कुलमान बन्ने कि 'कुल म्यान' ?- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुलमान बन्ने कि 'कुल म्यान' ?

मनोज पण्डित

काठमाडौँ — अप्ठ्यारो, असहजता, अभाव, अन्यौलता आदि हुनु समस्या होइन । समस्या तब हो जब मानिससँग कुनै पनि परिस्थितिको लागि विकल्प हुँदैन । विकल्प नहुनुमा समस्या हुन्छ । एउटै कुरा दोहोरिरहनुमा समस्या हुन्छ । र दोहोराइरहन बाध्य हुनुमा समस्या हुन्छ । अर्थात् बाध्यतामा मूल समस्या हुन्छ ।

कुलमान घिसिङलाई सरकारले विद्युत प्राधिकरणको महानिर्देशक पदमा दोहोर्‍याएन भने आउने दिनमा लोडसेडिङको मार खप्नु पर्नेछ भन्ने डरले अहिले धेरैको मनमा ढ्यांग्रो ठोकिसक्यो । कुलमान नदोहोरिनु भनेको मुकेस काफ्ले दोहोरिनु हो भन्ने डर सामाजिक सञ्जालको भित्तामा स्पष्ट देखिँदा एउटो कुरो के सोच्न बाध्य भइयो भने कुलमानभन्दा मुकेस कैयौं गुणा शक्तिशाली रहेछन् ? कि सारा नेपाली उनको नामबाट काँपी रहेछन् । 'शोले' भन्ने हिन्दी फिल्ममा गब्बरको नामैबाट दूर दूरका मान्छे काँपेजस्तै । किन यति धेरै डर छ नेपाली जनतामा ? यो देशको सार्वभौमसत्ताको मालिक, संविधानका निर्माता नेपाली जनता कुलमान जालान् र मुकेस आउलान् कि भनेर डराउनु पर्ने ? कस्तो कमजोर र दयालाग्दो यथार्थ हो यो ?

एउटा संस्थामा कुनै एकजना व्यक्ति आए पनि जो गए पनि नडराउन पर्ने प्रणालीको विकास गर्नु पर्ने हैन नेपाली जनताले ? यत्तिमा डराउने नेपाली समाजलाई त जो कसैले पनि कुल्चिदिन, ढालिदिन सक्छ । त्यसको उदाहरण हामीले बारम्बार देखेका छौं निर्मला पन्तदेखि कोरोना कहरसम्म । अबको मूल प्रश्न यो हो कि डरको नियतिलाई कहिलेसम्म बोकेर हिँड्ने ? या यो नियति भित्रबाट यस्तो नियतको निर्माण गर्ने हो जसले भन्छ अब नेपाली जनता कसैसँग पनि डराउँदैन र मिठा ललीपपहरुमा पनि फँस्दैन !

मानौं एकपट फेरि दोहोरिए । के यसले नेपाली जनताका समस्याहरु समाधान हुन्छन् ? हामीले खुद्रामा समाधान खोज्ने हो कि समग्रतामा, थोकमा समाधान गर्ने हो ? नेपाली जनताले आफ्ना लागि निर्णय गर्नै पर्छ । आफ्नो जीवनमा प्रभाव पार्ने हरेक तत्व, संरचना ,प्रणाली र अवधारणाहरुलाई त्यसरी प्रभाव पार्ने हो ता कि अब कसैले नेपाली जनतालाई ठग्न नसकोस्, झुक्याउन नसकोस् र अलमलाउन नसकोस् । त्यसका लागि नेपाली जनताकै चेतनाको नैतिक धरातलको परिमार्जन, विवेकपूर्ण सहभागिता र दुरदर्शी कथ्य निर्माणको आवश्यकता रहेको छ ।

