विन्दु अनलाइन- साहित्य/विविध - कान्तिपुर समाचार

विन्दु अनलाइन

उसले मलाई दया देखाउँदै झन् खसाएर भन्यो– ‘विनय तिमीले केही दिन अघिदेखि जसलाई डेटिङको लागि फेसबुकमा म्यासेज छोडिरहेका थियौ, लभसभको कुरा गरिरहेका थियो नि ऊ मेरी श्रीमती हो । तिमीले उसलाई पठाएका पोर्न फोटोहरु पनि मैले देखेको थिएँ ।’
घिमिरे युवराज

स्वरुप मेरो अगाडि भएर पनि मलाई हेरिरहेको थिएन । मलाई भने अरु कसैले देख्लान् भन्ने डर थियो ।
मोबाइल फोनको भाइब्रेसनले कफी टेबल थर्कियो । झस्किएँ ।

क्याफेमा बसेको पन्ध्र मिनेटभित्र मेरो फोनमा तेस्रो कल थियो । पहिलो फ्याक्ट्री पार्टनरको । दोस्रो लाइफ पार्टनरको । तेस्रो फोन पनि कुनै संकोचबेगर नै उठाएँ । नयाँ जग्गा बिक्रीको कमिसन मैले पार्टनरलाई बाँड्नु थियो । तर, खातामा पैसा थिएन । ‘चेक बाउन्स’ हुन्छ भन्ने थाहा थियो । संकटबाट बच्न ‘चेक काटेर’ दिएँ । म फोनमा घिडघिडाइरहेको थिएँ—‘त्यसो नभन्नुस् सर । कहिलेकाहीँ यस्तो हुनेरहेछ । आजैको मितिमा धेरै चेक काटेछु । सबैले आजै पैसा झिकेछन् । मारमा हजुर पर्नु भयो सर । प्लिज बैंकलाई कम्प्लेन नगर्नुस् । भोलि बिहानसम्म पर्खिदिनुस् ।’ केही घण्टालाई थुमथुम्याउनु पनि मेरा लागि ठूलो राहत भएको थियो । त्यत्रो पैसा भोलि कहाँबाट ल्याउने भन्ने उपाय खोज्न बाँकी नै थियो ।

मेरो ठ्याक्कै विपरीत कुर्सीमा बसेको स्वरुप मसँग सहज थिएन । खासमा उसको बैठक मात्र कुर्सीमा थियो । भावनात्मक रुपमा ऊ त्यहाँ थिएन । यस्तो लाग्थ्यो दुई फिट चौडाइको हामीबीचको कफी टेबल भावनात्मक रुपमा दुई माइल फराकिलो भएको थियो । जतिसक्दो उ मबाट आफ्नो प्रश्नको उत्तर चाहन्थ्यो । उत्तर हैन ऊ पैसा चाहन्थ्यो । र, म दुई माइल परबाटै अलप हुन चाहन्थेँ । फोनमा म घिडघिडाइरहेको सुनेर ऊ दिक्दार देखिन्थ्यो ।

विन्दुको फोन आयो । दिउँसो १ बजे भेटौँ भनेर फेसबुक म्यासेन्जरमा म्यासेज छोडेको थिएँ । १ यहीँ बज्यो । मैले फोन उठाइन । एसएमएसको रिप्लाई पनि गरेको थिइनँ । रिप्लाई गर्ने अवस्थामा भए पो ।

स्वरुप उसको अफिसदेखि क्याफेसम्म बाटोभरि मसँग बोलेन । एउटा ठिकैको क्याफेमा उसले मलाई डोर्याएको थियो । सायद ऊ यो क्याफेमा त्यति आउँदैन । ऊ नियमित जाने फेन्सी क्याफेमा वेटरहरुको अगाडि मलाई गाली गर्न सक्ने थिएन । अनि मेरो लागि चियाकफीमा उसले धेरै खर्च गर्नेवाला पनि थिएन । सायद ऊ क्याफेमा आउने सोचमा पनि थिएन । अफिसमा बोलाएर उसका स्टाफहरुको अगाडि मलाई गाली गर्न सक्ने स्थितिमा पनि ऊ थिएन । गाली नै गरे पनि उसको आक्रोश सहज रुपमा निस्कनेवाला थिएन । त्यसैले उसले मलाई नजिककैको क्याफेमा लान कर लाग्यो । म त उसको पछिपछि लाग्नुको विकल्प थिएन ।

‘नेभर लाई’ नामको क्याफेमा उ छिर्यो । क्याफेको नामले नै ऊ मलाई लज्जित बनाउन चाहन्थ्यो । स्वरुप कम्ताको छ । ऊ कति कुरा नबोलेरै धेरै भनिदिन्छ । मानिसहरुलाई व्यवहारले सबक सिकाउन चाहन्छ । त्यसैले क्याफेमा छिर्नुअघि टक्क रोकिएर उसले ‘एन ई भी ई आर–एल आई ई’ पढेको थियो । आर उल्टो थियो, आईमा आँखा थियो । मैले पनि नदेखे जस्तो गरिदिएँ । मेरो लागि त्यो नाम ‘नेभर लाई’ हैन ‘नेभर साई’ बराबर भयो ।

म उसलाई भेट्न न आउन पनि सक्थेँ । तर, उसले धेरै पटक फोन, एसएमएस र गाली...!–(गाली नै त गरिसकेको थिएन, म झन् सम्पर्कमा नआउने डरले)—गरिसकेको हुनाले धेरै बेवास्ता गर्न सकिन । आएँ ।

नेभर लाई, नेभर लाई, नेभर लाई । तीन पटक फत्फताएर ऊ क्याफेमा छिर्यो । एल आकारको कोठामा ढोकाकै छेउमा काउन्टर रहेछ । काउन्टरसँगै पनि टेबल कुर्सी त थिए तर ऊ ‘एल’ आकार घुमेर एलको अन्तिम विन्दुमा कम मान्छे भएतिर कुनामा पुग्यो । यही बेला विन्दुको म्यासेज आयो । पाइन्टको गोजीभित्र म्यासेजको घण्टी बज्यो ‘टिंङ’ । कर्केकर्के हुँदै अलिकति मोबाइल चियाएर हेरेँ । लामो टेक्स्टको अन्तमा थियो–‘कहाँ भेटौँ ?’

