रमेशनाथ पाण्डेको 'क्रान्ति र प्रतिक्रान्ति' आउँदै- साहित्य/विविध - कान्तिपुर समाचार

रमेशनाथ पाण्डेको 'क्रान्ति र प्रतिक्रान्ति' आउँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — कूटनीतिज्ञ एवं पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको 'क्रान्ति र प्रतिक्रान्ति' पुस्तक प्रकाशित हुने भएको छ ।

पुस्तकामा २००७ सालको प्रजातन्त्रको लागि भएको राजनीतिक आन्दोलनदेखि वर्तमान समयसम्म आइपुग्दा नेपाली राजनीतिले भोगेको नियति र यसका भौगोलिक-सामरिक कारण र आउन सक्ने परिणाम समेतलाई उल्लेख गर्दै इतिहासको अनुभवका आधारमा नेपाली राजनीतिको भविष्यको बारेमा विस्तारमा चर्चा गरिएको छ ।

यो पुस्तकमा बीपी कोइरालाले सुन्दरीजल बन्दीगृहबाट लेखेका हस्तलिखित चिठी लगायत अन्य हस्तलिखित दस्तावेजहरु समेत समावेश रहेको प्रकाशक सांग्रिला बुक्सले जनाएको छ ।

२००७ सालको परिवर्तनलाई आख्यानको रुपमा सुनेका अथवा इतिहासमा पढेका, २०४७ सालको परिवर्तनलाई केही सुनेर र केही भोगेर बुझेका अनि २०६३ को परिवर्तनमा आफै संलग्न भएर सञ्चय गरेका सपना भंगको पीडा र दूरदृष्टि पूरा गर्ने संकल्प लिएका युवा वर्गका लागि यो पुस्तक उपयोगी हुने पाण्डेले बताएका छन् । पुस्तकमा राजनीतिक, धार्मिक, सांस्कृतिक र व्यावहारिक रुपमा विचारोत्तेजक खुराक दिने केही चिठीहरु समावेश गरिएका छन् ।

पाण्डेको यसअघि 'कूटनीति र राजनीति' पुस्तक प्रकाशित गरेका थिए । यो पुस्तक असोज दोस्रो साताबाट बजारमा उपलब्ध हुने बताइएको छ ।

प्रकाशित : भाद्र २४, २०७७ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्

प्लास्टिक : प्रयोगदेखि प्रदूषणसम्म

प्लास्टिक सगरमाथाको उचाइमा, समुद्रको गहिराइमा, हावाको कणमा, मानवको कायामा सर्वत्र पाइने वस्तु बनेको छ । त्यसैले एक्काइसौं शताब्दीको मानव सानो प्लास्टिकको टुक्रा पनि हो ।
उत्तमबाबु श्रेष्ठ

काठमाडौँ — सन् १८६७, अमेरिकी अखबार न्युयोर्क टाइम्समा पृथ्वीबाटै ‘हात्ती लोप हुन सक्ने’ चेतावनीयुक्त लेख छापियो । त्यो बेला न्युयोर्कमा मात्रै वार्षिक करिब ५ लाख केजी हात्तीको दाँत खपत हुन्थ्यो । टाँकदेखि काइँयोसम्म, सजावटका सामानदेखि पियानोका कीसम्म हात्तीको दाँतबाट बन्थे ।