म कुलमानले विद्युत प्राधीकरणमा गरेका कामको प्रशंसक हुँ । उनले हामीले भोगिरहेको अन्धकारलाई हटाउने काम गरे । तर अर्को पक्षबाट हेर्दा कुलमान दोहोरिनु भनेको फेरि पनि हामी प्रणाली होइन, व्यक्तिकै शरणमा परेको हुनजान्छ । एकजना व्यक्तिको क्षमता र इमान्दारीबाट समाजले र देशलाई फाइदा हुन्छ । कुलमानको लोकप्रियताबाट पनि यो कुरा देखिन्छ । तर अर्को यथार्थ के पनि हो भने व्यक्ति जतिसुकै सक्षम भए पनि एउटा ठाउँमा सँधैभरी एकैजना व्यक्ति रहन असम्भव हुन्छ । चाहे त्यो विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कुर्सी होस् वा प्रधानमन्त्रीको कुर्सी । हामीले त हाम्रो प्रणाली र काम गर्ने सिस्टमलाई नै यति बलियो र चुस्त बनाउने तर्फ पहल गर्नुपर्‍यो ताकि हामी कुलमान आउँदा खुशी हुनेमात्र होइन कि भोलि अर्को कुनै व्यक्ति आउँदा पनि डराउनु नपरोस् । हामीले व्यवस्था र व्यवहारलाई पारदर्शी बनाउने प्रयास गरौं, ताकि कसैले बदमासी गर्न नसकोस् । गरेको खण्डमा उ तुरुन्त कारबाहीको भागिदार होस् ।

सबै ठाउँमा एकएकजना व्यक्तिले मात्रै व्यवस्था र प्रणालीलाई धान्ने हो भने यसले नेपाली जनताको व्यक्तिकेन्द्रित परनिर्भरतामा टेवा पुर्‍याउँछ । व्यक्तिमा नायक खोज्ने प्रवृत्तिबाट ग्रस्त हाम्रो समाजको यो अर्को कडी हो जसले चरित्र प्रवृत्तिलाई विश्लेषण र बहसको केन्द्रमा कहिले राख्न चाहेन र त्यसमा रुपान्तरण, परिमार्जन र समृद्ध गर्नतर्फ कहिले ध्यान दिएन । यो नेपाली बहुल समाजको असफलता हो ।

झुक्किएर एक दुई जना मात्र आफ्नो पेशा मार्फत समाज सुधारका लागि पास हुने प्रवृत्ति र प्रचलन स्थापित भइरहँदा हाम्रो शैक्षिक प्रणाली र सामाजिक प्रणाली कुन रूपमा फेल भएको छ भनेर अब मूल्याङ्कन गर्नुपर्ने होइन र ? यो आफैंमा फेल्ड (अनुतिर्ण) समाजमा पास भएका व्यक्तिहरुलाई महानायक बनाउन खोज्नु कुनै नौलो कुरा भएन तर आफूलाई पूनरावलोकन गरेर पास गराउनेतर्फ आँखा चिम्लनुचाहिँ दुःखद परिदृश्य हो । अनुत्तीर्ण समाजको नियति दुख पाउनु र दासतामा बाँच्ने नै हुन्छ । स्वतन्त्र हुन र वास्तवमै समृद्ध हुन समाज आफू नै उत्तीर्ण हुनुपर्छ र समाजको परीक्षा हरेक व्यक्तिको जीवनका अभाव, पीडा, अन्याय, विभेद र सपनाले गर्छ । यो असफल समाज डिस्टीङ्सन ल्याएका कुलमानलाई काँधमा लिएर हिँड्न चाहन्छ, अहिलेको प्रकरणको निष्कर्ष यही हो ।

कुलमानले विद्युत प्राधिकरणमा राम्रो काम गरे । तर व्यक्तिकै सफलतामा वा एकदुईको प्रतीभा नै सारा समाजको आशा टिक्ने हो भने अरु कति क्षेत्रमा कुलमान छन् ? त्यहाँ पनि त्यस्तै क्षमता र इमानदारीका मानिस किन भएनन् । सम्पूर्ण समाज सफल हुने हो भने सबै ठाउँमा सक्षम मानिस पुग्नुपर्ने होइन ? सक्षम मानिसलाई काम गर्ने ठाउँमा पुर्‍याउने संयन्त्र देशले बनाउनु पर्ने होइन ? राजनीतिले बनाउनु पर्ने होइन ? त्यो नहुँदा हामी एकदुईजना झुक्किएर भेटिने मानिसलाई निर्विकल्प बनाएर बस्न बाध्य छौं । मुकेसलगायत को डरले कुलमान- कुलमान भनिरहँदा तेस्रो सम्भावनाको ढोका बन्द पनि भइरहेको हुनसक्छ । कुलमानले एउटा मानक बनाइसकेको स्थितिमा अब आउने जोकोहीले पनि त्यसलाई प्रतिस्पर्धा गर्न अझ नयाँ दृष्टिकोणले केही विशेष उपलब्धि हासिल गर्नुपर्ने चुनौती हुन्छ । तर, यदि उसले फेरि मुकेश काफ्लेको समयको जस्तो लोडसेडिङ तालिका दिन थाल्यो भने उसलाई हटाउन सक्छौं भन्ने चुनौती समाजले गर्ने सक्नुपर्ने बनाउन आवश्यक छैन र ?

