तालीको इतिवृत्त- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तालीको इतिवृत्त

शैलेन्द्र साकार

विश्व सिग्देलको नयाँ कविता–किताब ‘तालीको समाजशास्त्र’ शालीन विद्रोहका रूपमा प्रस्तुत भएको छ । प्रथम कविता ‘सार्वजनिक शौचालय’ लाई संसद्सँग दाँज्ने साहस गर्ने सिग्देल नयाँ विम्ब सृष्टि गर्छन्— अघिल्लो दिनजस्तै आज पनि तिमी बुद्ध बनेर निस्कने छौ— संसद्भवनबाट । 



जीवनको विसङ्गति, सृष्टिको नियति र मान्छेको बाध्यताको अनुभूतिले कवि विश्वका कविता उज्यालिएका छन् । यस अर्थमा उनी नितान्त नयाँ पुस्ताका सशक्त र प्रतिनिधि कविका रूपमा

आफ्नो परिचय दिन्छन् । जीवनसित प्रश्न गरिरहेको चेत छ–कवितामा ।

कैयौं समालोचक कविलाई अदृश्यका दृश्य प्रतिविम्ब मान्छन् । उनी पनि अपवाद छैनन् । समाजले नदेखेको तालीको समाजशास्त्रको इतिवृत्त खोज्छन् । निष्कर्ष छ— अन्धो हुन्छ ताली, अन्धो हुन्छ सत्ता ∕ संसारका सम्पूर्ण चर्चित दर्शनहरू पोलिमर नोटमा रूपान्तरित हुन्छन् कि भन्ने चिन्ता छ कविमा । प्रस्ट भन्छन्–

हामीहरू मार्क्स हौं

वा, हौं माओ

बुद्ध हौं वा हौं ताओ

दर्शनलाई रू. दसको पोलिमर नोट हुनबाट जोगाऔं

‘दर्शनलाई उपभोग्य सामग्री नबनाऔं’ भन्छन् कवि । खासमा यो विश्वव्यापी चिन्ता हो । कवि ईश्वर होइन, स्वर्गबाट आगो चोरेर मानिसको चुल्होमा ल्याइदिने प्रमिथस पनि होइन । कवि त तमाम चुनौती स्विकारेर अघि बढ्ने कलाकार हो । साँचो लेख्ने, बोल्ने जागरुक सामाजिक प्राणी हो । असत्यविरुद्ध उभिएको सशक्त शब्द सामर्थ्य हो । यी दायित्व स्विकार्ने कवि यो कविता–किताबमा तिनै जिम्मेवारीसाथ उभिएका छन् ।

कवि विश्व सिग्देलका कविता पढ्दा लाग्छ— उनी संसारबाट विचलित छन् । संसारको सन्ताप, अन्याय, विसंगति र विद्रूप स्थितिबाट आक्रान्त छन् । र, मानवीय पीडालाई कविताको आवाज दिन सधैं तत्पर छन् ।

कविको वक्तव्य भनेकै कविता हो । कवितामा कविको दिल र दिमाग दुवै बोल्नुपर्छ । ‘कवि गाउँ कहिले आउँछौ ?’ कविताले मलाई निकै सोचमग्न बनायो । हामी कविता लेखेर जो सहरमा बसिरहेका छौं, साँच्चै कहिले गाउँ जान्छौं ? कहिले आफ्नो जन्मभूमि जान्छौं, जहाँ बेल विवाहपूर्व मरेकी किसोरीको लास गाडिएको छ । यो निकै संवेदनशील विषय हो ।

‘टाँस्न मन लाग्छ सडक’, ‘कैंचीको मुट’, ‘सपनाहीन कपाल काट्ने ठाकुर’, ‘लोकतन्त्रको गर्धन’ जस्ता विपर्यासबोधी वाक्यांशले सिग्देलका कविताले उचाइ प्राप्त गरेका छन् । विभिन्न रङमा खेल्न चाहेका छन्– कवि । दुःखहरूको रङ, दुवाली थुन्दा छोराका आँखाको रङ, पेटको आगो बलिरहेको रङ, रङ उडेको पर्दाको रङ र सम्पूर्ण अस्थायी रङहरू पोतेर उनी कवितामा उभिएका छन् ।