तर अधिक खपतको मुख्य कारक थियो- बिलियार्डको बल, जसको मुख्य कच्चा पदार्थ थियो- हात्तीको दाँत । सन् १८५० तिर न्युयोर्कका सम्भ्रान्तहरूका प्रायः घरमा बिलियार्ड हुन्थ्यो । भूमण्डलीकरण सुरु भइसकेको थिएन, तथापि हात्तीको दाँतको बढ्दो अमेरिकी मागलाई श्रीलंकाली आदिवासीले पूरा गर्थे । भनिन्छ, उक्त समयमा श्रीलंकामा प्रतिवर्ष १,२०० जति हात्तीको शिर छेदन गरिन्थ्यो । एक त महँगो, अर्को बिलियार्ड बल बनाउने कच्चा पदार्थ हात्तीको दाँतको ठूलो मागका कारण हात्ती नै लोप हुने खतराले गर्दा मानिसहरू विकल्पको खोजीमा लागे । हात्तीको दाँतजस्तै कृत्रिम वस्तु बनाउनेलाई १०,००० डलर इनाम दिने घोषणा गरियो । अमेरिकी अन्वेषक जोन वेस्ली हायातलाई उक्त घोषणाले लोभ्यायो । हायातलाई बेलायती आविष्कारक अलेक्जेन्डर पार्क्सले वनस्पतिको कोषभित्तामा पाइने सेलुलोज भन्ने तत्त्वबाट पार्कसाइन (थर्मोप्लास्टिक) बनाएका बारेमा जानकारी थियो । हायातले उक्त पार्कसाइनमा कपूर मिसाएर बिलियार्डको बल बनाउन सकिने ‘सेल्युलोइड’ बनाए । ‘सेल्युलोइड’ केही समय फिल्ममा प्रयोग भए पनि यसको बहुउपयोगिता बढ्न सकेन । वनस्पतिमा आधारित प्लास्टिकको आदिस्वरूप ‘सेल्युलोइड’ आविष्कार भएको चालीस वर्षपछि बेल्जियन रसायनशास्त्री लियो बकेल्यान्डले फिनोल र फर्मलडिहाइड मिसाएर वास्तविक सिन्थेटिक प्लास्टिक बनाए— बकेलाइट ।

साँचोमा हालेर तताएपछि जस्तो पनि रूप र आकारमा ढाल्न सकिने बकेलाइटलाई त्यतिखेर नै ‘हजारौं सम्भावना भएको वस्तु’ भनिन्थ्यो । चल्तीका धातुमा नपाइने विशेष गुण (करेन्ट पास नहुने र निश्चित ताप खप्न सक्ने) भएकाले बकेलाइटको आविष्कार रेडियो, टेलिभिजनजस्ता विद्युतीय उपकरणहरू बनाउनका लागि वरदान साबित भयो । यद्यपि ठूलो परिमाणमा प्लास्टिकको औद्योगिक उत्पादन भने दोस्रो विश्वयुद्घपछि मात्रै हुन थाल्यो । विश्वयुद्धका कारण संसारमा रबर, एल्म्युनियम, तामाजस्ता धातुहरूको उत्पादन घट्न थालेपछि त्यसको विकल्प सजिलै उत्पादन गर्न सकिने सस्ता प्लास्टिक बन्न पुगे । बिलियार्डको बल बनाउने क्रममा जन्मेको, विश्वयुद्घले प्रविधिको घेराबाट औद्योगिक उत्पादनको वस्तुमा रूपान्तरण गरेको प्लास्टिक यतिखेर संसारकै अधिक प्रयोग हुने सुविधाजनक वस्तु भएको छ । र, प्लास्टिकको झोला हाल विश्वकै एक नम्बर उपभोग्य सामान बनेको छ ।

सगरमाथादेखि सागर र शरीरसम्म

हाल प्लास्टिकको प्रयोग प्याकेजिङका सामानदेखि प्लेनसम्म, कारदेखि कम्प्युटरसम्म, यातायातदेखि निर्माण सामग्रीसम्म, लुगाफाटादेखि स्वास्थ्य उपचारका सामानसम्ममा गरिने भएकाले यसको उत्पादन द्रुत गतिले बढ्दो छ । सन् १९५० मा संसारभर वार्षिक २.१ मिलियन टन प्लास्टिक उत्पादन हुन्थ्यो भने, यतिखेर लगभग ४०० मिलियन टन उत्पादन हुन्छ । प्लास्टिकको आविष्कार भइसकेयता हालसम्म संसारमा करिब ९ बिलियन टन प्लास्टिक उत्पादन भएको अनुमान गरिन्छ । बढ्दो उत्पादन र प्रयोगसँगै प्लास्टिकको फैलावट पनि बढ्दो छ । अहिले जल, थल, वायु सबै प्लास्टिकमय भएका छन् । हाल मानिसले पिउने पानीमा, बियरमा, खाने नुनमा प्लास्टिकका ५ मिमिभन्दा ससाना कणहरू (माइक्रोप्लास्टिक) पाइन्छन् । हावामा पनि माइक्रोप्लास्टिक पाइन थालेको पछिल्ला अध्ययनहरूले देखाएका छन् । यतिखेर प्लास्टिक सगरमाथाको उचाइमा, समुद्रको गहिराइमा, हावाको कणमा, मानवको कायामा सर्वत्र पाइने वस्तु बनेको छ ।