यो केवल विद्युतमा मात्र होइन सबै क्षेत्रमा सबैका लागि न्यूनतम उपलब्धिको सीमारेखा अब कोर्नुपर्ने होइन र नेपाली जनताले अब ? विद्युत प्राधीकरणमा पाएको सफलता अरु क्षेत्रमा समाजले किन पाउन सकेको छैन ? यतातिर पनि ध्यान दिनुपर्दैन अब ? राम्रो व्यवस्थापन हुँदा असम्भवजस्तो लाग्ने लोडसेडिङ हट्यो । अरु क्षेत्रमा जिम्मामा बसेका मानिसले चाहिँ किन सकिरहेका छैनन् ? के त्यो ती व्यक्तिको मात्र असफलता हो कि समग्र व्यवस्था र प्रणालीको ? यो प्रणालीको नेतृत्व गर्नेहरुसँग प्रश्न गर्नुपर्ने बेला भएन ?

यसका लागि मलाई लाग्छ, सबभन्दा महत्वपूर्ण त नेपाली जनताले सुत्ने प्रवृत्ति त्याग्नु पर्‍यो । कसैलाई उचालेर कुर्सीमा राखिदिने बित्तिकै समस्या समाधान हुन्छ भनेर आफू मस्त निदाउने प्रवृत्तिका कारण कुर्सीलाई अनावश्यक शक्ति दाइजोको रुपमा सुम्पिदिइरहेका छन् । र यसको फाइदा कुर्सीवालाले लिइरहेको छन, एकदुई जनाले बाहेक । यसले गर्दा त्यसरी काम गर्ने मानिसलाई मान्छे होइन देवता नै मानेर पूजा गरेर त जनता रमाउँछ तर ती अधिकांश जसले उसको निद्राका बेलामा लुट्नु लुटेका छन्, तिनीहरूलाई ऊ केही गर्न सक्दैन,आफ्नो टाउकोमा हात राखेर बस्नुबाहेक ।

यदि ऊ नसुतेर हरक्षण सचेत, क्रियाशील र विवेकपूर्ण भएको भए कसैले पनि उसलाई लुट्न सक्दैनथ्यो । यहाँ समस्या लुट्नेमा मात्र होइन, लुटिनेमा बढी देखियो । लुटिनेको कुम्भकर्ण निद्रामा बढी समस्या देखियो । अब यो सुत्ने प्रवृत्तिबाट जाग्नु पर्ने हो र जागिरहनु नै पर्ने हो । यो देशका हरेक मानिसको लागि हित हुने सामूहिक नीति निर्माण, योजना निर्माण र कार्यान्वयन तथा विचार छनौट र स्थापित गर्ने पथमा देशका हरेक नागरिक कटिबद्ध हुने बेला हो ।

त्यसका लागि केवल छनौटको अधिकारमात्र होइन रिजेक्ट (अस्वीकार) को अधिकारलाई पनि क्रियाशील बनाउने हो । यस्तो अवस्थामा मात्र मुकेस प्रवृत्ति हावी हुन पाउँदैन र कुलमान प्रवृत्तिले मौलाउने र स्थापित हुने अवसर पाउँछ । अबको आवश्यकता क्रियाशीलताको हो । क्रियाशीलताको अर्थ उर्जाशील हुनु हो ।

उर्जाशील मान्छेहरु आफैंमा कुलमान हुन् तर ती सुतेर बस्नेहरु चाहिँ कुलमान हैनन् उनीहरू 'कुल म्यान' हुन् । 'कुल म्यान'को अर्थ चिसो मान्छे । भनिन्छ मानिस मरेपछि वा उसको शरीरमा कुनै उर्जा नभएपछि चिसो हुन्छ । जिउँदा मान्छेहरू ताता हुन्छन्, उनीहरूको उर्जा हुन्छ शरीर र मस्तिष्कमा । अब निर्णय लिने बेला आएको छ हामी कुलमान बन्ने कि 'कुल म्यान' ?

