१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

दीनाभद्री गाथा : मुक्ति सङ्घर्ष गाथा 

दीनाभद्री गाथाको मुख्य कथ्य र पात्र अहिलेको सामाजिक र प्राकृतिक सुरक्षाका लागि सञ्चालित हरेक सङ्घर्षको बिम्बका रुपमा वैचारिक अग्रमोर्चामा देखिन्छ ।
रमेश रञ्‍जन

काठमाडौँ — जल, जमीन, जङ्गल र अधिकारको सवालमा हुने आन्दोलनको अनेकौं रुपहरु यस भूमिमा विकसित भएका छन् । कतै अहिंसक र कतै हिंसक । नेपाल, भारत वा अन्य देशमा पनि आदिवासीय बहुल क्षेत्रमा विद्रोहको यस्ता रुपहरु देखिन्छ ।

दीनाभद्री गाथा : मुक्ति सङ्घर्ष गाथा 

प्राकृतिक पर्यावास, जीवनशैली र जीवनयापनको प्राकृतिक आधारमाथि हस्तक्षेपविरुद्धका आन्दोलनले नेपाल वा संसारका अन्य ठाउँमा पनि प्रभाव विस्तार गरेको छ । माओवादी जनयुद्धकालको मुख्य एजेन्डा आदिवासीय अधिकार, पहिचान र प्राकृतिक बासलाई विशेषाधिकार दिनु पनि थियो । यस्ता आन्दोलन खण्डित रुपमा अझै सक्रिय छन्, अर्थात् आन्दोलनको मृत्यु भइसकेको छैन् ।

दीनाभद्री गाथाको मुख्य कथ्य र पात्र अहिलेको सामाजिक र प्राकृतिक सुरक्षाका लागि सञ्चालित हरेक सङ्घर्षको बिम्बका रुपमा वैचारिक अग्रमोर्चामा देखिन्छ । भारतमा मेधा पाटकर वा सुन्दरलाल बहुगुणाजस्ता अभियन्ताले विकास र विनाशबीच रहेको अन्तर बुझाउने प्रयत्न गर्दै आएका छन् । यस्ता अभियन्ताहरुको सङ्घर्षको साक्षी अहिलेको समय हो । पहाडमै पनि डोजर/एक्साभेटर भूस्खनको कारक बन्दै छ । चूरे विनाश र तराईको मरुभूमिकरण प्रक्रिया तीव्र छ । नेपाल वा अन्य देशमा पनि विकासका यस्ता स्वरुपबारे बहस, विवाद र आन्दोलन भई नै रहेका छन् । विकासका नाममा मूलबसीको सभ्यतामाथि अतिक्रमण भइरहेको मानिन्छ ।

नेपालमा अहिलेको महाविपद्कालमा भोकले सबभन्दा पहिला प्राण त्याग गर्ने मलर सदा हुन् । उनी मुसहर समुदायका थिए । नेपालको मानवीय विकासको सूचकाङ्कमा मुसहर पुछारमा छन् । दीना–भद्रीका वंशज अहिले पनि मूसाको दुलो खन्दै, धानको परालको कुन्युँमा वा खलिहानमा धान टिप्दै, घर होइन झुपडीमा जसोतसो अशिक्षा, भूख र रोगसँग लडिरहन बाध्य छन् । उनीहरुको मौन तथा अप्रभावी सङ्घर्षले परआणविक हतियार, फाइटर प्लेन, मंगल र चन्द्र यात्राका संसारका शासकहरुको मिसन र महात्वाकांक्षालाई चिढ्याइरेहको छ भने सुखी नेपाली समृद्ध नेपालको नेपाली सपनालाई पर धकेल्दैछ । यो विरोधाभाषका बीच दीनाभद्री गाथाका पात्र जीवित रहनु आवश्यक छ । जसले गर्दा सङ्घर्षको समापन नहोस् ।