आजका प्रश्नहरूभित्र कविले आँखा खोलेका छन् र जिब्रो बेचेर स्वाद किन्ने संस्कारको विरोधमा दह्रोसँग उभिएका छन् । कवि बारुदभन्दा संवेदनशील आजको समयमा उभिएका छन् र पैताला बेचेर विश्वभ्रमण गर्ने सपना देख्दैनन् । अन्त्यमा ‘नाङ्गो साबुन’ कविताका यी पङ्क्ति उद्धृत गर्ने लोभ संवरण गर्न सकिनँ –

हात बेचेर तिमीलाई

चम्चा किन भन्छ अखबार

जिब्रो बेचेर, स्वाद किन भन्छ टेलिभिजन

पैताला बेचेर

विश्व भ्रमणको भ्रमणको निम्तो किन भन्छ रेडियो ।

प्रकाशित : आश्विन ३, २०७७ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्

स्वर्गीय पिताजीका नाममा

स्विडिस फिल्मकार इङ्गमार बर्गम्यान भन्छन्, ‘उम्बर्टो डी मैले सयौं पल्ट प्रेमपूर्वक हेरेको छु । संसारका विषय उघारिँदै गए सारा फिल्महरुमा मेरो पहिलो रोजाइको फिल्म यही हो ।’ टाइम साप्ताहिकले सन् २००५ मा यसलाई संसारका सर्वकालीन १०० महान् फिल्मको सूचीमा राखेको छ ।
अभय श्रेष्ठ

इटालीका निर्देशक भितोरियो डेसिकाले आफ्नो फिल्म ‘उम्बर्टो डी’ मा संसारभरिका सारा वृद्ध पिताहरूको संघर्ष र संवेदनाको कथा टपक्क टिपेका छन् । कताकता त्यसमा म आफ्नै पिताजीको विरही जीवनको एउटा झाँकी भेट्छु ।

सिनेमाको दुःखी पात्र उम्बर्टो डी फेरारीजस्तै मेरा बाको जीवन पनि बाध्यता, विपत्ति, धैर्य, दुर्घटना, प्रतिदानरहित प्रेम र संघर्षको सङ्ग्रहालय थियो । तथापि उहाँ कहिल्यै दुःखी हुनुभएन । न कुनै कुरामा उहाँको गुनासो थियो । निरन्तर नियतिको प्रहार र ताडनाले उहाँ ४० वर्षको उमेरमै मुटुको दीर्घरोगी हुनुभयो । त्यसपछि नै उहाँको जीवन फेरारीको जस्तै एक्लोपनको विरहमा धकेलिन सुरु भयो । तर, संघर्ष त बाँचुन्जेल गर्नु नै थियो !

वृद्धहरूको संवेदना

डेसिकाले यो फिल्म आफ्नै पितालाई समर्पण गरेका छन् । खासमा, उनलाई संसारभरि चिनाउने कालजयी फिल्म थियो, ‘द बाइसाइकल थिभ्स’, जसको प्रभावमा भारत र संसारभरि ‘समानान्तर सिनेमा’को लहर चल्यो । तर, विश्वका थुप्रै महान् फिल्मकारले डेसिकाको उत्कृष्ट मानेको फिल्म हो, ‘उम्बर्टो डी’ । महान् स्विडिस फिल्मकार इङ्गमार बर्गम्यान भन्छन्, ‘उम्बर्टो डी मैले सयौंपल्ट प्रेमपूर्वक हेरेको छु । संसारका सारा फिल्महरूमा मेरो पहिलो रोजाइको फिल्म यही हो ।’ टाइम साप्ताहिकले सन् २००५ मा यसलाई संसारका सर्वकालीन १०० महान् फिल्मको सूचीमा राखेको छ । सन् १९५२ मा पहिलोपल्ट इटालीमा रिलिज हुँदा यो फिल्म व्यावसायिक रूपले पूरै असफल भयो । तर, चाँडै नै अन्तर्राष्ट्रिय स्तरमा अपार लोकप्रिय भयो । यसले थुप्रै अन्तर्राष्ट्रिय फिल्म उत्सवहरूमा पुरस्कार, मनोनयन र प्रशंसा पायो । पछि एक अन्तर्वार्तामा डेसिकाले आफ्ना कृतिमा सबैभन्दा गर्व गर्नलायक यसै फिल्मलाई मानेका थिए ।

