगाडि आमा शिथिल बन्दै जानुभएकोथ्यो । हरेक बिहान हेर्थें, यस्तो लाग्थ्यो— आमा क्रमशः सिद्धिरहनुभएको छ । हरेक रात आमाको जीर्ण शरीरबाट जीवनको एक दिन चोइटिएर खसिरहेको छ ।

त्यसो त म मात्र होइन सारा दुनियाँ लकडाउनले आक्रान्त थियो नै । ठीक यत्ति नै बेला त्यस्तो दुःखान्त विपत्ति थप हुनु र त्यसको प्रतक्ष भोक्ता हुनु अवश्य मेरो मात्र एक्लो अनुभव थिएन । तर, हरेक दिन एउटा जिउँदो अस्तित्व नामेट हुँदै गरेको दृश्यपटमा आफ्नै चेतनाले आमालाई सिद्धिँदै गएको हेर्नु बेग्लैखालको पीडा थियो, जसले मलाई आफ्नै अगाडि तेर्सिरहेको विश्वजनिन संकटको आयतन अरू थप सघन भएको अनुभूति बाँडेर गयो ।

चालु महाव्याधिले प्रदान गरेको बहुपक्षीय प्रलय निःसन्देह कल्पनातीत थियो र छ । तर, मानिसहरूले प्रलय सँगसँगै पनि बाँच्ने कला सिके । संकटकै घडीमा पनि नीहरूको जिजीविषाको जाँगर मरेन । कत्तिले कविताको बाढी बगाए । आख्यानको आँधी उडाए । अनलाइन वार्ता र संगोष्ठीहरूको पहिरो चलाए । तर, मैले त्यस्तो केही गर्न सकिनँ । सेल्फ क्वारेन्टाइन र आइसोलेसनको लामो फुर्सदलाई मैले पटक्कै उपयोग गर्न सकिनँ । यसर्थ कि कोरोना मेरालागि डरलाग्दो कोलाहल थियो । ढाँट्दिनँ, कोलाहलमा म केही गर्नै सक्दिनँ । अरू त अरू मैले यो विषयमा एक पातो डायरीसमेत लेख्न सकिनँ । बरु लामो लकडाउनको कहालीलाग्दो छायामा व्यथित मात्रै भइरहेँ । भित्रभित्रै विचलित बनिरहेँ । चढ्दो तनाव र उद्विग्नताका साथ जसोतसो लकडाउन सुरु भएको चैतको आधा महिना त गालेँ । तर, अगाडि तेर्सिरहेको अनिश्चित भयदेखि झन् बढी विचलित भैरहेको थिएँ । सौभाग्यवश वैशाखको पहिलो सातातिर कुनै उपायद्वारा मैले हिँडडुल गर्न मिल्ने एउटा आधिकारिक कागज फेला पारेँ र त्यसैको आडले दिनको एकचोटि मोटरसाइकलबाट सहर र रिङरोड परिक्रमा गर्न थालेँ । यसरी म कोरोनाको कोलाहलभन्दा पनि घरबन्दीको एकाकीपन र छटपटीबाट तंग्रिन खोजिरहेथेँ ।

ठ्याक्कै यस्तै बेला ममाथि त्यो विपत् थपिन पुगेको थियो, जसको संकेत मैले माथि गरिसकेको छु ।

जेठको पहिलो सातादेखि आमाका नियमित शारीरिक क्रियाहरू बिस्तारै अवरुद्ध हुन थाले । सबभन्दा पहिले खाद्यक्रिया बन्द भयो । त्यसपछि खुट्टाले आफ्नो कर्म छोड्यो । क्रमशः दिसापिसाब अवरुद्ध हुनुको साथसाथै बिस्तारै ओठबाट शब्दहरू हराउँदै जान थाले । यस्तोमा हस्पिटल लैजाऊँ, जताततै कोरोनाको त्राहिमाम छ । नलैजाऊँ आमाको सास क्षीण हँॅदै गैरहेछ । के गर्ने ? स्वयं टिचिङ हस्पिटलको नर्सिङ स्टाफ मेरी कान्छी दिदीसमेत किंकर्तव्यजिमूढ छिन् । बाह्रैकाल बजार लाग्ने टिचिङ हस्पिटल मसानघाटजस्तो सुनसान छ । अन्त्यमा हामीलाई कोरोना त्रासभन्दा आमाको यन्त्रणाले जित्यो र त्यही यन्त्रणाको बलले हामीलाई टिचिङ हस्पिटलसम्म पुर्‍यायो ।