दीनाभद्री गाथा गायनको अन्तर्यमा तात्कालीन समाज त छ नै, समयलाई बोध गराउने घटना, कथ्य र बिम्बको संरचना पनि छ । अध्येताहरु भन्छन्– आर्यहरुको साम्राज्य विस्तार र मूलबासीको प्रतिरोधबाट जन्मेको हो यो गाथा । कृषि कार्य गर्ने आर्यले जङ्गल विनास र कृषियोग्य भूमि विस्तार गर्दै गए । कृषि कार्यको लागि श्रमिकको आवश्यकता बढ्दै गयो । जङ्गल विनासलाई आदिवासी समुदायले आफ्नो आवास र भोज्य पदार्थमाथि आक्रमण मान्नु स्वभाविकै थियो । उनीहरुको भोजन जङ्गलको भोज्य स्रोतमाथि निर्भर थियो । जसमा जङ्गली जानवरको शिकार र जङ्गलमा उत्पादित प्राकृतिक भोजन जीवनको आधार थियो । दीनाभद्री मूलबासीका प्रतिनिधित्व गर्थे । ती समुदायमा उही नायक हुन सक्दथ्यो जो बलशाली, साहसी र शिकारी होस् । यी तिनटै गुणका कारण दीनाभद्रीले नायकत्व प्राप्त गरेका थिए ।

दीनाभद्री दुई फरक सभ्यताबीचको युद्ध गाथा हो । आक्रान्ताबाट आफ्ना समुदायको रक्षाका लागि सङ्घर्ष गर्दै आदिवासी समूह चतुर र शक्तिशाली आर्यसँग कसरी प्रतिस्पर्धा गर्न सक्थे । जंगल विनाश, कृषि र पशुपालनको विस्तार र त्यसको लागि कृषि मजदुरको आवश्यकता बढ्दो थियो । आदिवासी कृषि मजदुरको रुपमा रुपान्तरित हुन चाहेका थिएनन् । जीवनशैलीमा परिवर्तन सह्य थिएन । आर्य जङ्गल र जङ्गलका बासिन्दामाथि स्वामित्व स्थापित गर्न चाहन्थे । द्वन्द्व हिंसक हुँदै गयो । धेरै दिन, धेरै वर्ष, वर्षौंसम्म सङ्घर्षको एउटा श्रृंखला निमार्ण हुँदै गयो । पछि गाथाको विकासक्रममा जग्गाको अधिपति र कृषिकर्मलाई अस्वीकार गर्ने समुदाय, कृषि मजदूर र मालिकबीचको अन्तर सङ्घर्ष, राज्य प्रतिनिधिद्वारा प्रताडना, जग्गाको कर असुली र जनविद्रोह, सामन्तको उदय, अत्याचार र त्यसको प्रतिवाद, उच्च जातीय दम्भ र त्यसविरुद्ध विद्रोह आए । दीनाभद्री गाथामा यस्ता समाजिक र वर्गीय द्वन्द्वका घटनाहरु जोडिँदै गए ।

जमिनको मालिकाना हक राख्ने सामन्तविरुद्ध, जल, जमीन र जङ्गलमाथि जीविकाको अधिकार र स्वतन्त्रताको महासङ्घर्ष हो यो गाथा । त्यसको वर्गीय रुप मुखररुपमा प्रकट हुन्छ । वर्ग अर्थात् मालिक, वर्ग अर्थात् श्रमिक । वर्ग मुक्तिको सङ्घर्ष आजैदेखि सुरु भएको होइन । वर्ग र पूँजीको विश्लेषण महानतम् सिद्धान्तकार दार्शनिक कार्ल मार्क्स भन्दा पूर्व पनि थियो । मैथिली लोक साहित्यलाई राम्ररी हेरियो भने मुक्ति सङ्घर्षको अन्तर्यमा वर्गीय सङ्घर्ष छ । सङ्घर्षका अत्यन्त प्रभावकारी रुपहरु मैथिली लोक सहित्यमा भेटिन्छ ।

मैथिली लोकगाथा विज्ञ मणिपद्म (मैथिली लोकगाथाक इतिहास) त्यस गाथाका पात्र फोटरा गीदर अर्थात् स्याललाई पुरोहित्यवाद र लुल्ही बाघिनलाई सामन्तवादका प्रतीक मानेका छन् । अर्का अध्येता डा.तारानन्द वियोगीको (आलेख बि. सं.२०७३ उत्पीडित समुदायक स्मृति गाथा) तर्क भिन्न छ । उनी भन्छन, ‘मणिपद्म के कारणले सत्य भन्न संकोच गर्नु भयो थाहा छैन ! पुरोहित्यवादको अर्थ हो दुष्टता र समान्तवाद अर्थात शोषक, अत्याचारी । यस गाथाका जनावर पात्र फोटरा गिदर र लुल्ही बाघिनलाई किन यस्ता प्रतिक मानियो खै ?’ गाथामा मानव अन्यायी प्रवृतिका पात्रहरु उपलब्ध छन् । कनकसिंह धामी, ताहीर मियाँ, गुलामी जट, जोरावर सिंह राजपुत जो स्वयं सत्ता र सत्ताको प्रतिनिधि पात्र छन् । त्यहाँ जनावर पात्रलाई यस्ता उपमा दिनुको पछाडी विश्लेषणकर्ताको वैचारिक र मनोवैज्ञानिक समस्या हुन सक्छ । मुख्य रुपमा शोषक शक्तिशाली जाति हुन्छ । त्यस जाति वा सत्ताप्रति स्नेह देखाउने प्रयत्न पनि हो कि !