म्याक्सिम गोर्कीको एउटा विश्वप्रसिद्ध कथा छ, बुढी इजरगिल । त्यसभित्रकै उपकथाको जाज्वल्यमान् पात्र दान्को आफ्नै मुटुलाई लालटिनझैँ बालेर बैगुनी गाउँलेहरूलाई अन्धकार जंगलको बाटो पार गराउँछ । अन्धकार सकिनेबित्तिकै मुटु भुइँमा खसेर चकनाचुर हुन्छ र त्यहीँ उसको मृत्यु हुन्छ । ‘उम्बर्टो डी’ आदर्शहरूका खातिर गरिने त्यस्तो महान् आत्मबलिदानको कथा त होइन । यो ‘युवाहरूको गीत’ की नायिका लिन ताओ चिङको जस्तो देशभक्तिपूर्ण लडाइँको कथा पनि होइन । मिहिन रूपमै सही, यसले अवसादबाट जीवनतिर फर्कन जगाउने आशा भने उस्तै छ । यो, दोस्रो विश्वयुद्धपछि

सङ्क्रमणकालीन इटालीमा सर्वसाधारणको अत्यन्त कष्टकर जीवनको अथक संघर्षको कथा हो । यसको खलनायक नै इटालीको तत्कालीन राजनीतिक एवं सामाजिक सत्ता हो । घरबेटी एन्टोनियो बेलोनी त्यही सत्ताको क्रूर प्रतिनिधि हो । रोम सहरको यस्तो क्रूर समाजमा वृद्ध पेन्सनर उम्बर्टो र घरबेटीकी तरुनी कामदार मारियाजस्ता जनसाधारणले सादा जीवनका लागि असाधारण सङ्घर्ष गर्नुपरेको कथा हो यो । पेन्सन वृद्धिको माग गर्दै सरकारविरुद्ध गरिएको प्रदर्शनीबाट फर्कंदा वृद्ध उम्बर्टो आफ्नो कोठामा एक जोडी तरुनी–तन्नेरी रासलीलामा मस्तराम भेट्छ । उसको अनुमतिबिना त्यो कोठा एक घण्टाका लागि घरबेटीले तिनीहरूलाई भाडामा दिएकी हुन्छे । पिता समानका वृद्धको आत्मसम्मानमाथि छोरी समानकी महिलाले गरेको यो प्रहार पुँजीवादी युगको आगमनसँगै संवेदनाको हत्याको संकेत हो । वृद्धले घरभाडाबापत उसलाई १५ हजार लिरा तिर्न बाँकी हुन्छ । महिनाको अन्त्यसम्म तिर्न नसके उसलाई गलहत्याउने धम्की दिइएको हुन्छ ।

तीस वर्षसम्म सामाजिक गतिविधि मन्त्रालयमा काम गरेको उम्बर्टोलाई युद्धले क्षतिग्रस्त इटालीले दिने पेन्सन कति न्यून र अनियमित हुन्छ भने त्यसले हातमुख जोर्न र डेरा भाडा तिर्नै पुग्दैन । यता, विधवा घरबेटी एन्टोनियो अद्बैंसे उमेरमा कसैको प्रेममा फसेकी हुन्छे र उसैसँग बिहे गर्न चाहन्छे । त्यसका लागि ऊ तीस वर्षदेखि यही घरमा बस्दै आएको बिरामी वृद्धको कोठा गाभेर ठूलो बैठककोठा बनाउन चाहन्छे । सत्तरी नाघेको बिरामी वृद्ध झिटीगुन्टा बोकेर कहाँ जाने ?

