कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लाठी

‘लालबाबुजी...लालबाबुजी...’ भन्दै एउटा हुल बिनाअनुमति घरभित्र पसिसकेको थियो । ‘उठनोस्...उठनोस् तपाईं सुत्नु भयो भने मधेस सुत्नेछ । नेताका नेता मधेसका बेटा तपाईंको दर्शनका लागि आतुर हुनुहन्छ, र तपाईं मस्त निद्राको आलिङ्गनमा हुनुहुन्छ !’
रमेश रञ्‍जन

नाम : लालबाबु । 
उमेर : पच्चीस । 
अविवाहित ।
मधेस आन्दोलनका जुझारु पात्र ।
कथा समाप्त हुँदाहुँदै नाममा ‘जी’ जोडिएर लालबाबुजी हुन पुगेका । 

लाठी

लालसँग बाबु गाँसेनन् कसैले । न त गाउँले, न मधेस आन्दोलनका सहकर्मीहरु नै । बडो कृपा गरे भने बबुआ थपिदिन्थे अनि नाउँको पूर्ण उच्चारण गर्दा हुन्थ्यो ललबबुआ । मधेस आन्दोलन ताका उसको छातीसँग समुद्री छाल ठक्कर खाएर निशब्द हुन्थ्यो । हिँड्दा धरतीमाथि रोलर चल्दो हो कि जस्तो लाग्थ्यो । आन्दोलनको जीवन त यौवन (जवानी) को उम्लिरहेको रगतबाट पोषित हुन्छ । लालबाबुको शरीरको रगत मानौं मर्स्याङ्दीको पानी जस्तै बेगवान बग्थ्यो ।

भकभक गर्दै आफ्नो रगतको तापले उन्मत्त हुँदा आफ्नो आक्रोश प्रकट गर्ने स्थल खोरिहन्थ्यो लालबाबु । टाढाबाट धमारको असह्य आवाज सुनिन लागेको थियो । मसालबाट निस्केको कालो धुवाँको मुस्लो आकाशलाई नियन्त्रणमा लिँदै थियो । बारुदको विस्फोट रोकिएको थिएन । बारुदी गन्ध हावामा छरिएकै थियो । गोली गट्ठाको ध्वनि मन्द भई मानव चित्कारमा रुपान्तरित भइसकेको थियो ।

राजतन्त्रको किल्ला ढल्दै मधेस अत्यासिँदै ब्युँझियो । सर्वस्व हरणको आशंका यसै पनि मान्छेलाई व्यग्र बनाइदिँदो हो । पहिचानको प्रसाद र संघीयताको भेटी खानलाई कम्मर त दरो पार्नै पर्‍यो ।

लालबाबु टाउकोमा फेटा बाँधी ६ फिटे लाठी हातमा समात्दा उसको बुबा सुदामाको कलेजो घोप्टिन थाल्छ । आमा सबरीको दम फुल्न थाल्छ । दुवै बुढाबुढी छोरालाई केही भन्ने तरखर गर्दै के थिए, लालबाबु सिकुवालाई फलाल्दै आँगनबाट दलान र फेरि सडकमा निस्किसकेका थिए ।

आमा–बुबाको सम्बन्ध स्नेहसँग हुन्छ र सडकसँग सम्बन्ध बन्दछ बलिदानबाट । बा–आमाले बल गरेर मुखबाट निकाले– ‘सुन त सुन ।’ कल्ले सुनोस् कोही सुन्ने भए पो ! सुन्नेले आवाजको गतिलाई पछाडि छोड्दै बेपत्ता भइसकेका थिए ।