माथि उल्लेखित पात्रहरुको परिचयबाट प्रष्ट भइसकेको होला कि गाथा कालमा मिथिलामा इस्लामको प्रभाव बिस्तार भइसकेको थियो । वा गाथाको विकासक्रममा इस्लामको अधिपत्य स्थापित भएको थियो । गाथामा प्रभावशाली मुसलमान पात्र छ । त्यो सत्ताको प्रतीक पनि छ र सत्ताको सिपाही पनि । ताहिर मियाँ, गुलामी जट यसको उदाहरण हो । गाथाको रचनाकालदेखि नै यी पात्रहरु छन् कि समय यी पात्रहरुलाई यस गाथाको अंश बनाएको हो यस सन्दर्भमा अझै अध्ययनको आवश्यकता छ । भारत मोगलान बनिसकेपछि सत्ता र सत्ताको रक्षकको रुपमा मुस्लिम समुदाय सबभन्दा प्रभावशाली भइसकेका थिए । दिल्लीका बादशाह कतै प्रत्यक्ष र कतै परोक्ष शासन गरिरहेका थिए । गाथाका पात्रहरुमा बादशाहका प्रतिनिधि मात्र छैनन्, बादशाहद्वारा संरक्षित हिन्दु सामन्तहरु पनि छन् ।

सर्जकहरुले सत्ताको आफ्नै वर्ग र जाति हुन्छ भने मान्यतालाई स्थापित गर्न खोजेका छन् । राजतन्त्रमा समान्तको नियुक्ति राजाबाट हुन्थ्यो । सामन्त राजाका प्रतिनिधि हुन्थे । त्यसैले राजा समान्तको रक्षक हुनु स्वभाविक हो । दीनाभद्री गाथामा गाथाकारले सलहेसलाई सामन्तको रक्षकको रुपमा प्रकट गराएका छन् ।

बघेसरी देवी दीनाभद्रीको इष्ट देवी हुन् । सलहेस शुभचिन्तक । यिनै दुई पात्रका कारण दीनाभद्रीको मृत्यु हुन्छ । कटैया खाप जङ्गलमा धेरै मृग भएको स्वप्न दिन्छिन् बघेसरी देवी । शिकारीको लागि सुन्दर अवसर आफ्नो इष्ट देवीको माध्यमले प्राप्त हुन्छ । दुवै दाजुभाइ जङ्गल पुग्छन् । यता षडयन्त्रमा फँसाउने खेल सुरु भइसकेको छ । बघेसरीलाई सामन्त कनकसिंह धामी दीनाभद्रीविरुद्ध प्रयोग गर्नका लागि तैयार पारिसकेका छन् । सलहेस र बघेसरी देवी दुवै सामन्त कनक सिंहकै वचनमा बाँधिएर सहयोगको लागि तयार हुन्छन् । सलहेस र बघेसरीले अनिच्छा र बाध्यतामा दीनाभद्री विरुद्धको लडाइमा सहयोग गरेको गाथामा भनिन्छ । सलहेश र बघेसरी फोटरा गिदर र लुल्ही बाघिनको शरीरमा प्रवेश गरेर दीनाभद्रीमाथि आक्रमण गर्छन् । दीनाभद्री कटैया खाप जङ्गलमै मारिन्छन् । यो प्रपञ्चको एउटा निकृष्ट रुप हो, तर गाथाकारको अद्भूत परिकल्पना हो । शत्रुलाई संहार गर्न विश्वसनीय घटनाक्रमको विलक्षण संयोजन हो यो । जङ्गलमा शिकार गर्न गएकामाथि हिंसक जनावरले आक्रमण गर्न सक्छ । आक्रमणमा कसैको मृत्यु पनि हुन सक्छ । आक्रमणको लागि प्रियजनको प्रयोग, जसबाट आशंकाको अन्त हुन्छ । मुख्य शत्रु अदृश्य छ । दीनाभद्रीको हत्यारा मनुष्य हो कि जनावर संशयको अवस्था रहिरहन्छ । दीनाभद्रीको स्वजन र सहयोगी मृत्यु रहस्यमै अल्झिरहन्छ ।