आमालाई हस्पिटल राखेको बेला यता देश भने एकाएक राष्ट्रवादको चर्को नसामा बहुलाइरहेको थियो । साराका सारा दल मिलेर संसद्भवनबाट लिपुलेक र लिम्पियाधुरा समेटिएको एक थान कागजको नक्सा पारित गरिरहेका थिए । सामाजिक सञ्जालका भित्ताहरू राष्ट्रवादको रङले रंगिरहेका थिए । तर, साराका सारा राष्ट्रवादीहरू एक भइरहेको बेला यता म एक जना अराष्ट्रवादी तत्त्व भने यस्तो थिएँ, जो नेपाल आमालाई बँचाउन छोडेर आफ्नो आमाको ज्यान बचाउन लागिपरेको थिएँ । के म स्वार्थी थिएँ ? अथवा एक राष्ट्रद्रोही ? अथवा म के थिएँ ? जो आफैँलाई थाहा थिएन ।

यसरी, जतिखेर राष्ट्रवादको वर्षाकालीन वर्षात् दर्किरहेको थियो, कवि गीतकारहरूका मौसमी गीत र कविता फुरिरहेका थिए । गायक संगीतकारहरूको राष्ट्रवादी स्वर उर्लिरहेको थियो । सडक राष्ट्रवादको वाणी पाएर वाचाल थियो । ठीक त्यति नै खेर यता मेरी आमाको कण्ठबाट भने सम्पुर्ण भाषा हराइरहेको थियो ।

आमालाई के रोग लागेको थियो, त्यसबारे उहाँ अनजान हुनुहुन्थ्यो । मात्र हामी चार छोरा–छोरी रोगबारे छलफल गर्थ्यौं । एलोप्याथी कोर्सका प्रयासहरू काम नलाग्ने भएपछि दिदीले अनेक वैकल्पिक औषधि खोज्दै ल्याउने गर्थिन् । आमा भन्नुहुन्थ्यो, ‘मलाई के रोग लागेको छ र अनेक खाले औषधिहरू दिन्छौ ?’ आमालाई थाहा थिएन, उहाँको त्यो वृद्ध र जर्जर पाठेघर, जसभित्र उहाँका जीवित र मृत गरी सात–सात जना सन्तानका भ्रूण परिपोषित भएका थिए, त्यही पाठेघरभित्र अन्तिम स्टेजको क्यान्सर हुर्किरहेको थियो । उहाँकै पाठेघरभित्र विकसित भएर जन्मिएका सन्तानमध्ये हामी जीवित चार छोरा–छोरी यतिखेर आफैँ बुढ्यौलीको यात्रामा छौँ । यतिखेर मलाई कताकता लागिरहेछ, माकुराको बच्चाले आफ्नै माउ खाएजस्तै हामीले नै हाम्रो आमाको पाठेघर रोगी बनाएका हौँ । हामीले नै आमालाई चिथोरीचिथोरी खाएका हौँ । हाम्रै कारणले आमा यतिखेर माकुरा हुनुभएको छ ।

उमेरभरि गाउँमा अँगेनाको धूवाँले डढाएर आमा फोक्सोको दीर्घरोगी पनि हुनुहुन्थ्यो । काठमाडौं आएपछि पनि त्यो रोग उहाँको अभिन्न साथी बनिरह्यो । २०७२ माघ ९ मा बाबा बित्नुभएपछि झन् उहाँमा एक्लोपनको मनोरोग थपिएको थियो । केही वर्षअगाडि हामीले गाउँबाट चुल्हो यतै सारेका थियौँ । पछिल्लो समय आमा हरेक बिहान चुल्होमा तितेपाती र पानी चढाउनुहुन्थ्यो । सम्भवतः चुल्हाबासमा रहनुभएका बाबाको कल्पनामा उहाँ आफ्नो एक्लोपनको सहारा भेट्नुहुन्थ्यो ।