लालबाबुको नेताले भने, ‘लाठी कुनै हथियार होइन, न त फेटा सुरक्षा कवच । त्यसैले निर्वाध प्रयोग गरौं ।’ लालबाबुको लाठीको प्रदर्शन आन्दोलनमा चामत्कारिक थियो । नेताको आर्शीवादरुपी तेलबाट पोषित लाठीले पुलिसिया डन्ठालाई खुल्क्याइसकेका थिए । अन्दोलनको लठ्ठी सामु पुलिसको भद्दा र अनाकर्षक बाँदर नृत्य बेकार भइसकेको थियो । तर पुलिससँग आन्दोलनको आँधीसँग मुकाबिला गर्ने एउटा उपाय अझै थियो–बन्दुक ।

लालबाबुको छाती चौडा हुँदाहुँदै पनि दाहिने देब्रे बन्दुकको गोली छुन कष्ट मान्ने । कद उँचो भए पनि गोली छेडेर निस्कन नमान्ने । लालबाबु आन्दोलनको अग्रमोर्चामै थिए, तर गोली नछेडने शपथ खाएको जस्तो । गोलीले कैयौं छाती छेडे । कैयौंको अङ्ग–प्रत्यङ्गलाई भुइँमा झारे । कैयौंले आफ्नो शरीरको रगतबाट सडकको तिर्खा मेटाए । कैयौंको अपाङ्गको साक्षी बन्यो सडक । हत्या उत्पादित भइरहेका थिए सडकमा र भीड गाइरहेको थियो मृत्यु गीत । तर लालबाबुको बिजुली झैं चल्दै गरेको शरीर र सौदामिनीसरी चहकिलो लाठीमा विराम लागेको थिएन । कति पसली भाँचे, कति टाउका फुटाए न त उसको लाठीलाई सम्झना छ न त लालबाबुलाई नै । तर अचम्म हो उसको लाठी । नेताको भाषणलाई पहिलो चोटी एउटा लठ्ठीको पराक्रमले गौण र महत्वहीन बनाइदिएको थियो । गर्व र अभिमानले लालबाबुको छाती झन उँचो भएको थियो । ढक्क फुलेको बेलुनझैं ।

जिन्दावाद मुर्दावादको नारा निशान्त रातमा सुनेपछि उसको बुवा र आमा ब्युझिँए । आवाजलाई पछ्याउँदै लालबाबु सुतेको ठाउँमा ओछ्याननिर आए । जिउ, हात, गोडा फाल्दै पसिनाको झरीमा निथ्रुक भिजेको थियो, ‘लालबाबु–लालबाबु’ भन्दै आमाले छोराको जिउ हल्लाउँदै ब्युँझाइन् । आँखा नखोली ब्युँझियो । निद्रामै बरबरायो, ‘के भो फेरि कसैलाई गोली लाग्यो ?’ लालबाबुको श्वासको गति रेल जस्तै छुक...छुक...छुक...छुक...चल्दै थियो । हैट, ‘सपनीमा पनि खाली नारा जुलुस नै आउँछ तँलाई ।’ ‘के भो र !’ ‘क्यै होइन, सुत ! हनुमान चालिसा पढेर सुत्नू ।’ आमाको माया बोल्यो । ‘ऊ...। बेकार निद्रा बिगारिदिनुभयो’ अर्धनिद्रामै भन्यो उसले । फेरि कोल्टे फेरी घुर्न थाल्यो मस्त ।

आमाबुबा त आमाबुबा हो । ऊ सहिद बनाउन छोराछोरी जन्माएको हुँदैन न त पालन पोषण गरेको हुन्छ । सुदामा र सबरी आफ्नो छोराको करामत आफ्नै आँखाले देखेका थिएनन् । अर्काको मुखबाट सुनेरै दुवै तर्सिन्थे । सबरी कयौं पल्ट आफ्नो घरकी इष्ट देवीलाई लालबाबुको जीवनरक्षाका खातिर बोका बलि दिने भाकल गर्थी र सुदामा डिहबार (ग्रामदेउता) स्थान गएर दूध पिठो चढाउने भाकल गर्थे ।