दुई लाख रुपैयाँ । तीन महिनाको भाका । दस महिनादेखि सम्पर्कविहीन । यतिखेर म मुसा, स्वरुप ढाडे बिरालो । भोकाएको, रिसाएको छुद्र ढाडे बिरालो । यस्तो अवस्थामा मैले विन्दुको पूरा टेक्स्ट पढ्न सकिनँ ।

‘कता बस्ने ? यता बस्ता हुन्छ ?’ भनेर उसले मलाई सोधेन । स्वरुपलाई लागेको हुन सक्छ, उसले मलाई निक्कै अफ्ठेरोमा सहयोग गरेर पनि मैले उसको गुन देखिनँ । उल्टै धोका थिएँ । हुन त म सधैँ अफ्ठ्यारोमै थिएँ । यो भन्दा ठूला अफ्ठ्याराहरुबाट गुज्रिरहेको थिएँ ।

‘अर्जेन्ट पर्यो’–मानौँ तपाईंको साथीले तपाईँसँग ‘आमालाई अस्पतालमा राखेको छ वा छोराको स्कुलको फी तिर्न पैसा भएन’ भनेर सहयोग माग्यो ? तर कारणको बारेमा तपाईंलाई पूरा विश्वास छैन भने के गर्नु हुन्छ ? सत्यतथ्य बुझ्न थाल्नु हुन्छ या साथीलाई सहयोग गर्नुहुन्छ ? ‘यस्तो पनि साथी हुन्छ ?’ भन्नुहोला । तर म स्वरुपको त्यस्तै साथी थिएँ । या हुन सक्छ उसले पनि कहिलेकाहीँ झुटो बाहाना बनाएर सहयोग लिएको होस् ।

म पक्का थिएँ, उसले आफ्नो कुराको सुरुवात गालीबाट गर्नेछ । ‘कति ढाँट्न सकेको यार तिमीले ? न फोन उठ्छ, न एसएमएसको रिप्लाई छ । के हो तिम्रो पारा ? ठ्याक्कै १० महिना भयो तिमीले पैसा लगेको ।’

दुई कप कफी आयो । हामी बसेको टेबल नजिकै एक जोडी ग्राहक आए गर्लफ्रेन्ड ब्वायफ्रेन्ड जस्ता । अनुमान गर्ने मेरो बानी छ । अनुमान गर्नु भनेको आफ्नो सोचअनुसारको वास्तविकता निर्माण गर्नु हो । वास्तविकता पनि निर्माण गर्न सकिन्छ । कस्तो अचम्म । मेरो आँखा तिनीहरु तिरै थिए । तिनीहरुतिर हैन, केटीतिर । मेरो यस्तो बानी स्वरुपलाई मन पर्दैन । ऊ मलाई नसोधी २ वटै कफी कप बोकेर उठ्यो । एल अकारको ठूलो कोठाबाट पछाडिपट्टि निस्कने ढोका रहेछ । स्मोकिङ जोन । म फेरि उसको पछि लागेँ ।

ऋण खाएर तिर्न नसकेपछि यस्तै हुन्छ । अझ मजस्तो गैर जिम्मेवार भएपछि । आफूले पैसो कमाउन सक्ने क्षमता कति हो र खर्चको नियन्त्रण कसरी गर्ने भन्ने मेरो व्याकरणभित्र परेन । घरिघरि रिस उठ्छ तर सोच्छु–‘मैले जानेरै त यो सबै गरेको हैन । ए बाबा, मैले कसैको चोरेर, डकैती गरेर, कसैलाई मारेर त खाएको छैन । ऋण त खाएको हो । सकेको दिन तिरौँला । पैसो भएको भए यसरी भागीभागी हिँड्ने थिएँ ? अरे यार, के अब आफ्नै साथीभाइले ऋण समयमा तिर्न नसकेकोमा यसरी लज्जित बनाउने ? हेप्ने ? नुर गिराउने ? यही तनावका कारणले मैले कुनै अप्रिय काम गरेँ भने वा सुसाइड गरेँ भनेँ ?’ तर मैले यस्तो नियत कमसेकम स्वरुपको अगाडि हुँदा देखाउन सक्दिन थिएँ । उसको अगाडि त्यो हदसम्मको लाचार हुनु पनि आफूलाई गिराउनु नै हो । यो ऋणको कुराबाहेक म ऊभन्दा केमा चाहिँ कम छु र ?

स्वरुप अघि नै सिगरेट तान्न थालिसकेको थियो । टेवलमा राखेको उसको सिगरेटको बट्टाबाट मैले एउटा सिगरेट झिकेँ । भलै उसले मलाई ‘सि ग्रेड’कै साथी ठानोस् । तनावको सिकार भएर लाइटर उसको हातमा फनफनी घुमिरहेको थियो । माग्न सकिन ।

फेरि रिङटोनसहित फोन भाइब्रेट भयो । पक्कै पनि विन्दुको हुनु पर्छ । फेसबुकमा स्वरुप र मेरो कमन फ्रेन्ड रैछन् विन्दु । त्यसैले गोजीभित्रै हात हालेर फोन काटेँ । स्वरुपले विन्दुलाई चिनेको हुनसक्ने डर मलाई थियो । यस्ता विषयमा स्वरुपसँग अचेल म खुलेर कुरा गर्न नसक्ने अवस्थामा छु ।

कुनै पनि बेला स्वरुपको लेक्चर सुरु हुन सक्थ्यो ।

स्मोकिङ जोनमा नयाँ मान्छे आयो । हामी त्यहाँ तीन अधबैँसे भयौँ । उसले हातमा सिगरेटको बट्टा बोकेको थियो । बट्टा देख्दै आकर्षक थियो । सेतो खोलमा बैजनी बक्सभित्र सुन्दर अक्षर देख्न सकिन्थ्यो–सिल्क कट । डस्टबिनमा फ्याली दियो । यस्तो तनावको बेलामा पनि सिगरेटको बट्टाले ध्यान खिच्नु ? अचम्म । अधबैँसे छेऊको कुर्सीमा बस्यो र अर्को त्यस्तै बट्टाबाट सिगरेट निकालेर सल्कायो । अधबैँसेसँग स्वरुप एउटा सिगरेट माग्न चाहन्थ्यो । सायद । तर मागेन । मेरो अनुमान लगाउने बानी यहाँनेर फेरि प्रकट भयो । अरुको बारेमा थाहा नभए पनि अनुमान लाउनु एक किसिमको नसा जस्तो रहेछ । मसँग यो नसा छ । यो बानीलाई कसैले रोग नै भन्छ भने पनि मेरो कुनै आपत्ति हुने छैन ।