प्रकाशित : भाद्र २०, २०७७ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्

एक मृतकको चिट्ठी 

म मिर्गौलाको रोगले होइन, राज्यको नैतिकहीनताले मारिएको हुँ । यो नेपालको राज्यसत्ता अपराधी हो तर कसले उसलाई कारबाही गर्छ यो अपराधका लागि ?
मनोज पण्डित

आदरणीय .....  (कसलाई सम्बोधन गरौं, म अल्मलिएँ त्यसैले रोकिएँ)यो चिठी मैले मेरो देशको प्रधानमन्त्रीज्यूले पढिदिउन् भनेर लेख्न खोजेको हो । तर विशेष सूत्रबाट थाहा पाएँ, उहाँ त सत्ता समीकरणमा व्यस्त हुनुहुन्छ । त्यसैले पढ्न भ्याउनु हुन्न रे ! उसो त उहाँ कसैको कुरा नै सुन्नु हुन्‍न रे ! 

त्यसपछि विपक्षी दलका सभापतिलाई सम्बोधन गरौं कि भनेको त उहाँ झन् पार्टीभित्रको महाधिवेशनको तनावमा हुनुहुन्छ रे ! त्यसमाथि उहाँ त झनै गरिब, दुःखी ,पीडितका कुरा सुन्न नै चाहनु हुन्न रे, खाली दुःखका मात्र कुरा गर्छन् भन्नुहुन्छ रे ! त्यसपछि मैले जनयुद्ध हाँकेर आएका प्रधानमन्त्रीकै पार्टीका अर्का अध्यक्षलाई सम्बोधन गरौं कि भन्ने सोचेथें । अर्को सूत्रबाट थाहा भयो उहाँ धनयुद्ध गर्दै कुर्सी युद्धको रणनीति निर्माणमा व्यस्त हुनुहुन्छ रे ! आजकाल आफूभन्दा चतुर खेलाडीसँग एउटै टिममा बसेर आन्तरिक खेलमा व्यस्त हुनुहुन्छ भन्ने सूचना पाएपछि म अल्मलिएँ ।

अब यो नेपाल भन्ने देशमा यी तीन महानायकभन्दा अर्को शक्तिशाली को नै छ जसले मुख्य प्रभाव सिर्जना गर्न सक्छ, सब गोटी मात्र छन् । यी तीनै खेलाडी आफ्नो स्वार्थको खेलमा व्यस्त भएपछि मेरो चिठीको सार्थकतामाथि नै प्रश्न उठ्यो । तर पनि कहिलेकाहीँ बिनाठेगानाको चिठी पनि सही ठेगानामा नै पुग्छ भन्ने आत्मविश्वासका साथ मैले मेरो ठाउँबाट देखेको एउटा खतरनाक जानकारी अवगत गराउन चाहन्छु ।

'जो जससँग सरोकार छ'

यो चिठी लेख्ने म को हुँ र कहाँबाट लेखेको हुँ त्यो गौण कुरा हो । वर्तमानको मुख्य विषय कोरोना संक्रमण हो तर म कोरोनाभन्दा पनि शक्तिशाली संक्रमणको विषय यहाँ प्रस्तुत गर्न चाहन्छु जसबाट मलगायत धेरैजना पीडित छन् । कोरोनाभन्दा शक्तिशाली भाइरस आजको हाम्रो राज्यसत्ता प्रणाली हो । यो प्रणाली यति भ्रष्ट भएको छ कि जसले महामारीको यस्तो समयखण्डमा समेत र्‍याल काढिरहेको छ । अरु बेला त यसको मूल दर्शन नै जुकाजसरी देश र जनतालाई चुस्ने भएको छ । राज्यसत्ताको कुर्सीमा विराजमान शासक, प्रशासक र राजनीतिज्ञहरूको मुर्खता, अज्ञानता, अनैतिकता, धुर्तता यति उग्र भएर नेपालीको नियतिलाई क्षतविक्षत बनाउन सक्रिय भएको पाइन्छ, त्यति त कोभिड -१९ को भाइरस पनि नेपालभित्र सक्रिय हुन सकेको छैन । यिनीहरूको विवेकहीनता र लाचारीको कारण जनता बन्धक भएर बस्नुपरेको छ र यसको समयावधि लम्बिँदै छ ।

देश नेतृत्वविहीनता, अस्पष्टता र अराजकताको संघारमा पुगिसकेको अवस्था छ जो अहिलेका प्राय: अस्पतालहरुमा स्पष्ट देखिन्छ ।