आकाश सफा थियो । सखारै चराचुरुङ्गीहरु गुँड छाडिसकेका थिए । चराहरुको अवाजले लालबाबुको निद्रालाई असर पार्न सकेन । बाँसको टाटलाई चिर्दै सूर्यको किरण घरभित्र प्रवेश गर्‍यो । लालबाबुको जिउ ओछ्यानमा सखुवाको गोलियाझैं असरल्ल अवस्थामा थियो । उष्णता जतिजति बढदै गयो, उसको जिउमा तिखोपनाले कचमच बढाउँदै गयो । उठेर बस्यो । जसरी केही सम्झेको होस । रेडियो खोल्यो । राजनीतिका सहस्त्र पाइला, जसलाई गन्न र हेर्नका लागि लालबाबुमा दैवीय शक्ति चाहियो । साँझसम्म गर्द घमासान मच्चाउँदै थिए । माग त उही हो नि संघीय राज्य । पछि त मागमा पनि इँटामाथि इँटा खप्टिँदै गयो । तर रातभरिमै ढले ती चाङ लगाएका इँटाहरु । देशमा सातवटा संघ बन्यो । बेनामी । चुनावमा जोसँग दूतिहाईको तौल पुग्छ उसैले न्वारान गरुन आफ्ना प्रदेशका नाम ।

लालबाबुको छातीमा बेलुनसरी फुकेको हावा थोरै फुस्कियो । आफ्नो आङ् तन्कायो, जिउलाई जोडले हल्लायो । लठ्ठीतिर नजर लायो र थचक्क बस्यो । सम्झौताको चासनी चखाइदिएको थियो । हातमा थमाइदियो झिक्रा पैसा । घोर निराश थियो लालबाबु । आवेशको प्रहार ठाउँमा लाग्दैन, आन्दोलनमा गरिएको प्रहार निसाना चुकिएकै जस्तो लाग्यो । वाग्मतीले यस्ता सम्झौताका कैयौं पोकाहरु आफ्ना तेजाबी जलमा गालेको थियो । नाउँ निसान पनि सुरक्षित छैन ती कागजका पोकाहरुको । काठमाडौंको सत्ताको अजिंगरले बेरिसकेको थियो लालबाबुका नेतालाई । लालबाबु आक्रोशको रातो चिन्ह पार गरिसकेपछि पनि नियन्त्रण गुमाएन, त्यसलाई कुशलतापूर्वक दिशा परिवर्तन गर्‍यो । उसको लठ्ठीले फेरि पनि आगो ओकल्ने हो भने यसको डाम आफ्नै नेताको जिउमा निस्कने पक्का छ । आवेशमा उसको मुखबाट बोलीसँगै थुकको मिश्रण निस्किरहेको थियो, ‘अब केही भनोस् न एक्कै लठ्ठीमा हड्डीलाई धुलोपीठो पारदिन्छु ।’

संविधानको पानामा संघीयताको अक्षर कोरियो । त्यो पनि सात प्रदेश । नारायणी र कोसीको मध्य भागको भूभाग कित्ताकाट गरी एउटा प्रदेश बनाइयो । दाइभाइको बाँडफाँडमा त विवाद हुन्छ । यो त देशकै बाँडफाँड हो । असन्तुष्टिको आगो विस्तारित हुँदै गयो । अन्ततोगत्वा आकाश अर्थात सत्ताको शिरबाट शीतल छिटा झर्यो र प्रज्ज्वलित अग्नि शान्त हुँदै गयो । अनि शान्त भयो लालबाबु पनि ।