सल्काएको सिगरेट एस्ट्रेमा राखेर अधबैँसे ट्वाइलेट गयो । ट्वाइलेट नै गयो होला । ऊ जानेबित्तिकै वेटर आयो, उसको अर्डर लिन । अब भन्नुस् ऊ कहाँ गयो होला ? अनुमान त गर्न सकिन्छ नि । अधबैँसेलाई नदेखेर वेटर फर्कियो । स्वरुप पनि अधबैँसेको टेबलतिर फर्कियो । टेबलको सिगरेटको बट्टाबाट एउटा सिगरेट झिक्यो र सल्काउन थाल्यो ।

ट्वाइलेट नजिकै थियो । फ्लस गरेको आवाज ख्वाल्ल आयो । अधबैँसे पनि आयो । त्यतिञ्जेलसम्ममा उसले एस्ट्रेमा छोडेर गएको सिगरेट सल्केर खरानी भइसकेको थियो । म देखिरहेको थिएँ, खरानी अझै लामो भएर सिगरेटमै अड्किरहेको थियो । झर्यो । उसले बट्टाबाट सिगरेट निकाल्न खोज्यो । बट्टा खाली थियो । उसले हामी बसेको टेबलतिर हेर्यो । अधबैँसेले भन्यो—‘ओ मिस्टर तपाईँले मेरो सिगरेट लिनु भएको हो ? सोध्नु पर्दैन ?’ मैले भन्नु केही थिएन । स्वरुपको मामिला थियो । मैले बोल्दा स्वरुप झन् रिसाउने सम्भावना थियो । म नबोल्न ढुक्क थिएँ ।

स्वरुप अक्मक्कियो । पहिलो पटक उसको र मेरो आँखा एकैपटक एउटै चिजमा पर्यो । सिगरेटमा । अघि त सिगरेट स्वरुपको हातमा थियो । अहिले हाम्रो टेबलको एस्ट्रेमा कलात्मक ढंगले सिगरेटले धुवाँ छोडिरहेको थियो, जसरी ममाथि स्वरुपको विश्वास उड्दै थियो ।

अचानक मैले भने—‘तपाईँसँग मात्रै हुन्छ र त्यस्तो सिगरेट ?’

अधबैँसेले पक्कापक्की गरेर बोल्यो—‘तपाईँसँग त हुनै सक्दैन । मैले लण्डनबाट ल्याएको सिगरेट हो यो । यहाँ पाइँदैन । तपाईँसँग कसरी हुनसक्छ ?’

‘अनि लण्डनबाट हामीचाहिँ सिगरेट ल्याउन सक्दैनौँ ? अचम्म छ ? त्यसै आरोप लाउने ?’ भर्खरै दाइको जेठान लण्डनबाट आएको थियो । त्यसैले पनि आत्मबल बढायो ।

‘आरोप हैन मिस्टर, नत्र सिगरेटको बट्टा देखाउनुस् त ।’

‘ऊ त्यो डस्टबिनमा हेर्नुहोस् ।’

मलाई यस्तो उत्तर दिन, सोच्ने समय नै चाहिएन । यस्तो काइदाको उपाय सोचविचार नै नगरी फुरेकोमा भित्रभित्रै दंग भएँ । मेरो तर्क सुनेर स्वरुप एक पटक ट्वाँ पर्यो । तर, उसले आफू ट्वाँ नपारेको जस्तो गर्यो । डस्टबिनमा सिगरेटको डब्बा मैले नै हालेको झैँ गरेर ऊ ढुक्कसँग सिगरेट तान्न थाल्यो ।

एकछिन त अधबैँसे पनि अलमलमा पर्यो । सायद यस्तो उत्तरको अपेक्षा उसले गरेको थिएन । अपेक्षा त उसलाई सिगरेट चोरिएला भन्ने पनि थिएन ।

उ रिसाएर करायो—‘आर यु सिक ?’

गजबकै शब्दले गाली गर्यो । सहरमा विशेष किसिमको फ्लु चलेको छ । तर ऊ मेन्टल सिकनेसको कुरा गर्दैछ ।

‘यु...’

अर्को गाली उसको मुखबाट फुत्किएन ।

भन्यो–‘त्यो बट्टा मैले फालेको हुँ ।’ मान्छे ‘चरित्रवान’ रहेछ ।

आवेगमा ऊ त्यहाँबाट रेस्टुरेन्टको एल आकार कोठातिर लाग्यो । शब्दहरु बुझिएन तर ऊ कसैलाई बोलाइरहेको थियो । ढोकाको सफेद सिसाबाट म उसलाई देखिरहेको थिएँ ।

मौका यही थियो उढेर जाने । तर, मैले नतिरेको स्वरुपको ऋणले मलाई यसरी थिचेको थियो, म उड्न सकिनँ ।

स्वरुप पनि त्यहाँबाट उठ्ने स्थितिमा थिएन । पैसाभन्दा पनि मप्रतिको अविश्वासले कसरी गलाएको उसलाई ? मबाट पैसा उठाउने उपाय सक्किए जस्तो । चुइँक्क बोलेको छैन ऊ । ऊ यसरी मौन छ मानौँ अब हामीबीच कुनै संवाद र सम्बन्ध बाँकी छैन । यसरी बसेको छ ऊ मानौँ अधबैँसेले सल्किरहेको सिगरेटले पोले पनि त्यहाँबाट उठ्ने छैन । तर, अधबैँसेले उसलाई सिगरेटले किन पोलोस् । पोले पनि मलाई पोल्ने होला । उसलाई लागेको छ, त्यो सिगरेट मैले नै सल्काएको हो ।

एकैछिनमा केही थान वेटर्स र क्याफेको मालिक जस्तो देखिने—‘काउन्टर पर्सन’ पनि हुनसक्छ—लाई लिएर आइपुग्यो । उसले आफ्नो विदेशी महँगो सिगरेट चोरस् भएकोमा आपत्ति जनायो । त्यसभन्दा पनि बढी, मैले गलत तथ्यहरु बताएकोमा उसको आपत्ति थियो ।

‘ल ठीक छ, सिगरेट उहाँले चोर्नुभयो । उहाँले भन्न सक्नुहुन्थ्यो–मलाई खान मन लागेर झिकेँ ।’

मान्छेको अपेक्षा पनि अनेक हुन्छन् । जस्तो–तिमीले यसो भनेको भए हुन्थ्यो । तिमीले यसो गरेको भए हुन्थ्यो । खाएको ऋण यति मितिमा तिरेको भए हुन्थ्यो । म ऊ हैन । म त म हुँ । ऊसले जस्तो मैले कसरी गर्थेँ ? सोच्दै थिएँ ।