उसले आफूसँग भएको सिरीखुरी गर्दा, घडी र किताब बेच्दा पनि ऋणको एक तिहाइ मात्र जम्मा हुन्छ । घरबेटी यो आंशिक रकम तिरस्कारपूर्वक फर्काइदिन्छे । ऊ साथीभाइसँग ऋण खोज्छ । कसैले पत्याउँदैन । बाटोमा हात थापेर माग्ने कोसिस गर्छ, मध्यमवर्गीय अभिमानले दिँदैन । त्यही तनावले ज्वरो र टन्सिल भएपछि ऊ अस्पताल भर्ना हुन्छ । घरबेटीकी कामदार मारिया ऊप्रति अत्यन्त हार्दिक छे । मालिक्नीका आँखा छलेर ऊ वृद्धलाई खानेकुरा दिन्छे । तातोपानी, थर्मामिटर दिएर सघाउँछे । वर्गीय प्रेम भनेको सायद यही हो । तर, उसका पनि चिरन्तन दुःखहरू छन् । ऊ तीन महिनाकी गर्भवती छे । दुई प्रेमीमध्ये गर्भमा रहेको बच्चा कसको हो, उसलाई थाहा छैन । नेपल्स र फ्लोरेन्सका दुवै प्रेमी उसको गर्भ स्विकार्न तयार छैनन् । घरबेटीले थाहा पाएपछि ऊ पनि निकालिन्छे र सडकमा पुग्छे । किनभने उसको जाने ठाउँ कतै छैन । गाउँमा बाबुको क्रूरताबाट बच्नै सहर आएकी ऊ अब घर फर्कन पनि सक्दिन ।

उपचारपछि डेरा फर्कंदा उम्बर्टोलाई एकसाथ दुइटा तनाव हुन्छ । एक, फ्लाइक नामक सानो कुकुरबाहेक उम्बर्टोको आफ्नो भन्नु कोही हुँदैन । अस्पताल जाँदा उसले त्यसको हेरचाह गर्न मारियालाई अह्राएको हुन्छ । मारिया काममा व्यस्त हुँदा मालिक्नीले त्यसलाई छाडिदिन्छे । कुकुर उसको खोजीमा कतै हराउँछ । दुई, उसका सामानहरू लथालिङ्ग पारेर कोठाको भित्ता भत्काई ठूलो बैठक कोठा बनाउन घरबेटीले रङरोगन गराइरहेकी हुन्छे । छाडा ठानेर नगरपालिकाले मार्नै लाग्दा संयोगले भेटेर उम्बर्टो आफ्नो प्राणप्रिय कुकुरलाई फिर्ता ल्याउँछ । तर, आत्मसम्मानमाथिको प्रहार खपेर कतिन्जेल यहाँ बसिरहने ? उम्बर्टो मारियालाई खबर गरेर त्यही रात फ्लाइकसँगै घर छाडेर निस्कन्छ ।

फ्लाइक नभएको भए सायद ऊ संसारबाट ऊबेलै बिदा भइसक्थ्यो । ऊ फ्लाइकलाई कसैको जिम्मा लगाएर हिँड्न चाहन्छ । कोही भेटिँदैन । अन्ततः फ्लाइकलाई लिएरै रेलको लिकमा बसेर आत्महत्या गर्न खोज्छ । तर, कुकुरले नै उसको ज्यान बचाउँछ र जीवनप्रति महत्त्वबोध गराउँछ । उम्बर्टो छानाविहीन, शरणविहीन र पैसाविहीन भएर पार्कमा फ्लाइकसँग खेलिरहन्छ । बाँकी जीवनका लागि त फेरि पनि संघर्ष गर्नु नै छ ∕ संघर्ष छ र त जीवन छ । जीवन छ र त संघर्ष पनि छ ।