रन्थनिएको मन । लठ्ठी छानामा घुसाएर राख्दै आमालाई भन्यो, ‘खाजा दिनू, खाइओरी बारी खन्दिन्छु ।’ छोराको परिवर्तित रुपलाई आमा विस्फारित नेत्रले नियालिरहिन् । विश्वासको संकटको दलदलबाट आमा निस्कने प्रयास गर्दै थिइन् । पुनः छोराको स्वर सुनियो, ‘मेरो मुख मात्रै हेरिरहनुहुन्छ कि केही खानलाई पनि दिनु हुन्छ ।’ आमाको गोडाहरुमा पाङ्ग्रा लागे जस्तो भो । सरासर सिधै भान्सा कोठामा पसिन् । कल्पना तरङ्गित हुन थाल्यो । आफ्नै घर आँगनमा छोरालाई हेरेर आमाको मन प्रफुल्लित थियो, ‘छिट्टै बिहा गराइदिन्छु । नाति नातिना हुन्छ । केटा घर गृहस्थीमा अल्झिए भने राजनीतिक पिशाचबाट छुटकारा पाउँछ ।’

पहिलोचोटी आमाको सोचभन्दा फरक सोचिरहेको थिएन लालबाबु । ढोंगी, फटाहा, फरेबी, धोखेबाज, राजनीतिको लागि यस्तै शब्दावली थियो लालबाबुसँग । ‘साला, मेरो टाउकोमा फेटा थियो कि कफन ? सहिदको पिण्ड पानीमाथि राजनीति गर्ने ? समय बर्बाद गरेको रहेछु, बरु आफ्नै घर परिवारको विषयमा सोच्दा हुने हो ।’

लालबाबुको आफ्नै नेतासँग असन्तुष्ट हुने खासै कारण थिएन । राजनीतिको अर्थ शान्त र स्तब्ध हुनै सक्दैन । लालबाबुको बुझाइ थियो, राजनीतिको अर्थ संघर्ष र संघर्षको रुप आन्दोलन न हो । न त भिक्षा न त कोसेली । दुवैलाई छुत मान्दथ्यो लालबाबु । राजनीति सत्ताका लागि सम्झौतामा अडकिने खेलको चरम आनन्द हो । लालबाबु जस्ता उग्र ब्याट्री त डिस्चार्ज हुनु नै थियो । डिस्चार्ज भई शान्त थियो लालबाबु ।

चुनाव जस्तो सुकै मरियल राजनीतिक कार्यकर्तालाई पनि बलाढ्य बनाउँछ । चुनाव राजनीतिको कुम्भ नै हो । तर लालबाबुसँग न कमण्डलु न रामनामी च्यादर अनि के काम कुम्भको । झन चुनावको कुरा उठ्दा झोक्किन्छ, फलाक्न थाल्छन्, ‘म गाई पाल्छु, भण्टा उब्जाउँछु तर यिनीहरुको चुनावी जञ्जालमा फस्तिनँ अब ।’ अरुको थाहा छैन, तर छोरा मुखले यस्ता बोलीबाट आमाबुबाको पाप्रिएका ओठहरु रसिलो हुन थाल्छ । खुशीले आँखा उज्यालिन्छ । केही दिनमै बुहारी र नाति नातिनाको रोदन क्रन्दनको कल्पनामा तर्रर आँसु झार्छ दुवै ।

चुनावी नगरामाथि चोट हानिन थल्यो । पार्टीहरु गाउँघरमा चियाउने ओर्ने गर्न थाले । पस्कने र खानेहरुको सूची तयार हुन थाले । टिकटका लागि दौडधूप र शक्ति संघर्ष हुने भई नै हाल्यो । चुनावमा लगौँटी कसेर अखडामा ओर्लेका पहलमानहरु धेरैजसोले आन्दोलनमा लठ्ठी टल्काएका थिएनन् । नोटको गड्डीले नेताहरुलाई छोप्ने क्षमता भएकाहरुले नै टिकटको लालगोटी छुन पाँए ।

भारतीय नम्बर प्लेटका गाडीले गाउँका सडक धुलैधुलो भयो । मध्य दिउँसोको प्रचण्ड घाममा लालबाबुको आँखा झपक्क मात्र के गरेको थियो त्यसैबेला द्रुतगतिमा आएका गाडीका हुल (ताँती) ब्रेकको दबाबयुक्त ध्वनिका साथ रुक्यो । लालबाबुको कानले सहन गर्न सकेन, आँखा उघ्रियो ।