मेरो सोच्ने अधिकारलाई हनन् गर्दै ऊ फेरि बोल्यो–‘तर उल्टै गलत कुरा भनिरहनु भएको छ महासयले । यो डस्टबिनमा भएको सिगरेटको डब्बा मैले फ्यालेको हुँ । तर, उहाँ भन्नुहुन्छ उहाँले फ्याल्नु भएको हो ।’

मैले यहाँ रिसाउनु पर्ने कुनै कारण थिएन । तर, उसले बोलाएका अरु मानिसहरुको अगाडि हेपिएको जस्तो देखिनु त भएन ।

रिसाएरै भनेँ—‘हेर्नुस् अधबैँसे महाशय, पहिलो कुरा त तपाईँको सिगरेट खाने इच्छा मेरो हैन । म भए मागेरै खान्थेँ । आइपरे ऋणै माग्थेँ । मेरो मतलब मैले आजसम्म सिगरेट चोरेर खाएको छैन । दोस्रो कुरा के भने नि’¬–मैले फिस्स हाँस्दै भनेँ । यो तनावपूर्ण समयको बीचमा फिस्स हाँस्ने सौभाग्य मलाई किन पनि प्राप्त भयो भने मसँग बलियो तर्क उपस्थित थियो ।

अँ त मैले फिस्स हाँस्दै भनेँ—‘त्यो डस्टबिनमा तपाईँले फालेको सिगरेटको बट्टा मात्रै छ भन्ने के छ ? हामीले फालेको सिगरेटको बट्टा पनि त त्यहीँ होला ।’

आवेशमा गोजीको मोबाइल फोन टेबलमा राखेछु । स्क्रिनमा विन्दुको म्यासेज आएको देखेँ । पुरानै म्यासेज हो वा नयाँ त्यो पनि ठम्याउन सकिन । यस्तो अवस्थामा कसरी पढ्नु ?

‘सिल्क कट सिगरेट यहाँ कसैले पिएको देख्नु भएको छ ?’

अधबैँसेले उसका साक्षीहरुलाई सोध्यो । सबै ट्वाल्ल परेर हेरिरहे । सायद यस्तो किसिमको समस्या उनीहरुकै जीवनमा पहिलो थियो ।

‘सिल्क कटको बट्टा मैले मात्रै फालेको हुँ । त्यहाँ अर्को बट्टा कहाँबाट आओस् ?

उसले त ह ह ह गर्दै आवाजै निकालेर हाँस्दै भन्यो ।

मैले क्याफेका साक्षीहरुलाई डस्टबिन चेक गर्न अनुरोध गरेँ । अधबैँसेले क्याफेका अरु कस्टमरहरुलाई पनि बोलाएर रमिता देखाउने भयो । डस्टबिन चेक गर्नुअघि एकपटक फेरि सबैलाई उसले घटनाको बारेमा जानकारी दियो । सबैले रोचक मानेर सुने । सबै जना डस्टबिनको ढक्कन खोलिएको हेर्न आतुर थिए, सिवाय स्वरुप । उफ, कुन जुनीमा मैले यसको ऋण खाएछु ।

अधबैँसे ढुक्क थियो । म आधा ढुक्क थिएँ । साक्षीहरु अलमलमा थिए । सपेराले सर्प राखेको ढाकीको ढक्कन खोलेकै शैलीमा अधबैँसेले डस्टबिनको ढक्कन खोल्यो । डस्टबिन घोप्ट्यायो । डस्टबिनबाट केही नेप्किन पेपर, चुरोटका ठुटा, २ वटा सिगरेटका बट्टा र एउटा युज्ड कन्डम सानले खसे । अधबैँसे डबल छक्क पर्यो । सिंगल छक्क मेरो आत्मविश्वासको कारणले, दोस्रो छक्क २ वटा सिगरेटको बट्टाको कारणले । तर स्वरुपलाई यो परिणामले कुनै असर गरेको थिएन । उसको मसँगको तनाव घटेको थिएन । एकछिन मौनता छायो त्यहाँ । क्याफेमा कन्डम ? कर्मचारीहरु एकअर्कामा मुखामुख गरेर हावा फुस्किएको बेलुन झैँ चाउरिए । म अनुमान लाउन सक्छु, कर्मचारीहरु एकले अर्कालाई शंका गर्दै थिए । अधबैँसेले ‘सरी’ भन्यो र साक्षीहरुलाई लिएर त्यहाँबाट हिँड्यो । म एउटा संकटबाट बचेँ । तर, सिङ्गै अर्को संकट स्वरुप थियो । जसको स्वरुप झन् ठूलो हुँदै थियो ।

डस्टबिनको फोहोर कसैले उठाउने भेउ पाएन । स्वरुप र मेरो सम्बन् झैँ फोहोर छरपस्ट थियो त्यहीँ ।

लामो सास फेरेर स्वरुपले भन्यो– ‘तिमीलाई यो कुरा भन्न म आफैलाई लाज लागिरहेको छ । मैले तिमी जस्तो अविश्वासिलो साथी पाएँ ।’

स्वरुपको बल्ल बोली फुट्यो । मलाई थाहा थियो, ऊ मलाई तलसम्मै गिराएर गाली गर्न चाहन्थ्यो । उसले अरु केही भन्नुअघि म बोलेँ– ‘ठीक छ मैले गल्ती गरेँ । तर, एउटा पुरानो साथीको नाताले पनि तिमीले मलाई यति ठूलो मानसिक यातना दिन्छौ भन्ने लागेको थिएन । यो करिब २ घण्टामा म बाल्टीको पानीमा डुबेर व्याकुल भएको मुसोझैँ लुत्रुक्क छु । तिम्रो अगाडि निरीह भएर बस्नु परेको छ । यी केही महिनामा तिमीले जति पटक फोन गर्यौ, जति एसएमएस गर्यौ त्यसले मलाई लाचार बनाएको छ । मैले नसकेरै तिम्रो ऋण नतिरेको हुँ । तर तिमीले मलाई बुझेनौ । त्यही भएर पनि म तिम्रो बिहेमा आउन सकिनँ । पार्टीमा त तिमीले खबर नै गरेनौ ।’