सर्वव्यापी भएका कारण माइक्रोप्लास्टिक मानिसले खाना खाँदा, पानी पिउँदा, सास फेर्दा शरीरभित्र पस्न थालेको छ । जर्नल अफ इन्भाइरोमेन्टल साइन्स एन्ड टेक्नोलोजीमा प्रकाशित एक अध्ययनका अनुसार, मानिसले हाल प्रतिवर्ष ३९,०००—५०,००० टुक्रा माइक्रोप्लास्टिक खानासँगै खाने गर्छ । सास लिँदा शरीरमा पुग्ने प्लास्टिकको सूक्ष्म कण जोड्दा त्यो संख्या ७४,००० पुग्छ । प्लास्टिकका बोतलमा पानी पिउनेहरूले थप ९०,००० प्लास्टिकका सूक्ष्म कण खाने गर्छन् । अमेरिकाको एरिजोना स्टेट विश्वविद्यालयका अध्येताहरूले गरेको अध्ययनमा मानिसका कलेजो, फोक्सो, मृगौला लगायतका भित्री अंगहरूमा प्लास्टिक पाइएको छ । त्यसैले एक्काइसौं शताब्दीको मानव सानो प्लास्टिकको टुक्रा पनि हो । यद्यपि मानव शरीरभित्र पुगेको प्लास्टिकले मानिसलाई पार्ने असरको अध्ययन अझै भएको छैन । यद्यपि जनावरहरूमाथि गरिएका अध्ययनहरूले शरीरका प्लास्टिकले निःसन्तान बनाउने, क्यान्सर लगायतका रोग लाग्न सक्ने बताएका छन् ।

प्रयोगदेखि प्रदूषणसम्म

प्लास्टिक बहुउपयोगी र सहज वस्तु भए पनि यो हतपती कुहिँदैन, जसका कारण यसले ठूलो पर्यावरणीय समस्या निम्त्याएको छ । विश्वमा उत्पादित प्लास्टिकमध्ये ९ प्रतिशतको पुनर्प्रयोग हुने, १२ प्रतिशत बालिने र बाँकी ७९ प्रतिशत ल्यान्डफिल्डमा वा त्यसै फ्याँकिने गरिन्छ, जुन नदीनाला हुँदै समुद्रसम्म पुग्छ । प्लसवान जर्नलमा प्रकाशित लेखअनुसार, पृथ्वीका समुद्रहरूमा ७ लाख ६९ हजार टन प्लास्टिक थुप्रिएको छ । प्लास्टिक प्रदूषणले सामुद्रिक जीवहरूलाई नकारात्मक असर मात्रै पुर्‍याएको छैन, समुद्रको कार्बन सञ्चित गर्ने क्षमतामा पनि ह्रास ल्याएको छ ।

प्लास्टिकले फोहोर व्यवस्थापनलाई चुनौतीपूर्ण बनाएको छ । नेपालमा त्यो समस्या टड्कारो छ । एक अध्ययनका अनुसार, उपत्यकामा मात्रै दैनिक ४८ लाख प्लास्टिकका झोलाहरूको भोगचलन गरिन्छ, जुन एक पटकको प्रयोगपश्चात् फोहोर बन्छन् । उपत्यकाका १८ स्थानीय तहबाट दैनिक १ हजार टन फोहोर निस्कने गर्छ, जसको १६ प्रतिशत अंश प्लास्टिकले ओगट्छ । तत्कालै फोहोर बन्ने झोला लगायतका प्लास्टिकको बढ्दो प्रयोगले विगत १३ वर्षमै सिसडोलको डम्पिङ साइट फोहोर व्यवस्थापन गर्न नमिल्ने गरी भरिएको छ । थप, फालिएको प्लास्टिकले ढल वा पानीका निकास बुजिने, जमिनको सतहलाई टाल्ने गर्छ । काठमाडौं लगायतका सहरी क्षेत्रहरूमा पछिल्लो समयमा देखिन थालेको बाढी र जलमग्न हुने समस्याको एक कारक प्लास्टिक हो । प्लास्टिक उत्पादन गर्नाले र बाल्नाले जलवायु परिवर्तनको कारक मानिने कार्बन उत्सर्जनलाई बढाउँछ । सन् २०१९ मा प्रकाशित एक प्रतिवेदनका अनुसार, प्लास्टिक उत्पादन गर्नाले र जलाउनाले विश्वमा ८५० मिलियन टन कार्बन उत्सर्जन भएको थियो । नेपाल र भारतमा विद्यमान प्लास्टिकसहितका फोहोर जलाउने कार्यले यहाँको वायुमा पीएम २.५ (प्रदूषक कण) को मात्रालाई ३० प्रतिशतले बढाएको पछिल्लो अध्ययनले देखाएको छ ।