जिन्दावाद...जिन्दावाद, एकपटक पनि मुर्दावाद सुनिएन । छक्क परेको थियो लालबाबु, यो कसको समर्थनमा नाराबाजी भइरहेको छ ? पहिला एउटा मसिनो स्वर अनि समवेत स्वरमा मधेसको योद्धा भनेर सुनिन्थ्यो । ओछ्यानमा स्वाङ पारेर घुर्न थाल्यो । पुरा मधेस त युद्ध मैदान नै थियो । जताततै योद्धाहरु थिए । अहिले कुन योद्धाको जिन्दावाद भइरहेको छ त्यो लालबाबुको टाउको दुखाइ भएन । चालीस डिग्री सेन्टिग्रेट तापमानका बाबजुद पनि आफ्नो मुख च्यादरले ढाक्नै उचित ठान्यो लालबाबु ।

‘लालबाबुजी...लालबाबुजी...’ भन्दै एउटा हुल बिनाअनुमति घरभित्र पसिसकेको थियो । ‘उठनोस्...उठनोस् तपाईं सुत्नु भयो भने मधेस सुत्नेछ । नेताका नेता मधेसका बेटा तपाईंको दर्शनका लागि आतुर हुनुहन्छ, र तपाईं मस्त निद्राको आलिङ्गनमा हुनुहुन्छ !’

लालबाबु प्वाक्क ठाडै भन्यो, ‘यहाँ धेर नारा जुलुश अनावश्यक नगरम । तपाईंहरु जानोस ।’ तर नेता भनेको नेता नै हो । त्यस्तो नेता के नेता जसमा चातुर्य नहोस । उनी पहिला आफ्ना बानर दललाई पठाए । पठाउन पठाए पनि नेताजीलाई थाहा थियो यो दलले सेतु बाँध बाँध्न सक्दैन । त्यसपछि, नेतारुपी त्यो सौम्य मूर्तिको इन्ट्री भयो । कमालको इन्ट्री । तिनको वस्त्र वर्णनको आवश्यकता छैन । चुनाबी नेताहरुको वस्त्र विन्यासमा प्रायः एकरुपता हुन्छ । तर इत्र ! के कुरा गर्नु, सयौं मान्छेको भीड चिर्दै लालबाबुको नाकसम्म पुग्यो । जोडले टाउको झटकार्यो उसले । भीडले बुझे लालबाबु नाकमाथि बसेको झिँगा धपाउन खोजेका छन् ।

तर स्क्रिप्टअनुसार गजबका अभ्यास गरेका थिए नेताजी । लालबाबुको गृहमा प्रवेश त गर्‍यो तर लालबाबुको कोठामा पसेन, सोझै आमाबुबा बस्ने कोठामा गयो र आमा सबरी र बुबा सुदामाको चरणमा आफ्नो सम्पूर्ण अंगलाई धरतीमा स्पर्श हुनेगरि ढोग गर्‍यो । चिन्ता गरेन बगुल्लाको प्वाँख जस्तो सेतो कपडामा दाग बस्ला भनेर । बूढाबूढीका लागि अप्रत्याशित थियो यो घटना । तर लालबाबुले कान कन्याउने काम गरेन । नेताजीसँग तुनिरमा दिव्यास्त्रको कमी थिएन । त्यो नभएको भए त कुनै आन्दोलनको योद्धाको ललाटमा टिकट नटाँसी यिनकै मस्तिष्कको मणि किन बन्थ्यो र ! लठ्ठी घुमाउनु र नोटको गड्डी फरफराउनुबीच के मुकाबिला हुनु ।