उसले ट्राफिक लाइटको रातो बत्तीझैँ आँखा पारेर रुखो स्वरमा भन्यो– ‘छोडिदेऊ पैसा र ऋणको कुरा । मुख्य कुरा तिम्रो नैतिकता र आचरणको हो ।’

उसले मलाई दया देखाउँदै झन् खसाएर भन्यो– ‘विनय तिमीले केही दिन अघिदेखि जसलाई डेटिङको लागि फेसबुकमा म्यासेज छोडिरहेका थियौ, लभसभको कुरा गरिरहेका थियो नि ऊ मेरी श्रीमती हो । तिमीले उसलाई पठाएका पोर्न फोटोहरु पनि मैले देखेको थिएँ ।’

त्यसपछि ऊ तुफानझैँ त्यहाँबाट उडेर गयो ।

उफ... कस्तो भयानक घटना । मेरो अगाडि दृश्यहरु थिएनन् । देखेँ त केवल अन्धकार मात्रै ।

ऊ गएको एकछिन पछि सिगरेटवाला अधबैँसे मानिस आयो । उसले मलाई हेर्यो र ऊ अघि बसेको टेबलकुर्सीतिर पनि हेर्यो । त्यहाँ उसले छोडेको दोस्रो खाली सिगरेटको बट्टा थिएन । उसले मेरो छेउमा आएर साउती मारेको झैँ गरी भन्यो– ‘गल्ती गरेको मान्छेले बेलैमा महसुस गरेन भने जीवनभर सरी भन्ने मौका पनि गुमाउने छ ।’ उसले डस्टबिन छेउ ट्वाल्ल परेर लडेका दुवै सिगरेटका बट्टा उठाएर मेरो टेबलमा राखिदियो र मुस्कुराउँदै गयो ।

वेटरले सुँपसुपारीसहितको बिल मेरो टेबलमा ल्याएर फ्यात्त राखिदियो । र, वर्षा याममा भरिएको टुकुचा खोलाझैँ आँखा बनाएर भन्यो– ‘तपाईँले मेरो इज्जतको मजाक उडाउनुभयो सर ।’

मैले उसको आँखामा आँखा जुधाउन सकिनँ । उग्रिएको डस्टबिनको टेढो बिर्कोझैँ ट्वाँ परेँ । एकछिन चुपचाप त्यहीँ बसेँ । गोजीबाट फोन झिकेँ । विन्दुका कति धेरै एसएमएस थिए मैले पढ्ने आँट गरिनँ । छाती भारी भएको थियो । शरीरमा कुनै जाँगर थिएन । मलाई यस्तो हालतमा पुर्याउने दुई शब्दहरु इमान्दारिता र नैतिकताप्रति घृणा जागेर आयो ।

मलाईझैँ क्याफेलाई पनि अचानक उही आदिम शब्द ‘नैतिकता’ले पिरोलेको थियो । गाइँगुईँ हल्लाहरुको बीचमा वेटरहरुले चाल नपाउने गरी क्याफेबाट बाहिर निस्किएँ । ‘टिंङ’—विन्दुको मेसेजले स्क्रिन फेरि बल्यो । मेरा दुवै हातले मोबाइल फोन फनफनी घुमाउन थाले ।

प्रकाशित : भाद्र २७, २०७७ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्

हामी बाँच्न चाहेको सहर

वरिपरि रूखहरू हुन्, रंगीचंगी फूूलहरू हुन् । नजिकै पोखरी होस् । त्यस घरका बालबालिकाहरूलाई कस्तो लाग्दो हो ? त्यसो भए राष्ट्रपतिले झैँ सफा कार्पेटमा बस्ने, रंगीचंगी फूूलहरू हेर्ने, चाहेको बेला सफा चौरमा टहल्ने, आवश्यकता आम नागरिकलाई छ कि छैन ?
घिमिरे युवराज

उनीहरूलाई नसुन, सुरुमा उनीहरूले सुरक्षा दिएजस्तो गर्छन्, तर उनीहरूले बन्दी बनाउँछन् ।  तिनीहरू तिम्रा सबैभन्दा ठूला शत्रु हुन् । तिनीहरूले तिमीलाई डर देखाउँछन् र, खालीपनमा बाँच्न बाध्य गराउँछन् । –रुमी

बाँच्नु भनेको कति हो ? सास फेरिरहनु भनेको बाँचेको लक्षण हो ? कुनकुन इन्द्रिय वा अंगहरू कति चलाएपछि बाँचेको मानिन्छ ? बचाउने नाममा कतिपय पुँजीवादी देशहरूले रुमीको कविता सम्झाउने गरी मानिसहरूलाई डर देखाए र बन्दी बनाए । नेपाल देशमा पनि त्यस्तै भयो । ८० दिनसम्म देशभरि सरकारी प्रहरीको मोटरसाइकल साइरन बज्यो र खबरदारीको सरकारी माइक पनि घन्कियो । सबै मानिसलाई घरभित्रै बस्न उर्दी गरियो । उनीहरू हाम्रो सुरक्षा गर्न आएका हुन् भन्ने ठान्यौँ र हामीले उनीहरूको कुरा सुन्यौँ । हामीलाई घरभित्र थुन्नका लागि उनीहरूले डर देखाएका थिए । खासमा त्यो उपाय थिएन, शासनको सहजता मात्रै थियो । उतिखेर हामीले सोचेनौँ, शासकले भनेजसरी नै नागरिकहरू कति दिनसम्म बाँच्न सक्छन् ? यस देशका शासकले भने, ‘बाँच्नु नै सबैभन्दा ठूलो कुरा हो, यतिखेर अधिकार र स्वतन्त्रता खोज्ने बेला होइन । त्यसैले घरभित्रै बस र बाँच ।’ पूरै सहर खाली गरेर खुला सडकमा उत्सव मनाउँदै हिँडेका शासकहरूले सोचेनन्, यसरी बन्दी जीवन बाँच्नका लागि नागरिकको आधारभूत आवश्यकता के–के हुन्छ ?