यहाँ झन् अर्को सामन्ती चातुर्यको नमुना भेटिन्छ । दीनाभद्री गाथामा देवी बघेसरी र लोकआस्थाका प्रतिमूर्ति सलहेसलाई दीनाभद्रीविरुद्ध प्रयोग गरिन्छ । अर्थात् कुनै योद्धालाई पराजित गर्न उसैको स्वजन वा शुभचिन्तकको प्रयोग प्रभावकारी ठहरिँदै आएको छ । शत्रुको विरुद्ध शत्रुका मित्र शक्तिको प्रयोग इतिहासमा मात्र होइन अहिलेका पनि युद्ध रणनीतिकारहरु गर्छन् ।

दीनाभद्री आफ्ना कविला मात्र होइन सम्पूर्ण जनपदमै विद्रोहको कारक बनिसकेका थिए । जताततै सङ्घर्षको मोर्चामा दीनाभद्रीको उपस्थिति देखिन थालेको थियो । दीनाभद्री गाथाले जुझारु चरित्रको समाज निमार्णको परिकल्पना गरेको छ । हताश, निराश आदीवासी समुदाय दीनाभद्रीको नाम मात्रले उर्जाको अनुभूति गर्दछन् । यस गाथामा केही चमत्कारिक अविश्वसनीय घटनाहरु छन् । दीनाभद्रीको मृत्यु पश्चात पनि मूलबासीहरु सामन्तविरुद्धको सङ्घर्षको अग्रमोर्चामा दीनाभद्री नै रहेको अनुभूत गर्छन् ।

दीनाभद्रीको हत्याको खबरले मूलबासीको आक्रोश अन्यित्रित हुन सक्छ भन्ने उनका शत्रुलाई थाहा थियो । दीनाभद्रीको हत्यारलाई अदृश्य राख्नुको कारण त्यही हो । दीनाभद्री मामा बोहरनलाई आफ्नो मृत्युको सूचना गाउँ–गाउँ पुर्‍याउन भन्छन् । आफ्नो मृत्युबाट आक्रोशित आदिवासी समुदाय सामन्ती सत्ताविरुद्ध संगठित हुने दीनाभद्रीको विश्वास थियो । उत्पीडित समाज यथास्थितिमा बाँच्न चाहन्छ । घातक प्रहार वा असुरक्षाको भाव उत्पन्न नभएसम्म । प्रियजनको मृत्यु पीडाले ती समुदायलाई अन्यन्त्रित आक्रोशमा लैजान सक्छ र शत्रु वर्गप्रति उभिन्छ तन्किएर ।

दीनाभद्री मारिए । अब सङ्घर्षमा दीनाभद्रीको आत्मा छ । अर्थात् सङ्घर्षशील समुदाय नेतृत्वविहीन छैन । दीनाभद्रीसँग निपुणता नभएको युद्धकलामा पोख्त बनाइन्छ । समान्तको रणनीति र युद्ध कौशलबाट परिचित हुँदै जान्छन् दीनाभद्री । दीनाभद्रीको आत्मालाई समान्तसँग लड्नलाई दक्ष बनाउन पुनः सलहेसलाई प्रकट गराइन्छ । बघेसरी देवीको पनि सहयोगीको रुपमा भूमिका हुन्छ । शारीरिक शक्तिमा असीम बल भएका दीनाभद्रीलाई तन्त्रको प्रयोगले हत्या गरिएको हुन्छ । अब त्यही तन्त्रशक्तिबाट सलहेसले दीनाभद्रीलाई दीक्षित गर्छन् । फोटरा गिदर दीनाभद्रीबाट मारिन्छ ।