नेताजी हतारमा थिएन । सबभन्दा पहिला त आमाबुबाको स्तुति गान गरे । ‘आहा... ! मेरो मनमा लालसा थियो, यहाँहरुको दर्शन गर्ने । चुनाव जित्नु जानकी दर्शन वा गंगा स्नान होइन । तर हजुरहरुको दर्शनबाट दुवै प्राप्ति भइसक्यो । अझ चारधामको दर्शनको फल प्राप्त गरे मैले ।’ त्यसपछि नेताजी आफ्नो आवाजको भोल्युम बढाउँदै लगे, ‘धेर भयो भने के हुन्छ, लालबाबुजी मेरो प्रचारमा जानु हुन्न । मधेसको योद्धा मधेसी उम्मेदवारको प्रचारमा नगए पछि चुनाव हारिन्छ । अनि मेरो हार मात्रै हुन्छ त, मभन्दा ठूलो हार त लालबाबुजीको हुन्छ । केही छैन यस्तो महान योद्धाको मातापिताको दर्शन पाएर म धन्य भएँ ।’

आमाबुबाको कण्ठ अवरुद्ध भयो । अक्क न बक्क टुलुटुलु हरिरहे नेताजीलाई । तर यहाँ नेताजीको अनुमान गलत सावित हुँदै थियो । नेताजीको अनुमान थियो कि आमाबुबाको नयनबाट नीरको झरना झरझर प्रवाहित हुन थाल्नेछ । परिणामस्वरुप लालबाबु पनि भावुक हुनेछ । तर लालबाबु बिछ्यौनामा योगसाधक जस्तै पूर्ववत आसन जमाइराखे । अब नेताजीको सिधा प्रवेश थियो लालबाबुको बिछ्यौनासम्म । खोटोले टाँसिए जस्तै दुवै हात जोडेर, शिर निहुराएर, लालबाबुको ओछ्यान तल आसन जमाए ।

मबाट आश नगर्नुस । राजनीति मलाई धेरै छुच्चो लाग्छ । बरु भोट मागे दिइहाल्छु । नेताजीलाई थाहा छ, घ्यू तापबिना पग्लिदैन । नेताजीलाई आगो झन प्रज्ज्वलित गर्नु पर्ने आवश्यकताको अनुभूति भयो, ‘चुनाव त तपाईंले लडनु पथ्र्यो । तपाईं आन्दोलनको योद्धा हुनुहुन्छ । टिकट दिने बेलामा भन्नु भएको थियो । आहा...! कति माया र सम्मान गर्छ तपाईंलाई हाम्रा माथिल्ला नेताले । लालबाबु अगाडिको सिटमा बस्यो भने मात्र प्रचारमा निस्कनु अरे ! नत्र भने घोप्टो परेर अन्न पानी सबै परित्याग गर्दिनू, सिकुवाबाट नउठ्नू ।’ नेताजीको यस योजनाको वृतान्तसहित प्रकट गर्ने काम गरेको थियो उनैको सहयोगी ।

लालबाबु राजनीतिका यस्ता अन्तरकुन्तर जान्ने मान्छे थिएन । चुनावको व्यापारीकरणबारे अज्ञानी नै थियो ऊ । चुनावी ब्राण्डलाई नाउँ चाहिन्छ । आकर्षक प्याकिङ चाहियो । विज्ञापन चाहियो, अनि मात्र उपभोक्तासम्म उत्पादनको पहुँच बन्छ । ब्राण्डको नाम त भेटिसकेको थियो, पार्टीको रुपमा । प्याकिङको आकर्षण र विज्ञापनको लागि आकर्षणयुक्त मोडेल त चाहियो । यसपालिको चुनाबमा लठ्ठीधारी लालबाबुभन्दा आकर्षक र प्रभावशाली मोडेल को हुन सक्थ्यो र ! नेताजी पूर्ण आसनमा जमेको थियो । काटीकुटी अनुलोमबिलोम र कापालभाँतीवाला मुद्रा ।