केही साताअघि यस देशका प्रधानमन्त्रीले संसद्मा कड्किँदै भने, ‘राष्ट्रपतिको कार्यालयमा नयाँ कार्पेट हाल्दा रिस गर्ने ? राष्ट्रपति कार्यालय वरिपरिका बगैँचा हरेक दिन गोडमेल हुन्छ । सरसफाइ हुन्छ । यस्तो संकटको बेलामा फूल गोडेर बसेको छ सरकार भन्ने ? यो त नियमित काम हो कर्मचारीको । राष्ट्रपतिले भनेर गर्ने हो र ?’ प्रमको विचारलाई समर्थन गर्दै दुई तिहाइ ताली पररर गर्‍यो ।

त्यसो भए बुद्धनगरको कुनै घरमा लकडाउनमा २ महिनासम्म थुनिएका मानिसले आफू बसेको घरको झ्यालबाट हेर्दा ठूलो चौर देखे भने के होला ? अझ त्यो चौर सफा होस् । वरिपरि रूखहरू हुन्, रंगीचंगी फूूलहरू हुन् । नजिकै पोखरी होस् । त्यस घरका बालबालिकाहरूलाई कस्तो लाग्दो हो ? त्यसो भए राष्ट्रपतिले झैँ सफा कार्पेटमा बस्ने, रंगीचंगी फूूलहरू हेर्ने, चाहेको बेला सफा चौरमा टहल्ने, आवश्यकता आम नागरिकलाई छ कि छैन ? नागरिक जीवनका लागि स्वच्छ पर्यावरण ठूलो आवश्यकता हो । त्यसो भए टौदह, गहनापोखरी वा नागपोखरी सिरुटारमा पनि हुनुपर्छ । राष्ट्रपति कार्यालयको जस्तो बगैँचा विराटनगरमा पनि हुनुपर्छ । तर, पुराना शासकलाई तिनका दरबारबाट धपाएर नयाँ शासक छिरेपछि उही पुराना शासकझैँ विलासी जीवन बिताएर जनताको करमाथि मनोमानी गरेपछि लोकतन्त्रको हत्या हुन्छ ।

तर, राष्ट्रपति कार्यालयको चौर र फूलबारी सिँगार्न हरेक वर्ष बजेट छुट्याउने सरकारले यस देशको समग्र पर्यावरणमा कति बजेट छुट्याएको छ ? बजेटको कुरा छोडौँ, सरकारको नीति तथा कार्यक्रममा पर्यावरण शब्दको अर्थ कहाँ अटाएको छ ? राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूका कार्यालय र निवासअघि खासमा किन पार्क, चौर, फूूलबारी र पोखरी चाहिन्छ ? त्यसो भए आम मानिसहरू बस्ने बस्तीहरूमा पार्क, चौर, फूूलबारी र पोखरी किन चाहिँदैन ?

नेपालगन्ज, गुलरिया, राजापुर, महेन्द्रनगर, डोटी, बुटवाल, जनकपुर वा प्रमकै निर्वाचन क्षेत्र दमकको बीचमा राष्ट्रपति कार्यालयकै जस्तो, सिंहदरबारकै जस्तो वा शीतलनिवासकै जस्तो चौर, फूूलबारी वा पार्क भैदिएको भए यसले आम मानिसको मानसिक र शारीरिक स्वास्थ्यमा कस्तो असर गथ्र्यो होला ? आज कोभिड–१९ को बहानामा निम्त्याइएको लकडाउन र नागरिक दबाबमा लकडाउन खुकुलो भएपछि पनि भौतिक दूरी कायम गरेर दैनिक जीवन चलाउनुपर्ने चुनौतीका बीच यस नगरको कुरूप पर्यावरण निकै दोषी छ । नागरिक स्वास्थ्यको सन्दर्भमा अस्पताल र औषधिको मात्रै कुरा होइन पूरै देशको पर्यावरण ठूलो समस्या हो ।

एकातिर ज्यालादारी गरेर जीवन चलाउनुपर्ने मजदुर ठूलो संकटमा छन् । त्यस्तै त्रासदी खान पाइरहेकाको लगालग आत्महत्या हो । घरभित्र हुने यौन र अन्य किसिमको हिंसा हो । सम्झँदै कहाली लाग्ने कुरा छ । अपांगता भएका मानिस छन् । वृद्धवृद्धा छन् । विशेष किसिमका बिरामी छन् । ४ महिनादेखि स्कुल नगएर घरमा थुनिएका विद्यार्थी छन् । यी सबैको मानसिक र शारीरिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने बस्तीको पर्यावरणमा यस नगरले वा कुनै पनि नगरले के भूमिका खेलेको छ ? यदि सास फेरेकोलाई बाँचेको मानिन्छ भने यस नगरमा सहज रूपमा सास फेर्ने खुला ठाउँ खोजिरहेको छु म— एउटा बालकका लागि, वृद्धका लागि, अशक्तका लागि वा आम मानिसका लागि । तर, बातानुकूलित सरकारी घरहरूमा सत्तासीन शासकहरूले यस्तै सुविधा नागरिकहरूलाई पनि चाहिन्छ भन्ने कहिल्यै सोचेनन् ।

अर्थमन्त्रीले गरेको यस वर्षको बजेट भाषणअनुसार, राष्ट्रपति कार्यालयका लागि छुट्याइएको एक वर्षको बजेट हो १६ करोड २१ लाख र उपराष्ट्रपति कार्यालयका लागि ५ करोड २९ लाख । यो गरिब देशको प्रधानमन्त्री कार्यालयका लागि छुट्याइएको बजेट सुन्दा एउटा आम नागरिक मूच्र्छा पर्न सक्छ । त्यो बजेट हो ४ अर्ब २८ करोड ८५ लाख । यी सबै पैसा जनताले तिरेको करबाट त्यहाँसम्म पुग्ने हो । तर, यस किसिमको गुनासोको प्रतिक्रिया वर्तमान प्रधानमन्त्रीबाट कस्तो आउन सक्छ भनेर सहजै अनुमान लगाउन सकिन्छ । एउटा उदाहरण छ । केही वर्षअघि बीबीसी नेपाली सेवामा एक पत्रकारले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालसँग अन्तर्वार्ता लिँदाको एउटा प्रश्न थियो, ‘तपाईंले सर्वहारा वर्गका लागि जनयुद्ध लडेको भन्नुभयो । ठूलो संघर्ष गरेर पनि आउनुभयो । तर, आज आफैँ अति विलासी बन्नुभयो भनिन्छ नि ?’ उत्तरमा पुष्पकमलले भनेका थिए, ‘कस्तो विलासिता ? के अब म नाङ्गै हिँड्नु ?’ सत्तामा पुगेपछि नेताहरूले त्यस हदसम्मको विलासिता र नाङ्गै बस्नुबीचको दूरी कति फराकिलो हुन्छ नै बिर्सिसकेका हुने रहेछन् । बीचको सामान्य जीवन तिनका लागि बाँकी नरहने रहेछ । स्वस्थ पर्यावरणको प्रक्रिया लामो छ । तर, आम नागरिकको आधारभूत आवश्यकतालाई सबैभन्दा बेवास्ता गरिएको छ । आज यो संकटको बेला ध्वस्त पर्यावरण झन् प्रस्ट देखिन्छ । बाटोघाटो, टोल, नगरको सफाइ र फोहोर व्यवस्थापनको बिजोग छ