यो गाथाले सङ्घर्षको मृत्यु हुँदैन भने मान्यताको विश्वस्त आधार दिन्छ । अर्को के सन्देश दिन्छ भने सङ्घर्षको निरन्तरता र जनशक्तिबाट मात्र युद्धलाई निष्कर्षसम्म पुर्‍याउन सकिन्छ । शत्रुको शक्तिको ठोस आकलन र रणनीतिक दक्षता नभएसम्म पराजय निश्चित छ । अनेकौं युद्धको नेतृत्व गरिसकेका सलहेस र देवी बधेसरीको मातृशक्ति अर्थात् नारी शक्तिको सहयोगले मात्रै सामन्त तन्त्रको विषयमा सूचना प्राप्त गर्छ दीनाभद्री । त्यस तन्त्रसँग लड्न आफूलाई दक्ष बनाउँछन् । सलहेसबाट तन्त्र ज्ञान लिनु भनेकै समान्ती चातुर्यसँग लड्ने ज्ञान अर्थात् बलसँगै बुद्धिको ज्ञान पनि हो । यहाँ तन्त्र सिक्नुको अर्थ जादु सिक्नु होइन । सूचना र रणनीतिबाट परिचित हुनु हो ।

गाथाले दीनाभद्रीलाई अन्यायविरुद्ध सङ्घर्षको एउटा श्रृंखलामा रुपान्तरण गरिदिएको छ । गाथामा सङ्घर्षको मोर्चा बदलिन्छ । आन्दोलनको नेतृत्वमा परिवर्तन भइरहेको छ तर नायक दीनाभद्री नै छन् । सङ्घर्षको निरन्तरता हो यो । एउटा नयाँ बिम्बको स्थापना हो, सङ्घर्षको नायक भनेको दीनाभद्रीबाहेक अरु हुनै सक्दैन । यस गाथालाई यथार्थवादी आँखाले हेरियो भने मृत्युपछि पुनः जीवित हुनु, शत्रुलाई मारिरहनु, यो विश्वसनीय अवस्था कदापि होइन । पुर्नजन्म, आत्मा, भूत–प्रेत आदि काल्पनिकतालाई बल पुर्‍याउने काम मात्रै हुन्छ । तर गाथाको घटनाक्रम त यसै गरि अगाडी बढ्छ । अर्थात् दीनाभद्रीको विचार र चेतनाको प्रसार गर्दै सङ्घर्षको श्रृंखला निमार्णको माध्यम यही हो । जसमा प्रत्येक विद्रोही आफूलाई दीनाभद्री ठान्छन् । शत्रुले पनि प्रत्येक विद्रोहीमा दीनाभद्रीलाई नै देखिरहेको हुन्छ । यो लोक सर्जकको कल्पनाशीलता हो ।

लोकसाहित्य वा लोककलामा ‘फेन्टासी’ र ‘मिथ’को ठूलो अंश र प्रभाव हुन्छ । लोकसाहित्य र कलाको संरचना फेन्टासी बिना रोचक हुनै सक्दैन । गाथाकार आफ्ना सिर्जनात्मक चमत्कार देखाउने क्रममा यस्ता घटनाहरुको कलात्मक रुप सिर्जन्छन् । यस्ता कलात्मकता गाथामा समावेश हुँदै जान्छ । यस सम्पूर्ण गाथामा कलात्मकताको अत्यन्त प्रभावशाली रुप भेटिन्छ । यी गाथाहरुलाई यथार्थवादी चेतना र व्याकरणको आधारमा विवेचन गर्नु उचित हुँदैन ।

सप्तरी जिल्लाको जोगिया जाँजर दीनाभद्रीको जन्मस्थल हो र कटैया खाप जङ्गल क्रीडास्थल । यो कथाको घटनाक्रम र पात्र दसगजाको वारी र पारी दुवैतिर छन् । त्यहाँको सामाजिक स्वरुपमा खासै परिवर्तन आएको छैन । यी दुवै स्थललाई मिथिलाको दसगजाको वारी र पारीको प्रतिनिधि गाउँ मान्ने हो भने सामन्त नयाँ तन्त्र र रुपका साथ अहिले पनि शक्तिशाली छ । शोषणचक्र अझै आधुनिक र प्रभावशाली भइसकेको छ । राजनीतिक आवरणमा ती पात्रहरुको गाउँमा पूर्ण सत्ता छ । र सत्ताको तन्त्रको बलमा शोषणको नयाँ–नयाँ प्रयोग भइरहेको छ । नेपाल भारतको बोर्डरमा अवस्थित कुनौलीका जोराबर सिंह जस्ता चरित्रका पात्रहरु अहिले पनि छँदैछन् । सयौं पहलमानहरुलाई जोरबार सिंहले पालेका थिए । ती पहलमान अन्यायी जोरबारका सिपाही थिए । अहिले पनि जोराबरका नयाँ अवतार छँदैछन् । राजनीतिक र सामाजिक प्रभाव विस्तारमा बाहुबलीहरु अहिले पनि निर्णायक नै छन् । जोराबरजस्ता पात्रको अत्याचारमाथि विराम लागेको छैन । हत्या, हिंसा र बलात्कारको जघन्य कृत्य भइ नै रहेको छ । जोराबरको आतङ्कले विस्तार पाइरहेको छ तर दीनाभद्री लुप्त छ ।