साहन बाहनका दल पनि सजग र सचेत थिए । नेताजी मौन । चेलाहरुहरु जिब्रो खचखच छुरा जस्तै चलिरहेको थियो, ‘अँ, यहाँले हाम्रो नेताजीको जिद्दी हेर्नु भएको छैन । अनशनमा डाक्टरको स्लाइन पनि लिनु हुन्न ।’ अर्काै प्याच्च बोल्यो, ‘जुस पनि हउ ।’ उम्मेदवार महोदयको अनशन कौशलबारे बखान सुरु भयो । बीचबीचमा चिम्रे आँखा लाएर लालबाबु तिर उनको परिवर्तित हुँदै गरेको मुद्रालाई पढने कोसिसमा थिए उम्मेदवारजी । परिवर्तनका समान्य रेखा पनि उनलाई उत्साह प्रदान गरिरहेको थियो । लालबाबुको मुहार अन्ध्यारो हुनु उज्यालिनुमा नेताजीको रक्तगति नियन्त्रित भइरहेको थियो । लाटो भइरहेको आफ्नो गोडालाई चित बुझाउने प्रयास गर्दै मनमनै भन्दै थिए, ‘एकैछिन अरु बर्दास्त गर, मात्र एकैछिन ।’ यसो त मन गर्थ्यो औला थिचौं थिचौं क्यारे, तर त्यसो गर्ने अवस्था थिएन । नेताजी शारिरीक पीडालाई दबाउँदै घण्टौसम्म लालबाबुको बिछौना तल बसिरहे ।

लालबाबु ढुङ्गा र फलामले बनेको त थिएनन् । तापले उ पनि पग्लिँदै गइरहेको थियो । त्यो हिउँको थुप्रो बुँदबुँद खिइरहेको कुरा नेताले नबुझी गोठालाले बुझ्ने हो र ! नेताजी घरीघरी आफ्ना आँखालाई चिम्म पारिरहन्थे, मष्तिष्कलाई नियन्त्रित गर्थे, अनि गोडा मिच्नका लागि घस्रिएर अगाडि बढदै गरेको हातमाथि कस्सिएर बे्रक लगाउँथे ।

यसो त नेताजी साह्रै कष्ट गरेर नेता बन्नु भएको थिएन । शारिरीक कष्ट त उनको सात पुस्ताले गरेको थिएन । घण्टौ देखिको योगासन उनको अन्तर आक्रोशलाई भडकाइसकेको थियो । अरे लालबाबु नभए, पहेलोबाबु, सेतोबाबु, कालोबाबु, हरियोबाबु यस्ता विकल्पका विषयमा उनको दिमाग कसरत गर्न थालेको थियो । नेताजी सोच्न थाले, ‘आँ, बेकारमा नसा सुन्नियो ।’ उहाँलाई आफ्नो करामाती दिमाग र क्यासमाथि भरोसा थियो । भित्रदेखि कचमच बढेको थियो । त्यसका लक्ष्णहरु मुहारमा प्रस्ट देखिन थालेको थियो । पसिनाका बुँदहरु तालुमाथिबाट मुखाकृतिसम्म निर्वाध यात्रा गरिरहेका थिए । अनुहार ओइलिएर बिस्तारैबिस्तारै कोइलाको आगो जस्तै दन्किन लागेको थियो । चुनावमा जे भए पनि यी शारिरीक कष्टपूर्ण अवस्थाबाट मुक्त हुन उनले सोच बनाइ सकेका थिए ।