सरकार क्षमा चाहन्छु, म लकडाउनमा कहिल्यै घरमै बन्दी भइनँ । यस्तो अव्यवस्थित नगरका हामी लकडाउनकै कारणले आर्थिक संकटमा त पर्छौँ नै । झन्झन् शरीर बिगार्दै जान्छौँ । मानसिक रोगी हुँदै जान्छौँ । शरीर र मस्तिष्कको हितका लागि लकडाउनको पहिलो दिनदेखिनै म घरनजिकका डाँडाकाँडा हिँड्न थालेँ । कीर्तिपुरको सेतोदरबारदेखि भक्तपुर दरबार स्क्वायरबीचका दक्षिणपट्टि पर्ने अधिकांश डाँडा हिँडी भ्याएँ । यो सौभाग्य सबैलाई प्राप्त हुँदैन । लकडाउनकै बीचमा हामीले टोलका युवा मिलेर खाली जग्गामा ब्याडमिन्टन कोर्ट बनायौँ । घर बन्न बाँकी पानी जमेको जमिनमा एक ट्रक माटो पुरेर बनाएको सानो ठाउँ लकडाउन खुल्नेबित्तिकै अचम्मसँग प्रयोग भयो । टोलका ३, ४ वर्षमाथिका बाबुनानीहरू खेल्ने ठाउँ बन्यो । आमाहरू नै छोराछोरी लिएर आउन थाले । त्यसपछि झन् महसुस भयो, फूूलबारी भएको चौर राष्ट्रपतिलाई भन्दा यी मसिना नानीबाबुहरूलाई चाहिएको छ । सहरको साँघुरो कोठा र २ आना जग्गाको पर्खालभित्र थुनिएका सुत्केरी आमाहरूलाई चाहिएको छ । लकडाउनका कारण पहिलेभन्दा झन् बढी भान्साकोठामा थुनिन बाध्य महिलालाई चाहिएको छ । हामी एउटा समस्या समाधानको कुरा गरिरहँदा अरू सारा समस्यालाई भुलिरहेका छौँ, जसले कालान्तरमा झन् ठूलो समस्या निम्त्याउनेछ ।

ब्रिटिस शासकहरूले आफ्ना स्वशासित देशहरूमा जसरी बस्ती बसाए, त्यो एउटा नमुना थियो । अहिले पनि भारतका धेरै सहरको कलात्मक परिकल्पना र निर्माण नमुना बनेको छ । ब्रिटिस शासनमा बनेका बर्माका धेरै सहर साँच्चै सुन्दर र व्यवस्थित छन् । हामी युरोप र अमेरिकाका सहरको कलात्मकताको कुरा गरेर अघाउँदैनौँ । काठमाडौं उपत्यकाको बस्ती बस्नुको पनि रोचक कथा छ । मन्दिर र ढुंगेधाराको निर्माण, चोक र खुला पटांगिनीको निर्माण । मञ्जुश्रीले चोभारको डाँडा काटेर बस्ती बसाएको भनिएको यस उर्वर भूमिमा लिच्छवि वंशीहरूले पशुपतिनाथको मन्दिर दिएर गए । मल्ल शासनकाललाई कलाको उर्वर समय मानिन्छ । मूर्तिकला, प्रस्तरकला, साहित्य र रंगमञ्च मल्ल राजाहरूको समयमा सम्पन्न मानिन्छ । शासकहरूको विलासिता अनि रहरले ती ऐतिहासिक कलाकृति र स्थानको निर्माण भयो । उनीहरूले केही थान पोखरी र ढुंगेधारा दिए । जस्तो कि राजा प्रताप मल्लले पुत्रशोक बिर्साउन रानीको नाममा पोखरी बनाइदिए । भीमसेन थापाले धरहरा बनाए । वा मिथिला क्षेत्रमा आम नागरिकहरूले सयौँ पोखरी खनेर छाडे ।

निश्चित योजनाबाट बसेको उतिखेरको बस्तीलाई पुग्ने ढुंगेधारा, खुला चोक र बाटाघाटा थिए । आज बस्ती तन्किएर काठमाडौं उपत्यका घरहरूले भरियो । खुला चौरहरू झन् खुम्चिए । नगरका रूखहरू काटिए । ढुंगेधाराहरू सुके । नगरको आधारभूत आवश्यकता के हो नबुझी नगरपालिका बन्यो । हामी यस्तो नगर सभ्यतामा आइपुग्यौँ, घरसँगै आँगन वा बगैँचा नहुने भयो । घरको छतमा पानी ट्याङ्की राख्नैपर्ने भयो । भान्सा र शौचालयमा धारा जोड्नैपर्ने भयो । तर, पानीचाहिँ अझै बाल्टी र गाग्रीमा थापेर चलाउनुपर्ने भयो । विद्युत् लाइन छँदाछँदै सोलार र चार्ज ब्याट्रीमा खर्च भयो । सिमेन्ट र इँटाले बनेका घरहरू हुँदैमा कुनै बस्ती नगर वा सहरमा परिणत हुँदैन । नगर वा सहरका अति आवश्यक पूर्वाधार र पर्यावरण हुन्छन् । हामी त्यही पूर्वाधार र पर्यावरण नभएको बस्तीमा शासकहरूले भने जसरी बाँच्ने कोसिस गरिरहेका छौँ । यो यही ‘आधुनिक’ सहर हो, जहाँ ग्यास चुलो र सिलिन्डरमा लगानी गरेर पनि कुनै बेला खाना पकाउन दाउरा खोज्दै हिँडेका थियौँ । ‘अर्बान इकोलोजी एन इन्ट्रोडक्सन’ नामको किताबमा इयान डग्लस र फिलिप जेम्सले लेखेका छन्, ‘उन्नत नगरको पर्यावरणले त्यहाँ बस्ने मानिसहरूको मानसिक र शारीरिक स्वास्थ्य राम्रो बनाउन विशेष भूमिका हुन्छ ।’