परित्यक्तदेखि प्रतिबन्धसम्म

प्लास्टिकले निम्त्याएको जटिल वातावरणीय र मानव स्वास्थ्य समस्याका कारण प्लास्टिक प्रदूषणलाई अहिले संसारकै मुख्य वातावरणीय समस्या मानिन्छ । त्यसैले प्लास्टिक प्रदूषण कम गर्न विभिन्न देशले विभिन्न कदम चाल्न थालेका छन् । संयुक्त राष्ट्रसंघीय प्रतिवेदनका अनुसार, हालसम्म १२७ देशले प्लास्टिक सम्बन्धी नियम–कानुन बनाएका छन् । त्यस्ता पहलकदमीहरूमा कर लगाउने (डेनमार्क) र प्रतिबन्ध लगाउने (बंगलादेश, केन्या) प्रमुख छन् । नेपालमा पनि सन् २००८ मै प्लास्टिकको झोलामाथि प्रतिबन्ध लगाउने प्रयास भएको थियो । पछिल्लो समयमा सन् २०१५ मा उपत्यकाभित्र ४० माइक्रोनभन्दा कम मोटाइ, २५ इन्चभन्दा कम लम्बाइ र २० इन्चभन्दा कम चौडाइका प्लास्टिकका झोला प्रतिबन्धित छन् । यद्यपि त्यसको कार्यान्वयन फितलो छ । नेपालमा हाल केही स्थानीय निकायहरू (जस्तै ः चन्दननाथ नगरपालिका) ले भर्खरै प्लास्टिकलाई प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । तर नेपालमा मात्रै होइन, बंगलादेश र अन्यत्रसमेत प्लास्टिकमाथिको प्रतिबन्धको नतिजा मिश्रित छ ।

नेपालमा विशाल भारद्वाज लगायतले गरेको सर्वेक्षणमा प्लास्टिकका झोला प्रयोग गर्ने ९० प्रतिशत मानिसले यसको नकारात्मक असरबारे आफू जानकार रहेको बताएका थिए । त्यसको अर्थ प्लास्टिक झोला प्रयोगको नकारात्मक असर थाहा हुँदाहुँदै पनि मानिसहरूले त्यसको प्रयोग गरिरहेका छन् । हामीकहाँ ग्राहकले नमागीकनै पसलेले सामान प्लास्टिकको झोलामा हाल्ने र ग्राहकले पनि प्लास्टिकको झोलालाई आफ्नो अधिकार सम्झने चलन छ ।

ड्युक विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार, मान्छेले करिब ४० प्रतिशत दैनिक काम ठोस निर्णयबिना स्वचालित हिसाबले गर्छ । जस्तै ः बिहान दाँत माझ्नुभन्दा पहिले ब्रसमा मञ्जन हाल्ने काम । ‘द पावर अफ ह्याबिट’ पुस्तकका लेखक चार्ल्स डुहिग्गका अनुसार, नसोचीकन स्वचालित रूपमा दिमागले गर्ने कार्य नै बानी/आदत (ह्याबिट) हो । कुनै काम निरन्तर गरिरहेपछि निश्चित समयपछि त्यो आदतमा परिणत हुन्छ र दिमागले खराब–असल नछुट्याई त्यस कामलाई स्वतः गर्न थाल्छ । त्यसकारण प्लास्टिक खराब हो भन्ने जान्दाजान्दै त्यसलाई त्याग्न नसक्नु पनि हाम्रो प्लास्टिकको आदत वा लत हो ।