सबै अंगहरू क्रियाशून्य भएर पनि आमाको चेतनाले भने ठाउँ छाडिहालेको थिएन । हस्पिटल नबस्ने अड्डी उहाँको सुरुकै दिनदेखि थियो । तैपनि आमाको स्थिति यस्तो थियो, सारा कोरोना जोखिम मोलेर पनि हस्पिटल राख्न हामी बाध्य थियौँ । मलाई देख्नासाथ जहिले पनि इसाराले ‘घर लैजा’ भन्नुहुन्थ्यो । एक दिन बडो मुस्किलले आमाले कान्छी दिदीको हात तान्नुभयो र आफ्नो मुखनिर दिदीको कान लगेर सासले केही भन्न खोज्नुभो । त्यसपछि क्रमशः मलाई अनि फेरि ठूली दिदीलाई तानेर त्यसै गर्नॅभो । आमाको बोलीमा शब्द होइन, केवल सास मात्रै थियो । कसैले केही बुझिरहेका थिएनौ, तैपनि मैले आमालाई आश्वस्त पार्ने आशयले ठूल्ठूलो स्वरले भनेँ, ‘मैले सब बुझेँ । चिन्ता लिनु पर्दैन आमा ! म सब काम गर्छु...।’

आमाको धूमिल हुँदै गएको चेतनग्रन्थिले मेरो कुराको अर्थ ग्रहण गर्‍यो कि गरेन मलाई थाहा भएन । तर, एकै छिन अगाडिको आमाको त्यो दारुण दृश्य सहन गर्न नसकेर म क्याबिनबाट बाहिर निस्केँ । सम्झेँ, आमा जहिले पनि गाउँमा लाथालिंग छाडेको जग्गाजमिनको कुरा गर्नॅहुन्थ्यो । सायद उहाँलाई त्यो चिन्ता थियो । अनि उहाँलाई थप अर्को चिन्ता कान्छी दिदीको बारेमा थियो, जो यतिका उमेरसम्म अविवाहित रहेर आमालाई स्याहारेर बसिरहेकी थिइन् । कतै यिनै चिन्ताले आमालाई विचलित बनाइरहेको त थिएन ? मानिसको अन्तिम घडीमा शरीरका जम्मै आंगिक क्रियाहरू अवरुद्ध भएर पनि जब चेतनक्रिया सक्रिय भैरहन्छ, पीडाको भार झन् बढी हुँदोरैछ । मैले झट्ट मनमनै एउटा भयावह र अप्रिय कामना गरेँ— चाहे जुनसुकै अवस्थामा होस्, आमाको यो असह्य पीडा छिट्टै अन्त्य होस् ।

हस्पिटल राखेको तेह्रौं दिनमा डाक्टरले आमालाई आईसीसीयू वार्डमा सार्ने सल्लाह दियो । तर, कान्छी दिदी मानिरहेकी थिइनन् । भन्थिन्, ‘अन्तिम दिनसम्म म आफ्नै हातले आमालाई स्याहार्छॅ ।’ दिदीलाई थाहा थियो, त्यो वार्डमा सारेपछि आमासँगै बस्न मिल्दैनथ्यो । तर, बिरामीको गम्भीर अवस्थाबारे डाक्टरले सम्झाएपछि आमालाई त्यो सघन वार्डमा सारेर म त्यो बेलुका दिदीहरूलाई छाडेर घर फर्कें । रातको ९–१० बजिसकेको थियो । घर पुगेको मात्रै थिएँ, लगत्तै दिदीको रोदनमिश्रित फोन आयो । तत्कालै फेरि हस्पिटल फर्कें— आमाको कष्टकर श्वास–प्रश्वास, एकै छिनअगाडिसम्मको त्यो वणर्नातीत यन्त्रणा सब शान्त भएको थियो । आमा लामो निद्रामा हुनुहुन्थ्यो ।