कि आकाशमा चट्याडको गडगडाहट सुने जस्तै भयो, ‘यस्तो पनि कुरा हुन्छ । जतिबेला धरना अनशन हुन्थ्यो तपाईंको छाया पनि देखिएन, अनि आज...अनशन गर्नु हुन्छ । बिनातुकका कुरा । म त भनिसकेको छु गाई पाल्छु, भण्टा उब्जाउँछु तर राजनीतिको लफडामा पर्दिनँ । थेच्चर मान्छे । न लाज छ न विचार । बसिरहन्छु रे भोकै ।’ नेताजी यस्तै शब्दको प्रतिक्षामा थिए । लालबाबुको कडा प्रतिक्रियाबाट उनी झन आशावादी भए । बाँधिएको पानीलाई खलास हुनै पर्छ । त्यसपछि निर्विकार भावले केहीबेरसम्म लालबाबुलाई सुन्नका लागि आफूलाई पुनः तयार गरेँ, ‘म छु मन्तर गर्दिन्छु क्या चुनावमा ? कि छुमन्तर हुने हो तपाईंको लक्ष्मीबाट । वाहियात पेटलाई दुख दिइराखेको । जाबो म नभई यिनका चुनावी खेतहरु अफल रहिहाल्छ भनी ठान्छन् । भो, अब धेरै स्वाङ नपार्नुस्, जाओ कहाँ जानु छ ?’

नेताजीको कानले छलेको थिएन । ‘जाऔं’ उहाँले स्पष्ट सुन्नु भएको थियो । लालबाबु ओछ्यानबाट उठनुभन्दा पहिला नै नेताजी आफ्नो आसनबाट उठेर उभिसक्नु भएको थियो । नेताजीले बोले छिटो ! एउटा सहयोगी दौडिँदै गयो र धूपदीप आरती एवं प्रसादको रुपमा मोतीचुर लड्डुको प्याकेटका साथ तुरन्त उपस्थित भयो । सँगै नववस्त्र । नेताजी विनम्रतापूर्वक लालाबाबुलाई भने, यो वस्त्र लाउने कृपा गर्नुहोस् । कुनै बेला आँखा झप्काउँदै, चिम्म पार्दै, त कहिले ओठ टोक्दै लालबाबु शुद्ध नेतासरी वस्त्र धारण गर्‍यो । घरको एक कुनामा थन्काइएका लठ्ठीलाई गमछाले पुछपाछ गरी अर्का सहयोगीको हातमा दियो । उसले त्यो ६ फिते लठ्ठी हातमा अँठ्यायो । नेताजीले बडो मनोयोगपूर्वक उसको आरती र पूजा गरे ।

सबभन्दा पहिले लालबाबुको मुखमा लड्डु कोच्ने काम भयो, त्यसपछि अरु बाँकीले पनि लड्डु ग्रहण गरे । यसमाझ कैयौं मोबाइलका फ्ल्‍यास टल्किरहेका थिए । सम्पूर्ण प्रकरणको फोटो, भिडियो र नेताजी र लालबाबुसँगको सेल्फीको वर्षा हुन लागे । दर्जनौं मोबाइलका डाटा अन थिए । सबैलाई पोस्ट गर्न हतारो । नारा गुञ्जियो, त्यसले लालबाबुको खरको छानो उडाइदेला कि जस्तो लाग्थ्यो । मधेसका लाल लालबाबुजी जिन्दावाद जिन्दावाद ! नारा लगाउनेमा थकानको कुनै लक्षण नदेखेर लालबाबुबाट लालबाबुजी बनेका ऊ लठ्ठीसहित घरबाट निस्कियो । नेताजीसहित ती हुल पनि निस्के ।

आकाश अनुगुञ्जित थियो नाराले । घर अगाडिका एक कुनाबाट सुदामा र सबरी यस दृश्यको दर्शक बनेका थिए । छोराको शरीरका परिधान त नयाँ थिए । तर बेहुलाको न टोपी थियो न परिधान श्रीपेच शिखाको ठाउँमा त्यै फेटा र लठ्ठी थियो । त्यो भीड पनि जन्ती थिएन । सुदामाको मुटु पल्टिरहेको थियो, सबरीको दममाथि नै झुण्डेको थियो ।

अनुवाद : बिनोदानन्द

प्रकाशित : आश्विन ३, २०७७ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?