डुहिग्गका अनुसार, मानवीय आदतका तीन अवयव हुन्छन् । मानिसको नराम्रो लत सुधार्न वा राम्रो आदत बसाल्न ती अवयवहरूलाई बुझ्न आवश्यक हुन्छ । पहिलो, दिमागले संकेत (क्यू) पाउने अवस्था जसले दिमागलाई उद्वेलित गराउँछ । दोस्रो, संकेत पाएपछि गरिने नैत्य (रुटिन) चरण र तेस्रो नित्यकर्मपछि पाउने आनन्द (रिवार्ड) को महसुस । मानव मस्तिष्कको स्नायुमा संकेत र आनन्दको गठजोडले कुनै विषयप्रतिको लालसा वा भोक (क्रेभिङ) जागृत गराउँछ । जस्तै : अम्मलीले चुरोट (संकेत) देख्दा, दिमागले चुरोट खाएपछिको आनन्द (रिवार्ड) सम्झन्छ, उसलाई चुरोटको तलतल लाग्छ र चुरोट खाने काम गर्छ । त्यसकारण, डुहिग्ग भन्छन्— नराम्रो लतलाई छुटाउन त्यो काम गर्न उद्वेलित गर्ने संकेत (वस्तु, मानिस, परिवेश, ठाउँ आदि) लाई टाढा राख्नुपर्छ भने, राम्रो बानी बसाल्नलाई त्यस्तो संकेतलाई मस्तिष्कसम्म पुर्‍याउने वातावरण बनाउनुपर्छ । जस्तै : दौडने जुत्ता आँखाले देख्ने ठाउँमा राख्दा त्यसले दौडने कार्य गर्न उत्प्रेरित गर्छ ।

त्यसकारण प्लास्टिक झोलाको आदत बदल्न सुरुमा झोला प्रयोग गर्न उक्साउने संकेत बदल्नुपर्छ । अहिले जसरी प्लास्टिकको झोला सित्तैंमा दिनुभन्दा पसलेले ग्राहकलाई प्लास्टिकको एउटा झोलाको निश्चित रुपैयाँ लाग्छ, लिनुहुन्छ भनेर सोध्ने हो भने त्यो संकेतले दिमागलाई सचेतन निर्णय गर्न उद्वेलित गर्न सक्छ । त्यसले मानिसमा प्लास्टिकले पार्ने नकारात्मक असरको पूर्वजानकारीलाई पुनर्ताजगी गराइदिन्छ र त्यसको विकल्प सोच्न बाध्य गराउँछ । त्यस्तो नयाँ संकेतले नयाँ रुटिन अर्थात् काम गर्न (आफैं झोला बोक्न) प्रेरित गर्न सक्छ । अस्ट्रेलियाका सुपर मार्केटहरूले सित्तैंमा दिने प्लास्टिकको झोलाको ठाउँमा ग्राहकलाई सोधेर पैसा तिराउन थालेको तीन महिनामै प्लास्टिक झोलाको प्रयोगमा ८० प्रतिशतले कमी आएको थियो । त्यस्तै विधि डेनमार्क, बेलायत (लन्डन) आदिमा अपनाउँदा त्यहाँ पनि उल्लेख्य सुधार भएको थियो ।

अन्त्यमा, नेपालले हाल वार्षिक ३७० मिलियन डलर बराबरको प्लास्टिकजन्य सामग्रीको आयात गर्छ । यतिखेर कोरोना महामारीका कारण थप प्रयोग गर्नुपरेका पीपीई, मास्क, स्यानिटाइजरका बोतल लगायतका कोभिड–१९ जन्य सामग्रीहरूका कारण नेपालसहित संसारभर प्लास्टिकको प्रयोग उल्लेख्य बढेको छ । कोरोनाका कारण मानिसको प्रकृतिप्रतिको संवेदनशीलता बढेको भनिएको अहिलेको मौकामा प्लास्टिकको प्रयोग छुटाउनका लागि प्लास्टिकको झोला सित्तैंमा नदिने नयाँ प्रयोग थाल्ने हो कि ?

(बिहीबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : भाद्र २४, २०७७ १९:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×