सहर वा नगरझैं गाउँको पर्यावरणलाई पनि ध्यान दिइएको भए गाउँका विद्यालय निकै सुध्रिन्थे । प्राय: सरकारी विद्यालयसँग जमिन प्रशस्त छ । तर, विद्यार्थीलाई सिर्जनात्मक बनाउने वा उत्प्रेरित गर्ने भौतिक पूर्वाधार छैनन् । विद्यालय परिसर फोहोर र कलाहीन छन् । विद्यालयको कलात्मक र स्वच्छ परिसरले विद्यार्थीको सिर्जनशीलता अनि स्वस्थ जीवनमा गतिलो भूमिका खेल्ने थियो । कम पुँजीका निजी विद्यालयहरू अत्यन्तै साँघुरो पर्खालभित्र विद्यार्थी कोच्न बाध्य छन् । पर्यावरण र सिर्जनात्मकताभन्दा कसरी कम खर्चमा धेरै नाफा गर्ने भन्ने स्वार्थ तिनमा जोडिएको छ । हरेक सार्वजनिक ठाउँका लागि चाहिने व्यवस्थित पर्यावरण र खुला ठाउँ कुनै प्राकृतिक विपत्ति, भूकम्प वा कोरोना भाइरसले निम्त्याएको व्यक्तिव्यक्तिबीच भौतिक दूरी कायम गर्नुपर्ने स्थितिका लागि अपरिहार्य हो ।

अपरेसन थिएटरमा गीत सुन्न चाहने प्रधानमन्त्री पाएका नागरिक हौँ हामी । उनी कविताप्रेमी र नाटकप्रेमी पनि हुन् । ताक परे उनी नाट्यकलाबारे नलजाई भाषण दिन सक्छन् । तर, मेरो चासो आम मानिससम्म स्वस्थ पर्यावरणसँगै कला कसरी पुग्छ भन्ने हो । प्रधानमन्त्रीको अपरेसन थिएटरमा झैँ के कोरोना क्वारेन्टाइनमा पनि नर्सहरूले गीत बजाइदिन्छन् ? हप्तौँ हिँडेर घर पुग्नुअघि क्वारेन्टाइनमा राखिएका मानिसको मानसिक स्वास्थ्यका लागि हामी कस्तो वातावरण सिर्जना गरिरहेका छौँ ? साँच्चै व्यवस्थित क्वारेन्टाइन सेन्टर भइदिएको भए, त्यहाँ राम्रो शौचालय, स्वस्थ खानाको व्यवस्था हुन्थ्यो । भौतिक दूरी कायम गर्दै चित्रकारहरू क्वारेन्टाइनमा बसेका मानिसका लागि चित्र कोरिरहेका हुन्थे होला । संगीतकार संगीत गरिरहेका हुन्थे होला । यो आर्थिक अभावले निम्त्याएको समस्या होइन । मात्र सोच र उदारताको अभाव हो । सरकारी सुविधामा बसेकाहरूको विलासिताको रोग हो ।

यस वर्षको भाषा एकेडेमीको बजेट १२ करोड २९ लाख छ । संगीत तथा नाटक एकेडेमीका लागि ६ करोड १ लाख छ । त्यसैगरी ललितकला एकेडमीका लागि ४ करोड ८ लाख छ । नेपालमा कोरोना संक्रमण चैतको सुरु दिनदेखि नै देखिएपछि देशभरि कलाका गतिविधि रोकिए । त्यसैले यी तीनै एकेडेमीहरूमा अघिल्लै वर्षको बजेट बाँकी छ । त्यो पैसा आम मानिसलाई कला र पर्यावरणसँग जोड्ने काममा खर्च गर्न सकिन्थ्यो । अझै सकिन्छ ।

म कल्पना गर्छु, घरबाट शिल्पी थिएटर जाँदै गर्दा मैले कोटेश्वर, तीनकुने, सिनामंगल वा बत्तीसपुतलीमा मूर्तिकारको कलात्मक काम देखेँ भने ममा कस्तो असर पर्ला ? भौतिक दूरी कायम गरेरै चित्रकारहरू, संगीतकर्मीहरू, नाट्यकर्मीहरूलाई एकेडेमीहरूले डबली र चोकमा ल्याउन सक्छन् । करोडौँ बजेट बोकेर बसेका एकेडेमी वा विकास बोर्डले आम मानिसमा उत्साह भर्न धेरै काम गर्न सक्छन् । चित्र, रंगमञ्च, संगीत, साहित्य र फिल्मको वैकल्पिक प्रयोगबाट मानिसलाई ऊर्जा दिन सकिन्छ । साधन–स्रोतका हिसाबले निजी नाट्य संस्था, स्वतन्त्र संगीतकर्मी, निजी प्रकाशन गृहभन्दा धेरै ठूलो काम एकेडेमीले गर्न सक्थे । नगरको पर्यावरण र आधुनिक कलाले आम नागरिकमा नयाँ तरंग ल्याउन सक्थ्यो । जस्तो कि मेरो छिमेकमा एक हप्ताअघि सुत्केरी भएकी संगीता शर्मा राष्ट्रपतिको सुन्दर बगैँचामा साँझ बच्चा बोकेर टहलिरहेको कल्पना गर्छु । विद्यालय बन्द भएर घरमै थुनिएका दर्जनौं बालबालिका टुँडिखेलमा खेलेको कल्पना गर्छु । मेरा टोलका वृद्धवृद्धाले पाटन दरबार स्क्वायरको डबली वरिपरि छुट्टाछुट्टै बसेर संगीत सुनेको वा नाटक हेरेको कल्पना गर्छु । तर, यस सहरमा एउटा मात्रै टुँडिखेल छ । थोरै मात्र डबली छन् । पार्क र फूलबारी छँदै छैनन् । ती खुला आकाशमुनि गरिने सिर्जनात्मक गतिविधि देशैभरि मृतावस्थामा छ । अस्वस्थ पर्यावरणले मानिस विचलित भएका छन् । यस्तो अवस्थामा पनि शासकहरू नागरिकलाई नबोल र नसोच, घरमै बस र बाँच भन्छन् । आम मानिसमा बाँच्नु र मर्नुको भेदका लागि उदयप्रकाशको उही चर्चित कविता सम्झन्छु । ‘मरना’ शीर्षकको त्यस कविताले भन्छ—

आदमी

मरने के बाद

कुछ नहीँ सोचता ।

आदमी मरने के बाद

कुछ नहीं बोलता ।

कुछ नहीं सोचने

और कुछ नहीं बोलने पर

आदमी

मर जाता है ।

प्रकाशित : असार २०, २०७७ १४:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×