साक्षी भावसंसार हल्लाएको यति मार्मिक, यति लयदार, यति जैविक र यति कालजयी फिल्म हेर्न पाउँदा यो ६८ वर्ष पुरानो फिल्म हो भन्ने कतै लाग्दैन । डेसिकाको क्यामेरा साक्षी भावको उत्कृष्ट नमुना हो । त्यसले कुनै नक्कलझक्कल गर्दैन । सिजर जाभात्तिनीसँग मिलेर डेसिकाले लेखेको पटकथाको उत्कृष्टता तिनै प्रसङ्गबाट साबित हुन्छ जहाँ दृश्यमा नदेखाई कतिपय उपकथा छर्लङ्ग हुन्छ । मारिया बारम्बार उम्बर्टोलाई झ्यालबाट तल सडकमा उभिरहेका आफ्ना दुई प्रेमीलाई देखाउँछे । अरूले जस्तो डेसिका तिनलाई क्लोजअप गरेर देखाउँदैनन् । तल सडकका मान्छेलाई झ्यालबाट जति देखिने हो, त्यति मात्र देखाउँछन् । मारिया नेपल्सको प्रेमीलाई नै आफ्नो बच्चाको बाबु हो भन्ने अनुमान गर्छे । त्यसकारण उम्बर्टो पनि डेरा छाडेर जान लाग्दा उसलाई नेपल्सको सिपाहीलाई छाड्नू भनेर सुझाव दिन्छ । एकपल्ट मात्र नेपल्सवाला प्रेमीसँग मारियाले आफू गर्भवती भएको रुँदै बताएको दृश्य देखाइन्छ । ऊ मारियाको गुनासो सुन्दैन । उम्बर्टोले सोधपुछ गर्दा पनि खासै चासो दिँदैन । तर, फ्लोरेन्सवाला प्रेमीलाई लङ सटबाट बाहेक नजिकबाट देखाइन्न । तैपनि, मारियाका यी दुवै प्रेमी दर्शकका दिमागमा चक्कर लगाइरहन्छन् ।

डेसिकाले सोफिया लारेन, मार्सेलो मायस्त्रोनीजस्ता विश्वविख्यात कलाकारबाहेक आफ्ना फिल्ममा बिरलै व्यावसायिक कलाकारलाई अभिनय गर्न लगाए । उनले लेखेका छन्, ‘फिल्मका लागि उपयुक्त पात्र नभेटुन्जेल म आफ्नो मनका आँखा घुमाइरहन्छु ।’ धेरै प्रयासपछि उम्बर्टोको भूमिकाका लागि उनले ७० वर्षे वृद्ध प्राध्यापक कार्लोस बत्तिस्तीलाई भेटे जसका आँखामा वेदनापूर्ण आत्मसम्मानको भाव थियो । उनी भन्छन्, ‘त्यसअघि रोम, नेपल्स र अन्य सहरमा म कैयन् दिन, कैयन् घन्टा यस्तो वृद्ध पेन्सनरको खोजीमा भौतारिरहेँ ।’

अन्त्यमा

फिल्म सकिँदा उम्बर्टोको हालत कताकता दस्तोएब्स्कीको समाजले मुर्ख मानेको असल पात्र प्रिन्स मिस्किनकै जस्तो लाग्छ । तर, उम्बर्टो जीवनप्रति आशाको दियो जगाउँछ र सबै दुःख बिर्सेर पार्कमा फ्लाइकसँग खेलिरहन्छ । यस फिल्मको चर्चा गर्दा मैले मेरा बालाई सम्झनुको कारण पनि यही आशाको झिल्को हो जुन जीवनको अन्तिम घडीसम्मै उहाँले त्याग्नुभएन । आत्मसम्मान नगुमाई आउने सारा दुर्भाग्यलाई जित्न उम्बर्टोजस्ता सबैले अभ्यन्तर र नैतिक बल उँचो राख्नु जरुरी हुन्छ । जीवनवादी गायक बब मार्ले यस्तै परिस्थितिका मान्छेलाई प्रेरणा दिँदै आफ्नो चर्चित गीतमा भन्छन्, ‘गेट अप, स्ट्यान्ड अप एन्ड डोन्ट गिभ अप योर फाइट ।’

प्रकाशित : आश्विन ३, २०७७ ११:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×