प्राकृतिक सम्पदामाथि मूलबासीको अधिकारको लागि सङ्घर्षको यो गाथा विगतको सङ्घर्षको एउटा दस्तावेज जस्तै भएको छ । जुन सम्पदा र स्वतन्त्रताको लागि यत्रो वलिदान भयो त्यो रित्तिएको छ । जङ्गल छैन, जङ्गली जनावर छैन । शिकार र आखेटको अवस्था नै रहेन । बाँचेको जङ्गल संरक्षित क्षेत्र जस्तै छ, जसभित्र प्रवेश निषेध छ । दीनाभद्रीको वंशज धान–गहुको खेतमा मूसाको दुलो खोज्दै मूसाको भागको अन्न खोस्दैछन् । मूसाकै शिकारमा चित्त बुझाउनुपर्ने अवस्था छ । आश्चर्य के छ भने गाथा रचनाकालदेखि अहिलेसम्म सयौं वर्ष बितिसके पनि अधिकांश मुसहर समुदाय जग्गा विहीन छ । आफ्नो जीवनको धेरैजसो समय माटोमै बिताउने यो समुदायलाई माटोले माया नै नगरेको जस्तो ! नेपालमा निकै थोरैमात्रै मुसहर समुदायका व्यक्तिको आफ्नै जग्गामा घर छ होला । मिथिला भूमिमा हजारौं वर्षको बसोबास उपरान्त पनि यो समुदायको आफ्नै भूमि किन हुन सकेन ? यो त सभ्यता बिस्तार गर्नेहरुको नाममा आक्रमणकारीहरुसँग सङ्घर्ष गरेको समुदाय हो । यो समुदायले संभवतः आफ्नो मूल स्वभावको परिधिलाई भत्काउन सकेन कि ? वा अहिले पनि आफ्नो आदिवासीय स्वभावबाट मुक्त हुन समस्या भइरहेको छ ।

दीनाभद्रीको जरौटी कटैया खापको त्यो स्थल अहिले पनि रहस्मय देखिन्छ । तत्कालीन श्रमिक र आदिवासीय समाजको शत्रुलाई शीरोच्छेदन गरेपछिको चिहान हो त्यो । त्यहाँ दीनाभद्रीको मात्रै अन्तयेष्टि स्थल छैन ती सबै शत्रुहरुको पनि छ जो दीनाभद्रीबाट मारिएका थिए । दीनाभद्रीलाई फूल अक्षता अर्पण गर्नेहरु शत्रुहरुको अन्तयेष्टि स्थलमा पनि आस्था वा अनास्था जे भए पनि फूल अक्षता चढाउँदै आएका छन् । यो मृत्युपछि शत्रु योद्धाको सम्मान हो ।

दीनाभद्री गाथा आमलोकका लागि मनोरञ्जन मात्र रहँदै आएको होइन विचार संवाहक पनि बन्दै आएको हो । त्यस विचारको आगोलाई कटैया खापको जरौटीमा छोडनु हुँदैन । आगोको फिल्कोलाई जोगाउनु त्यस्ता योद्धाप्रतिको श्रद्धाञ्जली हो ।

अहिले यस गाथाका स्वामित्व राख्ने वर्गका प्रतिनिधि दीनाभद्रीको गाउँ सप्तरीको मलर सदा भोकले प्राण त्याग गरिरहेका छन् । गाथालाई प्रसार गर्ने गाथा सर्जक, गायक थाके–थाकेको जस्तो छ । केही दिनपछि गाथा गायकको अन्तिम पुस्ताको पनि अवसान हुन्छ । त्यसपछि यस्ता गाथालाई सम्झिने फुर्सद राज्यसँग हुँदैन । भए पनि गाथा पुनः आभिजात्यीय विश्लेषणको कृपा पर्खिरहेको हुनेछ ।

प्रकाशित : भाद्र २०, २०७७ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?