केही दिनअगाडि धनुषाका प्रमोद महतो जनकपुर प्रादेशिक अस्पतालमा मिर्गौलाको डायलसिस गर्न नपाउँदा छटपटिएर मर्नु पर्‍यो । कोरोना व्यवस्थापनमा स्वास्थ्य क्षेत्र यसरी चुकेको छ कि अब अरु रोगका बिरामी अकाल मृत्यु भोग्न बाध्य भइरहेका छन् । योभन्दा अगाडि पनि अरु थुप्रै यस्तै घटना घटिसकेको सबैको सामु छ । अस्पतालहरु त्रासदीको केन्द्र बनिरहेका छन् र कोरोना संक्रमणभन्दा पनि अस्पतालमा उपचार नपाउने त्रास मानिसमा बढी हावी भइरहेको छ ।

आइसोलेसन र क्वारेन्टाइनको हविगत जनताका सामु प्रस्ट छ । त्यसमाथि महिनौं भइसक्यो मानिसले रोजगारी गर्न नपाएको । जसकारण भोकमरी, मानसिक तनाव आदिका कारण नेपाली जनता अत्यन्त पीडा खेप्न बाध्य भइरहेका छन् । तर यस्तो बेलामा राज्य प्रणालीद्वारा प्रस्तुत गर्नुपर्ने न्यूनतम संवेदनशीलता भने लापत्ता छ । जसबाट मानिसमा राज्यप्रणालीप्रति अविश्वास बढ्दैछ र यो अविश्वासले मानिसलाई टुहुरो हुनुको अनुभूति गराइरहेको छ । यो अभिभावकत्वविहीनताको अवस्थामा राज्यप्रणाली चुच्चे नक्सा, रामको जन्म घर, झण्डा फरफराउने अनि गाडीको नम्बर प्लेटको विशेष प्रलोभन देखाउनमा व्यस्त छ ।

'नेपाली हामी रहुँला कहाँ नेपालै नरहे' भन्ने पुराणबानीको पूरातन मान्यताले यस्तो समयमा काम गर्दैन भन्ने नबुझ्ने शासकहरुलाई 'नेपाल अब रहला कहाँ नेपाली नरहे' भन्ने महामन्त्र कसरी बुझाउने भन्ने मुख्य चिन्ताको विषय छ । मलाई यस कथ्यको स्थापनाको विशेष चिन्ता मेरो आफ्नो लागि होइन, यो देशका मजस्ता सामान्य आर्थिक परिवारका मानिसहरुका लागि हो । राजनीतिक पहुँच नभएका ग्रामीण क्षेत्रका मान्छेहरुका लागि हो । सामाजिक सांस्कृतिक र राजनीतिक हिसाबले पिछडिएका मान्छेहरुका लागि हो । म त यो नाराको पीडित मान्छे हुँ । म त्यो प्रमोद महतो हुँ जो यो राज्यद्वारा जनकपुर अस्पतालको प्रतिनिधित्वमा मारिएको हो ।

म मिर्गौलाको रोगले होइन, राज्यको नैतिकहीनताले मारिएको हुँ । यो नेपालको राज्यसत्ता अपराधी हो तर कसले उसलाई कारबाही गर्छ यो अपराधका लागि ? त्यो मलाई थाहा छैन । त्यसैले म 'नेपाल अब रहला कहाँ नेपाली नरहे' को नारा र व्यवहार स्थापित होस् भन्ने चाहन्छु । नत्र अरु थुप्रैले मेरै मार्ग अपनाउन बाध्य हुनेछन् भन्ने म यहाँबाट देख्दैछु । यहाँबाट अर्थात् मृत्युलोकबाट । मैले तलबाट जे देख्न सकेको थिइनँ यहाँबाट देख्दैछु ।

भन्न त भन्छन्, मान्छे मरेपछि बोल्दैन तर मरिसकेपछि झन् बोल्ने आँट आउँदो रहेछ । एउटा मरेको मान्छेसँग गुमाउने केही डर हुँदैन । यो चिठी कुनै शासकहरूले पढ्ने छैनन्, त्यो मलाई थाहा छ तर लेख्दै गएपछि मलाई लाग्यो यो शासकहरुका लागि भन्दा पनि मजस्तै नेपाली नागरिकता बोक्नेहरूका लागि पो लेखिएछ । जो कोरोनाभन्दा खतरनाक भाइरसबाट संक्रमित छन् । तर बाध्य छन्, मौन छन् । कोरोनाको भ्याक्सिन त अरु देशले बनाइदेला तर यो खतरनाक नेपाली भाइरसको भ्याक्सिन नेपाली आफैंले बनाउनुपर्छ नत्र.‍‍..आफै कल्पना गर्नुहोस् !

धन्यवाद ।

एक मृतक नेपाली

प्रकाशित : भाद्र ६, २०७७ १५:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×