एक छिनपछि एक जना डाक्टर आएर एउटा कागजमा हस्ताक्षर गर्‍यो । त्यो कागज आमाको ‘डेथ सर्टिफिकेट’ थियो । आश्चर्य ! एक जना डाक्टरको एक हस्ताक्षरमा अहिलेसम्मका सबै कुरा समाप्त भएको थियो । लगभग पौने एक शताब्दी लामो आमाको जीवनयात्रा, यात्राले आर्जन गरेका सब उहापोह, सबै सबैमा पूर्णविराम लागेको थियो । अचम्म ! एक हस्ताक्षरले आमा, आमा रहनुभएन ।

***

महामारी र लम्बिँदो लकडाउनसँग व्यक्तिको शरीर–विशेष मात्र नभएर सामाजिक र नैतिक प्रश्न पनि जोडिएको थियो । भौतिक दूरीको महत्वबारे हेक्का राख्नैपर्थ्यो । त्यसैले मैले आमाको देहान्तबारे कसैलाई सूचना गरिनँ । मात्र आफ्नो जिल्लाका सांसद सुदन किरातीलाई त्यही बेलुका फोनमा भनेँ ‘सुदन, आमा बित्नुभो । कहीँ कतै हल्ला नगर्नू । यो कोरोनात्रासको बेला कसैलाई नैतिक संकटमा नपार्नू । मात्र दुई–चार जना मानिस ठीक पारिराख्नू । भोलि बिहान वनकालीमा भेटौँ ।’

भोलिपल्ट वनकाली पुग्दा पो अवगत भयो, कसैलाई नभन्नू भनेको खबरले त रातभरि डढेलो लगाएछ । हेर्छु, भौतिक दूरीको अवज्ञा गरेर नैतिकताको अपार भीड लागिरहेको थियो त्यहाँ । मैले आफैँलाई प्रश्न गरेँ, ‘के यत्रो कोरोना सन्त्रासमा पनि मानिसभित्रको मानवीयता अझै ज्युँदै छ ?’ त्यही मानवीयता र संकटको बीचोबीच आमा त्यसपछि हामीबाट पशुपतिको वनकालीमै छुट्टिनुभो । संकट पनि कस्तो ? सधैँ आफ्नो घर र जग्गाजमिनको मात्र कुरा गरिरहनुहुने आमाले अन्त्यमा वनकालीको त्यो अनजान र अनचाह माटोमा विलीन हुनुपर्‍यो ।

तेस्रो दिन, कोही एक जना शुभचिन्तकले मलाई फोनमा सोधे, ‘आमालाई के रोग थियो ?’

मैले भने, ‘पाठेघरको क्यान्सर !’

‘कति वर्षको हुनुहुन्थ्यो ?’

‘८७ वर्षको...’

अन्त्यमा उनले भने, ‘लौ, आमाले तपाईंहरूलाई लामो समय दिनुभएछ । दुःख नमान्नू ।’

८७ वर्षको उमेर कति लामो हो ? म यतिखेर, खासगरी यस दुःखद घडीमा केही तर्क गर्ने सामर्थ्य राख्दिनँ । तर, उनले भनेको त्यही लामो उमेरमा २०७७ जेठ २५ गतेको दिन आमाले हामीलाई छाडेर जानुभो । कोरोनाको अनिश्चितकालीन घातमाथि थप अर्को मानसिक संघात हामीमाथि थपेर जानुभो ।

थाहा छ, संसारका सबै आमाहरू सधैँ बाँचिरहँदैनन् । ‘पुरानो पात’ नामको भौतिक प्रक्रियाको उपदेश सुन्दा अस्वाभाविक पनि लाग्दैन । तर, एक जना डाक्टरको एउटा हस्ताक्षरमा जसरी एउटा अस्तित्व हठात् समाप्त हुन्छ । यत्रो मानवीय सभ्यताले निर्माण गरेको ‘आमा’ भन्ने एउटा गुरुत्तम शब्द जसरी कुनै एउटा ओठबाट बिस्तारै लोप हुँदै जान्छ । के त्यो त्यत्तिकै सामान्य छ ?

तर, त्यसपछि आमा साँच्चि नै माकुरा हुनुभो ।

प्रकाशित : श्रावण १७, २०७७ ११:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×